पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति तथा हालै सरकारद्वारा गठित चिकित्सा शिक्षा आयोगका सदस्य डा अर्जुन कार्की जति दक्ष चिकित्सक मानिन्छन्, उत्तिकै कुशल व्यवस्थापक पनि । डा कार्कीसँग स्वास्थ्य सेवा तथा शिक्षा प्रणालीमा केन्द्रित रहेर रामबहादुर रावलले गरेको संवाद :
हाम्रो स्वास्थ्य सेवा प्रणालीमा सन्तोष गर्ने ठाउँ छ ?
हामीले जहाँबाट सुरु गरेका थियौँ, त्यसभन्दा प्रगति गरेका छौँ । यो सकारात्मक पाटो हो । तर, विज्ञान, प्रविधि र व्यवस्थापनको समग्र सूचकांकमा हाम्रो मुलुक र बाँकी विश्वबीच ठूलो खाडल छ । अझ ठूलो खाडल काठमाडौँ र बाँकी नेपालको बीचमा छ ।
प्रगतिचाहिँ केलाई मान्ने त ?
५० वर्षअगाडिको स्थितिभन्दा अहिले उल्लेख्य प्रगति भएको छ । अहिले हामीसँग स्पष्ट स्वास्थ्य नीति छ । हरेक गाविसमा स्वास्थ्य चौकी, उपचौकी छन् । तिनले काम के कति गरेका छन् भन्ने छुट्टै कुरा हो । आजभन्दा ३८ वर्षअघि हामीकहाँ डाक्टर उत्पादन नै हुँदैनथे । अहिले मुलुकभित्रै
प्रतिवर्ष दुई हजार चिकित्सक उत्पादन गर्ने क्षमता बनेको छ । अब विश्व र काठमाडौँबीचको खाडल अनि काठमाडौँ र बाँकी नेपालबीचको खाडल पुर्नुपर्ने बेला आएको छ ।
सम्भव हुने सेवामा पनि प्रवाहको प्रणाली झनै निम्छरो छ नि ?
यसको एउटा मात्रै कारण छैन । प्रणाली केन्द्रीकृत छ । केन्द्रको दृष्टिमा जेजे पर्यो, केन्द्र हाँकेर बसेका मान्छेको नजरमा जोजो परे, तिनले प्राथमिकता पाउँछन् । ‘आयो गयो माया मोह, नत्र को हो को हो’ भन्ने उखानै छ । टाढा, दुर्गममा रहने मान्छे आँखामा पर्दैनन् । कर्मचारीले हाकिमको, हाकिमले अझ माथिको हाकिमको चाकडी मात्र गर्छ । हाम्रो समय त्यसैमा जान्छ । मुखले सबै ठीक छ, राम्रो भइरहेको छ भन्छ । तलको कुरा ओझेल पर्छ । तेस्रो कुरा, राज्यको दायित्व हो भन्ने कुरा सिद्धान्तत: सरकारले स्वीकारे पनि व्यवहारमा त्यही अनुरूपको स्रोतसाधनको परिचालन भएको छैन ।
यस्तै प्रणालीगत समस्या देखाएर कहिलेसम्म बस्ने ?
यो यथार्थ हो हाम्रो । केन्द्रीय अस्पतालमध्ये पाटन अस्पताललाई नै हेरौँ । वर्षमा झन्डै तीन–चार लाख जनताको सेवा गर्छ तर सञ्चालन खर्च सरकारले बेहोर्दैन । कमाऊ खाऊ भन्दिन्छ । त्यस्तो नीति भएपछि एउटा सार्वजनिक संस्थाले कसरी कमाएर चल्छ ? फेरि पैसा तिर्ने सामथ्र्य नभएका कारण कसैलाई फर्काउनु नपरोस् भन्ने संस्थागत मान्यता छ । प्रशस्त गरिब भएको देशमा यस्ता अस्पताल कसरी चल्छन् ? त्यसैले प्राथमिकीकरण गरेर स्वास्थ्य र शिक्षाजस्ता आधारभूत कुरामा राज्य उदार देखिनुपर्छ ।
संस्थाका पदाधिकारीहरूमा पनि त भर पर्छ होला नि ?
अवश्य पनि । समस्या नियुक्तिदेखि नै सुरु हुन्छ । नियुक्तिकर्ताका आफन्त, पार्टीनिकट, आशीर्वादप्राप्त मान्छेलाई यस्ता संस्था जिम्मा दिइन्छ । होइन भने त्यहाँ चल्तापुर्जा को छ, आन्दोलन/जुलुस गर्न सक्ने वा जुलुस गर्न सक्ने मान्छेको समर्थन भएको, आर्थिक चलखेलमा माहिर, पार्टीलाई चन्दा दिन सक्ने आधारमा चयन गरिन्छ । व्यवस्थापकीय नेतृत्वमा क्षमता भएको व्यक्तिलाई नै राख्नुपर्यो । त्यो क्षमता उसमा छैन भने प्रणालीले दिलाइदिनुपर्यो ।
चिकित्सा क्षेत्र त समाजका कुशाग्र बुद्धि भएकाहरू जाने ठाउँ हो । यो त समाजका अरू क्षेत्रका लागि पनि आदर्श पेसा हुनुपर्ने होइन ?
