Sunday, August 21, 2022

प्रदीप गिरिका तीन रूप

 नोटबुक

  • रामबहादुर रावल


प्रदीप गिरि-१ 

आमनेपालीले जस्तै म पनि प्रदीप गिरीलाई एक गम्भीर चिन्तकका रूपमा चिन्छ । पहिलोपल्ट भेट्दा उनी मेरो परिकल्पनाभन्दा धेरै फरक थिएनन् । ०६६ चैतको दोस्रो साता। गिरिजाप्रसाद कोइरालाको निधनको केही दिनपछि गिरिलाई काठमाडौंको भीमसेनगोलास्थित घरमा भेटेको थिएँ । पुरानो र बेवारिसेजस्तै लाग्ने त्यस सानो घरभित्र उनी कुर्तापाइजामामा थिए । मैलो नभए पनि खासै सुकिलो थिएन पहिरन । छुस्स दारी । फाटेका र मयल टलक्क टल्किएका सोफा । कतै कार्पेट देखिन्थ्यो त कतै सिमेन्टको कालो र खस्रो भुईं ।

यो पनि हेर्नुहोस्-

 प्रदीप गिरिको त्यो रेकर्डर

त्यसपछि पनि केही समय त्यही घरमा भेटें उनलाई । उनका सहयोगी आज एउटा, भोलि अर्को हुन्थे । समयको ठेगान नहुने । उनलाई भेट्न पुग्नेहरू घन्टौं कुरिरहेका हुन्थे । कोही त बिहानै गएर उनलाई ढुक्थे, साँझ नभेटीकन फर्किन्थे र भोलिपल्ट त्यही सिलसिला दोहोऱ्याउँथे । मैले पनि उनलाई निर्धारित समयमा मुस्किलले भेटेको छु ।

लाग्थ्यो, त्यो रूखोसुखो जीवन चैत-वैशाखमा पानी नपरेर सुकेको खेतजस्तै । त्यसैमाथि उनी समाजवादको खेती गरिरहेका छन् । सुललित शब्दमा इतिहासका तथ्य-तथ्यांकलाई रिट्ठो नबिराई बान्की मिलाएर प्रस्तुत गर्न सक्ने उनको त्यो क्षमता यो रूखो दैनिकीमा कसरी बाँचेको होलाजस्तो लाग्थ्यो ।


प्रदीप गिरि-२ 

गत वर्ष कात्तिक अन्तिम साता उनी नयाँ ठेगानामा भेटिए । धापासीको एक आधुनिक आवासीय भवन । भवनभित्र नयाँ फर्निचर, पर्दा र कार्पेट । भर्खर सोरुमबाट उठाएर ल्याइएजस्ता । धेरै दिन गोदाममा थन्किएर धूलोसमेत पुछन नभ्याइएजस्ता । यी पाका चिन्तकको भेष केही फरक त थियो । तैपनि, उनमा केके नपुगेजस्तो देखिन्थ्यो ।

उनीसँग गफिनुमा सबभन्दा मज्जा के हुन्छ भने शब्दलाई व्यावहारिक जीवनका घटनामा मिसाएर अर्थ्याउँछन् । आफ्ना मूल्य, मान्यता र विचारको सार्थकता सिद्ध गर्छन् । यस्तै एक प्रसंग छ । काठमाडौंको धूवाँधुलोमा रुघाखोकी लाग्न अनौठो थिएन । कुराकानीको बीचमा सुक्खा खोकी यसरी बढ्यो कि रोक्नै नसक्ने भइयो । अन्तर्वार्ता नै प्रभावित हुनेजस्तो भयो । नयाँ घरको बैठक कक्षमा सजाइएका नयाँ फर्निचरका कारण 'एलर्जी' भयो कि ? यही कारण दर्साएर मैले बाहिर आँगनमा बसेर कुरा गर्न आग्रह गरें । यति के भनेको थिएँ, यसैमा उनले वर्गविश्लेषण गरिहाले, “तपाई बाजुराको मान्छे । यो डलरमा तलब खाने मान्छेले किनेको घर । तपाईंलाई एलर्जी हुनु स्वाभाविक छ । ल जाऊँ, बाहिरै कुरा गरौं ।”

