Wednesday, June 9, 2010

माधवको रिस झलनाथमाथि !


संविधानसभाको म्याद दुई दिन मात्रै बाँकी रहँदा जेठ १२ गते प्रधानमन्त्री माधव नेपालसँग तीतो वार्ता सकेर तीन दलको दोस्रो चरणको बैठकमा पुगेका प्रचण्डले चर्को आक्रोश र निराशा व्यक्त गरे । प्रधानमन्त्री नेपाल माओवादी लडाकूका शिविर खाली नगरेसम्म राजीनामा नदिने अडानबाट टसमस नभएपछि माओवादी नेताहरू उनीप्रति रुष्ट बनेका थिए । त्यसक्रममा दुई शीर्ष नेताबीच व्यक्तिगत रूपमै आरोप-प्रत्यारोप भएको थियो । त्यही साँझ संविधानसभा भवनमा बसेको तीन दलीय बैठकपछि पनि माओवादी नेताहरू आक्रोशित मुद्रामै निस्िकएका थिए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बैठकबारे जानकारी दिन पत्रकारमाझ उभिइरहँदा अध्यक्ष प्रचण्ड आफ्नो निवास पुगिसकेका थिए ।

प्रचण्डले निवास पुग्नेबित्तिकै एमाले अध्यक्ष झलनाथ खनालसँग टेलिफोन वार्ता गरे । त्यस क्रममा उनले प्रधानमन्त्रीलाई राजीनामासमेत गराउन नसकेको भन्दै खनालमाथि चर्को असन्तोष पोखे । स्रोतका अनुसार, 'यस्तो दक्षिणपन्थी गठबन्धनलाई कतिञ्जेल बोक्न सक्नुहुन्छ' भन्दै प्रचण्डले खनालमाथि आफ्नो भरोसा टुटेको बताएका थिए । स्रोतका अनुसार, पार्टीभित्रबाट प्रधानमन्त्रीलाई राजीनामाका लागि दबाब सिर्जना गर्नुपर्ने सल्लाह प्रचण्ड र खनालबीच त्यसअघि भएको थियो । सडकबाट माओवादी र नागरकि समाजको दबाब, पार्टीभित्रबाट संस्थापनको दबाब परेपछि नेपालको राजीनामा आउने आकलन गरएिको थियो । तर, नेपाल टसको मस नभएपछि प्रचण्डले खनालमाथि आक्रोश पोखेको प्रचण्डनिकट स्रोतको भनाइ छ । प्रधानसेनापतिलाई कारबाही गरेको प्रकरणमा खनालले निर्वाह गरेको भूमिकासमेत सम्झाउँदै अध्यक्ष खनालमाथि प्रचण्डले एकोहोरो असन्तोष पोखेका थिए । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्न सुरुमा सहमति दिएका अध्यक्ष खनालले पछि कारबाही रोक्नका लागि राष्ट्रपतिलाई लेखिएको आठ दलको पत्रमा सही गरेका थिए । नेपाल नेतृत्वको सरकारप्रति अध्यक्ष खनाल सन्तुष्ट नभए पनि पार्टीमा फिर्ता बोलाउन सकेका छैनन् ।

प्रचण्ड आक्रोशित रूपमा प्रस्तुत भए पनि योग साधक खनाल भने संयमपूर्वक प्रस्तुत भएका थिए । उनले अझै समय बाँकी रहेको र निराश भइहाल्नु नपर्ने बताए । म्याद थपेर अगाडि बढ्नुको विकल्प नभएको र त्यसमा सरकार र माओवादी दुवै पक्ष लचिलो हुनुपर्ने खनालले बताएका थिए । खनालनिकट स्रोतका अनुसार, उनले प्रचण्डलाई प्रधानमन्त्रीको राजीनामाको प्रतिबद्धताका लागि आश्वस्त पारेका थिए । केही समयअघि खनालले यसबारे आफूनिकट केन्द्रीय नेताहरूसँग छुट्टै छलफलसमेत गरेका थिए ।

राजनीतिको गाँठो अभmै फुक्न फुकेन



  • जेठ १० गते। व्यवस्थापिका-संसद् सचिवालयले संविधान संशोधन गरी संविधानसभाको म्याद एक वर्ष थप्ने प्रस्तावसहितको सरकारी विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची तयार गर्दै थियो । प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले त्यसअघि नै विरोधको सूचना दर्ता गराइसकेकाले सरकारी विधेयक पारित हुने अवस्था थिएन । दलहरूबीचका विविध पक्षीय वार्ता पनि फलदायी हुन nasakek अवस्थामा ती विधेयकमाथिको संसदीय कारबाही रोक्नु बुद्धिमानी हुनेमा तीन दल सहमत भए । एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले एकाबिहानै बैठक बसेर सरकारी विधेयक र माओवादीको विरोधको सूचनालाई अगाडि नबढाउन सभामुखलाई आग्रह गरे । सभामुख सुवासचन्द्र नेम्वाङले कार्यव्यवस्था परामर्श समितिमार्फत सबै दललाई कार्यविधि छोट्याउन सहमत गराई उक्त दिनको बैठक स्थगित गरे । त्यसपछि लगातार तीन दिनसम्म संसद् बैठक स्थगित गरियो।

  • ११ गते संविधानसभाका प्रमुख तीन राजनीतिक दल सबैले जित्ने सहमतिको साझा बाटो खोजी संविधानसभाको म्याद थप्नेमा सहमत भए । संविधानसभालाई निरन्तरता दिँदै शान्ति र संविधान लेखनलाई निष्कर्ष दिने सहमति भएपछि नेताहरूको मुहारमा केही चमक पनि छायो । प्रधानमन्त्रीको राजीनामाबारे माओवादी मागमा सत्तापक्षीय दलहरू उक्त बैठकमा लचिलो बन्न सक्ने ठाउँ खोज्न सहमत भएका थिए । माधवकुमार नेपाललाई अपमान गरेर भन्दा सम्मानपूर्वक बहिर्गमनको बाटो खोज्ने उनीहरूले बताएका थिए । यसबारे प्रधानमन्त्रीसहित बैठक बसेर भोलिपल्ट टुंगो लगाउने कार्यक्रम तय गरे ।

पछिल्लो एक सातामा दलहरूबीच राजनीतिक गतिरोध फुकाउनका लागि भएका छलफलले देखाएका सकारात्मक संकेत थिए, यी दुई घटना । तर, यही गति र दिशामा राजनीति सजिलै अघि बढेन । करबिकरबि विघटनको सँघारमा पुगेर संविधानसभा जोगियो । जोगाउने कसरत गर्दागर्दै दलहरूले मतो मिलाउन नसकेर जेठ १५ गतेबाट संविधानसभा नरहने हो कि भन्ने आशंका व्याप्त भइसकेको थियो । आशाको ठाउँ विस्तारै निराशाले छोप्तै लगेको थियो । सरकारले संविधानसभाभित्रबाट यसको म्याद नथपिने हो कि भनेर संकटकाललगायत अन्य विकल्पमा समेत छलफल थालिसकेको थियो । अन्तिम क्षणमै भए पनि दलहरूले संविधानसभालाई वैधानिक बाटोबाटै जोगाए । केही आलोचना र सार्वजनिक टिप्पणीका बीच संविधानसभाले थप एक वर्ष संविधान निर्माणका लागि समय पाएको छ । संविधानसभाको म्याद यस्तो समयमा थप भएको छ, जतिखेर दलहरूबीच संवैधानिक र राजनीतिक विषयमा थुप्रै तिक्तता र विवाद यथावत् छन् । नयाँ सहमतिको राष्ट्रिय सरकारको कार्यभार पनि तुरुन्त पूरा गर्नुपर्नेछ । यसले संविधानसभाले आगामी दिनमा पनि सहज गतिमा काम गर्न सक्ला भन्नेमा आशंका जीवितै राखेको छ ।

अनिर्णयका दिन

"हामीले जति सहमति गरे पनि प्रधानमन्त्रीले नै मानेनन् भने के अर्थ ? त्यसैले प्रधानमन्त्रीको उपस्िथतिमा भोलि टुंगोमा पुग्ने सहमति भएको छ," जेठ ११ गते माओवादी केन्द्रीय कार्यालय पेरसिडाँडामा भएको तीन दलीय बैठकमा सहभागी एक कांग्रेस नेताले नाम उल्लेख नगर्ने सर्तमा नेपाललाई भनेका थिए, "सहमति निर्माणका लागि तीनवटै दल केही न केही छाड्न तयार भएका छौँ ।" तर, भोलिपल्टको दिन नेपाली राजनीतिका लागि कठोर सावित भयो । सबेरै भारतीय राजदूत राकेश सुदले प्रधानमन्त्री नेपालसँग कुराकानी गरे । उनले प्रधानमन्त्रीलाई आफ्नो अडानबाट पछि नहट्न सुझाव दिए । नभन्दै दिनभर भएका विभिन्न तहका वार्ताहरू निष्कर्षविहीन भए । प्रधानमन्त्रीसमेतको उपस्िथतिमा बिहानै बसेको तीन दलको बैठकले सहमतिको कुनै सूत्र फेला पार्न सकेन ।

बिहानको बैठक सहमति जुटाउन विफल भएपछि दिउँसो प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहालबीच छलफल भयो । उक्त छलफलमा दुई नेताबीच सहमति हुनु त परै शिष्टाचारसमेत बाँकी रहेन । तिक्ततापूर्ण उक्त छलफलको प्रभाव साँझ बसेको तीन दलीय बैठकमा पर्‍यो । त्यसपछि लामो समय शीर्ष नेतृत्व संवादविच्छेदको अवस्थामा रह्यो भने दोस्रो तहका नेताहरूले विभिन्न चरणमा औपचारकि/अनौपचारकि संवाद जारी राखे ।

१३ गते मात्रै दलहरूले करबि दर्जनपटक आन्तरकि, द्विपक्षीय र बहुपक्षीय छलफल गरे । बिहानै राष्ट्रपतिले शीर्ष नेताहरूलाई शीतलनिवासमा बोलाएर सहमतिमा पुग्न ताकेता गरे । त्यहाँ नेताहरूले सहमति कायम गरी संविधानसभाको म्याद थप्ने वाचा गर्नुपर्‍यो । संविधानसभा भवनबाहिर र सडकमा म्याद थपकै पक्षमा लागेका नाराले दलहरूमाथि थप दबाबको काम गर्‍यो । अन्तर्राष्ट्रिय जगत्ले पनि अन्तिम समयसम्म सहमति गरेर संविधानसभाको म्याद थप्न दबाब दिइरह्यो । अमेरकिी राजदूत स्कट एच डेलिसीले त माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री नेपालबीच सन्देशवाहकको कामसमेत गरििदए ।

सहमतिको दौड

केही महिनादेखि सत्तारूढ दल र माओवादीबीच भएका वार्ता समस्याको चुरोमा भन्दा एकले अर्कालाई कसरी थकाउने र समय लिँदै जाने भन्ने नीतिबाट निर्देशित थिए । समयको दबाब महसुस भएपछि मात्रै गम्भीरतापूर्वक निकासको प्रयास भयो, जतिखेर मुद्दाहरू झनै जकडिन पुगेका थिए । जेठ १२ गते साँझसम्म सत्तारूढ दलहरू माओवादी अन्तिम घडीमै भए पनि संविधानसभाको म्याद थप्न तयार हुन्छ भन्ने बुझाइमा रहे भने माओवादी सत्तारूढ दलहरू राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार हुन्छन् भन्ने अनुमानमै अल्झ्यो । दबाबको तीव्रतामा भइरहेको वृद्धिका कारण १४ गते राती अबेरसम्मका वार्ता प्रभावित भइरहे ।

यसबीच कांग्रेस के कुरामा स्पष्ट थियो भने प्रधानमन्त्री नेपाललाई कांग्रेसको सम्पूर्ण ताकतले बोकेर हिँडे पनि त्यो पर्याप्त थिएन । एमालेकै एउटा हिस्साले प्याकेजमा सहमति नभए राजीनामा नगर्न हौस्याइरहेको थियो भने अर्को ठूलै हिस्सा संविधानसभाको म्याद थप गर्न निकास नआए विद्रोह गर्ने चेतावनी दिइरहेको थियो । फेर ित्यसै राजीनामा पनि कसरी दिने भनेर प्रतिष्ठाको विषय पनि दलहरूले बनाए । प्रतिष्ठाको प्रश्नका बीचमा वार्ता र निकासका प्रयास जारी राखिए । अन्ततः प्याकेजमा सहमति जुटाउने यत्न लम्बिए पनि संविधानसभाको म्याद थपेर एउटा ठूलै राष्ट्रिय संकट टार्न दलहरू सक्षम भएका छन् ।

यसपालि सहमतिको खोजीमा शीर्षस्थभन्दा दोस्रो तहका नेताहरू बढी दौडिए । उनीहरू कहिले आफ्नै पार्टीमा त कहिले दोस्रो दलमा सहमतिका नयाँनयाँ प्रस्ताव र मोडालिटी -ढाँचा) लिएर पुगे । एउटा दलका शीर्षस्थ नेता सहमत भएका बुँदामा अर्को दलका नेताले फरक मत जनाउने, अर्को दलका नेताका प्रस्ताव फेर िअर्को दलले सुन्नै नचाहने स्िथतिसमेत आयो । कतिपय अवस्थामा सहमतिको टुंगो लागेको भन्दै उनीहरूले विजयको अनुभव गरे तर ती बीचैमा तुहिए । पछिल्लोपल्ट जेठ १३ गते साँझ यस्तै अवस्था आयो ।

माओवादी, कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच यस्तै एउटा सहमतिको मोडालिटी बन्यो । त्यसमा राष्ट्रिय सहमतिको नयाँ सरकार निर्माणका लागि बढीमा १० दिनको समयसीमा तोकेर संविधानसभाको म्याद थप्ने बुँदा प्रमुख थियो । कांग्रेसका कृष्ण सिटौला, शेखर कोइराला, एमालेका भरतमोहन अधिकारीलगायतका नेताहरूद्वारा निर्मित सहमतिको यस खाकामा सुरुमा दाहालले सहमति दिए । साथमा उनले एमाले नेता केपी ओलीलाई मनाउन पनि आग्रह गरे । मोटामोटी रूपमा ओली यसमा सहमत भए पनि । उनले केही ठाउँमा फोन घुमाएपछि उक्त प्रस्तावमा सहमति जनाएका थिए । तर, ओलीको जवाफ दाहालकहाँ पुग्दा १३ गते माओवादी स्थायी समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा पहिले नआए संविधानसभाको म्याद नथप्ने निर्णय सार्वजनिक गरसिकेको थियो । ओलीको सन्देश बोकेर साँझ पेरसिडाँडा पुगेका एमाले नेता विष्णु पौडेल र भरतमोहन अधिकारी रत्तिो हात फर्किए ।

त्यसपछि माओवादीले अर्को अस्त्र चलाउन थाल्यो । उसले यसबीच एमालेको संस्थापन -नेपाल नेतृत्वको सरकारप्रति असन्तुष्ट) पक्षसँगको संवादलाई थप घनिभूत बनायो । सत्तारूढ दल एमालेभित्रको किचलोलाई आफ्नो पक्षमा प्रयोग गर्न सकिने आकलनका आधारमा उसले लामो समयदेखिको प्रयासलाई निरन्तरता दिँदै अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेतासँग फरक-फरक ढंगले संवाद अघि बढायो ।

१२ गते तीन दलका विभिन्न चरणका वार्ता असफल भएपछि सहमतिका लागि आतुर माओवादी अध्यक्ष दाहालले टेलिफोन गरी एमाले अध्यक्ष खनाललाई सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आक्रोश र आश्वासन एकैपटक खन्याउन भ्याएका थिए । उनले त्यही सिलसिलालाई भोलिपल्टको साँझ पनि कायम राखे । त्यसपछि खनाल र गौतमले पार्टीभित्र सरकारविरोधी अभियानमा लाग्न आफूनिकट नेता/सभासद्हरूलाई प्रोत्साहित गर्न थाले । संस्थापनको यस योजनाबारे चाल पाएपछि ओली-नेपाल पक्षले १३ गते बिहान ८ बजे बस्ने भनिएको एमाले संसदीय दलको बैठक नै स्थगित गर्न आग्रह गर्‍यो । उक्त बैठक प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै दिनभर बस्न दिइएन ।

१४ गते बिहान बसेको बैठकमा दुवै पक्षका सभासद्बीच चर्काचर्की पर्‍यो । चर्काचर्कीकै बीचमा सरकारी विधेयकको पक्षमा मतदान गर्ने निर्णय भयो । बल्खु स्रोत अनुसार, उपाध्यक्ष गौतमले प्रगतिशील मोर्चाका नाममा ४० सभासद्को अघोषित समूह तयार गरेका थिए । उनीनिकट नेता रामचन्द्र झा सरकारको विरोधमा ९० सभासद् पुर्‍याउने अठोटका साथ गोप्य रूपमा हस्ताक्षर अभियानमा लागेका थिए । अध्यक्ष खनालले यसमा समर्थन जनाए पनि पार्टी नै फुटाएर जान नहुने मत राखेका थिए । संविधानसभाको म्याद पाँच घन्टा मात्रै बाँकी छँदा अन्ततः एमालेका ६० भन्दा बढी सभासद्का नाममा प्रधानमन्त्री बाधक बन्न नहुने भन्दै सभामुखलाई हस्ताक्षरसहितको पत्र बुझाइयो पनि । त्यसको प्रतिवादमा केही केन्द्रीय सदस्यले पार्टी निर्णयबाहिर जान नहुने भन्दै अध्यक्ष खनाललाई अर्को ज्ञापनपत्र बुझाए । उनीहरू नेपाल-ओली पक्षका थिए ।

कांग्रेसमा पनि अन्तिम अवस्थासम्म दुई धार सक्रिय रहे, सरकारको पक्ष र विपक्षमा । केहीले राष्ट्रिय सहमतिको सरकार निर्माणलाई प्राथमिकतासाथ उठाए भने केहीले नेपाल नेतृत्वकै सरकारको निरन्तरताका पक्षमा जोड दिए । विशेष गरी नरहर िआचार्य, शेखर कोइराला, कृष्ण सिटौलालगायत नेताहरूले नरम मार्गको वकालत गरे । माओवादीसँगको वार्तालाई गति दिने काममा यी नेताहरूको सक्रियता निरन्तर रह्यो । कांग्रेसले संस्थागत रूपमा भने सरकारपक्षका छ बुँदामा माओवादी सहमत हुनैपर्ने र त्यसबाहेक कुनै हालतमा सहमति हुन नसक्ने भन्न छाडेन । माओवादी मागका अगाडि घुँडा नटेक्न भन्दै कांग्रेसले अन्तिम अवस्थासम्म पनि प्रधानमन्त्रीको राजीनामाको विपक्षमा आफूलाई उभ्याइरह्यो ।

दलहरूबीच पटकपटक भएका त्रिपक्षीय छलफल निष्कर्षमा पुग्न नसकेपछि पछिल्ला दुई सातायता दुईपक्षीय वार्तालाई घनिभूत रूपमा अगाडि बढाइएको थियो । यस क्रममा माओवादी-कांग्रेस, माओवादी-एमाले, कांग्रेस-एमालेबीच धेरैपल्ट छलफल भए । संविधानसभाको म्याद थप, सहमतिको प्याकेज र आगामी सरकारको बनोट छलफलका विषय बने । तर, ती छलफल सबैका लागि मान्य हुने सूत्र पहिल्याउन विफल बने । माओवादीको मौखिक सहमतिमा कांग्रेस-एमाले आश्वस्त नहुने, कांग्रेस-एमालेका कुरामा माओवादीले लिखित प्रतिबद्धता खोज्ने कारणले पनि सहमतिको प्रयास जटिल बन्यो । धेरैजसो छलफलमा सहभागी कांग्रेस नेता अर्जुननरसिंह केसी भन्छन्, "आपसमा विश्वासको संकट भएपछि सजिला विषयमा पनि सहमति जुटाउनु गाह्रो हुँदोरहेछ ।"

अबको बाटो

संविधानसभाको म्याद थपिए पनि राजनीतिको गाँठो जस्ताको त्यस्तै छ । प्याकेजका लागि तय गरएिका छवटा बुँदामा सहमति नभएसम्म यो गाँठो फुक्ने पनि देखिँदैन । सहमतिका लागि अबका दिनमा कति रफ्तारमा काम हुन्छ भन्ने पनि यकिन छैन किनभने दल र तिनका नेताहरूको प्रवृत्ति यस मामिलामा निकै कमजोर रहेको पटकपटक देखिइसकेको छ । सत्तारूढ दलहरूलाई दबाब दिने माओवादीसँग एक मात्र अस्त्र छ, आफ्नै प्रतिबद्धता कार्यान्वयनमा तीव्रता दिने । तर, माओवादी यही अस्त्र मात्रै प्रयोग गर्छ भन्नेमा विश्लेषकहरू विश्वस्त छैनन् । अब उसले वर्तमान सरकारको नैतिक हैसियत समाप्त भएको, कामचलाउ मात्रै रहेको र तत्काल राजीनामा दिनुपर्ने अवस्था आएको भन्दै भाषण र नाराबाजीको बाटो लिन सक्ने त्यत्तिकै सम्भावना छ । म्याद थपिएपछि पनि दलहरू यसरी आरोप-प्रत्यारोपमा दिन बिताउन थाल्दा सहमतिको प्याकेज सार्वजनिक गर्न त ढिलाइ हुने नै छ, संविधान र शान्ति प्रक्रिया फेर िअनिश्चिततातिर धकेलिनेछ ।

