- रामबहादुर रावल
नेपाली कांग्रेसको १३औँ महाधिवेशनका प्रतिनिधिहरूको चयन लगभग सकिएको छ । तालिका हेरफेर नभएमा २० फागुनमा उद्घाटन हुने महाधिवेशनमा मुलुकभरका तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा सहभागी हुन तम्तयार प्रतिनिधिहरूको विचार बुझ्ने कोसिस गरेको छ, नेपालले ।
वैज्ञानिक विधिमा आधारित भई मुलुकभरबाट छानिएका प्रतिनिधिहरूले सर्वेक्षणमार्फत धेरै हदसम्म आफ्ना धारणा खुलेर राखेका छन् । त्यसैले यो कांग्रेसप्रति आस्थावान् नेता–कार्यकर्ताहरूकै नजरमा स्वयं कांग्रेस कस्तो देखिन्छ भन्ने प्रश्नको जवाफको खोजी पनि हो । यस अभिमत सर्वेक्षणले त्यस पार्टीको सांगठनिक स्वास्थ्य र राष्ट्रिय राजनीतिमा अवस्थितिबारे मूल्यांकन एवं भावी कार्यदिशा प्रस्तुत गरेको छ ।
मूलत: कांग्रेस प्रतिनिधिहरू आधारभूत अधिकारको वकालत, व्यवस्था परिवर्तनको संघर्ष र संविधान निर्माणको सकस सकिएपछि अब आर्थिक उन्नतिको बाटोमा मुलुकलाई हिँडाउने परिकल्पना व्यवहारमा अनुवाद गर्न सक्ने नेतृत्व अनि कार्यक्रमको खोजीमा छन् । राजनीतिक मुद्दाहरूमा धेरै अल्झिँदा विकास पछि परेको महसुस सबैजसो कांग्रेसजनलाई भएको छ । उनीहरू चाहन्छन्, ताजा, गतिशील र प्रणालीमा आधारित संगठन होस् । अद्यावधिक विचार र युवा पुस्ताका नवीन आकांक्षाहरूलाई बोक्न सक्ने नेतृत्व होस् । संस्थापक बीपी कोइरालाको विचार पूरै नत्यागियोस् । सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्था रहोस् । लोककल्याणकारी व्यवस्थासहितका आर्थिक कार्यक्रम लागू गर्न सक्ने सरकार बनोस् ।
कांग्रेसको संगठनमा बीपीकै विचारको गहिरो छाप छ । त्यसैले बहुमत कांग्रेसजनको झुकाव अझै बीपीको लोकतान्त्रिक समाजवादप्रति नै देखिन्छ । पुँजीवादी लोकतन्त्रमा झुकाव राख्नेहरूले समेत समाजवादी विशेषतासहितको व्यवस्थाकै पक्षमा उभ्याएका छन् । विशुद्ध उदारवादी/पुँजीवादी लोकतन्त्रको पक्षमा जुन झीनो मत देखिएको छ, त्यही हाराहारीका कांग्रेसजन पार्टी वैचारिक अस्पष्टतामा रुमलिएको ठान्छन् । अझ पार्टीभित्र परम्परागत लोकतन्त्र, समाजवाद र यी दुवैको मिश्रित स्वरूपभन्दा भिन्न नयाँ विचारको पक्षमा बहस अंकुराउन खोजेको संकेत उल्लेखनीय छ ।
राजनीतिक संघर्ष र व्यवस्था परिवर्तनमा लामो समय खर्चिइएकाले आर्थिक मुद्दा ओझेलमा परेकोप्रति नयाँ–पुराना सबै कांग्रेस कार्यकर्तामा चिन्ता छ । अब कोरा राजनीतिक मुद्दामा अल्झिने होइन, आर्थिक कार्यक्रममा पार्टी केन्द्रित हुनुपर्छ भन्नेमा बलियो मत देखिन्छ । आर्थिक विकासमा फड्को मार्नुपर्ने आकांक्षा हुँदाहुँदै सामाजिक न्याय र कल्याणकारी राज्यका विशेषतालाई बिर्सन नहुनेतर्फ उनीहरूले सचेत गराएका छन् । गरिबी, बेरोजगारी र रोजीरोटीको खोजीमा ठूलो युवाशक्ति विदेशिनुपरेको कारण पनि कांग्रेसले आर्थिक विकासमा केन्द्रित कार्यक्रममा जोड दिएको उनीहरूले नेपाललाई बताएका छन् ।
