उचाइमा फल्ने, हिमाली स्वच्छ वायु ठोक्किएर हुर्कने र संसारमै राम्रो मानिने अरबिका प्रजातिको कफीले नेपालमा उत्साहजनक फल दिइरहेको छ।
महाभारत पर्वत शृंखला आसपास रहेको करिब ८० हेक्टर जमिनमा कफी खेती गरिरहेका ३ सय ६६ किसान ललितपुर जिल्ला कफी सहकारी युनियन अन्तर्गतका विभिन्न प्राथमिक सहकारी संस्थामा आबद्ध छन्। गत वर्ष २१ मेट्रिक टन कफी उत्पादन गरेका उनीहरू यस वर्ष २५ मेट्रिक टन उत्पादनको लक्ष्यमा छन्। त्यसमध्ये १२ मेट्रिक टन जर्मनीको एक कम्पनीले प्रतिकिलो आठ अमेरिकी डलरमा लैजाने सम्झौता गरिसकेको छ। बाँकी कफी पनि कहाँ बेच्ने भन्ने चिन्ता छैन।
उच्च भेग (हाई अल्टिच्युड)मा फल्ने र अग्र्यानिक प्रमाणीकरण भएको ‘नेपाल कफी ललितपुर’ ब्रान्डको यो उत्पादन तीन वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा परिचित छ। युनियनका अध्यक्ष डोलराज अधिकारी भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले कमाएको लोकप्रियताका कारण यता खेती पनि बढिरहेको छ।” अधिकारीका अनुसार नेपाली कफी घुलनशील (नेस्कफी) नभई थिग्रिने (फिल्टर कफी) भएकाले यो स्वास्थ्यवद्र्धक हुन्छ र मूल्य पनि उच्च। जसको सेवनले बिस्तारै मुख रसाउँछ र स्वाद मुखभरि फैलिन्छ। कफी पारखीहरू यही विशेषताका कारण नेपाली अग्र्यानिक कफीमा झुम्छन्।
विसं १९९५ मा आँपचौर, गुल्मीका हीरा गिरीले बर्माको सिन्धु प्रान्तबाट कफीका बीउ ल्याई गाउँमा रोप्दा सायदै सोचेका थिए, त्यसको फल अन्तर्राष्ट्रिय बजारमा पुग्ला र सात समुद्रपारिका कफी पारखीका जिब्रोमा त्यसको स्वाद झुन्डिएला भनेर। त्यसको ७७ वर्षपछि सुस्त नै सही, नेपाली विशेषतासहितको कफी विश्वका एक दर्जनभन्दा बढी मुलुकमा निर्यात हुन थालेको छ। हाम्रा लागि रैथाने बाली प्रणालीभन्दा भिन्न र नौलो भए पनि अमेरिका, युरोप र कोरिया, जापानजस्ता एसियाली मुलुकमा नेपाली कफीको राम्रो बजार छ । ती मुलुकका प्रमुख सहरमा नेपाली ब्रान्डका कफीकै नाममा क्याफेसम्म खुलेका छन्। ८ सयदेखि १ हजार ६ सय मिटरको उचाइमा फल्ने, हिमाली स्वच्छ वायु ठोक्किएर हुर्कने, फलेको कम्तीमा सात महिनामा मात्र परिपक्व बन्ने नेपाली अग्र्यानिक कफीका विशेषता हुन्। संसारमै राम्रो मानिने अरबिका प्रजातिको कफीले नेपालमा मात्रा र गुणस्तर दुवै दृष्टिले उत्साहजनक फल दिइरहेको छ। कफी व्यवसायी संघका अध्यक्ष श्याम भण्डारीका भनाइमा अन्तर्राष्ट्रिय बजारको माग अनुसार आपूर्ति गर्न सकिएको छैन। गएको सिजनमा सात हजार मेट्रिक टन नेपाली ग्रिन बिन्स (रोस्ट गर्नुअघिको कफी)को माग अन्तर्राष्ट्रिय बजारमा थियो तर ५ सय ५० मेट्रिक टन मात्र उत्पादन हुन सक्यो। त्यसमध्ये पनि करिब आधाआधी त आन्तरिक बजारमै खपत भयो।
