Friday, June 22, 2012

यसकारण गोली हानियो मलाई : पदम ठकुराठी


मूर्ति तस्कर पूर्वराजा ज्ञानेन्द्र


३६ को जनमतसंग्रहपछि नेपालमा आएको राजनीतिक खुकुलोपनको लाभ त्यतिवेलाका महापञ्च सूर्यर्बहादुर थापाले पनि लिए । सरकारबाट बहिर्गमन भएपछि र लोकेन्द्रबहादुर चन्दसँग दूरी बढेपछि थापाले एकप्रकारले राष्ट्रिय पञ्चायतमा विपक्षीको भूमिका निर्वाह गर्न थाले । यसै क्रममा उनले भूमिगत गिरोहको पर्दाफास गर्न थालेका थिए । पत्रकारिताबाट यसको नेतृत्व तत्कालीन पत्रकार पदम ठकुराठीले गरेका थिए । फलस्वरूप उनलाई भूमिगत गिरोहले हत्याको प्रयास गर्‍यो । २० भदौ ०४३ मा उनलाई गोली हानियो । यस गोलीकाण्डको पृष्ठभूमिबारे ठकुराठी यसो भन्छन्:

राजनीति छाडेर पत्रकारिता

राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिएको थिएँ, हारेँ । यो ०३८ सालको कुरा हो । मैले चुनाव हार्नुपछाडि भूमिगत गिरोह (कानुनी जिम्मेवारी नभएका, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने) को हात थियो । राजनीतिमा बन्दै गएको मेरो छवि मन नपराउनेहरू पनि थिए । रापंसमा हारेपछि राजनीतिप्रति मोहभंग भयो ।

त्यसपछि लागेँ- पत्रकारितातिर । यता आउनुका कारण थियो- दरबारियाले पञ्चायतलाई माध्यम बनाएर नेपाल र नेपालीको शोषण गरिरहेको छ, त्यसविरुद्ध जनमत नबनाएसम्म यहाँ परिवर्तन सम्भव छैन । त्यो काम सम्भव बनाउन पत्रकारितातिर लागेँ म । क्रमशः पत्रकारितामै रत्तिन थालेँ । राजनीतिमै भविष्य खोज्न प्रतिबद्ध म, भएँ पत्रकार ।

त्यतिवेला हाम्रो मिसन नै थियो- भूमिगत गिरोहविरुद्ध धर्मयुद्ध -जेहाद) छेड्ने । भूमिगत गिरोह भनेको कानुनी जिम्मेवारी नभएका या बोक्नु नपर्ने, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने तत्त्वलाई हामी भूमिगत गिरोह भन्छौँ भनेर पत्रिकामै परिभाषा गरिदिएका थियौं । त्यसो भनेपछि भूमिगत गिरोह भनेको यिनीहरू रहेछन् भनेर सबैलाई थाहा भयो ।

भूमिगत गिरोहको षड्यन्त्र

पञ्चायतकालमा राजा र राजपरिवार संविधानभन्दा माथि थिए । यसको दुरुपयोग गर्दै उनीहरूले व्यक्तिगत फाइदा उठाइरहेका थिए । त्यस्ता कैयौँ घटना मलाई थाहा थियो । ती कुरा पत्रिकाको माध्यमबाट सार्वजनिक गर्न थालेँ । त्यसो भएपछि उनीहरू तिलमिलाए । त्यसपछि मलाई उनीहरूले दुःख दिन थाले । धम्क्याए । पत्रिका सिज गरे । २५ पटकसम्म त जेल हाले । तर, म कति पनि विचलित भइनँ । किनकि म आफ्नो मिसनमा प्रतिबद्ध भएर लागेको थिएँ । उनीहरूले त्यसरी दुःख दिँदा मलाई एकखालको आनन्द लाग्थ्यो, किनकि म आफ्नो मिसनमा सफलता पाउँदै गइरहेको अनुभूत गर्थेँ । लाग्थ्यो- पत्रकारिताबाटै भूमिगत गिरोहलाई तह लगाउँछु म । पत्रकारिताको शक्तिमाथि म पूर्णतः विश्वस्त थिएँ । म भलिभाँती जान्दथेँ- कलमको तागत कति हुन्छ ।