नक्कली प्रमाणपत्र बोकेर उपचार गरिरहेकाहरू पनि यही पेसामा रहेछन् भन्ने अनुसन्धानले देखाइसकेपछि अब्बल दर्जाको बुद्धि भएकाहरू मात्र जान्छन् भन्ने पनि रहेन । अब त अब्बल होस् नहोस्, जालझेल गर्न सक्ने, पैसा र पावर हुने, चलखेल गर्न सिपालु छ भने जो पनि यो पेसामा लाग्न सक्ने भयो ।
स्वास्थ्य क्षेत्रमा भएको लगानीको तुलनामा प्रतिफल कस्तो छ ?
सरकारी बजेट आर्थिक वर्षको अन्त्यसम्मै खर्च नभएर फ्रिज हुने एउटा समस्या छ । लगानी पर्याप्त नभए पनि ठीकठीकै छ । तर, त्यस अनुरूपको प्रतिफल भने छैन । सबैतिर छट्टुपना, लटपट्याउने, झाराटरुवा काम गर्ने, आँखामा छारो हाल्ने, जनताप्रति जवाफदेही कहिल्यै हुनु नपर्ने, हाकिमलाई रिझाए पुग्ने परिपाटी छ । यसरी कहिल्यै प्रतिफल प्राप्त हुँदैन । हाकिम भन्नेहरू पनि उत्तिकै पीडित छन् । उपल्लो अधिकारीले मान्छे नगन्ने, मानवीय व्यवहार नगर्ने समस्या छ ।
डाक्टरहरू दुर्गममा नजाने, नबस्ने समस्या पनि छ नि ?
त्यो एउटा पाटो हो । किन बसेनन् भन्ने पनि खोज्नुपर्छ । दुर्गममा बस्नका लागि वातावरण के छ, त्यो पनि हेरौँ । डाक्टर पनि मान्छे हो । ऐशआरामले पढेको हुन्छ, दुर्गममा गएर त्यहाँको परिस्थितिसँग समायोजन हुन गाह्रो हुन सक्छ । बसाइँ कम्तीमा सुविधाजनक बनाइदिन सक्यौँ भने यो समस्या ठूलो नहुन सक्छ ।
चिकित्सकमा म अर्कै संसारको मान्छे हुँ भन्ने भावना बढ्नुमा कसको दोष हो ?
त्यो उसको व्यक्तिगत दोष होइन । चिकित्सा शिक्षामै हामीले सिकाउन सक्नुपर्छ, तिमी जनताकै एउटा अंश हौ, जनताप्रति प्रतिबद्ध हुनुपर्छ, बिरामी अस्पतालमा आएर तिमी रोग र उपचारका विधिहरू सिक्छौ । जसमाथि तिमीले परीक्षण गर्यौ, जसले सिक्नका लागि मद्धत गर्यो, ती जनता नै हुन् । तिमीले डाक्टरको उपाधि पाउनका लागि कति बिरामीले ऐयाऐया भन्दै दु:ख खेपेका छन् । त्यो घोच्न
नदिएको भए सीप माझिँदैनथ्यो । तर, हामीले चिकित्सक हुनेलाई यो बुझाउन सकेनौँ ।
शिक्षा नै महँगो भएकाले कसरी लगानी असुल्ने भन्नेमा मात्र ध्यान गएको हो कि ?
सबै ठाउँमा महँगो छैन । महाराजगन्जमा पढ्नेको डेढ–दुई लाख खर्च हुन्छ, पूरै अवधिमा । पाटनमा ६० प्रतिशतलाई छात्रवृत्तिमै पढाउँछौँ । धरान र अन्यत्र पनि छ त्यस्तो व्यवस्था । त्यसरी पैसा नतिरी, न्यूनतम शुल्क तिरेर पढ्ने विद्यार्थीमा पनि यो चेत हामीले भर्न सकेनौँ । बिरामीको उपचार तिनले सित्तैँमा गर्ने पनि होइनन् ।
एउटै राज्यमा डेढ–दुई लाख रुपियाँमा पढाउनेदेखि ४५–४६ लाख लाग्नेसम्मको चिकित्सा शिक्षा छ । यसलाई के भन्ने ?
