- रामबहादुर रावल
प्रदीप गिरि-१
आमनेपालीले जस्तै म पनि प्रदीप गिरीलाई एक गम्भीर चिन्तकका रूपमा चिन्छ । पहिलोपल्ट भेट्दा उनी मेरो परिकल्पनाभन्दा धेरै फरक थिएनन् । ०६६ चैतको दोस्रो साता। गिरिजाप्रसाद कोइरालाको निधनको केही दिनपछि गिरिलाई काठमाडौंको भीमसेनगोलास्थित घरमा भेटेको थिएँ । पुरानो र बेवारिसेजस्तै लाग्ने त्यस सानो घरभित्र उनी कुर्तापाइजामामा थिए । मैलो नभए पनि खासै सुकिलो थिएन पहिरन । छुस्स दारी । फाटेका र मयल टलक्क टल्किएका सोफा । कतै कार्पेट देखिन्थ्यो त कतै सिमेन्टको कालो र खस्रो भुईं ।
यो पनि हेर्नुहोस्-
प्रदीप गिरिको त्यो रेकर्डर
त्यसपछि पनि केही समय त्यही घरमा भेटें उनलाई । उनका सहयोगी आज एउटा, भोलि अर्को हुन्थे । समयको ठेगान नहुने । उनलाई भेट्न पुग्नेहरू घन्टौं कुरिरहेका हुन्थे । कोही त बिहानै गएर उनलाई ढुक्थे, साँझ नभेटीकन फर्किन्थे र भोलिपल्ट त्यही सिलसिला दोहोऱ्याउँथे । मैले पनि उनलाई निर्धारित समयमा मुस्किलले भेटेको छु ।