मंसिर १२, २०७१-ज्ञानको दुनियाँमा
जर्साबहरूले बजार पिटिरहँदा मामुली सैनिक अधिकृत ओझेल पर्नु कुनै ठूलो कुरो
भएन । सेनाका उपल्लो दर्जामा बसेका, सनसनीपूर्ण घटनामा सामेल भएकाहरूले
चर्चाको शिखर चुम्नु नौलो भएन ।
मोहन थापा कुनै ठूलो ओहोदाधारी होइनन् ।
ठूला राजनीतिक र सनसनीपूर्ण घटनासँग जोडिएका पनि छैनन् । त्यसैले यो
चिनाउनुपर्ने नाम हो ।
नेपाली सेनाका मामुली अवकाशप्राप्त अधिकृत । अर्थात्, निवृत्त सुबेदार ।
सेनाको पद सोपानमा पछाडिबाट पाँचौँ तहका बेतनभोगी । उनीमाथि ११ तह अझै छन् ।
त्यसैले यी 'लो प्रोफाइल'का लेखकको कृतिले कम चर्चा पाउनु कुनै आठौँ
आश्चर्य भएन ।
यद्यपि, यसको विषयवस्तु, संगठन, प्रस्तुति र भाषाशैली हेर्दा
बजारमा आएका अरू कुनै पनि पुस्तकको दाँजोमा कम छैन । विषयवस्तुप्रतिको
उच्च समझ, मेहनत, इतिहास लेखनको कारिगरी कुनै पनि हिसाबले यो पुस्तक उम्दा छ
। ज्ञानमूलक छ । रोचक छ ।
यो पुस्तक मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएका
नेपाली सैनिकका मृत्युकथाहरूको संग्रह हो । ३ सय ४८ पृष्ठ लामो यो पुस्तक
पढ्दा हत्याहिंसाले भरिएका, षड्यन्त्र र जालझेलहरूले जेलिएका कौतूहलपूर्ण
कथा-उपकथाहरूले भरिएको चलचित्र हेरेको अनुभूति हुन्छ । यसमा रोचक र मार्मिक
कथाहरू छन् । लडाइँ छन् । संघर्ष छन् । वीरताको इतिहास छ ।
घातप्रतिघातपूर्ण सम्बन्धहरूको चित्रण छ । प्रेम र युद्धले राजनीतिलाई
अनपेक्षित मोड दिन्छन् । शासकका आशंका र भयले सच्चरित्रहरू सुलीमा चढ्छन् ।
चाटुकारहरूलाई चौतारो मिल्छ । जासुसीहरू, युद्धहरू, भोगविलासहरू,
रासलीलाहरू त्यसै पनि आममानिसका पठन रुचिमा पर्छन् ।
तर, कथाको स्वाद पस्के
पनि यसमा काल्पनिकी छैन । नाटकीयता भए पनि बनावटीपन छैन । फिल्मी
वृत्तान्तहरू छन् तर यो अभिनीत होइन । सकेसम्मका वस्तु, तथ्य र विवरणहरू
खोजिएका छन् । मतभिन्नता भएका ठाउँमा सबै मतलाई स्थान दिइएको छ । कुनै
व्यक्ति वा पक्षलाई उनले आफ्नो बनाएका छैनन् । प्रामाणिकताका आधारमा खण्डन र
मण्डन गरेका छन् । कुन तर्क बलियो छ भन्ने दाबीसम्म गरेका छन् । बाँकी
पाठक र आगामी अन्वेषककै जिम्मा छाडिदिएका छन् ।
नेपाली सेना र नेपाल एकीकरणको इतिहास सँगसँगै सुरु हुन्छ । र, त्यहीँबाट
थालनी हुन्छ, सेनाभित्रको जालझेल र षड्यन्त्रका सिलसिला । पद र शक्तिमा
