मेरो डायरी, २०२५
स्रष्टा: जयराज आचार्य
प्रकाशक: हस्ताक्षर प्रकाशन
पृष्ठ: ३७५
मूल्य: ४०० रुपियाँ
|
सारत: यो पुस्तकले प्रौढहरूका लागि ४७ वर्षअघिको मुलुकको दैनिकीको याद दिलाउँछ । बालबालिकालाई लेख्ने बानी र सीपप्रति आकर्षित गर्नेछ ।
आजभन्दा ४७ वर्षअघि एउटा संस्कृत विद्यालयका छात्र यस्तो प्रतिबद्धता गर्छन्, वर्षभरि एक दिन पनि नबिराई दैनिकी लेख्ने । त्यो पनि महिनाको एक दिन नेपालीमा र बाँकी सबै अंग्रेजीमा । अंग्रेजी भाषा र हस्तलेखनको सीप विकास गर्ने उद्देश्यले थालिएको त्यो प्रयास आज इतिहासका महत्त्वपूर्ण घटनाक्रमको अभिलेख बन्न पुगेको छ । र, ती घटनाप्रति तत्कालीन किशोर पुस्ताको अनुभव–अनुभूति उतारिएको छ । त्यही पुस्तक हो, मेरो डायरी, २०२५ ।
डायरी लेखक जयराज आचार्यको यस डायरीमा समाज, राजनीति, अर्थतन्त्र, ग्रामीण परिवेशदेखि अन्तर्राष्ट्रिय मामिलासम्मका रोचक तथ्य र विवरणहरू यसमा संकलन गरिएका छन् । यसको मूल आधार उनले गोरखापत्र दैनिकलाई लिएका छन् । त्यसबाहेक रेडियोमा सुनेका समाचार सामग्रीहरू पनि उनले डायरीमा टिपेका छन् । भ्रमणका अनुभवहरू सँगालेका छन् ।
कतिपय व्यक्तिगत मनका भावना पनि उनले कोरेका छन् । ती किशोर मनका भावना पढ्दा पनि रोचक लाग्छन् । जस्तो कि, उनले एउटी राम्री समवयीलाई बाटामा भेट्दा बोलौँ–बोलौँ लाग्छ । आकर्षण बढ्छ । बिहे गर्नेसम्मका कल्पना गर्छन् । तर, मनको कुरा बोल्न सक्दैनन् । त्यस्तै उनी आफ्नो गाउँ सम्झिन्छन् । गाउँका चलन–व्यवहारहरूको चर्चा गर्छन् । अन्धविश्वासहरू हटाउनुपर्ने, नारीलाई शिक्षा दिनुपर्ने जस्ता आदर्श भावना पनि उनका मनमा उर्लिन्छन्, जुन जस्ताको तस्तै कापीमा उतार्छन् ।
उसबेलाको उनको राजनीतिक चेतना र विषयवस्तुमाथि उनको समझ क्षमताको पनि यस कृतिले परिचय दिन्छ । तुलसी गिरी पक्राउ परेको समाचार पढेपछि उनी लेख्छन्, ‘मलाई अचम्म लागिरहेको छ, किन तुलसी गिरी पक्राउ परे ? उनी त राजाप्रति वफादार व्यक्ति नै हुन् । बीपी कोइरालाको निकट रहेर काम गरे पनि अन्त्यमा धोका दिएर राजाको पक्षमा लागेकै हुन् । धेरै राजनीतिज्ञ यस्तै अविश्वसनीय छन्, जो आज एउटासँग, भोलि अर्कैँसँग पुग्छन् ।’
यस कृतिको अर्को महत्त्वपूर्ण पक्ष लेखकको कुची हो । उनले प्रसंग अनुसारका राम्रा चित्र बनाएका छन् । चाँगुनारायणलगायत कतिपय ऐतिहासिक पुरातात्त्विक महत्त्वका स्थलहरूमा पुग्दा उनले देखेका मूर्ति, चित्रकला मात्र होइन, प्राचीन अभिलेखका लिपिहरूसमेत जस्ताको तस्तै नक्कल गरेका छन् । कतिसम्म भने उनले सपनामा देखेका कुरालाई समेत विपनामा लिपि र चित्रमा उतारेका छन् । नेपालीमा यस्ता कृति सायदै पढ्न पाइन्छ ।
बीपी कोइरालाको राजनीतिक संघर्षको गहिरो छाप ती किशोरमा परेको देखिन्छ । त्यसैगरी, तत्कालीन पञ्चायती व्यवस्थाका अनुदार व्यवहारप्रति विद्रोहको बीउ पनि सँगसँगै हुर्किंदै गरेको छनक उनमा पाइन्छ । साहित्य, कला र अन्तर्राष्ट्रिय मामिलाहरूमा उनको बढी रुचि देखिन्छ । साहित्यका सन्दर्भमा यदुनाथ खनालको सारगर्भित विचारबारे समाचारको सार उनले यसरी खिचेका छन्, ‘पूर्वीय साहित्य कोमल छ र पश्चिमा कठोर छ । पाश्चात्य साहित्यमा हत्या, हिंसा, प्रतिहिंसा, विद्रोह, मृत्यु र वियोग बढी छ भने पूर्वीयमा दया, माया, संयोगजस्ता विशेषता छन् ।’
सारत: यो पुस्तकले प्रौढहरूका लागि ४७ वर्षअघिको मुलुकको दैनिकीको याद दिलाउँछ । बालबालिकालाई लेख्ने बानी र सीपप्रति आकर्षित गर्नेछ । खास गरी स्कुले बालबालिकामा लेखकीय सीप, रचनात्मक क्षमता र शब्दभण्डार बढाउन पनि यसले मद्दत पुर्याउनेछ । त्यसैले हरेक विद्यालयका पुस्तकालयमा यो पुस्तक राख्ने हो भने धेरै बालबालिकालाई कलम र डायरी समाउन प्रेरित गर्नेछ ।
नेपाल, प्रकाशित: पुस २, २०७२
No comments:
Post a Comment