कांग्रेस-एमालेका नेताहरू अझै माओवादीलाई गलाउने 'मुड'मा देखिन्छन् । राष्ट्रपतिको निर्वाचनमा धोका दिएको र यसअघि माओवादीले आफ्नो राजनीतिक लक्ष्यमा पुग्नका लागि अन्य दल, संविधानसभा र शान्ति प्रक्रियालाई उपयोगको साधन बनाएको भन्दै माओवादीलाई गलाउने कांग्रेस-एमालेको साझा स्वार्थ छ । माओवादीका विपक्षमा रहेको यही भावनाले उसको नेतृत्वमा सरकार बन्ने सम्भावना पनि कम छ । "आफ्नो नेतृत्वको सरकारमा अड्डी कस्ने हो भने राजनीतिको गाँठो फुक्न अझ समस्या हुन सक्छ," एमाले नेता प्रदीप ज्ञवाली भन्छन्, "जसको नेतृत्वमा बहुमत पुग्छ, उसैको नेतृत्व सबैले स्वीकार्ने सहमति भएको छ ।"

विश्वासको वातावरण निर्माण गर्न आगामी एक साता दलहरूका लागि पर्याप्त समय हुनेछ । किनभने, धेरै बुँदामा सहमति भइसकेको छ । संविधान निर्माण र शान्ति प्रक्रिया अन्तर्गत गर्नुपर्ने काम र समयको स्पष्ट तालिका तयार भइसकेको छ । "त्यसमा सामान्य हेरफेर हुन सक्छ, धेरै कुरा मिलिसकेको छ," एमालेकै अर्का नेता भरतमोहन अधिकारी भन्छन्, "इमानदार भएर लाग्ने हो भने यही तालिका अबको रोडम्याप हुनेछ ।"

संविधानका अन्तरवस्तु र राज्यको पुनःसंरचनाबारे भने दलहरूले पर्याप्त छलफल गर्नुपर्नेछ । राज्य पुनःसंरचनाका लागि आयोग गठन गर्न दलहरू सहमत भएका छन् । त्यसलाई दिइने कार्यादेश र समयको पनि लगभग टुंगो लागिसकेको छ । शासकीय स्वरूप निर्धारणमा राजनीतिक लेनदेन जरुरी छ भने न्याय प्रणालीसम्बन्धी माओवादी अवधारणा सच्याउनका लागि सबैतिरको दबाब छ । यी कुरा मिलाउन खासै अप्ठ्यारो नहुने संविधानसभाका अधिकारीहरूको विश्वास छ । तर, विगतमा अपनाइएको निर्णय प्रक्रियाको समीक्षा भने जरुरी हुने संवैधानिक समितिका सभापति नीलाम्बर आचार्य बताउँछन् । भन्छन्, "समय नपुगेर मात्रै हो भनेर कार्यतालिका विस्तार गरेर हुँदैन । कुरा कार्यपद्धति, प्रवृत्ति र इच्छाशक्तिको पनि हो ।"

माओवादीले सार्वजनिक रूपमै हिंसा परत्ियाग गर्नुपर्ने अन्य दलको प्रमुख आग्रह छ । माओवादीलाई लोकतान्त्रिक दल बनाउन पहिलो सर्तका रूपमा उनीहरूले त्यो आग्रह अघि सारेका छन् । लडाकू समायोजन र पुनःस्थापनमा माओवादी तत्परतालाई उनीहरूले कसीका रूपमा लिनेछन् । आजसम्म माओवादीबाट खोक्रो प्रतिबद्धता मात्रै व्यक्त भएको टिप्पणी कांग्रेस-एमालेको छ । यहीँनेर माओवादीले अन्य पक्षको विश्वास जित्नुपर्नेछ । संघीयताको आधार, शासन प्रणाली, न्यायप्रणाली, बहुलवादजस्ता विषयमा निष्कर्षमा पुग्न अहिलेसम्मका सहमतिलाई आधार माने पुग्नेछ । अहिलेसम्म माओवादी र अन्य दल/सरकारबीच १५ वटा सहमति भएका छन् । ती दस्तावेजलाई संविधानका मार्गनिर्देशक सिद्धान्त मान्न सकिने संवैधानिक समितिका सभापति आचार्यको भनाइ छ ।

दलहरूबीच भएका औपचारकि/अनौपचारकि समझदारीलाई आधार मान्ने हो भने अब माओवादीले एक साताभित्र कांग्रेस र एमालेका छवटा सर्तमा काम सुरु गरी विश्वासको वातावरण बनाउनुपर्नेछ । सेना समायोजन, राज्य पुनःसंरचना, संविधानका अन्तरवस्तुमा रहेका विवाद मिलाउने पद्धति र संयन्त्रबारे भएका सहमतिलाई औपचारकि र लिपिबद्ध गरी व्यावहारकि रूप दिन जति जाँगर र सक्रियता देखाइयो, संविधान र शान्ति निर्माणको काम त्यत्तिकै सजिलो हुनेछ । राज्य पुनःसंरचना आयोग गठन गरी त्यसलाई तीन महिनाको समयावधि तोक्ने कुरामा दलबीच सहमति भइसकेको छ ।

प्याकेजमा सहमति हुनासाथ प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारका लागि पदबाट राजीनामा गर्ने सहमति दलहरूबीच भएको छ । यसले मोटामोटी एक साता समय लिने अनुमान छ । सत्ता साझेदारीमा धेरैबेर अल्मलिने हो भने संविधान निर्माण र शान्ति प्रक्रिया अझ अल्भिmनेछ । नागरकि समाजका लागि सबैभन्दा धेरै चिन्ताको विषय पनि यही बनेको छ । नयाँ सरकारको नेतृत्व र शक्ति बाँडफाँटको कुरा पनि प्याकेजमै सहमति हुन सके निकास चाँडो आउनेछ । दलहरूबीचका विवाद मिलाउन र आवश्यक छलफल गर्न विशेष कार्यदल गठन गर्न सकिने राजनीतिक विश्लेषक एवं संवैधानिक समिति सभापति नीलाम्बर आचार्य बताउँछन् ।

म्याद थपमा भएको सहमतिले दलहरूभित्र पनि नयाँ प्रकारको बहसले स्थान लिन थालेको छ । माओवादी अध्यक्ष दाहाललाई केही समययता आफ्नै पार्टीभित्र असफल व्यक्तिका रूपमा चित्रित गर्न थालिएको छ । अब प्रधानमन्त्रीको राजीनामा नगराई निःसर्त म्याद थप गर्न तयार भएकामा उनले केन्द्रीय समितिको निर्णयविपरीत गएको अर्को आरोप खेप्नुपर्नेछ । एमाले र कांग्रेसमा पनि सरकार गठनको विषयलाई लिएर आन्तरकि बहसले आकार लिन थालिसकेको छ । यसको स्पष्ट स्वरूप भने बाहिर आइसकेको छैन । अबका राजनीतिक वार्ता र छलफलहरू त्यतैतिर केन्दि्रत हुनेछन् ।

संकटकालको तयारी !

संसद् बैठकको कार्यसूची सार्वजनिक गरएिपछि सिंहदरबारमा मन्त्रिपरष्िाद्को अनौपचारकि बैठक बसेको थियो । बैठकमा संविधान संशोधन विधेयक पारति नहुँदा उत्पन्न हुने परििस्थतिबारे छलफल भयो । संविधानसभालाई जोगाउनका लागि भन्दै सरकारले संविधान संशोधनको आफ्नो विधेयक असफल भएपछि संकटकाल लगाउने तयारी गरेको थियो । सुरक्षा परष्िाद्का सबै पदाधिकारीलाई तयारी अवस्थामा राखिएको थियो । संविधानसभामा विधेयक असफल हुनेबित्तिकै सुरक्षा परष्िाद्को बैठक बसी मन्त्रिपरष्िाद्ले संकटकाल घोषणाको निर्णय गर्ने तयारी भएको थियो । मन्त्रिपरष्िाद्को सिफारसिमा राष्ट्रपतिले संकटकाल घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।

अर्को एक स्रोत अनुसार, संकटकाल नलगाई बाधा अड्काउ फुकाउने धारा प्रयोग गर्नुपर्ने विचारले पनि सरकार र राष्ट्रपति कार्यालयमा ठाउँ पाएको थियो । संकटकाल लगाउँदा जनताका मौलिक हक हनन हुने र यसले आलोचना बढी खेप्नुपर्ने अवस्था आउने भन्दै बाधा अड्काउ फुकाउने धारा प्रयोग गर्नुपर्ने यस मतका पक्षधरको भनाइ थियो । यसतर्फको तयारी अनुसार, मन्त्रिपरष्िाद्को सिफारसिमा राष्ट्रपतिले संविधानसभाको म्याद एक वर्ष थप गरएिको घोषणा गर्ने र त्यसलाई एक महिनाभित्र संसद्को सामान्य बहुमतले अनुमोदन गर्ने रहेको थियो ।

यी दुई विकल्पबारे छलफल चल्दै गर्दा संविधानसभा भवनबाट म्याद थप्ने सहमति भएको सन्देश लिएर साढे १० बजेतिर एमाले नेता केपी ओली बाहिरएिका थिए । यसबीचमा प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति रामवरण यादवसँग पनि परामर्श गरेका थिए । संविधानसभाको म्याद थप हुँदा र नहुँदाको अवस्थाबारे उनीहरूबीच छलफल भएको थियो । सरकारले संविधानसभाभित्रैबाट नयाँ संविधान बनाउन चाहे पनि माओवादीले सर्त तेस्र्याएका कारण समस्या उत्पन्न भएको चर्चा गर्दै नेपालले जस्तोसुकै परििस्थतिमा पनि सरकार संवैधानिक रूपमा अघि बढ्ने बताएका थिए । उनीहरूबीच साँझ ८ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो ।
Issue: 397 २०६७ जेष्ठ १६ May 30, 2010

अन्योलको यात्रा : खड्गो टर्‍यो, संकट कायमै


अन्ततः मुलुक भयानक दुर्घटनाबाट जोगिएको छ । विशेष गरी संविधानसभा अस्तित्वमा आएदेखि नै झाँगिँदै गएको मुख्य राजनीतिक दलहरूबीचको असमझदारीले नेपाली जनताको ऐतिहासिक बलिदानबाट प्राप्त संविधानसभा नै खतरामा परेको अवस्थाबाट मुलुकले उन्मुक्ति पाएको छ । अन्तिम क्षणमै भए पनि राजनीतिक दलहरूले सुझबुझ देखाएर फेरि एकपटक मुलुकको उद्धार गरेका छन्, जसका लागि ती दल र तिनका नेताहरूलाई साधुवाद दिनैपर्छ ।

संविधानसभाले अनाहकमा मृत्युवरण गर्नुपरेको भए मुलुकका अगाडि कालो सुरुङबाहेक अरू केही हुने थिएन । संकट गहिरिँदै जाँदा सबै खाले अतिवादहरूले टाउको उठाउँदै गइरहेका थिए । दोस्रो, गणतन्त्र दिवस र संविधानसभाको अवसानको दिन एउटै हुने खतरा बढिरहेका बेला दक्षिणपन्थी र पुनरुत्थानवादी शक्तिहरूमा जुर्मुराहट देखिएको थियो । उनीहरू दलहरूका विमतिमाथि खेल्न थालिसकेका थिए । कुनै कारणले संविधानसभाको अन्त्य भइदिएको भए त्यस शक्तिले जनताको निराशाको फाइदा लिने सम्भावना बलियो हँुदै गइरहेको थियो । जेठ १४ गते मध्यरातमा दलहरूले एकताको हात मिलाउँदा दक्षिणपन्थी प्रहारको अनिष्ट टरेको छ ।

अर्कोतर्फ, संविधानसभाको असफलता कुरेर बसेको उग्रवामपन्थी धार पनि अहिले जिल्लिएको छ । एकीकृत नेकपा माओवादीको लोकतान्त्रिक रूपान्तरण असफल हँुदा जनताको क्रान्तिकारी भावनाको दोहन गरी अधिनायकत्वपूर्ण एकदलीयता लाद्न सकिने मीठा सपना देखेर रमाइरहेको त्यस शक्तिका लागि दलहरूबीचको अभूतपूर्व एकता ठूलै धक्का हो । जसले मुलुकलाई अन्तहीन अराजकताको दलदलमा फस्नबाट रोकेको छ । संवैधानिक रिक्तता र जटिलताको अवस्थामा सडकबाट सोझै सत्ता कब्जा गर्न सकिने अनुमानहरूले हावा खानु लोकतन्त्रको जित हो । यस घटनापछि मुलुकको नवजात गणतन्त्रको स्वस्थ पालनपोषण हुने र लोकतन्त्र तथा शान्ति दिगो हुने सम्भावना प्रचुर भएको छ ।

सबैभन्दा ठूलो कुरा राष्ट्रिय एकताको अभाव र राजनीतिक मतान्तरको सघनताबीच बढ्दै गएको विदेशी चलखेलबाट पनि मुलुकले त्राण पाएको छ । विभिन्न बहानामा कूटनीतिक मर्यादाहरूको उल्लंघन गर्ने जुन खेल सुरु भएको थियो, अब त्यसमा विराम लाग्ने अनुमान गर्न सकिन्छ । बाह्य शक्तिहरूलाई खेल्ने ठाउँ नै नभएपछि हाम्रो स्वाधीनता र स्वाभिमान बलियो हुने निश्चित छ । मतभेदले शत्रुतापूर्ण स्वरूप ग्रहण गर्दै जाँदा बढ्ने टकरावले हिंस्रक रूप लिने जोखिमबाट पार पाउनु भनेको राज्यविहीनताको खतराबाट पनि पार पाउनु हो । यस अर्थमा जेठ १४ को मध्यरात ऐतिहासिक ठहरिनेछ, जसले राष्ट्रको भविष्यमाथि मडारिएको कालो बादललाई हटाउने दिशामा महत्वपूर्ण काम गरेको छ ।

नेपाली जनताले समयमै संविधान पाउन नसके पनि भयावह अनिष्टको चपेटाबाट मुक्तिचाहिँ अवश्य पाएका छन् । ढिलै भए पनि देशले नयाँ संविधान र अग्रगामी स्वरूप पाउने सम्भावना बढेको छ । अहिलेलाई यो नै ठूलो उपलब्धि हो । तर, यसको अर्थ देश र जनताका सामु रहेका सबै खतरा र चुनौती हटिसकेका भन्नेचाहिँ होइन । हामीले हिँड्दै गर्दा बाटोमा तेर्सिएका तमाम अवरोधमध्ये एउटालाई मात्रै नाघ्न सकेका हौँ, अझै तमाम चुनौती अगाडि छन् ।

खासमा भन्नुपर्दा मुलुक अझै पनि संकटकै भुमरीमा घुमिरहेको छ । मुख्य राजनीति शक्ति र पात्रहरूका बीचको अविश्वास कम भएकै छैन । विश्वासको यो संकट अहिलेको सबैभन्दा ठूलो संकट हो । मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल एकीकृत नेकपा माओवादीको अभीष्टका बारेमा विपक्षी दलहरूमा विद्यमान संशयमा रत्तिभर पनि कमी आएको छैन भने ती दलको यथास्िथतिप्रतिको मोहबाट माओवादी सशंकित छ । यसको अर्थ हो, अबका दिनमा राष्ट्रिय सहमति र एकता प्राप्त गर्न फलामका चिउरा चपाउनुपर्ने हुनसक्छ । निरूपण गरिनुपर्ने भीमकाय मुद्दा र समस्याहरूलाई हेर्दा दलहरूबीच विद्यमान विश्वासको यस्तो संकटले अझै ठूल्ठूला गत्यावरोधको सम्भावनातर्फ औँल्याउँछन् ।

शान्ति प्रक्रियाले आधा बाटो पनि तय गरेको छैन । शिविरमा रहेका माओवादी लडाकूहरूको व्यवस्थापनको गह्रुँगो समस्या अझै ज्यूँकात्यँू छ । राज्य पुनःसंरचना र शासकीय स्वरूपसम्मका गहन मुद्दाहरू अझै अनिणर्ीत छन् । र, माओवादीले आफूलाई लोकतान्त्रिक ढाँचाभित्र अटाउन सकिरहेको छैन भने अरू दलहरू खासगरी आर्थिक-सामाजिक कार्यक्रमका सन्दर्भमा समयले मागे जसरी परिवर्तनको गतिसँग हिँड्न सकिरहेका छैनन् । यस्तो अवस्थामा बाटोमा उमि्रएका काँडा उखेल्दै अगाडि बढ्नु निश्चय नै सजिलो छैन ।

शीघ्रातिशीघ्र लक्ष्यमा पुग्न बाटोमा तेर्सिएका सबैखाले अवरोध हटाउनु आजको आवश्यकता हो । चरम गरिबी र कहालीलाग्दो पछौटेपन छिचोलेर समृद्ध नेपालको निर्माणको अभिभारा अहिलेकै राजनीतिक नेतृत्वको काँधमा थुपि्रएको छ । प्रचुर सम्भावनाको दोहन गर्न अब ढिलो गर्नु हुन्न । राजनीतिक समस्याहरू अब लामो समयसम्म आर्थिक प्रगतिका बाधक बन्नु हुँदैन । विश्वशक्तिका रूपमा उदाइरहेका दुई विशाल छिमेकीबीचका हामीले आत्मसम्मानका साथ आपmनै बुतामा समृद्धिको सगर चुम्न केहिले रोक्छ भने त्यो राजनीतिक अस्थिरता र गतिरोध नै हो । त्यसैले राजनीतिक शक्तिले गम्भीरताका साथ जिम्मेवारीबोध गर्नु आवश्यक छ । जसका लागि सबैभन्दा पहिले सबैले इमानदार हुनैपर्छ ।

एकीकृत नेकपा माओवादीले आपmनो रूपान्तरणको गति बढाएर इमानदारीको प्रमाण पेस गर्नैपर्छ । उसले पूर्ण रूपमा नागरिक दलमा परिणत भई लोकतन्त्रका आधारभूत र शाश्वत मान्यताहरू आत्मसात् गरेर मुलुकको अग्रगामी रूपान्तरणलाई ऊर्जा दिनुपर्छ । गैरमाओवादी राजनीतिक शक्तिहरूले आर्थिक र सामाजिक परिवर्तनको पक्षमा दृढता र स्पष्टता देखाएर इमानदारीको पुष्टि गर्नुपर्छ । छुद्र स्वार्थका लागि वितण्डावाद र आत्मसमर्पणवाद अँगालेर अतिवादतर्फ भासिने काम कसैले पनि गर्नु हँुदैन । राष्ट्रका अगाडि तेर्सिएका समस्याहरू अब सबैका प्राथमिकतामा पर्नुपर्छ । तिनको समाधानमा इमानदारीबाहेक अरू तत्व निणर्ायक हुन सक्दैन ।

टालटुलका लागि मात्रै जेठ १४ को एकता होइन भन्ने प्रमाणित गर्न केही ठोस काम गरेर देखाउनुपर्ने दायित्व सबै प्रमुख दलको हो । राष्ट्रिय सरकारको गठन मात्रैले त्यस्तो दायित्व निर्वाह भएको मानिने छैन । राष्ट्रिय सरकारको गठनअगावै वा सँगसँगै लडाकू व्यवस्थापनको तालिकाबद्ध कार्यसूची प्रकाशमा आएन भने सत्ताको खेल सकिएको मानिने छैन । माओवादीले आफूलाई नागरिक पार्टीमा रूपान्तरित गर्नुपर्ने मागको सम्मान गरेर लडाकू व्यवस्थापनदेखि कब्जा सम्पत्ति फिर्तासम्मका अपेक्षित काम तत्काल गर्नुपर्छ भने अरू दलहरूले माओवादीको आकार र प्रभावलाई स्वीकार गरी शासनमा उसको न्यायोचित सहभागितालाई सुनिश्चित गर्नुपर्छ । राज्य पुनःसंरचना र शासकीय स्वरूपजस्ता थाती रहेका अरू मुद्दामा पनि ती शक्तिहरूले तत्काल स्पष्ट गोचर हुन सक्ने काम गर्नैपर्छ ।

संविधानसभाको म्याद एक वर्ष थपिएको छ । नेपाली जनताको महानताको यो दह्रो प्रमाण हो । दलहरूले विश्वासघातको हद पार गरेर, अर्बौंको राजस्व सखाप गर्दा पनि जनताले क्षमादान गरेका छन् । यसलाई सबै दलले गम्भीरताका साथ लिनुपर्छ । थपिएको एक वर्षको अवधिमा सर्वस्वीकार्य र जनताको स्वामित्वयुक्त संविधान निर्माण गर्न सकेनन् भने संविधानसभाका सबै राजनीतिक दलले जनताको आक्रोश र सजायको भागी हुनुपर्ने निश्चित छ । फेरि म्याद थप्न सकिने भ्रममा परेर सत्ताको खेलमै दल र तिनका नेताहरू रमाइरहे भने दुर्भाग्यलाई कसैले रोक्न सक्ने छैन ।

मुलुकलाई विखण्डन, जातीय अतिवाद र साम्प्रदायिकताबाट बचाउनु पनि अहिलेको प्रमुख कार्यभार हो । सस्तो लोकपि्रयताका लागि संवेदनशीलतामाथि खेलवाड गरी भड्काउने छुद्र प्रवृत्ति त्यागेर दलहरूले विवेकपूर्ण तरिकाले राज्य पुनःसंरचनाको टुंगो लगाउनुपर्छ । बालिग मताधिकारमा आधारित आवधिक निर्वाचन, विधिको शासन, वाक् तथा प्रकाशन स्वतन्त्रता र मानव अधिकारको प्रत्याभूति हुने बहुदलीय शासन प्रणालीबाहेकका अतिकल्पनामा रमाउनुको कुनै अर्थ हँुदैन । त्यसैले, माओवादीलगायत सबै दलले शतप्रतिशत लोकतान्त्रिक राजनीतिक व्यवस्थायुक्त गणतन्त्रको संस्थागत सुनिश्चिततामा आपmना प्रयास केन्दि्रत गर्नु अपरिहार्य छ ।

अन्तमा, मुलुकले दोस्रो गणतन्त्र दिवस मनाएको छ । शिशु अवस्थाको यस गणतन्त्रको रक्षा मात्रै होइन, पालनपोषण पनि गम्भीर चुनौतीको विषय हो । दशकौँको संघर्ष, त्याग र बलिदानबाट प्राप्त गणतन्त्रलाई नेपाली जीवनशैली र विचारपद्धतिसम्म फिजाउन आजैका मितिबाट प्रयास थाल्नु आवश्यक छ । यस्तो प्रयास दल वा तिनका नेताहरूबाट मात्रै होइन, सामाजिक र राष्ट्रिय जीवनका सबै क्षेत्र र फाँट तथा जनताका व्यापक तह र तप्काबाट पनि हुनुपर्छ । सबैको सहकार्य र सत्प्रयासले मात्रै मुलुक अपेक्षित गन्तव्यसम्म पुग्न सक्ने सत्यलाई आत्मसात् नगरेसम्म गणतन्त्र मात्रै होइन, लोकतन्त्रसमेत धरापका बीच बाँच्नुपर्ने विडम्बनापूर्ण अवस्था कायम रहिरहनेछ ।
Issue: 397 २०६७ जेष्ठ १६ May 30, 2010

अब घुम्ती अदालत !


