Tuesday, May 26, 2015

नजिर मान्न नसकिने एउटा फैसला


म कानुनको विद्यार्थी होइन । तैपनि, कानुनका विज्ञ, पूर्वन्यान्यायाधीश भरतराज उप्रेतीले जीवनको अन्तिम घडीमा गरेको फैसलाउपर पुनरवलोकन गर्न मन छ ।

पूर्वन्यायाधीश एवम् कम्पनी कानुनका विज्ञ भरतराज उप्रेतीले आइतबार राति स्वेच्छिक मृत्युको बाटो रोजे । उनले यस्तो समयमा मृत्यु रोजे कि सिंगो मुलुक शताब्दीकै ठूलो प्रलयंकारी घटनाको शोकमा डुबिरहेको छ । आजीवन न्यायको पक्षमा उभिएर र न्याय गरेर धेरैका प्रिय (केहीका अप्रिय पनि) बनेका न्यायाधीश उप्रेतीले शोकमा शोक थपेर न्यायप्रेमी नेपालीमाथि घोर अन्यायसमेत
गरेका छन् ।

सायद यही सम्झेर होला, पत्रकार हस्त गुरुङले टिप्पणी गरेका छन्, 'ईच्छामृत्यु...? त्यो पनि डोरीको पासो लगाएर.... ? सुन्दा पनि जिउ सिरिंग भयो.... ।'
ईच्छामृत्यु...? त्यो पनि डोरीको पासो लगाएर....सुन्दा पनि जिउ सिरिंग भयो...


सोमबारै ट्वीटमा आएको अर्को प्रतिक्रिया थप सोचनीय छ । सुबास केसीले अर्कै प्रसंगमा टिप्पणी गरेका छन्, 'सोचहीन र सामर्थ्यहीन नेतृ्त्व भएको समाजले कतै पनि टेकेर फड्को मार्दैन, बरु हाम्फाल्छ।
@sushilshrma सोचहिन र सामर्थ्यहिन नेतृ्त्व भएको समाजले कतै पनि टेकेर फड्को मार्दैन, बरु हाम्फाल्छ।


यिनै दुई ट्वीटलाई यहाँ पुनरवलोकन निवेदन (उजुरी) को रुपमा ग्रहण गरिएको छ र यो विमर्श पनि यिनै ट्वीटप्रति समर्पित छ ।



नेपाली समाजको मूल चरित्र जेजस्तो भए पनि अग्रभागमा यस्ता व्यक्तिहरु छन्, जो ९ हजार मान्छेको ज्यान गइसकेको, ८० लाख मान्छेको घरवास बेठेगान भएको, कैँयौँ लालाबाला, वृद्धवृद्धाको आश्रय खोसिएको बेला पनि राष्ट्रिय सहमतिको सरकारको बाजा बजाउँदै सत्ता लिप्साको नमीठो धुन प्रवाहित गरिरहेका छन् । भोको पेट, ओतविहीन रात, आश्रयहीन आगतको पीडामय त्रिवेणीमा छटपटाइरहेका नेपालीकै अगाडि राहतको पोको खोसाखोस गर्न दलीय संयन्त्रका सदस्यहरु आफ्नो चरित्र देखाइरहेका छन् ।

यस्ता लोभी, पापी, बेइमान, तिगडमबाज, नाफाखोर, कमिसनखोर, राजस्वमारा, ज्यानभारा, भ्रष्टाचारी, दुराचारीहरु राजनीतिक नेतृत्वमा छन् । शासन र प्रशासनका कुर्सी–कमानीमा छन् । समाजका मुखिया तिनै छन् । मिडियामा अपिनियन मेकर तिनै छन् । शक्तिकेन्द्र वरिपरि तिनै छन् । उनीहरु बिहान जिमखानामा तस्करसँग भेट्छन् । दिउँसो तिनै तस्करका फाइल सदर गर्छन् र अपरान्ह तिनकै आउरेबाउरेसँग लन्च गर्छन् । आफू पानीमाथिको ओभानो बन्नका लागि सज्जन इमानदारहरुको हुर्मत लिन्छन् । त्यसका लागि केही बनिबनाउ मसला र उब्रेको जुठोपुरो खबरवाहकको पोल्टामा फालिदिएर भोलिपल्ट सुकिला फोटा पत्रिकामा छपाउँछन् । अनि भन्छन्, चियर्स ।