पुग्नका लागि, आफू साखुल्ले बन्नका लागि, प्रतिस्पर्धीलाई धूलीसात् पार्नका
लागि केसम्म गरिए/गरिन्छन् भन्ने कुराको तथ्यवृत्तान्त यस पुस्तकले दिन्छ ।
पुस्तक पढ्दै जाँदा के निष्कर्षमा पुग्न सकिन्छ भने राजनीतिक कारण, शासकीय
षड्यन्त्र वा अस्वस्थ प्रतिस्पर्धाका कारण सेनाभित्र कुनबेला कुन व्यक्ति
वा समूह कोपभाजनमा पर्छ भन्ने ठेगान हुँदैन । खाली तरिका फरक छ । प्रवृत्ति
उही छ । पृथ्वीनारायण शाहका पालादेखि चलेको अटुट शृंखलालाई लेखकले सतहमा
ल्याइदिएका छन् ।
विभिन्न कालखण्डको सामाजिक बनोट, शक्ति-संरचना र न्यायव्यवस्थाको दारुण
पक्ष यसले बोल्छ । भूराजनीति, छिमेक सम्बन्ध र नेपाली गौरवपूर्ण
इतिहासभित्रका खराबीहरू यसभित्र छन् । इमानदार र कर्तव्य परायणहरूका जिउँदै
छाला काढिएका छन् । नुनचुक दलेर निर्दयतापूर्वक हत्या गरिएका छन् । यतिले
मात्र नपुगेर लासलाई त्रिशूली किनारमा काग र गिद्धलाई खुवाइएका छन् (पृ.
३१, जयन्त राना) ।
जयप्रकाश मल्लले नुवाकोट आक्रमण विफल भएपछि पनि लामो समय सैन्य अभ्यास गरी
पुन: आक्रमणको तयारीमा रहेका काशीराम थापा लगायत आठ सैनिकलाई चावहिलमा
काटिदिए, विरोधीको भनाइमा लागेर (पृ. ४१) । पृथ्वीनारायणले उपत्यका कब्जा
गरिसकेपछि पनि आफ्ना रैतीमाथि बर्बर दमन गरेको (पृ. ५१) प्रसंग पुस्तकमा छ ।
बहादुर शाह र महारानी राजेन्द्रलक्ष्मीको शक्ति संघर्ष चल्छ ।
राजेन्द्रलक्ष्मीसँग अनैतिक सम्बन्धको आरोपमा काजी सर्वजित राना हनुमानढोका
दरबारभित्रै काटिएका छन् (पृ. ६०) ।
बहादुर शाहसँग भारत बेतिया बस्न
पुगेका वंशराज पाण्डेलाई बोलाइयो । योद्धा पाण्डे कास्की विजय अभियानमा गए ।
चौबीसी एकता भत्काउन तनहुँका सेनापति गरुडध्वज राईलाई हात लिए । र,
चौबीसीबाट अलग्याए । लमजुङ, कास्की, पर्वत हेर्ने गरी अमरसिंह थापाले
तैनाथी पाउँछन् । तर, पाण्डेले यति गरेबापत स्याबासी पाउँदैनन् । लमजुङ र
पर्वतका राजालाई पक्राउ नगरी भगाएको आरोपमा कैद गरिन्छ ।
यस्ता थुप्रै कारुणिक र मार्मिक प्रसंगहरू छन् । अचानोमा काटिनुअघि मर्ने
निश्चित भइसकेपछि सिपाहीहरूले बोलेका कुरा पढ्दा मुटु छियाछिया हुन्छ ।
राणाकालीन १९३८ सालको पर्वमा मारिएका सैनिकहरूले आफूलाई काट्ने व्यक्तिलाई
धेरै पीडा नदिई एकै चोटमा छिनाइदिनू भनी आफूसँग भएको नगद, गहना वा अरू
जिन्सी दिएका छन् । मेजर कप्तान शमशेरजंग थापालाई मार्ने व्यक्तिको बयान
