Showing posts with label Book. Show all posts
Showing posts with label Book. Show all posts

Saturday, October 4, 2025

मानवः शक्ति र बुद्धि



हामीले हाम्रा प्रजातिलाई होमो सेपियन्स अर्थात् ज्ञानी मानव भनेर नाम दिएका छौं । तर यस नामका लागि हामी साँच्चै योग्य छौं त ? यो प्रश्न विवादास्पद छ ।

पछिल्ला एक लाख वर्षमा मानवले निःसन्देह विशाल शक्ति हासिल गरेको छ । हाम्रो खोज, आविष्कार र विजयहरूको सूची बनाउने हो भने त्यसले धेरै पुस्तकहरू भरिनेछन् ।

तर शक्ति र बुद्धि (विवेक) एउटै कुरा होइनन् ।

यी एक लाख वर्षका खोज, आविष्कार र विजयहरूपछि पनि मानवता आज अस्तित्वकै संकटमा छ । हामी आफ्नै शक्तिको दुरुपयोगका कारण पारिस्थितिकीय पतनको सिमानामा पुगेका छौं । हामी कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरू विकास गर्न व्यस्त छौं, जसले हाम्रो नियन्त्रणबाट बाहिर गएर हामीलाई नै दास बनाउने वा नष्ट गर्ने सम्भावना बोकेको छ ।

हाम्रो प्रजातिले यी गम्भीर संकटहरूसँग एकजुट भएर सामना गर्नुपर्नेमा उल्टै अन्तर्राष्ट्रिय तनावहरू बढ्दै गएका छन् । वैश्विक सहकार्य कमजोर हुँदै गएको छ । राष्ट्रहरूले अझै पनि नयाँ परमाणु हतियार सञ्चित गरिरहेका छन् र अर्को विश्वयुद्ध असम्भवजस्तो देखिँदैन ।

यदि हामी साँच्चै ज्ञानी मानव हौँ भने,

हामी किन यति आत्मविनाशक छौं त?

हामीसँग डीएनए अणुदेखि लिएर आकाशगंगासम्मको अद्भुत ज्ञान छ तर यसले जीवनका यी मूल प्रश्नहरूको उत्तर दिएको छैन–

हामी को हौँ? हामी किन छौं? राम्रो जीवन के हो र हामी कसरी बाँच्नुपर्छ?

आज पनि, विशाल जानकारीको युगमा बाँच्दाबाँच्दै, हामी हाम्रा प्राचीन पुर्खाहरूझैँ कल्पना र भ्रान्तिमा सजिलै फस्छौं।

Thursday, October 31, 2024

मोहनमान सैँजूको बुधबारेदेखि चाकुपाटसम्मको यात्रा

 

Wednesday, September 14, 2016

सैन्य आँखामा इतिहास

ती सैनिक 
लेखक : मोहन थापा 
प्रकाशक : शारदादेवी खड्का 
पृष्ठ : ३४८ 
मूल्य : ४५० रुपैयाँ
  • रामबहादुर रावल
 
मंसिर १२, २०७१-ज्ञानको दुनियाँमा जर्साबहरूले बजार पिटिरहँदा मामुली सैनिक अधिकृत ओझेल पर्नु कुनै ठूलो कुरो भएन । सेनाका उपल्लो दर्जामा बसेका, सनसनीपूर्ण घटनामा सामेल भएकाहरूले चर्चाको शिखर चुम्नु नौलो भएन ।
 
मोहन थापा कुनै ठूलो ओहोदाधारी होइनन् । ठूला राजनीतिक र सनसनीपूर्ण घटनासँग जोडिएका पनि छैनन् । त्यसैले यो चिनाउनुपर्ने नाम हो । नेपाली सेनाका मामुली अवकाशप्राप्त अधिकृत । अर्थात्, निवृत्त सुबेदार । सेनाको पद सोपानमा पछाडिबाट पाँचौँ तहका बेतनभोगी । उनीमाथि ११ तह अझै छन् । त्यसैले यी 'लो प्रोफाइल'का लेखकको कृतिले कम चर्चा पाउनु कुनै आठौँ आश्चर्य भएन । 
 
