Sunday, November 1, 2015

किन चाहियो राष्ट्रपतिलाई राजसी तामझाम ?


  • बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता
एउटा नेपालीको घरमा चुलो बल्दैन, अर्को नेपालीले २० औँ गाडी अघिपछि लगाएर हिँड्ने ? 
पूर्वराष्ट्रपति रामवरण यादवको विदाइमा शीतलनिवासबाहिर देखिएको लावालस्कर ।
तस्बिर : रवि मानन्धर/नेपाल साप्ताहिक 

अन्तरिम संविधान र हालको संविधानमा राष्ट्रपतिको भूमिका र हैसियतमा कुनै फरक छैन । रामवरण यादव होऊन् वा विद्या भण्डारी, दुवै सेरेमोनियल (आलंकारिक) हैसियतका राष्ट्रपति हुन् ।

संविधानअनुसार, राष्ट्रपति आफैँले कुनै निर्णय गर्नुपर्दैन । आफ्नो ज्ञान र बुद्धि प्रयोग गर्नुपर्दैन । मन्त्रिपरिषद्, संवैधानिक परिषद्, न्यायपरिषद्जस्ता निकायले जे सिफारिस गर्छन्, त्यसैमा छाप लगाउनुपर्छ । छाप लगाउन इन्कार पनि गर्न मिल्दैन ।

विडम्बना, राजसंस्था हट्यो भनियो, राजा हटेनन् । अगाडि–पछाडि दर्जनौँ गाडी, वरिपरि भारदारी शैलीको सल्लाहकार मण्डली, हिँड्नु अघि र पछि सडक खाली गराउने प्रचलन आदि जे हिजोका राजाले प्रयोग गरे, आजका राष्ट्रपतिले पनि त्यही प्रयोग गरिरहेका छन् । सवारीका नाममा सडक जाम गरिरहेका छन् । राष्ट्रपतिको यस्तो हैसियत न संविधानमा छ, न त नेपाली जनता नै त्यो पक्षमा छन् ।
राष्ट्रपतिले आफैँ निर्णय गर्दैनन् । निर्णय नगर्ने भएकाले तिनका शत्रु पनि हुँदैनन् । राजाले निर्णय गर्थे । त्यसैले उनका शत्रु पनि हुन्थे । त्यसैकारण ठूलो फौज अघिपछि लगाएर हिँड्नु एकातिर राजाको बाध्यता हुन्थ्यो भने अर्कोतिर आफ्नो ठाँटबाँठ देखाउनु सामन्ती चरित्रको प्रदर्शन पनि थियो ।

अहिले हेर्दा लाग्छ, राजसंस्था नभएको राजा भएको व्यवस्था पो हो कि ? हिजो राजाले दरबारमा ठूलो संरचना बनाए । निजी सचिव, सल्लाहकार आदि राखे । तर, राष्ट्रपतिलाई यति ठूलो संरचना र महंगो विज्ञमण्डली आवश्यक छैन । किनभने, उनले प्रेसलाई प्रत्यक्ष भेट्नुपर्दैन । आर्थिक नीति बनाउने पनि राष्ट्रपति कार्यालयले होइन । महान्यायाधिवक्ता नै उनको कानुनी सल्लाहकार हो । मन्त्रिपरिषद् उनको आधिकारिक सल्लाहकार हो । राष्ट्रपतिले समानान्तर संरचना बनाउनु राज्यकोषको अपव्यय मात्र हो ।

राष्ट्रपतिका रूपमा रहँदा मात्र होइन, राष्ट्रपति पदबाट बाहिरिँदा समेत रामवरण यादवमा राजसी ठाँटको मोह कम भएन । सरकारी सुविधामै बस्नु पर्ने, खाइपाई आएको तलब घट्न नहुने, दर्जनौँ कर्मचारीसहित सचिवालय राख्नु पर्ने । किन यत्रो सुरक्षा फौज उनका अघिपछि लाग्नु पर्ने ? नेपाली जनताले तिरेको कर किन यसरी खर्चनु पर्ने ? यो पदले त त्यो खोज्दैन ।

अहिलेकै अवस्थामा हेर्ने हो भने पनि नवनिर्वाचित र बहिर्गमित राष्ट्रपति दुवैले मुलुकको संकटपूर्ण अवस्थातर्फ विचार नपुर्‍याएजस्तो देखियो । यस्तो अवस्थामा १०–२० वटा गाडी अगाडि–पछाडि लगाउँदा मितव्ययिताको मर्म कहाँ पुग्यो ? 

यहाँका जनताको आर्थिक हैसियत अमेरिकाको जस्तो भयो भने ठीकै छ । होइन भने एउटा नेपालीको घरमा चुलो बल्दैन । अर्को नेपालीले २० औँ गाडी अघिपछि लगाएर हिँड्छ । सामान्य नेपालीको छोरो वा छोरी भएर उहाँहरूले सोच्न सक्नुपर्छ । मुकुट नलगाएका राजाको रूपमा उहाँहरूले देखिन खाजेको हो भने बेग्लै कुरा । 

त्यसैले हामी सामान्य जनता हौँ भन्ने ठान्नुपर्छ, उहाँहरूले । र, क्षण क्षणमा त्यो कुरा प्रदर्शित गर्नुपर्छ । तब मात्र यो संस्थाप्रति जनतामा आस्था, विश्वास र गौरवको भावना बढ्छ । हाम्रो मुलुकको राष्ट्रपतिको हैसियत साइकल चढ्ने हो ।

No comments:

Post a Comment