यस्तो छ, 'बाटामा केही बोल्यानन् । ओठ चलाई मात्र रह्या । एकै चोटमा छिनी
दिनू भनी १।। मोरू पोढ्यालाई दीया । एकै चोटमा शिर छुट्यो' (पृ.१९६) ।
शाहकाल, राणाकाल, पञ्चायतकाल हुँदै पछिल्लो बहुदलीय व्यवस्थाकालसम्मका
सैन्य सेवाभित्रका यस्ता घटनाहरू पुस्तकमा संकलन गरिएका छन् ।
ओखलढुंगा
काण्डका क्याप्टेन यज्ञबहादुर थापा, तत्कालीन शाही नेपाली सेनाका परमाधिपति
राजा वीरेन्द्र, उनका छोरा दीपेन्द्रलगायतको हत्यालाई समेत 'ती सैनिक'मा
समेटिएको छ । विसं १७०७ देखि २०५८ को समयावधिका घटनालाई यसमा समावेश छन् ।
कुनै व्यक्तिकेन्दि्रत र कुनै घटनाकेन्दि्रत गरी ३८ वटा शीर्षकमा विवरण
प्रस्तुत गरिएको छ । एकरूपताका लागि सुरुमा व्यक्ति र घटनाको सामान्य परिचय
बुँदागत रूपमा राखिएको छ । अनि मात्र विस्तृत विवरण दिइएको छ ।
हरेक सूचनाको सन्दर्भस्रोत, पाद टिप्पणीसमेत दिएर अधिकाधिक तथ्यपरक र गहन
बनाउने प्रयास गरिएको छ ।
कथा अघि बढ्दै जाँदा उमराव शब्द आउँछ । त्यो शब्द
मुगल साम्राज्यमा कुन अर्थमा प्रयोग हुन्थ्यो, नेपाल भित्रियो र नेपाली
सन्दर्भमा कहाँ प्रयोग भयो भन्ने विस्तृत जानकारी दिन्छन् । बीचैमा
सतीप्रथा आउँछ । त्यसको लामो विवेचना तुरुन्तै पादटिप्पणीमा पढ्न पाइन्छ ।
नुवाकोटको प्रसंग आएपछि त्यसैको भूगोल, इतिहास र राज्यव्यवस्थामा लामो समय
खर्चिइएको छ । सैनिकलाई मृत्युदण्डबारे पनि लामो व्याख्या, अन्तर्राष्ट्रिय
अभ्यास र त्यसको प्रचीनता (पृ. ४४) विस्तृतमा उल्लेख गरिएको छ । बटुकदल
पल्टनको प्रसंग आउँछ, बटुक भैरवको इतिहासमा पुगिन्छ । राजनीतिमा युद्धको
प्रयोग र परम्पराबारे चर्चा गर्दै उनी पादटिप्पणीमै उनी 'सिकन्दर र
युद्ध'सम्म पुग्छन् । 'प्राचीनकालमा युद्ध नियमित कार्यजस्तै थियो । राज्य
विस्तार, बदलाको भावना र रुपसी सुन्दरी महिलाहरू लुट्ने, दासी बनाउने
कार्यका लागि' भन्दै पराजित शासकका युवती दासीहरूलाई भोग्ने उत्कण्ठाले
शासकका लहडमा पनि युद्ध भएको लेखक सम्झाउँछन् (पृ. ५३) ।
पुस्तकको अर्को सशक्त पक्ष भनेको सन्तुलित भाषा हो । पृथ्वीनारायण शाहलाई
नायक र खलनायक बनाउने दुई अतिवादी धारको बीचमा बसेर उनी गुण र दोषको
सन्तुलित प्रस्तुति दिन्छन् (स्वरूपसिंह कार्कीबारे, पृ. ७२) । जयन्त
रानालाई क्रूरतापूर्वक मृत्युदण्ड दिइएको र मृत्युपछि पनि क्रूर व्यवहार
