Wednesday, July 17, 2013

घरघरमा कलह




किचलो १ : ललितपुरको कुटीसौगलस्थित पाँच आना जग्गामा तीनतले घर छ। त्यही जग्गाको अर्को छेउमा एक छाप्रो छ। पक्की घरमा दाजु सागर स्थापित बस्छन् भने छाप्रोमा भाइ महेश। एउटै बाबुआमाको काखमा हुर्केबढेका र अहिले पनि एउटै आँगन बनाएर जीवन निर्वाह गर्दै आएका उनीहरूबीचको सम्बन्ध सुमधुर हुनुपर्ने हो। तर, यी दाजुभाइबीच बोलचालसमेत छैन। केहीअघि उनीहरूबीच महानगरीय प्रहरी परिसर ललितपुरको महिला तथा बालबालिका सेवा केन्द्रमा पारिवारिक किचलोमा छलफल गर्ने क्रममा हात हालाहाल नै भयो। स्थापित दाजुभाइको पारिवारिक झगडाको जालो कहाँसम्म जेलिएको छ भने सम्पत्तिको विवादमा विवाहित दिदीदेखि भान्जासम्म जोडिएका छन्। दिदी गंगादेवी शिल्पकार र जमुनादेवी ताम्राकारले दुवै भाइलाई घरबाट निक्लिन दबाब दिइरहेकी छन्। बाबुआमाको उक्त घर भाडामा लगाएर जीवन गुजार्न सजिलो हुने उनीहरूको तर्क छ। तर, भाइ महेश भने दिदीहरूले बाबुआमाको सम्पत्ति हडप्न यस्तो षड्यन्त्र रचेको दाबी गर्छन्। गंगादेवीका छोरा विशाल शिल्पकारले म्यानपावर कम्पनी सञ्चालन गर्दा लागेको ऋण तिर्न त्यही घर बन्धकीमा राख्ने दाउ कसेको महेशको दाबी छ। त्यही आशंकामा उनले गत फागुनमा ललितपुर जिल्ला अदालतमा घरजग्गा रोक्काका लागि मुद्दा दायर गरे। त्यसपछि दाजु सागर दुवै दिदी र भान्जा महेशसँग आक्रोशित छन्। कतिसम्म भने भान्जा विशालले लालपुर्जा खोस्न आफूमाथि भौतिक आक्रमण गरेको महेशले प्रहरीसमक्ष बताएका छन्। मामा-भान्जाको झगडामा आफ्नी चारवर्षे छोरी बेहोस भएको महेशकी श्रीमती अम्बिका ताम्राकार बताउँछिन्। भन्छिन्, "त्रासका कारण छोरी घरमा आउनासाथै चिच्याउँछे। त्यसैले माइतीमै राखेर पढाइरहेकी छु।" त्यसपछि सागरले मूल गेटमै ताल्चा लगाइदिए। बिजुलीको लाइन काटिदिए। त्यसपछि घरमा बस्ने वातावरण नभएको, श्रीमतीलाई गालीगलौज गरेको भन्दै महेश प्रहरीमा उजुरी गर्न पुगे। परिसर अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक निर्मला खनाल दाजुभाइको झगडामा दिदीबहिनीको संलग्नता भएकाले परिवारको झगडा जटिल बनेको बताउँछिन्। 

किचलो २ : ३ असारको मध्यान्ह। एक अधबैँसे महिला ७० वर्षकी वृद्धालाई हातमा समातेर कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा छिरिन्। लाग्थ्यो, उनी अशक्त वृद्धालाई सहयोग गरिरहेकी छन्। तर, ती महिला त सासूले श्रीमान्सँग आफ्नो सम्पर्क छिनाइदिएको भन्दै प्रहरीको शरणमा पुगेकी हुन्। ती बुहारी नुवाकोटको एक सरकारी विद्यालयमा पढाउँछिन् भने सासू मोरङमै पसल गरेर जीविका चलाउँछिन्। सासूले कुरा लगाइदिएर सम्बन्ध चुँडाइदिएको भन्दै उनी श्रीमान्सँग जसरी पनि एकपटक भेट गराइदिन प्रहरीसँग आग्रह गर्दै थिइन्। २०५८ मा विवाहलगत्तै बिदेसिएका श्रीमान्सँग त्यसपछि एकपटक पनि भेट भएको छैन उनको। विदेशबाट आए पनि आमाको कुराले आफूलाई नभेटी र्फकने गरेको ती महिलाको आरोप छ। तर, ती सासू भने आफूलाई समेत छोराको पत्तो नभएको बताउँदै थिइन्। 


