पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, इन्जिनियर राममनोहर श्रेष्ठ र डा पुकारचन्द्र श्रेष्ठ |
तीन फरक विधामा एकाघरका दाजुभाइको उम्दा उपस्थिति
ललितपुर, कुपन्डोल हाइटको भित्री गल्लीबाट उकालोतिर अघि बढ्न खोज्दा ठोक्किन आइपुग्छ, पुरानोजस्तो लाग्ने एउटा फलामे द्वार । त्यहीँभित्र छन्, करिब डेढ रोपनीमा फैलिएको जग्गामा तीनवटा घर, रूखबिरुवा, गमला र लहराहरू, जुन यस क्षेत्रका अरू आवासीय घरआँगनभन्दा खासै भिन्न छैनन् । बाहिरबाट सामान्यजनकै जस्तो देखिए पनि यस परिसरभित्रको उपस्थिति भने भव्य छ, जहाँ देश–विदेशमा ख्याति कमाएका तीन उम्दा प्रतिभाको बास छ । र, तीनै भिन्न विधाका प्रतिभा एउटै बा–आमाका सन्तान हुन् ।
न्याय सेवामा सक्रिय जीवन बिताएका कुलबहादुर श्रेष्ठ, ८५, को बिडो मात्रै थामेनन्, माइला छोरा कल्याण श्रेष्ठ, ६३, ले । ०७२ को समापनसँगै ४० वर्ष ९ महिनाको जागिर–वृत्तिलाई बिसाउँदै गर्दा औसत जागिरे मात्र भएर पनि निस्कँदै छैनन् उनी । इतिहासको आँखीझ् यालमा औसत न्यायकर्मीको कदभन्दा निकै अग्ला देखिनेछन् । प्रधानन्यायाधीशका रूपमा उनको नौ महिने कार्यकाल मात्रै होइन, पछिल्लो एक दशकमा सर्वोच्च अदालतको इजलासमा बसेर नेपालको विधिशास्त्र, न्याय प्रणाली र सुशासनमा पुर्याएको योगदानका कारण पनि उनले बेग्लै चिनारी बनाएका छन् ।
जेठा प्रा राममनोहर श्रेष्ठ, ६५, मुलुकमा भन्दा बाहिर बढ्ता चिनिए । इन्जिनियरिङमा स्नातकोत्तर पढ्न गएका उनी सक्रिय जीवनको ठूलो अंश बैंकक, थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापनमा बिताउन पुगे । उनी निवृत्त भइसकेपछि पनि त्यो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयले सम्बन्धविच्छेद गर्न मानेन । उनलाई एमेरिटस प्रोफेसरको सम्मानजनक पद जीवनपर्यन्तका लागि पहिराइदिएको छ ।
ऊर्जा अर्थशास्त्रीका रूपमा उनले प्राध्यापन मात्रै गरेनन्, निकै गहकिला अनुसन्धान गरे । सयौँ अनुसन्धानकर्तालाई मार्गनिर्देश गरे । धेरै देशका नीति र योजनाहरूको विश्लेषण गरे । ज्ञानको अन्तर्राष्ट्रिय भण्डारमा उनले नेपालीको योगदान र स्थान सुरक्षित गरे । अन्तर्राष्ट्रियस्तरका जर्नलहरूको सम्पादन र प्रकाशन गरे । अनुसन्धानमा आधारित नौवटा पुस्तक प्रकाशित गरिसकेका उनी थप पाँचवटा पुस्तक प्रकाशनको तयारीमा छन् । पछिल्लो कृतिमा उनले दक्षिण एसियाका मुलुकको विद्युत् प्रविधि, योजना र नीतिको विश्लेषण गरेका छन्, जसमा नेपालका एक कहलिएका विद्वान्ले दुई किस्ता रकमसमेत हात पारिसकेर पनि १० वर्षसम्म एक इन्च काम अघि बढाइदिएनन् । अन्तत: पुस्तकबाट नेपाल परिच्छेद नै छुट्न गयो । बेलाबेलामा उनी नेपालका नीति निर्माताहरूलाई आफ्नो ज्ञान र अनुभव बाँड्न पुग्छन् । “हाम्रो काम तत्काल प्रभाव देखिने भन्दा पनि ज्ञानको भण्डारमा रहिरहने प्रकृतिको हो,” उनी भन्छन्, “अनुसन्धान आजको भोलि नै नीति निर्माताले बुझिहाल्छन् भन्ने छैन । वैज्ञानिकले जहिले पनि एक पाइला अघि बढेर सोच्छन् । तत्कालको समाजले पत्याइहाल्दैन ।”
कान्छा भाइ हुन्, डा पुकारचन्द्र श्रेष्ठ, ५२, जसले नेपालमा मानव अंग प्रत्यारोपणको सहज व्यवस्थाका लागि अभियान नै थाले । हाल राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका उनले पढाइ सकेर ६ वर्षसम्म बेलायतमा चिकित्सा अभ्यास गरे । त्यहाँको लोभलाग्दो आम्दानी र जागिर बीचैमा छाडेर आफ्नै देशको सेवा गर्ने प्रतिबद्धताका साथ फर्के । सुविधायुक्त जीवनको खोजीमा विदेश जान मरिहत्ते गर्ने पुस्तासामु उनी एक फरक दृष्टान्त पनि हुन् । त्यसमा पनि सरकारी संरचनाबाटै जनमैत्री स्वास्थ्य सेवा प्रवाहको प्रणाली स्थापना गर्न सकिन्छ भनेर खट्ने एक स्वप्नद्रष्टा र कर्ता पनि हुन् उनी ।
