Tuesday, August 16, 2016

नेपालविरुद्ध मोर्चाबन्दीको भारतीय प्रयास


- रामबहादुर रावल





नेपालमा दिगो र समावेशी संवैधानिक व्यवस्थापनको महफ्वमा जोड दिन आवश्यक छ, जसले आर्थिक वृद्धि र राजनीतिक स्थायित्व प्रवद्र्धन गर्नुका साथै चासोका बाँकी क्षेत्रलाई सम्बोधन गर्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ति, २६ कात्तिक ०७२

नेपालमा दिगो र समावेशी संवैधानिक व्यवस्था कायम होस्, संविधानमा मिल्न बाँकी मुद्दा समयसीमा तोकेर सम्बोधन गरियोस्, जसबाट नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास प्रवद्र्धनमा सहयोग पुगोस् भन्नेमा भारत–ईयू सहमत छन् ।

१३औँ भारत–ईयू सम्मेलनपछि जारी संयुक्त वक्तव्य, १७ चैत ०७२

एउटै विषय, सन्दर्भ र करिब समान भाषामा जारी भएका यी फरक–फरक विज्ञप्तिमा हस्ताक्षर गर्ने पात्र पनि मिल्दाजुल्दा छन् । साढे चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणमा गए । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त वक्तव्य जारी गरे, जसमा नेपालको संविधानप्रतिको भारतीय असन्तोषमा बेलायती साथ रहने प्रस्ट संकेत थियो ।

नभन्दै मोदी नेपालको संविधानप्रतिको असन्तोष बोकेर युरोपेली संघ (ईयू)–भारत सम्मेलनका लागि ब्रसेल्स, बेल्जियम पुगे । २८ मुलुक सदस्य रहेको ईयूका तर्फबाट युरोपेली परिषद् प्रमुख डोनाल्ड टस्क र युरोपेली आयोग प्रमुख जाँ क्लाउड जंकरले समेत मोदीको असन्तोषलाई अनुमोदन गरिदिए, संयुक्त वक्तव्यमा सही गरेर ।

त्यसो त नेपालको संविधान जारी भएलगत्तै गत कात्तिकमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को आवधिक समीक्षा बैठक (यूपीआर)मा भारतले पहिलोपल्ट नेपालको द्वन्द्वकालीन मानव अधिकार हननका मुद्दा उठाएको थियो । भारतको त्यो प्रस्तुति वास्तविक रूपमा मानव अधिकार र संक्रमणकालीन न्यायको पक्षमा उठाइएको आवाजभन्दा पनि नेपालको संविधान जारी गर्ने पक्ष र पात्रहरूप्रतिको असन्तोषको प्रकटीकरण थियो । साथै, नेपालविरुद्धको नाकाबन्दीलाई घुमाउरो रूपमा औचित्यपूर्ण साबित गर्ने भारतीय प्रयत्न थियो त्यो ।

किनभने, त्यसअघि पश्चिमा मुलुकहरूले यी मुद्दा उठाए पनि भारत मौन रहँदै आएको थियो । यति मात्र होइन, गत मंसिरमा जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा समेत मोदीले नेपालको संविधानबारे आफ्नो असहमति राख्न खोजेका थिए, जुन जापानले अस्वीकार गरेको थियो । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका भनाइमा ००७ सालयता कहिल्यै भारतले द्विपक्षीय मामिलामा तेस्रो पक्ष प्रवेश गर्न दिएको थिएन । “यो कूटनीतिमा नयाँ एप्रोच वा व्यवहार हो, जुन विगतको नीतिभन्दा ठीक विपरीत छ,” उनी भन्छन् ।

रणनीतिक फड्को


प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सन्तोषप्रद नभएको पृष्ठभूमिमा चीनसँग रणनीतिक महत्त्वका समझदारी

- रामबहादुर रावल

 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमणका लागि भारत रोजे, जतिखेर भारतीय नाकाबन्दीबाट आहत नेपाली जनजीवन राहतको सास फेर्न समर्थ भइसकेको थिएन । भारत जाँदा उनको स्वागतार्थ विदेशमन्त्री सुष्मा स्वराज विमानस्थलमै पुगिन् । उनलाई राष्ट्रपति भवनमा राखियो । गार्ड अफ अनर दिइयो । तेस्रो मुलुकसँगको बन्द व्यापारका लागि वैकल्पिक विशाखापटनमको बन्दरगाह र सामुद्रिक मार्ग उपयोग गर्न पाउने सम्झौता भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट ओलीले जन्मदिनको शुभकामनासहित पुष्पगुच्छा पनि प्राप्त गरे । तर, फर्किंदा संयुक्त वक्तव्य नै जारी हुन सकेन ।