किचलो ३ : काठमाडौँका सन्तोष आचार्य र नीलू थापाको भेट एक गैरसरकारी संस्थामा काम गर्दा भएको हो। त्यहीँ दुई जनाबीच प्रेम बस्यो र विवाहसमेत भयो। दुवै जनाको ५०/६० हजार रुपियाँको आकर्षक तलब थियो। उनीहरूको परिवार साँच्चै सुखी हुनुपर्ने हो। तर, उनीहरूको प्रेमविवाह लामो समय टिकेन। श्रीमान्ले घर भित्र्याउँदा सासूले विरोध गरिन्। सन्तोषले समेत आमाको कुरा काट्न सकेनन्। केही समय नीलू सहेरै बसिन्, बिस्तारै ठीक हुँदै जाने आशामा। तर, श्रीमान्ले समेत 'घरमा यस्तै हो मन लागे बस्नू, नलागे नबस्नू' भनेपछि उनी छुट्टै बस्ने निर्णयमा पुगिन्। सन्तोष नै कानुनी बाटो समातेर महानगरपालिकाको कार्यालय पुगेपछि नीलूलाई झनै सजिलो भयो। र, अन्ततः उनीहरूको सम्बन्धविच्छेद भयो। परम्परावादी अभिभावकको सोचलाई छोराले पछ्याउँदा प्रेमविवाह गरेर बाँधिएको जोडीसमेत छुट्टनि बाध्य भयो।

माथिका भिन्दाभिन्दै घटनाले घरघरमा कसरी कलहको बीजारोपण हुन्छ र त्यसले परविारलाई विखण्डनको बाटोमा पुर्‍याउँछ भन्ने कुरा दर्शाउँछन्। लोग्ने-स्वास्नीको झगडालाई परालको आगो मान्ने नेपाली समाजमा अहिले त्यो पनि सहजै ननिभ्ने स्थिति पैदा भएको छ। प्रहरी, महानगरपालिका, अदालतसम्म पुग्ने सम्बन्धविच्छेदका बढ्दा आँकडाले यसैलाई पुष्टि गर्छन्। 

प्रायः घरमा श्रीमान्-श्रीमती, दाजु-भाइ, सासू-बुहारी, सासू-बुहारी-छोराबीच द्वन्द्व बढेको छ। प्रहरीकहाँ पुग्ने घरायसी झैझगडाको आँकडाले समेत यस्तै देखाउँछ। ललितपुरस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा आर्थिक वर्ष ०६४/६५ मा घरायसी झैझगडाको विवरण ५८ रहेकामा यो संख्या ०६८/६९ मा २ सय ४० पुगेको छ। यस्ता झैझगडा प्रहरीसम्म पुग्ने क्रम बर्सेनि तीव्र गतिमा बढिरहेको देखिन्छ। कालीमाटी महिला सेलमा घरायसी झैझगडाका मुद्दा ०६८/६९ मा ७ सय ३८ परेका छन्, जुन संख्या अघिल्लो आर्थिक वर्षमा करबि ६ सय थियो। महानगरपालिकामा समेत सम्बन्धविच्छेदका मुद्दा बढ्दै छन्। महानगरपालिकामा ०६५/६६ मा २९ वटा रहेको सम्बन्धविच्छेदको तथ्यांक ०६८/६९ मा ४३ पुग्यो। 

"हरेक घर, व्यक्ति-व्यक्तिबीच द्वन्द्व हुन्छ। यसलाई उचित व्यवस्थापन गर्न नसक्दा त्यसले उग्र रूप लिएर विखण्डनको डिलमा पुर्‍याउँछ," महानगरीय प्रहरी परसिर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) वसन्तराज पन्त भन्छन्, "तर, अहिले परिवार, समाजमा देखिने द्वन्द्व अस्वाभाविक तवरले बढेको छ।" विभिन्न निकायका तथ्यांकले के देखाउँछन् भने परिवारमा लोग्ने-स्वास्नीकै झगडा बढी हुने गर्छ। तर, यसको सम्बन्धमा भने व्यापक फेरबदल आएको काठमाडौँ महानगरपालिकाका कानुन अधिकृत वसन्त आचार्य बताउँछन्। लामो समय लोग्ने-स्वास्नी टाढिँदा, सँगै बसे पनि भावनात्मक कुरा साटासाट नहुँदा, शंकालु स्वभावजस्ता कारण लोग्ने-स्वास्नीमा बढी समस्या देखिएको आचार्यको विश्लेषण छ। 

