Friday, October 21, 2016

पीताम्बर शर्माको घडी, कल्याण श्रेष्ठको कम्प्युटर र प्रदीप गिरिको रेकर्डर

 नोटबुक

  • रामबहादुर रावल


पीताम्बर शर्माको घडी



सधैँ गम्भीर विषयमा गफिन रुचाउने प्रा पीताम्बर शर्मासँग हत्पत्ति ठट्टा र हलुका विषय झिक्न धक लाग्छ । किनभने, गाम्भीर्य नै उनको परिचय हो ।  भूगोलका प्राध्यापक भए पनि इतिहास, राजनीति, समाज, राज्य, विकास, अर्थतन्त्र, संस्कार–संस्कृति विषयका छलफलमा उनले दिने व्याख्यान सुन्दा बेग्लै आनन्द आउँछ । अन्तर्वार्ताका क्रममा व्यंग्य र विनोदप्रियता यदाकदा झल्किन्छ । त्यसबाहेक उनीसँग हाँसोठट्टाका कुरा निकै कम भएका छन् ।


पछिल्लोपल्ट स्थानीय निकायको पुन:संरचनाबारे छलफल गर्न उही नियमित भेटघाटस्थल पुगियो, सानेपास्थित रिसोर्सेस हिमालय । कफीको चुस्की सुरु नहुँदै उनी त्यस दिन अनौपचारिक गफ झिक्नतिर लागे, “घडी त झिल्के लगाउनुभए छ नि !” मलाई अलि संकोच लाग्यो । जवाफ दिएँ, “सरलाई झिल्के लाग्यो ? यसले त घन्टा, मिनेट र सेकेन्डबाहेक केही बताउँदैन त !”


त्यसपछि बोल्ने पालो उनको थियो, ‘यो मेरो घडीले त सारा संसार बताउँछ ।’ मैले याद नगरेको रहेछु, उनको नाडीमा रहेछ रबरको ब्यान्डजस्तो कुनै जिनिस । जिज्ञासा बढाएँ मैले, “के–के बताउँछ यसले ?”


स्मार्ट वाच रहेछ, फिटबिट एचआर । जसले मुटुको धड्कन, रक्तचाप, शरीरमा सञ्चित शक्तिको मात्रा, कुन काम गर्दा कति खर्च भयो, कहाँकहाँ कति हिँड्यो, कति उचाइमा पुग्यो आदि सबै अभिलेख राख्ने रहेछ । यति मात्र होइन, तपाईं कति सुत्नुभयो, निद्रा पुग्यो कि पुगेन भनेर पनि घडीले बताइदिने रहेछ । घडी प्रयोगकर्ताको स्वास्थ्य अवस्था, कामको प्रकृति हेरी उपयुक्त एप्लिकेसन डाउनलोड गर्न मिल्ने रहेछ । स्वास्थ्य अवस्थाबारे संग्रहित सूचनाका आधारमा समय–समयमा आफैँ विश्लेषण गरी रिपोर्ट पनि दिने रहेछ । यस्तो रिपोर्ट मोबाइलमै हेर्न मिल्दो रहेछ । र, त्यस्तो रिपोर्ट घडी प्रयोगकर्ताले त पाउँछ नै, नजिकको कुनै आफन्तको मोबाइलमा पनि नियमित पुग्ने व्यवस्था गर्न मिल्ने रहेछ ।

प्रा शर्माको स्वास्थ्य अवस्थाबारे सात समुद्रपारि रहेकी छोरीको मोबाइलमा छिनछिनमा सूचना पुग्दो रहेछ । करिब २० मिनेटजति त्यो हाइटेक घडीबारे हजुरबा पुस्ताका प्राज्ञबाट सूचित भएपछि लाग्यो, ‘उनले मेरो घडीलाई क्या सारो जिस्काएका रहेछन् ।’


कल्याण श्रेष्ठको कम्प्युटर



सार्वजनिक सेवाबाट निवृत्त भएपछि सबैभन्दा संकुचित भएर बस्नुपर्ने क्षेत्र हो, न्याय सेवा । त्यसमा पनि सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर निवृत्त भएपछि गर्नुपर्ने काम के हुन्छ ? सचिवहरू प्राय: कन्सल्टेन्सीतिर लाग्छन् । अन्य पेसाकर्मीहरू पनि कन्सल्टेन्सीका अलावा अध्यापन, अनुसन्धानको काम रोज्छन् । अवकाशपछि खेतीकिसानी वा स्वयंसेवातिर लाग्ने प्रचलन बनिसकेको छैन हामीकहाँ । अझ न्यायाधीशहरूको अवकाशपछिको जीवन सबैभन्दा उकुसमुकुसपूर्ण हुने गरेको छ । त्यसैले केहीले अध्यात्ममार्ग अँगालेका छन् त केहीले अध्यापन । धेरैचाहिँ घरको चौघेरामा दिन काट्न बाध्य छन् ।


