Friday, June 3, 2011

ढोरपाटन : जिउँदो संग्रहालय


सुखदु:ख जे भए पनि ढोरपाटनले नै दिएको छ । अहिलेसम्म हाम्रा लागि ढोरपाटन दु:ख बिसाउने थलो भएको छ । नांगै, भोकै, प्यासै भए पनि ढोरपाटन छोडेर कहीँ जाने ठाउँ छैन हाम्रो । अब यही ठाउँलाई हाम्रो जीवन सुधार्ने आधार बनाउन चाहन्छौँ ।

बोवाङ गाविसका पूर्वउपाध्यक्ष भद्रमणि सुनारको यही अभिव्यक्तिले बताइरहेको छ, ढोरपाटनसँग त्यहाँको जनजीवन कसरी जोडिएको छ भनेर। ढोरपाटन अर्थात् पश्चिम नेपालको बाग्लुङ, रुकुम र म्याग्दी जिल्लाको बीचमा रहेको उच्च पहाडी भूखण्ड। चारैतिर पहाडले घेरिएको, बीचमा समथर मैदान, मैदानको बीचमा सदाबहार बग्ने उत्तरगंगा। समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथि रहेको यो लेकाली उपत्यका जेठ-वैशाखमा पनि कट्कटी कमाउने सिरेटोले भरन्िछ। जाडो याममा त चार-पाँच फिटसम्म हिउँ थुपि्रन्छ। तैपनि, मान्छे र घरेलु पशुपक्षीको गुन्जायस कहिल्यै शून्य हुँदैन त्यहाँ। सुनारले त्यसै भनेका होइनन्, "ढोरपाटनबाहेक जाने ठाउँ कहीँ छैन। जे गर्छ, ढोरपाटनले गर्छ।"

हुन पनि ढोरपाटन पहाडी भूबनोटको एउटा रहस्यमय नमुनाजस्तै लाग्छ। अझ त्यो विकट भूगोलसँग जोडिएको जनजीवनको कहर नेपाली आदिम सभ्यताको जिउँदो संग्रहालयजस्तो देखिन्छ। ढोरपाटन क्षेत्रको जनजीवन अहिले पनि फिरन्ते युगका धेरैजसो विशेषताका साथ बाँचिरहेको छ। मानव विकासको एक स्थितिविशेष हो, फिरन्ते युग। मानवशास्त्रीहरू मान्छे खेतीपातीको युगमा प्रवेश गर्नुभन्दा अघि फिरन्ते युगमा रहेको विश्वास गर्छन्। अहिले ढोरपाटन क्षेत्रको जीवनशैलीमा परविर्तन चाहने पुस्ताले त्यहाँको समृद्धिको माध्यम पर्यटनलाई देखेको छ। अनि, तम्सिएको छ, बाहिरी दुनियाँका घुमन्तेहरूलाई भित्र्याउन।

अहिले ढोरपाटन क्षेत्रका पढालेखा युवाहरूको पहलमा साढे तीन दशकदेखि बन्द विमानस्थल पुन:सञ्चालन हुन लागेको छ। स्थानीयबासीको चर्को दबाबपछि नागरकि उड्डयन प्राधिकरणले विमानस्थल पुन:निर्माणका लागि ठेक्का लगाइसकेको छ। असार दोस्रो सातासम्म निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भइरहेको छ। यही आर्थिक वर्षभित्र ढोरपाटन काठमाडौँसँग सीधा हवाईमार्गबाट जोडिनेछ। अहिले भूमार्गबाट काठमाडौँबाट ढोरपाटन पुग्न प्रतियात्रु औसत पाँच हजार रुपियाँ खर्च हुन्छ। हवाई सम्पर्क स्थापित भएपछि त्यसमा एक-डेढ हजार रुपियाँ थप्दा पुग्ने स्थानीयबासीको विश्वास छ। काठमाडौँ-ढोरपाटन जहाज चल्न थालेपछि स्थानीयबासीलाई राजधानी आउजाउ गर्न, बिरामी हुँदा सुविधासम्पन्न अस्पताल पुग्न मात्रै सुविधा हुने छैन, पर्यटकको ओहोरदोहोर पनि बढ्नेछ। अझ, आफ्नै घरआँगनमा बाहिरी दुनियाँसँग हेलमेल गर्न पाउनेछ, त्यो विकट बस्तीले।