श्रीमान्ले जाँडरक्सी खाएर श्रीमतीलाई शारीरकि, मानसिक यातना दिने, दाइजो नल्याएको भन्दै यातना दिने, बाह्य सम्पर्कमा गएपछि श्रीमतीलाई कुरूप देख्नेजस्ता कारण दम्पतीबीच सम्बन्धमा चिरा पर्ने गरेको आचार्यको विश्लेषण छ। साथै, दम्पतीमध्ये एकको सामाजिक, आर्थिक, शैक्षिक स्तर बढेमा आफ्नो जीवनसाथी भनेर चिनाउनै हिचकिचाउने कारण समेत उनीहरूबीचको सम्बन्धमा फाटो आउने गरेको छ। पछिल्लो समय मोबाइल फोनका कारणले समेत दम्पतीमा तिक्तता आउन थालेको महानगरीय प्रहरी वृत्त कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक हर्षमाया महर्जन बताउँछिन्। मोबाइलमा आउने एसएमएस, मोटरसाइकलमा दिइने लिफ्ट, रेस्टुराँ भेला वा गेट टुगेदर संस्कृति श्रीमान्-श्रीमतीबीच द्वन्द्वका कारक बन्ने गरेका छन्। "एकअर्कामा चरम अविश्वास बढ्दै जाँदा उनीहरूबीच फाटो आउँछ," आचार्य भन्छन्। श्रीमतीले रेस्टुराँ गइराख्नुपर्ने, फेसनेबल बन्नुपर्ने, भड्किला पोसाक लगाउनुपर्नेजस्ता स्वच्छन्द सहरी संस्कृति हाबी हुँदा श्रीमान्ले थेग्न गाह्रो भएकाले समेत सम्बन्धविच्छेदको स्थितिमा पुग्ने गरेको आचार्यको विश्लेषण छ। उमेर अन्तर बढी भएमा पनि दाम्पत्य जीवन लामो समय नटिक्ने हालसम्म आएका तथ्यांक केलाउँदा देखिने उनी बताउँछन्।

अझ प्रेमविवाहबाट आएका दम्पतीमा समेत कलहको मात्रा उत्तिकै बढी देखिनु अचम्मलाग्दो अवस्था छ, जसले विवाहको केही वर्षमै सम्बन्धविच्छेदको अवस्थासम्म लैजान्छ। नवलपरासीको पञ्चनगरमा देखिएको एउटा समस्या यस्तै प्रकृतिको थियो, जहाँ प्रेमविवाहबाट आएका एक दम्पतीबीच दुई सन्तान भएपछि छोडपत्र भयो। जसको कारण तुलनात्मक रूपमा केही धनी परिवारकी ती युवतीको बिहे कमजोर आर्थिक हैसियतका युवकसँग हुनु थियो। कम उमेरमै बहकिएर व्यावहारकि धरातलको कुनै हेक्का नराखी बिहे गर्न हतारनिे प्रवृत्तिले समेत घरभित्रका समस्या बढाएको छ। सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावल भन्छन्, "सम्बन्धविच्छेद गर्नेमध्ये धेरैजसो अर्को बिहेको सम्भावना भएका हुन्छन्। नत्र उमेर ढल्केका जोडी समस्याकै बीच घरभित्रै जसोतसो बसिरहेका हुन्छन्।"

घरभित्रका कलह मुख्यतः दुई किसिमको जगमा हुर्किरहेका छन्, सदस्यहरूको असमान आर्थिक उत्पादनशीलता र पुस्तान्तर। दाजुभाइमा एउटाको आम्दानी राम्रो र अर्काको नराम्रो भयो भने पनि थुप्रैको घरमा कलहको लहर निम्तिएको हुन्छ। त्यसो हुँदा घरमा पैसा कमाउने र चलाउनेकै वर्चस्व हुन्छ। दाजुभाइमा त्यसरी समस्या हुनु त छँदै छ, त्यसभन्दा ठूलो समस्या घरका बुहारीहरूमा देखिन्छ। धेरैजसोमा जेठानी-देउरानीबीच समस्या सिर्जना भएर पछि मात्र त्यसको असर दाजुभाइसम्म आइपुग्छ। 

अर्को समस्या भनेको पुरानो संस्कारमा हुर्केका घरका ज्येष्ठ सदस्यहरू -सासू-ससुरा)सँग नयाँ पुस्ताका बुहारीहरूको स्वभाव एवं व्यवहारमा रहेको खाडल हो। "पुरानो संस्कारमा हुर्केका सासूहरू आफू बुहारी हुँदा जस्तो सास्ती वा दुःख खेपेका थिए, त्यसरी नै अहिलेका बुहारीहरूमा लाद्न खोज्छन्," एक दशकदेखि नवलपरासीको पञ्चनगरस्थित सामुदायिक मेलमिलाप केन्द्रमा मध्यस्थकर्ताका रूपमा काम गरेकी कमला सुवेदी भन्छिन्, "अर्कोतर्फ अचेलका बुहारीहरू पनि झुक्ने स्वभावका हुँदैनन्।" त्यसैले व्यक्तित्व टकरावकै कारणसमेत घरभित्र भूसको आगो सल्केजसरी पारिवारिक झगडा सल्किने गर्छ।

काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस-३ मा भएको एउटा घटनामा एक सासूले आफ्नी बुहारीलाई पैसा चोरीको आरोप लगाएपछि ठूलै रडाको मच्चियो। आमाकै भनाइमा लागेर छोराले आफ्नी श्रीमतीमाथि कुटपिटसमेत गरे। घरबाटै अलग्याउनेसम्मका काम पनि भए। यो समस्या स्थानीय पारालिगल कमिटीमा पुगेपछि पत्ता लाग्यो, त्यहाँ कुनै चोरी नभई सासूले नै उक्त पैसा लुकाएको ठाउँ बिर्सेकी रहिछन्। पारालिगल संयोजक कमला अधिकारी भन्छिन्, "शंका, अविश्वास र हैकमवादी प्रवृत्तिले नै यस्ता समस्या थुप्रैका घरमा जन्मिरहेका छन्।" जसले एउटै पर्खालभित्र भईकन पनि एउटामा उच्च र अर्कोमा निम्नस्तरको भएको भावना विकास गराउँछ।