६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश पाएर घरमा फुर्सदिला दिन बिताइरहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पनि अहिले यस्तै छटपटी छ । छटपटी कम गर्न उनले कम्प्युटरलाई साथी बनाएका छन् ।


कुरा के भने उनले अहिलेसम्म कम्प्युटर चलाउन सिकेका रहेनछन् । “सबै काम सहयोगीले गरिदिने । यो पनि सिक्नुपर्छ भन्ने नै ठानिएन,” कुपन्डोलस्थित आफ्नै निवासमा उनले भने, “ जब सबै काम आफैँले गर्नुपर्‍यो अनि थाहा भयो यो पनि सिक्नुपर्ने रहेछ भनेर ।” त्यसैले उनको घरमा नियमित कम्प्युटर प्रशिक्षक पुग्छन् । उनले होमवर्क दिन्छन् । श्रेष्ठ पनि नियमित अभ्यास गर्छन् । होमवर्क भ्याउँछन् । इमेल, इन्टरनेट, टाइप सिक्नु उनको तत्कालको प्राथमिकता भएको छ । उमेर जतिसुकै होस्, सिकाइमा सफलता मिलोस् ।


प्रदीप गिरिको रेकर्डर



एकपटक स्रोतव्यक्तिसँग कलम सहयोग माग्दा व्यंग्य खाएको छु, ‘ लडाइँमा जाने, हतियार बोक्न बिर्सने ?’ त्यसयता अरूकहाँ बिर्से पनि ती व्यक्तिकहाँ पुग्दा म निकै सजग हुन्छु । रिपोर्टिङका लागि आफूलाई चाहिने प्राय: सामग्री ठीकठाक पारेर मात्र तिनीकहाँ पुग्छु ।


यस्तै कडा टिप्पणी कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीबाट पटकपटक झेलेको छु । उनले पढेका पुस्तकका लेखकको नाम मैले झट्ट भन्न नसक्दा, कुनै पुस्तकका सारगर्भित संवाद नआउँदा, कांग्रेसको इतिहासका महत्त्वपूर्ण तिथि बिर्संदा, अमेरिकी राजनीतिमा सर्वाधिक शक्तिशाली राष्ट्रपतिका रूपमा रिचर्ड निक्सनबाहेक अरू कसैको नाम भन्न नसक्दा आदि आदि । कति दिन त पहिला तपाईं पढेर आउनू अनि म बोल्छु भनेर रित्तै हात घर फर्काएका पनि छन् उनले । यी विषयलाई मैले सहज रूपमा लिएको पनि छु ।


अन्तर्वार्ताका क्रममा उनले प्राय: ख्याल गर्ने विषय भ्वाइस रेकर्डर हो । मैले उनको अघिल्तिर रेकर्डर राख्दा त्यो कस्तो हो, कुन कम्पनीको हो, उसको क्षमता र विशेषता के हो आदि अनगिन्ती प्रश्न झेलेको छु मैले । कहिलेकाहीँ त यो रेकर्डर ठीक छैन भन्दै उनी आफ् नो रेकर्डर झिक्न खोज्छन् । पछिल्लो भेटमा मसँग रेकर्डर थिएन । मोबाइलबाटै काम चलाउन खोजेँ । मोबाइलमा गडबडी आयो । उनलाई लाग्यो होला, ‘यसले कामचलाउ अन्तर्वार्ता गर्ने भयो ।’ उनी आफ्नै रेकर्डर अघिल्तिर तेस्र्याएर बोल्न थाले । तर, मेरो मोबाइल पनि कम थिएन । उनले पृष्ठभूमिमा बोलेको लामो व्याख्यान रेकर्ड नै गरेनछ । मलाई चाहिने कुरा मात्र रेकर्ड गरेकामा करिब थोत्रो भइसकेको मोबाइललाई निकैपल्ट धन्यवाद दिएँ । कम्तीमा गिरीको रेकर्डर त माग्नुपरेन !

(नेपाल, ५ कात्तिक २०७३ मा प्रकाशित)





No comments:

Post a Comment