तिनको नांगो जगजगी छ । एक अभियन्ता भन्ने गर्थे, पञ्चायतकालमा नदेखाएर खान्थे । देखाई देखाई त खान्नन् कि भनेर हामीले पारदर्शिताको माग राख्यौँ । तर, अहिले त पारदर्शी रुपमै खान थाले । अब के भन्ने ?
यो कुरा कसरी होइन भन्ने ? नत्र किन जस्ता पाता कसले खरिद गर्ने भनेर मन्त्रीहरु मन्त्रिपरिषदमै पाखुरा सुर्कासुर्की गर्थे ? रातारात किन मन्त्रिपरिषद बैठकका निर्णय उल्टिन्थे ? नत्र किन एकै दिनमा सिंहदरबारभित्रै १० हजार पाल गायब हुन्थे ? भूकम्पपीडितलाई चीनबाट आएका पानीका बोतलसमेत कसरी मन्त्रीक्वाटरमा पुग्थे ?

इमानदार, पठित, राज्यका किलाकाँटाबारे भलिभाती जानकार र आदर्श बुजु्रक सधैँ समस्यामा पर्छ । उसले यी सबै गोरखधन्दा देखेको हुन्छ । बुझेको हुन्छ । तर, गर्न केही सक्दैन । विद्रोह गर्दा ऊ एक्लै पर्छ । उसको कुरा सुनिदिने कोही हुँदैन । यहाँ सही कुरा गर्न ठाउँठाउँमा प्रमाण पेस गर्दै हिँड्नुपर्छ । गलत धन्दा र कुतर्क गर्नेहरुलाई जति पनि छूट छ । नर वा कुन्जर वा अशोत्थामा हतोहत शैलीमा इमानदारहरुको हुर्मत लिइन्छ । सकेसम्म उसको बोली खिसीट्यूरीमै उडाइन्छ । उसको सादा जीवनशैलीमाथि छेडखानी गरिन्छ । उसको मूल्य र आदर्शमाथि दारिद्रयको बिल्ला भिराइन्छ ।

जहाँ चोरहरु खुलेआम चौतारामा भेला हुन्छन् । साधुहरु सुलीमा चढ्छन् (यहाँ साधु भन्नाले गेरु वस्त्र वा लामा दाह्रीधारी भन्न खोजिएको होइन) । हेर्दाहेर्दै राज्यको ढुकुटी रित्याउँछन् । गरीब जनताको रगत पसिना चुस्नुसम्म चुस्छन् । न्यायको चीरहरण गर्छन् । बलात्कारीहरु नैतिकताका पाठ पढाउँछन् । भ्रष्टाचारीहरु सुशासनका प्रोजेक्ट चलाउँछन् । अन्यायीहरु न्यायको बखान गर्छन् । हातमा छाप छ, जे गरे पनि फाप्छ शैलीमा शक्तिको दुरुपयोग, स्रोतमाथिको ब्रम्हलूट र सद्भावमाथिको कुठाराघात जब चरम अवस्थामा पुग्छ, त्यहाँ सदाचारीको शिर निहुरिन्छ । ऊ औडाहाले जल्छ । निराशाले पिरोलिन्छ ।

मान्छे न हो, उसको जैविक संरचनाले मगजी उथलपुथल बोक्ने सामथ्र्यको सीमा हुन्छ । जब मानिस आफूले देख्न नसक्ने दृश्यहरु बारम्बार देख्नुपर्ने हुन्छ, नसुन्नुपर्ने शब्दहरु बारम्बार सुन्नुपर्ने हुन्छ र आफू उभिएको धरातल आफ्नै लागि अयोग्य ठान्छ, उसले मुक्तिको बाटो रोज्छ, रोज्छ । जसरी पृथ्वीले आफूभित्रको तनाव कम गर्न भुइँचालोको सहायता लिन्छ । सबै मान्छेले कहाँ सधैँ आफूभित्रको भुइँचालो थेग्न सक्छन् र ? पृथ्वीको सबै भूगोलले कहाँ एकनासको भुइँचालो थेग्छ र ?