वैचारिक निष्ठा मापनमा कांग्रेस नेतृत्व निकै कमजोर देखिएको छ । सरकार, सरकारमा जाने नेता, तिनले ल्याउने कार्यक्रम र व्यवहारहरूप्रति सन्तोष व्यक्त गर्नेहरू २० प्रतिशतभन्दा कम छन् । बाँकी ८० प्रतिशत प्रतिनिधिको गुनासोचाहिँ पार्टीमा व्यक्तिको मनोमानी बढेको, वैचारिक स्पष्टताको खडेरी परेको, नेताहरू सिद्धान्तबाट विमुख भएको र उनीहरूको विचार र व्यवहारबीच तालमेल नभएकामा केन्द्रित छ ।
स्थानीय एकाइदेखि विभिन्न तह हुँदै केन्द्रसम्मको नेतृत्व चयन गर्ने परिपाटी अधिकांश कांग्रेसजनको दृष्टिमा सन्तोषजनक छ । यति हुँदाहुँदै पनि यसमा पर्याप्त सुधारका पक्षहरू उनीहरूले औँल्याएका छन् । निर्वाचनका क्रममा हुने आर्थिक चलखेल एकातिर, जरैसम्म पुगेको गुटगत विभाजन अर्कोतिर । परिवारवाद र वंशवादले प्रश्रय पाउँदा, नाता र कृपाका आधारमा अवसर र भूमिका दिइँदा इमानदार र क्षमतावान् नेता–कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएकामा उनीहरूको चित्त दुखाइ छ । त्यसैले परिवार–नातागोता पोस्ने र भागशान्ति गर्ने परिपाटीबाट मुक्ति खोजेका छन् ।
गुट–उपगुटका कारण कांग्रेसको समग्र शक्ति र प्रभावकारितामा क्षति पुगेको निष्कर्ष कार्यकर्ताको छ । उनीहरूले पार्टीभित्रका तमाम विकृति र विसंगतिहरूको जड गुटबन्दीलाई मानेका छन् । स्वस्थ प्रतिस्पर्धा र क्षमतावान् नेतृत्व स्थापित गर्न सबै क्रियाशील सदस्यहरूले प्रत्यक्ष मतदान गरी नेतृत्व चयन गर्नुपर्ने मत निकै बलियो देखिएको छ । र, हाल कायम रहेको मनोनयनको व्यवस्था पूरै हटाउनुपर्ने आवाज उत्तिकै जोडदार रूपमा उठेको छ ।
००७ देखि ०१७ सालको बीचमा राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूकै हातमा पार्टी रहिरहँदा युवालाई मात्र होइन, उमेर ढल्केका पाका नेता–कार्यकर्तामा समेत विरक्तिको भावना देखिन्छ । विकल्पमा उनीहरूले युवाप्रति आशा प्रकट गरेका छन् । उमेरको हदबन्दी, नेतृत्वको कार्यकालमा सीमा तोकेर भए पनि नयाँपन र ताजापन दिनुपर्ने मत बलियो छ । अनि, युवालाई नेतृत्वमा पुर्याउने नाममा योग्यता र परिपक्वतामा सम्झौता गर्न नहुनेतर्फ पनि उनीहरूले सचेत गराएका छन् । बरू नेतृत्वमा युवा पुग्ने प्रणालीगत व्यवस्था हुनुपर्ने पक्ष जोडदार रूपमा प्रकट भएको छ ।
सर्वेक्षणले कुल प्रतिनिधिको ४४ प्रतिशत हिस्सा नयाँ भएको खुलासा गरेको छ । यसले कांग्रेस नेतृत्व र संगठनमा ताजापनको त संकेत गर्छ नै, यिनको आकांक्षा र उत्साहले पनि परम्परागत विचार, संगठन र नेतृत्वमा आधारभूत परिवर्तन खोजेको मान्न सकिन्छ । यसबाट यो पनि प्रस्ट भएको छ कि कांग्रेस प्रतिनिधिहरूको औसत उमेर ४९ वर्षभन्दा कम छ । यो सक्रियता र परिपक्वता दुवै गुण विद्यमान रहने उमेर हो । त्यसमाथि ८३ प्रतिशत प्रतिनिधिको एसएलसीमाथिको शैक्षिक योग्यता छ । १८ प्रतिशत त स्नातकोत्तर मात्रै छन् । उनीहरूमा नवीन विश्वको जानकारी र उत्साहको आवेग अवश्य छ । तर, कांग्रेसमा प्रणालीगत सुधार र वैचारिक हस्तक्षेपको सामथ्र्य भने महाधिवेशनमै प्रदर्शन गर्नुपर्नेछ ।
पहिचान समाजवाद