यो आयातीत बाली नेपाल भित्रिएको दुई दशकभन्दा बढी अवधि कौतूहल, रहर र सोखमै सीमित रह्यो। रहरमै सही, गुल्मीबाट पाल्पा, स्याङ्जा, अर्घाखाँची, कास्की, बाग्लुङ, लमजुङ, झापा, ललितपुरमा यो फैलिसकेको थियो। कफी उत्पादन भएपछि बजार खोज्ने क्रममा मणिग्राम, रूपन्देहीमा सरकारले कफी प्रशोधन कारखाना स्थापना गर्यो। कृषि विकास बैंक र नेसनल ट्रेडिङले उत्पादन र प्रशोधनमा किसानलाई सघाए। त्यही क्रममा पहिलोपल्ट नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्यो, नेदरल्यान्ड्समा। त्यसले कफी उत्पादकबीचमा आशाको तरंग पैदा गर्यो। त्यसपछि अन्य जिल्लामा पनि कफी खेती फैलियो। एवं रीतले ०५२ देखि अग्र्यानिक कफी अभियान सुरु भयो। “फलस्वरूप आज नेपालमा उत्पादन हुने ८० प्रतिशत कफी अग्र्यानिक प्रमाणीकरण भएको छ,” भण्डारी भन्छन्।
०६० सालमा नेपालमा नबिकेर थन्किएको कफी एक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा अमेरिका पठाइयो। त्यसले नेपाली कफी अरू बढी परिचित र परीक्षित हुने मौका पायो। माग बढ्दै गयो। त्यही वर्ष सरकारले कफी नीति ल्याएर उत्पादकलाई थप हौसला दियो। नेपाली कफीको ट्रेडमार्क व्यवस्थित गर्न चिया तथा कफी विकास बोर्डकै नाममा उद्योग विभागमा ट्रेडमार्क दर्ता गरिएको छ, ०६७ मा। यो ट्रेडमार्क अरू आठवटा मुलुकमा पनि दर्ता भइसकेको र थप केही देशमा दर्ताको प्रक्रियामा छ। “यसले नेपाली कफी भनेर अरू नै बेच्ने जोखिम कम गर्नेछ,” बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम भन्छन्।
नेपाली अग्र्यानिक कफीलाई स्वदेश र विदेशमा परिचित गराउन निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ। जस्तो : नेपाली कफीलाई मात्रै आफ्नो व्यावसायिक परिचय बनाएको कम्पनी हिमालयन जाभाले नेपालका विभिन्न पर्यटकीय स्थल र मुलुकबाहिर पनि आफ्ना आउटलेट खोलेको छ। नेपाली कफी प्रशोधन गरी हिमालयन जाभाको ब्रान्डमा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गरिरहेको छ। हिमालयन जाभा बरिस्टा कफी स्कुलका तालिम निर्देशक माधव देवकोटा भन्छन्, “हामी आफ्ना आउटलेट र उत्पादनको मात्रा बढाइरहेका छौँ। तर, हाम्रो ध्यान मात्रा बढाउने भन्दा पनि गुणस्तर कायम राख्नेमा बढी केन्द्रित छ, जसले नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा आर्जन गरेको विश्वसनीयता झन् बढ्न सकोस्।”
सरकार मातहतको चिया तथा कफी प्रवद्र्धन बोर्डका अनुसार मुलुकका ४० जिल्लामा कफी पुगेको छ। पश्चिमाञ्चल र मध्यमाञ्चलका २२ जिल्लाको २ हजार १ सय हेक्टर जमिनमा कफी खेती विस्तारित छ। त्यसमध्ये १७ जिल्लामा यसले व्यावसायिक स्वरूप लिइसकेको छ। मुलुकभर ११ लाख हेक्टरमा कफी खेती गर्न सकिने सम्भावना रहेको संघका अध्यक्ष भण्डारी बताउँछन्। भन्छन्, “कफी खेतीका लागि योग्य मानिएको भूमिको २५ प्रतिशतमा मात्र व्यावसायिक खेती गर्न सके पनि आगामी १० वर्षभित्र नेपालको अन्तर्राष्ट्रिय व्यापार खाता धनात्मक हुनेछ।”
No comments:
Post a Comment