Wednesday, May 18, 2016

नेताका स्वकीय सचिवालयमा आसेपासेकै हालीमुहाली




उपप्रधान एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीका प्रमुख स्वकीय सचिव (सहसचिवस्तरका) हुन्, कपिल पोखरेल । तर, उनी खासै कार्यालय जाँदैनन् । उपप्रधानमन्त्री मैनालीको अघिपछि पनि उति देखिँदैनन् । कारण, मैनालीले उनलाई खास भूमिका वा कार्यादेश दिएका छैनन् । नेकपा मालेका पुराना कार्यकर्ता एवं मानवशास्त्रमा एमफिल गरिरहेका उनी आफ्ना नाममा आएको तलब–सुविधा पनि आफैँ उपभोग गर्न पाउँदैनन्, पार्टीका नाममा नेतृत्वले लैजान्छ । पोखरेल भन्छन्, “अरू साथीहरू काम गर्नुहुन्छ । म बाहिरबाट सरसहयोग गर्छु ।”

स्वकीय सचिव भरतमणि ज्ञवालीले पार्टी कार्यकर्ताकै रूपमा सचिवालयमा नियुक्ति पाएका छन् । मैनालीका अर्का सहयोगी रामचन्द्र बलामी मालेका नवप्रवेशी कार्यकर्ता हुन् । उनको खास पेसाचाहिँ घरजग्गा कारोबार हो । सचिवालयका अर्का सदस्य रेशम रिमाल भने विद्यार्थी हुन् । मालेका एक असन्तुष्ट केन्द्रीय सदस्य भन्छन्, “हाम्रो पार्टी नेतृत्व कहिल्यै संस्थागत रूपमा चल्न खोजेन । सचिवालय नै नचाहिने जस्तो गरिएको छ । नाम मात्रका स्वकीय सचिव राखेर आफैँ हालीमुहाली गर्न पाए पुग्छ ।”

मैनालीको सचिवालयले एउटा यस्तो प्रवृत्ति उजागर गर्छ, जसले राज्य सञ्चालनको उपल्लो तहमा बस्नेहरूले आफ्नो सचिवालय निर्माण र सहयोगी छनोटलाई कति हलुका र संकुचित रूपमा लिएका छन्, प्रस्टै देख्न सकिन्छ । हरेक नयाँ सरकार आउनेबित्तिकै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि मन्त्रालयहरू स्वकीय सचिव, सल्लाहकार, विज्ञ एवं सहयोगीहरूले भरिभराउ हुनु सामान्य बनिसकेको छ । व्यवस्थापिका संसद्का सबै सदस्यलाई राज्यले नै स्वकीय सचिव राख्नका निम्ति तलब सुविधा उपलब्ध गराउँछ । केही राजनीतिक दलले आफ्ना महत्त्वपूर्ण नेतालाई तलब सुविधाका साथै सहयोगी र तिनको वेतनसमेत उपलब्ध गराउँछन् ।

तर, मुलुक र पार्टी चलाउने नेतामध्ये प्राय:ले व्यावसायिक, योग्य र क्षमतावान्भन्दा पनि आफन्त र पार्टी कार्यकर्ता, त्यसमा गुटका सदस्यलाई नियुक्त गरेका छन् । तीमध्ये पनि कतिपय विशुद्ध जागिरे मात्रै छन् भने कतिपयले समानान्तर शक्ति अभ्यास गर्छन् । धेरै स्वकीय सचिव नेताहरूका असंगत स्वार्थका सारथि बन्ने गरेका पनि पाइएका छन् । यसले स्वयं नेताहरूकै छवि र कार्यसम्पादन क्षमतामा आँच पुर्‍याएका घटना पनि प्रशस्तै छन् । “प्राय: नेतालाई अरूले नै चलाएको पाइन्छ,” पूर्वमुख्यसचिव लीलामणि पौड्याल भन्छन्, “नेता बाठा छन् भने आफ् नो स्वार्थमा प्रयोग गर्छन् । नत्र नेतालाई नै स्वकीयहरूले चलाइदिन्छन् ।”

