उज्यालोको खोजी
अब बिजुलीको खोजीमा गाउँतिर जानुपर्ने भएछ । काठमाडौँमा लोडसेडिङ् छलेर काम गर्ने लगभग बानीजस्तै भइसकेको थियो । तर, सुविधा र सहुलियत सम्भिmैएपछि मान्छेको मन न हो, बहकिइहाल्ने । फेरि लोडसेडिङ्को अँध्यारोले दिलाएको फुर्सदमा मनमा अनेकौँ तर्कना खेल्नु स्वाभाविकै हो । यो मन बहकिएर अहिले बाजुरा पुगेको छ, जहाँ झलमल्ल बिजुली छ । सदरमुकाम मार्तडीमा त '४० को दशकबाटै बिजुली बलेको थियो । बरु 'जनयुद्ध'का क्रममा माओवादीले दुई सय किलोवाट सामथ्र्यको बिजुलीलाई आधा घटाइदिए । पुनःनिर्माणका नाममा सिन्को भाँच्ने काम भएको छैन, भलै पुनःनिर्माण मन्त्रालय माओवादीकै हातमा छ । कुरा मार्तडीको मात्र होइन, बाजुराकै अर्को विकट गाउँ अम्लिसका जनताले आफ्नै श्रम र स्रोतका भरमा गाउँ झलमल्ल पारेका छन् । त्यसमा कसैको सहयोग छ भने पश्चिम उच्च पहाडी गरबिी निवारण आयोजना नामको सरकारी परयिोजनाको प्राविधिक सहयोग छ । गएको दसैँ-तिहारबीचको समय कटाउन पहिलोपल्ट त्यस विकट गाउँ गइएको थियो । त्यस क्रममा अम्लिसबासीले आफ्नै पौरखमा बिजुली बाल्न सकेको कुरा सगर्व बताए । पढ्ने विद्यार्थीदेखि धागो कात्ने महिलाहरू अँध्यारोलाई दूर गर्न सकेकामा दङ्ग थिए । स्कुले जीवनका साथी विनोद रोकायाले त गाउँघरका कुरा यतिसम्म भने, "बरू यतै बसेर समाचार लेख्नूस् ।" उनको यस भनाइको दोहोरो लक्ष्य थियो । एक, गाउँघरका विषयमा पनि समाचार लेख्ने गर । दुई, काठमाडौँभन्दा अम्लिस नै सुविधासम्पन्न छ । विनोदजीको भनाइ झल्झली आज याद आइरहेको छ । लोडसेडिङ्मय काठमाडौँमा उज्यालोको खोजीमा झलमल्ल अम्लिसको माया लागिरहेको छ । धन्य अम्लिसका जनता, राज्यको मुख नताकी आफ्नै पहलमा बिजुली बनाएकामा । ३२ किलोवाट बिजुली बाल्ने नहरको अर्को फाइदा त छँदै छ, सिँचाइ ।
No comments:
Post a Comment