ढोरपाटनलाई नै आफ्नो सुख र समृद्धिको मियो ठानेका यस क्षेत्रका बासिन्दाले पर्यटनको माध्यमबाट आफ्नो जीवन फेरनिे आशा लिएका छन्। यो आशा भर्ने काम पनि सहरसँग साइनो स्थापित गरसिकेका पढालेखाहरूले गरेका हुन्। त्यसमा सरकारी निकायहरूले पनि ढिलोचाँडो साथ दिने तत्परता देखाएको स्थानीय राजनीतिक अगुवाहरूको भनाइ छ।

हवाई मैदान सुचारु हुन लागेको सुखद खबर त छँदै छ, ढोरपाटन क्षेत्रको पर्यटन विकास र जनजीवनलाई सहज बनाउन केही पूर्वाधारहरू निकट भविष्यमै पुग्दै छन्। यसले ढोरपाटनबासीको आशा र उत्साहको पारो झनै बढेको छ। चारतिरबाट ढोरपाटनलाई मोटरबाटोले छुनै लागेको छ। म्याग्दीको दरबाङ हुँदै बाग्लुङको जलजला पुग्ने मोटरबाटो निर्माण कार्य भइरहेको छ। जलजला ढोरपाटननजिकैको बस्ती हो। रुकुमको टकसेराबाट पनि ढोरपाटनतर्फ आउने मोटरबाटो निर्माण भइरहेको छ। उता, ढोरपाटननजिकैको अर्को गाउँ निसी हुँदै रुकुम जोड्ने सडकले पनि ढोरपाटनको चहपहललाई अवश्य बढाउनेछ। ढोरपाटन पुग्ने मुख्य बाटो बुर्तिबाङ-फल्लेघर निर्माणाधीन सडकको तन्किँदै गरेको आकारले बढी आश जगाएको छ। भुजीखोलाको किनारैकिनार खनिएको उक्त बाटोले अब करबि चार घन्टाको पैदल दूरी छिचोल्न बाँकी छ। यो बाटो ढोरपाटनको प्रवेशद्वार देउरालीसम्म पुर्‍याउने योजना छ। यस सडकले बुटवल, पाल्पा, गुल्मी, काठमाडौँ, पोखरा, पर्वत क्षेत्रका स्वदेशी पर्यटकलाई सजिलै ढोरपाटन पुर्‍याउनेछ। कामविशेषले त्यहाँका प्रमुख बजारहरू बाग्लुङ, बुर्तिबाङ वा खर्बाङ पुग्नेहरूलाई एकपटक ढोरपाटन घुमेर आउन प्रोत्साहित गर्नेछ।

ढोरपाटन क्षेत्रकै १० अलगअलग बस्तीका १०-१० घर छानेर पर्यटकका लागि बस्न मिल्ने गरी 'होम स्टे'का रूपमा तयार गर्ने काम थालिएको छ। ती घरहरूलाई होम स्टेका रूपमा विकास गर्न आवश्यक तालिम र पूर्वाधारका लागि पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखाले गृहकार्य सुरु गरसिकेको छ। यस योजना अनुसार एक घरमा औसत पाँच पर्यटकलाई बस्न मिल्ने गरी कम्तीमा पाँच सय पर्यटकलाई बसोबासको व्यवस्था गर्न सकिने स्थानीयबासीको भनाइ छ।

ढोरपाटनमा पर्यटकको प्रवाह बढाउन नेपाल पर्यटन बोर्डले ट्रेकिङ् ट्रेल सञ्चालनका लागि उपयुक्त गन्तव्यका रूपमा सूचीकृत गरेको छ। पर्यटन व्यवसायी, पर्यटन बोर्ड, स्थानीय संघसंस्थाहरूसँगको समन्वयमा ढोरपाटनलाई केन्द्रविन्दु बनाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने ट्रेकिङ् रुटहरू पहिल्याउने काम पनि भइरहेको स्थानीय युवा शैलेश घर्तीमगर बताउँछन्। उनका अनुसार, ढोरपाटनदेखि डोल्पाको से फोक्सुन्डो ताल र धौलागिर िहिमालको आधार शिविरसम्मका ट्रेकिङ् रुटहरू अन्तर्राष्ट्रिय पहिचान भएका पर्यटकीय गन्तव्यसँग सम्बन्धित भएकाले खर्चिला र साहसिक पर्यटकहरूका लागि उपयुक्त हुनेछन्। यी रुटहरूमा कम्तीमा साता दिन खर्च हुन्छ। धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण स्थान रुद्रतालसम्म पुग्नका लागि बोवाङ गाविसको पल्लेघरदेखि अर्को छोटो पदमार्ग निर्माणका लागि पनि स्थानीयस्तरमै प्रयास थालिएको छ। गुल्मी जिल्लाको प्रसिद्ध तीर्थस्थल रुद्रवेनीको मुहान भएकाले रुद्रताल धार्मिक दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिन्छ। यसको संरक्षण र पर्यटकीय विकासका लागि स्थानीय बासिन्दाले नै समिति गठन गरी संगठित पहल थालेका छन्।

