Wednesday, August 5, 2015

यस्ता छन्, मुख्यसचिव सोमलाल सुवेदी

सोमलाल सुवेदी

सबल पक्ष
    विकेन्द्रीकरणमा दक्खल
    तल्लो तहदेखिको अनुभव
    अध्ययनशील
    खरो स्वभाव

दुर्बल पक्ष
    अहम्भाव
    विदेशी दाता र विदेश भ्रमणमा आशक्ति
गाउँले पृष्ठभूमि, संघर्षशीलता र प्रशासनको तल्लो तहदेखिको अनुभव सुवेदीका प्रमुख चिनारी हुन् । निजी रूपमा अध्ययन गर्दै र जागिर पनि सँगै हिँडाउँदै उनले विद्यावारिधिसम्मको उपाधि प्राप्त गरे । ०३८ सालमा कृषि विकास कार्यालयमा सहलेखापाल भएर सेवा प्रवेश गरेका थुम्की–६, कास्कीका सुवेदी लेखापाल, शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिव बनेका हुन् । ०४६ मा प्रशासन समूहमा प्रवेश गरेपछि उनी सामान्य प्रशासन, अर्थ र स्थानीय विकास मन्त्रालय तथा अन्तर्गतका निकायमा रहे ।

सुर्खेत, नवलपरासी, काभ्रेपलाञ्चोक र बाग्लुङमा स्थानीय विकास अधिकारी (एलडीओ) हुँदा उनले स्थानीय स्तरका योजना, विकास निर्माण र समुदाय परिचालनसँग परिचित बन्ने मौका पाए । अर्थ मन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखामा रहँदा विदेशी दातृ निकायसँग सम्बन्ध कसिलो बनाउने अवसर भेटे । यसबाट उनको जीवनवृत्तिमा दुई खालको प्रभाव पर्‍यो । एक, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्बन्ध विस्तारमा मद्दत पुग्यो । अर्को, विदेश भ्रमण र दातृ निकाय–उन्मुख गतिविधिमा अभ्यस्त तुल्यायो । आलोचकहरू अहिले पनि दातृ निकायका परियोजनासम्बन्धी काम र मर्यादाले नमिल्ने विदेश भ्रमणमा उनको आशक्तिलाई कमजोरीका रूपमा चर्चा गर्छन् ।

शिक्षा मन्त्रालयमा छँदा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य–सचिव प्रतिस्पर्धाबाट नियुक्त गर्नु, छोटो अवधिमा चार अर्ब रुपियाँ बेरुजु फस्र्योट गराउनु, स्थानीय निकाय तथा ती निकायका कार्यकारी प्रमुखहरूको कार्यसम्पादन सूचक तयार गर्नु, त्यसै आधारमा मूल्यांकन तथा स्रोत–साधन वितरणको परिपाटी बसाल्नुलाई आफ् नो जागिरे जीवनका प्रमुख उपलब्धि मान्छन् उनी । १४ वटा दातृ निकायसँग समन्वय गरी करिब २० अर्ब रुपियाँबराबरको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) लागू गराउनुलाई पनि उनी आफ्नो क्षमताको उपजका रूपमा व्याख्या गर्छन् । भन्छन्, “जहाँ गए पनि प्रोएक्टिभ भएर काम गर्ने मेरो स्वभाव रह्यो ।”

मुलुक संघीय ढाँचामा जान लागेकाले प्रशासनको पुन:संरचना तथा सरकारी सेवा प्रवाहको प्रणाली परिवर्तन गर्नुपर्दा स्थानीय स्वशासन र वित्तीय विकेन्द्रीकरणको उनको अध्ययन उपयोगी बन्न सक्नेछ । भन्छन्, “म मुख्यसचिव नहुँदा पनि सरकारले संघीयता कार्यान्वयनका लागि प्रशासन र विकेन्द्रीकरण दुवै विषय बुझेको व्यक्तिलाई हायर (नियुक्त) गर्नैपर्छ । प्रशासनभित्रैको मान्छे हुँदा झन् सहज हुन्छ ।”

समन्वयकारी भूमिकाको अभाव, अरूले गरेका काम पनि आफैँले गरेको भनेर जस लिन खोज्ने र राम्रो कार्य गर्ने मातहत कर्मचारीलाई प्रोत्साहित गर्न कन्जुस्याइँ गर्ने स्वभावका कारण पनि उनी आलोचित छन् । “उनको यो स्वभाव करिब ७३ हजार कर्मचारी रहेको प्रशासनयन्त्र सञ्चालनको प्रमुख चुनौती बन्न सक्छ,” उनीसँग लामो समय सहकार्य गरेका एक प्रशासक भन्छन् ।

सुवेदीका लागि अनुकूल पक्षचाहिँ के छ भने प्रधानमन्त्रीका प्रशासनिक मामिला सल्लाहकार बाबुराम आचार्य उनकै गृह क्षेत्रका हुन्, जसको जोडबलले नै उनी स्थानीय विकासजस्तो आकर्षक मन्त्रालय पाए । आचार्यकै कारण प्रधानमन्त्री कार्यालयमा पहुँच र आवागमन पनि सहज बन्यो  स्थानीय स्तरसम्म देशव्यापी सञ्जाल, विकासे कार्यक्रम र ठूलो बजेट वितरण गर्ने निकायको प्रशासनिक नेतृत्वमा रहँदा प्रतिकूल राजनीतिक वातावरणलाई पनि आफ्नो पक्षमा पार्न सक्ने ठाउँमा सुवेदी रहे, जुन सुविधा अरू प्रतिस्पर्धीलाई थिएन।

त्यसो त मन्त्रिपरिषद्को बैठक महाशाखाको नेतृत्व र सञ्चालनको अनुभव सुवेदीसँग छ । जिल्ला स्तरका समन्वयकारी र प्रत्यक्ष जनसरोकारका ठूला संरचनाको नेतृत्व गरेका छन् । जागिरको अवधि र विविधता, वचन र कार्यमा सधैँ ऊर्जावान् देखिनु सुवेदीका विशेषता हुन् । जनप्रशासन संघका महासचिव केशवराज पाण्डे भन्छन्, “दलका आधारमा नभई नेतृत्व क्षमता भएको र सबैलाई समन्वय गर्न सक्ने खुबीका आधारमा मुख्यसचिव चयन गरेको सन्देश उनले दिन सक्नुपर्नेछ । कम्तीमा मुख्यसचिव लीलालमणि पौड्यालले बसाल्न खोजेको थिति नतोडियोस् र उनका अधुरा प्रयासले निरन्तरता पाओस् ।”


No comments:

Post a Comment