Sunday, October 13, 2019

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अर्थ र सन्देश [विश्लेषण]


चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतीक्षित नेपाल भ्रमण अहिले यस्तो समयमा भएको छ, जतिखेर मुलुकमा नेकपाको झण्डै दुई तिहाई बहुमतको सरकार छ। आफ्नो देशको संवेदनशील भूभाग तिब्बतका कारण पनि चीन नेपालमा शान्ति, राजनीतिक स्थायित्व र त्यसका लागि- एउटा बलियो सरकार चाहन्थ्यो । विगतमा मौन कूटनीति अँगाल्ने चीन यतिखेर विश्वको ठूलो भूभागलाई समेट्ने महत्वाकांक्षी कार्यक्रमका साथ विश्वकै अगुवाइ गर्ने यात्रामा निस्किएको छ । दक्षिण एसियामा समेत जसरी भुटानबाहेकका सबैजसो देशमा उसको प्रभाव र उपस्थिति छ, त्यसले बेइजिङ एउटा उपेक्षा गर्नै नसकिने शक्तिका रुपमा स्थापित गरेको छ। रामबहादुर रावलको विश्लेषण:





सी चिनफिङको नेपाल आगमन भारतको बाटो हुँदै मिलाइनु अर्थपूर्ण छ। भारतमा दुई देशका सरकार र राष्ट्रप्रमुखबीचको अनौपचारिक बैठकको दोस्रो शृंखला भए पनि त्यसको दूरगामी अर्थ र प्रभाव छ। नेपालमा उनको राजकीय भ्रमण भएपनि यसले दुई देशको नयाँ शिराको भनिएको सम्बन्धमा एउटा अर्थपूर्ण जग राख्नेछ। अर्थात् सङ्केत र अर्थ जसरी केलाइए पनि झण्डै साढे दुई दशकपछिको उनको भ्रमण ऐतिहासिक मान्न सकिन्छ। चीनसँग अहिले उच्च मुद्रा संचय, प्रविधि र देशबाहिर रमाउन खोज्ने उच्च जनसङ्ख्या छ। छिमेकी नेपालले लिने फाइदा समेत यिनै दायराभित्र पर्छ।
चाहे उसबाट निकै सस्तोमा लिन सकिने कम सर्तसहितका ऋण, अथवा उसँग गरिने प्रविधिमा साझेदारी वा पर्यटन र उत्पादनमा नेपालले चीनको उन्नतिको रफ्तारमा हात मिलाउन सक्छ। नेपालमा चिनियाँ रेलको चर्चा जति तातेको छ, त्यति नै त्यसको औचित्यमाथि प्रश्न छन्। त्यस महत्त्वकांक्षी बाटोतर्फ लाग्ने नै हो भने नेपालले सम्पर्क सञ्जाललाई जीवन्त बनाउने उत्पादनमुलक उपायहरू खोज्नै पर्छ।
तिब्बतमा वर्षेनी दुई करोड त पर्यटक मात्र पुग्छन्। तीनलाई नेपाल तान्ने वा तिनलाई चाहिने उत्पादन निर्यात गर्नेगरी आफ्ना सहकार्य रणनीति बनाउनु हितकर हुने विज्ञहरूबताउँछन्। जसका लागि नेपाली पक्षको तयारी र कुटनीतिक कौशल कमजोर पाइएको चिनियाँ अधिकारी एवं विज्ञहरूले अनौपचारिक वार्ताका क्रममा बताउने गरेका छन्।

अहिले भारतको बाटो भएर हुने सी भ्रमणको एउटा सुखद पक्ष के भने नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको मुलुकका निम्ति दुवै शक्तिशाली छिमेकीसहित त्रिपक्षीय साझेदारीको प्रस्तावले गति लिन सक्छ। त्यो भनेको रेलको औचित्य झन् पुष्टि हुनु हो।

दुवै उच्च प्रविधि र दक्षता भएको जनशक्ति सहित उदाउँदा अर्थतन्त्र भएकाले आफ्ना अनेकन असमानताका बीच पनि भारत र चीन टाढिन सक्दैनन्। उनीहरूका समुद्रबाट परका भूमिहरू आपसमा जोड्न नेपालको बाटो तीन गुणासम्म छोटो पर्नेछ।

हुन त भारत अहिलेसम्म चीनको बेल्ट एण्ड रोड अवधारणाको साझेदार होइन। तर त्यसलाई सघाउने उद्देश्यले स्थापना गरिएको एशियाली पूर्वाधार लगानी बैंकको निकै सुलभ ऋणबाट पूर्वाधारमा सबैभन्दा बढी लगानी गर्ने देश भने भारत नै हो।

नेपालले कूटनीतिक कौशल देखाउन सके भारतको बाटो पनि लिन सक्छ भने,अपरिपक्वता कायम रहे आफ्ना आवश्यकताविहीन ठूला परियोजनाऋणको पासो बन्न सक्ने दृष्टान्त श्रीलङ्काले दिइरहेको छ । तर चीनसँग सामीप्यता बढाउने नाममा सी विचारधाराजस्ता पक्षमा अल्झिँदा भने नेपालमा पश्चिमा संशय बढ्न सक्छ।

यसैबेला अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीति र पश्चिमा शक्तिहरुको चासोले नेपाललाई रणनीतिक चेपुवामा पार्न खोजेको पनि देखिन्छ। चिनियाँ राष्ट्रपतिको भ्रमणकै मुखमा नेपालस्थित अमेरिकी राजदूतले इन्डोप्यासिफिक रणनीतिको चर्चासहित भिडियो सन्देश सार्वजनिक गर्नुले पनि नेपालको रणनीतिक महत्व र जटिलता दुवै पक्षको प्रस्ट चित्र उजागर हुन्छ।

नेपाल जति आफै आफूलाई के चाहिएको भन्ने प्रस्ट हुँदैन, सहकार्यका यी सम्भावना झन् जटिल हुनेगरी बल्झिन सक्ने जोखिम समेत उत्तिकै रहनेछ।


No comments:

Post a Comment