हामी बाँचेको आजको देशको परिस्थिति र उप्रेतीको मृत्युवरणको चित्रण गर्दै समाजसेवी एवम् मदन पुरस्कार विजेता लेखिका राधा पौडेलले फेसबुकमा लेखेकी छन्, ‘देश रोएको हरेक पलको साझी बन्नु, आफु बलात्‍कृत भएर पलपल मरेर बाच्नु, निरीह, लाछी बनेर वा बहुलाएर बाच्नुभन्दा मरेकै जाती । म स्व.  भरतराज उप्रेतीलाई नजिकबाट चिन्दिन तर उहाँ बाचुन्जेल् उहाँलाई सहयोग नगर्नेहरुलाई गोहीका आँसु चुहाउने हक पनि छैन ।’

आत्महत्यालाई अनेकले अनेक तरिकाले परिभाषित गरेका छन् । कानुनले यसलाई आफ्नैविरुद्धको अपराध ठहर्छ । समाजले कायरताको पराकाष्ठा भन्छ । धर्मले अधर्म मान्छ । मनोचिकित्सकले निराशाको चरमोत्कर्ष भन्छन् । विसंगतिवादीहरु घात–प्रतिघातको स्वाभाविक परिणाम ठह¥याउलान् । अस्तित्ववादीहरु गलत विद्रोहको विशेषण भिराउलान् । उप्रेतीकै हकमा भन्ने हो भने उनलाई गलहत्याएर कुर्सीमा पुगेकाहरु सायद अट्टहास गरिरहेका होऊन् । उनको जीवन दर्शन र मूल्यलाई गलत सावित गर्न खोज्नेहरु पागलको संज्ञा दिँदा हुन् । उनका अडान र तर्कहरुलाई निस्तेज बनाउन चाहनेहरु मानसिक बिमारीको ट्याग लगाउँदा हुन् । 

म पनि भन्छु, उप्रेतीले मृत्युको बाटो रोजेर राम्रो गरेनन् । यी पंक्तिहरु लेख्नुको उद्देश्य उनको आत्महत्यालाई सही सावित गर्नु पनि होइन । सही र सदाचारी व्यक्तिका लागि यो समाजमा कुनै स्थान छैन भन्नु अमेरिका बसेर नेपालमाथि विपद पर्दा कुनै विदेशीको सहयोग चाहिँदैन भन्नुभन्दा पनि चरम मूर्खता र नासमझपन हो । व्यक्तिगत कुरा गर्ने हो भने आत्महत्या गर्ने जोकोही व्यक्तिप्रति मेरो कुनै सहानुभूति छैन । कायरहरुले मात्र यो बाटो रोज्छन् ।

मान्छेले एक मुठी रगत छउन्जेल दुरात्माका विरुद्ध लड्न सक्नुपर्छ । लड्नका लागि तरबार समाएर नै सडकमा निस्कनुपर्छ भन्ने होइन । राँको बालेर हिँडनुपर्छ भन्ने पनि होइन । गोविन्द केसीले शस्त्रहीनरुपमै ठूलो लडाइँ लडिरहेकै छन् । दुर्जनहरुका बाधा, अवरोध र खिसिट्यूरीको बेवास्ता गरी आफ्नो क्षेत्रमा सकेको सकारात्मक योगदान गरेर आफ्ना मान्यताप्रति दृढतापूर्वक उभिनु नै पनि लडाइँ हो । जब पलायनको बाटो समाइन्छ भने त्यो प्रकारान्तरले दुरात्मालाई स्वर्ग सुम्पिनु हो । त्यसकारण उप्रेतीले जीवनको अन्तिममा जे फैसला गरे, त्यो गलत गरे ।

तर, उनीबाट सिक्नुपर्ने कुरा धेरै छन् । आशा छ, ती कुरा नेपाली समाजले बिर्सने छैन । उनी मरेर गए पनि जीवनको अन्तिम घडीमा गरेको उनको एउटै फैसलाका कारण त्यसअघि उनले बाँचेको आदर्श डग्मगाउने छैनन् । उनले लिएका मान्यता र अँगालेका मूल्यहरु मूल्यहीन हुने छैनन् ।

अतः यी सम्पूर्ण तथ्यहरुको विवेचना गर्दा उप्रेतीको उक्त फैसला प्रथमदृष्टिमै त्रुटिपूर्ण देखिएकाले खारेजभागी ठहर्छ । र, उनको अन्तिम फैसलाले नजिरको भाउ पाउने नदेखिँदा नेपाल कानुन पत्रिकामा नछाप्नू नछपाउनू र लगत कट्टा गर्नू ।

No comments:

Post a Comment