अस्तव्यस्त सचिवालय
पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइरहने विजयकुमार गच्छदारसँग स्थायी सहयोगी संरचना त छैन नै, भएका सहयोगी पनि अस्तव्यस्त र भूमिकाविहीन छन् । उनका सहयोगी पनि फेरिइरहन्छन् । उच्च राजनीतिक नेता, उद्यमी, व्यापारीहरूलाई उनी आफैँ ‘डिल’ गर्छन् । यस प्रकारका भेटघाट श्रीमती र उनकै पार्टीका केन्द्रीय सदस्य गणेश लामाले मिलाउँछन् । पार्टी कार्यकर्ता र गृह क्षेत्रका समर्थक–शुभेच्छुकलाई भेटघाट गर्ने जिम्मेवारी उनले स्वकीय सचिव यज्ञ चौधरीलाई दिएका छन् । सचिवालयमा उनले अन्यलाई नियुक्ति दिए पनि त्यस अनुरूपको भूमिका कसैले पाएका छैनन् । असंगठित र अस्थिर सचिवालयले गच्छदार आफैँ कति व्यवस्थित छन् भन्ने पनि दर्शाउँछ ।

अन्य उपप्रधानमन्त्रीहरू भीम रावल, कमल थापा, चित्रबहादुर केसी र टोपबहादुर रायमाझी पार्टी कार्यकर्ता र आफन्तबाटै घेरिएका छन् । भीम रावलका स्वकीय सचिव अछाम एमालेका सदस्य हुन् भने कमल थापाका स्वकीय सचिव राजाराम बर्तौला राप्रपा नेपालनिकट विद्यार्थी संगठनका अध्यक्ष । थापाले आफ्नै पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठलाई मन्त्रालयमै जनसम्पर्क तथा सञ्चार सल्लाहकारमा नियुक्त गरेका छन् ।

चित्रबहादुर केसीका प्रमुख स्वकीय सचिव मनोज भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य हुन् भने स्वकीय सचिव हिमलाल पुरी र दुर्गा शर्मा जनमोर्चानिकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रमुख स्वकीय सचिवमा सिन्धुलीका एमाओवादी कार्यकर्ता सरोज बुढाथोकीलाई नियुक्त गरेका छन् भने अर्का स्वकीय सचिव सुरज (विधान) रायमाझी उनकै जिल्ला अर्घाखाँचीका स्थानीय कार्यकर्ता हुन् ।

प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मको सचिवालय हेर्ने हो भने कसैको पनि व्यवस्थापनमा अब्बल र प्रविधिमा सम्पन्न देखिँदैन । सर्वसाधारण नागरिकले आफ्ना गुनासा वा समस्या राख्ने, ती समस्यालाई गम्भीरतापूर्वक सुनिदिने वा आमनागरिकसँग राजनीतिक नेतृत्वले संवाद गर्ने कुनै भरपर्दो माध्यम छैन । सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालहरूमा सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र तिनका विभागीय जिम्मेवारीभित्र रहेका सार्वजनिक निकायहरूका बारेमा गरिएका टीका–टिप्पणीको विश्लेषण गरी उपयुक्त राय सुझाव दिने संयन्त्र पनि कसैले स्थापित गरेका छैनन् । नेपाल सरकारका पूर्वसचिव एवं पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, “स्वकीय सचिव छान्दा संसारभरि विश्वासपात्र नै छान्ने चलन छ । तर, कुन उद्देश्यले राखिएको छ भन्ने कुरा प्रमुख हुन्छ । हामीकहाँ बृहत् स्वार्थलाई हेरेर काबिल स्वकीय सचिव राखेको विरलै पाइएको छ ।”

ओली टिम : जागिरेको भीड
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सल्लाहकार, विज्ञ तथा स्वकीय सचिव समूहमा १६ जनालाई नियुक्त गरेका छन् । उपसचिवदेखि राज्यमन्त्रीसरहको सुविधा पाउने गरी नियुक्त तीमध्ये अधिकांश कुनै विषयका विशेषज्ञ नभई विगतमा विभिन्न घडीमा गुन लगाएबापतको पुरस्कार वा पहिचान दिन खोजिएर राखिएका छन् । पारिवारिक सम्बन्ध, पार्टीभित्रको गुट र आफ्नो गृह क्षेत्रलाई नियुक्तिको प्रमुख आधार बनाइएको छ । केहीको त विज्ञ भनिएको क्षेत्रसँग गोरु बेचेको साइनोसमेत छैन । विषयगत क्षेत्रमा गम्भीरतापूर्वक खट्ने, व्यवस्थापकीय कौशल प्रदर्शन गर्ने र प्रधानमन्त्रीको कार्यकाल सफल एवं प्रभावकारी बनाउन लागिपर्नेहरूको सर्वथा अभाव छ । जागिरेहरूको भीड जम्मा गर्दा काम गर्न खोज्ने एकाध सदस्यहरूको प्रयास पनि प्रभावहीन देखिएको सचिवालयकै एक सदस्यको भनाइ छ ।

