उचाइमा फल्ने, हिमाली स्वच्छ वायु ठोक्किएर हुर्कने र संसारमै राम्रो मानिने अरबिका प्रजातिको कफीले नेपालमा उत्साहजनक फल दिइरहेको छ।
महाभारत पर्वत शृंखला आसपास रहेको करिब ८० हेक्टर जमिनमा कफी खेती गरिरहेका ३ सय ६६ किसान ललितपुर जिल्ला कफी सहकारी युनियन अन्तर्गतका विभिन्न प्राथमिक सहकारी संस्थामा आबद्ध छन्। गत वर्ष २१ मेट्रिक टन कफी उत्पादन गरेका उनीहरू यस वर्ष २५ मेट्रिक टन उत्पादनको लक्ष्यमा छन्। त्यसमध्ये १२ मेट्रिक टन जर्मनीको एक कम्पनीले प्रतिकिलो आठ अमेरिकी डलरमा लैजाने सम्झौता गरिसकेको छ। बाँकी कफी पनि कहाँ बेच्ने भन्ने चिन्ता छैन।
उच्च भेग (हाई अल्टिच्युड)मा फल्ने र अग्र्यानिक प्रमाणीकरण भएको ‘नेपाल कफी ललितपुर’ ब्रान्डको यो उत्पादन तीन वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा परिचित छ। युनियनका अध्यक्ष डोलराज अधिकारी भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले कमाएको लोकप्रियताका कारण यता खेती पनि बढिरहेको छ।” अधिकारीका अनुसार नेपाली कफी घुलनशील (नेस्कफी) नभई थिग्रिने (फिल्टर कफी) भएकाले यो स्वास्थ्यवद्र्धक हुन्छ र मूल्य पनि उच्च। जसको सेवनले बिस्तारै मुख रसाउँछ र स्वाद मुखभरि फैलिन्छ। कफी पारखीहरू यही विशेषताका कारण नेपाली अग्र्यानिक कफीमा झुम्छन्।