- रामबहादुर रावल
नेपाली कांग्रेसको १३औँ महाधिवेशनका प्रतिनिधिहरूको चयन लगभग सकिएको छ । तालिका हेरफेर नभएमा २० फागुनमा उद्घाटन हुने महाधिवेशनमा मुलुकभरका तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा सहभागी हुन तम्तयार प्रतिनिधिहरूको विचार बुझ्ने कोसिस गरेको छ, नेपालले ।
वैज्ञानिक विधिमा आधारित भई मुलुकभरबाट छानिएका प्रतिनिधिहरूले सर्वेक्षणमार्फत धेरै हदसम्म आफ्ना धारणा खुलेर राखेका छन् । त्यसैले यो कांग्रेसप्रति आस्थावान् नेता–कार्यकर्ताहरूकै नजरमा स्वयं कांग्रेस कस्तो देखिन्छ भन्ने प्रश्नको जवाफको खोजी पनि हो । यस अभिमत सर्वेक्षणले त्यस पार्टीको सांगठनिक स्वास्थ्य र राष्ट्रिय राजनीतिमा अवस्थितिबारे मूल्यांकन एवं भावी कार्यदिशा प्रस्तुत गरेको छ ।
मूलत: कांग्रेस प्रतिनिधिहरू आधारभूत अधिकारको वकालत, व्यवस्था परिवर्तनको संघर्ष र संविधान निर्माणको सकस सकिएपछि अब आर्थिक उन्नतिको बाटोमा मुलुकलाई हिँडाउने परिकल्पना व्यवहारमा अनुवाद गर्न सक्ने नेतृत्व अनि कार्यक्रमको खोजीमा छन् । राजनीतिक मुद्दाहरूमा धेरै अल्झिँदा विकास पछि परेको महसुस सबैजसो कांग्रेसजनलाई भएको छ । उनीहरू चाहन्छन्, ताजा, गतिशील र प्रणालीमा आधारित संगठन होस् । अद्यावधिक विचार र युवा पुस्ताका नवीन आकांक्षाहरूलाई बोक्न सक्ने नेतृत्व होस् । संस्थापक बीपी कोइरालाको विचार पूरै नत्यागियोस् । सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्था रहोस् । लोककल्याणकारी व्यवस्थासहितका आर्थिक कार्यक्रम लागू गर्न सक्ने सरकार बनोस् ।
कांग्रेसको संगठनमा बीपीकै विचारको गहिरो छाप छ । त्यसैले बहुमत कांग्रेसजनको झुकाव अझै बीपीको लोकतान्त्रिक समाजवादप्रति नै देखिन्छ । पुँजीवादी लोकतन्त्रमा झुकाव राख्नेहरूले समेत समाजवादी विशेषतासहितको व्यवस्थाकै पक्षमा उभ्याएका छन् । विशुद्ध उदारवादी/पुँजीवादी लोकतन्त्रको पक्षमा जुन झीनो मत देखिएको छ, त्यही हाराहारीका कांग्रेसजन पार्टी वैचारिक अस्पष्टतामा रुमलिएको ठान्छन् । अझ पार्टीभित्र परम्परागत लोकतन्त्र, समाजवाद र यी दुवैको मिश्रित स्वरूपभन्दा भिन्न नयाँ विचारको पक्षमा बहस अंकुराउन खोजेको संकेत उल्लेखनीय छ ।