सिंहदरबारदेखि बालुवाटारसम्म प्राय: ओलीसँगै देखिने अनुहार हुन्, विष्णु रिमाल, इन्द्र भण्डारी र राजेश बज्राचार्य । प्रमुख स्वकीय सचिव भण्डारी जिल्लावासी र पार्टी कार्यकर्ताको रूपमा ओलीको सम्पर्कमा पुगेका हुन् भने स्वकीय सचिव बज्राचार्य पारिवारिक सदस्यका रूपमा । प्रमुख राजनीतिक सल्लाहकार रिमाल भने नवौँ महाधिवेशनका लागि बनेको ओली, ईश्वर पोखरेल र वामदेव गौतमको गठबन्धनसँगै ओलीनिकट पुगेका हुन् । रिमालको खास राजनीतिक धुरी महासचिव पोखरेलसँग जोडिएको छ ।

प्रधानमन्त्री ओलीका भित्रियाहरूमा सबैभन्दा प्रभावशाली भण्डारी छन्, जो ०५१ देखि स्वकीय सचिवका रूपमा कार्यरत छन् । मेची–काठमाडौँ सम्पर्क मञ्चमा सक्रिय रहँदा ओलीनिकट पुगेका भण्डारी ओलीको भेटघाटको चाँजोपाँचो मिलाउनेदेखि विभिन्न प्रतिनिधिमण्डलका ज्ञापनपत्र बुझ्ने र गुनासा सुन्नेसम्मको काम गर्छन् । धेरैजसो राजनीतिक नियुक्ति र भनसुनका कामहरू पनि उनै ठोक्किन्छन् । उनी ओलीका विश्वासपात्र भए पनि सुस्त शैली, दबाबमा काम गर्न नसक्ने र प्रविधिमैत्री हुन नसकेका कारण आलोचित छन् ।

अनेरास्ववियुमा ओली गुटका तर्फबाट केन्द्रीय कोषाध्यक्षमा हारेपछि र आठौँ महाधिवेशनपछि ओली शक्तिमा आउँदै गर्दा रमेश आचार्य पनि स्वकीय सचिवालयमा प्रवेश गरे । समानान्तर रूपमा व्यापार व्यवसाय पनि गर्दै आएका उनी शक्तिको प्रयोग बढी गर्नेमा पर्छन् । अर्का स्वकीय सचिव राजेश बज्राचार्य भने राजनीतिक कम, ओलीको व्यक्तिगत समस्या र शारीरिक अशक्ततामा सहयोगी बढी लाग्छन् ।

ओलीका खास राजनीतिक सारथिहरू भने प्रदीप ज्ञवाली र शंकर पोखरेल हुन्, जो औपचारिक राजकीय पदमा छैनन् । शासन–प्रशासनका मामिलामा सत्तामै बसेर रक्षामन्त्री भीम रावल र अर्थमन्त्री विष्णु पौडेलले निकटतम सल्लाहकार/सहयोगीको भूमिका खेलिरहेका छन् । तर, ओलीको आफ्नै सचिवालय भने अत्याधुनिक प्रविधि, चुस्त व्यवस्थापन र प्रभावकारी जनसम्पर्कका दृष्टिले उम्दा बन्न सकेको छैन । जुन कुरा स्वयं ओलीले पनि महसुस गरेको निकटस्थहरू बताउँछन् । स्रोतका अनुसार केही समयअघि पूर्वप्रधानमन्त्री माधव नेपालसँगको भेटमा भनेका थिए, ‘मसँग काम गर्ने टिमै भएन । बरू, जुनियर भए पनि तपाईंसँग केही मान्छेहरू कामकाजी थिए ।’

ओली मात्र होइन, नेपाली राजनीतिमा प्रभावशाली स्थान भएका, पार्टीको देशव्यापी संगठन–सञ्जाल सञ्चालन गर्नुपर्ने र पटकपटक राजकीय शक्तिको समेत प्रयोग गर्न पुग्ने नेताहरूको स्वकीय सचिवालय हेर्ने हो भने निकै परम्परागत, संकुचित र विशेषज्ञताविहीन देखिन्छ । धेरै नेताहरूले आफ्नो पारिवारिक, आर्थिक एवं राजनीतिक–गुटगत सम्बन्ध भएका व्यक्तिलाई निजी सहायक राखेका छन् । तिनमा पनि व्यावसायिक दक्षताको सर्वथा अभाव छ ।