जाँदा मूर्ति आउँदा सुन

नेपालमा अब सक्कली मूर्ति बाँकी छैनन् भन्न सकिन्छ । पशुपतिनाथका चाहिँ भन्न सक्दिनँ । तीबाहेक सबै मूर्ति विदेश पुर्‍याइएका छन् । सक्कली मूर्तिका ठाउँमा प्रतिलिपि र प्रतिकृति स्थापना गरिएका हुन् । मूर्तिका साथै मन्दिरका टुँडाल र हस्तलिखित ग्रन्थसमेत विदेश पुर्‍याइएका छन् । विदेश पुर्‍याउने पूर्वराजा ज्ञानेन्द्र थिए । उनै हुन्- विदेशबाट आउँदा सुन र हेरोइन ल्याउने पनि ।

त्यतिवेला नेपाल र भारतमा एकतोला सुनको भाउमा तीन सय रुपैयाँको फरक थियो । तसर्थ, विदेशबाट ल्याइएका सुन भारत निर्यात गरिन्थ्यो । सुन भारत निर्यात गर्न धनगढीलाई उपयुक्त मानिन्थ्यो । किनकि, त्यहाँ धीरेन्द्रको लगानीमा लक्ष्मी कत्था उद्योग सञ्चालित थियो । सो उद्योगले सुनको बिस्कुट आकारकै कत्था बनाई कत्थाभित्र सुनको बिस्कुट हालेर भारत पठाउँथ्यो । त्यो जानकारी हाम्रो पत्रिकाको सूत्रले थाहा पाएपछि विमर्शमा समाचार छापियोे । समाचार छापिएपछि भूमिगत गिरोहले मलाई वाच गर्न थाले ।


मागेजति पैसा दिने प्रलोभन

धीरेन्द्र शाहका एडिसी भरत गुरुङले मलाई फोन गरे । गुरुङले फोनमै भने, 'तपाईंले पत्रकारिता छाड्नुपर्‍यो । छाडेबापत जति माग्नुहुन्छ त्यति पैसा र पद-प्रतिष्ठा मालिकबाट दिलाइदिन्छु ।' त्यो प्रस्तावको ठाडो अस्वीकार गरेँ । प्रतिउत्तरमा मैले गुरुङलाई भनेँ, 'मलाई तिम्रो मालिकको पैसाको लोभ छैन । चाहिँदैन पद-प्रतिष्ठा पनि । मलाई पाठकले दिएको माया नै मेरा लागि अमूल्य सम्पत्ति हो ।'

मैले पत्रकारिता छाडेमा उनीहरूको अवैध धन्धा निर्वाध चलिरहन्थ्यो । म त्यसको विपक्षमा थिएँ । बारम्बार मलाई उनीहरूले फकाउने प्रयास गरे । म उनीहरूको प्रलोभनमा परिनँ । मलाई निष्त्रिय पार्न खोजियो । म झनै सक्रिय बनेँ । भूमिगत गिरोहबाट आएका प्रलोभन मेरा लागि सक्रिय भएर पत्रकारितामा लाग्ने थप ऊर्जा बन्यो । कति गर्दा पनि उनीहरू सफल भएनन् । पत्रिका निरन्तर प्रकाशन भइरह्यो । उनीहरूले गरेका गलत कामको समाचार आउन पनि छाडेन ।

फुटबलभित्र हेरोइन

सञ्चारकर्मीका लागि सूचना नै सबैभन्दा ठूलो सत्ता हो । त्यही सत्ताको खोजीमा हुन्छन् उनीहरू । १९८४ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा भएको थियो । त्यहाँ हुने ओलम्पिकमा नेपालबाट खेलकुद परिषद्का संरक्षक धीरेन्द्र शाह, सदस्य-सचिव शरदचन्द्र शाह, धीरेन्द्रका एडिसी भरत गुरुङ, तेक्वान्दो खेलाडी जगत गौचन (शाहीकालका भौतिक योजना राज्यमन्त्री) गएका थिए । यो टोलीले फुटबलभित्र हेरोइन राखेर लगेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको ब्यागेज चेक-जाँच भएन । किनकि, पञ्चायतकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजपरिवार तथा राजपरिवार सदस्यको ब्यागेज चेक-जाँच गर्न पाइन्नथ्यो ।

त्यतिवेलाको कानुन नै त्यस्तो थियो । ओलम्पिकमा भाग लिन त्यता हिँडेका उक्त टोलीको ब्यागेज चेक-जाँच गर्न नपाइएपछि फुटबलभित्र लुकाएर लगिएको हेरोइन अमेरिका पुर्‍याउन गाह्रो भएन उनीहरूलाई । तर, अमेरिका ओर्लनासाथ शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ विमानस्थलमै समातिए । अमेरिकाका लागि तात्कालिक नेपाली राजदूत विश्व प्रधान जमानी बसेर शाहलाई तत्काल छुटाइए पनि श्रेष्ठ भने अहिले पनि अमेरिकामै जेल सजाय भोग्दै छन् ।

