Sunday, February 26, 2017

बाबुरामको कस्मेटिक शक्ति


बाबुराम भट्टराईको नयाँ शक्ति कति नयाँ हुन्छ, त्यो बेग्लै पक्ष छ । तर, उनले आफूलाई नयाँ देखाउन के के गर्दै छन्, त्यो भने हेर्नलायक छ ।

सुरुमा हेरौँ, बबरमहलस्थित नयाँ शक्तिको मुख्यालय । पुरानो घरलाई उनले यसरी चम्काएका छन् कि त्यहाँभित्र पस्ने जो कोहीले भन्छ, यो त हिजोअस्ति मात्र बनेको हो ।

ढोकाहरूमा कलात्मक आकृति कुँदिएका छन् । भुइँमा महँगा कार्पेट बिछ्याइएका छन् । माथि सेतो कलात्मक फल्स सिलिङ र त्यसमा मिल्दा बिजुलीका बल्ब झुन्ड्याइएका छन् ।

घुम्ने कुर्सी, टेबुल र सोफासेटहरूको सजावट उस्तै लोभलाग्दो छ । पुरानो घरलाई यति व्यवस्थित, आकर्षक र कलात्मक बनाउनु सायद बाबुरामको वास्तुचेत मात्रै होइन, उनको जोडजाड (एसेम्बल्ड) शैलीको उम्दा विम्ब पनि हो ।



उनले नयाँ शक्ति अभियान घोषणामा पनि आफूलाई नयाँ देखाउन त्यस्तै अक्कल अपनाए । गैरराजनीतिक व्यक्तिहरूलाई मञ्चमा भेला पारे । यथार्थमा तीमध्ये अधिकांश निजामती र सुरक्षा प्रशासनबाट निवृत्तहरूदेखि कला–मनोरञ्जन क्षेत्रका करिब ‘आउटडेटेड’ सेलिब्रिटीहरू थिए, जो आफैँमा थकित र गलित छन् ।

संगठनलाई चलायमान बनाउन भने उनलाई एमाओवादीबाटै ल्याइएका नेता–कार्यकर्ताको भर पर्नुपरेको छ । मुख्यालयमा हुने भेला र बैठकहरूले यही देखाउँछ । यद्यपि, ‘सो–केस’मा भने सेलिब्रिटी–कस्मेटिक अनुहारहरूलाई कुशलतापूर्वक प्रदर्शन गर्न बाबुराम सफल छन् ।

माओवादी विचार त्यागेको घोषणा गर्दै उनले उदार लोकतन्त्र र समाजवादका दुवै मान्यतालाई ‘एसेम्बल’ गर्ने भनेका छन् । त्यसको परीक्षण समयक्रममा हुने नै छ । तर, प्रधानमन्त्री बनेलगत्तै उनले बढावा दिन खोजेको मुस्ताङ म्याक्स गाडीको उत्पादन नै हुलास कम्पनीले बन्द गरिसकेको छ । चिनियाँ र भारतीय प्रविधिलाई नेपालमा एसेम्बल गर्ने त्यो प्रोजेक्ट फेल हुनुलाई बाबुराम नै फेल भएको भन्न त नमिल्ला । तर, विचार, संगठन, व्यवहार सबै जोडजाड र कस्मेटिक हुने हुन् भने त्यसलाई नयाँ शक्ति नभनी कस्मेटिक शक्ति भने कसो होला ?
१२ वैशाख २०७३, नेपालमा प्रकाशित रामबहादुर रावलको नोटबुकको अंश

No comments:

Post a Comment