आफन्तकै हालीमुहाली 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा छोरा प्रकाश दाहाल, भतिजा समीर दाहालदेखि सम्धीतर्फका नातेदार चूडामणि खड्कासम्म रहे । यी तीनै जनाको भूमिका विवादरहित हुन सकेन । पछिल्ला दिनमा उनी पुरानै पार्टी कार्यकर्ता जोखबहादुर महरा, शिव खकुरेललगायतमा निर्भर छन् । महरा ७ पुसबाट पुन: अध्यक्ष प्रचण्डका स्वकीय सचिवमा नियुक्त भएका छन्, जो यसअघि सभासद् पनि थिए ।

प्रचण्ड एउटा उदाहरण हुन्, जो विश्वासपात्रका रूपमा आफन्तलाई स्वकीय सचिवालय जिम्मा लगाउँदा खेप्नुपरेको हैरानीका । विज्ञता, विश्वास र इमानभन्दा पनि केवल आफ् ना र आफन्त नियुक्त गर्ने परिपाटीका कारण पनि नेताका स्वकीय सचिवालय व्यावसायिक र प्रभावकारी बन्न सकेका छैनन् । धेरै नेता तथा मन्त्रीहरूले आफ्नै छोराछोरी, भतिजा र सालालाई स्वकीय सचिव बनाएका छन् । शीर्ष नेताहरूमा पनि प्राय:ले आफ्नो सचिवालयमा कुनै न कुनै आफन्तलाई विश्वासपात्रका रूपमा राखेका छन् । शक्तिशाली नेताका दायाँबायाँ बस्नेहरू विपरीत स्वार्थसमूहका भइदिँदा झनै महाभारत परेका दृष्टान्त पनि पटकपटक सतहमा आएका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निकै कठिनतासाथ आफ्नो सचिवालयमा आफन्त भित्र्याए । उनी प्रधानमन्त्री छँदा प्रमुख स्वकीय सचिव विराटनगरका कांग्रेस कार्यकर्ता लक्ष्मण ढकाल थिए । ढकाल प्रधानमन्त्री कोइरालामाथि यति हावी भए कि पार्टीका नेता, आफन्त र परिवारका सदस्यसमेतलाई सहज पहुँच दिन तयार भएनन् । स्वयं प्रधानमन्त्री कोइराला समेत ढकालप्रति यति निर्भर थिए कि उनका कतिपय क्रियाकलाप चित्त नबुझ्दा नबुझ्दै पनि आफूसँग राखिरहन बाध्य थिए । अन्तत: रुष्ट कोइराला परिवारका सदस्यहरू एकढिक्का भएर ढकाललाई सचिवालयबाट निकाले । अनि, सुशीलका भतिजा अतुल कोइराला, भान्जा रमेश भण्डारी, भान्जाबुहारी प्रभा भण्डारी र अर्की आफन्त मृदुला कोइराला प्रवेश गरे । सुशीलकै निकट भएर गिरिजाप्रसाद कोइरालाको सचिवालयमा पनि काम गरेका वसन्त गौतम प्रमुख स्वकीय सचिव नियुक्त भए पनि किचन क्याबिनेटमा भने अतुल नै रहे । अद्यापि, अतुल नै छन् । 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै भतिजा भानु देउवालाई डेढ देशकदेखि स्वकीय सचिव राखेका छन् । पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालको सचिवालयका दुई सदस्यमध्ये मोहन गौतम अनेरास्ववियुका पूर्वनेता हुन् भने नीतेश पौडेल नेपालका भान्जा ।

पछिल्लोपल्ट सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री छँदा वामदेव गौतमले प्यूठानका आफ्ना मीतका छोरा विजय विराज विष्टलाई स्वकीय सचिव बनाए । अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य विष्ट शंकास्पद व्यक्तिहरूलाई भेट्ने, जानकारी नै नदिई उपत्यकाबाहिर जाने लगायतका कारणले विवादित थिए । एकपटक उनी पूर्वी तराई जाँदा दुर्घटनामा परेपछि मात्र उपत्यकाबाहिर गएको गौतमले थाहा पाएका थिए । उनी यसरी बरालिएर हिँड्न पाउने अवसर भने गौतमले नै जुटाइदिएका थिए । किनभने, उनको सचिवालय कहिल्यै संस्थागत भएन र उनका वरिपरि रहने व्यक्तिहरूलाई स्पष्ट कार्यविभाजन पनि गरिएन । अझ उनले महत्त्वपूर्ण भेटघाट भने आफ्नै श्रीमती तुलसा र छोरा हरिशमार्फत गर्थे । “उनका अधिकांश निर्णय यस्तै भेटघाटबाट प्रभावित हुन्थे,” गौतमका एक पूर्वसहयोगीको भनाइ छ ।