गरेको कुरालाई लेखकले 'पुत्रशोकले ग्रसित अवस्थामा त्यसो गरेको हुन सक्ने'
भन्दै लेखेका छन्, 'त्यसपछि कहिल्यै मृत्युदण्ड दिएनन् । र, मृत्युदण्ड
नदिनू भनी दिव्योपदेशमा उल्लेख गरे' (पृ. ३३) ।
हरेक घटनामा लेखक बीचमा
बसेर तौलन्छन् । कमजोरी कसको भनेर केलाउँछन्, '...तर आफ्नो पक्षमा लड्न
गएका सैनिकहरू निर्णायक युद्धमा विपक्षीतर्फ ढल्किनु ठूलो द्रोह हो ।
तनहुँका सैनिकको मनोबल पराजित थियो र उनीहरू भित्रभित्रै गोरखालीसँग रुष्ट
थिए । उनीहरूलाई आफ्नो पक्षमा तुल्याउन नसक्नु गोरखाली वीरहरूको कमजोरी
थियो भने युद्धमैदानमा दोहोरो चरित्र, ढुलमुलेपन देखाउनु तनहुँका सैनिकको
कमजोरी थियो (पृ. ५४ ।)
नेपाली सेना जंगी अड्डाद्वारा प्रकाशित इतिहास पनि
एकतर्फी रहेको, कुनै सैनिकलाई के कारणले दरबार छाड्न बाध्य पार्यो भन्ने
कुरा प्रस्ट छैन (पृ. ३४) भन्दै अधुरो इतिहास पनि लेखकले औंल्याइदिएका छन् ।
धेरै ठाउँमा धेरै प्रसंग दोहोरिएका छन् । एउटै पाठमा पनि उही र उस्तै कुरा
पटकपटक परेका छन् । जानकारीको स्रोत उल्लेख गर्दा केही ठाउँमा अस्पष्टता छ ।
हुद्दा शशी खड्काको प्रसंगमा तत्कालीन ग्यारिजन गणका ड्युटीमा रहेका हाल
अवकाशप्राप्त हुद्दासँगको कुराकानी (पृ. २७७ र २७९) भनिएको छ तर
स्रोतव्यक्तिको नाम दिइएको छैन । पाद टिप्पणी र परिशिष्ट खण्ड पुस्तकको मूल
पाठलाई नै उछिन्ने खालको छ । त्यसैले अझै पुस्तकले सम्पादनको माग गर्छ ।
पञ्चायतकालीन यज्ञबहादुर थापाको मृत्युदण्डपछि बीचमा शशी खड्काको घटना छ ।
त्यसपछि एकैचोटि राजा वीरेन्द्रमा आइपुग्छ । के माओवादीको सशस्त्र
संघर्षकालमा वा बहुदलकालमा कुनै पनि सैनिकको हत्या वा आत्महत्या भएन ?
यसबीचका घटनाको थप खोजी हुनुपर्ने देखिन्छ ।
भाषा सरल छ । छोटाछोटा वाक्य प्रयोग गरिएको छ । बोलीचालीबाट हराइसकेका,
न्याय र न्यायशास्त्रका प्राविधिक शब्दावलीको अर्थ मात्र होइन, सप्रसंग
व्याख्यासमेत गरिएको छ । नेपाली इतिहासलाई एउटा विशिष्ट कोणबाट नियाल्न
यसले सघाउँछ ।
समग्रमा यो पुस्तक ठूलो ओहोदाविहीन सैनिकको आँखाबाट हेरिएको
सैनिक इतिहास हो । भलै, यसले सैन्य इतिहास मात्र बोल्दैन । समाज, संस्कृति,
राजनीति, कूटनीति, अर्थशास्त्र, भाषाशास्त्रीय महत्त्वसमेत बोक्दछ ।
ती सैनिक
लेखक : मोहन थापा
प्रकाशक : शारदादेवी खड्का
पृष्ठ : ३४८
मूल्य : ४५० रुपैयाँ
No comments:
Post a Comment