अमेरिकाबाट फ्याक्स

शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ समातिएको खबर अमेरिकाको स्थानीय एक पत्रिकामा छापियो । त्यो समाचार हाम्रो (विमर्श साप्ताहिक) पत्रिकाका एक पाठकले पढेछन् । समाचार पढ्नासाथ प्रकाशित समाचारको कटिङ उनले हामीलाई अमेरिकाबाट फ्याक्स गरिदिए । त्यही समाचार कटिङलाई स्रोत बनाएर हामीले समाचार छाप्यौँ । विमर्शमा छापिएको समाचारको कटिङ भूमिगत गिरोहका आफन्तले फ्याक्स गरी अमेरिका पठाएछन् ।

अमेरिकामा मात्रै नभएर उनीहरूले गर्दै आएका अवैध काम सारा नेपालीलाई थाहा भयो । त्यतिवेला हामीले एक हजारप्रति पत्रिका हुलाकबाट संसारभरि पठाउँथ्यौँ । तसर्थ, त्यो खबर देश-विदेशमा रहेका नेपालीले थाहा पाए । त्यसो भएपछि ममाथि उनीहरूले अपराध चिताउन बाध्य भए ।

अन्ततः मार्ने योजना

अन्ततः मलाई मार्ने योजना बनाइयो । त्यो पनि नेपालमा नभएर, अमेरिकाको लसएन्जल्समा । लसएन्जल्सको एक होटलमा बसेको छलफलमा धीरेन्द्र शाह, शरदचन्द्र शाह, भरत गुरुङ र दुई विदेशी सहभागी थिए रे । मलाई मार्न जगत गौचनलाई प्रस्ताव राखियो । गौचनले सो प्रस्ताव सहर्ष स्विकारे ।

३० चैत ०४३ को रापंस चुनावमा म्याग्दीको शिख गाउँ विकास समितिको मूलपानी गोलीकाण्डमा हिराबहादुर पुन, हिरालाल फगामी र सुरेश सेर्बुजाको मृत्यु भयो भने आइमती पाइचाको आँखामा गोली लाग्यो, १० घाइते र ४० विस्थापित भएका थिए । सो गोलीकाण्ड तात्कालिक रापंस सदस्य भीमप्रसाद गौचनको निर्देशनमा भएको थियो भन्ने समाचार विमर्शमा छापिएको थियो । त्यसको रिस फेर्न चाहिरहेका थिए जगत गौचनले । जसको बदला लिन उनी आतुर थिए । धीरेन्द्र, शरद र भरत नेपाल र्फकनुअघि नै मलाई सिध्याइसक्नुपर्ने उर्दी जारी गरिएको रहेछ । आज्ञापालक जगत गौचनले ओलम्पिकबाट र्फकनसाथ काम कुरा अगाडि बढाए ।

पेस्तोल चलाउन तालिम

थाहा पाएसम्म निरन्तर दरबार र दरबारियाको समाचार लेखिरहेँ । उनीहरूका बारेमा समाचार लेख्ोबापत म राजाविरोधी पत्रकार भएको थएँ । त्यसकारण म उनीहरूका लागि आँखाको कसिंगर भएँ । मेरो अस्तित्व रहेसम्म कसिंगर पन्छाउनु त्यति सजिलो थिएन । कसिंगर पन्छाउनु भनेको मेरो अस्तित्व सिध्याउनु हो । त्यसैअनुसार मलाई सिध्याउन उनीहरू लागिपरे । जगतले टंक गौचनमार्फत विकास गुरुङ फेलापारे ।

मलाई सिध्याउन विकासलाई तयार पारियो । गुरुङ स्याङ्जाको आँधीखोलामा एकजनाको हत्या गरी काठमाडौँ पसेका रहेछन् । त्यो मुद्दा जगतले जिताइदिन्छु भन्ने आश्वासन दिएपछि विकास मलाई सिध्याउन तयार भएका रहेछन् । मलाई खुकुरी प्रहार गरी मार्नु भनिए पनि गुरुङले नमानेपछि पेस्तोल तयार पारिएको रहेछ । तयार पारेपछि विकासलाई पेस्तोल चलाउने तालिम गराइयो । तालिम फर्पिङको हात्तीवनमा भएको थियो । गोली भने प्रदीपले नीरशमशेरका नाति विनयशमशेरबाट हात पारेका थिए ।