यस्ता घटना ग्रामीण भेगमा मात्रै छन् भन्ने छैन। जिल्ला अदालत काठमाडौँमा अहिले एउटा त्यस्तै घटनामा आफ्नै पतिबाट अंश तथा मानाचामलका लागि दर्ता भएको मुद्दा मेलमिलाप केन्द्रमा सरेको छ। जसको कारणसमेत घरमा सासूको ज्यादती नै थियो। अहिले नै छुट्टै बसेकी श्रीमतीका लागि सेभ द चिल्ड्रेनमा काम गर्ने श्रीमान्ले मुद्दाको टुंगो नलागेसम्म मासिक ५० हजार रुपियाँ मानाचामल अन्तर्गत बेहोररिहेका छन्। अंशबन्डा भएपछि मानाचामल स्वरूप दिइने खर्च रोकिन्छ तर त्यस्ता मुद्दाको अवधि निकै लामो हुने हुँदा धेरैले मानाचामल तथा अंश मुद्दा हाल्ने अधिवक्ता तथा मेलमिलापकर्ता वसन्तप्रसाद रमिाल बताउँछन्। रमिाल भन्छन्, "श्रीमान् समस्याको कारण नभएकाले अंशबन्डा नै नगरीकन मानाचामल मात्र गरेर बस्ने महिलाहरू थुप्रै भेटिन्छन्।" सम्बन्धविच्छेद पनि नगर्ने, सँगै बस्न पनि नसक्ने दम्पतीहरूको हकमा कानुनमा व्यवस्था भएको मानाचामलको अधिकारले श्रीमान्ले श्रीमतीलाई उसको आयस्रोत अनुसार इज्जत/आमद हेरेर तलब वा उसको औसत आम्दानीबाट स्वतः कट्टा हुने व्यवस्था गरििदन्छ। सासू-ससुरासँग जोडिएको समस्याकै कारण थुप्रै युवा जोडी बाहिरै कोठा लिएर बस्न थालेका उदाहरण पनि पाइन्छन्। 

"धेरै बुहारी हुने घरमा दाइजो बढी ल्याउने बुहारीलाई बढी माया गर्ने गरेको पाइन्छ," दाङको फूलबारीस्थित पारालिगल कमिटीकी मध्यस्थकर्ता नारायणी देवकोटा भन्छिन्, "जसले गर्दा प्रेमविवाह गरेकी बुहारी नै बढी पीडित हुन्छिन्।" कतिपय महिला श्रीमान्को मृत्युपछि सासू-ससुराबाट अंश पनि नपाउने, उचित व्यवहार पनि नपाउने समस्याबाट पीडित छन्। त्यस्तो परिवारमा रहेको बेमेलले बालबालिकाको मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पररिहेको देवकोटा बताउँछिन्। 

पारिवारिक समस्याको अर्को जड जग्गाजमिन हो। जग्गाको मात्रात्मक र गुणात्मक दुवै रूपमा समान हुने गरी नरम-करम मिलाएर अंशको वितरण जति कठिन छ, अर्कोतर्फ कीर्ते कागजपत्र बनाउनेदेखि व्यक्तिगत रूपमा कमाएको सम्पत्तिमा समेत अर्कोले आँखा गाड्दा घरभित्र कलह जन्मिरहेको हुन्छ। कानुनतः पैतृक सम्पत्तिमा मात्र अंशियारहरूको हक लाग्ने व्यवस्था छ। नवलपरासीकै एउटा घटनामा आफ्ना आमा-बुबा दुवैको मृत्यु भइसकेको अवस्थामा छोराले आफ्नी सौतेनी आमाको नाममा रहेको ६ कठ्ठा जमिन आफ्नो नाममा पास गर्न नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाए। पछि ती सौतेनी आमाले उपचारका लागि आफ्नो जग्गा धितो राख्न खोज्दा सबै रहस्य खुल्यो। 

