Thursday, August 6, 2015

लिपुलेक मात्र होइन, लिम्पियाधुरासम्म हाम्रै हो : विवेकशील


विवेकशील नेपाली पार्टीले नेपालको भूभाग लिपुलेक मात्र नभई लिम्पियाधुरासम्म रहेको भन्दै नेपाल सरकारलाई विस्तृत अध्ययन र तयारीका साथ कूटनीतिक माध्यमबाट आफ्नो भूमिमा अधिकार स्थापनाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अहिलेको परिस्थितिमा नेपाल सरकारले सीमा, इतिहास र भूगोलका विज्ञहरु सामेल एक उच्चस्तरीय अध्ययन टोली गठन गरी लिपुलेकको विषयमा गहन अध्ययन र प्रमाण संकलन गरी सोही अध्ययनको निष्कर्षको आधारमा पूर्ण तयारीका साथ भारत र चीनसंग वार्ता गर्न पनि उसले सुझाएको छ ।  

प्रधानमन्त्री सुशील कोइरालालाई २०७२ / ४ /२० गते पठाइएको पत्रमा भनिएको छ, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा गत जेठ १ गते भारत र चीनबीच भएको ४१ बुँदे संयुक्त सम्झौताको २८ नम्बरको बुँदामा लिपुलेक भएर व्यापारिक नाका खोल्ने विषय समावेश भएको विषयमा विवेकशील नेपालीको गम्भीर ध्यानाकर्षण यस अघि नै व्यक्त भइसकेको छ । लिपुलेक मात्रै नभई महाकाली नदीको मुहान लिम्पियाधुरासम्म नेपालको भूभाग हो भन्ने तथ्य सन् १८१६ को सुगौली सन्धि र सर्वे अफ इंडियाद्वारा त्यसै वर्ष तयार पारिएको सीमा नक्साले स्थापित गरिसकेको छ । यद्यपि त्यसपछिका विभिन्न नक्साहरुबाट केही विरोधाभासपूर्ण तथ्यहरु सामुन्ने आएका छन् । यस सम्बन्धमा नेपाल सरकारले औपचारिक रूपमा लिपुलेकलाई ‘त्रिदेशीय विन्दु' मान्दै आएको दु:खद् स्थिति पनि यहाँ स्मरणीय छ ।
 
सीमा सम्बन्धमा कुनै पनि छिमेकीसंग वार्ताको टेबलमा बस्नु अघि हामीले गर्नु पर्ने तयारी, जुटाउनु पर्ने तथ्य / प्रमाणहरुको अत्यन्त महत्वपूर्ण भूमिका रहने भन्दै विवेकशीलले अगाडि लेखेको छ, “ सन् १९६० को मार्चमा चीनले सगरमाथा माथि आफ्नो दाबी पेश गरेको र सोही वर्षको अप्रिल महिनामा चीनका तत्कालीन प्रधानमन्त्री चाउ- एन- लाईले नेपाल भ्रमणमा रहँदा ‘सगरमाथा नेपालकै हो’ भनेर स्वीकारेको इतिहासबाट हामीले पाठ सिक्नु जरुरी छ । कसरी तत्कालीन नेतृत्वले इतिहास शिरोमणि बाबुराम आचार्य लगायतको सहयोग लिएर ‘सगरमाथा नेपालकै हो’ भन्ने तथ्यलाई प्रमाणसहित स्थापित गर्दै चीनलाई समेत मनाउन सफल भयो भन्ने विषय हामी सबैले बुझ्नु उचित हुन्छ ।


No comments:

Post a Comment