नयाँ दिल्लीमा दुई प्रधानमन्त्रीबीच भएको वार्तापछि त्यहाँका विदेशसचिव सुव्रमण्यम जयशंकरले दिएको अभिव्यक्तिसँगै द्विपक्षीय तनाव सतहमा आयो । जयशंकरले आफ्ना प्रधानमन्त्रीसामु नेपाली समकक्षीले गरेका प्रतिबद्धता कार्यान्वयनको प्रतीक्षा गर्ने बताए । जबकि, भारतले नेपालको संविधानको स्वागत गरिसकेको अभिव्यक्ति ओलीले दिएका थिए ।

संयुक्त पत्रकार सम्मलेनमा भारतीय पक्षबाट भएको नेपालको संविधानको स्वागतमा खर्चिइएका शब्द केवल औपचारिकता रहेको कुरा त्यतिखेर पुष्टि भयो, जब असन्तुष्टिको सम्बोधन हुने दिशामा थप काम हुने ‘आशा’ भारतीय पक्षबाट व्यक्त भयो ।

उक्त भ्रमणको आलोकमा हेर्दा प्रधानमन्त्री ओलीको चीन भ्रमण निकै अर्थमा भिन्न देखियो, जसले उदाउँदो विश्वशक्तिका रूपमा परिचित उत्तरी छिमेकीसँगको रणनीतिक साझेदारीका लागि आधार तय गरेको छ ।

सशस्त्र प्रहरीमा जन्मजातै भ्रष्टाचार !


सशस्त्र प्रहरी बलका हालसम्मका सबै जीवित पूर्वमहानिरीक्षकहरु भ्रष्टाचार कारबाहीमा

- रामबहादुर रावल

गत ४ मंसिरमा राजधानीको हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)ले आफ्नै मुख्यालयमा १५औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्‍यो । विशेष किनभने उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री शक्ति बस्नेत, मुख्यसचिव, गृहसचिवलगायत उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । प्रधानमन्त्री ओलीले केक काटे । गृहमन्त्री बस्नेतले तत्कालीन महानिरीक्षक कोषराज वन्तले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वन्तले पनि एपीएफका तर्फबाट विदेशी मदिरासहितको भव्य भोज र सांस्कृतिक प्रस्तुतिहरूले आमन्त्रितको स्वागत–सत्कार गरे ।

त्यसको एक महिना पनि नबित्दै ३ पुसमा महानिरीक्षक वन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा निलम्बित भए । १८ माघमा त उनीविरुद्ध ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा नै दायर गर्‍यो ।

एपीएफ मुख्यालयमा पुगेर राज्यका उच्च ओहोदामा रहेकाहरूले नै स्वाद मानीमानी लिएको मदिराको चुस्की र बफेका व्यञ्जनहरूसमेत अनियमित तवरले किनिएका रहेछन् भन्ने रहस्य पनि यही मुद्दाबाट खुल्यो । किनभने, एपीएफको वैधानिक बजेटमा यस्ता भोजभतेरको व्यवस्था छैन, हुँदैन । बरू, यो खर्च उठाउन अरू नै कीर्ते कामहरू गरिँदो रहेछ, जुन परम्पराको सुरुआत एपीएफ स्थापनादेखि नै भएको रहेछ । 

स्थापना दिवसको भोजभतेर त एपीएफमा नेतृत्वकै संरक्षणमा हुँदै आएको कीर्तेको एउटा सानो नमुना मात्र हो । यसबाहेक पनि कैयौँ यस्ता खरिद प्रकरण छन्, जसमा नक्कली बिल, भर्पाई गरी लेखा शाखाले तयार गर्ने र एपीएफ नेतृत्वले सदर गरेको पाइएको छ । पछिल्ला चार महानिरीक्षकमाथि भएका छानबिनबाट के देखिएको छ भने एपीएफमा नेतृत्व स्वयंले नक्कली बिल, भर्पाई बनाउन मातहत कर्मचारीलाई प्रोत्साहित गर्नु सामान्य बनेको छ । सञ्चालनमै नरहेको र अस्तित्वमै नभएको कम्पनीबाट वस्तु र सेवा खरिद गरेका नक्कली कागजातहरू बनाइएका छन् । नक्कली बिल, भौचर आफँै छाप्ने, आफैँ विवरण भर्ने, निकासा गरी उच्च अधिकारीहरूले बाँडीचुँडी खाएका छन् । त्यस्ता नक्कली काममा सरिक हुन नमान्ने कर्मचारीका नाममा समेत अर्कै व्यक्तिलाई सही गर्न लगाइएको छ । मातहत कर्मचारीका नाममा पेस्की तथा भत्ता निकासा गरी महानिरीक्षकहरू आफैँले लिएका छन् । कतिसम्म भने किन्दै नकिनेको सामान मातहतका एकाइहरूलाई पठाएको भन्दै कार्गोको नक्कली बिलसमेत दाखिला गरी प्रहरी नेतृत्वले रकम हात पारेको अनुसन्धानले देखाएको छ ।