Tuesday, August 16, 2011

कांग्रेसको संघीय खाका : पीताम्बर शर्माको नक्कल


नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको सात प्रदेशको संघीय संरचनाबारे कांग्रेसभित्रै नयाँ बहस सुरु भएको छ। संसदीय दलका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित संविधान सुझाव टोलीका तर्फबाट केन्द्रीय समितिमा प्रस्तुत संघीय नेपालको खाकालाई भूगोलविद् पीताम्बर शर्माले अघि सारेको खाकाको नक्कल भन्दै कतिपय नेताहरूले आलोचना गरेका हुन्। आलोचनाको यो क्रम कांग्रेस संसदीय दल, केन्द्रीय समिति हुँदै अनौपचारकि छलफलमा समेत पुगेको छ।

वैशाख पहिलो साता नगरकोटमा आयोजित छलफल कार्यक्रममा राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले समेत 'अहिले आएर पीताम्बर शर्माको हुबहु नक्कल गर्ने, आफैँचाहिँ कांग्रेस किन यतिञ्जेल सुतेर बसेको' भन्दै व्यंग्य कसेका थिए। शर्माले आर्थिक सामथ्र्य र भूगोललाई मूल आधार मानेर सुदूरपश्चिमाञ्चल, कर्णाली, पश्चिमाञ्चल, राजधानी, मध्यमाञ्चल र पूर्वाञ्चल गरी छवटा प्रदेशको खाका तयार गरेका थिए। कांग्रेसको खाका यसैसँग मिल्दोजुल्दो छ। त्यसैले शर्माकै खाकालाई सामान्य हेरफेर गरी सात प्रदेश बनाएको भन्दै कांगे्रसभित्र आलोचना सुरु भएको हो।

कांग्रेसले यो खाका तयार गर्ने क्रममा विज्ञका रूपमा प्राध्यापक खनाल र शर्मालाई समेत सहभागी गराएको थियो। यसअघि कांग्रेसले गोपालमान श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरी राज्य पुन:संरचनाको खाका तयार गरेको थियो। त्यसबारे पार्टीमा सर्वसम्मति हुन नसकेपछि पौडेल समितिलाई नयाँ खाका तयार गर्ने जिम्मेवारी दिइएको थियो। त्यसको पनि अर्काको नक्कल भन्दै आलोचना हुन थालेपछि कांग्रेसले के गर्ने हो ?

No comments:

Post a Comment