अंशबन्डा नेपाली समाजको सबैभन्दा बढी पारिवारिक झगडाको कारक बनेको छ। एकपटक हुने अंशबन्डाले पुस्तौँसम्म झगडाको बीउसमेत रोपिदिन्छ। भुताहा, नवलपरासीका धनबहादुर क्षेत्री भारतमा रहेका बेला घरमा बाबुले अंशबन्डा गरिदिए। उनको भागमा चार कट्ठा जग्गा र ६ लाख रुपियाँ दिने निर्णय भयो भने अन्य दुई भाइलाई १८/१८ कट्ठाका दरले। धनबहादुर घर फर्केयता दिनदिनै बाबु-छोराबीच किचकिच भइरहन्छ। कतिपटक त हात हालाहाल नै भयो। अंशका क्रममा जन्मने यस्ता विवादले कतिसम्म नराम्रो रूप लिन्छन् भन्ने त बझाङको स्याङ्दी-९, मेलाकुल्लाको एउटा घटनाले छर्लंग पारिदिन्छ। दुई दाजुभाइबीच उत्पन्न विवादले परिवारका सात जनाको ज्यान लियो। दाजु गगन विकका दुई छोराछोरी र भाइ वीरजित विकका श्रीमती र चार छोराछोरी मारिए। कतैकतै आमाबुबाले सम्पत्तिको ठूलो हिस्सा लुकाएर राखेको, आफूलाई नदिएको, अरूलाई दिएको जस्ता आशंकाकै भरमा आमाबुबामाथि छोराहरूले हमला गरेका घटना पनि सार्वजनिक हुन्छन्। काभ्रे कुशादेवीस्थित एक युवकले त्यस्तै आशंकामा आफ्नी ५५ वषर्ीया आमालाई मरणासन्न हुने गरी कुटपिट गरेको विवाद प्रहरीसम्म पुगेको थियो।

जाँडरक्सी, लागूऔषधजस्ता दुव्र्यसन घरझगडाको अर्को कारक हो। अंशबन्डा, सम्बन्धविच्छेद, करकाप, जालसाजी, घरेलु हिंसाजस्ता घटनाको भित्री कारण खोतल्दै जाँदा यस्तै दुव्र्यसनसम्म पुगिन्छ। वैदेशिक रोजगारीमा रहेका धेरैका घरमा सासू-बुहारी टकराव देखिन्छ। सासूले आफ्नो छोराले कमाएको पैसा भन्ने र बुहारीले आफ्नो श्रीमान्ले कमाएको भन्नेबाट विवाद जन्मिन्छ। र, बुहारीहरू सासू-ससुरासँग बस्न नचाहने प्रवृत्तिले पनि यस्ता द्वन्द्वलाई मलजल गररिहेको छ। 


एउटा अपवाद विवाद
भक्तपुर कमलविनायकको एक परविारको अंश मुद्दा अहिले सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन छ। न्यायकर्मीहरू दाजुभाइको अंशबन्डा मुद्दा कमै मात्र सर्वोच्चको पूर्ण इजलाससम्म पुग्ने बताउँछन्। भक्तपुर नगरपालिका-४, कमलविनायकका हर्षबहादुर प्रजापति र पञ्चकन्या प्रजापतिका तीन छोरा जन्मिए, हरिश्चन्द्र, कृष्णभक्त र ज्वालाकुमार। २४ मंसिर ०४४ मा हर्षबहादुरले माइलो छोरा कृष्णभक्तलाई ३ पैसा २ दामको घरजग्गा अंशमध्येबाट छोडपत्र गरेर दिए। त्यसपछि जेठो छोरा हरिश्चन्द्रलाई बकसपत्रबापत ३ आना ३ पैसा जग्गा दिए, पिताले। ०४९ मा पुनः कृष्णभक्तलाई बकसपत्रबाट थप १ आना १ दाम जग्गा दिए। पुनः हरिश्चन्द्रलाई बकसपत्रमै थप जग्गा दिए, हर्षबहादुर प्रजापतिले। 

०४९ मा बाबुआमाको अंश भागमा पर्ने सम्पत्ति 'तिमी कान्छो छोरा ज्वालाकुमारले आमाबाबुको शेषपछि खानू' भनेर हर्षबहादुरले बकसपत्र गरिदिए। तीनै छोरालाई पटकपटक सम्पत्ति दिने बाबुआमाले नै भक्तपुर जिल्ला अदालतमा ०५८ जेठमा अंश मुद्दा दायर गरे। मुद्दा हाल्नेमा कान्छा छोरा ज्वालाकुमार पनि थिए। त्यसपछि हरिश्चन्द्र र कृष्णभक्तले आ-आफ्ना नाममा पाएको सम्पति अंशबन्डा लाग्ने वा नलाग्ने भन्ने विवाद अदालतमा पुग्यो। 

भक्तपुर अदालतले ०६० वैशाख ८ मा बकसपत्रबाट पाइसकेको जग्गा बन्डा नलाग्ने फैसला गर्‍यो। साथै, छोडपत्रबाट पाएको जग्गा बन्डा नलाग्ने तर बन्डा बाँकी जग्गामा कट्टा हुने फैसला भयो।

