हामीले हाम्रा प्रजातिलाई होमो सेपियन्स अर्थात् ज्ञानी मानव भनेर नाम दिएका छौं । तर यस नामका लागि हामी साँच्चै योग्य छौं त ? यो प्रश्न विवादास्पद छ ।
पछिल्ला एक लाख वर्षमा मानवले निःसन्देह विशाल शक्ति हासिल
गरेको छ । हाम्रो खोज, आविष्कार र विजयहरूको सूची बनाउने हो भने त्यसले धेरै पुस्तकहरू
भरिनेछन् ।
तर शक्ति र बुद्धि (विवेक) एउटै कुरा होइनन् ।
यी एक लाख वर्षका खोज, आविष्कार र विजयहरूपछि पनि मानवता आज अस्तित्वकै
संकटमा छ । हामी आफ्नै शक्तिको दुरुपयोगका कारण पारिस्थितिकीय पतनको सिमानामा
पुगेका छौं । हामी कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरू विकास गर्न
व्यस्त छौं, जसले हाम्रो नियन्त्रणबाट बाहिर गएर हामीलाई नै दास बनाउने वा नष्ट
गर्ने सम्भावना बोकेको छ ।
हाम्रो प्रजातिले यी गम्भीर संकटहरूसँग एकजुट भएर सामना
गर्नुपर्नेमा उल्टै अन्तर्राष्ट्रिय तनावहरू बढ्दै गएका छन् । वैश्विक सहकार्य
कमजोर हुँदै गएको छ । राष्ट्रहरूले अझै पनि नयाँ परमाणु हतियार सञ्चित गरिरहेका
छन् र अर्को विश्वयुद्ध असम्भवजस्तो देखिँदैन ।
यदि हामी साँच्चै ज्ञानी मानव हौँ भने,
हामी किन यति आत्मविनाशक छौं त?
हामीसँग डीएनए अणुदेखि लिएर आकाशगंगासम्मको अद्भुत ज्ञान छ तर
यसले जीवनका यी मूल प्रश्नहरूको उत्तर दिएको छैन–
हामी को हौँ? हामी किन छौं? राम्रो
जीवन के हो र हामी कसरी बाँच्नुपर्छ?
आज पनि, विशाल जानकारीको युगमा बाँच्दाबाँच्दै, हामी
हाम्रा प्राचीन पुर्खाहरूझैँ कल्पना र भ्रान्तिमा सजिलै फस्छौं।