स्थानीयबासीका अनुसार, पर्यटन व्यवसायीहरूले पनि ढोरपाटनलाई लक्षित गरी आफ्ना गतिविधि केन्दि्रत गर्न उत्सुकता देखाएका छन्। त्यहाँ होटल, सिसोर्ट खोल्न, पर्यटकका लागि घुम्ने गन्तव्य र गतिविधिको प्याकेज तयार गर्न, पर्यटनसम्बन्धी स्थानीयलाई तालिम दिन सघाउने वचन विभिन्न ट्राभल एजेन्सीका सञ्चालकहरूले दिएका छन्।

ढोरपाटनका आकर्षण
नेपालको एक मात्रै सिकार आरक्ष भएकाले पनि ढोरपाटनले प्रशस्तै पर्यटकीय सम्भावना बोकेको छ । आरक्षको मुख्य आकर्षण नाउर अर्थात् जंगली भेडा हो । पूर्वमा चुरेन हिमालदेखि पश्चिममा कुल्टा भन्ज्याङसम्मको हिमालय शृंखलाको चट्टाने क्षेत्रमा नाउरको बासस्थान रहेको छ । यसको सिकारका लागि लाखौँ खर्च गरेर स्वदेशी र विदेशी पर्यटकहरू ढोरपाटन पुग्छन् । बर्सेनि २६ वटासम्म नाउरको सिकार हुने गरेको छ । त्यसबाहेक झारललगायतका मृगको सिकार पनि ढोरपाटनका थप आकर्षण हुन् । ३२ प्रजातिका स्तनधारी र ३ सय १७ प्रजातिका चरा, दुर्लभ जडीबुटी र वनस्पतिहरू यस क्षेत्रमा पाइने हुँदा पर्यावरणीय अध्ययन-अनुसन्धानका लागि पनि उपयुक्त थलोका रूपमा विकास गर्न सकिने अगुवाहरूले देखेका छन् । अहिलेसम्मको अध्ययनमा यस क्षेत्रले १४ प्रकारका इकोसिस्टम -पारििस्थतिकीय प्रणाली)को प्रतिनिधित्व गर्छ । विश्वकर्मा, मगर, नौथर, छन्त्यालजस्ता पिछडिएका नेपाली समुदाय र तिब्बती शरणार्थीको जीवनशैली मात्रै होइन, अलगअलग र सामूहिक सांस्कृतिक गतिविधि झन् हेर्नलायक विषय हुन् ।

यसअघि माल भएर चाल नपाएको अनुभव गरेका स्थानीय बासिन्दाले राज्यका तर्फबाट पर्यटकीय विकासका लागि कुनै पहल नगरििदएको भन्दै उपेक्षाको महसुस गरेका छन् । तर, अहिले उनीहरू राज्यलाई घच्घच्याउन आफैँ कस्सिएका छन् । अहिले उनीहरू ढोरपाटनको सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटकीय समग्र क्षेत्रको एकमुष्ट विकासका लागि गुरुयोजनाको माग गररिहेका छन् । १-४ जेठसम्म आयोजित ढोरपाटन महोत्सवमा पनि उनीहरूले गुरुयोजनाको मागलाई जोडतोडका साथ उठाए । आयोजक समितिका संयोजक शैलेश घर्तीमगर भन्छन्, "अहिलेसम्म ढोरपाटनलाई सौताको व्यवहार गरयिो । अब हामी कस्सिएका छौँ । हाम्रो प्रयासलाई मूर्त रूप दिन राज्यले पनि सहयोग गर्नुपर्छ ।"

No comments:

Post a Comment