यो फैसला चित्त नबुझेपछि हर्षबहादुर, पञ्चमाया र ज्वालाकुमार पुनरावेदन अदालत पाटन पुगे। पुनरावेदनले भने जसका नाममा भए पनि बन्डा लाग्ने भन्दै वादीकै पक्षमा निर्णय गरििदयो। त्यसपछि यो मुद्दा चैत ०६६ मा सर्वोच्च अदालत पुग्यो। मोहनप्रसाद सिटौला र प्रकाश वस्तीको संयुक्त इजलासले जिल्ला अदालतकै फैसला सदर गरिदियो। 'स्वआर्जनबाट बढे/बढाएको सम्पत्ति अरू अंशियारबीच बन्डा गर्न कर नलाग्ने' निर्णय सर्वोच्चले गरेको छ। बृहत् पूर्ण इजलासको नजिरमा टेकेर सर्वोच्चले यस्तो निर्णय गरे पनि पक्षको चित्त नबुझेपछि पुनः यो मुद्दा पूर्ण इजलासमा पुगेको छ। 

आफैँले दिएको अंशमाथि हर्षबहादुरले मुद्दा हाल्नुको कारण राम्रो आम्दानी हुने सम्पत्ति फिर्ता नै हो। पहिले कृष्णभक्तलाई दिएको भक्तपुर बसपार्कको जग्गामा बिजुलीको ठूलो पोल थियो, जसलाई उपयोगमा ल्याउन कठिन थियो। तर, कृष्णभक्तले आफ्नो जग्गामा भएको पोललाई अर्कै ठाउँमा सार्न सफल भएपछि जग्गाको उपयोग बढ्ने नै भयो। यही दाजुको नाममा दिइएको जग्गा आफ्नो भागमा पार्न कृष्णबहादुरले बाबुआमाको सहयोगले मुद्दा हालेका हुन्। 

रोचक पक्ष के भने यो मुद्दामा जसको पक्षमा फैसला भए पनि ज्वालाकुमारले भने तीन भाग पाउने छन् भने माइलो र जेठो भाइले एक-एक भाग। किनभने, बाबुआमाको अंश उनीहरूको शेषपछि कान्छो छोरालाई हुने भनेर बकसपत्र गरसिकिएको छ। 
(साथमा, मनबहादुर बस्नेत र प्रदीप बस्याल)

आधा धुरका लागि लाखौँ खर्च
बिसहरिया-३, सप्तरीका नारायण दासले १५/२० हजार रुपियाँ पर्ने जग्गा जोगाउन सप्तरी जिल्ला अदालतमा ६ वर्ष मुद्दा खेपे। मुद्दा लड्ने क्रममा दासले लिखत, कानुन व्यवसायी, आतेजाते भाडालगायतमा दुई लाखभन्दा बढी खर्चे गरे पनि आधा धुर क्षेत्रफलको उक्त घडेरी जोगिएन।

असार ०६८ मा न्यायाधीश मेघनाथ भट्टराईले दासकी कान्छी पत्नी पवनदेवीलाई अंश दिन आदेश दिए। एक छोराकी आमा पवनदेवी खान लगाउन नदिएको र जेठी पत्नीले कुटपिट गरेको आरोप लगाउँदै मंसिर ०६२ मा पतिविरुद्ध अदालत गएकी थिइन्। मुद्दा लड्दा ६ वर्षमा एकै परिवारका दुवै पक्षले एक दर्जन कानुन व्यवसायी राखे। गाउँबाट आउने सहयोगीको चिया-नास्ता, प्रमाण जुटाउन विभिन्न निकायमा लाग्ने दस्तुर तथा अन्य खर्च गरी अढाई लाखभन्दा बढी खर्च भयो। कमजोर आर्थिक अवस्थाका दास र पवनदेवीले दैनिक मजदुरी गरेर मुद्दा खर्च जुटाए। यति गरेर पनि अदालतको फैसलाबमोजिम आफूले अंश उपयोग गर्न नपाएको पवनदेवीको भनाइ छ। उनी फेरि अर्को मुद्दा दिने तयारीमा छिन्। 

प्रसवनी-४ का हरिनाराण गोइत यादवले जिल्ला अदालतमा ०६१ देखि अंश मुद्दा लड्दै आएका छन्। तीन दाजुभाइ, भतिजा-भतिजीलगायत आफ्नै परिवारका २२ जनामाथि मुद्दा दायर गरेका हरिनारायणले ६ वर्ष जिल्ला अदालतमा धाए। जिल्लाको फैसला चित्त नबुझेपछि पुनरावेदन अदालत पुगेका छन् उनी। केही मूल्यवान् जग्गालाई अन्य दाजुभाइले आर्जेकाले अंशबन्डा गर्न नमिल्ने भन्दै जिल्ला अदालतले गरेको निर्णय चित्त नबुझेको उनको भनाइ छ। भन्छन्, "जिल्लामै मुद्दा लड्दा दुई लाखभन्दा बढी खर्च भइसक्यो। घरको काम छाडेर दिनैपिच्छे वकिल र अदालत धाउँदाको कुनै हिसाब छैन।" अरू २२ जना विपक्षीको पनि त्यसभन्दा कम खर्च भएको छैन।