वर्षौंदेखि अदालत धाएर हैरान हुनुभएको छ र लम्बेतान कानुनी प्रक्रिया खेप्दाखेप्दै दिक्क हुनुभएको छ भने अब खुसीको खबर छ ः तपाईंको दैलोमै आएर न्याय छिन्ने दिन आउँदैछ । सरकारद्वारा गठित एक महत्त्वपूर्ण कानुन परमिार्जन कार्यदलले घुम्ती अदालतको खाका सुझाएको छ । यसको कार्यान्वयन हुँदा सानातिना मुद्दामा अदालत गइराख्नुपर्ने छैन ।

परम्परागत कानुनी व्यवस्था, अदालती संरचना एवं अभ्यासका कारण आमजनताले न्याय पाउन नसकेको निष्कर्ष निकाल्दै फौजदारी कानुन परमिार्जन तथा सुधार कार्यदलले हालै यस्तो सिफारसि गरेको छ ।

कार्यदलले अपराध संहिता, फौजदारी कार्यविधि संहिता तथा फौजदारी कसुर -सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको मस्यौदामा घुम्ती अदालतको व्यवस्थामा जोड दिइएको छ ।

विद्यमान कानुनी व्यवस्थाबाट सानातिना कसुरहरू फौजदारी न्याय प्रशासनको मूलप्रवाहबाट बाहिर रहेकाले तिनको समाधान कानुनी बाटोबाट गर्न घुम्ती अदालत आवश्यक रहेको कार्यदलको ठहर छ । यस्ता अदालतले सदरमुकामबाहेका स्थानमा पनि न्यायाधीशलाई पुर्‍याएर संक्षिप्त कार्यविधि अपनाई मुद्दाको कारबाही र किनारा गर्न सक्नेछन् ।

सचिवविरुद्ध सहसचिवहरू

संघीय मामला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयका सचिव प्रमोदकुमार कार्कीको पर्यटन तथा नागरकि उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने रहर अन्तिम अवस्थामा तुहिएको छ । पर्यटनमा सचिव पद खाली भएकाले उनले मन्त्री शरत्सिंह भण्डारीलाई मनाएर त्यहाँ जाने तारतम्य मिलाएका थिए ।
वैशाख १० गतेको मन्त्रिपरष्िाद् बैठकले सचिवहरूको सरुवाका लागि सिफारसि गर्न उपप्रधान तथा भौतिक योजनामन्त्री विजय गच्छदारको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठ र संस्कृतिमन्त्री मीनेन्द्र रजिाल थिए । समितिले सचिव प्रमोदकुमार कार्कीलाई कानुन समूहबाट प्रशासन समूहमा सेवा परविर्तन गरी पर्यटन तथा नागरकि उड्डयनमा सरुवाको निर्णय गरेको थियो । यस निर्णयलगत्तै प्रशासन समूहका एक हूल सहसचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद् कार्यालयमा पुगेर विरोध जनाए । उनीहरूले लिखित रूपमा मुख्यसचिव र प्रधानमन्त्रीलाई विरोधपत्र दिएपछि कार्कीको सरुवा स्थगित भएको छ । प्रधानमन्त्री माधव नेपाल र मुख्यसचिव माधव घिमिरे सहसचिवहरूलाई नचिढ्याउनु जाती हुने भन्दै सरुवाको निर्णय कार्यान्वयन नगर्ने मूडमा पुगेका छन् ।
राजनीतिक भागबन्डा मिलाउन नयाँ मन्त्रालयका रूपमा सिर्जना गरएिको संस्कृतिमा सचिव कार्की जगेडाजस्तै कामविहीन भएर बसेका छन् । खासै धेरै काम नभए पनि दुई सचिव यस मन्त्रालयले धानिरहेको छ । उता, धेरै बजेट, प्रत्यक्ष जनसरोकार तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्बन्धका कारण पर्यटन मन्त्रालय बढी आकर्षण र दायित्व भएको मन्त्रालय मानिन्छ, जुन निमित्त सचिवका भरमा लामो समयदेखि चलिरहेको छ ।

सहचारीको फाइल गायब !


श्रममन्त्री मोहम्मद अफ्ताव आलमले छ देशमा श्रम सहचारी नियुक्तिमा एकलौटी निर्णय गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद् कार्यालयले यसमाथि समानान्तर छानबिन गररिहेका छन् । छानबिनका क्रममा व्यापक खोजी गरिएको एउटा फाइल अहिलेसम्म गायब छ । श्रम सहचारीका मापदण्ड तय गरएिको मन्त्रीस्तरीय निर्णयको सो फाइलका लागि दुवै निकाय अख्तियार र प्रधानमन्त्री कार्यालयबाट ताकेता भइरहेको छ । मन्त्री आलमको निर्णयमा साथ दिने कर्मचारीहरूले उक्त फाइल गायब गरेको हुन सक्ने मन्त्रालय स्रोतको दाबी छ ।

उक्त फाइलमा श्रम सहचारीका लागि कम्तीमा दुई वर्ष श्रम मन्त्रालय वा अन्तर्गतका निकायमा काम गरेको अनुभव हुनुपर्ने मापदण्ड तय गरएिको कागजात छ । मन्त्री आलमको सिफारसिमा परेका सहचारीका उम्मेदवारमा श्रमसँग असम्बन्धित पनि छन् । सहचारी नियुक्तिबारे श्रम र परराष्ट्र मन्त्रालयबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । यही विवादमा मन्त्री आलमले परराष्ट्र सचिव मदनकुमार भट्टराईमाथि दुव्र्यवहार नै गरेका थिए ।

विवादले चर्को रूप लिएपछि प्रधानमन्त्रीले सहचारी नियुक्तिको खाका तय गर्न मुख्यसचिव माधव घिमिरेको अध्यक्षतामा समिति गठन गरेका छन् । श्रम, परराष्ट्र र कानुन मन्त्रालयका सचिवसमेत रहेको समितिले अहिलेको विवाद साम्य पार्ने उपायसमेत सुझाउनेछ । समितिले प्रतिवेदन नबुझाएसम्मका लागि सहचारी नियुक्ति प्रक्रियासमेत स्थगित छ । सहचारी नियुक्तिमा आफूसँग छलफल नगरेको, कानुनबाहिर गएको र श्रमसम्बन्धी दख्खल नभएका उम्मेदवार अघि सारेको भन्दै परराष्ट्रले आलमको निर्णयमा असहमति राख्दै आएको थियो ।

देउवा रिसाएपछि ...



नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीका शीर्षस्थ नेताहरूबीच ठमेलस्िथत वैशाली होटलमा जेठ ४ गते राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा वार्ता भयो । वार्ताका क्रममा सेना समायोजन, संविधानसभाको म्याद थपलगायत विषयमा छलफल भएको थियो । छलफलकै बीचमा राष्ट्रिय सहमतिको सरकार गठन र यसको नेतृत्वबारे प्रसंग उठ्यो । नयाँ सरकारको नेतृत्वको प्रसंगमा आफ्ना धारणा राख्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई बारम्बार सम्बोधन गरे । उनको आशय नेता 'पौडेल पनि प्रधानमन्त्रीका लागि योग्य' भन्ने थियो ।

स्रोतका अनुसार, दिगो शान्ति र जनपक्षीय संविधान निर्माणको सर्तमा सरकारको नेतृत्वको दाबी आफूले छाड्न सक्ने दाहालले बताएका थिए । नयाँ प्रधानमन्त्रीको प्रसंगमा प्रचण्डले पौडेललाई बढी प्राथमिकता दिएपछि देउवा एकाएक उठेर बैठक कक्षबाटै बाहिरएि । उनी बैठक सुरु भएको आधा घन्टामै निस्िकए । करबि दुई घन्टा चलेको बैठकबाट कुनै ठोस निष्कर्ष भने आएन । तर, उक्त बैठकमा माओवादीले पौडेलसामु प्रधानमन्त्रीको पासा फालेको स्रोतको दाबी छ । यसअघि माओवादी आमहडतालका क्रममा दाहालसँग वार्ता भएपछि पौडेलले 'जनभावनाको कदर गर्नुपर्ने' सार्वजनिक अभिव्यक्ति दिएका थिए र त्यही कारण कांग्रेसभित्र उनी आलोचनाको तारो बनेका थिए ।

वैशाली-वार्तामा माओवादीका प्रचण्डलगायत मोहन वैद्य, पोष्टबहादुर बोगटी र कांग्रेसका पौडेललगायत सुशील कोइराला, विमलेन्द्र निधि र कृष्ण सिटौला अन्त्यसम्मै बसेका थिए । माओवादीद्वारा कांग्रेसलाई सरकारको नेतृत्वका लागि प्रस्ताव गरेको हो भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा कांग्रेस नेता सिटौलाले अस्पष्ट जवाफ दिए । "साथीहरूले प्रधानमन्त्रीको पदलाई प्राथमिकतामा राखेका छन् तर प्रधानमन्त्री र मन्त्री फेरँिदैमा समस्या समाधान हुँदैन," सिटौलाले भने । माओवादी नेताहरूले भने देउवाले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको झाँेकमा बैठक छाडेर हिँडेको भन्न थालेका छन् ।

ज्ञान-बजार : आदर्शवचनको ठेली


नेपालको सन्दर्भमा भन्सार धेरै नलेखिएको विषय हो । बरु यो सैद्धान्तिक अध्ययन र चिन्तन-मननभन्दा भ्रष्टाचारका कारण बढी चर्चित र व्यवहृत छ । भन्सार प्रशासनलाई अहिले पनि राजस्व संकलनका सन्दर्भमा मात्रै हेर्ने परम्परागत सोच छ । तर, भन्सारको भूमिका आजको विश्वमा ज्यादै विस्तृत र व्यापक बनेको छ, राजस्वमा योगदान पुर्‍याउनु त भन्सारको एउटा पक्ष मात्रै हो ।

अचेल आधुनिक भन्सारसँग राष्ट्रिय सुरक्षा र अवैध कारोबार नियन्त्रणका विषय पनि जोडिन थालेका छन् । यी पक्षले वातावरण संरक्षण, समाजलाई सुरक्षा प्रदान र मुलुकमा लगानीको वातावरण कायम गर्नेजस्ता व्यापक आयामलाई समेट्छ । त्यसकारण भन्सार प्रशासनलाई आजको अन्तर्राष्ट्रिय सन्दर्भ, प्रविधि र सामाजिक आवश्यकता अनुसार संगठित र परचिालित गर्नुपर्ने आवश्यकता छ । यही आवश्यकतामा जोड दिँदै लामो समय भन्सार प्रशासनको नेतृत्व गरेका एक सरकारी अधिकारीले पुस्तक प्रकाशन गरेका छन्, कस्टम्स् एड्मिनिस्ट्रेसन ः थ्योरी एन्ड प्राक्टिस ।

प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद् कार्यालयका सचिव रामचन्द्रमान सिंहले पुस्तकलाई विषयगत आधारमा आठ खण्ड र १३ अध्यायमा विभाजित गरेका छन् । यसमा भन्सार प्रशासनसँग सम्बन्धित विषयको सैद्धान्तिक र व्यावहारकि पक्षको विवेचना गरएिको छ । लेखकको प्रयास भन्सारका विश्वव्यापी मान्यतालाई नेपाली सन्दर्भमा केलाउने देखिन्छ ।

विषयको परचिय, विकासक्रम र प्रवृत्ति अनि समस्या एवं चुनौती हरेक पुस्तकको कर्मकाण्ड नै मानिन्छ, जसको सकुशल निर्वाह यसमा भएको छ । खास गरी आधुनिक भन्सारले सामना गर्नुपरेका चुनौतीहरूको व्याख्या सविस्तार गरएिको छ । मानव सभ्यता र राज्यहरूको विकाससँग जोडेर गरएिको भन्सारसम्बन्धी ऐतिहासिक प्रस्तुति पुस्तकको रोचक पाटोमध्ये एक हो । यसै क्रममा नेपालको भन्सारलाई पनि प्राचीनकालदेखि हालसम्मको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपले चित्रण गरएिको छ ।

आज तस्करी नियन्त्रण र लागूपदार्थ, हातहतियारजस्ता वस्तुको अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने दायित्व पनि भन्सारलाई छ । वन्यजन्तुका आखेटपोहार, वनस्पतिजन्य उत्पादनको अनियन्त्रित ओसारपसारमा पनि भन्सारको महत्त्वपूर्ण भूमिका हुन्छ । आर्थिक-सामाजिक क्षेत्रमा नयाँनयाँ विषय र अवधारणा, उत्पादनको व्यापार र प्रसार, प्रविधि र प्रवृत्ति दिनदिनै देखापर्दै छन् । यो प्रवाहसँगै राज्यका हरेक संयन्त्र अद्यावधिक बन्नु र त्यस अनुसार आफूलाई हिँडाउनु कठिन चुनौती बनेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा यो चुनौती अझ चर्को रूपमा ठडिएको छ । विश्व व्यापार संगठनलगायत खुला क्षेत्रीय व्यापारमा आबद्धता र व्यापार उदारीकरणको परपि्रेक्ष्यमा भन्सारको समसामयिक भूमिकाका सन्दर्भमा यो अनुभव हुन्छ । अन्तर्राष्ट्रिय व्यापारका प्रक्रियाहरूमा एकरूपता कायम गरी भन्सारले स्थापित अन्तर्राष्ट्रिय मान्यता अनुसार व्यापार सहजीकरण गर्न सक्नुपर्छ । यसका लागि वस्तु वर्गीकरण, मूल्यांकन, जाँचपासपछिको परीक्षण, भन्सारका प्रक्रियाहरू, उत्पत्तिका नियमहरूलगायत पक्षमा विचार गर्नुपर्छ । यी कामको सैद्धान्तिक र व्यावहारकि पक्षबाट व्याख्या गरएिको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित व्यापार सहजीकरण, लागू औषध नियन्त्रण, बौद्धिक सम्पत्ति संरक्षण, व्यापारकि ठगी र अवैध वन्यजन्तु र वनस्पतिको ओसारपसारजस्ता व्यापक क्षेत्रमा भन्सारको भूमिका रहने कुराको व्याख्या भन्सार प्रशासनप्रति चासो राख्ने जो-कोहीका लागि उपयोगी हुनेछ । आर्थिक उदारीकरणले विश्व व्यापारमा पारेको प्रभाव र यसको भन्सारसँगको सम्बन्धबारे चर्चा पनि सान्दर्भिक छ ।

विश्व भन्सार संगठन, विश्व व्यापार संगठनजस्ता संस्थाको परचिय र भूमिकाबारे जानकारीमूलक प्रस्तुति पुस्तकमा समेटिएको छ । यी दुई संस्थाबीचको सम्बन्धका सन्दर्भमा तुलनात्मक अध्ययन यसमा गरएिको छ । विश्व भन्सारको कथा, साफ्टा, बिमस्टेकको परचिय पनि राखिएको छ । भन्सारसम्बन्धी उदाहरणीय कानुन, वन्यजन्तुको अवैध व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, कर्मचारीको छुट्टै आचारसंहिता समावेश गरी पुस्तकका अंग पुर्‍याउने काम गरएिको छ । भन्सारको समग्र पक्षलाई समेटी आगामी दिनका चुनौतीहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर उपयुक्त सुझावसमेत प्रस्तुत गरएिको छ ।

समग्रमा भन्सार प्रशासनमा बढ्दै गएको जिम्मेवारी निर्वाह गर्न आधुनिक प्रविधिसँग परििचत भई त्यस अनुरूप क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता लेखकले पुस्तकमा औँल्याएका छन् । अझै परम्परागत साँचो अनुसार चलेको नेपाली कर्मचारीतन्त्रभित्रकै एक उच्च अधिकारीले आधुनिक भन्सार प्रशासनको भूमिका राजस्व संकलनमा मात्र केन्दि्रत हुन नसक्ने यथार्थलाई स्वीकार गर्नु नै यस पुस्तकको सबैभन्दा ठूलो उपलब्धि र महत्त्वको विषय मान्नुपर्छ । भन्सारमा आधुनिकीकरणको महत्त्व, आवश्यकता र यसले कार्यसम्पादनमा पुर्‍याउने योगदानबारे पनि पुस्तकमा चर्चा छ । भन्सार क्षेत्रमा हुने भ्रष्टाचारका कारक, तिनको निराकरणका उपाय, सदाचार पद्धतिलगायत भन्सारमा जोखिम व्यवस्थापनको आवश्यकता र महत्त्वबारे थुप्रै आदर्शवचनहरू पुस्तकमा परेका छन् । त्यसैले नेपालको सन्दर्भमा भन्दा यो तथ्यपरक विवेचनाभन्दा बढी सुझावपरक बन्न पुगेको छ ।

लेखकको स्वभावसँग पुस्तक तुलनायोग्य छ । सरल र मिजासिलो स्वभावका लेखक सिंह काममा धेरै अग्रसरता लिन रुचाउँँदैनन् । यसलाई व्यावसायिक भाषामा भन्दा 'इनिसिएटिभ' लिने वा लिन खोज्ने व्यक्तिमा उनी गनिँदैनन् । त्यसैले उनले भन्सार विभागको महानिर्देशक हुँदा पनि इतिहास कायम गर्ने वा छाप छोड्ने काम गर्न सकेनन् । उनकै सहकर्मीहरू उनले नियम-कानुन मिच्दैनन् भन्नेमा विश्वास गर्छन् । उनी बोली-वचनले पनि बिगार्दैनन् । त्यसकारण उनको जागिरे जीवनमा खासै धेरै उतारचढाव पनि छैन । अंग्रेजीमा राम्रो पकड जमाएका उनले भाषागत त्रुटि खासै हुन दिएका छैनन् । भन्सारमा के-कसरी काम गरन्िछ भनेर प्रवाह तालिका राख्न सके अझ राम्रो हुन्थ्यो ।

खास विचारणीय कुरो, लेखकको स्वभाव अनुसार ठीकै भए पनि उनको पृष्ठभूमि र कार्यप्रकृतिका आधारमा पुस्तकको अपेक्षा गर्ने हो भने पुस्तक निकै हदसम्म अधुरो देखिन्छ । पुस्तक पढ्दै जाँदा बारम्बार खड्किन्छ, नेपालको भन्सार प्रशासनको चित्र कस्तो छ ? आममानिसको कल्पनामा भन्सार भन्नेबित्तिकै भ्रष्टाचारको अखडाको चित्र आउँछ । समाजका ठूला र प्रतिष्ठित भनिएका व्यक्तिहरूको नाम यसमा जोडिएर आउँछ । तर, यसबारे पुस्तक मौन छ । उनी कसैसँग डराउनुपर्ने अवस्था थिएन । कर्मचारी प्रशासनमा सम्भवतः उनको सबैभन्दा उच्च पद हो यो । मुख्यसचिव बन्ने सम्भावना पनि छैन । किनभने, उनी केही महिनामै निवृत्त हुँदै छन् भने वर्तमान मुख्यसचिवको कार्यकाल अझै धेरै छ ।

भन्सार आफैँमा धेरै नलेखिएको विषय भएकाले उनको यो प्रयास प्राज्ञिक अध्ययनका लागि गतिलो सन्दर्भ सामग्री हुने कुरामा दुईमत छैन । फेर िनेपाल सरकारका सचिव सिंहले आफ्नो अनुभव मात्रै होइन, विषयगत अध्ययनका कारण गहिराइसम्म पुगेर, बुझेर लेखेका छन् । कुनै विद्यालय वा विश्वविद्यालयको पाठ्यपुस्तक हुन्थ्यो भने उनको यस कृतिले छोएका विषय पर्याप्त मान्न सकिन्थ्यो । तर, एक कर्मचारीले जागिरे जीवनका अन्तिम क्षणमा लेख्ने पुस्तक आदर्शवचनको ठेली होइन, यथार्थको खुलासा हुनुपर्छ । सीमामा बसेर मुलुकको रक्षकका रूपमा रहने विश्वव्यापी सञ्जाल भन्सार के वास्तवमै त्यस अनुसार चलेको छ त ? छ भने आमनागरकि किन यसबारे फरक चित्र मस्ितष्कमा बोकेर हिँडिरहेका छन् । छैन भने किन, कसरी र कसका कारणले छैन ? यी प्रश्नको इमानदार प्रस्तुति पुस्तकमा छैन ।

विश्वव्यापी जटिलता, खुला सीमा त एकातिर छँदै छन्, तस्करी, न्यून बीजकीकरण -मूल्यांकन), कर्मचारी र व्यवसायी मिलेमतो, अरू देशमा बिक्री नभएको, म्याद गुज्रेको माल भित्रिने गरेका पर्याप्त घटना सार्वजनिक हुँदै आएका छन् । गत वर्ष विश्व खाद्य कार्यक्रमले नेपालका दुर्गम क्षेत्रका विपन्नहरूलाई बाँड्दै आएको चामल गुणस्तरहीन भएको प्रमाणित हुँदा भन्सार पनि विवादमा मुछिएको र यसले सिंगो नेपाल राज्यकै कर्मचारी प्रशासनका काममा गम्भीर प्रश्न उठाएको थियो । यस्ता घटनाका दोषी र कारक को हुन्छन् ? एउटा भनेर अर्कै सामान भित्र्याउने, अभिलेखमा दर्ता गराएभन्दा घटीबढी सामान ल्याउने प्रवृत्ति त सामान्यजस्तै बनेको छ । यसभित्र पस्ने तत्परता उनले देखाएका छैनन् ।

भन्सार प्रशासनका कर्मचारी, व्यवसायी, भन्सार एजेन्ट एवं राजस्व प्रशासनमा रुचि राख्ने जो-कोहीलाई पुस्तक सहयोगी, ज्ञानबर्द्धक र संग्रहणीय छ । यस विषयमा समसामयिक सन्दर्भसहितको पुस्तकको अभाव खड्किरहेका बेला त्यो पूर्ति गर्न धेरै हदसम्म यसले सहयोग गर्नेछ ।

Wednesday, June 2, 2010

अबको प्रधानमन्त्री को ?

