Tuesday, June 27, 2017

राज्यले कर्मचारीलाई खटाएपछि जान्नौँ भन्न पाइन्छ र ?

निजामती सेवाका कर्मचारीहरू स्थानीय र प्रदेशको मातहत रहेर काम गर्न नमान्दा कर्मचारी समायोजनको विषय जटिल बनेको छ । यसले संघीयता कार्यान्वयनमा कर्मचारी प्रशासन बाधक बन्ने त होइन भन्ने आशंका पनि उब्जाएको छ । यही सेरोफेरोमा नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीसँग रामबहादुर रावलको कुराकानी:


कर्मचारीतन्त्रमा संघीयताप्रति कत्तिको लगाव देखिन्छ ?

यसमा दुई खालको सोच छ । संविधानको भावनाअनुरूप हुबहु कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यतामा एकदम कम मान्छे छन् । राजनीतिक नेतृत्वमा पनि यो समस्या छ । म त्यो मानसिकतालाई पन्छाउँदै काम गरिरहेको छु । संविधानबमोजिम कानुन बनाउनुपर्छ, प्रस्ताव मिलेको छैन भन्दा देशैभरिका केही जनशक्तिले मलाई गाली गरिरहेका छन् । यसले के देखाउँछ भने संघीयता कार्यान्वयनका लागि हामीलाई सहयोगी वातावरण छैन । किनभने, परिवर्तन भन्ने कुरा संविधानमा भए पनि व्यवहारमा कार्यान्वयन गराउन गाह्रो रहेछ ।

मुख्यसचिवले नै गाह्रो भनेपछि कसले गर्ने त यो काम ?

सचिवको दरबन्दी बढाउने कुरामा मेरो कुरा मिलेन, मैले रोकेँ । अहिलेसम्म म रोक्न सफल भएको छु । त्यसमा मेराविरुद्ध अनावश्यक सिकायत पनि भए । मिडियाबाजी पनि भए । विभिन्न कोणबाट कुरा आए । तर, दरबन्दी बढ्न दिइएन । कृषि, पशुविकासका तीन–तीन हजार प्राविधिक सहायक दरबन्दी थप्ने प्रस्ताव आएको थियो, त्यसलाई रोकेर १२–१५ सयमा सीमित गर्दा मलाई भयंकर दुःख भयो । माननीय मन्त्रीज्यूहरूले असहयोग गरेको आरोपसमेत लगाउनुभयो । प्रधानमन्त्रीले समेत ‘यो गर्नैपर्छ, असन्तुष्टि बढी आयो’भन्दा मैले होइन, त्यसो गर्नुहुन्न भनेर अडान लिएँ ।


अहिले दरबन्दी बढाउन नहुने कारणचाहिँ के हो ?

संघीयतामा नगएसम्म हामीले दरबन्दी थप्नुहुँदैन । जुन तहमा जुन खालको जिम्मेवारी जान्छ, त्यसैअनुरूपका कर्मचारी अहिले समायोजन हुन्छन् । जुन तहमा जनशक्ति पुग्दैन, त्यो भर्ना गर्ने जिम्मेवारी उही तहको हो । अहिलेदेखि नै हामीले फादरसिप चलाउनु हुँदैन भनेर मैले रोकेँ ।

सिंहदरबार छाड्न कर्मचारीतन्त्र अनिच्छुक

पुरानो निजामती कर्मचारी संयन्त्रलाई संघ, प्रदेश र स्थानीय तहमा विभाजित गर्नै गाह्रो


  • रामबहादुर रावल
सामान्य प्रशासन मन्त्रालयले ५ असारमा स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी एक आदेश जारी गर्दै अन्तरिम व्यवस्थापनको ढाँचा सार्वजनिक गरेको छ । त्यसमा नयाँ गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र तिनका वडामा रहने कर्मचारीको विवरण उल्लेख गरिएको छ । नयाँ गाउँपालिकामा उपसचिव वा शाखा अधिकृतस्तरका एक कार्यकारी प्रमुखसहित न्यूनतम ९ जना कर्मचारी तोकिएको छ । तीबाहेक विभिन्न सेवा, परियोजना एवं कार्यक्रमका कर्मचारीहरू रहनेछन् ।


आदेशअनुसार कृषि सेवा केन्द्र÷उपकेन्द्र, पशु सेवा केन्द्र÷उपकेन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी÷उपचौकी, आयुर्वेद औषधालय, शिक्षा स्रोत केन्द्र आदि स्थानीय सरकारमा गाभिनेछन् । त्यसैगरी सामुदायिक सूचना केन्द्र, सामुदायिक पुस्तकालय, सामुदायिक भवन, सरकारी वृद्धाश्रम, खेलकुद सम्बन्धी कार्यालय पनि स्थानीय तहको सरकारअन्तर्गत सञ्चालन हुनेछन् । विभिन्न योजना वा कार्यक्रमबाट सम्पन्न खानेपानी र सिँचाइ पनि अब स्थानीय सरकारले हेर्नेछ । महिला विकास, वन, भूसंरक्षण, घरेलु उद्योग, भवन तथा सहरी विकास, नगर विकास समिति, सडक, श्रम, पर्यटन, वाणिज्य, सहकारी र युवा कार्यालय पनि स्थानीय सरकारले सञ्चालन गर्नेछ ।

