छेउमा शव लडिरहेको छ । गलफत्ती गर्ने परिस्थिति रहेन । अस्पतालको दबाबसामु हाम्रो केही लागेन ।
अस्पतालको ‘ब्ल्याकमेल’
यस वर्ष लगालग दुई जना आफन्तलाई अस्पतालबाट घर फर्काउन सकिएन । काठमाडौँका धेरै अस्पताल र क्लिनिक चहारियो । धेरै डाक्टरहरूको साक्षात्कार गरियो । निर्दयी मृत्युलाई पराजित गर्न सकिएन । तर, अस्पताल र स्वास्थ्यकर्मीहरूका केही व्यवहार भने चर्चायोग्य लाग्यो ।
पछिल्लोपल्ट हाम्रो एउटा बिरामीको ज्यान गयो, जावलाखेल, ललितपुरको नेसनल क्यान्सर अस्पतालमा । बिरामीको मृत्युपछि अस्पतालको व्यवहार भने अनौठो लाग्यो ।
अस्पताल प्रशासनले जिम्मेवार व्यक्तिलाई बिरामीको प्रकृति, उपचारका प्रयास, त्यस क्रममा भएका खर्चको हिसाब बुझाउन आवश्यक ठानेन । बरू, एकैपटक केही कागजातमा कुरुवालाई सही गर्न दबाब दियो । खाली कागज देखेपछि हामी अलमलियौँ । प्रश्न गर्यौँ, ‘किन खाली कागजमा सही गर्नुपर्ने ?’ अस्पताल कर्मचारीको जवाफ थियो, ‘हामीले भनेपछि गर्नूस् न !’ हामीले अडान लियौँ, खाली कागजमा सही गर्दैनौँ । एकछिनको नोकझोँकपछि विषय सेलायो ।
भोलिपल्ट बिहानै अन्त्येष्टिको तयारी भयो । अस्पताल प्रतिनिधिले त्यही शैली दोहोर्याए । खाली कागजको ठेली ल्याए, सही गर्न भने । सही नगरे शव बाहिर लैजान नदिने र डेथ सर्टिफिकेट पनि नदिने अडान लिए ।
छेउमा शव लडिरहेको छ । धेरै आफन्त जम्मा भइसकेका छन् । गलफत्ती गर्ने परिस्थिति रहेन । अस्पतालको दबाबसामु हाम्रो केही लागेन । कुरा के रहेछ भने ती कागजात खाली बिल रहेछन्, जुन सरकारले दिने अनुदानका लागि पेस गरिँदा रहेछन् ।
उपचारको विश्वसनीयताबारे जाँच गर्ने र सेवाग्राहीलाई आश्वस्त पार्ने निकाय त मुलुकमा छैन । शंकाको सुविधाका साथ डाक्टर र अस्पतालहरूलाई आफ्नो स्वास्थ्य जिम्मा लगाउनुपर्ने नेपालीको बाध्यता छ । तर, राज्यकोषबाट हुने खर्चको पारदर्शिता र अस्पतालहरूको यस खालको गतिविधिको त कुनै निकायले छानबिन गरे हुने नि !