परिवारभित्रको किचलो कति संवेदनशील र महँगो साबित हुँदै छन् भन्ने यी प्रतिनिधि घटना मात्र हुन्। सप्तरी यस्तो जिल्ला हो, जहाँ देशकै सबैभन्दा बढी पारिवारिक मुद्दा छन्। यसमा पनि सम्पत्ति र अंश विवादले जिल्लाका कमै परिवार अछुतो छन्। मधेस सामुदायिक मध्यस्थता परियोजना सञ्चालन गर्दै आएको मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत रिया रोय भन्छिन्, "जिल्लाका ५० प्रतिशतभन्दा बढी परिवारमा अंश, बहुविवाह, प्रेमविवाह आदिका कारण आन्तरिक द्वन्द्व छ।"

प्रतिष्ठानले तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा मध्यस्थता कार्यक्रम गर्दै आएको रोयको भनाइ छ। उनका अनुसार तीन वर्षअघि सप्तरीमा वाषिर्क एक सयको हाराहारीमा यस्ता घटना सार्वजनिक हुन्थे भने अहिले सात सय पुगेको छ। मेलमिलापको उद्देश्यले आउने घटनाको विवरण मात्र हो यो। सामान्य विवादमा पनि परिवारका सदस्यलाई दुःख दिने नियतले समेत मध्यस्थता केन्द्रमा आउने क्रम बढेको छ। अदालतमा पुग्ने मुद्दाका तुलनामा यो नगण्य हो। 

सप्तरी जिल्ला अदालतका श्रेस्तेदार वेदप्रसाद उप्रेतीका अनुसार उक्त अदालतमा ३ हजार २ सय ३९ मुद्दा दर्ता भएकामा २ हजार ३ सय २६ मुद्दा देवानी थिए। तीमध्ये अधिकांश मुद्दा पारिवारिक कलहसम्बन्धी छन्। तराईका धेरै जिल्लामा पारिवारिक किचलो कुटपिट र अदालती बहसको विषय मात्रै होइन, हत्यासम्मको कारण बन्ने गरेको छ।
- जितेन्द्र खड्गा/राजविराज


टिप्पणी : पारिवारिक कलहका बदलिादा बान्की

- प्रा डिल्लीराम दाहाल
पारिवारिक झगडा हिजो पनि थियो, आज पनि छ। पुस्ता, पारिवारिक ढाँचा र झैझगडाको चरत्रि मात्र फरक हो। हिजोको अर्थव्यवस्था कृषिमै आधारति थियो। परिवारको आकार धेरै ठूलो हुने, सासूको प्रमूख भूमिका हुने, छोरीको सानैमा बिहे गर्ने, बाहिरबाट आउने हुँदा बुहारीले बढी काम गर्नुपर्ने। अर्थात्, बुहारीको भूमिका कामदारका रूपमा थियो। बिहान सबेरै उठ्नुपर्ने, मध्यरातसम्म काममा खट्नुपर्ने, खाने र सुत्नेसमेत ठेगान नहुने। काम नगरे झगडा। सबेरै नउठे पनि झगडा। त्यसकै आधारमा बुहारीको मूल्यांकन हुन थाल्यो। 

त्यो समाज पढेलेखेको थिएन। समयमा बच्चा नजन्माउने महिलालाई हेला गरन्िथ्यो। छोरालाई दोस्रो बिहे गर्न बाबुआमाले नै दबाब दिन्थे। बुहारीलाई जैविक आवश्यकता र क्षमताका दृष्टिले होइन, कारखानाका रूपमा हेरन्िथ्यो। बच्चामा पनि छोरै हुनुपर्ने। महिलाले घरबारी, चुलोचौको हेर्ने र पुरुष बाहिरफेरा गएर आर्थिक उपार्जनका काम गर्नुपर्ने मान्यता थियो। त्यस्तो अवस्थामा सासू-बुहारीबीच बढी ठाकठुक पथ्र्यो। सासूमा जहिले पनि दबाउन खोज्ने प्रवृत्ति थियो। हदै भए अन्त्यमा परिवार छुट्टन्िथ्यो। 

त्यतिबेला संयुक्त परिवार र विस्तारति परिवार हुन्थे। संयुक्त परिवारमा काका, बडाबा पनि सँगै हुन्छन् भने विस्तारति परिवारमा आफ्नो पुस्ताका बाबु, छोरा, नाति मात्र। दाजु-भाइ, बाबु-छोराको अंश वा व्यवहार मिलेन भने छुट्टनिुपर्ने हुन्थ्यो। ठूलालाई मान्नुपर्ने, अग्रजका कुरा सहनुपर्ने, ठाडो कुरा गर्नु नहुनेजस्ता मूल्यमा समाज बाँधिएको थियो। ठूलाबडाको सम्मान ठीकसँग पुगेन भने पनि परविारमा झगडा हुन्थ्यो। धेरैजसो अवस्थामा सम्पत्ति बराबर भाग लगाइन्थ्यो। कहिलेकाहीँ बहुविवाहका कारण जेठीपट्टी र कान्छीपट्टी भनेर मनमुटाव हुन्थ्यो। 