उत्तरदाताहरूमध्ये ५० प्रतिशत महाधिवेशन प्रतिनिधि कांग्रेस बीपी कोइरालाकै विचारलाई हुबहु लागू गरेको पार्टी ठान्छन् । ५१ देखि ६० को उमेर समूहमा यो धारणा अझ प्रबल (५३.३ प्रतिशत) छ । २५ देखि ४० को उमेर समूहमा पनि बहुमत जमात यही विश्वास गर्छ ।
६१ वर्षमाथिको पाको पुस्ताचाहिँ बीपीको विचार कमजोर हुँदै पुँजीवादतर्फ ढल्किएको (५१ प्रतिशत) ठान्छ । शैक्षिक स्तर बढ्दै जाँदा पनि कांग्रेसमा बीपीको समाजवादी विचारको अभाव खड्किएको महसुस गर्ने जमात पनि बढेको देखिन्छ । जस्तो कि, स्नातकभन्दा मुनिको शैक्षिक स्तर भएकाहरूमा बीपीको विचार विद्यमान रहेको ठान्नेको बहुमत छ भने स्नातकोत्तर गरिसकेकाहरूले कांग्रेसलाई मिश्रित विचार भएको पार्टीका रूपमा बुझेका छन् ।
सिद्धान्त एकातिर, व्यवहार अर्कैतिर
कांग्रेसको नेतृत्व, सरकार र सरकारमा सहभागी हुने नेताहरू आधारभूत विचार र सिद्धान्तको कसीमा खरो उत्रन सकेनन् । राणाशाही र पञ्चायतकालीन कठोर व्यवस्थाविरुद्ध संघर्ष गरेको, जेलनेल भोग्न तयार भएर त्यागी छवि बनाएको नेतृत्व क्रमश: सत्ता र शक्तिमा आशक्त हुँदै गएपछि कांग्रेसजनमा निराशा देखिएको छ । कार्यकर्ताले त्यही निष्ठावान्, त्यागी र आदर्श नेतृत्वको अपेक्षा गरिरहेका छन् ।
८० प्रतिशतभन्दा बढी कार्यकर्ताको ठम्याइ छ, कांग्रेसको नेतृत्व विचार र सिद्धान्त अनुसार चल्न सकेको छैन । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई तामेलीमा राखेर व्यक्तिहरू मनोमानी रूपमा चलेका छन् भन्ने सर्वाधिक ठूलो जनमत (४३.१ प्रतिशत) छ । विचार एकातिर, व्यवहार अर्कैतिर भएको भन्दै नेतृत्वको वैचारिक निष्ठामा प्रश्न उठाउनेको हिस्सा ३०.८ प्रतिशत छ ।
५० वर्षमुनिका कांग्रेस प्रतिनिधिमा २५ प्रतिशतले सन्तोष व्यक्त गरे पनि ५१ वर्षमाथिको उमेर समूह सबैभन्दा बढी (८९ प्रतिशत) असन्तुष्ट छ । शैक्षिक हिसाबले पनि जतिजति माथि गयो, उति नै नेतृत्वले विचार र सिद्धान्तप्रति घात गरिरहेको ठान्छ । स्नातकोत्तरहरूमध्ये ८.२ प्रतिशतले मात्र कांग्रेस नेतृत्व, उसको सरकार र सरकारमा जाने नेताहरूका क्रियाकलापमा सन्तोष व्यक्त गरेको पाइएको छ । जबकि, स्नातकोत्तरभन्दा माथिको शैक्षिक योग्यता भएका १८.३ प्रतिशत कांग्रेस प्रतिनिधिहरू सर्वेक्षणमा सहभागी थिए ।
नछाड बीपीपथ
अधिकांश प्रतिनिधिले आफूलाई सामाजिक उत्तरदायित्वसहितको बलियो राज्यको पक्षमा उभ्याएका छन् । कांग्रेसले समाजवादी वैचारिक पथ त्याग्न नहुने बहुमत (५३.९ प्रतिशत) प्रतिनिधिको सुझाव छ । त्यसो त समाजवाद र पुँजीवाद दुवैका विशेषतालाई ग्रहण गरी मिश्रित व्यवस्था अपनाउनुपर्ने मत पनि उल्लेख्य (२५.१ प्रतिशत) छ । तर, उदारवाद/पुँजीवादप्रतिको लगाव भने कांग्रेस कार्यकर्ताहरूमा निकै कमजोर (१०.२ प्रतिशत) देखिएको छ ।