नरशमशेरको पेस्तोल

विकास गुरुङले तालिममा चलाएको पेस्तोल नरशमशेरको थियो । नरशमशेरका छोरा प्रदीपशमशेर जगत गौचनका चेला थिए । मतलब गौचनले प्रदीपलाई तेक्वान्दो तालिम गराउँथे । उनै चेला प्रदीपमार्फत गौचनले नरशमशेरका पेस्तोल हात पारे । नाइन एमएमको सो पेस्तोल स्विट्जरल्यान्ड जाँदा त्यहाँका एक पेस्तोल कम्पनीले दुईवटा पेस्तोल उपहार दिएको रहेछ । त्यसमध्ये एउटा त्रिभुवनले राखे र अर्का नरशमशेरलाई दिएका थिए ।

२० भदौ ०४३ मा त्यही पेस्तोलले मलाई गोली हानियो । गोली हानेका थिए- उनै विकास गुरुङले । गोली हानेको ३५ दिनसम्म मेरो होस खुलेन । मेरो उपचार बंैककको समितिभेज अस्पतालमा भएको हो । दुई महिनासम्मको उपचारपछि म जाती भएँ । उपचारका लागि लगभग २५ लाख खर्च भयो । पाँच सय पाउन्ड मात्रै खर्च भयो मेरो । बाँकी आमनेपाली शुभचिन्तकको सहयोगले मेरो उपचार सम्भव भएको थियो । सात हजार सरकारले दिएका थिए । मलाई गोली हानिएपछि मेरा मित्रहरूले नेपाल टेलिभिजनबाट 'पदम ठकुराठी उपचार कोष' गठन भएको सूचना प्रवाह गरेपछि मेरो उपचारका लागि त्यतिविधि रुपैयाँ जम्मा भएको थियो । त्यतिवेला मागेजति रुपैयाँ र पद-प्रतिष्ठामा बिकेको भए आज म पदम ठकुराठी हुने थिइनँ ।
प्रस्तुतिः दीपेन्द्र राई

Sunday, June 3, 2012

यस्तो अवस्था आउला भन्ने सोचेको थिइनँ: प्रधानन्यायाधीश खिलराज रेग्मी


संक्रमणकालीन राजनीतिसँग जोडिएका विवादलाई प्राथमिकतासाथ सुनुवाइ गर्ने परिपाटी बसालेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी पछिल्लोपल्ट संविधानसभाको म्याद थप्ने सरकारी विधेयकमा रोक लगाएका कारण चर्चामा छन् । प्रस्तुत छ, संविधानसभाको म्यादलाई सीमित गर्ने आदेश, हालको संवैधानिक संकटलगायतका विषयमा उनीसँग रामबहादुर रावलले गरेको विशेष संवाद :
सर्वोच्च अदालतको आदेशका कारणले संविधानसभा संविधानै नदिई विघटन भयो । तपाईंले आदेश गर्दा यस्तो परिस्थिति आउला भन्ने कुनै कल्पना गर्नुभएको थियो ?

त्यस्तो कल्पना थिएन। किनभने, अवधि तोकिएको संविधान अन्तर्गत नै संविधानसभाको चुनाव भएको हो। जनादेश पनि त्यसैमा आधारित थियो। संविधानमा तोकिएको समय व्यतीत भइसकेपछि विभिन्न चरणमा भएका म्याद थपका विरुद्ध अदालतमा मुद्दा आए। ११ जेठ २०६८ को निर्णयमै संविधान बन्नुपर्छ तर समय अगाडि गइसकेको अवस्था हो भन्ने संकेत र उद्बोध हुने गरी स्पष्ट पारिएको थियो। त्यो निर्णय आवश्यकताको सिद्धान्त अनुसार भएको थियो। तैपनि, यस (संविधानसभा)लाई सदुपयोग गर्नुपर्छ र समयमै संविधान आउनुपर्छ भन्ने नाममा म्याद पनि थपिरहनुपर्छ भन्ने होइन। त्यतिबेला निर्णय गर्दा हामीले बढी समय लम्बिने कुरातर्फ सबै जिम्मेवार हुनुपर्छ, संविधानसभा बढी सक्रिय हुनुपर्छ भन्ने भाषा प्रयोग गरेका छौँ। फेरिएपछि पनि म्याद थपिँदै गयो। हाम्रो उद्देश्य के थियो भने समय नपाएका कारण तत्काल यसको अन्त्य नहोस्, आवश्यक समय पाओस् र सँगसँगै समयमै काम गर्नुपर्छ भन्ने कुराको पनि उद्बोध होस्। हामीले यो पटकपटक म्याद थपिने विषय होइन र आवश्यकताको सिद्धान्त पनि पटकपटक प्रयोग हुन सक्दैन भनेका थियौँ।