Sunday, July 12, 2015

मस्टो मिमांसा

मस्टो संस्कृति र परम्परा 
लेखक :    श्यामबहादुर खड्का

प्रकाशक :    एकता बुक्स

मूल्य :    ४२५ रुपियाँ
पृष्ठ :    ४५०

दैवी सत्ताबारे अध्ययन पंक्तिकारका लागि त्यति लगावको विषय होइन । भजनकीर्तन र पूजा विधि त अझ रुचिबाहिरको कुरा हो । पुस्तक हात पर्दा लागेको थियो, यो मस्टाको प्रशस्ति होला र मस्टो उपासनाको विधि र महत्ताले नै पुस्तकका पाना रंगिएका होलान् । तर, पढ्दै जाँदा त्यो पूर्वधारणा खण्डित मात्रै भएन, विषयवस्तुको गहनता र प्रस्तुतिमा सरलताका कारण आकर्षण बढ्दै गयो । पुस्तकको अर्को आकर्षण के भने लेखकले आफ्नै पारिवारिक संस्कार, संस्कृति र आफ्नै वरिपरिका रहस्यहरूलाई खोतलेका छन् । कैयौँ वर्षदेखि मनमा रहेका जिज्ञासाको जवाफ एउटै पुस्तकमा भेटाउँदाको खुसी र सन्तुष्टिको त कुरै बेग्लै छ ।

वैदिक र पौराणिक साहित्य र शास्त्र, प्राप्त तथ्य र अभिलेख, लोकजीवनमा प्रचलित किम्बदन्तीलगायतको संकलन र तिनको प्रासंगिक व्याख्या पुस्तकका आधार सामग्री हुन् । पुस्तकमा मिथक र किम्बदन्तीहरूको संकलन पढ्दासमेत सुदूर र मध्यपश्चिम पहाडको धरातलीय यथार्थसँगै साक्षात्कार भइरहेजस्तो लाग्छ । मस्टो एउटा देवताको नाम मात्र होइन रहेछ, यो त एउटा बृहत् सभ्यताको आधारस्तम्भ रहेछ । यसका वरिपरि मानवशास्त्रीय विकासक्रमका थुप्रै कडी जोडिएका रहेछन् । सांस्कृतिक अध्ययनका थुप्रै अध्याय समाविष्ट रहेछन् । यसको सिमाना कुनै प्रशासनिक र राजनीतिक भूगोलमा मात्र सीमित रहेनछ, भारतका कुमाउ, गढवालदेखि पन्जाबसम्म फैलिएको रहेछ । नेपालको पहाडी सभ्यताका थुप्रै अनुद्घाटित पाटाहरू यसले बाहिर ल्याएको छ । केही पुराना भ्रम र अस्पष्टताहरूलाई चिरेको छ । केही नयाँ प्रस्तावना दिएको छ । परम्परागत मान्यता र विश्वासकै कुरालाई पनि संगठित र अभिलिखित गरेर एउटा आकार दिएको छ । 


पुस्तक पढ्दा थाहा हुन्छ, हाम्रा देउताका पनि तह र वर्ग छन् । एकले अर्कालाई अह्राउँछन् । एकले अर्कासँग द्वेषभाव राख्छन् । एकलाई अप्ठ्यारो पर्दा सरसहयोग पनि गर्छन् । घात–प्रतिघात छ । शक्तिको संघर्ष छ । वर्गहरूबीचको द्वन्द्व छ । सम्बन्धहरूको उतारचढाव छ । दुर्गा र सुर्मा दिदीबहिनी भए पनि लामो समय सँगै बस्न सक्दैनन् । एक चरणमा गएर उनीहरू छुट्टिन्छन् । छुटिँदा आफू रहे बसेको भूगोलसमेत उठाएर अन्यत्र लैजान्छन् । पाँगरका रूखसमेत आधा उठाएर अर्कै ठाउँमा पुर्‍याउँछन् । यति मात्र होइन, भक्तका गाउँहरू पनि बाँडिन्छन् ।