यो पनि हेर्नुहोस्-

नेपाली राजनीतिमा बीएचयु र जेएनयु प्रभाव

राष्ट्रिय गरिबी सूचकांकमा एक नम्बरको जिल्ला बाजुराको मेरो पृष्ठभूमि र आफ्नी श्रीमती भारती सिलवालको डलरमा हुने कमाइबारे घतलाग्दो टिप्पणी थियो, त्यो । जसभित्र हाम्रो समाजको वर्गीय असमानताको चित्रण मात्र थिएन । एउटाको सम्पन्नतामा दोस्रोलाई एलर्जी हुने मनोविज्ञानमाथि पनि प्रहार थियो।


प्रदीप गिरि-३

पोहोर भेटिएकै घरमा यसपालि असोज दोस्रो साता भेट्ने मौका जुन्यो । यसपटक उनी अलग भेषमा मात्र थिएनन्, सफाचट दारी, टलक्क टल्केका सेता कपाल । उनको बौद्धिक व्यक्तित्वलाई सुहाउने 'गेटअप' । हातमा ट्याबलेट र सामसङको महँगो मोबाइल थपिएछ । यसबीचमा बसाइ निकै व्यवस्थित भएछ । सायद अनुभवी इन्टेरियर डिजाइनरले

सजाएछन् कोठा । आगन्तुकका लागि आरामदायी कुर्सी, सहयोगीका लागि छुट्टै कोठा, उच्च गतिको इन्टरनेटजडित कम्प्युटर । र, घरमा छुट्टै चहलपहल । 

यो पनि हेर्नुहोस्-

गिरिजाप्रसाद कोइरालाबारे प्रदीप गिरि

अझ उल्लेख्य के भने उनको चेहरामा छुट्टै कान्ति र मादकता थपिएको छ । र, थपिएको छ, उनको सुललित बोलीमा अलि रसिकपना । कुराकानीको बीचबीचमा उनी श्रीमती भारतीलाई साक्षी राख्छन् । भन्छन्, 'म्याडमजी, यसमा तपाईंको धारणा के छ ?' अनि, भारती थप्छिन्, 'तिमीले भनेको सही हो।' बुझ्न गाह्रो छैन, गिरिको यस परिवर्तनका पछाडिको रहस्य अवश्यै भारती नै हुन् । अन्तर्राष्ट्रिय संस्थाको जागिरबाट निवृत्त भएपछि स्वदेश फर्केकी उनको अन्तर्राष्ट्रियस्तरको रेखदेख पाएपछि किन नबदलिऊन् गिरि । तर, मेरो मनमा लागिरहेको छ, पुँजीवादी युगले दिएका सुविधा र वस्तुतन्त्रभित्र यी चिन्तकले अब गान्धीवाद र समाजवादको वकालत कसरी गर्लान् ?

यो पनि हेर्नुहोस्-

नेपालमा वामपन्थको छलाङबारे प्रदीप गिरि

जवाफ पक्कै उनको नयाँ आउने पुस्तक समाजवादले नै दिनेछ। किनभने, यसअघि उनले समाजवादबारे दिएका प्रवचन र लेखेका पुस्तकलाई मान्यता नदिने बताएका छन् ।

प्रकाशित मितिः प्रकाशन मितिः २० असोज २०७०

(यिनै शब्दमार्फत् यी असाधारण मान्छेप्रति मेरो श्रद्धासुमन ।
यो सामग्री प्रकाशित भएपछिका केही संवाद र अनुभूति छन् । पछि कोर्नेछु ।)

No comments:

Post a Comment