बिरामीलाई नत्थी
प्रसंग अर्कै बिरामी र ललितपुरस्थित एक सरकारी अस्पतालको हो । बिरामीको जाँचपछि डाक्टरले एउटा कागज थमाए । त्यो कागज थियो, नजिकैको प्याथोलोजी ल्याबको नक्सासहित ।
यति मात्र होइन, डाक्टरले बिरामीको अवस्था जाँचमा भन्दा बढी समय उक्त ल्याबको ठेगाना बताउन धेरै समय लगाए । ‘थाहा छ, देखेको छु’ भन्दा पनि उनले भनिरहे, ‘अन्त टाढा नजानूस् है । यहीँ नजिकै छ । सजिलै हिँडेर पुगिन्छ ।’ उनको बोली नम्र थियो । बिरामीले धेरै दु:ख नपाऊन् भन्नेमा उनको चिन्ता देखिन्थ्यो ।
तैपनि, सोधियो, ‘निजामती अस्पतालको ल्याब अलि सस्तो पर्छ कि, डाक्टरसाहेब ?’ उनले तुरुन्तै जवाफ दिए, ‘त्यहाँ थाइराइडको नतिजा ठीक निकाल्दैन ।’ डाक्टरले नै त्यसो भनेपछि हामीले निजामती अस्पताल जाने दुस्साहस गरेनौँ । अरू नाम चलेका निजी र सरकारी ल्याबहरूको नाम लियौँ र त्यता कसो होला भनेर सोध्यौँ । उनले भने, “त्यहाँ त झन् जानै हुँदैन । उसको रिजल्ट पनि मिल्दैन ।”
डाक्टरको कुरो कसरी नपत्याउनू ? उनले सिफारिस गरेको ल्याब गजबै होला भनेर नक्सा पछ्याउँदै गयौँ । पाटन ओम क्लिनिक, लगनखेल पुगियो । भुइँतलाको ढोकैनेर रहेछ, रगतको नमूना संकलन गर्ने ठाउँ । ती स्वास्थ्यकर्मी उही हातले नमूना लिन्थे र रकमको कारोबार पनि आफैँ गर्थे । नमूनाहरू बाहिरै खुला भाँडोमा जम्मा गरेर राखिएको थियो । त्यसमा कुनै स्टिकर वा कोडिङको व्यवस्था थिएन ।
उनीहरूले आफ्नो काम कसरी गर्छन् र विधि पुर्याउँछन् भन्ने हाम्रो टाउको दुखाइको विषय होइनजस्तो लाग्यो । तिरोतारो गरेर हिँड्ने बेलामा बिल थमाए । बिलमा एकमुष्ट रकम लेखिएको थियो । रिपोर्टको नतिजाका लागि मोबाइलमा फोन गर्न सुझाव दिए । कारण रहेछ, त्यहाँ ल्यान्डलाइन नम्बरै रहेनछ । इमेलमा पठाइदिन मिल्छ कि भनेर सोधियो ? जवाफ आयो, “त्यस्तो व्यवस्था छैन ।” दुई दिनपछि मोबाइलमा फोन गरियो, “अहिले म बाहिर छु, पछि गर्नूस् ।” अन्य कर्मचारीको नम्बर माग्दा उनले भने, “मोबाइल बोक्ने अरू साथीहरू पनि बाहिरै हुनुहुन्छ, त्यसैले भनेको ।”
लाग्यो, इमेल–इन्टरनेट र टेलिफोन नचल्ने, बिरामीको गोपनीयता कायम राख्ने र नमूना संकलनस्थलमा बाह्य प्रदूषण नियन्त्रणका कुनै उपाय नअपनाइएको यो ल्याब पनि गज्जबकै रहेछ ।
सुझाव संकलन कि प्रचार ?
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय नाकाबन्दीका सन्दर्भमा सुझाव लिन ११ मंसिरमा केही परराष्ट्र मामिलाका अनुभवी तथा विज्ञहरूलाई मन्त्रालयमै बोलाएछन् । पूर्वमन्त्रीहरू भेषबहादुर थापा, रामशरण महत, प्रकाशशरण महत, प्रकाशचन्द्र लोहनी, पूर्वराजदूतहरू केदारभक्त माथेमा, राजेश्वर आचार्य, हिरण्यलाल श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठ, शम्भुराम सिम्खडा, सुन्दरनाथ भट्टराई, ताराबहादुर थापालगायत मन्त्रालयमा पुगे । तर, त्यहाँ केही पूर्वराजदूत मन खोलेर सुझाव दिनै हच्किए ।
कारण थियो, कार्यक्रमको शैली । त्यहाँ मन्त्रीले सुझाव लिनेभन्दा पनि भाषण र सवाल–जवाफ गरिएको थियो । चारैतिरबाट क्यामेराले उनीहरूलाई घेरिरहेका थिए । विज्ञहरूले नचिनेका अनुहार पनि सभाकक्षमा देखिए । पूर्वमन्त्रीहरूले पालैपालो भाषण गरे । केही आगन्तुकले प्रश्न सोधे । उपप्रधानमन्त्री थापाले आफूले गरेका कामको बखान गरे । अब के कसो गर्ने भन्नेमा उनको चासो खासै देखिएन । केहीले त्यहीँ टिप्पणी गरे, ‘मन्त्रीज्यूले कुरा सुन्न बोलाएको कि सुनाउन ?’ थापाको ‘प्रचार कूटनीति’ चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यलाई पनि बिझेको रहेछ । १७ मंसिरमा बबरमहलस्थित निवासमा पुग्दा उनले भने, “त्यो त पत्रकार सम्मेलनजस्तो भयो । के सुझाव दिनू ? के लिनू ?”
No comments:
Post a Comment