सक्षम सचिवालय सफलताको कडी
पूर्वराष्ट्रपति रामवरण यादवका स्वकीय सचिव हुँदै कानुनी सल्लाहकार भएका ललित बस्नेतका भनाइमा नेताको भिजन कति छ र मिसन के छ भन्ने स्वकीय सचिवालयले प्रतिविम्बित गर्छ । आफ्ना रोजेका मान्छे राख्ने ठाउँ पनि स्वकीय सचिवालय हो, जो नेतृत्वप्रति हदै सहयोगी र भित्रिया हुन्छन् । उनीहरू जस/अपजसका लागि काम गर्दैनन् । उनीहरू व्यक्तिगत लाभहानिका लागि सल्लाह, सुझाव, सूचना र भेटघाटका लागि पहुँच दिने काम गर्दैनन् । स्वकीय सचिवालय नै संस्था प्रमुखका आँखा, कान, हात र नाक हुन्, जसले शरीरका इन्द्रियले जस्तै जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि धर्म छाड्दैनन् । बस्नेत भन्छन्, “नेतृत्वले कस्ता लडाकू राखे भन्ने कुराले निकै ठूलो अर्थ राख्छ र सचिवालय निर्माणबाटै उसको सफलता–असफलताको अनुमान पनि गर्न सकिन्छ ।”

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विज्ञ तथा सल्लाहकार नियुक्ति गर्नका लागि मापदण्ड नै बनाएका थिए । निजामती प्रशासनमा विज्ञता नभएका क्षेत्रमा मात्र बाहिरबाट विज्ञ तथा सहयोगी नियुक्ति गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तर, त्यो मापदण्डलाई बाबुराम भट्टराईदेखि खिलराज रेग्मी, सुशील कोइराला कसैले पनि सहज रूपमा लिन सकेनन् । “मनोमानी रूपमा विज्ञ र सल्लाहकार नियुक्ति रोक्न खोज्दा सुशील कोइरालाले त असहयोग गरेको भनेर उल्टै मैमाथि शंका गर्नुभयो,” पौड्याल भन्छन्, “तर, राज्यकोषमा व्ययभार पर्ने गरी कसैलाई जागिर दिइन्छ भने त्यसको उपादेयता पनि हुनुपर्छ भन्ने मान्यता हो । जागिरका लागि जागिर दिनु त पद, शक्ति र राज्यकोषको दुरुपयोग हो ।” 

पूर्वराष्ट्रपतिका सल्लाहकार एवं राजनीतिशास्त्री हरि शर्मा भने हाम्रो कर्मचारी प्रशासन निष्पक्ष र व्यावसायिक नभइसकेकाले निजामती सेवाभित्रैबाट सहयोगी र विज्ञ खोज्ने कुरा अव्यावहारिक हुन सक्ने ठान्छन् । युनियनहरूमा विभाजित कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वलाई कुनै पनि बेला असहयोग गर्न सक्ने भएकाले आफूले चाहेको सहयोगी टिम राख्नु अन्यथा नहुने उनको भनाइ छ । 

बेलायतमा प्रधानमन्त्री र मन्त्रीका लागि सहयोगी पार्टीले नै उपलब्ध गराउने प्रचलन छ । मन्त्रीका सहयोगीलाई पार्लियामेन्ट्री सेक्रेटरी वा जुनियर मिनिस्टर पनि भनिन्छ, जसले मन्त्रीका तर्फबाट संसदीय छलफलमा भाग लिने हैसियतसमेत राख्छ । “यो भावी नेतृत्वका लागि तयारी पनि हो । जिम्मेवारी र जवाफदेहिताको अभ्यास पनि हो,” शर्मा भन्छन्, “ठ्याक्कै बेलायतको जस्तो सम्भव नभए पनि हाम्रो मौलिक प्रणाली त विकास गर्नैपर्छ ।”

