Monday, October 9, 2017

सीईओको वर्गीकरण


- रुन्चे राइँलो

नेपाल राष्ट्र बैंकले व्यावसायिक बैंक तथा वित्तीय संस्थाहरुको वर्गीकरण गर्छ तर प्रमुख कार्यकारी अधिकृत (सीईओ)को गर्दैन । तसर्थ, यहाँ नेपालमा सर्वाधिक तलब खाने यो पदमा आसीन व्यक्तिहरुको वर्गीकरण तीन प्रकारले गर्ने धृष्टता रुन्चेले गरेको छ ।

सेलिब्रिटी सीईओ : क्यामरा देख्नै नहुने, फोटोका लागि पोज दिइहाल्ने । फेसबुकमा सेल्फी अपडेट गरिरहने । बैंकका आफ्नै कार्यक्रममा जान नभ्याए पनि सुन्दरी प्रतियोगिताको निर्णायक मण्डलमा पुगिहाल्ने । आफ्नो बैंक डुबे पनि अरुलाई कसरी सफल हुने भनेर करिअर काउन्सिलिङ र प्रवचन दिइरहने ।

टिचर सीईओ : बैंकको कर्मचारी होस् वा सञ्चालक देख्नै नहुने, लेक्चर दिइहाल्ने । अर्ती–उपदेशको त खानी नै । कामभन्दा गफमा बढी विश्वास गर्ने । आफूले के गरेँ भन्दा पनि अरुले के गर्नुपर्छ भन्नेमा पोख्त ।

ब्रोकर सीईओ : आफ्नो कार्यकक्षमा नेतादेखि जग्गा दलालसम्मका जमघट गराउने । नेताबाट के काम लिने, कसको सरुवा गर्ने, कसको बढुवा रोक्ने भनेर आफ्नै वातानुकूलित कक्षबाट फिक्सिङ गर्ने । कुन जग्गाको प्लटिङ कहिले गर्ने, कुन क्षेत्रको जग्गा कसको भागमा पार्ने । कार्यालय समय सकिएपछि यही काम दरबारमार्गबाट गर्ने ।


No comments:

Post a Comment