Showing posts with label Corruption. Show all posts
Showing posts with label Corruption. Show all posts

Friday, July 21, 2023

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले किन दियो परमादेश ?

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा भाटभटेनी सञ्चालक गुरुङसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बाटो खुला गरिदिएको छ । यस्तै यस प्रकरणमा जोडिएका १७ जना आरोपीलाई पक्राउ गर्न रोक्ने न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गत वर्ष जारी गरेको आदेश पनि खारेज गरिदिएको छ । उक्त आदेश खारेज भएपछि पक्राउ परेलगत्तै छुटेका मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा फेरि पक्राउ परेका छन् । अब ती १७ जनालाई पनि पक्राउ गरी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन बाटो खुलेको छ । 

यही प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई भने विदेश जान नपाउने गरी रिहा गर्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले अनुसन्धान चाँडो सक्न सीआईबीलाई परमादेशसमेत जारी गरेको छ । 

आज सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन र यसअघि सर्वोच्च अदालतबाट जारी भएको आदेशका सन्दर्भमा नयाँ आदेश जारी गरेको छ । बन्दीहरुमध्ये कसलाई रिहा गर्ने र कसलाई थुनेरै अनुसन्धान अघि बढाउने आदेशसँगै सीआईबीका नाममा थप परमादेश पनि जारी गरेको छ । यसको अर्थ र सन्देश के हुन सक्छ ? 

ग्यालेक्सी फोरकेका सम्पादक रामबहादुर रावलको ब्रिफिङ । 

Wednesday, February 5, 2020

बालुवाटार जग्गा प्रकरण : १० रोचक तथ्य

१-फौजदारी कसुरमा मिलापत्र गर्न मिल्ने नयाँ नजिर अख्तियारले प्रतिपादन गरेको   बालुवाटारको जग्गा फिर्ताको सर्तमा विष्णु पौडेल सर्वोच्चका न्यायाधीश न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्तिअरूलाई मुद्दा 

२- अर्को रोचक तथ्य 
यसअघि पनि पटकपटक बालुवाटार जग्गा घोटाला प्रकरणमा उजुरी परेका   २०६०//१८ (सूर्यनाथ उपाध्याय)का पालामा मुद्दानचलाउने निर्णय गरिएको रहेछ  तत्कालीन अनुसन्धान अधिकृत को थियो  कस्तो राय पेस गरेको थियो भन्ने जिज्ञासाको विषय बनेको 

३-बालुवाटारको जग्गा खाने भाटभटेनी साहु मीन  गुरुङमाथि  मुद्दा  दुवैमा गरी ५१ करोडभन्दा बढीको बिगो  
द्रष्टव्ययसअघि उनले नक्कली #भ्याट बिल छापेर जनताबाट उठाएको रकम आफ्नै खल्तीमा हालेको तल्ला अदालतको फैसलासर्वोच्चबाट सदर भएको थियो 

Sunday, June 11, 2017

सुशीला कार्की र अदालतको कोतपर्व

  • रामबहादुर रावल

बोल्न नमान्ने कार्की
मिडियाबाट टाढै रहन चाहने प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो कार्यकालभरिमा सञ्चारकर्मीसँग कहिल्यै औपचारिक अन्तक्र्रिया गर्न रुचाइनन् । सञ्चारकर्मीकै पहलमा भएका कार्यक्रममा न्यायाधीश गोपाल पराजुली सहजै गए तर उनी उपलब्ध भइनन् । लोकमानसिंह कार्कीलाई मोसो दलेको घटनापछि त हामी सञ्चारकर्मीले सर्वोच्च अदालत प्रवेशका लागि समेत निकै संघर्ष गर्नुपर्‍यो । अरु नै परिचय बोकेर बालुवाटारस्थित प्रधानन्यायाधीश निवास प्रवेश गरेका एक जना पत्रकारले अन्तर्वार्ताको कुरा गर्दा बाहिर निकालेको प्रसंग पनि सुनिएको थियो । त्यसैले भेटिहाले पनि हत्पत्ति अन्तर्वार्ता वा समाचार लेख्ने कुरा गर्नु उनका अगाडि अलि ‘धक’कै विषय थियो ।

कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा गएर भने मिडियालाई राम्रै खुराक दिन्थिन् उनी । उनको हकी स्वभाव यसको प्रमुख कारण थियो । त्यस्तो पात्रलाई भेट्नु हामी पत्रकारका लागि भने निकै उपयोगी हुन्छ । पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको स्वभाव पनि करिब यस्तै थियो । मनमा केही कुरा नराख्ने । कुनै कुरा तौलेर नबोल्ने । आफूलाई फाइदा हुने कुरा मात्र बोलेर मिडियालाई प्रयोग गर्न खोज्ने शक्तिशाली व्यक्ति र तिनका ‘स्पिन डक्टर’हरु त जति पनि भेटिन्छन् । तिनले दिने सूचनाको नियत बुझ्न सक्नु नै हाम्रो पहिलो चुनौती हुने गर्छ । यस्ता स्रोतहरु नभेटी पनि नहुने, भेटेर पनि सुख नपाइने खालका हुन्छन् । नि:स्वार्थ रुपमा यथार्थ कुरा बताइदिने ‘हाइप्रोफाइल’ स्रोतहरु पाउन गाह्रो पर्छ ।

Tuesday, June 6, 2017

सबैभन्दा भ्रष्ट राजनीतिक तह : सुशीला कार्की

भ्रष्टाचार मुद्दा टुंग्याउन, राजनीतिक र संवैधानिक पदाधिकारीका स्वेच्छाचारी गतिविधिमा अंकुश लगाउन प्रधानन्यायाधीश सुशीला कार्कीले देखाएको सक्रियता पछिल्लोपल्ट सत्तारूढ दललाई नै पचाउन गाह्रो पर्‍यो । र, नेपालको न्यायिक इतिहासमा कुनै प्रधानन्यायाधीशले सामना गर्नु नपरेको महाभियोग उनले खेप्नुपर्‍यो । भलै, चौतर्फी दबाबपछि सत्ता गठबन्धनले महाभियोग प्रस्ताव फिर्ता लियो । प्रमुख दलहरूको सहमतिमा अख्तियार प्रमुखमा नियुक्त भएका र अदालतबाट मान्यता पाइसकेका लोकमानसिंह कार्कीका अराजकताले आजित भएर पनि कोही बोल्न नसकिरहेका बेला प्रधानन्यायाधीश कार्कीले नै मुद्दा ब्यूँताइन् र लोकमान उक्त पदमा रहन अयोग्य घोषित भए । पूर्वराजा ज्ञानेन्द्रले छाउनीस्थित १५ रोपनी १ आना सरकारी जग्गा छोरी प्रेरणा सिंहलाई दिएको दाइजो सर्वोच्चकै दुई न्यायाधीशको इजलासले कानुनी मान्यता दिइसकेको थियो । त्यो उल्टाउने साहस कार्कीले देखाइन् । अर्थात्, न्यायिक नेतृत्वमा हुनुपर्ने निष्ठा र निर्भीकताको परिचय दिइन् । २४ जेठबाट ६५ वर्षे उमेर हदका कारण निवृत्त हुनै लाग्दा उनै प्रधानन्यायाधीश कार्कीसँग रामबहादुर रावल प्रशान्त अर्यालको कुराकानी :



आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?

जुन विश्वासका साथ म यति काम गरुँला भनेर आएकी थिएँ, कामै गर्न पाइनँ । धेरैजसो बाधा, अवरोध मात्र भइरह्यो ।

के गर्छुजस्तो लागेको थियो ?

मुलुक जोगाउने हो, भ्रष्टाचारको दलदलमा थप फस्न नदिने हो भने अदालतले धेरै काम गर्न सक्छ । न्यायपालिका फिल्टर हो, चाल्नो हो । हाम्रो शरीरका विकारहरू फिल्टर गरी तन्दुरुस्त राख्ने अंगजस्तै हो, अदालत । यसले विकृतिलाई चालेर सही चिजलाई जोगाउँछ । यसले वातावरण ठीक राख्न सक्छ । राजनीतिलाई ठीक पार्न सक्छ । यसका निम्ति अलि साहस जरुरी हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । समाजलाई बनाउनेतिर जानुपर्‍यो । अलिकति भए पनि जनतालाई राहत दिने किसिमले सोच्नुपर्‍यो भनेर मैले केही कदम चालेँ । केही हदसम्म सफल पनि भइयो । धेरै त बाधाविरोध नै भए ।

के–कस्ता बाधा झेल्नुभयो ?
धेरै कुरा छन् । धेरै कारण छन् । मेरा पालामा पेसी धेरै स्थगित गरिदिने (मुद्दाको सुनुवाइ रोक्ने) काम भयो । अचाक्ली स्थगित त महान्यायाधिवक्ताको कार्यालयबाट भयो । कानुन व्यवसायीहरूबाट पनि धेरै स्थगित भए । मैले त केही हदसम्म कडाइ पनि गरेँ । तर, अरू साथी (न्यायाधीश)हरू कस्तो हुनुहुन्छ भने स्थगित गर्न निवेदन आउनेबित्तिकै गर्दिहाल्ने । मैले महाभियोग खेप्नुको एउटा कारण स्थगित गर्न नमान्नु पनि हो । दुईपटकभन्दा बढी स्थगित गर्न दिन्नँ भन्दा वकिलहरू चिढिए ।

Monday, May 22, 2017

महाभियोगको मौकामा चौका

प्रधानन्यायाधीश सुशीला कार्कीको निलम्बनको अवसर छोपेर सत्तापक्ष र प्रतिपक्षको सहमतिमा अख्तियार प्रमुख र महालेखा परीक्षकको नियुक्ति सिफारिस