यी सम्पूर्ण कार्यालय, तिनको सम्पत्ति र कर्मचारीसमेत हस्तान्तरण गर्न असार मसान्तसम्मको समयसीमा तोकिएको छ । यही अवधिभित्र जिल्ला, नगर र गाउँस्तरका सरकारी स्वामित्वका संघ, संस्था, समिति, संरचना वा निकाय स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने आदेशमा उल्लेख छ । १ साउनबाट नयाँ आर्थिक वर्षको बजेट निकासा र कार्यान्वयन हुने भएकाले यो समयसीमा दिइएको नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी बताउँछन्  ।


समायोजन गर्न एक वर्ष

हुन त अहिले सरकारले सधैँका लागि सरुवा नगरी तत्कालका लागि कर्मचारीलाई काजमा खटाउन लागेको हो । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्नका लागि सरकारले संसद्मा समायोजनसम्बन्धी विधेयक दर्ता गरेको छ । उक्त विधेयक पारित भएपछि कुन एकाइमा कति कर्मचारी आवश्यक पर्छन् भनेर संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गरिनेछ । 

Tuesday, June 20, 2017

यी हुन् टप टेन प्लस टु-२०७४


  • रामबहादुर रावल


गत वर्ष १५ असारबाट लागू भएको संशोधित शिक्षा ऐनले उच्च माध्यमिक विद्यालयको अवधारणालाई मेटाउँदै कक्षा–१२ सम्मलाई नै माध्यमिक विद्यालयमा रूपान्तर गर्ने प्रावधान ल्यायो । नयाँ कानुनी प्रावधान अनुसार अब उच्च माध्यमिक (प्लस टू) तह माध्यमिक विद्यालयमा परिणत हुनुपर्छ । केहीले यो प्रक्रिया सुरु गरिसकेका छन् भने केहीचाहिँ नयाँ शिक्षा नियमावली तथा नीतिगत स्पष्टताको पर्खाइमा छन् ।

जे भए पनि विद्यालय शिक्षाको सबैभन्दा उपल्लो तह हो, कक्षा–११ र १२ । मुलुकभरका ३ हजार ५ सय १५ वटा शैक्षिक संस्थाले गत वर्षसम्म यो तहको परीक्षामा आफ्ना विद्यार्थी सामेल गराएका छन् । तिनैमध्येबाट छानिएका उम्दा शैक्षिक संस्थाहरूको नतिजा विश्लेषणका आधारमा छानिएका हुन् यी । विगत चार वर्षमा लगातार उत्तीर्ण दर उच्च भएका विद्यालयहरूको सूचीमा केही विगत वर्षकै दोहोरिएका छन् भने केहीचाहिँ नयाँ थपिएका छन् ।

मानभवन, ललितपुरको प्रसादी एकेडेमीले १० वर्षदेखि अविजित रूपमा आफ्नो प्रथम स्थान कायम राखेको छ । नेपालको तथ्यांक विश्लेषणमा उसले गत वर्षको औसत ९८.३५ अंकको तुलनामा यस वर्ष उत्तीर्ण दर ९८.४८ प्रतिशत पुर्‍याएको छ ।

दोस्रो स्थान पनि गत वर्षकै माइतीघर, काठमाडौँस्थित सेन्ट जेभियर्स कलेजले आफ्नो स्थान सुरक्षित गरेको छ । उसको नतिजा गत वर्षको (९८.०७) भन्दा यसपटक केही घटेको (९७.६६) छ ।

गत वर्ष चौथो स्थानमा रहेको बागबजारस्थित काठमाडौँ मोडेल कलेज (केएमसी) ९६.०७ प्रतिशत उत्तीर्ण दरका साथ एक स्थान माथि उक्लिएको छ । चौथो स्थानमा रहेको सेन्ट मेरिजको भने गत वर्षको (९६.१८) बाट ०.२८ अंक घटेको छ । र, उत्कृष्ट १० को सूचीमा परेका मध्ये यो एक मात्र छात्रा विद्यालय पनि हो ।

