Wednesday, February 18, 2015

वैदेशिक रोजगार : नेपाली पाइलापाइलामा ठगिन्छन्, लुटिन्छन्, अपमानित बन्छन्

विमानमा विभेद


नेपाल वायुसेवा निगमका पुराना विमानमा उमेर ढल्केका परिचारिकाहरूले नमस्ते गर्न संकोच मानेको देखिएकै हो । चकलेट सकियो भन्दै एक-दुई गरी हातहातै राखिदिएका दृश्य हामी दुर्गम क्षेत्रबाट उडान भर्ने नेपालीका लागि सामान्य कुरा हुन् । तर, अन्तर्राष्ट्रिय उडान भर्ने विदेशी वायुसेवामा समेत मान्छे हेरी  व्यवहार गरिएको पहिलोपल्ट देखियो ।

प्रसंग जेट एयरवेजको काठमाडौँ-दिल्ली उडानको हो । खास गरी वैदेशिक रोजगारमा जाने नेपालीप्रति विमानमा अलग्गै व्यवहार हुँदो रहेछ । केही सोध्यो भने राम्रोसँग जवाफ नफर्काउने । फर्काइहाले विनम्रता कहाँ छ खोज्नुपर्ने । भाषिक कारणले सञ्चारमा समस्या हुँदा गम्भीरतापूर्वक नलिने गर्दा रहेछन्, विमानका कमर् चारी । पेय र खाने कुरा 'सर्भ' गर्दा सबैले पाए/नपाएको सोध्नु त परै जाओस्, कृपापूर्वक दान गरेजस्तो । पेय बाँड्दा त राजमार्गमा पानी बेच्नेको झल्को आउँथ्यो । किस्तीमा क्यान राखेर 'बियर बियर' भन्दै एकछिन कराएर अलप हुँदा रहेछन् । एक जना नेपालीले आफूकहाँ पेय नआएको भन्दा दोहोर्‍याउन खोजेको  आशंका प्रकट गरे, परिचारकले । सोही कम्पनीको छुट्टै विमानमा दिल्ली पुगेकी पत्रकार आयशा शाक्यले पनि यसको हेक्का राखेकी रहिछन् । भन्दै थिइन्, "आदेशको शैलीमा यो गर र त्यो गर भन्ने, खसेको फोहर उठाउन लगाउनेसम्मका दृश्य पनि देखियो ।"

आन्तरिक उडानमा सामान्य काम र रहरले जहाज चढ्ने वर्ग सीमित छ, प्रायः सुकिला अनुहार भेटिन्छन् । तर, काठमाडौँ-दिल्ली उडानमा दृश्य ठीक उल्टो देखिन्छ । प्रायः निन्याउरा अनुहार, मैलोधैलो भेष, अनिश्चय र आशंका मडारिएका मनोदशाका साथ ठूलो युवा पंक्ति अन्तर्राष्ट्रिय उडान भर्छन् । रोजीरोटीको खो जीमा दिल्ली ट्रान्जिट भएर खाडी, मलेसिया र सिंगापुरतर्फ जाने यस्तै यात्रुका कारण दुई देशका राजधानीबीच बाक्लो उडान हुन थालेका छन् । तर, जसको कारणले ती कम्पनी फस्टाएका छन्, तिनैमाथि विभेदपूर्ण व्यवहार हुने रहेछ ! सेवामुखी व्यवसायको यो हविगत देख्दा आतिथ्य सत्कारका अध्यापकहरू कति  लजाउँदा हुन् ?


रत्नपार्कजस्तो विमानस्थल
अर्काको देशमा श्रम बेचेर घर फर्किंदै गरेका नेपाली आफ्नो जन्मभूमिको न्यानो काखमा ओर्लन नपाउँदै अर्को पीडादायी अवस्थाको सामना गर्छन् । विमानस्थलमा भन्सार र अध्यागमन कर्मचारीको रूखो व्यवहार अनि धरपकड त छँदै छ, सडकपेटीमै उभिएर ग्राहकसँग मोलमोलाइ गरिरहेका रत्नपार्कतिरका यौनकर्मीको  शैलीमा सुरक्षाकर्मीहरू खुलेआम घूसको मोलमोलाइ गर्दा रहेछन् । बर्दीधारी प्रहरी सोध्छन्, "कति दिने ?" वाकीटकी समाएका तर सादा पोसाकधारी बीचको बाटो सुझाउँछन्, "धेरै लफडा नगरौँ । ठीक आधा गरौँ ।" 

२६ माघ साँझ । वैदेशिक रोजगारबाट फर्किएका युवकले ठूलो टीभी सेट ल्याएका रहेछन् । उनले ४३ हजार रुपियाँ परेको बताए । सुरुमा त्यति नै रकम दिनुपर्ने सुरक्षाकर्मीले अडान लिए । अन्त्यमा बर्दीधारी प्रहरीले भने, "एनआईडी -गुप्तचर) पछि लागिरहेको छ । उसको पनि चित्त बुझाउनुपर्छ । आधाभन्दा घटी एक  रुपियाँ पनि हुँदैन । छिटो ।" पिछा गर्न खोज्दाखोज्दै हाम्रो लगेज आइपुगेको सूचना प्रसारित भयो । लगेजका लागि करिब २० मिनेट खचर्ंदा हिसाबकिताब सकिसकेको थियो । 


गन्तव्यहीन यात्री
दिल्ली-काठमाडौँ यात्राका क्रममा एक यस्ता यात्री भेटिए, रुँदारुँदा आँखा सुन्निएका । ओठ कालोपत्रे उप्केजस्ता थिए । "गोजीमा एक पैसा छैन । २४ घन्टायता खानेकुराका नाममा विमानमा दिने स्न्याक्सबाहेक केही मुखमा परेको भए तपाईंकै मासु खाने !" उनले दुःखेसो पोखे, "भएभरको जायजेथा फाइनान्समा धरौटी  राखेर दलाललाई बुझाएँ । पैसा, लत्ताकपडा सबै गुमाइयो । जाँदाको फोटो हेर्दा र अहिलेको ज्यान हेर्दा आफँैप्रति माया लागेर आउँछ । अब कहाँ जाऊँ ? के गरूँ ? काठमाडौँ ओर्लेर घर जाने पैसा पनि छैन ।" 

ती गन्तव्यहीन यात्री थिए, थप्रेक-७, नुवाकोटका रामबहादुर अधिकारी, ३९ । मासिक दुई लाख रुपियाँ कमाइ हुने प्रलोभनमा सिंगापुर गए । महँगो ब्याजमा सहकारीबाट ऋण लिए । ऋण तिरेर केही वर्षमै काठमाडौँमा घरसम्पत्ति जोड्ने सपना परिवारलाई देखाए । त्यहाँ उनले न भनेको काम पाए, न त आश्रय नै ।  निरक्षर ती युवकले कैयौँ दिन सडकमा गुजारे । एक नेपाली महिलाको आश्रयमा केही दिन बस्दाबस्दै एक महिनाको प्रवेशाज्ञा सकियो । तिनै महिलाको सल्लाहमा उनी आफैँ प्रहरीकहाँ गए । तीन साता हिरासतमा बिताएपछि तिनै महिलाले काठमाडौँसम्मको टिकट काटेर पठाइदिइन् । "घर त फर्किइयो तर अबको गन्तव्य  कहाँ हो, ठेगान छैन । जिन्दगीमा दुःख पाउनु लेखेको रहेछ," उनी भन्दै थिए, "मजस्ता दर्जनौँको बिचल्ली छ सिंगापुरमा ।" 

No comments:

Post a Comment