कांग्रेसका सरकार र सरकारमा सहभागी हुने नेताहरूले सिद्धान्त अनुरूपका कार्यक्रम ल्याउन नसकेकामा असन्तुष्टि जाहेर गर्नुको कारणसँग यो धारणालाई केलाउँदा उदारवाद/पुँजीवादलाई बढावा दिने प्रकृतिका कार्यक्रम नरुचाएको मान्न सकिन्छ । समाजवादप्रतिको रुझान पछिल्लो पुस्तामा भने केही घट्दो देखिन्छ । तर, त्यसको विकल्पमा उनीहरूले उदारवाद नभई मिश्रित विचारलाई सुझाएका छन् ।
६१ वर्षमाथिका प्रतिनिधिमा ५८.८ प्रतिशतले अब समाजवादी विचार अपनाउनुपर्ने भनेका छन् भने २५ देखि ४० को उमेर समूहमा यस्तो विचार राख्ने ४९.३ प्रतिशत छन् । यही समूहमा उदारवादको पक्षमा ११.६ प्रतिशत प्रतिनिधि छन् भने मिश्रित व्यवस्थाको पक्षमा ३०.४ प्रतिशत । ४१ देखि ५० को उमेर समूहमा १२.३ प्रतिशतले नयाँ विचारको पक्षमा मत व्यक्त गरेका छन् ।
शैक्षिक स्तर अनुसार उत्तरोत्तर समाजवादप्रतिको झुकाव कम भएको देखिन्छ । उदारवादको पक्षमा सबैभन्दा बढी लगाव भएको समूह स्नातकोत्तर र त्यसभन्दा माथि पढेको (१८ प्रतिशत) छ, जुन समूहमा समाजवादको पक्षमा ४४.३ प्रतिशतले मत व्यक्त गरेका छन् । तर, यो समूहमा पनि समाजवादको विकल्पमा उदारवादभन्दा मिश्रित व्यवस्था भन्ने नै ठूलो हिस्सा (२६.२ प्रतिशत) देखिन्छ । मिश्रित व्यवस्था रोज्नेमा पुराना महाधिवेशन प्रतिनिधि (२१.४) को तुलनामा नयाँ प्रतिनिधि (२९.९) अगाडि छन् । तर, उदारवाद पक्षको मत भने पुराना र नयाँबीच खासै अन्तर छैन ।
अब आर्थिक एजेन्डा
पटकपटक राजनीतिक संघर्ष भए । व्यवस्थाहरू परिवर्तनका लागि पनि धेरै समय बित्यो । संविधान निर्माण र शान्ति प्रक्रियामै दशक बित्यो । अब कांग्रेस कार्यकर्ताहरू यस्ता राजनीतिक मुद्दामा धेरै समय खर्च नहोस् भन्ने पक्षमा छन् । यसलाई नयाँ संविधानका व्यवस्थाप्रतिको सन्तुष्टिका रूपमा पनि लिन सकिन्छ । उनीहरू (५७.२ प्रतिशत) आर्थिक विकासप्रति अधैर्य छन् र यसैका पक्षमा आफ्नो मत जाहेर गरेका छन् । यसमा नयाँ र पुराना महाधिवेशन प्रतिनिधिको मत करिब समान छ ।
अब कांग्रेसले राजनीतिक प्रणालीको सुधारमा केन्द्रित कार्यक्रम ल्याउनुपर्छ भन्ने (१६.८) जनमतचाहिँ राजनीति सप्रियो भने सबै कुरा ठीकठाक हुन्छ भन्ने विश्वास गर्छ । र, करिब यही आकारको जनमत (१५ प्रतिशत) छ, समाजिक मुद्दाहरूको सम्बोधनलाई कांग्रेसले मूल एजेन्डा बनाउनुपर्छ भन्ने । समाजमा पछि परेको क्षेत्र, समुदाय र जातिको मूलप्रवाहीकरणको आकांक्षा यसमा निहित छ किनभने आदिवासी जनजाति (१५.८), मधेसी (१७.९) र मुस्लिम (५३.८) समुदायबाट यो मत मुखर भएको छ । यद्यपि, यी समुदायको प्रमुख जोडचाहिँ आर्थिक मुद्दामै छ ।
एकातिर समाजवादप्रतिको रुझान, अर्कोतिर आर्थिक विकासको हतारो भएका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको सन्देश बुझ्न गाह्रो छैन, उनीहरूले आर्थिक विकासका नाममा ठूलठूला सपना साँचेका छैनन् । ठूला महल, महँगा गाडी, विलासी विकल्पहरूमा आमकांग्रेसजनमा चिन्ता छैन । सबैका आधारभूत आवश्यकता पूरा हुने व्यवस्थामा उनीहरूको जोड छ । त्यसकारण सामाजिक न्याय र समावेशी विकासको पक्षमा छन् उनीहरू । यसो भन्नेमा पनि ५० वर्षमुनिका प्रतिनिधिको आधिक्य (६० प्रतिशत) छ । एसएलसीमाथिको जनमत आर्थिक एजेन्डाको पक्षमा अझ सशक्त छ । रोजीरोटीका लागि विदेशिनु नपरोस् र आफ्नै मुलुकमा रोजगारीको वातावरण होस् भन्ने युवा उत्तरदाताको भनाइ छ । र, आमनेपालीको समकालीन स्वर पनि सायद यही नै हो ।