संविधानसभाको म्याद थपिने/नथपिने अन्योलकै बीच राजनीतिक तहमा सरकारको नेतृत्वबारे पनि चर्को मोलमोलाइ भइरहेको छ । रोचक पक्ष के भने कुनै दलविशेषको पोल्टामा नआइसकेको प्रधानमन्त्री पदका लागि दलहरूभित्रै अनेक कसरत सुरु भएका छन्।
माओवादीमा अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डलाई एक मात्र उम्मेदवारका रूपमा अघि सार्न खोजिए पनि पार्टीबाहिर उनको पक्षमा सहानुभूति कम छ । पार्टीभित्र पनि उनी सर्वसम्मत हुन सकेका छैनन् । बरु उपाध्यक्ष बाबुराम भट्टराईलाई बाहिरी माहौलले साथ दिएको छ । उनी शान्तिपूर्ण राजनीतिक लाइनका पक्षपाती मानिन्छन् र पूर्ववर्ती सरकारमा उनले देखाएको शासनकौशलबाट धेरै प्रभावित पनि छन् । तर, उनलाई पार्टीभित्रैबाट असहयोग रहने आशंका छ । संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ पनि आफूलाई दावेदारका रूपमा प्रस्तुत गर्न चाहन्छन् । तर, संगठनमा उनी कमजोर रहेकाले पार्टीको साथ पाउने सम्भावना न्यून छ ।
कांग्रेसका केही नेताहरू 'अब पालो हाम्रो' भन्दै सरकारको नेतृत्वका लागि पार्टीलाई अघि सार्दैछन् । सँगसँगै महाधिवेशनको पनि सन्निकट रहेकाले पार्टी वा सरकार कुन रोज्ने भन्नेमा नेतृत्वमा द्विविधा छ । कांग्रेसमा पार्टी नेतृत्व र सरकारको नेतृत्व हात पार्ने दौड समानान्तर रूपमा चलेको छ । कार्यवाहक सभापति सुशील कोइराला सभासद् छैनन् । उनलाई मन्त्रिपरष्िाद्बाट मनोनयन गरी सभासद् बनाउने प्रयास गरएि पनि त्यसको पक्षमा कमजोर मत छ । संसदीय दलका नेता रामचन्द्र पौडेललाई केही नेताहरूले सरकारको नेतृत्व सम्हाल्न भनिरहेका छन् । माओवादीले प्रत्यक्ष/परोक्ष रूपमा उनलाई प्रधानमन्त्रीका लागि प्रस्ताव पनि गरेको छ । तर, माओवादीले समर्थन दिनेमा पौडेल विश्वस्त नरहेको स्रोतको भनाइ छ । उनले आफ्नो पार्टीका अन्य नेतालाई समर्थन गर्ने सम्भावना पनि कम छ । किनभने, पार्टीभित्र कमजोर सावित भएका नेता प्रधानमन्त्री हुँदा महाधिवेशनसम्म प्रभाव बढाउन सक्ने भय उनमा रहेको कांग्रेस नेताहरू बताउँछन् ।
वरष्िठ नेता शेरबहादुर देउवा खुलेआम कांग्रेसको पक्षमा वकालत गररिहेका छन् । अन्तर्राष्ट्रिय समुदायको समर्थन लिएका भए पनि यिनले आन्तरकि राजनीतिमा नेतृत्वदायी भूमिका सम्हाल्न बढी नै प्रयत्न गर्नुपर्ने देखिन्छ । किनभने, माओवादी विद्रोह दमनका धेरै संयोगजन्य घटनाहरू उनकै नेतृत्वमा भएको विगत छ भने आफ्नै संसदीय दलको निर्वाचनमा पनि उनले पराजय बेहोरेका छन् । यद्यपि, उनको भाषा केही समययता माओवादीप्रति नरम बन्दै गएको छ भने माओवादीले पनि अनौपचारकि रूपमा देउवासामु प्रधानमन्त्रीको प्रस्ताव पुर्‍याएको स्रोतको भनाइ छ ।
माधव नेपाल नेतृत्वको सरकार हटेपछि एमालेमा भने अर्को दावेदार आउने सम्भावना कम छ । यद्यपि, माओवादीले अनिर्वाचित भन्ने वर्तमान सरकारप्रतिको आरोपमा आफ्नो राजनीतिक विजय खोज्ने अन्तिम विकल्प एमालेमै रोज्नुपर्ने अवस्था आएमा भने अध्यक्ष एवं संसदीय दलका नेता झलनाथ खनाल पहिलो नम्बरमा पर्नेछन् । अर्का प्रभावशाली नेता केपी ओली सभासद् नै छैनन् ।
सहमतिको प्याकेजका छ बुँदामध्ये एक राष्ट्रिय सहमतिको सरकार गठनबारे पनि हो । तर, दलहरूबीच सरकारको नेतृत्व कुन दल वा नेताले गर्ने भन्ने टुंगो लाग्न बाँकी नै छ । जे भए पनि अबको मन्त्रिमण्डलको नेतृत्वकर्ता र त्यसका सदस्यहरू पराजितहरू हुनुहँुदैन भन्ने आवाजबाट जनस्तरबाट पनि जोडसँग उठेको छ । नागरिक अगुवा देवेन्द्रराज पाण्डे भन्छन्, "निर्वाचितहरूलाई मात्र ठाउँ दिएर छरतिो मन्त्रिमण्डलमार्फत शान्ति प्रक्रिया टुंग्याउने र संविधान बनाउँदा नेताहरूले जनताको नजरमा गिर्न लागेको छविलाई सुधार्न सक्नेछन् ।"

संविधानसभा जोगाउने यत्न


अन्तरमि संविधानमा तोकिए अनुसार संविधानसभाको म्याद एक साता मात्रै बाँकी छँदा जेठ ७ गते सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन नै गरे। उनले संविधानसभाको म्याद थप्नु नै तात्कालिक संकटमोचनको प्रमुख उपायका रूपमा व्याख्या गर्दै अन्यथा मुलुक गम्भीर दुर्घटनातिर जाने आशंका व्यक्त गरे। सभाध्यक्ष नेम्वाङ अरू दिनभन्दा बढी नै गम्भीर मुद्रामा थिए।

उनको पत्रकार सम्मेलन किन पनि अर्थपूर्ण थियो भने अघिल्लो दिन मात्र प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याद नथप्दा पनि संविधानसभा रहने सार्वजनिक अभिव्यक्ति दिएका थिए भने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले जेठ १४ पछि के हुन्छ भनेर भय-सन्त्रास पैदा गर्ने प्रयास भइरहेको तर दलहरूबीच सहमति हुन नसके पनि कुनै संकट नआउने धारणा सार्वजनिक गरेका थिए। सभाध्यक्ष नेम्वाङ के कुरामा बढी चिन्तित देखिन्छन् भने कतै बस्ती डुब्न लाग्यो भन्दाभन्दै बाढीले बगाएको माझीको कथाजस्तो हुने हो कि भन्ने स्िथति आउन सक्छ । जेठ १४ पछिको स्िथतिको भयावहतालाई न्यून आकलन नगर्न उनको चेतावनी थियो ।

यही मेसोमा सरकारले एक वर्ष म्याद थप्नका लागि संविधान संशोधनको प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता गराएको छ । विधेयक जेठ १० गतेसम्म सभामा पेस गर्ने तयारी छ । घटनाक्रमलाई एकै ठाउँमा राखेर हेर्ने हो भने संविधानसभाको म्याद थप्ने कुरामा सबैजसो राजनीतिक पक्षहरूको मत मिलिसकेको देखिन्छ ।

हुन पनि संविधानसभाको औचित्य अझै रहेको, ०६३ सालमा सम्पन्न जनआन्दोलनपछि प्राप्त परविर्तन एवं उपलब्धि जोगाउन तथा संस्थागत गर्न संविधानसभा जीवित राख्नुपर्ने आवश्यकताबारे सबैको एकमत छ । आशंका के मात्रै रहेको छ भने म्याद थपे पनि सत्ता-छिनाझपटी र सेना समायोजनका झीना प्राविधिक विषयमा दलहरू अल्भिmरहेको अवस्थामा संविधान निर्माण र शान्ति प्रक्रियाको स्पष्ट मार्गमा हिँड्न तयार होलान् कि नहोलान् ?

थुप्रै प्रश्न र आशंकाका बीच पनि दलहरूले एउटा सकारात्मक पक्षलाई आत्मसात् गर्न छाडेका छैनन् । उनीहरू निरन्तर संवादमा छन् । विभिन्न तहका औपचारकि-अनौपचारकि वार्ता जारी छन् । राजनीतिक मूलधारबाहिरका पक्षहरूसमेत सम्भावित राजनीतिक संकटबारे आफ्नो गम्भीर चासो व्यक्त गर्दै सम्बद्ध पक्षको ध्यानाकर्षण, दबाब र मध्यस्थता गररिहेका छन् । गतिहीनताकै बीच पनि सबैतिरको खबरदारीले राजनीतिक क्रियाशीलतामा कमी आउन दिएको छैन । अझ, जटिलता फुकाउन दलहरूले छ बुँदामा केन्दि्रत गरेको छलफलमै रहेर संवादलाई निष्कर्ष दिने प्रयत्न जारी छ । ढिलोचाँडो प्याकेजमै सहमति जुट्नेमा संवादमा सहभागी पात्रहरू पनि आशावादी छन् । तिनैमध्येका एक एमाले नेता प्रदीप ज्ञवाली भन्छन्, "समय यकिन नभए पनि प्याकेजमै सहमति जुट्छ । संवाद सकारात्मक दिशातिरै बढिरहेको छ ।"

संविधानसभाको समयसीमा ज्यादै नजिक आइसक्दा पनि प्याकेजमा सहमति जुट्न नसकेका कारण राजनीतिक वृत्तमा दुर्घटना टार्ने नयाँ उपायको चर्चा सुरु भएको छ । यस अनुसार, संविधानसभाको म्याद थपको विषयलाई मोलमोलाइमा नलगी सबैको साझा आवश्यकता र समान सरोकारको विषय भन्दै प्याकेजबाट बाहिर राखी अलग्गै 'डिल' गरँिदैछ। संविधानसभा विघटन वा निष्त्रिmय हुँदा संकटमोचनको वैधानिक आधारभूमि नै गुम्ने भयले नमिलेका अन्य विषयलाई प्याकेजमा सहमति खोज्ने गरी तात्कालिक समाधानका रूपमा संविधान संशोधन गरी म्याद थप्नुपर्ने विचारले प्राथमिकता पाउन थालेको छ ।

संविधानसभाको म्याद थप्ने कुरालाई कुनै सर्तसँग नजोड्न दलहरू सहमत हुनेमा सभाध्यक्ष नेम्वाङ पनि आशावादी छन् । खास गरी माओवादी पोलिटब्युरो बैठकले जेठ २ गते संविधानसभा प्रतिक्रियावादीहरूको कब्जामा गइसकेको भन्दै आफ्ना न्यूनतम दुई माग पूरा हुनुपर्ने सर्त तेस्र्याएको थियो, प्रधानमन्त्रीको राजीनामा र अन्तरमि संविधानमा सहमतीय प्रणालीबाट सरकार गठनको प्रावधान राख्नुपर्ने । यी सर्त पूरा नहुन्जेल संविधानसभा रहनुको औचित्य नहुने र म्याद थप्नेमा सहमत हुन नसकिने माओवादी निर्णय थियो । त्यस निर्णयमा ऊ अड्न सक्ने कुराको खण्डन माओवादी नेताहरूले नै गरसिकेका छन् । माओवादी सभासद् वर्षमान पुनले व्यवस्थापिका संसद्को बैठकमा संविधानसभाको म्याद थप्ने विषयलाई छुट्टै छलफलबाट टुंग्याउन सकिने भए पनि अन्य दलहरूले वाईसीएल र सम्पत्ति फिर्ताको प्रसंग उठाएपछि आफूहरू सरकार परविर्तनको कुरा उठाउन बाध्य भएको बताएका थिए । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पनि संविधानसभा र शान्ति प्रक्रियालाई भत्किन नदिने बताइसकेका छन् ।

माओवादीले सरकार परविर्तनको सर्त तत्काल छोड्नुपर्ने र उसलाई साथ लिनका लागि अन्य दलले उसको वाईसीएल संरचना भंग र सेनामा समायोजन गर्न सकिने माओवादी लडाकूको संख्या तोक्नुपर्ने सर्तमा लचिलो हुनुपर्ने दबाब पनि एक तहबाट बढिरहेको छ । यी विषयलाई छुट्टै प्याकेजमा छलफल गरी हल गर्नुपर्ने यस उपायका पक्षधरको राय छ । अहिलेकै अवस्थामा संविधानसभाको म्याद थप्दा नेपाल-नेतृत्वको सरकार -जसलाई माओवादीले कठपुतलीको संज्ञा दिएको छ) बलियो रहन्छ भन्ने माओवादी बुझाइ र संविधानसभाको म्याद थप 'आए आँप गए झटारो' भन्ने सरकारपक्षीय नेताहरूको बुझाइ राष्ट्रिय हितविपरीत रहेको कुरामा सहमत गराउने प्रयास जारी छ ।

उता कांग्रेस-एमालेलगायत सरकारपक्षीय दल र नेताहरूलाई जेठ १४ पछिको अवस्थाले उनीहरूको राजनीतिक भविष्य नै अनिश्चित बन्न सक्ने भन्दै '...गए झटारो' भन्दा फरक परिस्िथतिबारे सम्झाउने प्रयत्न भएको छ । माओवादीले आरोप लगाउँदै आएको र सरकारी पक्षले ढुक्कसँग प्रतिवाद गर्न नसकेको वर्तमान सरकारप्रति भारतीय सहानुभूति जुनसुकै अवस्थामा टुट्न सक्ने र उसको छनोट परविर्तन हुँदा अहिलेका सत्तासीनहरू सडकमा पुग्नुपर्ने अवस्थाबारे पनि सम्झाउने प्रयत्न एक तहमा भइरहेको स्रोतले जनाएको छ ।

विभिन्न चरण र तहमा भइरहेका संवाद, जेठ १४ पछिको अनिश्चियताप्रति विभिन्न पक्षहरूले देखाएको गम्भीर सरोकार अनि परविर्तनका साझेदारहरूको आफ्नै कलहका कारण ऐतिहासिक उपलब्धि गुम्ने खतरालाई विचार गर्दा संविधानसभाको म्याद थप्ने कुरामा प्रमुख दलहरू असहमत हुन सक्ने देखिँदैन । अधिवक्ता टीकाराम भट्टराई भन्छन्, "अबचाहिँ हिजोको जस्तो गल्ती गर्दैनौँ भन्ने कुरामा दलहरूले आश्वस्त पार्न छिटो सहमतिको खाका र पत्यारलाग्दो कार्ययोजना सार्वजनिक गर्न सक्नुपर्छ । त्यसको इमानदार कार्यान्वयन पनि सँगसँगै थाल्नुपर्छ ।"

अबको तालिका
  • सरकार परविर्तनः १५ दिन 
  • संविधानका अन्तरवस्तुबारे टुंगो गरी समितिहरूका आठवटा प्रतिवेदन संवैधानिक समितिमा पेस गर्नेः १५ दिन
  • संवैधानिक समितिले सबै सुझावसहित प्रतिवेदनलाई अन्तिम रूप दिनेः ३० दिन
  • संविधानसभाले मस्यौदा गरेको संविधानमाथि जनताको राय संकलनः २ देखि ३ महिना
  • राज्य पुनःसंरचना आयोगलाई संघीयताको खाका तयार गर्नः ३ देखि ४ महिनासम्म
  • मस्यौदामाथिका राय-सुझावलाई समेटी संविधानसभामा अन्तिम विधेयकका रूपमा पेस, पारति र राष्ट्रपतिबाट घोषणा गर्नः ३ देखि ४ महिना
  • अब लाग्ने कुल समयः ४५ साता (मोटामोटी एक वर्ष) ।
(यो तालिका सहमति प्याकेजको दस्तावेज निर्माण कार्यदलका सदस्य र संविधानसभाका अधिकारीसँगको कुराकानीमा आधारति छ ।)

Issue: 396 २०६७ जेष्ठ ९ May 23, 2010

प्रचण्डलाइ नैतिकताको चिन्ता


संविधानसभाको म्याद लम्ब्याउने कुरामा सबैजसो दलहरू सहमत भइसकेका छन् । तर, प्रक्रियाका बारेमा एकीकृत नेकपा माओवादीलाई भने अप्ठ्यारो महसुस भइरहेको छ । सरकारले संविधान संशोधनको खाका तयार गरी विभिन्न पक्षसँग परामर्श सुरु गरेको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि चार दिनमै अन्तरमि संविधान संशोधन हुन सक्ने बताइसकेका छन् । यस अनुसार सरकारले जेठ १० गतेअघि नै विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ ।

तर, यस प्रक्रियामा परेको नैतिक संकटका बारेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अवगत गराएका छन् । वैशाख २९ गते प्रचण्डले सभामुख नेम्वाङसँग भेटी आफू नैतिक संकटमा पर्ने सम्भावनालाई ख्याल गरििदन आग्रह गरे । आफूले कठपुतली भन्दै आएको सरकारले संविधान संशोधनको विधेक पेस गरेमा माओवादीलाई अप्ठ्यारो पर्ने उनको भनाइ रहेछ । संविधानसभाको म्याद थप्न संविधान संशोधन गर्नैपर्ने र सरकारी विधेयकलाई मान्यता पनि दिन नसकिने भएकाले आफू नैतिक संकटमा परेको गुनासो प्रचण्डले गरे । तर, अध्यक्ष नेम्वाङले त्यसको कुनै ठोस प्रत्युत्तर दिएका छैनन् । स्रोतका अनुसार, प्रचण्डले संशोधन विधेयक सरकारका तर्फबाट नभई दलहरूका सचेतकहरूमार्फत ल्याउन आग्रह गरेका छन् । अरू ऐनसम्बन्धमा सरकारले टेबुल गरेका विधेयकमाथिका छलफलमा भने माओवादीले भाग लिँदै आएको छ ।

Issue: 395 २०६७ जेष्ठ २ May 16, 2010

माओवादीका लागि सत्तारोह अझै दुरुह



वैशाख १८ गते। अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन। जतिखेर माओवादी नेताहरू काठमाडौँको टुँडिखेलमा अटेसमटेस जनसभासामु आमहडतालको चेतावनी दिइरहेका थिए, त्यति नै बेला राजधानीको कुनै गोप्य स्थानमा दलहरूबीच सहमतिको खाका तयार हुँदै थियो। झन्डै हस्ताक्षर भइसकेको उक्त सहमतिको खाकाले औपचारकि रूप पाउन सकेन। र, माओवादी नेताका चेतावनीहरू भोलिपल्ट साँच्चिकै यथार्थमा परण्िात भइदिए । माओवादी नेतृत्वलाई त्यतिञ्जेल आमहडताल गर्नुपर्लाजस्तै लागेको थिएन । "त्यही दिन सहमति भइसक्छ भन्नेमा विश्वस्त थियौँ," सहमतिको मस्यौदा तयार गर्न गठित कार्यदलका माओवादी सदस्य वर्षमान पुन भन्छन्।