यस पुस्तकको महत्त्वपूर्ण दाबी, निष्कर्ष वा प्राप्ति भने अहिलेसम्म पश्चिम पहाडको खस सभ्यतामाथि उठाइएको प्रश्नको निरूपण हो । त्यो खस सभ्यता भारतवर्षमा विकसित आर्य सभ्यताभन्दा भिन्न हो वा हिमाल र उच्च पहाडी भूगोलको बीचतिर उत्पत्ति भएको बेग्लै हो ? अथवा, उत्तरतिरबाट छिरेको बोन सभ्यतासँग निकट पो हो कि ? मस्टोजस्तो छुट्टै देवता र उपासना पद्धतिलाई लिएर बेग्लै धर्मको दाबी गर्नेहरू पनि नभएका होइनन् । धामी–झाँक्री मान्ने, प्रकृतिको पूजा गर्ने, मस्टाका नाममा आकृतिहीन देवतालाई कूलरक्षक ठान्ने र दूध–चामल चढाउनेजस्ता विशेषताका आधारमा उत्तरतिरबाट छिरेको बोन निकट सभ्यताका रूपमा व्याख्या गर्न खोजिएको पनि पाइन्छ । 



अधिवक्ता विपिन अधिकारीले खससम्बन्धी सानो पुस्तिका नै तयार पारेका छन्, जुन भारतमा मुगल साम्राज्यताका व्याप्त मुसलमानहरूको आक्रमणबाट बच्न पहाडका कान्लाकान्लामा पुगेको भन्ने धारणाको खण्डनमै केन्द्रित छ । भारतीय आर्यहरूभन्दा खस समुदाय पूर्णत: भिन्न र आर्य सभ्यताभन्दा अलग हो भन्नेको सत्यापनमा उनले सम्पूर्ण तर्क र तथ्य प्रस्तुत गरेका छन् । र, यसको आधारभूत प्रमाणका रूपमा उनले मस्टो देवताको स्वरूपलाई नै मानेका छन् ।


मस्टो पूर्णत: हिन्दुका शास्त्रीय देवताहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको र भगवान् इन्द्रको छोरो जयन्त नै मस्टो भएको लेखकको ठोकुवा छ । १६ दिदी देवी र एक भाइ मष्टा सुदूर र मध्यपश्चिमको दैवी संस्कृतिमा अभिन्न रूपमा गाँसिएका छन् । मष्टाकी माता अर्थात् इन्द्रकी पत्नी मण्डालिनी अष्टमातृकामध्ये एक हुन् । मातृकाहरू ६४ योगिनीका साथ आफ्नो मण्डलमा बसेका हुन्छन् । इन्द्रायणी (इन्द्रपत्नी शची)समेत एक मण्डलकी हर्ताकर्ता भएको हुँदा उनलाई मण्डालिनी भनिएको हो । यिनै मण्डाली अछाम पुग्दा बण्डाली बनेको, कतैकतै मस्टा बण्डाली भनेर एकै देवताका रूपमा समेत मान्ने गरेको लेखकको दाबी छ ।


मस्टो शास्त्रीय हिन्दु देवतामध्येकै एक हो भन्ने लेखकीय निष्कर्षले खस सभ्यता भारत वर्षको हिन्दु आर्य सभ्यताभन्दा भिन्न हो भन्ने तर्कलाई कमजोर पारेको छ । यसअघि बझाङ र त्यस क्षेत्रको संस्कृति–सभ्यताबारे कलम चलाइसकेका बझाङी लेखकले यसका निम्ति अरू तथ्य, तर्क र प्रमाण पेस गर्नुपर्ने पनि हुन सक्छ । यद्यपि, खप्तड, श्रीपाल (साइपाल), सिञ्जा (जुम्ला) र मानाकोट (कालीकोट)जस्ता नेपालका पहाडी सभ्यताका आदिभूमिको प्राचीनता, मौलिकता र लोकजीवनको विशिष्टतालाई नजरअन्दाज गर्न सकिँदैन । लेखकले यसलाई मानवशास्त्रीय पक्षबाट पनि केलाए, अझ जाती हुन्छ । 


यति हुँदाहँुदै पनि सुदूरको एक जैविक विषयवस्तुलाई रोजेर यो पुस्तक तयार पार्ने लेखक खड्काको लेखकीय जमर्को सराहनीय छ । मागल, फाग, उखान टुक्का र तस्बिरलगायत सामग्री संकलन व्यापक रूपमा गरेका छन् । यति हुँदाहँुदै पनि लेखकले आफ्नो पूर्वकृतिको ह्याङओभर र गृहजिल्लाप्रतिको विशेष लगावलाई सन्तुलित गर्न सकेका छैनन् । भाषिक सम्पादन र तथ्यगत संशोधनका लागि प्रशस्तै ठाउँ छ । पुस्तकको कमजोरी के भने जनजीवनमा चलेका मान्यता र विश्वासकै आधारमा लेखकले ठोकुवासाथ फैसला गरिदिएका छन् । सूचनाको स्रोत र सन्दर्भ सामग्रीको उल्लेखमा पनि एकरूपता छैन ।

No comments:

Post a Comment