- रामबहादुर रावल
गत वर्ष १५ असारबाट लागू भएको संशोधित शिक्षा ऐनले उच्च माध्यमिक विद्यालयको अवधारणालाई मेटाउँदै कक्षा–१२ सम्मलाई नै माध्यमिक विद्यालयमा रूपान्तर गर्ने प्रावधान ल्यायो । नयाँ कानुनी प्रावधान अनुसार अब उच्च माध्यमिक (प्लस टू) तह माध्यमिक विद्यालयमा परिणत हुनुपर्छ । केहीले यो प्रक्रिया सुरु गरिसकेका छन् भने केहीचाहिँ नयाँ शिक्षा नियमावली तथा नीतिगत स्पष्टताको पर्खाइमा छन् ।
जे भए पनि विद्यालय शिक्षाको सबैभन्दा उपल्लो तह हो, कक्षा–११ र १२ । मुलुकभरका ३ हजार ५ सय १५ वटा शैक्षिक संस्थाले गत वर्षसम्म यो तहको परीक्षामा आफ्ना विद्यार्थी सामेल गराएका छन् । तिनैमध्येबाट छानिएका उम्दा शैक्षिक संस्थाहरूको नतिजा विश्लेषणका आधारमा छानिएका हुन् यी । विगत चार वर्षमा लगातार उत्तीर्ण दर उच्च भएका विद्यालयहरूको सूचीमा केही विगत वर्षकै दोहोरिएका छन् भने केहीचाहिँ नयाँ थपिएका छन् ।
मानभवन, ललितपुरको प्रसादी एकेडेमीले १० वर्षदेखि अविजित रूपमा आफ्नो प्रथम स्थान कायम राखेको छ । नेपालको तथ्यांक विश्लेषणमा उसले गत वर्षको औसत ९८.३५ अंकको तुलनामा यस वर्ष उत्तीर्ण दर ९८.४८ प्रतिशत पुर्याएको छ ।
दोस्रो स्थान पनि गत वर्षकै माइतीघर, काठमाडौँस्थित सेन्ट जेभियर्स कलेजले आफ्नो स्थान सुरक्षित गरेको छ । उसको नतिजा गत वर्षको (९८.०७) भन्दा यसपटक केही घटेको (९७.६६) छ ।
गत वर्ष चौथो स्थानमा रहेको बागबजारस्थित काठमाडौँ मोडेल कलेज (केएमसी) ९६.०७ प्रतिशत उत्तीर्ण दरका साथ एक स्थान माथि उक्लिएको छ । चौथो स्थानमा रहेको सेन्ट मेरिजको भने गत वर्षको (९६.१८) बाट ०.२८ अंक घटेको छ । र, उत्कृष्ट १० को सूचीमा परेका मध्ये यो एक मात्र छात्रा विद्यालय पनि हो ।
मध्यबानेश्वर, काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टले दुई वर्षदेखि पाँचाँै स्थान ओगटेर व्यवस्थापन मात्र अध्यापन गर्ने संस्थाहरूमा सर्वोत्कृष्ट संस्थाका रूपमा निरन्तरता पाएको छ । यसको विद्यार्थी उत्तीर्ण दर पनि गत वर्षकै (९५.३३) कायम छ । गत वर्ष सातौँ स्थानमा रहेको पोखराको सगरमाथा मावि यसपटक ९३.७१ अंकका साथ एक स्थान माथि उक्लिएको छ । तर, छैटौँ र सातौँका बीचमा पर्याप्त दूरी (१.६२) छ । सगरमाथालाई पछ्याउन आइपुगेको छ, साँगा, काभ्रेस्थित नेपाल प्रहरी विद्यालय । पछिल्ला चार शैक्षिक सत्रको कक्षा–११ र १२ को परीक्षामा यस संस्थाबाट औसत ९३.५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।