हुन पनि माओवादीले अन्य दलसँगको वार्ताका लागि त्यसअघि नेताहरूलाई पठाएको थिएन । त्यसअघि कार्यदल र विभिन्न वार्तामा सामेल भएका नेताहरू नारायणकाजी श्रेष्ठ र देव गुरुङले पार्टीको पुरानै लाइनबाट कुरा गर्ने र सहमति सम्भव नहुने ठानेर माओवादीले त्यस दिन बाबुराम भट्टराई र वर्षमान पुनलाई पठाएको थियो । त्यस वार्तामा एमालेका ईश्वर पोखरेल र प्रदीप ज्ञवाली, कांग्रेसका रामशरण महत र कृष्ण सिटौला सहभागी थिए । अघिल्लो साँझ लाजिम्पाटस्िथत एक होटलमा सञ्चारसम्बद्ध संस्थाहरूको आयोजनामा गरएिको शीर्षस्थ नेताहरूको वार्तापछिको पत्रकार सम्मेलनमा गुरुङले पुरानै लाइनबाट पार्टीको धारणा राखेपछि असन्तुष्ट बनेका प्रचण्डले भोलिपल्टको 'निणर्ायक' वार्ताका लागि भट्टराई र पुनलाई पठाएका थिए । त्यो वार्ता फलदायी नभएपछि माओवादी अनिच्छापूर्वक आमहडतालको कार्यक्रम गर्न पुग्यो । विभिन्न समुदायको विरोध र प्रतिकार झेलेपछि उसले छ दिनपछि हडताल फिर्ता लियो ।

हडताल स्थगनपछि दलहरूबीच न त्यस स्तरको वार्ता हुन सकेको छ, न सहमति नै । विभिन्न तहमा भइरहेका अनौपचारकि वार्ताले ठोस निष्कर्ष पहिल्याउन नसकेका कारण आगामी दिनमा राजनीतिक संकटले कुन स्वरूप लिने हो भन्नेमा सर्वत्र अन्योल छ । संविधानसभाको म्याद थपका लागि संविधान संशोधन हुने र माओवादीको प्रमुख माग प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा पनि चाँडै आई राष्ट्रिय सहमतिको सरकार गठनका लागि ढोका खुल्ने अपेक्षा राजनीतिक वृत्तमा छ । तर, राजनीतिक दल र नेपाली राजनीतिका प्रमुख पात्रहरू नै रनभुल्लमा छन् । लचकताका साथ सहमतिका लागि प्रस्तावित खाका अघि सारेपछि माओवादी अन्य दलको प्रतिक्रियाप्रति 'पर्ख र हेर'को स्िथतिमा छ । कांग्रेस, एमालेलगायत राजनीतिक दलहरूले माओवादीले अपेक्षा गरे अनुसार कुनै आशाप्रद प्रतिक्रिया जनाउन सकेका छैनन् । न त प्याकेजमा सहमति हुने कुराबाट उनीहरू निराश नै छन् ।

सहमति चार, असहमति दुई

झन्डै सहमति भनिएको उक्त वार्तामा कांग्रेस-एमाले र माओवादीबीच लामो समयदेखि छलफलमा रहेका चार बुँदामा सहमति भइसकेको थियो । छबुँदे एजेन्डामा १२ बुँदे समझदारीयताका सबै सहमति कार्यान्वयनको समीक्षा, विश्वासको वातावरण निर्माण, राष्ट्रपति कदमबारे समान धारणा, शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठन रहेका छन् । यीमध्ये सेना समायोजन र सरकार गठनको विषयमा पुगेर वार्ता अवरुद्ध भएको थियो ।

विश्वासको वातावरण निर्माण अन्तर्गत माओवादीले द्वन्द्वकालमा कब्जा गरेका सम्पत्ति फिर्ता गर्ने सहमति भएको थियो । यस अन्तर्गत कब्जा सम्पत्तिलाई तीन वर्गमा बाँडिएको छ । त्यसमध्ये एक प्रकारमा माओवादीले नै छाड्न चाहेको छ । तर, कार्यकर्ता चिढिन सक्ने कारणले माओवादीले आफैँ छाड्न सकिरहेको छैन । त्यसमा राज्यले हस्तक्षेप गर्ने र माओवादीले पनि असहयोग नगर्ने सहमति बनेको छ । माओवादीले कार्यकर्ता तहबाट बढी नै विरोध खेप्नुपर्ने अवस्था रहेको कब्जा घरजग्गामा तत्काल हस्तक्षेप नगर्ने सहमति भएको छ । माओवादीले धेरै ठाउँमा सरकारी र निजी घरजग्गामा सुकुमवासी, गरबि र असहायलाई बस्न दिएको छ । तिनलाई तत्काल बल प्रयोग गरी उठीबास लगाउन नसक्ने भएकाले आयोग गठन गरी समाधान खोज्न तीनवटै दल सहमत भएका छन् ।

माओवादी लडाकूको निःशस्त्रीकरण पनि तीन चरणमा पूरा गर्ने कार्यतालिका बनाइएको छ । माओवादीलाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्न माओवादी नेतृत्व आमहडताल स्थगनपछि राजी भएको छ । पछिल्लोपटक अनौपचारकि रूपमा भएका सहमति अनुसार मुलुकभर २८ वटा क्याम्पमा रहेका माओवादी लडाकूहरूलाई निःशस्त्र गरी तीनवटा क्याम्पमा राखिनेछ । सहमति अनुसार, अनमिनको ताल्चा लगाएर कन्टेनरमा राखिएका माओवादीका हतियार सुरुमा नष्ट गरनिेछ । त्यसपछि शिविरभित्र पहरा दिएर बसेका लडाकूका हतियार खोसिनेछ र माओवादी नेताहरूको सुरक्षार्थ खटिएका लडाकू र हतियारलाई पनि फिर्ता गरनिेछ ।

लडाकूहरूलाई पनि स्वेच्छाले निवृत्त हुन चाहने, स्थापित मापदण्डका आधारमा सुरक्षा निकायमा समावेश गरनिे र पुनःस्थापन गर्नुपर्ने लडाकूहरूलाई अलगअलग तीनवटा शिविरमा राख्ने सहमति भएको छ । कुन निकायमा कति लडाकूलाई समायोजन गर्ने भन्नेमा विवाद उत्पन्न भएपछि राष्ट्रिय राजनीति नै अवरुद्ध हुन पुगेको छ । यसमा माओवादीले लडाकूलाई वैयक्तिक रूपमा उनीहरूको इच्छा बुझेर निर्णय लिनुपर्ने अडान लिइरहेको छ भने कांग्रेसले पहिले नै संख्या तोकेर समायोजनको प्रक्रियामा जानुपर्ने सर्त राखेको छ । पुनःस्थापनमा वैदेशिक रोजगार, व्यवसाय, पठनपाठन वा राजनीतिमा र्फकन चाहने र अपांग तथा घाइते भएकाहरूको समूह हुनेछ । तीनवटै शिविर सेना समायोजन विशेष समितिको मातहत रहनेछन् भने माओवादी पार्टीसँगको आबद्धता पनि समाप्त हुनेछ । सुरक्षा निकायमा समायोजन गरनिे लडाकूको संख्या हतियार संख्याका आधारमा हुनुपर्ने अडानमा रहेका कांग्रेस-एमालेले पाँचदेखि छ हजारसम्ममा सहमत हुन सक्ने जनाउ दिएका छन् भने माओवादीले त्यो मानेको छैन ।

लडाकू समायोजनपछि वाईसीएलको अर्धसैनिक संरचना भंग गर्ने सहमति भएको छ । वाईसीएललाई विभिन्न सहरहरूमा रहेका शिविरहरूबाट हटाउन माओवादी सहमत भएको कुरा अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रमबाटै घोषणा गरसिकेका छन् । द्वन्द्वकालमा बेपत्ता भएका नागरकि खोजीका लागि आयोग बनाउने सहमति पनि दलहरूबीच बनेको छ । त्यसको ढाँचा र कार्यतालिका पनि कार्यदलले तयार गरेको छ । लडाकू समायोजन, अर्धसैनिक संरचनाको अन्त्य र कब्जा घरजग्गा फिर्ता भएपछि कांग्रेस-एमालेले माओवादीसँग लोकतान्त्रिक संविधान निर्माणको कार्यतालिका र मितिसमेतमा सहमति लिने भएका छन् ।

राष्ट्रिय सहमतिको सरकार बनाउन खुला छलफल गर्ने एमाले र कांग्रेसको प्रस्तावमा माओवादी लचिलो भइसकेको छ । जसका नाममा सहमति जुट्छ, त्यसैको नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी तयार हुनुपर्ने कांग्रेस-एमालेको अडानलाई लक्षित गर्दै माओवादीले कुनै पार्टी र पात्रविशेषमा आफूले अडान नलिने बताइसकेको छ । यसले राष्ट्रिय सहमतिको दिशामा दलहरूबीचको छलफल अघि बढेको देखिन्छ । सबै दलहरूभित्र आफ्नै तरकिाले नयाँ प्रधानमन्त्रीका उम्मेद्वार र स्वरूपको खोजी हुनु पनि यसैको संकेत मान्न सकिन्छ ।

वैशाख १७ गते बसेको शीर्ष दलहरूको बैठकद्वारा गठित कार्यदललाई लडाकू समायोजनको विषय र संविधान निर्माण कार्यतालिकामा सहमति खोज्न भनिएको थियो । यी विषयमा सहमति भएपछि राष्ट्रिय सहमतिको सरकार निर्माण प्रक्रिया अघि बढ्ने विश्वास नेताहरूले व्यक्त गरेका थिए । भोलिपल्ट बिहानैदेखि कार्यदल छलफलमा जुटेको थियो । शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको संयुक्त सरकार निर्माणको विषयमा छलफल केन्दि्रत भएको थियो । मे दिवसको कार्यक्रमका बीच पनि सहमति जुटाएर आन्दोलन फिर्ता गर्ने प्रयास भएको थियो । कार्यदल स्तरमा सहमति भएपछि साँझ त्यसमा हस्ताक्षर गर्न शीर्ष नेताहरूको बैठक बस्ने तयारी थियो । "लडाकू समायोजनको कार्यतालिकामा सहमति जुटिसकेको थियो," वार्तामा सहभागी एक नेता भन्छन्, "त्यसमा सहमति भइसकेपछि अन्य विषय पनि गाह्रो थिएन ।" तर, समायोजन गर्नुपर्ने संख्यामा कुरा अड्केपछि वार्ता नै अवरुद्ध भयो । भएका सहमतिलाई औपचारकि रूपमा अभिलेखीकरण नगरी अनौपचारिकमै सीमित राखियो । आमहडताल फितर्ा र प्रधानमन्त्रीको राजीनामाको कुरा पनि त्यत्तिकै तामेलीमा पर्‍यो ।

आशंका कायमै

सहमतिका लागि अघि सारेको खाकाले माओवादी लचक देखिए पनि सत्तारूढ दल र तिनका नेताहरूका नजरमा भने माओवादी अझै विद्रोहमार्फत सत्ता कब्जाको तयारीमा छ । कांग्रेस-एमालेले चाहेका न्यूनतम सर्त पूरा गर्न माओवादी तयार भएजस्तो उनीहरूलाई लागेको छैन । माओवादी अहिले सहरी विद्रोह गर्न असफल भए पनि फेर िउसले विद्रोहकै प्रयास गर्न सक्ने उनीहरूको आशंका छ ।

माओवादीले वाईसीएलको अर्धसैन्य संरचना भंग गर्ने भने पनि यो उसको विद्रोहको नयाँ कार्यनीति हुन सक्ने सूचना तथा सञ्चारमन्त्री एवं एमाले सचिव शंकर पोखरेल बताउँछन् । उनका भनाइमा माओवादीले सहरबाट गाउँतिर विकेन्दि्रत गर्ने रणनीति अनुसार वाईसीएलको संरचना भंग गर्ने भनिरहेको छ । सहरकेन्दि्रत वाईसीएल कार्यकर्ताहरू गाउँ गएर कांग्रेस-एमालेका कार्यकर्तामाथि जाइलाग्ने र आक्रमण, अपहरण र हत्याका घटनामार्फत विस्थापनको नयाँ सिलसिला चलाएर सहरलाई 'धक्का' दिन सक्ने उनको भनाइ छ ।

सत्तारूढ दलहरूका दाबीमा माओवादी नै संविधान निर्माणका काममा आलटाल गर्न चाहन्छ । संविधान निर्माणको कामलाई विभिन्न बहानामा ढिलाइ गर्ने र राजनीतिक जटिलता पैदा गर्ने चालमा माओवादी हुनसक्ने आशंका उनीहरूको छ । त्यस्तो अवस्थामा पैदा हुने जटिलताका कारण विद्रोहको बहाना बन्न सक्ने आकलन माओवादीमा पनि गरँिदै छ ।

खासमा अबको माओवादीको बाटो बुद्धिजीवी भेलामा गरएिको भाषणभन्दा प्रान्तीय भेला र प्रशिक्षणमा प्रकट हुने विचारले निर्देशित गर्नेछ । संविधानसभाको म्याद थप्नका लागि ऊ तयार भइसकेको छ । यससँगै अन्य विषयमा पनि उसले मोटो सहमति खोजेको भनाइ अन्य दलका नेताहरूको छ । माओवादीले विगतमा पनि पटकपटक शान्ति सम्झौता र अरू बेला गरेका प्रतिबद्धता अनुसार व्यवहार नदेखाएको आरोप अन्य दलको छ । अहिले पनि माओवादीले भाग्न सकिने वा दोहोरो अर्थ लाग्ने खालको सहमति खोजिरहेको भान कांग्रेस-एमालेलाई भइरहेको छ । कांग्रेस-एमालेसँग अनौपचारकि भेटघाटमा प्रधानमन्त्री पदको आश्वासन बाँड्ने, आश्वासन पाएपछि उनीहरू पनि लचिलो हुने र त्यसपछि आफूले चाहेजस्तो बेहोराको दस्तावेजमा सहमति गराउन सकिने चालमा माओवादी रहेको हुनसक्ने आशंका सत्तारूढ दलहरूको छ ।

अहिले कमजोर सहमतिबाट माधव नेपाललाई प्रधानमन्त्रीबाट राजीनामा गराउने, त्यसपछि प्रधानमन्त्री पद खोसाखोस हुने र अन्तिममा माओवादी आफैँ नेतृत्वका लागि अघि सर्न सक्ने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा अड्कलबाजी चलेको छ । यस्ता अड्कलकर्ताहरू त्यस्तो अवस्थामा माओवादीले जसले समर्थन गर्छ, उसैलाई साथ लिएर बहुमतको सरकार बनाउन सक्ने बताउँछन् ।

अहिले आमहडताल फिर्ताका कारण जनमानसमा राहतको महसुस भएको छ । यसैबीच माओवादीलाई पनि समेटेर राजनीति अघि बढे हुन्थ्यो भन्ने आशयका भावना र विचारहरू प्रकट हुन थालेका छन् । यसले माओवादीले यो सरकारमाथि नैतिक, राजनीतिक र सार्वजनिक दबाब बढाउने र आफूप्रति सहानुभूति बटुल्ने अवसर पाइरहेको छ । यो चरण गुजारेपछि माओवादी फेर िपनि विद्रोहका लागि अनुकूलताको खोजीमा लाग्न सक्ने आशंका उसकै नेताका अभिव्यक्तिहरूले पनि जन्माएको छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भन्छन्, "अहिले माओवादीलाई आत्मसमर्पण गराउन खोजिँदैछ । यही रवैया कायम रहे माओवादी फेर िसंघर्षमा जान्छ ।"

माओवादीले एकातिर सहरी क्षेत्रमा बिग्रेको सम्बन्ध सुधार्ने प्रयास थालेको छ भने अर्कोतिर वाईसीएललगायत विभिन्न तहका कार्यकर्तालाई गाउँकेन्दि्रत गराउनतिर पनि लागेको छ । गाउँतिर माओवादी कार्यकर्ताको व्यवहार आक्रामक रहँदै आएकाले यसबाट द्वन्द्व बढ्न सक्ने आकलन सरकारी पक्षको छ । अहिले माओवादी आन्तरकि छलफल र तयारीमा छ । उसले अहिलेकै सरकारले ल्याउने संविधान संशोधन विधेयकमा सहमति जनाउँदा सरकारको आयु लम्बिने र असहमति जनाउँदा संविधानसभा र शान्तिप्रक्रिया नै जोखिममा पर्ने सम्भावना रहेकाले कसरी अघि बढ्ने भन्नेबारे स्पष्ट मार्गचित्र कोरसिकेको छैन । यद्यपि, कार्यकर्तामा छाएको पराजयको मानसिकता उकास्ने प्रकृतिका कार्यक्रम ल्याउनुपर्ने तयारीमा नेतृत्व रहेको छ । अहिलेकै सरकार कायम रहे माओवादीले गाउँकेन्दि्रत गतिविधिलाई आक्रामक र हिंस्रक बनाएर दबाब सिर्जना गर्न सक्छ । "अवैधानिक गतिविधिबाट झुक्न बाध्य पार्ने माओवादी नीतिको सामना गर्न सके माओवादी रूपान्तरणको बाटोमा र्फकन सक्छ," मन्त्री पोखरेल भन्छन् ।

अहिलेको राजनीतिक संकटले निकास नपाउनुमा दलहरूमा एकअर्काबीच विश्वासको खडेरी कुन हदसम्म बढ्दै गएको छ भने माओवादी शान्तिको मार्गबाट अघि बढे पनि अन्य दलहरू उसप्रति आश्वस्त हुन सकेका छैनन् । माओवादी एक अविश्वसनीय राजनीतिक शक्तिका रूपमा मुलुकभित्र र बाहिरसम्मै चित्रित छ । माओवादी जालझेल, धम्की, घुर्की र उपयोगको नीतिबाट यहाँसम्म आएको भन्दै कांग्रेस-एमालेहरू आगामी दिनमा पनि उसका वचन र व्यवहारमा तालमेल हुन सक्नेमा ढुक्क छैनन् । अहिले प्रतिबद्धता जनाएका कुरा भोलि पूरा नहुँदा त्यसको मार आफैँले खेप्नुपर्ने भएकाले अहिले नै माओवादीलाई गलाउनुपर्ने सल्लाह माओवादीबाहेकका दलहरूको छ ।

सेना समायोजनमा संख्या तोकेर अघि बढ्नुपर्ने सन्दर्भमा कांग्रेस-एमालेका अडानहरू माओवादी नेतृत्व लचक बन्ने नाममा मौखिक सहमति गर्न सकिने र त्यसलाई सार्वजनिक गर्न नहुने प्रस्ताव पनि अघि साररिहेको संवादमा सहभागी नेताहरू बताउँछन् । संख्या तोकेको कुरा बाहिर आउँदा आफूलाई पार्टीभित्रै अप्ठ्यारो पर्न सक्ने तर्क माओवादी नेतृत्वको छ । विशेष गरी कांग्रेस यसमा सहमत हुन सकिरहेको छैन । कांग्रेस नेताहरू यसलाई माओवादी नेतृत्वको चतुर्‍याइँ भन्न रुचाउँछन् । १२ बुँदे समझदारीदेखि नै माओवादीसँग वार्ता गररिहेका कांगे्रसका पूर्वसांसद अमरेशकुमार सिंह भन्छन्, "१० वर्ष लामो विद्रोहसमेत उनकै नेतृत्वमा चलेको, १८ वर्षदेखि नभएको पार्टी महाधिवेशन उनले पटकपटक सार्न र टार्न सकेका छन् । त्यसैले माओवादीको कमान्ड अझै प्रचण्डकै हातमा छ र उनको निर्णय पार्टीपंक्तिले अस्वीकार गर्न सक्ने कुनै अवस्था छैन ।" शान्ति प्रक्रियाजस्तो जनसरोकारको विषय पारदर्शी हुनुपर्ने र यसमा कुनै पनि प्रकारका सहमतिलाई गोप्य राख्न नहुने कांग्रेस नेताहरूको भनाइ छ ।

माओवादीले सरकारमै हुँदा चालेका कतिपय कदमले पनि उसका आलोचकका लागि सत्ता कब्जाको रणनीतिमा रहेको भन्ने आधार दिइरहेका छन् । कर्मचारीतन्त्रमा उथलपुथलपूर्ण सरुवा, प्रहरीमा विवादास्पद ३० वर्षे सेवा अवधिको व्यवस्थामार्फत नेतृत्व परविर्तन र सेनामा दोस्रो वरयिताका जर्नेललाई नेतृत्व सुम्पने प्रयासले माओवादीप्रति शंकाको मात्रा बढाएको हो । लोकतन्त्रका आधारभूत मान्यता शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई चुनौती दिँदै माओवादीले संविधानसभामा पेस गरेको न्यायपालिकासम्बन्धी अवधारणाले लोकतन्त्रवादीलाई झनै झस्काइदिएको छ ।

माओवादीभित्रको अन्तरद्वन्द्वमा पनि दुवै लाइन सत्ता कब्जाको दीर्घकालीन लक्ष्यमा रहेको, एउटा तत्काल विद्रोहको कार्यनीतिमा जोड दिने र अर्को शान्तिपूर्ण मार्गबाट कब्जा गर्नुपर्ने नीतिका पक्षमा रहेको आलोचकहरूको भनाइ छ । अरूप्रति निषेधको नीति लिन्छ भन्ने कुराको दृष्टान्तका रूपमा संविधानसभाको निर्वाचनमा माओवादीले हिंसा र करकापको प्रयोग गर्नु, ०६५ मंसिरमा सम्पन्न खरीपाटी भेलामा प्रस्तुत दस्तावेजमा कांग्रेसलाई प्रमुख वर्गशस्त्रु किटान गर्नु, संविधानसभामा राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउन सक्ने प्रावधानसहितको अवधारणामा प्रस्तुत गर्नुलाई अघि सार्ने गरएिको छ । माओवादी अध्यक्ष दाहाल आफू प्रधानमन्त्री हुँदाहुँदै खरपिाटी भेलाबाट विद्रोहको नीति पारति गरँिदा पनि अन्य पक्षका मनमा चिसो पसेको थियो ।