भारतमा नरेन्द्र मोदीको टिम निर्वाचनताकादेखि नै निकै प्रभावकारी र शक्तिशाली रूपमा देखिएको हो । खास गरी सूचना प्रविधिमा आधारित उनको सचिवालय संसारमै गणनामा आउँछ । राजनीतिक नियुक्तिमा पनि उनले लामो समय सुरक्षा, प्रशासन तथा अनुसन्धान क्षेत्रमा बिताएका र आफ्नो क्षेत्रमा ख्याति एवं विशेषज्ञता हासिल गरेकाहरूलाई राखेका छन् । 

नेताले जनतामाझ कसिलो सम्बन्ध र सकारात्मक छवि कायम राख्नुपर्ने हुन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पार्टी र मुलुकका तर्फबाट प्रस्तुति दिनुपर्छ । यसका लागि नेतृत्वलाई सही सूचना र समसामयिक मामिलामा अद्यावधिक राख्ने टिम आवश्यक पर्छ । काम र एजेन्डाको प्राथमिकीकरणमा सहयोग गर्नुपर्ने हुन्छ । नियुक्ति, सिफारिस र भेटघाटका लागि पुग्ने व्यक्तिका सम्बन्धमा उत्तिकै विवेकी सल्लाह आवश्यक पर्छ । त्यसमा कोरा कार्यकर्ता र आफ्नै पारिवारिक दायराभित्रका व्यक्तिको सामथ्र्य नपुग्न सक्छ । समयको व्यवस्थापनदेखि जनसम्पर्क र सञ्चार सम्बन्धका लागि पनि विशिष्ट ज्ञान, सीप र अनुभव भएको विविधतायुक्त सचिवालय आवश्यक हुन्छ । त्यसका लागि गोपनीयता, इमानदारी, शिष्टता र विषयप्रतिको संवेदनशीलता भएका व्यक्तिको छनोट आवश्यक पर्छ, जुन कुरा सीमित घेराबाट मात्र प्राप्त नहुन सक्छ । 

तर, यहाँ केही दलले पार्टीबाट कोरा कार्यकर्तालाई सचिवालय सदस्यका रूपमा पठाउँछन् भने धेरैजसो नेताहरू आफ् ना अपारदर्शी गतिविधिका सहायक बनाउन आफन्तहरूलाई वरिपरि राख्छन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगी रहिसकेका पत्रकार शीतल कोइराला भन्छन्, “नेताहरू सकेसम्म विवेक नभएका र भए पनि विवेक प्रयोग गर्न नसक्ने मान्छेहरू वरिपरि राख्न रुचाउँछन् । योग्यता र विवेक भएकाहरू नेतृत्वलाई गलत बाटोमा जानबाट रोक्न सक्छन् । त्यसो हुँदैन, यसो गर्नुपर्छ भन्न 
सक्छन्, जुन हाम्रा नेताहरूमा सुन्ने र सहने संस्कृति नै छैन ।” 

गिरिजाप्रसादको त्यो सचिवालय
०४८ सालपछि गिरिजाप्रसाद कोइराला एकाएक मुलुकको राजनीतिको केन्द्रीय पात्र बने । प्रजातन्त्र पुनस्स्थापनापछिको प्रथम आमनिर्वाचनले दिएको अत्यधिक बहुमतको सरकारका प्रधानमन्त्री पनि गिरिजाप्रसाद नै भए । त्यतिखेर उनको सचिवालयमा उनकै भतिजा ज्योति कोइराला र शेखरका भाइ निरञ्जन क्रियाशील हुँदै थिए । त्यो कुरा सुशील कोइराला र अन्य कांग्रेसी नेतालाई पचिरहेको थिएन ।

कांग्रेसनिकट ट्रेड युनियनका अध्यक्ष एवं गिरिजाप्रसाद कोइरालाका ज्वाइँ लक्ष्मण बस्नेतले हरि शर्मालाई सचिवालयमा पुर्‍याए । त्यतिखेर शर्मा ट्रेड युनियनमै सक्रिय थिए र उनको अंग्रेजीमा दख्खल थियो । शर्माले भने आफूलाई क्षमताबाटै प्रमाणित गरे । तर, उनले गिरिजाप्रसादको सचिवालयमा आफ्ना भान्जा गोकर्ण पौडेललाई पनि भित्र्याए, जो विवादित पनि भए ।