- रामबहादुर रावल

१७ वैशाख : संसद् सचिवालयमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता । राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्म कार्की निलम्बनको पत्राचार । महाभियोग र त्यसको प्रस्तावक सत्तापक्षप्रति प्रतिपक्षी एमालेको कडा प्रतिक्रिया ।

१८ वैशाख : मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा ।


१९ वैशाख : प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपसभामुख गंगाप्रसाद यादव, तत्कालीन कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीद्वारा समेत हस्ताक्षर ।


२० वैशाख : दुई दिनमा दोस्रोपटक संवैधानिक परिषद्को बैठक । प्रधानमन्त्री कार्यालयमा रहेका सचिव टंकमणि शर्मालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस ।


यस घटनाक्रमका तीनवटा पाटा छन् । एक, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोगको प्रस्ताव संसद्मा दर्ता गरेलगत्तै हतारहतार संवैधानिक परिषद्को बैठक बोलाएर किन नियुक्तिको निर्णय गरियो ? दुई, कायममुकायम (कामु) प्रधानन्यायाधीशको हैसियतमा पुगेका पराजुलीले आफ्नो कार्यप्रकृति, परिषद्को कार्यविधि र सम्भावित उम्मेदवारको योग्यताबारे बिनाकुनै छलफल कसरी सहमति जनाए ? तीन, महाभियोगमा असहमति जनाउँदै सत्तापक्षप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई एकाएक कुन तत्त्वले पगाल्यो ?

परिषद्का दुवै बैठकमा खासै धेरै छलफल भएन । परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरे । सबैले एकमतले सहमति जनाए । विवाद, विरोध वा बहस गर्नतिर कोही लागेनन् । बरू पहिलो बैठकमा परिषद्को नयाँ सदस्यका रूपमा उपस्थित पराजुलीलाई पालैपालो सबैले बधाई दिए । उनले पनि खुसी व्यक्त गरे । त्यतिन्जेल मुख्यसचिव सोमलाल सुवेदीले निर्णय टिपे । उपसभामुख एवं परिषद् सदस्य गंगाप्रसाद यादव भन्छन्, “एकदमै सौहार्दपूर्ण वातावरणमा निर्णय भयो । कसैको विमति वा फरक मत रहेन ।”


प्रचण्ड प्रयास
अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की सर्वोच्च अदालतद्वारा गत २४ पुसमा अयोग्य घोषणा भएलगत्तै त्यस ठाउँमा प्रधानमन्त्री प्रचण्डले त्यहीँका आयुक्त दीप बस्न्यातलाई नियुक्त गर्न खोजेका थिए । गत १४ माघमा परिषद्कै बैठकमा प्रचण्डले उनको नाम प्रस्ताव गर्दा प्रधानन्यायाधीश सुशीला कार्कीले कडा शब्दमा विरोध जनाएकी थिइन् । जबकि, सोही दिनको बैठकले निर्वाचन आयुक्तहरूमा ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार साह र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो । प्रधानन्यायाधीश कार्कीको असहमतिकै कारण बस्न्यातको नाम अघि बढ्न सकेको थिएन । उनको भनाइ थियो, ‘जसको योग्यतामाथि प्रश्न उठेर अदालतमा मुद्दा विचाराधीन छ । पृष्ठभूमि पनि गतिलो छैन । त्यस्तो व्यक्तिको नाममा समर्थन गर्न सक्दिनँ ।’ अख्तियारजस्तो निकायमा न्यायिक एवं कानुनी पृष्ठभूमिको व्यक्ति पठाउनु उचित हुने उनको सुझाव थियो ।

Wednesday, April 26, 2017

जोखिममा साढे नौ अर्ब, को कहाँ ठगिए ?

 - रामबहादुर रावल

चैत्र ४, २०७०- पुतलीसडक, काठमाडौँस्थित स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्थाबाट बाबुलाल श्रेष्ठले २ करोड ७० लाख ७१ हजार ६ सय ४८ रुपियाँ ऋण लिएका छन्। तर, उनले एक रुपियाँ पनि ब्याज तिर्नुपर्दैन। कारण, उनी उक्त सहकारीका सञ्चालक खुशचन्द्र श्रेष्ठका दाजु हुन्।

स्ट्यान्डर्ड सहकारीकै खाता पल्टाउने हो भने किचा चित्रकारका नाममा २ करोड १ लाख ४९ हजार रुपियाँ ऋण भेटिन्छ। उनलाई पनि नाम मात्रको ब्याज तोकिएको छ। कारण, उनी अर्का सञ्चालक राजेश श्रेष्ठका व्यावसायिक साझेदार हुन्। ९ लाख ४० हजार रुपियाँ ऋण लिएकी ललिता राईले ब्याजबापत मात्र २ लाख ४४ हजार तिर्नुपर्छ। यतिबिघ्न ब्याज पुग्दा पनि संस्थामा उनलाई ताकेता गर्ने कोही छैन। उनले यति सहुलियत पाउनुको कारण पनि सञ्चालकसँगको नाता नै हो। उनी सञ्चालक राजेश श्रेष्ठकी दिदी हुन्। फ्लेक्जी लोन वा होम लोन शीर्षकमा लगानी गरिएको यस्तो ऋणको साँवा रकम मात्र २३ करोड ४५ लाख छ, स्ट्यान्डर्डको।

बचतकर्ताहरू आफूले खाइनखाई जम्मा गरेको रकम, जागिर सकिएपछि आएको उपदान र विदेशमा पसिना बगाएर पठाएको आफन्तको रेमिट्यान्स फिर्ता पाउन सकिरहेका छैनन्, सहकारीले दिन्छु भनेको ब्याज त परै जाओस्। तर, सञ्चालकहरू ढुक्कले सर्वसाधारणको रकम आफ्नै पैतृक सम्पत्तिजस्तो प्रयोग गररिहेका छन्। उनीहरूले सर्वसाधारणको रकम बिनाब्याज आफन्तलाई बाँडेका छन्। ब्याज लिए पनि नाम मात्रको तोकिएको छ। ब्याज तोकिए पनि र ऋण भनिए पनि संस्थालाई फिर्ता गर्नुपरेको छैन।

Wednesday, March 8, 2017

फेरि जग्गा बाँड्ने आयोग

सुकुमबासीका नाममा ०४६ यता १३ आयोग, डेढ लाख परिवारलाई ४६००० बिघा जग्गा वितरण तर समस्या झन् बढ्दै

  • रामबहादुर रावल



काठमाडौँ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को ९ फागुनको बैठकले राष्ट्रिय बसोबास आयोग गठन गर्ने निर्णय गर्‍यो । भूमिसुधार मन्त्री विक्रम पाण्डेको अध्यक्षतामा गठित आयोगमा सोही मन्त्रालयका सचिवका साथै वन तथा भू–संरक्षण, सहरी विकास र गृहसचिवसमेत सदस्य तोकिएको छ । साथै, तीन जना सम्बन्धित क्षेत्रका विज्ञ सदस्य मनोनीत गरिने गठनादेशमा उल्लेख छ । मन्त्रालयका सहसचिवले आयोगको सदस्य–सचिवका रूपमा काम गर्नेछन् ।


सरकारी, सार्वजनिक र गुठी जग्गामा भएका अतिक्रमण रोक्न, अव्यवस्थित बसोबास र सुकुमबासी समस्याको समाधान गर्न यो आयोग गठन गरिएको सरकारी निर्णयमा उल्लेख छ, जसको कार्यकाल दुई वर्ष हुने भनिएको छ ।

सुकुमबासी तथा भूमिहीनलाई लक्षित गरी गठन गरिएको यो १३औँ आयोग हो । यसअघिको १२औँ आयोग २ असार ०७१ मा शारदाप्रसाद सुवेदीको अध्यक्षतामा गठन भएको थियो, जुन सर्वोच्च अदालतको अन्तरिम आदेशबाट निष्क्रिय छ ।

Thursday, February 16, 2017

सुमार्गीको शंकास्पद ११ अर्ब


अवैध प्रक्रियाबाट भित्र्याइएको रकमलाई वैधानिकता दिने प्रयास


  • रामबहादुर रावल


नेपाल राष्ट्र बैंकमा ५ जेठ ०७० मा एउटा यस्तो पत्र आइपुग्यो, जसले बैंकका अधिकारीहरूलाई सशंकित बनायो । किनभने, त्यो पत्रमा विदेशबाट आएको १ करोड २० लाख अमेरिकी डलर अर्थात् १ अर्ब २० करोड रुपियाँबराबरको रकम ऋणका रूपमा स्वीकृत गरिदिन अनुरोध गरिएको थियो । तर, उक्त रकम ल्याउनुअघि अपनाउनुपर्ने कुनै प्रक्रिया अवलम्बन गरिएको थिएन ।

साथै, उक्त कारोबारले अनेक आशंका जन्माएको थियो । जस्तो कि, एउटै व्यक्तिले पटक–पटक उही कम्पनीबाट किन र के प्रयोजनका लागि रकम ल्याउँदैछ ? जुन प्रयोजनका लागि रकम ल्याउने भनेको छ, त्यही काममा प्रयोग भएको छ कि छैन ? भोलि उसको कुनै परियोजना असफल भएमा त्यसरी ल्याएको ऋण भनिएको रकम तिर्ने सामथ्र्य राख्छ कि राख्दैन ? विदेशबाटै किन ऋण लिनुपर्‍यो, त्यो पनि अस्वाभाविक महँगो व्याजदरमा ?


