शाही शासनकालमा न्युज रुममै जर्नेलहरु आएर बस्थे । पत्रकारिता जीवनमा त्यो सबैभन्दा अप्रिय क्षण थियो । तर, गणतन्त्रमा पनि केही यस्ता पात्र उपल्लो तहमा पुगे, जसलाई झेल्नुपर्दाका अनुभव तीता तर रोमाञ्चक छन् ।
सुवास निरौला : नेपाल पर्यटन बोर्डका धेरै जना निर्देशकमध्ये एक थिए, सुवास निरौला । तर, उनी आफैँलाई प्रमुख कार्यकारी ठान्थे । टेकबहादुर डाँगीदेखि प्रचण्डमान श्रेष्ठ प्रमुख हुँदा निरौलाकै हालीमुहाली चल्थ्यो । नचल्दा नेतृत्वलाई असफल बनाउने खेल खेल्थे । नेतृत्व खाली हुँदा उनी नपाएको पगरी आफैँ बोकेर ‘मै हुँ कार्यकारी’ भन्दै डाडुपन्यू कब्जा गर्थे । बोर्डका सदस्यलाई समेत उनी हातैमा नचाउँथे । मन्त्री, सचिवदेखि सबै खालको शक्ति सन्तुलनमा राख्ने कला उनमा थियो । बोर्डको स्रोत–साधन निजीसरह प्रयोग गर्थे । त्यो हर्कतमा असहमति राख्ने कर्मचारी खेदिन्थे । महेन्द्र पुलिस क्लबसामु रहेको बोर्ड कार्यालयमा उनले गुरिल्ला (बाउन्सर) राखेर कब्जा जमाएका थिए । उनको अनुमतिबिना कोही भित्र पस्न सक्दैनथ्यो । तर, त्यो बाहुबली शासनको रिपोर्टिङका लागि भित्रको अवस्था अवलोकन गर्नैपथ्र्यो । एक दिन जसोतसो बहाना बनाएर गुरिल्लाका तह–तहका घेरा तोडेर भित्र छिरियो । त्यतिखेर भारतीय फिल्ममा देखिने भूमिगत गिरोहको नियन्त्रणमा पुगेजस्तो महसुस भइरहेको थियो । उनका अनियमितताको रिपोर्टिङ त्यसअघि नै गरिसकिएको थियो । हामी उनको कार्यकक्षमा पुग्नेबित्तिकै असामान्य व्यवहार देखाए । सुरुमा आक्रोश पोखे, क्रमश: फकाउन थाले र अन्तिममा आफू राष्ट्रवादी भएकाले दु:ख पाएको गुनासो पनि पोखे । हामीलाई भने उनले गुरिल्ला शैलीमा कब्जा गरेको बोर्डको रिपोर्टिङ गर्नु थियो । सहकर्मी रवि मानन्धरले क्यामेराको फ्ल्यास मिलाएजस्तो गरेर गुरिल्लाहरुको तस्बिर लिए । बोर्डबाट निस्केपछि ठूलै जोखिमबाट उम्किएजस्तो भयो ।