सुशील कोइरालाले गिरिजाप्रसादको सचिवालयमा आफ्नो पकड कायम राख्न सुविर खनाललाई नियुक्त गर्न लगाए । सुविरले आफ्नै नाताका कञ्चन पोखरेललाई पनि त्यहीँ भित्र्याए । सुशीलले नै बर्दियाका पुराना कांग्रेस नेता ज्ञानराज शर्माका आफन्त नीतिश शर्मालाई सचिवालयमै नियुक्ति दिलाए । कारण, ज्ञानराज सुशीलनिकट स्थानीय नेता थिए । 

कांग्रेसभित्रको आन्तरिक गुटगत संघर्ष चुलिँदै जाँदा सचिवालय सदस्यहरूको सम्बन्ध र वफादारिता कता छ भन्ने प्रश्न अहं बन्न थाल्यो । त्यसमाथि कोइराला परिवारभित्रै सचिवालयमा को हावी हुने, सत्ता र शक्तिको प्रयोग कसले धेरै गर्ने भन्ने होडबाजी छँदै थियो । त्यसैले प्रधानमन्त्रीले कोसँग भेटे, कोसँग के कुरा गरे भन्नेबारे सूचना तिनलाई सिफारिस गर्ने व्यक्तिको स्वार्थको विषय हुन्थ्यो ।

विभिन्न निकायमा सरुवा, बढुवा, नियुक्ति, व्यापार अनुमतिका लागि लबिङजस्ता विषयमा को प्रभावी हुने प्रतिस्पर्धा पनि देखिन थाल्यो । कसलाई पहुँच दिने र नदिने भन्नेमा समेत सचिवालय सदस्यहरूबीच विवाद र होड चल्यो । कांग्रेसभित्र कोइराला गुट, कोइराला परिवारभित्र नोना र सुशील खेमाबीच शंका र प्रतिद्वन्द्विता बढ्दै गयो । एकअर्काका व्यवहारलाई लिएर आरोप–प्रत्यारोप गर्नु, एउटालाई उछिनेर अर्को अगाडि बढ्न खोज्नु, प्रधानमन्त्रीका निर्णय र कार्यतालिकामा आफू हावी हुन खोज्नु सामान्यजस्तै हुन थाल्यो । दरबार, विदेशी दूतावास र पार्टीभित्रकै अन्य शक्तिकेन्द्रहरूमा कसले सूचना पुर्‍याउँछ भन्नेबारे एकले अर्कोविरुद्ध आरोपित गर्न थालियो । यद्यपि, ०६२र६३ अघि गिरिजाप्रसादको सचिवालयमा उनकै भाउजू नोना र भतिजा शेखर कोइरालाकै दबदबा रह्यो ।

०६२र६३ पछि शेखर थापा स्वकीय सचिवालयमा पुगे, जो नोनाबाटै नियुक्त थिए । र, उनले शेखर कोइरालाको राजनीतिक सहजीकरणका लागि काम गर्नुपथ्र्यो । तर, बिस्तारै नयाँ राजनीतिक परिवेश, गिरिजाप्रसादको स्वास्थ्य, सुशील र सुजाताको महत्त्वाकांक्षाको असर तत्कालीन सर्वाधिक शक्तिशाली नेताको सचिवालयमा पर्‍यो । त्यसपछि सुशीलले वसन्त गौतमलाई प्रमुख स्वकीय सचिव बनाए र शेखर थापालाई वसन्तको मातहतमा काम गर्नुपर्ने बनाइदिए । सुशीलले नै प्यूठानका दिवाकर गौतमलाई गिरिजाप्रसादको स्वकीय सचिवालयमा पुर्‍याएर आफ्नो पकड थप मजबुत बनाए । कञ्चनलाई भने सुशीलको निकट भनेर ल्याए पनि पछि नोनातर्फ ढल्किएको चर्चा त्यतिखेर सचिवालयभित्रै हुन्थ्यो । 

अर्का स्वकीय सचिव बालकृष्ण दाहालले भने सहिदपुत्र भएकाले नियुक्ति पाएका थिए, जसले सबैसँग समदूरीमै रहेर काम गरे । तर, यो अवधिमा नोना र शेखर कोइरालाको दबदबा कम हुँदै सुशील–सुजाताको प्रभाव बढी रह्यो, फलतस् गिरिजाप्रसादको राजनीतिक उत्तराधिकारका रूपमा सुशीलले कांग्रेस कार्यवाहक सभापति पद पाए भने सुजाताले उपप्रधान तथा परराष्ट्रमन्त्रीको ।