राष्ट्र बैंकले यी प्रश्नको उत्तर खोज्न उक्त रकम र त्यससँग जोडिएका व्यक्ति र कम्पनीहरूको कारोबार खोतल्यो । तर, न उताबाट ऋण दिने कम्पनीको इतिहास र छवि गतिलो छ, न यता रकम प्राप्त गर्ने कम्पनीको । पठाउने कम्पनी पनि कर उन्मुक्ति पाइने मुलुक, जो ‘ट्याक्स हेभन’ भनेर चिनिन्छन्, मा दर्ता भएका, आफ्नो मुलुकमा लगानी गर्ने अधिकार नभएका (अफ्सोर) र कारोबार पारदर्शी नभएका थिए । तीमार्फत भित्र्याइएको रकम सही ठाउँमा प्रयोग हुने पर्याप्त आधार पनि देखिएन । राष्ट्र बैंकले तोकेका सर्तहरू पूरा नगरी भित्र्याइएको उक्त रकम जोखिमपूर्ण ठाउँ वा राष्ट्र बैंककै भाषामा ‘रिस्की ग्रुप’मा प्रयोग हुँदै थियो ।


त्यो अनुसन्धान गर्दै जाँदा धेरै गडबडी भेटियो । राष्ट्र बैंकको अनुमतिबेगर नै ती कम्पनीका नाममा विदेशबाट पटक–पटक रकम ल्याई स्थानीय बैंकहरूसँगको मिलेमतोमा प्रयोग र परिचालन गरिएको रहेछ ।

Wednesday, February 1, 2017

दागी कमान्डर : कोषराज वन्त

सशस्त्र प्रहरी महानिरीक्षकको पदमा बहाल रहेकै बेला कोषराज वन्तमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा कारबाही चलायो र निलम्बन गर्न सरकारलाई निर्देशन दियो । ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको छानबिनबाट देखिएपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

मुलुकको अर्धसैन्य फौजको प्रमुखमा बहाल रहेकै बेला भ्रष्टाचार मुद्दा लागेर पदमुक्त भएको यो नै पहिलोपल्ट हो । राष्ट्रिय सुरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको निकायका प्रमुखमाथिको यो अभियोगले सिंगो संगठनकै मनोबल र छविमै आँच पुग्यो । साथै, यो सुरक्षा संगठनमा आर्थिक अराजकता कुन हदसम्म चुलिएको रहेछ भन्ने कुराको पोल पनि उनैबाट खुल्यो ।

त्यति मात्र होइन, विगतका सबै जीवित सशस्त्र प्रहरी महानिरीक्षकहरूमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चल्यो । उच्च नैतिक, चरित्रवान् र राज्यको विश्वासिलो व्यक्ति हुनुपर्ने ठाउँमा कति अव्यावसायिक र असंवेदनशील व्यक्ति त्यो संगठनको नेतृत्वमा पुगेका रहेछन् भन्ने कुरा वन्तबाटै खुल्यो, जसले किन्दै नकिनेको सामानको नक्कली बिल भर्पाई बनाएको, ती सामान मातहतका विभिन्न युनिटमा पठाएको यातायात खर्चसमेत आफैँले लिएको अभियोग बेहोरे । 

Tuesday, January 24, 2017

किन हतारियो विशेष अदालत ?


पुराना भ्रष्टाचार मुद्दा जहाँका तहीँ, ल्हारक्याल लामालाई चाहिँ सफाइ दिन हतारो
  • रामबहादुर रावल


काठमाडौँ । करिब ९ करोड ४४ लाख रुपियाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपसहित नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विशेष अदालतले ६ महिनामै टुंग्यायो ।  ३० वैशाख ०७३ मा दायर मुद्दा ३० कात्तिकमै किनारा लाग्यो । जब कि, चार वर्ष पुराना साढे दुई सयभन्दा बढी मुद्दा त्यही अदालतमा विचाराधीन छन् । 

लामाले विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलाबाट सफाइ पाए । अख्तियारले अवैध दाबी गरेको उनको सबै सम्पत्ति  वैध ठहरियो । विशेष अदालत ऐन, २०५९ को दफा १६ अनुसार मुद्दा दायर भएको ६ महिनाभित्र भ्रष्टाचार मुद्दाको टुंगो गरिसक्नुपर्छ । ठीक ६ महिना पुगेकै दिन उनको मुद्दा फैसला हुँदा ऐनको प्रावधान त पालना भयो तर विशेष अदालतमै चार वर्षदेखि धाइरहेका अन्य मुद्दा पक्षहरूले भने लामाको फैसलाप्रति जिब्रो टोके । कारण थियो, हत्पत्ति कानुनले तोकेको म्यादभित्र मुद्दा नछिन्ने विशेष अदालत सांसद लामाको मुद्दा भने समयमै छिनिएको थियो ।

Sunday, November 6, 2016

लोकमान : सरकार र संसदभन्दा माथि


पञ्चायतकालीन राजदरबारको शैलीमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीद्वारा सरकारको बजेट र नीति तथा कार्यक्रममै हस्तक्षेप गरेको खुलासा

  • रामबहादुर रावल


नयाँ संविधान जारी गरेपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकार बेग्लै उत्साहका साथ नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेको थियो । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखसमेत नयाँ भएकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रमका लागि संसद् सचिवालयले पनि आफ्नै ढंगले तयारी गर्दै थियो । विगत धेरै वर्षदेखि समयमा बजेट आउन नसकेको र धेरै विकास बजेट फ्रिज भएको अनुभवका कारण नयाँ संविधानले १५ जेठभित्र संसद्मा बजेट पेस गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्थाका बीच त्यो बजेटको तयारी हुँदै थियो । सरकार र संसद्ले यस्तो तयारी थाल्दा नथाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६ फागुन ०७२ मा यस्तो खामबन्दी पत्र आयो, जसले नीति तथा कार्यक्रमकै झल्को दिन्थ्यो ।


यो हो कार्यकारीलाई कज्याउने लोकमानको ४२ बुँदे (पूर्ण पाठ)
२१ माघमा राष्ट्रपतिसमक्ष प्रस्तुत आफ्नो वार्षिक प्रतिवेदन र ३ फागुनको आयोग बैठकको निर्णयको हवाला दिँदै प्रेषित उक्त पत्रसँगै नत्थी गरिएको थियो, १२ पानाको ४२ बुँदे दस्तावेज । आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति कार्यालयबाट संसद्मा आइनपुग्दै संसद्लाई समेत ‘बाइपास’ गरेर अख्तियारले उक्त पत्राचार गरेको थियो । मुख्यसचिवमार्फत सरोकारवाला निकायलाई लेखी पठाउने निर्णय भएको भन्दै आयोगका तर्फबाट उपसचिव लक्ष्मण गौतमले उक्त पत्र लेखेका छन् ।

Tuesday, August 16, 2016

सशस्त्र प्रहरीमा जन्मजातै भ्रष्टाचार !


सशस्त्र प्रहरी बलका हालसम्मका सबै जीवित पूर्वमहानिरीक्षकहरु भ्रष्टाचार कारबाहीमा

- रामबहादुर रावल

गत ४ मंसिरमा राजधानीको हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)ले आफ्नै मुख्यालयमा १५औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्‍यो । विशेष किनभने उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री शक्ति बस्नेत, मुख्यसचिव, गृहसचिवलगायत उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । प्रधानमन्त्री ओलीले केक काटे । गृहमन्त्री बस्नेतले तत्कालीन महानिरीक्षक कोषराज वन्तले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वन्तले पनि एपीएफका तर्फबाट विदेशी मदिरासहितको भव्य भोज र सांस्कृतिक प्रस्तुतिहरूले आमन्त्रितको स्वागत–सत्कार गरे ।

त्यसको एक महिना पनि नबित्दै ३ पुसमा महानिरीक्षक वन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा निलम्बित भए । १८ माघमा त उनीविरुद्ध ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा नै दायर गर्‍यो ।

एपीएफ मुख्यालयमा पुगेर राज्यका उच्च ओहोदामा रहेकाहरूले नै स्वाद मानीमानी लिएको मदिराको चुस्की र बफेका व्यञ्जनहरूसमेत अनियमित तवरले किनिएका रहेछन् भन्ने रहस्य पनि यही मुद्दाबाट खुल्यो । किनभने, एपीएफको वैधानिक बजेटमा यस्ता भोजभतेरको व्यवस्था छैन, हुँदैन । बरू, यो खर्च उठाउन अरू नै कीर्ते कामहरू गरिँदो रहेछ, जुन परम्पराको सुरुआत एपीएफ स्थापनादेखि नै भएको रहेछ । 

स्थापना दिवसको भोजभतेर त एपीएफमा नेतृत्वकै संरक्षणमा हुँदै आएको कीर्तेको एउटा सानो नमुना मात्र हो । यसबाहेक पनि कैयौँ यस्ता खरिद प्रकरण छन्, जसमा नक्कली बिल, भर्पाई गरी लेखा शाखाले तयार गर्ने र एपीएफ नेतृत्वले सदर गरेको पाइएको छ । पछिल्ला चार महानिरीक्षकमाथि भएका छानबिनबाट के देखिएको छ भने एपीएफमा नेतृत्व स्वयंले नक्कली बिल, भर्पाई बनाउन मातहत कर्मचारीलाई प्रोत्साहित गर्नु सामान्य बनेको छ । सञ्चालनमै नरहेको र अस्तित्वमै नभएको कम्पनीबाट वस्तु र सेवा खरिद गरेका नक्कली कागजातहरू बनाइएका छन् । नक्कली बिल, भौचर आफँै छाप्ने, आफैँ विवरण भर्ने, निकासा गरी उच्च अधिकारीहरूले बाँडीचुँडी खाएका छन् । त्यस्ता नक्कली काममा सरिक हुन नमान्ने कर्मचारीका नाममा समेत अर्कै व्यक्तिलाई सही गर्न लगाइएको छ । मातहत कर्मचारीका नाममा पेस्की तथा भत्ता निकासा गरी महानिरीक्षकहरू आफैँले लिएका छन् । कतिसम्म भने किन्दै नकिनेको सामान मातहतका एकाइहरूलाई पठाएको भन्दै कार्गोको नक्कली बिलसमेत दाखिला गरी प्रहरी नेतृत्वले रकम हात पारेको अनुसन्धानले देखाएको छ ।