एकातिर आन्तरकि राजनीतिका प्रमुख पक्षहरूको विश्वास जित्न नसक्नु, अर्कोतिर अन्तर्राष्ट्रिय समुदायले पनि शान्तिपूर्ण प्रतिस्पर्धा र लोकतन्त्रप्रतिका मान्यता र प्रतिबद्धताका कसीमा माओवादीका पाइलापाइला निगरानी गररिहेका कारण माओवादी वास्तवमै अप्ठ्यारोमा परेको छ । त्यसमा पनि नेपाली राजनीतिमा बढी प्रभाव र सरोकार भएको भारत उसप्रति चिढिएका कारण माओवादीको सत्तारोहण आगामी दिनमा पनि दुरुह नै देखिएको छ ।

Issue: 395 २०६७ जेष्ठ २ May 16, 2010

http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=1098

रामचन्द्रको रहर



प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले अनिश्चितकालीन आमहडतालसहितको आन्दोलन घोषणा गरेपछि चिन्तित बनेका सञ्चार सम्बन्धित संस्थाहरू र व्यवसायीद्वारा राजनीतिक सहमतिका लागि दबाब दिन आयोजित 'निणर्ायक बहस'ले दलहरूबीच संवादको शृंखलालाई जोड्यो । उक्त कार्यक्रम देशभरका सबैजसो विद्युतीय सञ्चार माध्यमहरूले प्रत्यक्ष प्रसारण गरे । कार्यक्रमले छापा माध्यममा पनि उत्तिकै स्थान पायो ।

बहस निणर्ायक बन्न नसके पनि केही नेताहरूले त्यसमा भाग लिन नपाएकामा भने चित्त दुखाएछन् । जस्तो- कांग्रेस उपसभापति रामचन्द्र पौडेल त यसबारे गुनासो गर्दै हिँडेका छन् । कांग्रेसबाट उक्त कार्यक्रममा कार्यवाहक सभापति सुशील कोइरालालाई डाकिएको थियो । कोइरालासँग रामशरण महत र कृष्ण सिटौला कार्यक्रममा सहभागी थिए । बहसमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र मोहन वैद्य सहभागी थिए भने एमालेबाट अध्यक्ष झलनाथ खनाल, ईश्वर पोखरेल र प्रदीप ज्ञवाली । प्रमुख नेताले साथमा अरू दुई नेतालाई ल्याउन सक्ने गरी निम्तो दिइएको थियो ।

कार्यक्रममा दलका प्रमुख नेताका रूपमा आफूलाई नबोलाएकामा पौडेललाई पीडाबोध भएको रहेछ । बीबीसीको साझा सवालमा बोल्न पाएपछि भने उनले राहतको सास फेरे । साझा सवाल रेकर्डिङ् सकिएपछि उनले अन्त्यमा आफ्नो थप इच्छा पनि जाहेर गरे, "अब एकपल्ट प्रचण्डसँगै बसेर अन्तर्वार्ता दिन मन छ ।" उनले त्यस दिन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईसँग बहस गरेका थिए । कार्यक्रम सञ्चालक र व्यवस्थापन पक्षको आन्तरकि छलफलमा पौडेलको गुनासोलाई कांग्रेसमा नेताहरूबीच रहेको वैमनष्यता र एकअर्कालाई नेताका रूपमा स्वीकार नगर्ने समस्याका रूपमा पनि अथ्र्याइएको थियो ।

Issue: 394 २०६७ वैशाख २६ May 9, 2010

http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=1061

Tuesday, June 1, 2010

जनदबाबको परिणाम


एकीकृत नेकपा माओवादीले मे दिवस र आमहडतालको तयारी गररिहँदा उसको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले वैशाख दोस्रो साता निजी विद्यालयहरू बन्द गरायो । विद्यालय जान नपाएका विद्यार्थी र तिनका अभिभावक उक्त बन्दप्रति आक्रोशित थिए । आन्दोलनकै कारण १२ कक्षाको चलिरहेको परीक्षा स्थगित गरयिो । यसले आक्रोश अझ व्यापक बनायो । माओवादीको चन्दा अभियानका कारण मे दिवसको अघिल्लै दिनबाट राजधानीका प्रमुख बजारहरू बन्द भए । यी घटनाले माओवादी आन्दोलन सुरु हुनुअघि नै सहरी जनसंख्या बिच्किइसकेको थियो । हडतालको दोस्रो दिनबाटै प्रतिकार सुरु भयो ।

चौतर्फी दबाबपछि अन्ततः माओवादीले आफ्नो अनिश्चितकालीन हडताल छैटौँ दिनबाट स्थगित गर्‍यो । आन्दोलनप्रति विरोध, प्रतिकार र असहमति विभिन्न माध्यम र स्वरूपबाट सार्वजनिक हुन थालेपछि माओवादीको स्थायी समिति बैठकले वैशाख २४ गते साँझ हडताल स्थगनको घोषणा गरेको हो ।

माओवादीले मुलुकभर लडाकू, यङ् कम्युनिस्ट लिग -वाईसीएल), अनेरास्ववियु क्रान्तिकारी र मजदुर संगठन परचिालन गरी सर्वसाधारणलाई गाउँगाउँबाट सहरमा ओसारेको थियो । त्यसक्रममा मानसिक दबाब र विभिन्न आश्वासन पनि बाँडिएको आन्दोलनमा सहभागीहरूले बताएका थिए । घर र्फकन लाग्दा पनि स्वेच्छाले नपाएको, र्फकन खोज्नेहरूलाई आधा बाटोबाट फर्काएको र उनीहरूमाथि थप दबाब र धम्कीको भाषा माओवादी कार्यकर्ताले प्रयोग गरेका घटना सार्वजनिक भएका थिए । यसले आन्दोलनप्रतिको आकर्षण र लगावलाई माओवादीभित्रैबाट कमजोर बनाउँदै लगेको थियो ।

विभिन्न क्षेत्रका प्रतिष्ठित र अगुवा व्यक्तित्वहरूले शान्तिका पक्षमा सार्वजनिक अभिव्यक्ति दिँदै बन्द र हडतालजस्ता कार्यक्रमको खुलेर विरोध गरे । ०६२/६२ को आन्दोलनलाई उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरविंश आचार्य, पेसागत संगठनहरू नेपाल बार एसोसिएसन, पत्रकार महासंघ, कर्मचारी संगठनहरूसमेत हडतालले मुलुकलाई भलो नगर्ने भन्दै शान्ति र्‍याली र सभामा खुलेर विरुद्धमा उभिए । लोकतन्त्र र शान्तिका पक्षधर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले समेत मुठभेडको राजनीति अन्त्यका लागि बारम्बार अपिल गररिहे । यसले पनि माओवादीमाथि नैतिक र राजनीतिक दबाब पर्‍यो ।

माओवादीको आफ्नै योजना र पूर्वानुमान अनुसार पनि यसबीचमा राजनीति अघि बढेन । १८ वैशाखमा ग्रामीण क्षेत्रबाट ओसारेको ठूलो जनसमूह देखेपछि र आमहडताल सुरु भएपछि ढिला नगरी प्रधानमन्त्रीले राजीनामा दिन्छन् भन्ने उसको आकलन पनि गलत सावित भयो । हप्तौँ लगाएर लाठी, खुकुरी र भाला चलाउन प्रशिक्षित गरेका कार्यकर्तालाई सडकमा परचिालन गर्दा सरकार र सत्तापक्षीय राजनीतिक दलहरू गलेनन् । संवैधानिक र राजनीतिक प्रक्रियाबाट आउन उनीहरूले आग्रह गररिहे । सरकारपक्षीय राजनीतिक दल, तिनका नेता र नागरकि समाजको एउटा हिस्साले सडक आन्दोलनका भरमा राजीनामा दिन नहुने सुझाव र आग्रह अघि साररिहे । वैधानिक बाटोबाट आफ्ना माग पूरा गराउन सक्ने अवस्था हुँदाहुँदै आमनागरकिलाई सास्ती हुने प्रकारका विरोधका कार्यक्रम गरेको भन्दै विरोध गर्नका लागि माओवादीका आलोचकहरूलाई प्रशस्त ठाउँ मिल्यो । यसले पनि माओवादीलाई पछि हट्न दबाब दियो । यसो भन्दैमा सरकारले अब आँखा चिम्लेर बसे हुन्छ भन्ने आशय व्यक्त भएको भने मान्न सकिँदैन ।

माओवादीले मुलुकभर चलाएको चन्दा अभियानले पनि उसप्रति सहानुभूति सिर्जना गर्ने अवस्था थिएन । चन्दा दिन नसक्ने परविारबाट कम्तीमा एक जना आन्दोलनमा सहयोगी हुनुपर्ने आग्रह गरेका घटनाहरू सार्वजनिक हुँदा माओवादीको यस आन्दोलनप्रति झनै नकारात्मक भाव उत्पन्न गरायो । फलस्वरूप विरोध र प्रतिकार गाउँस्तरसम्मै फैलियो ।

अनिश्चित आमहडतालका कारणले जनजीवनलाई अस्तव्यस्त नै बनायो । समाजशास्त्री चैतन्य मिश्रका अनुसार, आमनागरकिले भोगेका समस्या, खल्बलिएको दैनन्दिनी र अनिश्चितताले झन् निराशा र आक्रोशको मात्रा बढायो । यसको स्वाभाविक प्रतिक्रिया सडकमा पोखियो । असंगठित जनसमूहको असहमति, असन्तोष, आक्रोश र निराशा पोख्ने शैलीमा एकरूपता हुने कुरै भएन । त्यसकारण कतिपय ठाउँमा शान्त र्‍याली भए । कतै सभा भए त कतै पसल खोलेर माओवादी हडतालको विरोध जनाए । यसै क्रममा कतिपय ठाउँमा हिंसात्मक झडप र प्रतिकारका घटना भए । कतिपय संगठित राजनीतिक दल र तिनका भ्रातृ संगठनलाई पनि माओवादीको विरोधमा उत्रिन यसले प्रोत्साहित गर्‍यो । दुई विपरीत राजनीतिक धारका कार्यकर्ता सडकमा आउँदा झडप हुनु स्वाभाविक ठान्छन् विश्लेषकहरू । पर्सा, बारा, पोखरा, पर्वत, हुम्ला, ओखलढुंगा, धनकुटा र सप्तरीका धेरै ठाउँमा हिंस्रक झडप भए । तीन जिल्लामा त कफ्र्यु नै लगाइयो । वीरगन्जको तनाव नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा एकैदिन ५० जना घाइते भए । मकवानपुरमा युवासंघका एक कार्यकर्ताको मृत्यु नै भयो ।

मुलुकका धेरै ठाउँमा जनता माओवादी आन्दोलनको विरोधमा उभिए । खुलेर विरोधमा उभिन नसक्नेहरूले माओवादी आन्दोलनमा सहभागिता नजनाएरै असहयोग गरे । जबरजस्ती ल्याइएका सर्वसाधारण र्फकन थाले । कतिपय बिरामी परे । अत्यावश्यक सामग्रीको अभाव, मूल्यवृद्धिलगायत कारणले माओवादीविरुद्धको आक्रोश गाउँसम्मै फैलियो । मनाङ, हुम्लाजस्ता दुर्गम ठाउँमा समेत माओवादीले जनताको प्रतिकार भोग्नुपर्‍यो । विद्यालय/क्याम्पस जान नपाएका विद्यार्थी र उनीहरूका अभिभावक, दिनहुँ श्रम गरेर छाक टार्ने समुदाय, लामो समयदेखि अनिश्चितता झेलेका आमनागरकि त्यसै पनि बन्दको चाँडो अन्त्य चाहन्थे । त्यो चाहना व्यक्त गर्ने माध्यम पनि बन्दविरुद्धका प्रदर्शन बन्न थाले ।

माओवादी कार्यकर्तालाई शिविरहरूमा राखिएका कारण स्कुल, क्याम्पस तथा आवास क्षेत्रमा फैलिएको फोहोरमैला र सरुवा रोगको संक्रमणले राजधानीलगायत सहरलाई प्रभावित गर्दै लगेपछि सहरबासीमा थप आक्रोश जन्मियो । उनीहरूले चलाएको जबरजस्ती चन्दा अभियान र बजारहरूमा चुलिँदो कृत्रिम/स्वाभाविक अभाव तथा मूल्यवृद्धिले माओवादीप्रति नै जनआक्रोश बढायो । यी घटनाक्रमले माओवादीलाई झन् रक्षात्मक स्िथतिमा पुर्‍याइदियो ।

माओवादीले गरेको आमहडतालबाट देशको आर्थिक क्षेत्र अस्तव्यस्त बनेपछि व्यवसायीहरू पनि माओवादी आन्दोलनको प्रतिवादमा लागे । व्यवसायी तथा नागरकि समाजका अगुवाहरूले शान्ति र्‍याली र जुलुस गर्न थाले । त्यसतर्फ जनताको चासो र सहानुभूति बढ्यो । यसलाई माओवादीले आन्दोलनको विरोधका रूपमा बुझ्यो र उसका कार्यकर्ताले शान्ति र्‍यालीमा सहभागीमाथि ठाउँठाउँमा अवरोध र आक्रमण गरे । यसले पनि माओवादीका लागि सहायक सन्देश प्रवाह गर्न सकेन । बरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एसोसिएसन, पेसागत महासंघ, मिडिया सोसाइटी तथा नागरकि समाजका अग्रजहरूको अगुवाइमा भएका शान्ति र्‍याली र सभामा स्वतस्फूर्त जनताको ठूलो सहभागिताले सर्वसाधारणलाई सास्ती हुने कुनै पनि प्रकारका गतिविधि सह्य नहुने सन्देश दियो । र, यसले आमनागरकिमा रहेको असन्तोषलाई बाहिर ल्याउन थप प्रेरति गर्‍यो । आमहडतालले जनताले दुःख पाएको र देशको आर्थिक क्षेत्र चौपट भएको भन्दै व्यवसायीहरूले माओवादी हडतालको विरोध गर्न थाले । विभिन्न क्षेत्रबाट खुलेर विरोध हुन थालेपछि आमनागरकिको यसतर्फ लहर नै चल्यो ।

आन्दोलनको माग र नारा पनि जनस्तरलाई छुने खालको नहुनु माओवादीका लागि अर्को 'दुर्भाग्य' भइदियो । सडकबाटै सरकार परविर्तन गर्नुपर्ने र त्यसको नेतृत्व आफ्नै पार्टीका अध्यक्षले गर्न पाउनुपर्ने मागले आमजनतालाई छुन नसकेको विश्लेषकहरू बताउँछन् । अर्कोतिर, नेपाली जनता लामो समयदेखि अन्योल, अनिश्चितता, हिंसा र मुठभेडका घटनाबाट आजित रहेको सन्देश दिन चाहन्थे । ०६३/६३ को आन्दोलनमा एक्कासि जनसागर सडकमा ओर्लनुको कारण पनि अब बन्द, हडताल र हिंसाका घटना मुलुकमा नहोऊन् भन्ने उनीहरूको तीब्र आकांक्षा रहेको कुरा विभिन्न मतसर्वेक्षणहरूले देखाइसकेका छन् । त्यसै कारणले उत्साहपूर्वक उनीहरू संविधानासभाको चुनावमा सहभागी भएका थिए । समानुपातिक निर्वाचन प्रणालीको मतलाई आधार मान्दा उक्त निर्वाचनमा ६३ प्रतिशतभन्दा बढी मतदाताले भाग लिएका थिए ।

जनताको प्रतिकार बढ्दै जानु र अर्कोतर्फ कार्यकर्ताहरूसमेत पलायन भएपछि माओवादी नेताहरूसमेत आन्दोलनको औचित्यबारे पुनःविचार गर्न बाध्य भए । साथै, अनिश्चित रूपमा लम्बिँदै गर्दा आन्दोलन थप खर्चिलो र महँगो बन्दै थियो । ओसारेर सहर भित्र्याइएका हजारौँ कार्यकर्ता र सर्वसाधारणलाई शिविरमा राखेर आन्दोलन गररिाख्न माओवादीलाई व्यवस्थापकीय कारणले पनि चुनौतीपूर्ण बन्दै थियो । त्यसमाथि बारम्बार कूटनीतिक क्षेत्रका अधिकारीहरू र मानव अधिकारवादी संघसंस्थाहरूको भेट, ज्ञापन र दबाबका कारण माओवादी नेतृत्व आन्दोलनबारे पुनःविचार गर्न बाध्य भयो ।

जनता-जनता लडेर मुलुक थप असहज स्िथतिमा पुग्न सक्ने निष्कर्षसहित माओवादीले अन्ततः हडतालको कार्यक्रम स्थगित गरेको छ । यसले सत्तापक्षीय दलहरूलाई पनि नैतिक र राजनीतिक दबाबको काम गर्नेछ । "मुलुकलाई थप मुठभेडको भुमरीमा होमिएको जनता हेर्न चाहँदैनन् भन्ने कुराको प्रकटीकरण पनि हो यो," कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, "यसलाई कुनै पार्टी विशेषले हार या जितका रूपमा अथ्र्याउनुहुँदैन । जनताको लोकतन्त्र, शान्ति र स्थायित्वप्रतिको चाहना व्यक्त भएको हो । यसलाई दलहरूले आत्मसात् गर्न सक्नुपर्छ ।"

र, यो पनि दबाब

वार्ताबाटै राजनीतिक गतिरोधको निकास खोज्न नागरकि समाज र पेसागत संघसंस्थाहरूले दबाबको नौलो तरकिा अपनाए । वैशाख २२ गते उनीहरूले यस्तै प्रयास गरे । दलहरूबीच वार्ताका लागि सहजीकरण गर्दै उनीहरूले सहमतिमा चाँडो पुग्न दबाब दिए । तीन दलका शीर्ष नेताहरूलाई लाजिम्पाटस्िथत एक होटलमा बोलाएर वार्ता गराए । वार्ता र सहमतिबारे भइरहेको प्रगतिबारे जनतालाई जानकारी दिन तीनै दलका नेताहरूलाई पत्रकारमाझ उभ्याए पनि ।

त्यस दिन प्रमुख तीन दलका शीर्ष नेताहरू ठोस निष्कर्षमा पुग्न नसके पनि सहमतिबाटै मुलुकलाई निकास दिने प्रतिबद्धता भने उनीहरूले जनाए । शान्ति र संविधानका लागि राष्ट्रिय सहमति अभियानको सहजीकरणमा भएको झन्डै दुई घन्टा लामो उक्त बैठकमा माओवादी, कांग्रेस र एमालेका नेताहरूले गतिरोधका मुद्दाबारे विस्तृत छलफल गरेका थिए । बैठकमा पुष्पकमल दाहाल 'प्रचण्ड', सुशील कोइराला, झलनाथ खनाललगायत डेढ दर्जन नेताहरू सहभागी थिए ।

दलहरूलाई राजनीतिक संकटको निकास यथाशीघ्र खोज्न र मुलुकलाई सहजतातर्फ फर्काउन दबाब सिर्जना गर्न गठित अभियानमा नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकास्टर्स एसोसिएसन -टीबीएन), ब्रोडकास्टिङ् एसोसिएसन अफ नेपाल -बान), सामुदायिक रेडियो प्रसारक संघ -अकोराब) र नेपाल पत्रकार महासंघ सम्मिलित थिए । अभियानका संयोजक मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहिया हुन् ।

भएन फ्युजन


कतै टायर जलेनन् । सडकका रेलिङ् भाँचिएनन् । इँटा र ढुंगा प्रहार भएनन् । तोडफोड र आगजनीका धेरै घटना भएनन् । बरु नाचगान र लामबद्ध प्रदर्शनले राजधानीका सडक रंगिए । आन्दोलन सुरु हुनुअघि नै माओवादी कार्यकर्ताहरूले लडाकू शैलीमै राजधानीका विभिन्न ठाउँमा परेड खेले ।

धेरैजसो उपत्यकाबाहिरबाट आएका माओवादी कार्यकर्ताहरू सडक प्रदर्शनमा सहभागी भए । तिनलाई माओवादीले उपत्यकाका निजी विद्यालय, कलेज, क्याटरङि्, पार्टी प्यालेस, सरकारी भवन, औद्योगिक क्षेत्रमा क्याम्प खडा गरी खाने/बस्ने व्यवस्था गर्‍यो । निश्चित कमान्डमा तिनलाई परचिालित गरयिो । 'भैपर िआउने' अवस्थाका लागि 'ब्याकअप फोर्स'का रूपमा वाईसीएललाई राख्यो । हरेक टोलीमा कमान्डर तोकियो र तिनैको निर्देशन अनुरूप कार्यकर्ताहरू परचिालित भए । त्यसैले यो नियन्त्रित, व्यवस्िथत र संयम पनि रह्यो ।

काठमाडौँमा यस्तो प्रदर्शन देखिएको सम्भवतः पहिलोपटक हो । राजनीतिशास्त्रीहरूका भनाइमा यसलाई संगठित दस्ताको सैन्य रणनीतिमा आधारति आन्दोलन मान्न सकिन्छ । माओवादी नेताहरू भने यसलाई सैन्य संघर्ष र जनआन्दोलनबीचको फ्युजन भन्न रुचाउँछन् । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल भने यसलाई अर्धसैन्य आन्दोलन भन्छन् ।