झलनाथका पीए : विवादितै विवादित
एमाले नेता भीष्म अधिकारीका भाइ नाता पर्ने लमजुङका रामबाबु अधिकारी पहिला एमालेको सम्पर्क विभागका कर्मचारी थिए । भीमले नै उनलाई झलनाथकहाँ पुर्‍याए । तनहुँका कृष्ण श्रेष्ठसँगको लेनदेन विवादमा उनी खनालको स्वकीय सचिवबाट हटाइए । खनालकै पूर्वसहयोगी गणेश दुलाल पनि रातो पासपोर्ट बिक्री प्रकरणमा निकालिएका थिए । दुलाल खनालकै गृहजिल्लाका एमाले कार्यकर्ता थिए ।

उनका अर्का सहयोगी एवं भक्तपुरका एमाले कार्यकर्ता निर्मल भट्टराई पनि खनालसँगको ठाकठुकपछि एमाओवादी प्रवेश गरे । पछिल्लोपल्ट कृष्ण भट्टराई खनालका स्वकीय सचिव छन् । उनी विद्यार्थी फाँटमा सक्रिय एमाले कार्यकर्ता हुन् ।

अरू बेला खासै राजनीतिक भूमिकामा नदेखिने तर खनाल राजकीय पदमा पुग्नेबित्तिकै टुप्लुक्क आइपुग्ने व्यक्तिको नाम हो, दीपक अमात्य । खनाल ०४७ मा अन्तरिम सरकारका वनमन्त्री, ०५३ मा सञ्चारमन्त्री हुँदादेखि पछिल्लोपल्ट प्रधानमन्त्री हुँदासम्म अमात्य खनालका भित्रिया भएर काम गरे । त्यतिले नपुगेर सुशील कोइराला नेतृत्वको सरकारका पर्यटनमन्त्री भीम आचार्यलाई फालिएपछि खनालकै कोटाबाट अमात्यले मन्त्रिपरिषद् सदस्य बन्ने मौका पाए । ती पनि विवादित भएरै मन्त्रिपरिषद्बाट निकालिए ।

‘बेस्ट ब्रेन ल्याउन सक्नुपर्छ’— भोजराज पोखरेल
तेस्रो विश्वका मुलुकमा नेतृत्व आफैँ सधैँ संकटमा हुन्छ । उसका गोप्य एजेन्डा हुन्छन् । पारदर्शी काम हुँदैनन् । आफ्नो वा आफन्त खोज्नु भनेको कमजोर खोज्नु हो । नेपालको नेतृत्व वर्ग विवादमा पर्ने, छिट्टै बदनाम हुने कारण पनि यही हो । सुरुमा आशा जगाएको नेतृत्व पनि धेरै टिक्दैन । शक्ति संरचनामा पस्दै जाँदा खत्तम भएको हामीले देखेका छौँ । 

आफ्नो छवि बनाउन चाहने र जनताकेन्द्रित नेतृत्व छ भने टिम बनाउँदा विचार पुर्‍याउँछ । विश्वासपात्रमध्ये पनि योग्य छान्छ, जो लोभमा पर्दैन, सही सल्लाह दिन्छ । ऊ भएकामध्येबाट ‘बेस्ट ब्रेन’ छान्ने, रचनात्मक क्षमताको पहिचान गर्ने र त्यस्तालाई आफ्नो सचिवालयमा राख्न सक्नुपर्छ, जसले बाटो देखाउन, सचेत गराउन र गलत काम हुनबाट रोक्न सक्छ । 

कतिपय नेताले बाहिर देखाउनका लागि राम्रा नाम छानेर राख्ने र भित्री एजेन्डा पूरा गर्न छुट्टै समानान्तर कोटरी बनाउने प्रचलन सुरु गरे । दाग लाग्दा बाहिर देखिने राम्रा अनुहारमा लाग्छ । फोहोरी खेल भित्रियाहरूले खेल्छन् । पदलोलुपहरू दाग लाग्दा पनि, काम नपाउँदा पनि बसिरहन्छन् । निष्ठा र स्वाभिमान भएकाहरू छाडेर हिँड्छन् । राष्ट्रिय सोच भएको नेताले घेरा पनि बढाउँदै लैजान्छ । आफ्नो सोचलाई नीतिमा अनूदित 
गर्दै लैजान्छ ।

प्रकाशित: माघ २३, २०७२

No comments:

Post a Comment