Sunday, May 8, 2016

गुप्तचर प्रतिवेदन अख्तियारलाई

अकुत सम्पत्ति आर्जनको आशंकामा राष्ट्रिय खुफिया संयन्त्रले १ सय ९५ जना उच्च
पदस्थको सम्पत्ति खोजबिन गरी अख्तियारलाई दिएको खुलासा

- रामबहादुर रावल
“माननीय प्रमुख आयुक्तज्यूबाट निर्देशन भएबमोजिम विभिन्न राजनीतिक दलका प्रमुख नेता तथा कार्यकर्ताहरू ४२ जना, उच्च पदस्थ अवकाशप्राप्त कर्मचारीहरू ३८ जना, वर्तमान सचिवज्यूहरूलगायत उच्च पदस्थ सरकारी राष्ट्रसेवक कर्मचारीहरू ६२ जना, बहालवाला एवं अवकाशप्राप्त सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूबाट ५३ जनासमेत गरी १ सय ९५ जनाको व्यक्तिगत एवं आर्थिक विवरण संकलन गरी श्रीमान्समक्ष पठाएको छु । ४ सय ६ पानासहितको उक्त विवरण सम्बोधित व्यक्ति (माननीय प्रमुख आयुक्तज्यू)ले मात्र प्राप्त गर्ने गरी हातोहात पठाइएको बेहोरासमेत जाहेर गर्दछु ।”

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई लेखेको पत्रको बेहोरा हो यो ।

Sunday, January 31, 2016

'इम्बोस्ड नम्बर प्लेट'मा पौने चार अर्बको झेल

संघीयतामा काम नलाग्ने गरी अनियमित तवरले हतार–हतार मुलुकभरका सवारी साधनको नम्बर प्लेटलाई इम्बोस्ड स्वरुपमा परिवर्तन गर्ने तयारी 

  • रामबहादुर रावल



यातायात व्यवस्था विभागले १ मंसिरदेखि २९ पुससम्मको म्याद राखेर एउटा विश्वव्यापी बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशित गर्‍यो, देशभरका सवारी साधनमा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड सारको उच्च सुरक्षा प्रविधियुक्त ( इम्बोस्ड) नम्बर प्लेट लागू गर्ने भन्दै । ३० वटा कम्पनीले बोलपत्र फारम पनि लिए । तीमध्ये चारवटाले प्रस्ताव पेस गरे । विभागका योजना महाशाखा प्रमुख अर्जुन थापाको संयोजकत्वमा गठित खरिद समितिले बोलपत्रहरूको मूल्यांकन गरिरहेको छ ।

यातायात व्यवस्थापनलाई अत्याधुनिक प्रविधिमैत्री र सुरक्षात्मक विशेषतायुक्त बनाउने यो योजना यस्तो समयमा अघि बढाइएको छ, जतिखेर मुलुक अञ्चलको संरचना खारेज गरी नयाँ संघीय ढाँचामा प्रवेश गर्दैछ तर नम्बर प्लेटमा भने अञ्चलकै नाम राख्ने गरी । संविधान जारी भइसकेर संघीयता कार्यान्वयनको चरणमा मुलुक प्रवेश गर्नै लाग्दा सरकारले हतारहतार नयाँ संरचनामा कामै नलाग्ने गरी नम्बर प्लेटको स्वरूप परिवर्तन गर्न खोजेको छ, जसले अनियमितताको आशंकालाई बल पुर्‍याएको छ । कतिसम्म भने भएका नियम–कानुनलाई समेत अद्यावधिक नगरी, निश्चित कम्पनीसँग मिल्दोजुल्दो स्पेसिफिकेसन तयार गरी बोलपत्र आह्वान गरिएको छ । यही प्रक्रिया अनुसार नम्बर प्लेट फेर्ने हो भने आमउपभोक्तालाई दोहोरो मारमा पारेर एउटा कम्पनी मालामाल हुनेछ । सँगै, सरकारी अधिकारीहरू र राजनीतिक व्यक्तिहरूले समेत ‘शुभलाभ’ प्राप्त गर्नेछन् । यसमा सात अर्ब रुपियाँबराबरको कारोबार जोडिएको अनुमान छ ।


खाने हतारो

यस परियोजनामा कति लागत पर्छ भन्नेबारे प्रस्टसँग कतै उल्लेख छैन । प्रतिप्लेट लागत कति पर्छ भन्ने पनि सार्वजनिक गरिएको छैन । यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीका अनुसार यसमा सरकारले एक रुपियाँ पनि लगानी गर्दैन । ठेक्का पाउने कम्पनीले नै सबै पूर्वाधार बनाउनुपर्छ । प्रतिस्पर्धाका आधारमा कायम हुन आउने मूल्य सरकारले तोक्छ । त्यो रकम राजस्वका रूपमा सरकारले उठाउँछ र कम्पनीलाई क्रमिक रूपमा दिँदै जान्छ ।


विभागमा लामो समय प्राविधिक निर्देशक रहेर हालै निवृत्त भएका शरद अधिकारीका अनुसार एउटा सवारी साधनका लागि आवश्यक हुने अगाडि र पछाडिका गरी दुई नम्बर प्लेटको ३० डलर (तीन हजार रुपियाँ) अधिकतम मूल्य पर्न सक्ने हिसाब निकालिएको छ । प्रतिस्पर्धाका क्रममा यो आधा घट्न सक्ने अनुमान गर्दा १ हजार ५ सयदेखि २ हजार रुपियाँसम्म पर्न सक्छ ।


सरकारले पाँच वर्षभित्र २५ लाख सवारी साधनको नम्बर प्लेट फेर्ने तालिका बोलपत्र कागजातसँगै दिएको छ । त्यस अनुसार पहिलो वर्षमै २२ लाख २४ हजार गाडीको नम्बर प्लेट फेर्ने सरकारी योजना छ । प्रतिस्पर्धाका क्रममा सरकारी दरमा आधा घटे पनि १ हजार ५ सय रुपियाँ प्रतिसवारी साधनले हिसाब गर्दा २५ लाख गाडीको ३ अर्ब ७५ करोड रुपियाँ न्यूनतम हुन जान्छ । अर्थात्, यो रकम सरकारले कम्पनीलाई तिर्नुपर्छ । तर, सरकारले उपभोक्ताबाट भने लागत मूल्यमा सञ्चालन खर्च वा अरू थप रकम जोडेर लिन सक्छ । जस्तो कि, मेसिन रिडेबल पासपोर्ट (एमआरपी)मा सरकारले प्रतिएकाइ चार डलर अर्थात् चार सय रुपियाँ कम्पनीलाई तिर्छ भने आमनागरिकबाट पाँच हजारदेखि १० हजार रुपियाँसम्म लिन्छ । 


यसअघि बोलपत्र आह्वान गर्दाका महानिर्देशक एवं नेपाल सरकारका सचिव शरदचन्द्र पौडेलका अनुसार एकपटकमा ट्यांकीभरि तेल भर्दा बराबर हुन आउने रकमसँग तुलना गर्न मिल्ने अंक हुन आउँछ । भन्छन्, “चारदेखि पाँच हजार रुपियाँमा बन्छ भन्ने अनुमान थियो । यसमा विस्तृत अध्ययन प्रतिवेदन नै तयार गरिएको छ । त्यो हेरियो हेरिएन, उपयोग गरियो गरिएन, बेग्लै पाटो छ ।” 


जे होस्, कम्पनीसँग न्यूनतम १ हजार ५ सय रुपियाँमा सहमति भयो भने पनि पाँच वर्षमा २५ लाख सवारी साधनको नम्बर प्लेट जडान गर्दा उक्त कम्पनीको कारोबार ३ अर्ब ७५ करोडको हुने निश्चित छ । अझ सरकारले निकै अघि निर्धारण गरेको अधिकतम लागत ३० डलरलाई आधार मान्ने हो भनेचाहिँ पाँच वर्षमा साढे सात अर्ब रुपियाँको कारोबार हुने देखिन्छ । प्रदेशको नाम फेरि अर्को प्लेट अनिवार्य गरिएमा यो अंक १५ अर्ब पुग्नेछ ।


माघ ०७४ सालसम्म अहिलेकै व्यवस्थापिका संसद् रहे पनि त्यसलगत्तै नयाँ संघीय र प्रादेशिक व्यवस्थापिका गठन भई आ–आफ्ना कानुन निर्माण गर्नेछन् । प्रादेशिक कानुन निर्माण गरी पूर्ण रूपमा लागू गर्न र प्रचलित नम्बर प्लेटहरू फेर्ने तयारीका लागि थप केही वर्ष लाग्ने अनुमान गर्दा पाँच वर्ष पूरा हुन सक्नेछ । त्यसपछि प्रदेशका नाम नम्बर प्लेटमा राख्न थाल्ने हो भने कम्पनीले दोब्बर रकम उठाउनेछ । त्यसको मूल्य उपभोक्ताले चुकाउनुपर्नेछ ।


