४ असार २०७२, दिउँसो। न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलास, सर्वोच्च अदालत।
इजलासमा वकिलको बहस सकिएर न्यायाधीश आदेश दिन ठीक्क परेका थिए। यत्तिकैमा अर्कै मुद्दाको बहसका लागि पक्षहरू इजलास छिर्न थाले। त्यसरी छिर्नेमा कानुन व्यवसायी पनि थिए। त्यसो त खुला इजलासमा को पस्न पाउने र को नपाउने भन्ने हुँदैन। जोसुकैले अदालतमा भएका बहस सुन्न पाउँछन्। इजलासमा उपस्थित हुन पाउँछन्। तर, त्यस दिन न्यायाधीश लालले रुलिङ गरे, ‘विद्वान्हरू आउनुभएको रहेछ। एकछिन बाहिर गइदिनूस् न!’
त्यो सुनेर वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले असजिलो मानेर मुखामुख गरे। न्यायाधीश लालले प्रस्ट पार्न खोजे, ‘मैले अन्यथा भन्न खोजेको होइन। प्राकृतिक प्रकोपको बेला छ। त्यसैले भनेको।’
बीचैमा कसैले प्रश्न गर्यो, ‘के यो घर पनि चर्केको छ र ?’
‘हो, ढल्केको छ,’ अरू कसैले भन्यो।
नेपाल बारका पूर्वअध्यक्ष थापाले ख्यालख्यालमै टिप्पणी गरे, ‘यो घर दक्षिणतिर ढल्केको छ भन्छन्।’
अधिवक्ताद्वय बाहिरिए। केही बेरमा त्यही इजलासबाट अन्तरिम आदेश जारी भयो, ‘दलहरूबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्नू।’
(हेर्नुहोस्, सर्वोच्च अदालतको अन्तरिम आदेशको परकम्प)
सर्वोच्च अदालतको मूल भवन भूकम्पले क्षतिग्रस्त भएकाले हिजोआज मुद्दाको सुनुवाइ पहिला न्यायपरिषद् सचिवालय रहेको एनेक्स भवनमा हुन्छ। लिफ्टलगायत सुविधा पनि छन्, भवनमा। तुलनात्मक रूपमा यो भवन आकर्षक र सुरक्षितजस्तो देखिन्छ। प्राविधिक जाँचपछि नै यहाँ अदालत सारिएको हो। यहाँ पनि सुरक्षाको अनुभूति छैन भने अरू सुरक्षात्मक उपाय अपनाइयोस्। कामना गरौँ, भवन कतै नढल्कियोस्। ढल्केको आभास पनि नहोस्।
No comments:
Post a Comment