माओवादीले यसपालिको आन्दोलनलाई पाँच विकास क्षेत्रका प्रमुख सहरमा केन्दि्रत गरेकाले सडकमा उसको उपस्िथति बाक्लो देखिएको छ । यद्यपि, जनस्तरसँग सम्बन्ध र प्रभावका हिसाबले आन्दोलन कमजोर देखिएको छ । त्यसकारण ठाउँठाउँमा आन्दोलनको प्रतिकारमा स्थानीय बासिन्दा उत्रे । दूध र तरकारी उत्पादक किसानहरूले सडकमै आफ्नो उत्पादन पोखेर विरोध जनाए भने कतिपय ठाउँमा प्रदर्शनकारीका लागि स्थानीय बासिन्दाले नै निषेधित क्षेत्र घोषणा गरे ।

माओवादीले वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राजधानीलगायत मुलुकका पाँच विकास केन्द्र र प्रमुख सहरमा केन्दि्रत रहेर शक्ति प्रदर्शन गर्‍यो । पूर्वघोषित कार्यक्रम अनुसार त्यसको भोलिपल्टदेखि उसले आमहडतालको कार्यक्रम थाल्यो । राजधानीको प्रदर्शनका लागि उपत्यकाबाहिरबाट ठूलो संख्यामा कार्यकर्ता भित्र्यायो । बाहिरबाट ल्याइएका कार्यर्तालाई करबि दुई सातासम्म खानेबस्ने व्यवस्था गर्न माओवादीले नेवाः राज्य समिति, यङ् कम्युनिस्ट लिग -वाईसीएल) र मातहतका भ्रातृ संगठनलाई जिम्मा दियो । अनिश्चितकालीन आमहडताल घोषणा गरेको माओवादीले सार्वजनिक गाडी भाडामा लिएर राजधानी भित्र्याएको हो । यसरी भित्र्याइएका कार्यकर्ताको दैनिकी संगठनको योजना अनुसार डोरयिो । उपत्यका वाईसीएल संयोजक चन्द्रबहादुर थापा 'सागर'का अनुसार सभा र प्रदर्शनलाई व्यवस्थापन गर्न स्वयंसेवकहरूलाई तालिम दिइएको थियो ।

उनका अनुसार निश्चित क्षेत्रको कार्य विभाजनका लागि कमान्डर तोकी कार्यकर्ता परचिालनको रणनीति तय गरएिको छ । राजधानीका सबै प्रमुख चोकमा भेला भई प्रदर्शन, नाचगान र सभा गर्ने गरएिको छ । झन्डै एक लाख स्वयंसेवक परचिालन गरी सभा र प्रदर्शनलाई व्यवस्िथत गरएिकाले आन्दोलन संयमित भएको थापाको दाबी छ । राजधानीमा मात्रै वाईसीएलले ५० वटा शिविर बनाएको छ । प्रत्येक शिविरमा एक सयदेखि १ सय ५० जना कार्यकर्ता एवं समर्थक राखिएका छन् । हरेक शिविरमा करबि दुई सय क्विन्टल चामल, आवश्यक दाल र अन्य खाद्य सामग्रीका साथ लत्ताकपडाको व्यवस्था गरएिको छ । सहयोग र बन्दोबस्तीका सामानको जोहो गर्ने क्रम जारी छ । मजदुर संगठनले पनि त्यत्तिकै शिविरको व्यवस्था गरी खाद्यान्नको जोहो गरेको थापाले बताए । माओवादीले मे दिवस प्रदर्शनको मुख्य जिम्मेवारी अखिल नेपाल टे्रड युनियन महासंघलाई दिएको थियो ।

महासंघका उपाध्यक्ष बाबुराम गौतम पार्टीले सक्दो ठूलो संख्यामा मजदुरलाई प्रदर्शनमा उतार्न निर्देशन दिए अनुसार तयारी र व्यवस्थापन गरएिको बताउँछन् । मजदुर स्वयंसेवक विभाग बनाई स्वयंसेवक दलसमेत उसले गठन गरेको छ । यसको नेतृत्व महासंघका उपमहासचिव जगत सिंखडाले गरेका छन् । उनका अनुसार, सभा र प्रदर्शन व्यवस्िथत गर्न, अराजकता रोक्न स्वयंसेवक दललाई प्रशिक्षण दिइएको थियो । ट्रेड युनियनले मे दिवसको तीन दिनअघि बिहान लैनचौरबाट स्वयंसेवक दलको मार्चपाससमेत गरायो । अर्को दिन मोटरसाइकल र्‍याली निकाल्यो ।

अनेरास्ववियु क्रान्तिकारीले करबि १० हजारभन्दा बढी स्वयंसेवक परचिालन गरेको उपाध्यक्ष युवराज चौलागाईं बताउँछन् । पार्टीका सबै समर्थक र संगठित सदस्यलाई आन्दोलनमा लगाएको उनको भनाइ छ । राजधानीका प्रदर्शनमा हरेक दिन डेढ लाख सहभागी हुने गरेको माओवादी दाबी छ । तर, सरकारका प्रवक्ता पोखरेल भने वाईसीएलको कमान्डमा १२ हजार, अन्य भ्रातृ संगठन तथा समर्थकहरू गरी बढीमा ६० हजार प्रदर्शनमा सहभागी रहेको बताउँछन् । दिनदिनै यो संख्या घट्दै गएको र बन्द पनि खुकुलो हुँदै गएको उनको दाबी छ ।

प्रदर्शनकारी संयम रहेसम्म सरकारले पनि बल प्रयोग नगर्ने नीति लिएको छ । दुवै पक्ष संयम र व्यवस्िथत भएकाले चार दिनसम्मको आमहडताल र माओवादी प्रदर्शनका क्रममा सुरक्षाकर्मीर्-प्रदर्शनकारीबीच हिंसात्मक भिडन्त खासै भएनन् । यस्तो प्रकृतिको आन्दोलन राज्यका लागि चुनौती भए पनि सरकारमाथि विजय हासिल गर्ने अवस्थामा अगाडि बढ्न नसक्ने विश्लेषकहरू बताउँछन् । स्थानीय बासिन्दाको न्यून सहभागिता माओवादीका लागि चुनौती सावित भएको छ । यो कुरा अध्यक्ष दाहालले वैशाख २२ गते राजधानीको चक्रपथ घेराउ कार्यक्रमबाट फर्केपछि आफ्नै निवासमा दिएको अभिव्यक्तिले पनि पुष्टि हुन्छ । उनले काठमाडौँका जनतालाई सडकमा उतार्न विशेष पहल गर्ने त्यसबेला बताएका थिए । सोही दिन उनकै निवास नयाँबजारमा बसेको मओवादी पदाधिकारीहरूको बैठकले पनि स्थानीय जनताको अपेक्षित सहभागिता नभएकाले यसका लागि घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ र आसपासका जनतालाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दै उक्त बैठकले नेवार र तामाङ समुदायमा विशेष अपिल गरेको थियो । सोही निर्णय अनुसार माओवादीले २४ गते राजधानीमा नेवाः स्वायत्त राज्यको अगुवाइमा जुलुस प्रदर्शन गर्‍यो । तर, आफ्ना समर्थक र कार्यकर्ता मात्रै सडकमा आएकाले तटस्थ जनताको संवेदना र सहानुभूति प्राप्त गर्न माओवादी कमजोर सावित भएको छ ।

(नेपालबाट)

Issue: 394 २०६७ वैशाख २६ May 9, 2010

भारत र चीनबीच खेल्ने प्रयास





हरेक पाँच वर्षमा हुने विश्व प्रदर्शनी यस वर्ष चीनको सांघाईमा हुँदैछ । गत वर्ष मात्रै ओलम्पिक खेलको सफल आयोजन गरेको चीनले 'सांघाई एक्स्पो' नामको यस प्रदर्शनीलाई विश्वमाझ आफ्नो शक्ति र समृद्धि देखाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

आयोजक राष्ट्र चीनले विश्वका एक सय विशिष्ट नेताहरूलाई शुभकामनाका लागि बोलाएको छ । त्यसमा नेपालका तर्फबाट एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' परेका छन् । यसको राजनीतिक र कूटनीतिक अर्थ खोज्नेहरूले माओवादीसित चीनले विशेष सम्बन्ध राख्न चाहेको अर्थमा बुझेका छन् । विश्वका प्रभावशाली नेताको सूचीमा राखी नेपालका नेता प्रचण्डलाई छान्नु माओवादीप्रति चीनको सान्निध्य रहेको स्वयं माओवादी नेताहरू नै मान्छन्।

माओवादीले पनि यसलाई ठूलो उपलब्धिका रूपमा लिएको छ । माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराका भनाइमा प्रचण्ड विश्व प्रदर्शनीका अवसरमा हुने अन्तरक्रियामा सहभागी हुनु पार्टीका लागि मात्र होइन, मुलुककै लागि खुसी र गौरवको विषय हो । वैशाख १८ गते सुरु भएको उक्त एक्स्पो कात्तिक १४ सम्म चल्नेछ । यो विश्व प्रदर्शनीको एउटा विशिष्ट अन्तरक्रियामा भाग लिन पनि प्रचण्डलाई आमन्त्रण गरएिको छ । प्रचण्डले कार्यक्रमका लागि शुभकामना पठाइसकेका छन्।

माओवादी-चीन सम्बन्धको प्रगाढता देखाउने यो एउटा प्रतिनिधि घटना हो । यसअघि पनि माओवादी-चीन हिमचिमका थुप्रै सिलसिला सम्पन्न भइसकेका छन्, जुन क्रममा दुईतर्फी आवतजावत, भेटघाट र छलफलहरू भएका छन् । यसले मौन कूटनीतिमा रमाउने चीन पहिलेभन्दा ब्यूँझिएको देखिएको छ भने माओवादी पनि परम्परागत दक्षिणमुखी राजनीतिको क्रमभंगता खोजिरहेको संकेत गर्छ।

चिनियाँ सहानुभूति !
नेपालको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी अनिश्चितकालीन आमहडतालसम्मका कार्यक्रमसहितको प्रदर्शनको तयारीमा जुटिरहेकै बेला अमेरकिी सहायक विदेशमन्त्री, रोबर्ट ओ ब्लेक र जलसेना प्रमुख रोबर्ट एफ बिलर्ड काठमाडौँ आएर फर्किए । युरोपेली युनियनका नेपालस्िथत राजदूत तथा प्रतिनिधिहरूले सामूहिक रूपमा पटकपटक माओवादी नेतृत्वलाई भेटेर आन्दोलनका जोखिमबारे सचेत पारे । भारतीय राजदूत राकेश सुदले राजनीतिक भेटवार्ता तीव्र पारे । राष्ट्रसंघीय नियोगहरूले पनि माओवादी आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कुरा विभिन्न माध्यमद्वारा सार्वजनिक गरे । सिंहदरबार र बालुवाटारमा विभिन्न तहका राजनीतिक छलफलहरू भए । यी सबै गतिविधि माओवादीको घोषित आन्दोलन र त्यसको तयारीबाट सिर्जित चासो र चिन्तामा केन्दि्रत थिए । तर, प्रधानमन्त्रीनिवास बालुवाटारको छेवैमा रहेको चिनियाँ राजदूतावास यी घटनाक्रमबाट बेखबरजस्तै छ । स्वाभाविक प्रश्न उठ्छ, चीन मात्रै किन मौन ? के परम्परागत रूपमै चीन नेपालको आन्तरकि मामिला भनेर चुप लागेको हो ? यसको उत्तर स्पष्ट नभए पनि अर्थपूर्ण अवश्य छ । दक्षिण एसियाको फेरँिदो शक्तिसन्तुलन, नेपालको भूराजनीतिक अवस्था अनि आन्तरकि राजनीतिक उथलपुथलका सन्दर्भमा हेर्ने हो भने यसले फरक परदिृश्यतिर संकेत गर्ने जानकारहरूको ठम्याइ छ।

कुनै बेला एकअर्काविरुद्ध आलोचना आदानप्रदान गररिहेका चीन र नेपाली माओवादी अहिले त्यो स्िथतिमा छैनन् । उनीहरू एकअर्काको निरन्तर चासो र सम्पर्कमा रहेको कुरा २०६३ मा सम्पन्न बृहत् शान्ति सम्झौतापछि, विशेष गरी माओवादीले सत्ताको नेतृत्व गररिहँदा, भएका दुईतर्फी भ्रमण र भेटघाटले पनि स्पष्ट पार्छ।

संविधानसभाको निर्वाचनपछि माओवादी ठूलो दल बन्यो, सरकारको नेतृत्व गर्न पुग्यो । उसलाई पनि छिमेकी मुलुकहरूको कूटनीतिक, राजनीतिक साथ चाहियो । साथसाथै, चीनलाई पनि उसको तीव्र सुरक्षा चासो रहेको मुलुक नेपालमा भरपर्दो राजनीतिक शक्तिको खाँचो पर्‍यो । त्यसका लागि आफ्ना निश्चित चासोहरूलाई सुझबुझपूर्ण तवरले सम्बोधन गर्न सक्ने, दिगो र प्रभावशाली राजनीतिक शक्तिको खोजीमा चीन लाग्यो । यसक्रममा माओवादी पनि उसको नजरमा पर्नु स्वाभाविक थियो । परण्िाामतः माओवादी र चीनबीच हिमचिम बढ्यो । "अहिले चीनले बलियो जनाधार भएको एक पार्टीका रूपमा माओवादीलाई हेरेको छ," चीन अध्ययन केन्द्रका सचिव प्रकाशबाबु पौडेल भन्छन्।

भारतलाई 'कार्ड’

नेपाली राजनीतिमा भारत बढी नै प्रभावशाली रहेकामा चीनले त्यो मन नपराएको बुझाइ माओवादीको रहेको छ । साथै, चीन र भारतबीच सीमालगायत केही मुद्दामा छुट्टै तनाव छ । संसारका महाशक्ति हुने होडमा रहेका यी दुई मुलुकको आर्थिक समृद्धि पनि प्रतिस्पर्धाकै अर्को कडी बन्न पुगेको छ । भारत र चीनबीच एकअर्काप्रति विश्वासको संकट पनि छ । खासगरी चीनलाई भारतको बुइर्ं चढेर अमेरकिा आफूविरुद्ध लाग्ने कुराले पिरोलेको छ । अमेरकिालगायत नेपालस्िथत धेरै देशका राजदूतहरूले सामूहिक रूपमा तिब्बती शरणार्थीहरूको आन्दोलनका पक्षमा वक्तव्यबाजी गरेको पनि चीनलाई मन परेको छैन । यी गतिविधिको निरुत्साहन चीनको अपेक्षा रहँदै आएको छ । आणविक सम्झौतादेखि अन्य लेनदेनमा भारत-अमेरकिा गठबन्धनले चीनलाई सतर्क बनाएको हो।

कतिपय विश्लेषकका भनाइमा प्रचण्ड चीनका सामु आफूलाई भारतविरोधी हो भन्ने देखाउन चाहन्छन् । त्यसैले उनी आफ्नो पार्टीमा पनि भारतपरस्त नेता छन् भन्ने प्रमाणित गर्न खोजिरहेका छन् । ०६६ पुस १९ मा पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई भारतले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भन्ने आशयमा खन्ना गार्मेन्टमा दिएको अभिव्यक्ति पनि त्यसैको सिलसिला मान्छन्, विश्लेषकहरू । आफूलाई भारतविरोधी देखाउन सके पनि चीनको पूरै विश्वास भने माओवादीले जितिसकेको छैन । यद्यपि, चीनले माया देखाउन छाडेको छैन।

नेपाली माओवादी, त्यसमा पनि प्रचण्ड चीन नेपालमा एउटा भरपर्दो शक्तिको खोजीमा रहेको बुझेर त्यो ठाउँ आफूले लिन सकिन्छ भन्ने जोडमा छन् । त्यसका लागि भारतको विरोध एउटा अस्त्र हुन सक्ने उनको ठम्याइ रहेको माओवादी नेताहरू नै बताउँछन् । माओवादीकै एक केन्द्रीय नेताको व्याख्यामा चीन सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि खारेजी चाहन्छ । उनका अनुसार, उक्त सन्धिपछि नेपालको चीन-तिब्बतसित रहेको 'मीतज्यू'को सम्बन्ध कमजोर हुँदै गयो । यसबीचमा चीनले आन्तरकि समृद्धिमा मात्रै ध्यान दियो । नेपाली जनस्तरसम्म भएको उसको सम्बन्ध पनि 'खत्तम' भयो । बरु, यस्तो सम्बन्ध भारततिर बढी उन्मुख भयो । "दक्षिणमुखी गराउने यो सन्धि खारेज होस् भन्ने बलियो चाहना चीनको पनि हो," विदेश विभागमा काम गरसिकेका ती माओवादी नेता भन्छन् । चीन पनि खुसी हुने, नेपाली जनस्तरसम्म त्यो नारा पुग्ने र भारतलाई घुक्र्याउन पाइने भएकाले उक्त सन्धि खारेजीको नारा माओवादीले बलियोसँग समायो । यो खारेज भएपछि जुन स्तरको सन्धि भारतसित हुन्छ, त्यही स्तरको आफूसित गराउन सकिने अपेक्षा चिनियाँ पक्षको रहेको माओवादी ठम्याइ छ । कूटनीतिज्ञहरू भने छिमेकी मुलुकहरूबीचको मतभिन्नताबाट फाइदा लिन खोज्दा प्रत्युत्पादक हुने बताउँछन् । "अरूबीचको वैमनस्यताबाट फाइदा लिन खोज्नु सफल र दिगो कूटनीतिको बाटो होइन," पूर्वराजदूत भेषबहादुर थापा भन्छन्।

चीनले भने भारतलाई नचिढ्याईकनै अगाडि बढ्न माओवादीलाई सुझाइरहेको छ । अन्तर्राष्ट्रिय ब्युरो प्रमुख महरा र उपाध्यक्ष मोहन वैद्यका साथ गत असोज अन्तिम साता प्रचण्डले चीन भ्रमण गर्दा सरकारबाट हट्नु गल्ती थियो भन्ने आशय चिनियाँ अधिकारीहरूले व्यक्त गरे । साथै, नेपालको नेतृत्वदायी राजनीतिक संगठन 'तपाईं नै हो' भन्ने चिनियाँ भाव भेटेपछि सडकमा पुगेको माओवादीमा उत्साहको सञ्चार भएको विश्लेषकहरू बताउँछन् । माओवादी नेताहरू पनि चीन भ्रमणपछि राजीनामा दिनु गलत थियो भन्ने बोध भएको स्वीकार गर्छन् । सरकारमै रहेर परििस्थतिको सामना गरी थप कदम चाल्नुपर्नेमा सरकार छाडेर गल्ती गरेको कुरा नेतृत्वले महसुस गरेको नेताहरू बताउँछन् ।

राजीनामाका लागि एकोहोरो दबाब दिएका कट्टरपन्थी भनेर चिनिने नेता वैद्य पनि राजीनामा गल्ती थियो भन्ने कुरामा सहमत हुनुलाई माओवादी नेताहरू आन्तरकि राजनीतिक समीकरण र अन्तरसंघर्षका लागि महत्त्वपूर्ण 'टर्निङ् प्वाइन्ट'का रूपमा उक्त भ्रमणलाई अथ्र्याउँछन् । प्रचण्डसँग फरक मत राख्दै आएका नेताद्वय वैद्य र महराले त्यसपछि मत पनि बझाएका छैनन् र चीनप्रति झुकावमा कमी हुन दिएका छैनन् ।

उक्त नौदिने चीन भ्रमणपछि माओवादी जसरी पनि सरकारमा पुग्नुपर्ने रणनीतिमा अग्रसर भयो । माओवादी सरकारमा जाँदा सेना समायोजन, संविधान निर्माणलगायत शान्ति प्रक्रियाका काम चाँडो निष्कर्षमा पुग्ने र नेपालमा शान्ति र स्थायित्व हुन सक्ने चिनियाँ दृष्टिकोण रहेको माओवादी बुझाइ रह्यो । माओवादीले पनि चीनको सहानुभूतिमै आफू लक्ष्यमा पुग्ने विश्वासका साथ सत्ता-आन्दोलन सञ्चालन गर्‍यो । यसबीचमा चीनसित ऊ निरन्तर सम्पर्कमा रह्यो । माओवादी नेता टोपबहादुर रायमाझीसमेत केही समयअघि चीन घुमेर फर्किएका छन् । उनी कूटनीतिक पहल गर्न सक्ने नेताभन्दा पनि बाबुरामनिकट नेता भएकाले उक्त भ्रमणलाई माओवादीभित्र अर्थपूर्ण मानिएको थियो ।

धम्कीको अस्त्र

सशस्त्र द्वन्द्वकालमा माओवादी नेताहरूका लागि गुप्तवास, हतियार ओसारपसार, युद्धमा घाइते भएका नेता-कार्यकर्ताको उपचार र महत्त्वपूर्ण राजनीतिक भेटघाटका क्रममा कहिले मौन त कहिले सक्रिय साक्षी बनेको भारत संविधानसभाको निर्वाचनयता माओवादीसँग खासै खुसी रहेन । भारतका केही दबाबपूर्ण अपेक्षालाई माओवादीले उपेक्षा गर्न थालेपछि सम्बन्धमा कटुता पैदा भएको माओवादी भनाइ छ । तर, ती दबाबबारे माओवादीले स्पष्ट पारेको छैन । त्यसको विकल्प चीन हुनसक्छ भन्ने बुझाइका आधारमा माओवादी चीनतिर झुकेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । तर, माओवादीमा अझै भारतलाई मनाउनुपर्ने 'लबी' कमजोर छैन । "एकपल्ट भारतलाई कूटनीतिक धक्का जरुरी ठानेर मात्रै विरोधको नीति लिइएको हो," प्रचण्डनिकट एक केन्द्रीय नेता भन्छन् । भारतको ध्यानाकर्षण गर्न अहिले प्रचण्डसँग समानान्तर तीनवटा अस्त्र छन्, चीन, भारतविरोध र जनता-कार्यकर्ता-लडाकूको प्रदर्शन । यी तीनवटै अस्त्र एकसाथ परचिालित गरेका छन्, उनले।
माओवादीका केही स्वार्थमा चीनले सहानुभूति देखाएको तर भारतले सहयोग गर्ने संकेत नदेखाएका कारण पनि उसका गतिविधि उत्तरमुखी भइदिए । अहिले सेना समायोजनमा पनि यस्तै स्िथति देखापरेको छ । चीनले समायोजन चाहे पनि भारतीय पक्षको यसमा बलियो समर्थनको संकेत माओवादीले भेटेको छैन । खासगरी माओवादीले सरकारपक्षीय नेताहरूका आवाजमा भारतीय शब्द खोज्ने र भेट्ने गरेको छ । १२ बुँदे समझदारी र शान्ति प्रक्रियाको आरम्भताका लडाकू समायोजनमा भारत सकारात्मक देखिए पनि पछिल्ला दिनमा ऊ त्यसमा नअडेको छनक माओवादीले पाएको छ।