पूर्वमहानिर्देशक पौडेलले भनेजस्तै उपभोक्ताबाट असुल्ने रकम प्रतिगाडी चार हजार रुपियाँ तोकिएमा अञ्चलका नाममा एकपटक र प्रदेशका नाममा अर्कोपटक गरी आठ हजार रुपियाँ प्रत्येक सवारी साधनका धनीले तिर्नुपर्नेछ । यसबीचमा बेहोर्नुपर्ने झन्झट, व्यतीत हुने समय र यसअघि प्रयोग गरेको नम्बर प्लेटको खर्चको हिसाबकिताब बेग्लै छ । विभागका पूर्वप्राविधिक निर्देशक शरद अधिकारी भन्छन्, “यो एकदमै आवश्यक त भइसकेको छ तर राज्यको नयाँ संरचना स्पष्ट नहुँदा यसले जटिलता निम्त्याउन सक्छ ।”

दोहोरो खर्च गराउने दाउ

बोलपत्रसम्बन्धी फारममा अञ्चलको नामै नम्बर प्लेटमा छापिनुपर्ने उल्लेख छ । बोलपत्रसम्बन्धी कागजातको पृष्ठ ६९ मा नम्बर प्लेटमा उल्लेख हुनुपर्ने १४ वटै अञ्चलको सूची दिइएको छ । सरकारले स्वीकृत गरेको नम्बर प्लेटको नमुना अनुसार बायाँतिरको छेउमा माथिपट्टि नेपालको झन्डा, झन्डामुनि नेपालको छोटकरी रूप एनईपी र तल्लो भागमा नेपाल सरकारको निशाना छाप राखिएको छ । प्लेटको संकेत नम्बरभन्दा माथि रोमन लिपिमा अञ्चलको नाम रहने गरी नमुना तयार गरिएका छन् ।


गत ३ असोजमा जारी संविधान अनुसार अब मुलुकमा अञ्चल र विकास क्षेत्र रहने छैनन् । जिल्लादेखि माथि र मन्त्रालयभन्दा तलका सम्पूर्ण राज्य संरचना प्रदेश सरकार अन्तर्गत रहनेछन् । संविधानले संघ, प्रदेश र स्थानीय सरकारका अधिकार क्षेत्रको सूचीसमेत तोकेको छ । नयाँ संविधानको अनुसूची ५ मा राष्ट्रिय यातायात नीति केन्द्रीय (संघीय) सरकारको अधिकार सूचीमा राखिएको छ भने अनुसूची ६ अनुसार यातायात व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई तोकिएको छ । “यसको अर्थ नीति केन्द्रले बनाउने र कार्यान्वयन प्रदेशले गर्ने भन्ने हो,” अधिवक्ता चन्द्रकान्त ज्ञवाली भन्छन्, “अञ्चललाई त अहिलेको संविधानले चिन्दा पनि चिन्दैन ।”


संविधानले नचिन्ने प्रशासनिक संरचनाको नाम नम्बर प्लेटमा राख्दा संघीयताको कार्यान्वयनमै जटिलता त पैदा हुने नै छ, सरकारलाई व्यवस्थापन गर्न र उपभोक्ताले पटकपटक झन्झट र खर्च बेहोर्नुपर्नेछ । किनभने, संविधानमा सात प्रदेश हुने उल्लेख छ ।

केही अञ्चल एकभन्दा बढी प्रदेशमा विभक्त भएका छन् । त्यसैले आज एउटा अञ्चलका नाम लेखेर टाँसिने नम्बर प्लेट भोलि संघीयताको कार्यान्वयनसँगै काम लाग्ने छैनन् । यातायात व्यवस्थापन र सवारी कर प्रदेशको क्षेत्राधिकारको विषय मात्रै नभई उनीहरूको पहिचानको विषयसमेत बन्न सक्नेछ । “नागरिकता नै प्रादेशिक पहिचानसहितको जारी गरिने संविधानमा लेखिएको छ भने नम्बर प्लेटमा त प्रदेशहरूले आफ्नो पहिचान अवश्य खोज्नेछन्,” संविधानविज्ञ ज्ञवाली भन्छन् ।


राज्य पुन:संरचना हुँदैछ भन्ने नाममा नगरी नहुने कैयौँ काम थाती राखिएका छन् । मुलुक संघीयतामा जान लागेको भन्दै स्थानीय निकायको निर्वाचन गर्न दिइएको छैन, जसले गर्दा जनताले प्राप्त गर्ने सेवा र विकास गतिविधि प्रत्यक्ष प्रभावित भएका छन् । तर, संघीयता कार्यान्वयन हुनेबित्तिकै उल्टाउनुपर्ने गरी अहिले किन हतार गरिएको हो भन्ने जवाफ सम्बन्धित अधिकारीहरूसँग पनि छैन । विभागका निर्देशक एवं सूचना अधिकारी वसन्त अधिकारी समग्र यातायात व्यवसायलाई डिजिटल प्रविधिबाट अभिलिखित गर्नुपर्ने आवश्यकता महसुस गरी तेह्रौँ योजना, नियम र बजेटमा व्यवस्था गरिएकाले त्यही अनुरूप अहिलेको प्रक्रिया अगाडि बढेको बताउँछन् ।

विवादै विवाद

०४६ सालको राजनीतिक परिवर्तनसँगै विद्यमान नम्बर प्लेट अवैज्ञानिक र अव्यावहारिक रहेको भन्दै आधुनिकीकरण गर्ने चर्चा सुरु भएको हो । ०४८ सालमा तत्कालीन श्रम तथा यातायातमन्त्री विजयकुमार गच्छदारको सम्पर्कमा एक जर्मन कम्पनी पुग्यो । उक्त कम्पनीले विस्तृत अध्ययन गरी परियोजना प्रस्ताव पनि पेस गर्‍यो । तर, अन्तिममा कुरा नमिलेपछि यो प्रक्रिया नै अवरुद्ध भयो । 


त्यसपछि ०५८ सालतिर पुन: इम्बोस्ड नम्बर प्लेटको चर्चा चल्यो तर माओवादी द्वन्द्वका कारण त्यो विषय सरकारको प्राथमिकतामा परेन । केही वर्ष त्यसै रह्यो । ०६० सालमा एउटा जर्मन कम्पनीको सहकार्यमा क्याप्सन नेपाल प्रालि नामक एक कम्पनीले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी परियोजना प्रस्ताव विभाग र मन्त्रालयमा पेस गरेको थियो । त्यसपछि सरकारले पनि चासो व्यक्त गर्दै विभिन्न चरणमा छलफल, परामर्श र सुझाव संकलनको काम अघि बढायो । त्यो पनि बीचैमा तुहियो । 


त्यसपछि हरेक वर्ष यो विषय उठ्दै सेलाउँदै गयो । विभागको नेतृत्व पनि छिटोछिटो परिवर्तन हुने भएकाले नीति र प्रक्रिया समान ढंगले अघि बढ्न सकेन । ०६७ सालमा तत्कालीन विभाग प्रमुख शरदचन्द्र पौडेलका पालामा बोलपत्र आह्वान भयो । तर, त्यो पनि सार्वजनिक खरिद ऐन अनुकूल नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्रिया रद्द गरिदियो । यसबीचमा कुन प्रविधि वा प्रणाली अपनाउने, कुन सुरक्षात्मक विशेषता राख्ने र कुन नराख्ने भन्ने विषयमै लामो गलफत्ती भयो । यतिसम्म कि विभागले गरेका र गर्नुपर्ने प्राविधिक अध्ययन विश्लेषणलाई पन्छाएर मन्त्रालयबाट तोकादेश आउन थाले । “कुनै एउटा समूह विशेषलाई फाइदा पुग्ने गरी मन्त्रालयबाट फाइल आएको थियो । त्यसमा रहेका कमी–कमजोरी सच्याएर मात्र फाइल अगाडि बढाउनुपर्ने लेखेको थिएँ । त्यसपछि के गरियो, थाहा भएन,” विभागका पूर्वमहानिर्देशक मधुसूदन बुर्लाकोटी भन्छन् ।

नियमविपरीतको काम

भएका ऐननियमलाई अद्यावधिक पनि नगरी सरकारले पछिल्लोपटक बोलपत्रको प्रक्रिया अघि बढाएको छ । यसले पनि अनावश्यक हतारो गरेको पुष्टि हुन्छ । सवारी तथा यातायात व्यवस्था नियमावली, २०४९ को नियम ४ उपनियम ४ मा इम्बोस्ड नम्बर प्लेट हुने उल्लेख छ । प्लेटको ढाँचा त्यही नियमावलीको अनुसूची ६ मा दिइएको छ, जसको द्रष्टव्य खण्डमा लेखिएको छ, ‘तोकिएको रंग अनुसारका अंक र अक्षर देवनागरी लिपिमा स्पष्ट रूपमा लेखिएको हुनुपर्नेछ ।’


अहिलेको बोलपत्र प्रक्रिया अघि बढाउनुअघि नियमावलीको यो व्यवस्था संशोधन गरिएको छैन । तर, बोलपत्र फारममा भने रोमन लिपिमा अंग्रेजी अक्षर र अंक मात्र रहेको नमुना दिइएका छन् । अञ्चलको नामसूची पनि रोमनमै लेखिएको छ । यातायात मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्की भने यसबारे विभागका महानिर्देशकसँग बुझ्नुपर्ने बताउँछन् । महानिर्देशक चन्द्रमान श्रेष्ठ यसबारे कुराकानी गर्नसमेत मान्दैनन् । सूचना अधिकारी वसन्त अधिकारी पनि कानुनी प्रावधान आफ्नो जानकारीको विषय नभएको बताउँछन् । भन्छन्, “नियमावलीमा के छ भन्ने मलाई थाहा छैन । तर, ०६७ सालपछि आजसम्म नियमावली संशोधन भने गरिएको छैन ।”


कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका एक सहसचिव भने नियम संशोधन नगरी त्योसँग बाझिने व्यवस्था बोलपत्रको सूचनामा राख्नु सरासर गैरकानुनी हुने बताउँछन् । भन्छन्, “हामीकहाँ ब्याक डेट (पुरानो) मिति राखेर नियमावली संशोधन गरी राजपत्रमा प्रकाशित गर्ने चलन पनि छ । त्यसैले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताले काम गरेको हुनुपर्छ ।”


एकातिर नियमावली संशोधन गरिएको छैन भने अर्कोतिर हटिसकेको अञ्चलको व्यवस्थालाई कायम गर्न खोजेर संविधानलाई चुनौती दिएको त छँदैछ । सँगै, ‘शुभलाभ’का लागि एकैपटकमा सकिने कामलाई दोहोर्‍याउने प्रपञ्च रचेर संघीयता कार्यान्वयन नहुँदै हतार–हतार ठेक्का दिन खोजिएको छ, जसमा सरासर आमनागरिकको ढाड सेकेर आर्थिक अनियमितता गर्ने मनसायबाहेक केही देखिँदैन । 


यस्तो छ तयारी

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको उच्च सुरक्षा प्रविधियुक्त नम्बर प्लेट लागू गर्ने भन्दै यातायात व्यवस्था विभागले टेन्डर प्रक्रिया अघि बढाएको छ । सेक्युरिटी नम्बर प्लेट र थर्ड लाइसेन्स प्लेट (स्टिकर) लागू गर्ने भन्दै विभागले आह्वान गरेको बोलपत्रसम्बन्धी सूचना अनुसार अब एउटै कम्पनीले नम्बर प्लेट उत्पादन र वितरणको काम गर्नेछ । उत्पादन भएको एक वर्षभित्र रंग उड्यो भने उत्पादकले नि:शुल्क बनाइदिनुपर्ने सर्त छ । उत्पादक कम्पनीसँग सूचना प्रविधिसम्बन्धी सबै पूर्वाधार हुनुपर्ने र कुनै खराबी नआउने गरी उत्पादन गर्नुपर्ने सर्तसमेत राखिएको छ ।


अहिले ठेक्का पाउने कम्पनीले पाँच वर्षसम्म काम गर्नेछ । अर्थात्, पाँच वर्षका लागि नम्बर प्लेट उत्पादन र वितरणको काम एउटै कम्पनीलाई दिन लागिएको हो । यो कम्पनीसँग कारोबार गर्ने सम्झौता भएपछि पाँच वर्षसम्म अर्को कम्पनीसँग सम्झौता नगर्ने प्रतिबद्धतासमेत सरकारले व्यक्त गरेको छ । साथै, कम्पनीले प्रस्तावित गरेको मूल्यमा सम्झौता भइसकेपछि पाँच वर्षसम्म परिवर्तन नहुने पनि सरकारले स्पष्ट पारेको छ । बीचमा सम्झौता रद्द नहुने भएकाले कम्पनी भाग्ने वा काम अधुरो हुने अवस्था नआउने सरकारी अधिकारीहरूको भनाइ छ ।


के हो इम्बोस्ड ?

धातुको प्लेटमा विद्युतीय तथा यान्त्रिक माध्यमद्वारा अक्षर र अंक उठ्ने गरी लेखिन्छ । उप्काउन नसकिने क्रोममा आधारित (तापबाट छापिने) होलोग्राम पनि नम्बर प्लेटमै हुनेछ । यसको डिजाइन सरकारले तयार गरेको छ । सरकारले उपलब्ध गराएको डिजाइन अनुसारका नम्बर प्लेट उत्पादन र वितरणको काम निजी कम्पनीले गर्नेछ ।


सरकारले तय गरेको नमुना अनुसार प्लेटको बीचको माथिल्लो भागमा अञ्चलको नाम राखिनेछ । नम्बर प्लेटको कुनातिर सात डिजिट खोपेका लेजर अक्षर हुनेछन्, जसको भित्र अर्कै गोप्य सूचना राखिनेछ । यस्तो सूचना कम्प्युटर प्रविधिबाट मात्र पढ्न सकिन्छ । प्लेटको पछाडि बारकोड पनि हुनेछ, जसमा उत्पादक कम्पनी, उत्पादन मिति र गुणस्तर सुनिश्चितता संकेत नम्बर (क्वालिटी एस्योरेन्स कोड नम्बर) रहनेछ ।


यो नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस (आएफआईडी) राखिन्छ । त्यस डिभाइसले सवारी साधन कहाँ कुन अवस्थामा छ भन्ने सूचना नजिकको एन्टेना वा टावरलाई दिन्छ । एन्टेनामा पुगेपछि त्यसले यातायात विभागको इन्टरनेट सर्भरमा पठाउँछ । मुलुकका विभिन्न ठाउँमा एन्टेना स्टेसन राखिन्छ । “एन्टेना र मेसिन राख्ने सबै जिम्मेवारी ठेक्का पाउने कम्पनीको हो,” विभागका निर्देशक एवं सूचना अधिकारी वसन्त अधिकारी भन्छन् ।


यो प्रविधि जीपीएसभन्दा फरक हो । आरएफआईडी र जीपीएसमध्ये कुन प्रविधि राख्ने भन्नेमा पनि निकै विवाद भएको थियो । अन्तत: सुशील कोइराला नेतृत्वको सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले आरएफआईडी लागू गर्ने निर्णय गरेका थिए ।


यसमा पेच एकपटक मात्र कस्न मिल्छ । कसिसकेपछि आफैँ त्यसको फेदतिरको भाग टुक्रिएर खस्छ । फेरि उप्काउन वा जोड्न मिल्दैन । दुर्घटना वा अन्य कारणले अक्षर नदेखिने गरी कुच्चियो भने यातायात कार्यालयको सिफारिसमा सम्बन्धित कम्पनीले मात्र मर्मत वा पुन: जडान गर्न सक्छ । अँध्यारोमा टल्किने र करिब दुई सय मिटर टाढासम्म पनि नम्बर देखिने गरी अबका नम्बर प्लेट छाप्ने तयारी विभागको छ । सुरक्षा प्रविधिसम्बन्धी सबै जिम्मेवारी कम्पनीकै हुने अधिकारी बताउँछन् ।


अहिले जहाँ जसले पनि लेखेर नम्बर प्लेट टाँस्न सक्छ । अपराध वा अरू कुनै प्रयोजनका लागि गाडी दुरुपयोग गर्ने, चोरीका गाडी चलाउने र नक्कली नम्बर प्लेट राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न डिजिटल नम्बर प्लेटको अवधारणा आएको हो । अपराधमा कमी ल्याउने र कर छल्ने प्रवृत्तिको अन्त्य हुने विश्वास सरकारी अधिकारीहरूले लिएका छन् । 

साभार : नेपाल सप्ताहिक 

Friday, September 25, 2015

अख्तियारका आँखा छल्दै किनमेलमा न्यायाधीश

सर्वोच्च अदालतमा हुने ठूला खरिदबिक्री र आर्थिक कारोबारका निम्ति न्यायाधीशहरू नै सम्मिलित समितिहरू बनाउने चलन बसालिएको छ । यो चलन बस्नुमा हालका प्रधानन्यायाधीश श्रेष्ठको कुनै भूमिका छैन । किनभने, यो प्रथा करिब १० वर्षअघिको न्याय प्रशासनको नेतृत्वबाट बसालिएको हो । खासमा किनमेल र सरसामग्री व्यवस्थापनको काम अदालत प्रशासनकै हुनुपर्ने हो । न्यायाधीशहरू लेखापढी र न्याय सम्पादनको काममै व्यस्त रहनुपर्ने हो । तर, न्यायाधीशहरू यस्ता समितिमा रहन पाउँदा खुसी नै रहेको पाइन्छ ।

Wednesday, September 23, 2015

सर्वोच्चमा आईटी भ्रष्टाचार प्रकरण : फासफुस अनुसन्धान

रामबहादुर रावल

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहका पालामा भएको कम्प्युटर, प्रिन्टर, ल्यापटपलगायत सूचनाप्रविधिसम्बन्धी सामान खरिद प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति गठन गरे, सर्वोच्चकै दुई न्यायाधीश र एक सह–रजिस्ट्रार रहेको । डेस्कटप कम्प्युटर खरिदमा मात्रै करिब ४० लाख रुपियाँबराबरको हानि–नोक्सानी पुगेको प्रारम्भिक अनुमान त्यतिखेर सार्वजनिक भएको थियो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र देवेन्द्रगोपाल श्रेष्ठ सम्मिलित समितिले समयमै अनुसन्धान गरी प्रतिवेदन पनि दियो । प्रतिवेदन बुझाएपछि समितिका सदस्यहरूले भनेका थिए, ‘रजिस्ट्रारज्यूले सार्वजनिक गर्छु भन्नुभएको छ । चाँडै यथार्थ बाहिर आउँछ ।’

प्रवक्ता नहकुल सुवेदीले पनि रजिस्ट्रारमार्फत नै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी पत्रकारहरूलाई दिएका थिए । तर, न प्रतिवेदन सार्वजनिक भयो, न त त्यस प्रकरणमा कसैमाथि कारबाही नै भयो । न्यायपालिका प्रमुख नै मुछिएको विवादबारे अनुसन्धान गर्नु चानचुने कुरा थिएन । त्यसमाथि व्यवस्थापिका–संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गर्न नसकेको काम थियो त्यो । त्यसैले हामी सञ्चारकर्मीका लागि त्यो ज्यादै चासोको विषय पनि थियो । तर, अहिले त्यो प्रकरण त्यसै फासफुस भएको चर्चा अदालत परिसरमै सुनिन थालेको छ ।

Monday, July 13, 2015

भ्रष्टाचारका मुद्दा ढंगले फर्स्योट हुनुपर्छ : कल्याण श्रेष्ठ

न्यायपालिकालाई अघि बढाउने तपाईंका एजेन्डा र प्राथमिकता के हुन् ?