नेतृत्व र संगठन
कांग्रेसको नेतृत्व चयन प्रक्रियाप्रति अधिकांश प्रतिनिधि (५६ प्रतिशत) सन्तुष्ट छन् । तैपनि, निर्वाचनको क्रममा देखिएका विकृति–विसंगतिप्रति उल्लेख्य हिस्साले असहमति राखेको छ । ६१ वर्षमाथिका महाधिवेशन प्रतिनिधिमध्ये आधा हिस्साले मौजुदा प्रक्रिया चित्त बुझाउन सकेको छैन । २५ देखि ४० वर्षको उमेर समूहमा पनि बेठीक भन्ने जमात उपेक्षा गर्न नमिल्ने (४४.९ प्रतिशत) देखिन्छ ।
त्यसै गरी शैक्षिकस्तरका आधारमा हेर्दा १२ कक्षासम्म पढेकाहरू नेतृत्व चयन प्रक्रियामा सन्तुष्ट (५० देखि ७५ प्रतिशत) भए पनि प्राज्ञिक स्तर बढ्दै जाँदा असन्तुष्टिको पारो पनि बढेको छ ।
स्नातक पढेकामध्ये ४८.९ प्रतिशतले मात्र सन्तुष्टि व्यक्त गरेका छन् भने त्यसभन्दा बढी पढेकामा ५५.७ प्रतिशत प्रतिनिधि निर्वाचन प्रक्रिया सुधार्नुपर्ने ठान्छन् । त्यसै गरी पुराना प्रतिनिधिमध्ये अधिकांश (६०.४ प्रतिशत) अहिलेकै प्रक्रियाको निरन्तरताको पक्षमा छन् भने नयाँ मतदाताको आधा हिस्सा (५०.३ प्रतिशत)ले मात्र सन्तुष्टि जनाएको छ ।
नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि राख्नेमध्ये सबभन्दा ठूलो हिस्सा (२८.५ प्रतिशत) मौजुदा प्रक्रियाले पार्टीमा गुटगत विभाजन बलियो भएको ठान्छ । यसै गरी, इमानदार र क्षमतावान्हरू पाखा लाग्ने स्थिति पनि यही कारण बनेको ठान्नेहरू उल्लेख्य (२४ प्रतिशत) छन् ।
कांग्रेस कार्यकर्तामा यो प्रक्रियाप्रति वितृष्णा पैदा गर्ने तेस्रो ठूलो (१६.१ प्रतिशत) कारण बन्न पुगेको छ, निर्वाचनका क्रममा हुने आर्थिक चलखेल । विचार र मुद्दा ओझेल पर्दा (१३.१ प्रतिशत, परिवारवाद र वंशवादले प्रश्रय पाउँदा (११.७ प्रतिशत) पनि नेता–कार्यकर्तामा खिन्नता पैदा गरेको छ ।
निर्वाचन प्रक्रियामै असन्तुष्टमध्ये ठूलो हिस्सा (४३.१ प्रतिशत) क्रियाशील सदस्यले प्रत्यक्ष रूपमा मतदान गर्न पाउनुपर्ने ठान्छ । सांगठनिक संरचनामा हुर्किएका विकारबाट मुक्ति दिलाउने उपायका रूपमा उल्लेख्य जनमत (१९.७ प्रतिशत)ले विद्यमान मनोनयनको व्यवस्था हटाउन सुझाव दिएको छ ।
त्यसो त सबै साधारण सदस्यले मतदान गर्न पाउनुपर्ने आवाज पनि झीनो रूपमा (८.८ प्रतिशत) देखिन्छ । यी तीनै सुझाव कांग्रेसको नेतृत्व चयन प्रक्रियालाई अझ फराकिलो र थप सहभागितामूलक बनाउनुपर्ने कोणबाट प्रस्तुत भएका छन् । बहुमत (५१.६ प्रतिशत) नयाँ प्रतिनिधि प्रत्यक्ष मतदानकै पक्षमा छन् ।
देशको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसभित्र नेतृत्वको कार्यकालका विषयमा पनि बेलाबेला चर्चा–परिचर्चा हुँदै आइरहेको छ । संगठनभित्र गति र ऊर्जा कायम गरिरहने सन्दर्भसँग जोडेर पनि यस्तो बहस हुने गर्छ ।
त्यसैले ‘नेतृत्वको कार्यकाल बढीमा कति हुनुपर्ला ?’