विकृति । माथेमा आयोगको प्रतिवेदनले ३५ लाखभन्दा बढी लिनु उचित हुँदैन भनेको छ । त्यो पनि अधिकतम हो । सर्वोच्च अदालतले पनि यही गर्नु भन्यो तर हाम्रो राज्य संयन्त्रले केही गर्न नसक्ने । यो राज्य कति विकृतिपूर्ण, समाज कति स्वार्थी र लोभीपापीको बाहुल्य भएको रहेछ भन्ने यसले प्रमाणित गर्छ । यहाँ बलियाले जथाभावी गर्ने, अरूलाई दु:ख, पीडा दिएर आफ्नो स्वार्थसिद्धि गर्ने प्रवृत्ति छ ।
निजीकरणका कारण यसो भएको भन्दा हुन्छ ?
निजीकरणले हाम्रो उत्पादन क्षमतामा वृद्धि पनि गरेको छ । तर, हाम्रो समस्या राज्यले हिसाब गरेर नियोजित र नियन्त्रित ढंगले अबको पाँच–दस वा २० वर्षमा यति मान्छे चाहिन्छ भन्न सकेन । गुणस्तरमा सम्झौता गरेमा छोड्दैनौँ भनेर राज्यको बल प्रदर्शन हुन सकेन । राज्य कुनै अमुक चीज होइन । काम गर्ने मान्छेले नै हो । तर, कसैले पनि जवाफदेहिता वहन गर्नु नपर्ने । बेथिति नियन्त्रण गर्ने जिम्मा पाएकाहरू नै स्वार्थको चंगुलमा फसेपछि कसले नियन्त्रण गरिदिने ?
सुरुमा सहकारीका नाममा खोल्न थालिएको मनमोहन अस्पताललाई ऐनबाट गठन गर्न खोज्नु पनि त्यसैको उदाहरण हो ?
यो पनि राज्यशक्तिको दुरुपयोग नै हो ।
बर्सेनि दुई हजार डाक्टर उत्पादन हुनु त उत्साहजनकै हो कि ?
एक हजार जनसंख्या बराबर एक डाक्टर भन्ने विश्व स्वास्थ्य संगठनको सिद्धान्त अनुसार अबको पाँच वर्षमा मुलुकलाई आवश्यक डाक्टर यहीँ उत्पादन हुन्छन् । तर, यही रीतले उत्पादन हुँदै गए भने अबको १५ वर्षपछि त २० हजार डाक्टरलाई काम गर्ने ठाउँ हुँदैन । थप १० हजार विद्यार्थी बाहिर पढेर आउनेछन् । फेरि एक लाख जनाले नै डाक्टर बन्छु भने भने राज्यले दिने कि नदिने ? उनीहरूले काम नपाए त्यसको दायित्व राज्यले लिने कि नलिने ? त्यत्रो पढेर डुकुलन्ठु भएर हिँड्नुपर्यो भने त्यो समाजले स्वीकार गर्ने कि नगर्ने ? निजी क्षेत्र आजको विश्वको यथार्थ हो । त्यसलाई पूरै निषेध गर्ने होइन । तर, स्वास्थ्यजस्तो मानवीय दृष्टिले अहम् महत्त्वको क्षेत्रमा राज्यको एकदम सबल र सक्रिय रेखदेख अपरिहार्य छ । बजारलाई मात्रै छाडिदियो भने तपाईं/हाम्रो स्वास्थ्य रक्षा हुँदैन ।
यो दायित्व लिन हाम्रो राज्य समर्थ छ त ?
राज्यको उत्पत्ति नै समाजमा बलियाबांगाले हालीमुहाली गर्न नपाऊन् भनेर भएको हो । तर, अहिले देखाउनलाई नियम, कानुन, अड्डा अदालत, प्रहरी, अख्तियार छन्, तिनलाई पनि तोडमरोड गरेर आफ्नो लाभ लिने, खुराफाती गर्न सिपालु व्यक्तिहरूले
सबै घुमाइरहेका छन् । म्याच फिक्सिङका कारण हामी यतिका वर्षसम्म फुटबलमा हारिरहेका रहेछौँ, त्यो एउटा यथार्थ हो । अर्कोतिर, अपराधीलाई समाउने काम पनि हाम्रै प्रहरीले गर्यो । अर्थात्, राज्य संरचनाभित्रै
पद्धतिको पक्षमा लड्नेहरू पनि छन् । तिनलाई सहयोग गर्नुपर्छ, सबै जागरुक हुनुपर्छ । सामूहिक रूपमा यो युद्ध लड्नुपर्छ ।
तस्विर: रवि मानन्धर
नेपाल, प्रकाशित: फाल्गुन १०, २०७२
No comments:
Post a Comment