न्यायालयको काम परिभाषित हुन्छ । त्यही कामलाई निरन्तरता दिनु न्यायिक नेतृत्वको दायित्व हो । अदालतका उपभोक्ताको सन्तुष्टिको मात्रा बढाउने हो । 

तपाईंसँग विशेष के अपेक्षा गर्ने भन्न खोजेको ?

क वा ख आउनु–जानु नियमित हो, आइरहन्छ, गइरहन्छ । मेरै हकमा भन्दा कल्याण श्रेष्ठ स्मरणीय हुनुपर्दैन । ऊसँग धेरै अपेक्षा उराल्नु पनि हँुदैन । हामीले खोज्नुचाहिँ के पर्छ भने पद्धति सुचारु छ कि छैन ? एउटा व्यक्ति सधैँभरि बाँचिरहँदैन, बसिरहँदैन । त्यसैले हामीले व्यक्ति हेरी अपेक्षा गर्नुभन्दा पद्धतिको प्रभावकारि तालाई नै पक्का गर्नुपर्छ । 

विवादित न्यायाधीशहरूका कारण टिम बनाउन पनि गाह्रो पर्छ कि ?

यो प्रश्न गम्भीर छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीजस्तो आफ्नो टिम छान्ने अवसर छैन । प्रधानमन्त्रीलाई मन परेको मन्त्री ल्याउने, नपरेको फाल्ने वा नल्याउने स्वतन्त्रता छ । हामी अरु कसैबाट छानिएका हौँ । अरुले तय गरेको टिममा घुलमिल गरेरै काम गर्नुपर्ने र संस्थाको उद्देश्य अनुसार चलाउनुपर्ने बाध्यता छ । मैले यो वा त्यो व्यक्ति कस्तो भनिरहन न कानुनी रुपले न नैतिक रुपले सम्भव छ । जेजस्तो टिम छ, त्यो मेरो र सम्पूर्ण न्यायपालिकाको पुँजी नै हुनुपर्छ । यससम्बन्धी अन्य कुराको हकमा जसले टिमको संरचना गर्‍यो, संवैधानिक पद्धति जे छ, तिनीहरुले नै जान्नुपर्छ । हाम्रो काम त भइरहेको टिम संरचनालाई यथाशक्य अधिकतम लाभदायक उपयोग गर्ने हो ।


तैपनि, न्यायपालिका प्रमुखको हैसियतले फिल्टर त गर्नुपर्ने होला नि ?



प्रधानन्यायाधीशको प्राथमिकता सुन्ने र उसको भनाइलाई प्राथमिकता दिने नियुक्ति प्रक्रियाको व्यवस्था हामीले कहाँ गर्‍यौँ ? प्रधानन्यायाधीश आफैँ अल्पमतमा बसेको न्यायपरि षद् छ । उसले ठीक भनेको व्यक्ति नियुक्त हुन्छ भन्ने कुरा निश्चित नहुने, हुन्न भनेको चाहिँ नियुक्त गर्नुपर्ने बाध्यता सिर्जना गर्ने अवस्थाको समीकरण न्यायपरिषद्भित्र छ भने कसरी फिल्टर हुन्छ ? मान्छे छान्न नपाउने, अरुले छानेका मान्छेबाट उसले भरपूर सकारात्मक परिणाम ल्याउने प्रतिबद्धता देखाइदिनुपर्ने ? यो अपेक्षा कस्तो हो ? यो सम्पूर्ण प्रणालीका नियन्ता, निर्माता र सञ्चालकहरुको जम्मेवारी र जवाफदेहीको विषय बन्नुपर्ने हो ।

परीक्षामा कल्याण श्रेष्ठ



नयाँ प्रधानन्यायाधीशका प्राथमिकता


पाँच कार्यभार

  • न्यायाधीश नियुक्ति, मुद्दा चाप नियन्त्रण ।
  • विवादित न्यायाधीशहरूको व्यवस्थापन ।
  • तल्ला अदालतमा ठहर भएका भ्रष्टाचार मुद्दा उल्ट्याउने क्रममा पुन:विचार ।
  • पूर्ववर्तीहरुका कारण गुमेको न्यायालयको छवि पुन:स्थापना ।
  • राजनीतिक संक्रमणमा राज्यका अन्य निकायसँगको सन्तुलन ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले पदभार ग्रहण गर्नेबित्तिकै गत २४ असोजमा आफ्ना प्राथमिकता यसरी राखेका थिए, ‘न्यायपालिकाको सकारात्मक सुधार गर्ने, मुद्दाको चाप कम गर्ने र त्यसका लागि तत्काल न्यायाधीश नियुक्ति गर्ने ।’ नौमहिने कार्यकालको अन्त्यमा हेर्दा यीमध्ये कुनै पनि प्रतिबद्धतामा उनी खरो उत्रन सकेनन् । मुद्दाको चाप झन् बढ्यो । उनी नियुक्त हुँदा सर्वोच्चमा विचाराधीन मुद्दाको संख्या १९ हजार थियो । १८ असारसम्म त्यो संख्या २१ हजार ६ सय ४७ पुगेको छ । 

यति मात्र होइन, उनी आफैँ विवादित आदेशका हिस्सा बने । अवकाश पाउनै लाग्दा न्यायाधीश र कर्मचारीको व्यापक काज सरुवा गरेर साहले थप आलोचना खेपे । त्यसअघिका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको कार्यकाल न्यायाधीश नियुक्ति, कतिपय आदेश र फैसलाका कारण विवादास्पद रह्यो । उनका पालामा खस्किएको न्यायालयको छवि पुर्ताल गर्न साहको कार्यकाल स्मरणीय बन्न सकेन । 

२३ असारबाट त्यो कुर्सीमा पुग्दै छन्, कल्याण श्रेष्ठ, ६४ । नौ महिना न्यायपालिका प्रमुखका रूपमा रहँदा उनले गर्नुपर्ने कामको चाङ ठूलै छ । फेरि उनी यस्तो समयमा प्रधानन्यायाधीश बन्दै छन्, उनका पूर्ववर्तीहरूले बनाउनेभन्दा न्यायालय भताभुंग पार्नेमा नाम कमाए । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीका भनाइमा विगतको दु:खद अवस्था बिर्साएर न्यायालयको साख फर्काउनु नै उनीमाथि समयले दिएको प्रमुख दायित्व हो । “उहाँले फैसलाबाट गर्नुपर्ने धेरै कुरा गरिसक्नुभएको छ र छाड्नुपर्ने छाप/छवि छाडिसक्नुभएको छ,” रायमाझी भन्छन्, “अबको समय म केही गर्दिनँ भनेर पुरानै दैनिकीका साथ दिन गुजार्न पनि सक्नुहुन्छ । तर, न्यायपालिका सुधारका पक्षमा उहाँले के गर्नुहुन्छ भन्ने कुरा नै प्रमुखत: मूल्यांकनको विषय बन्नेछ ।”

श्रेष्ठका सामु पनि तिनै चुनौती छन्, जो साहका सामुन्ने थिए । फरक यत्ति हो कि साहले नगरेका कामको भारी पनि श्रेष्ठलाई नै सरेको छ । सर्वोच्चमा बढ्दो मुद्दाको चाप घटाउने, त्यसका लागि तत्काल न्यायाधीश नियुक्त गर्ने, नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप र कार्यकर्ता भर्तीको आरोपप्रति सजग रहने श्रेष्ठका तत्कालका कार्यभार हुन् । यी कार्यभार उनका सामान्य प्रयासबाट सम्भव हुन सक्छन् । मूलत: अदालतले सधैँ खेप्दै आएको भ्रष्टाचारको आरोपको सम्बोधन गर्ने, विगतमा तीव्र विवादका बीच नियुक्त न्यायाधीशहरूको व्यवस्थापन र भ्रष्टाचार मुद्दामा सर्वोच्चले विगतमा बसालेको पद्धतिबाट विचलित हुन खोजेको त होइन भन्ने आशंकाको शमन गर्ने काम चुनौतीपूर्ण छन् । 

हुन पनि आजसम्म न्यायाधीश श्रेष्ठको क्षमता, योग्यता र निष्ठामा कसैले प्रश्न उठाउन सकेको छैन । वकिलहरू उनलाई मुद्दा बुझ्ने न्यायाधीशका रूपमा चिन्छन् । इजलासमा मात्र होइन, अन्य मञ्चमा समेत उनको वाक्पटुता र तर्कशक्तिबाट लट्ठिने धेरै छन् । पछिल्लो संसदीय सुनुवाइ विशेष समितिमा पनि उनको त्यही क्षमताका कारण धेरै सभासद् अवाक् बने । 

Friday, April 3, 2015

पर्यटन बोर्डमा बाहुबल

  •  रामबहादुर रावल
प्रमुख कार्यकारी नियुक्तिमा ढिलाइले पर्यटन बोर्डमा प्रशासनिक र आर्थिक विशृंखलता



काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परसिरमा अचेल बिहान १० नबज्दै चहलपहल सुरु हुन्छ। कालो धर्के सर्ट र कालै पाइन्ट तथा केही सादा पोसाकका करबि दुई दर्जन युवा आउँछन्। कार्यालयभित्र-बाहिर सबैतिर जाँच गर्छन्। आ-आफ्नो ठाउँमा 'पोजिसन' लिन्छन्। दुई जना प्रवेशद्वारमै बस्छन्, जसले कार्यालय प्रवेश गर्न चाहनेको नकीवेदी लिन्छन्। १० नबजेसम्म बोर्डको प्रवेशद्वारमा कसैलाई छिर्न दिँदैनन्। १० बज्नुअगावै पुग्ने बोर्डका कर्मचारीलाई समेत गेटमै रोक्छन्।

Thursday, March 12, 2015

यस्तो थियो गलैँचा काण्ड

राधारमण उपाध्याय

संस्मरण

त्यसबेला वाणिज्य विभागको डेपुटी डाइरेक्टर भए पनि डाइरेक्टर नभएकाले मलाई नै कार्यवाहक सुम्पिएको थियो । मैले सचिवलाई भनेँ, "पछि गएर यो खतरनाक हुन्छ, अन्तिममा भारतलाई मात्र होइन, हामीलाई पनि ठूलो नोक्सानी पुर्‍याउँछ । अन्ततः ठूलालाई केही हुँदैन, बढी मार हामीजस्ता कमजोरलाई नै पर्ने हो । हामी यो काम नगरौँ ।"
प्रसंग, नेपालबाट गलैँचा निकासीबापत बोनस लाइसेन्स प्राप्त गर्न पाइने हुँदा गलैंचाको बढी बिजकीकरण गरी निर्यात गर्ने प्रकरणको थियो । हातले बुनेको तिब्बती गलैँचा निर्यात गर्दा हामीलाई केही फाइदा पुग्ने भए पनि त्यो न्यायसंगत थिएन ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि बेलायतीहरूसँगै केही भारतीयहरू पनि पलायन भए । आफूलाई कुलीन वर्गमा गन्ने उनीहरू उपनिवेशकालीन भारतीय प्रशासनको उच्च ओहदामा नभए पनि बेलायती पदाधिकारीका सहयोगी थिए । पछि उनीहरू बेलायतमा आत्मसम्मान र सुरक्षा महसुस गर्न नसक्दा जन्मस्थल फर्किन थाले । तर, फर्किंदा उनीहरूले कमाएको रकम कानुनी र ब्यांकिङ् प्रक्रियाबाट भित्र्याउन चाहेनन् । त्यही क्रममा उनीहरूले अपनाएको एउटा हथकण्डा हो, गलैँचा काण्ड ।
भारत सरकारलाई झुक्याउन वा बेइमानी गर्न उनीहरूले नै यो सब प्रपञ्च रचेका थिए । उनीहरू कर छलेर आफ््नो कालो धन स्वदेश फर्काउन चाहन्थे । त्यसका लागि नेपालबाट गलैँचा निकासी गरेको देखाएर यो सब गर्न खोजेका थिए । काठमाडौँको बाटो हुँदै गर्न खोजेकाले नेपाल पनि यसमा मुछियो ।
'अफिसियल' कारोबारका लागि राष्ट्रिय वाणिज्य ब्यांकबाट कर्जा लिई भुक्तानी नगर्नुका साथै जमानत पनि नदिएको आरोपमा सोही प्रकरणमा सज्जनकुमार घिराइया, जगन्नाथ साहु, गोठी ट्रेडर्सका प्रोपाइटर श्रवणकुमार अधिकारी, दिलेन्द्रराज देवकोटा, प्रेमविजय कोइराला, विजुलीमान कंसाकार, अनिलकुमार राठी, रामकुमार राठी, जगदीशकुमार राठी, अशोककुमार अग्रवाल आदि कारबाहीमा परे ।
पहिला उनीहरूले भारतमै पनि अनेक कम्पनी खोलेर यो काम गर्न खोजेका थिए । तर, त्यसमा असफल भएपछि शंका कम हुने र सहानुभूति दर्शाएकोजस्तो पनि हुने देखेर नेपालका तिब्बती शरणार्थीले हातले बुनेका गलैँचा किनेर बिक्री गरेको देखाउँदा मूल्य जति राख्दा पनि हुने उपाय निकालेका थिए । त्यसको निश्चित मूल्यांकन पनि गर्नु नपर्ने भएकाले उनीहरू यो अभियानमा ज्यान फालेर लागेका थिए ।
पञ्चायतको मध्यकालखण्डमा चर्चित र विवादास्पद यो गलैँचा काण्ड अख्तियार दुरूपयोग निवारण आयोगको निसानामा परेपछि झन् चर्चामा आएको थियो । त्यसबेला प्रधानमन्त्री तुलसी गिरीदेखि अर्थ र उद्योग राज्यमन्त्री हुँदै राष्ट्र ब्यांकका गभर्नर, व्यापारी र कर्मचारीतर्फ उच्च तहका मात्र होइन, मुखियादेखि पञ्चायतका ठूला हस्तीहरूसम्म कारबाहीमा परे । तुलसी गिरी प्रमुख अभियुक्त बनेको यस प्रकरणमा पीताम्बरध्वज खाती, भेषबहादुर थापा र हर्क गुरुङका साथै तत्कालीन अर्थसचिव नरकान्त अधिकारी, गभर्नर कुलशेखर शर्मा, निधेन्द्रराज शर्मा आदिमाथि बढी बिजकीकरण गरेको आरोप लागेको थियो । गिरी त यही अभियोगमा पछि राजनीतिबाट मात्र होइन, मुलुकबाटै पलायन भएका थिए ।
नेपालमा चोरी गर्दा मात्र त्यो चोरी ठहरनिे र अन्यत्र चोरी गर्दा जायज मान्ने जुन प्रक्रिया त्यसबेला अपनाइयो, त्यो सरासर गलत थियो । बेइमान जहाँको पनि बेइमान नै हुन्छ । समुद्रपारकिो बेइमान यहाँ इमानदार हुन सक्दैन । त्यस समूहले भारतमा बेइमानी गर्न नेपालको बाटो रोजेको थियो, त्यो पनि आफैँ गैरकानुनी हो । त्यो किन पनि भने नेपालबाट गलैँचा निकासी गर्दा प्रचलित कानुन उल्लंघन गरी तोकेको ढाँचा फरक पारी दरखास्त दिने, लाइसेन्स लिनेदिने, निकासी दर्ता र विदेशी खरदिकर्ताबीच सम्झौता नगरी 'कन्सायनमेन्ट बेसिस'मा मालसामान उठाउने गरएिको थियो ।
त्यसबखत शिवनारायण लाल दास सचिव थिए । उनी मलाई भनिरहन्थे, "इजाजत दिनुपर्छ ।" त्यसबखत हर्क गुरुङ उद्योग राज्यमन्त्री र भेषबहादुर थापा अर्थराज्यमन्त्री थिए । सचिव दासले मलाई उद्योग राज्यमन्त्रीकहाँ पुर्‍याए । मन्त्रीले किन गलत छ भनेर सोद्धा मैले 'स्मेल गर्दा त्यस्तै पाएँ' भनेँ । उनले अर्थमन्त्रीलाई सोध्छु भनेर मलाई फिर्ता पठाइदिए । गुरुङले फेर िअर्को दिन बोलाएर भने, "अर्थमन्त्रीसित कुरा भयो, दिँदा आपत्ति हुँदैन रे !" मैले दुई हात जोडेर भनेँ, "मेरो मनले यस्तो गर्न दिँदैन । तसर्थ, मलाई बिदा दिनूस् ।" मैले त्यसअघि नै फाइलमा टिप्पणी लेखिदिएको थिएँ, "यो ओभर इन्भोइसिङ्को कुरा हो, यसले व्यापार विचलन हुन्छ र आखिरमा राष्ट्रलाई नोक्सान पुर्‍याउँछ ।" फाइलमा नेपालबाट गलैँचा निकासी गर्दा नेपाललाई कुनै हानिनोक्सानी नपुग्ने उल्लेख गरिएको थियो ।
अभियोग लागेकाहरूले पछि 'निकासी व्यापारका सम्बन्धमा विभाग, ब्यांकहरूको परिपाटी, कानुन, निर्देशन अनुसार काम गरेका हौँ तर बदनियतपूर्वक काम गरी अनुचित फाइदा लिए/दिएका छैनौँ' भनी जिकिर गरे । यसरी २०३७ पुस २३ गते उनीहरूले सफाइ पाए । म स्वयम्ले पनि अदालतमा गएर बयान दिएँ । मेरो भनाइ थियो, "काम गलत हो तर नियतवश र भ्रष्टाचार गर्ने मनसायले भन्दा पनि टेक्निक नजान्दा यस्तो भएको हो ।" यो प्रकरणमा अभियोग लागेका जति सबै दोषीचाहिँ थिएनन्, केही थिए ।
यस प्रकरणपछि म खसै्र बाटो रोजेर सीडीओ -प्रमुख जिल्ला अधिकारी) भई गाउँगाउँ घुमेँ । मलाई बेलायत, अमेरकिाभन्दा गाउँ चहार्नु नै उपयुक्त लाग्यो । खासमा मलाई सचिवले त्यस प्रोजेक्टको सफलतासँगै विदेश सयरको आश्वासन दिएकाले गृह मन्त्रालयमा सरुवा मागेको थिएँ । म गृहतर्फ गएपछि उद्योग वाणिज्य मन्त्रालयका उपसचिव शंकरनाथ पन्तलाई वाणिज्य विभागको डाइरेक्टर बनाइएको थियो । पछि उनीसहित ९१ जनाको समूह त्यस काण्डमा फसेको थियो ।
नेपाल साप्ताहिक ३३३