भन्ने प्रश्नमा सहभागीमध्ये अधिकले दुईपटकसम्म तोक्नु ठीक हुने मत दिएका छन् । ७४.३ प्रतिशत उत्तरदाताले दुईपटक, १०.२ प्रतिशतले एकपटक र १५ प्रतिशतले नेतृत्वको कार्यकाल तोक्नु हुँदैन भनेका छन् ।
प्यानल होइन, व्यक्तिलाई
मत
पार्टीभित्र वैचारिक बहसलाई नै ओझेल पार्ने गरी झाँगिएको गुटबन्दीप्रति आमप्रतिनिधिहरूमा ठूलो असन्तोष पाइएको छ ।
७८.१ प्रतिशत प्रतिनिधिले व्यक्ति हेरी मतदान गर्ने बताएका छन् भने प्यानललाई नै मत हाल्ने जम्मा १६.२ प्रतिशत छन् । प्यानललाई आधार मानी मतदान गर्नेमध्ये ५१ देखि ६० वर्ष उमेरका उल्लेख्य (२३.९ प्रतिशत) छन् ।
शैक्षिकस्तरमा पनि उत्तरोत्तर व्यक्तिको योग्यता र क्षमता हेरी मतदान गर्नुपर्ने पक्षको मत बढ्दो छ ।
स्नातकोत्तर गरेकामध्ये ८८.५ प्रतिशतले व्यक्ति हेरी मतदान गर्ने बताएका छन् । यो धारणा पुराना र नयाँ मतदातामा पनि करिब समान (७८.६ र ७७.६ प्रतिशत) छ ।
व्यक्ति हेरी मतदान गर्नेमध्ये सबैभन्दा बढी (६९.७ प्रतिशत)ले क्षमतावान् नेतृत्व स्थापित गर्ने र दोस्रो ठूलो संख्या (२५.७ प्रतिशत)ले गुटको भावना अन्त्य गर्नुपर्ने कारण दर्शाएका छन् ।
गुटबन्दी र भागबन्डाका कारण पार्टीमा विकृति बढेको, इमानदार र क्षमतावान् पाखा लागेको ठान्नेहरूसँगै यो मत पनि राखेर हेर्ने हो भने अबको कार्यसमितिमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको मिश्रित उपस्थिति हुने अनुमान गर्न सकिन्छ ।
प्यानललाई नै आधार मानेर मतदान गर्ने (१६.२ प्रतिशत)मध्येले चाहिँ एउटै टिमको हुँदा नेतृत्व प्रभावकारी हुने प्रमुख कारण (७५.९ प्रतिशत) दर्शाएका छन् भने पहुँच र अवसर सहज हुने भएकाले प्यानलमा मतदान गर्नेहरूचाहिँ १४.८ प्रतिशत छन् । अर्को प्यानल सक्षम छैन भन्नेहरू ५.६ प्रतिशत देखिए, जसले कार्यकर्ता तहमा रहेको समूह–समूहबीचको प्रतिद्वन्द्वितालाई इंगित गर्छ ।
युवामा सम्भावना
कांग्रेसभित्र युवाहरूको स्थानबारे
उहिल्यैदेखि बहस भइरहेको छ । त्यसैले महाधिवेशन
प्रतिनिधिहरूलाई सोधिएको थियो, ‘पार्टीभित्र युवाहरूलाई
दिइएको भूमिका
पर्याप्त छ
?’
सर्वेक्षणमा सहभागीमध्ये ६२.३ प्रतिशतले
‘युवाको भूमिका
पर्याप्त छैन’
भन्ने जवाफ
दिए ।
जबकि, जम्मा
३५.३
प्रतिशतले मात्र युवालाई दिइएको भूमिका
पर्याप्त भएको
बताए ।
सबैभन्दा
रमाइलो पक्ष
त के
छ भने
सर्वेक्षणमा समाविष्ट ६१ वर्षभन्दा माथिका
५२.