कल्याण सम्झन्छन्, एकपटक उनी कलेज पढ्दापढ्दै बहकिए । पढाइ र घरपरिवारसँग लामो समय विच्छेद भए । त्यतिखेर सञ्चारको सहज साधन भनेकै चिट्ठीपत्र थियो । बाबु कुलबहादुरले पत्र लेखे, ‘मेरो छोरो चोर नै भए पनि सरदार हुन्छ भन्ठानेको थिएँ । यस्तो भगौडा होला भन्ने सोचेकै थिइनँ । धत् !’ उनको मस्तिष्कका जराजरा हल्लिए । “यति कडा चिट्ठी मैले कहिल्यै पढेको थिइनँ,” २२ चैतको साँझ प्रधानन्यायाधीश निवास बालुवाटारमा उनले विगत कोट्याए, “त्यसपछि म पढाइबाट दायाँबायाँ भइनँ ।” पढाइबाट मात्र होइन, उनी कामप्रति पनि उत्तिकै प्रतिबद्ध भए, जुन उनीभित्रको संस्कारमा हुलिदिएका थिए उनकै बुबाले ।
बाग्लुङका रैथाने कुलबहादुर सरकारी जागिरका क्रममा देश चहार्थे । आमा श्रीलक्ष्मीदेवी छोराछोरीको रखबारी गर्थिन् । स्कुलको समयबाहेक एकछिन पनि फुर्सद नमिल्ने गरी ट्युसनको व्यवस्था थियो । “अनि त कहाँ चुलबुल गर्न पाउनू ? बदमासी गर्ने फुर्सदै पाएनन् यिनले,” आफ्ना तिनै ‘भीआईपी’ सन्तानहरूतिर औँल्याउँदै कुलबहादुर भन्छन् । बाबु कुलबहादुरकै सम्झनामा जेठा राममनोहर प्राय: कक्षाका मनिटर हुन्थे । अनुशासनमा बस्न र अरूलाई पनि अनुशासनमा राख्न उनी खप्पिस थिए । सानोमा देखिएको त्यो गुण विकसित भएरै हुनुपर्छ, उनले आजीवन प्राध्यापन रोजे ।
कल्याण भने हक्की स्वभावका कारण परिचित थिए । कहिलेकाहीँ त जागिरे बाबुलाई समेत असहज भइदिन्थ्यो, कल्याणको प्रस्तुति । विद्यार्थी प्रतिनिधिका रूपमा उनले धेरैचोटि पञ्चायतकालीन हाकिमहरूलाई ठटाएका रहेछन् । त्यो वाचाल शैली आज पनि उनको कुशल वक्तृत्वमा प्रकट हुन्छ । कान्छा पुकारमा पनि कल्याणको केही अंश भेट्न सकिन्छ ।
फरक विधाको पारिवारिक सदस्य हुँदाका फाइदा–बेफाइदा दुवै हुने रहेछन् । आफ्नो विषयमा अन्योल हुँदा कसलाई सोध्नु ? कहिलेकाहीँ त घरमा कुराकानीको विषय नै नहुने । एउटाको कुरा अर्काको रुचिमा नपर्ने । फाइदा के भने एउटाको काममा अनावश्यक चासो वा दख्खल नहुने । यसका असली लाभग्राही कल्याण नै भए । भन्छन्, “मेरी श्रीमतीलाई समेत वादी के हो, प्रतिवादी के हो थाहा छैन । परिवारमा पेसाका कुरालाई निरुत्साहित नै गर्यौँ ।”कल्याण र पुकार दाजु राममनोहरलाई रोलमोडल मान्छन् । भन्छन्, “उहाँको क्षमता धेरै नेपालीले थाहा नपाए पनि हामी सबैभन्दा उँचो नाम दाजुकै छ । उहाँको नाम पनि राम, काम पनि राम । हाम्रो रोल मोडल उहाँ नै हो ।”
संयुक्त परिवारमा रहने नेवार समुदायको विशेषताले हुन सक्छ, अहिलेसम्म अंशबन्डाको कुरा उठेको छैन यो परिवारमा । आ–आफैँ कमाउँछन् । आ–आफ्नै चुलो बाल्छन्, खान्छन् । बेलाबेला पारिवारिक जमघट चल्छ । एक समय यस्तो थियो, कुलबहादुर एक्ला कमाउने थिए । गाउँमा खेतीपाती पनि चल्थ्यो । बिस्तारै सक्रिय जनसंख्या बढ्यो ।
एकपटक त यस्तो पनि थियो, कुलबहादुर–कल्याण बाबुछोरा नै न्यायाधीश । कुलबहादुर पेन्सनधारी भएपछि घर कुर्न थाले । ६ वर्षअघिदेखि राममनोहरले अवकाश पाए र घर फर्के । यही महिनाभित्र कल्याण बालुवाटारबाट डेरा सार्दै छन् । सम्भवत: तीन जना पेन्सनधारी विगतभन्दा खुलेर अन्तरक्रिया गर्नेछन् ।
आफ्नो परिवारलाई औसत नेपालीभन्दा बढी चित्रित गर्न नचाहने श्रेष्ठ परिवार सामान्यकै दर्जामा रहन चाहन्छ । आफूलाई धेरै ‘हाइलाइट’ नगर्न अनुरोध गर्दै कल्याण भन्छन्, “हाम्रो योगदान सुदृढ प्रणालीका निम्ति हुनुपर्छ । प्रणालीका अगाडि कर्ता केही होइन । कर्तालाई बिर्सिदिए हुन्छ, प्रणालीलाई सबैले सम्झिने र सम्मान गर्ने संस्कार बसाल्नुपर्छ ।”
नेपाल, प्रकाशित: चैत्र ३०, २०७२
No comments:
Post a Comment