माओवादीलाई संविधानसभाको निर्वाचन भने ठूलो उपलब्धि सावित भइदियो किनभने जनयुद्धका लागि दुरुह सावित भएको राजधानीमा संविधानसभाले उसको उपस्िथतिलाई सहज, वैधानिक र सम्मानजनक बनाइदियो । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन -अनमिन), अमेरकिा, युरोपेली युनियनलगायत प्रभावशाली अन्तर्राष्ट्रिय शक्तिहरूको विश्वास र सम्मान पाउन यो सहायक पनि भयो । तर, पछिल्लो प्रदर्शनको तयारीयता ती शक्तिहरू पनि उसप्रति निराश र सशंकित भएको कुरा उनीहरूका कडा वक्तव्यहरूले देखाउँछन् ।

अहिले भारतले टेर्न छोड्नु र राष्ट्रिय राजनीतिमा एक्लिनुले माओवादीका लागि कठिन परििस्थति निर्माण भएको छ । माओवादी नेतृत्व चीन हिजोको माैन कूटनीतिमा नरहने विश्वास पालिरहेको छ । चीनले केही समययता नेपालमा बढाएको चासोले माओवादीको यस विश्वासमा मलजल गरेको हुन पनि सक्छ । भारतले नटेरे पनि चीनसँगको सम्बन्धले लामो समय राष्ट्रिय राजनीतिमा आपmनो प्रभाव कायम राख्ने दाउ माओवादीको हुन सक्ने एकथरीको विश्लेषण छ । तर, यसबाट धेरै उत्साहित हुनुभन्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी प्रस्तुत हुन कूटनीतिज्ञहरूको सुझाव छ । "माओको नाम जोडिएको, चुनाव लडेको र क्रान्ति पनि गरेको पार्टी ठूलो दल भएपछि चीनलाई केही हदसम्म खुसी लागेकै हुनुपर्छ तर विदेश नीतिमा छलाङ मारेर नेपाललाई अप्रत्यासित अँगालो हालेको देखिएन । नेपाली बजारमा चिनियाँ वस्तु र लगानी बढी देखिनु संयोग र परविर्तनको असर दुवै हो," कूटनीतिज्ञ थापा भन्छन् ।

क्षेत्रीय राजनीति
सिक्किम वा भुटानको दृष्टान्त दिँदै माओवादीले भारतले नेपाललाई पनि आफ्नो प्रभावमुनि राख्न चाहेको बताउँदै आएको छ । उसका राजनीतिक दस्तावेजमा पनि यो उल्लेख छ । तर, भारतको त्यो चाहना भूराजनीतिक अवस्थाका कारण सम्भव नभएको माओवादी बुझाइ छ । सम्भव हुन नदिन बलियो चीन सुरक्षाकवच हुनसक्ने उसको आकलन छ ।

भूराजनीतिक हिसाबले भारत बलियो भए पनि माओवादीमा बलियो चीन पनि खडा छ भन्ने विश्लेषण गरँिदै छ । कतिपय माओवादी नेताहरूले बलियो चीन नै नेपालको स्वाधीनताको ग्यारेन्टी हो भन्ने कोणबाट समेत कुरा उठाउने गरेका छन् । नेपालमा भारतीय प्रभावलाई कम गर्न चीनलाई देखाउने या चीनसँग नजिकिने माओवादी प्रयास रहेको यसले स्पष्ट पार्छ । माओवादी अन्तर्राष्ट्रिय ब्युरो सदस्य राम कार्की भन्छन्, "स्वाधीनताप्रति जनमत सचेत हुनु पहिलो ग्यारेन्टी हो । दोस्रो ग्यारेन्टी चीन नै हो ।" तर, माओवादी यसमा पनि सचेत छ कि चीनको छिमेकीहरूप्रतिको उदासीनताका कारण पोलपोटहरू कम्बोडियामा टिक्न सकेनन् । इतिहासका यी दृष्टान्तले चीनप्रति बढी आश्रति हुनु पनि हितकर नहुनेतर्फ सचेत गराइरहेको हुनुपर्छ ।

माओवादीले भारतसँगको कटुताको झोकमा चीनतिर लहसिने नीति लिएको हो भने पनि नेपालसँगको सम्बन्धको मूल्यमा चीन र भारत आपसमा लड्छन् भन्ने देखिँदैन । किनभने, उनीहरू नेपालभन्दा कैयौँ गुणा ठूला व्यापारकि साझेदार हुन् । सन् २००८ मा भारत-चीन व्यापार ५२ अर्ब अमेरकिी डलर पुगेको थियो । यो आकार अझै बढ्दै छ । अहिले चीन भारतको दोस्रो ठूलो व्यापारकि साझेदार हो भने भारत चीनको दसौँ ठूलो ।

०६५ मंसिर २७ गते राजधानीमा आयोजित पत्रकारसँगको साक्षात्कार कार्यक्रममा चिनियाँ राजदूत क्यु गोहोङ्ले नेपालको सार्वभौमसत्ता र अखण्डता खतरामा परे चीन चुप लागेर बस्न नसक्ने बताएका थिए । तर, माओवादीले चीन आफ्नो स्वार्थ नभएसम्म नेपाली हितमा लड्दैन भन्ने बुझेको छ । "कालापानीमा भारतीय सेना राख्ने कुरामा चीनले भारतकै पक्षमा जनाएको सहमति पनि एउटा सिकाइ हो । चीन भारतसितको सम्बन्ध बलि चढाएर नेपालको पक्ष लिन सक्दैन," माओवादी नेता कार्की भन्छन्, "फेर,ि नेपाल-नीतिमा हेरफेर गर्नुपर्दा भारतले चीन, चीनले भारतलाई हेर्छन् नै ।" नेपालको जनजागरण र भौगोलिक/सांस्कृतिक विविधता हेर्दा पनि सिक्किम या भुटानको अवस्थामा भारतले पुर्‍याउन नसक्ने कार्कीको भनाइ छ ।

माओवादी-भारत

माओवादीका राजनीतिक नारा र प्रदर्शनलाई मात्रै आधार मान्ने हो भने पनि ऊ भारतको स्थायी विरोधीजस्तो देखिन्छ । सशस्त्र संघर्ष थालनीको पूर्वसन्ध्यामा ०५२ माघ २१ गते तत्कालीन सरकारसमक्ष संयुक्त जनमोर्चाका नाममा प्रस्तुत ४० सूत्रीय मागमा धेरै बुँदा भारतविरोधी थिए । अहिले पनि माओवादीले भारतको भूमिकालाई हस्तक्षेपकारी भन्दै विरोध गर्दै आएको छ । तर, यसले भारत र नेपाली माओवादीबीचको वास्तविक सम्बन्धको चित्रण गर्दैन । माओवादीले केही समयअघि भारतलाई नै लक्षित गरी चलाएको स्वाधीनताको आन्दोलन बिनानिष्कर्ष र बिनाप्रस्टीकरण स्थगित गरसिकेको छ । यद्यपि, स्थगनको औपचारकि घोषणा गर्न बाँकी छ । सरकारबाट हटेपछि निरन्तर सडक संघर्ष गररिहेको माओवादी अहिले निणर्ायक आन्दोलन भन्दै काठमाडौँकेन्दि्रत भएको छ र उसले सरकार परविर्तनलाई मुख्य एजेन्डा बनाएको छ।

साथै, यो अान्दोलनको पूर्वसन्ध्यामा माओवादी अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्दै आफूले भारतलाई चिढ्याउन नचाहेको र विभिन्न तहमा संवाद भइरहेको बताए । वैशाख १६ गते साँझ उनले भारतीय राजदूत राकेश सुदसँग भेटे पनि । यी घटनाक्रमले माओवादी र भारतबीचको सम्बन्धमा अस्िथरता कायम रहेको देखाउँछ।

जतिसुकै विरोध गरे पनि भारतसँग सम्बन्ध नबनाएसम्म अपेक्षित राजनीतिक लाभ हासिल हुन नसक्ने निष्कर्षमा माओवादी पुगेको छ । संविधानसभामा सबैभन्दा ठूलो दल बनेको माओवादी भारतलाई मनाएरै अघि बढ्ने नीतिमा अग्रसर छ । भारतलाई मनाउने उसको तरकिा भने फरक छ । जनदबाबको हवाला दिँदै भारतलाई आफ्नो पक्षमा पार्ने योजनामा माओवादी रहेको छ । भारतले जनमनोविज्ञान नबुझ्दा बर्माबाट पकड गुमाउनुपरेको तथ्य भारतीय पक्षलाई स्मरण गराउँदै माओवादीले नेपालमा पनि त्यो स्िथति आउन सक्ने चेतावनी दिइरहेको छ।

माओवादीले भारतले छिमेकीहरूप्रति देखाउने व्यवहारको नीतिगत विरोध गररिहेको छ । बर्मामा भारतीय पकड गुम्नुमा उसले छिमेकीप्रति राख्ने हेपाहा दृष्टि र ठूलो भाग खोज्ने प्रवृत्ति नै मूल कारक रहेको माओवादी व्याख्या छ । माओवादी बुझाइमा, श्रीलंकामा तमिल विद्रोहीलाई दबाउन चीन र पाकिस्तानको बढी भूमिका रह्यो । श्रीलंकाको जाफ्नाबाट पहिले नै भारतीय पकड टुटेको थियो भने यस क्रममा कोलम्बो पनि उसको प्रभावबाट मुक्त भयो । "बर्मामा भारतले ठूलो भाग खोज्दा आफ्नो पकड गुमायो," माओवादी अन्तर्राष्ट्रिय ब्युरो सदस्य कार्की भन्छन्, "जनमनोविज्ञान नबुझिदिँदा भारतले गुमाउने अवस्था आउँछ ।" नेपालमा पनि भारतले आवश्यकताभन्दा बढी रुचि देखाएका कारण जनस्तरमा भारतविरोधी भावना बढ्दै गएको कार्कीको दाबी छ । यसले भारतले भएको पकड पनि गुमाउन सक्ने उनको चेतावनी छ।

सानो देशको सार्वभौमिक संवेदनशीलतालाई भारतले कहिल्यै बुझ्न नसकेको गुनासो माओवादीको रहँदै आएको छ । नयाँ सन्दर्भमा अप्रसांगिक भइसकेका सन्धि-सम्झौतालाई नयाँ ढंगले प्रतिस्थापित गर्ने विषयमा भारत कहिल्यै तयार नभएको माओवादी भनाइ छ । नेपालमा अहिलेको राजनीतिक गतिरोधका पछाडि भारतसित माओवादीको नसुधि्रएको सम्बन्ध पनि कारक बनेको छ।

माओवादी आफूलाई नेपालको प्रमुख राजनीतिक शक्ति मात्रै होइन, नेपाली जनताको वास्तविक प्रतिनिधि पनि ठान्छ । उसले सशस्त्र संघर्षमा बढाउँदै लगेको सांगठनिक र राजनीतिक आकारलाई संविधानसभा निर्वाचनमार्फत जनताले अनुमोदन गरसिकेको भन्ने गरेको छ । 'जनअनुमोदित' माओवादीले निर्माण गर्न खोजेको परराष्ट्रनीति र भारतको परम्परागत नीतिबीचको टक्करका रूपमा अहिलेको भारत-माओवादी कटुतालाई माओवादीले अथ्र्याउँछ।

खासगरी संविधानसभा निर्वाचनपछि माओवादीप्रति भारत बढी आक्रामक भयो । नेपाल-भारत कूटनीतिक मामिलाका जानकारहरू पनि यसमा सहमत छन् । "नेपालका हतियार थन्किए पनि उसका -भारतका) मनमा चिसोपन अवश्य भयो होला," कूटनीतिज्ञ थापा भन्छन्, "खुलापन, खुला आत्मीयता र शान्ति बहालीप्रति भारतले देखाएको सोचाइमा समयक्रमसँगै हेरफेर अवश्य भएको मान्नुपर्छ ।" भारतभित्र त्यहाँका माओवादीको बढ्दो प्रभाव र आन्तरकि सुरक्षामा समस्या बढेपछि सशस्त्र संघर्ष गर्ने संगठनप्रतिको भारतीय दृष्टिकोणमा परविर्तन आएको हुन सक्ने कूटनीतिज्ञहरूको भनाइ छ।

अझ, केहीअघि सम्पन्न आमनिर्वाचनमा भारतीय कांग्रेसले बलियो स्थान बनाएपछि माओवादीलाई हेर्ने दृष्टिकोणमा झन् कठोरपन आयो । सन् १९७० को दशकमा इन्दिरा गान्धीको पालामा बनेको विदेश नीति इन्दरकुमार गुजराल र पीभी नरसिंह रावको पालामा परविर्तन गर्न खोजिएको थियो । माओवादी अध्ययनमा, गुजराल र राव छिमेकीलाई असाध्यै निर्धन र पछौटे बनाएर गरबिबीचको धनी टापु बनाउन सक्दैन भन्ने मान्यता राख्थे । संवाद र सहमतिबाटै सुरक्षा चिन्तामा संवेदनशील बनाउनुपर्छ, लादेर होइन भन्ने उनीहरूको मत थियो । यसअघिको संयुक्त प्रगतिशील गठबन्धन -यूपीए) सरकार र लोकसभामा वामपन्थीहरूको बलियो उपस्िथतिले भारतको नेपालका माओवादीप्रति हेर्ने दृष्टिकोण सहानुभूतिपूर्ण नै थियो । तर, पछिल्लोपल्ट कांग्रेस भारतमा बलियो हुनु, नेपालमा बलियो सरकार निर्माण नहुनु र भारतमै माओवादीका सशस्त्र कारबाहीका भीषण घटनाहरू हुनुले उदारताको नाम लिन पनि भारतीय संस्थापन तयार भएन । गुजराल र रावको मान्यतालाई छाडेर इन्दिरालाई आदर्श मान्न थाले, साउथ ब्लकका हर्ताकर्ताहरूले । यसको सिकार आफू बनेको नेपाली माओवादीको बुझाइ छ ।

भारतीय कठोर दृष्टिकोणकै कारण आफ्नो सत्तारोहण दुरुह सावित भएको बुझेरै माओवादीले भारतको ध्यानाकर्षण गराउने शैलीमा आक्रामक अभिव्यक्ति र कार्यक्रम सार्वजनिक गरेको थियो । तर, भारतले आफ्नो धारणामा कुनै परविर्तन नगरेपछि अहिले माओवादी भारतसँग संवाद र विरोधको दोहोरो बाटो समाउन पुगेको छ । अहिले ऊ मुलुकभित्रका सत्तानिकट राजनीतिक शक्तिहरूप्रति विरोध र असहयोग अनि भारतीय पक्षसँग संवादको नीतिमा पुगेको छ ।

माओवादीले आफ्ना आन्तरकि भेला र बैठकहरूमा नयाँ प्रकारको परराष्ट्रनीति निर्माण गर्न खोजेका कारण भारत झस्िकएको भन्ने गरेको छ । उसको भनाइमा माओवादीको परराष्ट्रनीति घरेलु नीतिकै प्रतिविम्ब हो । घरेलु उत्पीडन, शोषण तोड्न खोजेको माओवादीलाई बाहिरी हस्तक्षेप, शोषण र उत्पीडन सह्य हुने कुरा भएन । क्षेत्रीय शक्तिसमीकरण र छिमेकीहरूका चासोहरू पनि फरक स्वरूपमा देखापर्दै गएको अवस्थालाई देखाउँदै नेपालको भूराजनीति बुझेर भारतले नयाँ ढंगले आफूसँगको सम्बन्धलाई परभिाषित गरििदए हुन्थ्यो भन्ने अपेक्षा माओवादीको छ ।

सम्बन्धमा नयाँ मोड
एकीकृत नेकपा माओवादीले बहुपदीय सांगठनिक ढाँचा स्वीकार गरेपछि विभागीय जिम्मेवारी पनि फेर्‍यो । त्यस क्रममा चीनका चर्का आलोचक मानिएका सीपी गजुरेललाई अन्तर्राष्ट्रिय ब्युरोको जिम्मेवारीबाट मुक्त गराएर कृष्णबहादुर महरालाई प्रमुख बनाइयो । ब्युरोमा अहिले इन्द्रमोहन सिग्देल, राम कार्की, मनोज थापा र सुरेश आलेमगर सदस्य छन् ।

गजुरेल प्रमुख हुँदा रभिोलुसनरी इन्टरनेसनल मुभमेन्ट -रमि)सित एकोहोरो नजिकिन खोज्ने, कूटनीतिक सम्बन्ध स्थापनामा खासै पहल नगर्ने र भूमिगतकालकै 'ह्याङ्ओभर'मा चीनको आलोचना मात्रै गर्ने कारणले पार्टीभित्रबाट विदेश विभागको पुनःसंरचनाका लागि दबाब बढेको थियो । भूमिगतकालमा भारतबाट गिरफ्तारी बेहोरेका गजुरेलले पार्टीको औपचारकि तहबाट त्यहाँको संस्थासँग सम्बन्ध र संवादका लागि पनि पहल नगरेको आरोप पार्टीभित्रैबाट लाग्यो । यद्यपि, उनी युरोपेली मुलुक र त्यहाँका भाइचारा संगठनहरूसँग भने निरन्तर सम्पर्कमा रहे ।
पार्टीभित्रको आन्तरकि समीकरण बहुपदीय प्रणालीसँगै नयाँ प्रकारले समायोजन गर्ने अवसर माओवादी नेतृत्वलाई मिल्यो । विदेश विभागमा महरालाई ल्याउनुका पछाडि पनि निश्चित कारण थिए । माओवादी प्रवक्ता हुँदै कूटनीतिक क्षेत्रमा धेरैतिर चिनिएका महरालाई सूचना तथा सञ्चारमन्त्री र सरकारकै प्रवक्ताको जिम्मेवारीले थप अवसर दिलायो । अहिले उनी अन्तर्राष्ट्रिय ब्युरो प्रमुख पनि हुन्  । महरा अन्तर्राष्ट्रिय ब्युरोमा आउनेबित्तिकै चीन भ्रमणको चाँजो मिलाए । त्यतिन्जेल माओवादी अध्यक्ष प्रचण्ड र अर्का प्रभावशाली नेता मोहन वैद्य 'किरण' आन्तरकि समीकरण फेरबदलका क्रममा एक ठाउँमा उभिइसकेका थिए । त्यही मौकामा उनीहरू एकसाथ चीन भ्रमणमा गए । त्यही भ्रमणपछि माओवादी-चीन सम्बन्धमा नयाँ मोड सुरु भएको मानिन्छ ।

कूटनीतिक दबाबमा माओवादी
माओवादीले सडक संघर्ष चर्काउने बाटो समाएपछि काठमाडौँस्थित विभिन्न कूटनीतिक नियोगहरू माओवादीप्रति सशंकित भएका छन् । उसको प्रदर्शन हिंसात्मक बन्ने हो कि भन्ने धेरैको चिन्ता छ । माओवादी प्रदर्शन संयमित नहुँदा सरकार पनि कडा रूपमा उत्रने र मुठभेड चल्ने चिन्ता छ ।

यसअघि नरम दृष्टि राख्ने कूटनीतिक नियोगहरूसमेत माओवादीलाई कडा शब्दमा सम्झाइरहेका छन् । युरोपेली युनियनका सदस्य एवं प्रतिनिधिहरूले वैशाख १३ गते बिहान माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलाई भेटी आफ्नो चासो व्यक्त गरेका थिए । उनीहरूले आसन्न संकट टार्न र सहमति निर्माण गर्न लचकता प्रदर्शन गर्न आग्रह गरेको विज्ञप्तिमा जनाएका छन् । सडकको साटो छलफलको टेबुलमा आई समाधान खोज्न सुझाव पनि उनीहरूले दिए । त्यसपछि वैशाख १५ गते पनि उनीहरूले प्रचण्डलाई सामूहिक भेटेर यस्तै आग्रह दोहोर्‍याए । यसअघि उनीहरूका आग्रहपछि प्रचण्डले यस्ता कार्यक्रम फिर्ता लिएका थिए।

नेपालस्थित अमेरकिी राजदूत स्कट एच डिलिसी, संयुक्त राष्ट्रसंघीय महासचिवकी प्रतिनिधि करनि लेनगे्रन र राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्चायुक्तको नेपाल कार्यालयले माओवादीको तयारीप्रति सशंकित हुँदै कडा शब्दमा माओवादीलाई विज्ञप्ति र भेटमार्फत शान्ति र वार्ताको बाटो अनुसरण गर्न सुुझाव दिएका छन्।
(नेपालबाट)
http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=1037
Issue: 393 २०६७ वैशाख १९ May 2, 2010