९
प्रतिशत सहभागीले
समेत पार्टीले
युवाहरूलाई भूमिका सिर्जना गर्न नसकेको
अभिव्यक्ति दिएका छन् ।
२५ देखि ४०
वर्ष समूहको
६५.२
प्रतिशत, ४१
देखि ५०
वर्ष समूहको
६६.४
प्रतिशत र
५१ देखि
६० वर्ष
समूहको ५९.८ प्रतिशतले
युवाहरूको भूमिको पक्षमा आवाज उठाएको
छ ।
शिक्षित समूहले पनि
युवाहरूलाई दिइएको स्थानप्रति असन्तुष्टि व्यक्त
गरेको छ
। एसएलसी
(उत्तीर्ण ५१.७ प्रतिशत), प्रवीणता
प्रमाणपत्र तह (६१.९ प्रतिशत),
स्नातक ७०.२ प्रतिशत
र स्नातकोत्तर
उत्तीर्ण (७३.७ प्रतिशत) सहभागीले
युवालाई पार्टीले
स्थान दिनुपर्नेमा
मत दिएका
छन् ।
यसले के
देखाउँछ भने
शिक्षित वर्ग
युवा नेतृत्वको
पक्षमा छ
।
युवाहरूलाई पर्याप्त भूमिका
नदिइएको भन्ने
पक्षमा मत
अभिव्यक्त गर्नेहरूले कांग्रेसभित्रको
संगठनात्मक ढाँचा, पद्धति र प्रणाली
सुधारमा जोड
दिएका छन्
। ‘यदि
युवालाई पार्टीभित्र
पर्याप्त भूमिका
छैन भने
के गर्नु
पर्ला ?’ भन्ने
प्रश्नमा अधिक
सहभागीले युवालाई
नेतृत्वमा लैजाने प्रणाली बनाउनुपर्नेमा आफ्नो
राय सुझाएका
छन् ।
सर्वेक्षणमा सहभागीमध्ये ५९. १ प्रतिशतको
प्रणाली तय
गर्नुपर्नेमा मत छ भने १९.२ प्रतिशतको
युवालाई नेतृत्वमा
निर्वाचित गर्नुपर्नेमा । त्यसै गरी
प्रतिभावान् युवालाई सभापतिले सोझै मनोनीत
गर्नुपर्छ भन्ने पक्षमा चाहिँ जम्मा
११.५
प्रतिशत मात्रै
।
यसले के देखाउँछ
भने कांग्रेसमा
युवाहरूलाई नेतृत्वमा लैजानुपर्छ, त्यो पनि
प्रक्रिया अवलम्बन गरेर भन्ने जमात
ठूलो छ
। यसको
आशय सीधै
नेतृत्वमा युवालाई लैजाने भन्दा पनि
प्रणाली बनाएर
उनीहरूलाई पर्याप्त राजनीतिक अवसर दिइनुपर्छ
भन्ने हो
। मनोनीत
गर्ने या
सीधै स्थान
दिने परम्परा
आफैँमा अलोकतान्त्रिक
हो भन्नेमा
अधिक सहभागीहरू
सहमत देखिए
। हिमाल,
पहाड र
तराई मात्र
होइन, अशिक्षित
र शिक्षित
समूहभित्रको अधिक हिस्साले समेत युवाहरूलाई
प्रणाली बनाएर
केन्द्रीय नेतृत्वमा पुर्याउने
सपना साँचेको
बुझिन्छ ।
युवा नेताहरूप्रति अधिक
महाधिवेशन प्रतिनिधिले राजनीतिक रूपमा गहिरो
आशा र
भरोसा राखेको
पाइएको छ
। ‘हाल
देखिएका युवा
नेताहरूको क्षमताप्रति तपाईंको धारणा के
छ ?’ भन्ने
प्रश्नमा ६६.८ प्रतिशत
सहभागीले ‘आशाजनक’ भनेर जवाफ दिएका
छन् ।
जबकि, युवा
नेताहरू निराशाजनक
रहेको भन्ने
हिस्सा जम्मा
७.८
प्रतिशत मात्र
छ ।
युवा नेताहरू
औसत छन्
भन्ने १४.७ प्रतिशत,
उत्कृष्ट छन्
भन्ने ९.३ प्रतिशत
र थाहा
छैन भन्ने
.९ प्रतिशत
छन् ।
रोचक त के भने उमेरका
हिसाबले वृद्ध
महाधिवेशन प्रतिनिधिहरूले पनि युवाको क्षमताप्रति
विश्वास गरेका
छन् ।
६१ भन्दा
बढी उमेरका
६४.७
प्रतिशले, ५० देखि ६० उमेरका
७२.८