मध्यबानेश्वर, काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टले दुई वर्षदेखि पाँचाँै स्थान ओगटेर व्यवस्थापन मात्र अध्यापन गर्ने संस्थाहरूमा सर्वोत्कृष्ट संस्थाका रूपमा निरन्तरता पाएको छ । यसको विद्यार्थी उत्तीर्ण दर पनि गत वर्षकै (९५.३३) कायम छ । गत वर्ष सातौँ स्थानमा रहेको पोखराको सगरमाथा मावि यसपटक ९३.७१ अंकका साथ एक स्थान माथि उक्लिएको छ । तर, छैटौँ र सातौँका बीचमा पर्याप्त दूरी (१.६२) छ । सगरमाथालाई पछ्याउन आइपुगेको छ, साँगा, काभ्रेस्थित नेपाल प्रहरी विद्यालय । पछिल्ला चार शैक्षिक सत्रको कक्षा–११ र १२ को परीक्षामा यस संस्थाबाट औसत ९३.५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

Sunday, June 11, 2017

आवरण कथा» चुनाव, चुनाव, मात्र चुनाव

नवनिर्वाचित प्रधानमन्त्री देउवाको मूल कार्यभार स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन
 - रामबहादुर रावल




बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख कार्यकारीमा निर्वाचित हुँदा मुलुक स्थानीय तहको निर्वाचनको मुडमा छ । प्रधानमन्त्रीका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेपछि पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रश्न गरे, ‘अहिले प्रधानमन्त्री परिवर्तन गर्नु के जरुरी थियो ?’

जवाफमा प्रधानमन्त्रीमा निर्वाचित हुँदै गरेका देउवाको व्यंग्योक्ति थियो, ‘यस्तो चिन्ता पछि पनि गर्नुहोला ।’ अर्थात्, आफू प्रधानमन्त्री भइसकेपछि गठबन्धनमा धक्का पुर्‍याउने र आफ्नो सरकार ढाल्ने काम एमालेले नगरोस् भन्ने उनको आशय थियो ।

देउवा तिनै हुन्, जसले एमाले अध्यक्ष ओली नेतृत्वको संयुक्त सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रलाई प्रभावमा पार्न सफल भएका थिए । ओलीको गाथगादीमाथि देउवाको त्यो अचूक हमलापछि एमाले नेतृत्व घाइते बाघजसरी रन्थनिनुपर्ने अवस्थामा पुग्यो, जसको थोरबहुत धङधङी अझै छ ।

प्रचण्ड आफ्नो कार्यकाल सकेर देउवालाई बिनाकचिंगल सत्ता हस्तान्तरण गर्न त तयार भए तर यो गठबन्धन टिकाउन कतिन्जेल लागि पर्छन् भन्नेचाहिँ भविष्यकै गर्भमा छ । उही गठबन्धन भए पनि प्रचण्डको प्रधानमन्त्रित्व र देउवाको प्रधानमन्त्रित्वमा थोरै समानता र धेरै भिन्नता छ । तात्कालिक एजेन्डामा देउवाको प्रतिबद्धता र कार्यशैली, देउवाप्रति प्रचण्डको लगाव, प्रमुख प्रतिपक्षीको भूमिका र भूराजनीतिक आयामहरू यो गठबन्धनका आयु निर्धारक हुन् ।

सुशीला कार्की र अदालतको कोतपर्व

  • रामबहादुर रावल

बोल्न नमान्ने कार्की
मिडियाबाट टाढै रहन चाहने प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो कार्यकालभरिमा सञ्चारकर्मीसँग कहिल्यै औपचारिक अन्तक्र्रिया गर्न रुचाइनन् । सञ्चारकर्मीकै पहलमा भएका कार्यक्रममा न्यायाधीश गोपाल पराजुली सहजै गए तर उनी उपलब्ध भइनन् । लोकमानसिंह कार्कीलाई मोसो दलेको घटनापछि त हामी सञ्चारकर्मीले सर्वोच्च अदालत प्रवेशका लागि समेत निकै संघर्ष गर्नुपर्‍यो । अरु नै परिचय बोकेर बालुवाटारस्थित प्रधानन्यायाधीश निवास प्रवेश गरेका एक जना पत्रकारले अन्तर्वार्ताको कुरा गर्दा बाहिर निकालेको प्रसंग पनि सुनिएको थियो । त्यसैले भेटिहाले पनि हत्पत्ति अन्तर्वार्ता वा समाचार लेख्ने कुरा गर्नु उनका अगाडि अलि ‘धक’कै विषय थियो ।

कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा गएर भने मिडियालाई राम्रै खुराक दिन्थिन् उनी । उनको हकी स्वभाव यसको प्रमुख कारण थियो । त्यस्तो पात्रलाई भेट्नु हामी पत्रकारका लागि भने निकै उपयोगी हुन्छ । पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको स्वभाव पनि करिब यस्तै थियो । मनमा केही कुरा नराख्ने । कुनै कुरा तौलेर नबोल्ने । आफूलाई फाइदा हुने कुरा मात्र बोलेर मिडियालाई प्रयोग गर्न खोज्ने शक्तिशाली व्यक्ति र तिनका ‘स्पिन डक्टर’हरु त जति पनि भेटिन्छन् । तिनले दिने सूचनाको नियत बुझ्न सक्नु नै हाम्रो पहिलो चुनौती हुने गर्छ । यस्ता स्रोतहरु नभेटी पनि नहुने, भेटेर पनि सुख नपाइने खालका हुन्छन् । नि:स्वार्थ रुपमा यथार्थ कुरा बताइदिने ‘हाइप्रोफाइल’ स्रोतहरु पाउन गाह्रो पर्छ ।

Tuesday, June 6, 2017

सबैभन्दा भ्रष्ट राजनीतिक तह : सुशीला कार्की

भ्रष्टाचार मुद्दा टुंग्याउन, राजनीतिक र संवैधानिक पदाधिकारीका स्वेच्छाचारी गतिविधिमा अंकुश लगाउन प्रधानन्यायाधीश सुशीला कार्कीले देखाएको सक्रियता पछिल्लोपल्ट सत्तारूढ दललाई नै पचाउन गाह्रो पर्‍यो । र, नेपालको न्यायिक इतिहासमा कुनै प्रधानन्यायाधीशले सामना गर्नु नपरेको महाभियोग उनले खेप्नुपर्‍यो । भलै, चौतर्फी दबाबपछि सत्ता गठबन्धनले महाभियोग प्रस्ताव फिर्ता लियो । प्रमुख दलहरूको सहमतिमा अख्तियार प्रमुखमा नियुक्त भएका र अदालतबाट मान्यता पाइसकेका लोकमानसिंह कार्कीका अराजकताले आजित भएर पनि कोही बोल्न नसकिरहेका बेला प्रधानन्यायाधीश कार्कीले नै मुद्दा ब्यूँताइन् र लोकमान उक्त पदमा रहन अयोग्य घोषित भए । पूर्वराजा ज्ञानेन्द्रले छाउनीस्थित १५ रोपनी १ आना सरकारी जग्गा छोरी प्रेरणा सिंहलाई दिएको दाइजो सर्वोच्चकै दुई न्यायाधीशको इजलासले कानुनी मान्यता दिइसकेको थियो । त्यो उल्टाउने साहस कार्कीले देखाइन् । अर्थात्, न्यायिक नेतृत्वमा हुनुपर्ने निष्ठा र निर्भीकताको परिचय दिइन् । २४ जेठबाट ६५ वर्षे उमेर हदका कारण निवृत्त हुनै लाग्दा उनै प्रधानन्यायाधीश कार्कीसँग रामबहादुर रावल प्रशान्त अर्यालको कुराकानी :



आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?

जुन विश्वासका साथ म यति काम गरुँला भनेर आएकी थिएँ, कामै गर्न पाइनँ । धेरैजसो बाधा, अवरोध मात्र भइरह्यो ।

के गर्छुजस्तो लागेको थियो ?

मुलुक जोगाउने हो, भ्रष्टाचारको दलदलमा थप फस्न नदिने हो भने अदालतले धेरै काम गर्न सक्छ । न्यायपालिका फिल्टर हो, चाल्नो हो । हाम्रो शरीरका विकारहरू फिल्टर गरी तन्दुरुस्त राख्ने अंगजस्तै हो, अदालत । यसले विकृतिलाई चालेर सही चिजलाई जोगाउँछ । यसले वातावरण ठीक राख्न सक्छ । राजनीतिलाई ठीक पार्न सक्छ । यसका निम्ति अलि साहस जरुरी हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । समाजलाई बनाउनेतिर जानुपर्‍यो । अलिकति भए पनि जनतालाई राहत दिने किसिमले सोच्नुपर्‍यो भनेर मैले केही कदम चालेँ । केही हदसम्म सफल पनि भइयो । धेरै त बाधाविरोध नै भए ।

के–कस्ता बाधा झेल्नुभयो ?
धेरै कुरा छन् । धेरै कारण छन् । मेरा पालामा पेसी धेरै स्थगित गरिदिने (मुद्दाको सुनुवाइ रोक्ने) काम भयो । अचाक्ली स्थगित त महान्यायाधिवक्ताको कार्यालयबाट भयो । कानुन व्यवसायीहरूबाट पनि धेरै स्थगित भए । मैले त केही हदसम्म कडाइ पनि गरेँ । तर, अरू साथी (न्यायाधीश)हरू कस्तो हुनुहुन्छ भने स्थगित गर्न निवेदन आउनेबित्तिकै गर्दिहाल्ने । मैले महाभियोग खेप्नुको एउटा कारण स्थगित गर्न नमान्नु पनि हो । दुईपटकभन्दा बढी स्थगित गर्न दिन्नँ भन्दा वकिलहरू चिढिए ।