अहिले समाज जागिरमा केन्दि्रत भएको छ। पारिवारिककि संरचनामा पनि यसले फरक पारेको छ। महिलाको साक्षरता ०२८ मा ३.९ प्रतिशत थियो, अहिले ५५.५६ प्रतिशत छ। बिस्तारै महिला देशविदेश पुग्ने भएका छन्। सामाजिक बनोटमा व्यापक परविर्तन आइसक्यो। पढेको, बाहिर हिँडेको, देशविदेश खाएको आजको पुस्ता एकल परिवारमा रम्न थालेको छ। बरू, अहिलेको झगडा सम्पत्तिमा छ। सम्पत्तिको बाँडफाँट कसरी गर्ने, छोरीलाई सम्पत्ति दिने/नदिने भन्ने झगडाका विषय बनेका छन्। छोरा र छोरीमा विभेद कम हुँदै छ। 

दाजुभाइ, दिदीभाइको झगडा अहिले सम्पत्तिमा केन्दि्रत छ। सासू-बुहारीको त झगडा सहरमा न्यून छ। श्रीमान्ले स्वास्नी कुट्ने, अर्कैसँग लहसिनेका कथा बेग्लै हुन्। लोग्ने विदेश गयो, पैसा पठायो। यता स्वास्नी विलासितामा मस्त। तन्नेरी उमेरमा जैविक आवश्यकता पूरा गर्नुपर्‍यो। अनि, अर्कैसँग हिमचिम भयो। र, सम्पत्तिसमेत लिएर गयो। यस्ता कथा अनगिन्ती छन्। यसले पारिवारिक र सामाजिक विखण्डन ल्याएको छ। 

परिवारको बदलिँदो ढाँचाले नयाँनयाँ समस्या जन्माएको छ। हिजो नैतिकताले बाँधेको थियो। धनी वा विपन्न जस्तोसुकै अवस्थामा पनि बाबुआमालाई पाल्नुपर्छ, हेरविचार गर्नुपर्छ भन्ने थियो। त्यो बन्धन अहिले खुकुलो हुँदै गयो। धेरै छोराबुहारी भएका घरमा आमाबाबुलाई कसले पाल्ने भन्ने झगडा छ। कमाउने प्रतिस्पर्धामा उनीहरू आफ्नै बाबुआमालाई उपेक्षा गर्दै छन्। उनीहरू आफ्ना बाबुआमा पाल्न तयार छैनन्। छोरो पाल्न तयार होला तर बुहारी झन्झट मान्छिन्। त्यसैले परिवारलाई कलहको केन्द्र बनाएको छ। काठमाडौँ र अरू सहरी क्षेत्रमा यस्तो समस्या बढी छ। 

अहिलेको समाज आधारभूत रूपमा सम्पत्तिमा आधारति छ। सम्पत्तिको लेनदेन सकिएपछि सम्बन्ध पनि खुकुलिँदै गएको छ। जागिर, व्यापार व्यवसाय र अरू पेसामा आधारति हुँदै गएको छ, आजको समाज। आफैँले कमाएर खानुपर्ने बाध्यता छ। साथी र संगाती फरक छन्। परिवारप्रतिको निर्भरता घट्दै छ। स्वतन्त्र र स्वनिर्भर भएर काम गर्ने प्रवृत्ति बढेको छ। कमाउने तरिका फरक भएको छ। 

अहिले अधिकारका सवालले पनि कचमच हुन थालेका छन्। महिलालाई कानुनले नै संरक्षण दिएको छ। पुरुषलाई दोस्रो विवाह गर्न छुट छैन। सम्पत्ति पनि महिलाका नाममा सुरक्षित गर्न प्रोत्साहित गर्ने कानुन छ। सामाजिक मूल्यहरू बिस्तारै पश्चिमाकरण भइरहेका छन्। परिवार र समाजभन्दा पनि व्यक्तिवादमा पुगेका छौँ। म स्वतन्त्र हुँ, मैले आफ्ना लागि काम गर्नुपर्छ, आफ्नो निर्णयका आधारमा बच्चा जन्माउने हो, लोग्ने-स्वास्नीको सम्बन्ध पनि समझदारीमा आधारति हुन्छ भन्ने मान्यता भित्रिएको छ। 

अहिले परिवारको आकार सानो हुँदै जाँदा नन्द-भाउजू-आमाजूबीच अन्तरक्रिया हुन छाडेको छ। एउटै घरमा बस्ने चलन कम भइसक्यो। लोग्ने-स्वास्नीको सम्बन्धलाई मात्रै परिवारको मान्यता दिइन्छ। अहिले छोरीको निर्भरता न दाजुमा छ, न त बाबुआमामै। एकपटक बिहे गरेर गइसकेपछि निर्भरता लगभग सकिन्छ । सासूले बुहारीलाई हेला गर्ने, बुहारीलाई भन्दा छोरीलाई च्याप्ने चलन अब सिनेमामा सीमित भइसक्यो। अहिलेको सबभन्दा डरलाग्दो पक्ष बूढाबूढीले दुःख पाउँछन् कि भन्ने नै हो। 

No comments:

Post a Comment