प्रतिशतले र ४१ देखि ५०
उमेरका ६२.३ प्रतिशत
उत्तरदाताले मौजुदा युवा नेताप्रति आशावादी
रहेको बताएका
छन् ।
शैक्षिक पृष्ठभूमिका
आधारमा वर्गीकृत
साक्षर र
निरक्षर समूहमा
पनि युवाप्रतिको
विश्वास बलियो
देखिएको छ
। विद्यालय
शिक्षा लिएका,
७७.३
प्रतिशत, एसएलसी
उत्तीर्ण ६६.७ प्रतिशत,
प्रवीणता प्रमाणपत्र
तह उत्तीर्ण
६९.८
प्रतिशत, स्नातक
तह उत्तीर्ण
६६ प्रतिशत
र स्नातकोत्तर
उत्तीर्ण ६३.९ प्रतिशत
सहभागीले युवाप्रति
आशा प्रकट
गरेका छन्
।
पहिलोपटक महाधिवेशन प्रतिनिधि
बनेका ७०
प्रतिशतले मौजुदा युवाहरूलाई आशाजनक भनेका
छन् भने
११.६
प्रतिशतले औसत र ९.५ प्रतिशतले उत्कृष्ट
ठहर्याएका छन्
। त्यसै
गरी यसअघि
पनि महाधिवेशन
प्रनिनिधि भइसकेका ६३.६ प्रतिशतले
युवा नेताहरूप्रति
आशावादी भएको
बताएका छन्
। त्यसै
गरी चुनावी
प्रक्रियामा प्यानलमा विश्वास गर्नेमध्येका ६६.७ प्रतिशत
र व्यक्तिको
क्षमतामा विश्वास
गर्नेमध्येका ६५.५ प्रतिशतले पनि
युवाहरूको क्षमता आशाजनक छ भन्नेमा
मत दिएका
छन् ।
यस्तो थियो मत सर्वेक्षण विधि
नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन लागेका महाधिवेशन प्रतिनिधिहरूको विचार/धारणा मापनका लागि गरिएको नेपाल मत सर्वेक्षणमा ११ फागुनसम्म निर्वाचित भएका २ हजार ७ सय ७२ मध्ये ३ सय ३४ प्रतिनिधिलाई नमुनाका रूपमा छनोट गरिएको थियो । यो नमुना ‘सिस्टमेटिक र्यान्डम’ विधि अनुसार छनोट गरिएको थियो, जसमध्ये पूर्वाञ्चलबाट १९.५, मध्यमाञ्चलबाट ३०.८, पश्चिमाञ्चलबाट २८.७, मध्यपश्चिमाञ्चलबाट १४.४ र सुदूरपश्चिमाञ्चलबाट ६.६ प्रतिशत प्रतिनिधि छन् । त्यसै गरी हिमालबाट ९.९, पहाडबाट ४८.८ र तराईबाट ४१.३ प्रतिशत छनोटमा परेका छन् । लैंगिक आधारमा हेर्दा ८०.५ प्रतिशत पुरुष र १९.५ प्रतिशत महिला समावेश छन् । उमेर अनुसार २५–४० वर्षका २०.७, ४०–५० बीचका ३६.५, ५१–६० बीचका २७.५ र ६० वर्षमाथिका १५.३ प्रतिशत छन् ।
नमुनामा छनोट भएका उत्तरदातालाई टेलिफोनबाट प्रश्न गरिएको थियो । शत प्रतिशत नमुनाबाट उत्तर प्राप्त भएको थियो । ती उत्तरहरूलाई ‘कोडिङ’ गरी प्रशोधन गरिएको थियो । यस सर्वेक्षणका क्रममा केही जिल्लामा भने प्रतिनिधि छनोटको काम सकिएको थिएन । तर, मुलुकभरका २ सय ४० निर्वाचन क्षेत्रमध्ये करिब ९७ प्रतिशतबाट नमुना छनोट गरिएकाले यसको नतिजालाई सामान्यीकरण गर्न सकिन्छ । ९५ प्रतिशत ‘कन्फिडेन्स इन्टरभल’मा पाँच प्रतिशत ‘मार्जिन इरर’ रहेको छ ।
(सर्वेक्षणका क्रममा — बालकृष्ण खड्काले नमुना छनोट र नतिजा प्रशोधनमा विज्ञका रूपमा योगदान गरेका छन् । )
नेपाल, प्रकाशित: फाल्गुन १६, २०७२
No comments:
Post a Comment