यद्यपि, यसको विषयवस्तु, संगठन, प्रस्तुति र भाषाशैली हेर्दा बजारमा आएका अरू कुनै पनि पुस्तकको दाँजोमा कम छैन । विषयवस्तुप्रतिको उच्च समझ, मेहनत, इतिहास लेखनको कारिगरी कुनै पनि हिसाबले यो पुस्तक उम्दा छ । ज्ञानमूलक छ । रोचक छ । यो पुस्तक मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएका नेपाली सैनिकका मृत्युकथाहरूको संग्रह हो । ३ सय ४८ पृष्ठ लामो यो पुस्तक पढ्दा हत्याहिंसाले भरिएका, षड्यन्त्र र जालझेलहरूले जेलिएका कौतूहलपूर्ण कथा-उपकथाहरूले भरिएको चलचित्र हेरेको अनुभूति हुन्छ । यसमा रोचक र मार्मिक कथाहरू छन् । लडाइँ छन् । संघर्ष छन् । वीरताको इतिहास छ । घातप्रतिघातपूर्ण सम्बन्धहरूको चित्रण छ । प्रेम र युद्धले राजनीतिलाई अनपेक्षित मोड दिन्छन् । शासकका आशंका र भयले सच्चरित्रहरू सुलीमा चढ्छन् । चाटुकारहरूलाई चौतारो मिल्छ । जासुसीहरू, युद्धहरू, भोगविलासहरू, रासलीलाहरू त्यसै पनि आममानिसका पठन रुचिमा पर्छन् ।

Wednesday, May 18, 2016

सम्बन्धका ऐतिहासिक विवरण

- रामबहादुर रावल

नेपाल-चीन सम्बन्ध : ऐतिहासिक विवेचना 
लेखक : सुरेश कार्की
शान्तिपूर्ण आन्दोलनमा रहेका सात दल र तत्कालीन विद्रोही माओवादीबीच ७ मंसिर ०६२ मा दिल्लीमा १२ बुँदे समझदारी हुँदा चीनले के ठानेको थियो? तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिँदा र सार्कमा चीनलाई पर्यवेक्षकका रूपमा प्रस्ताव गर्दा चिनियाँ दृष्टिकोण के थियो? आज पनि यी र यस्ता सवालमा अनुमानित व्याख्या हुँदै आएका छन्।

राजनीतिकर्मी एवं विश्लेषकहरूले पनि यी घटनाको व्याख्या र प्रस्तुति आ-आफ्ना सुविधा अनुसार दिँदै आएका छन्। आधिकारकि स्रोतसम्म पुगेर यी सवालमा स्पष्ट पार्ने प्रयास सायदै भएका छन्। तर, लेखक एवं राजनीतिकर्मी सुरेश कार्कीले यथार्थ खोतल्दै केही हदसम्म पत्यारिला जवाफ पनि पस्केका छन्, नेपाल-चीन सम्बन्ध : ऐतिहासिक विवेचना पुस्तकमा।

पुस्तकमा नेपाल-चीन सम्बन्धका विविध आयामको विस्तारपूर्वक चर्चा छ। इतिहासका महत्त्वपूर्ण घटनामा चिनियाँ दृष्टिकोण र भूमिका के थियो भन्ने कुराको खोजी पुस्तकको एउटा रोचक पक्ष मात्रै हो। पुस्तकमा मूलतः तीन खालका प्रस्तुति छन्, नेपाल-चीन सम्बन्धका प्रमुख आयामको चर्चा, यससँग जोडिएका सन्दर्भ सामग्रीको संकलन र चीन भ्रमणको अनुभव। सुरुमा नेपाल-चीन सम्बन्धको परम्परा र इतिहास कहाँबाट सुरु भयो, कसरी अगाडि बढ्यो र औपचारकि रूपमा दौत्य सम्बन्धको स्थापना कसरी भयो भन्ने कुराको एकीकृत जानकारी दिइएको छ। 

Thursday, January 7, 2016

जयराज आचार्यको किशोरवयको डायरी

मेरो डायरी, २०२५
स्रष्टा:    जयराज आचार्य
प्रकाशक:    हस्ताक्षर प्रकाशन
पृष्ठ:    ३७५
मूल्य:    ४०० रुपियाँ 
सारत: यो पुस्तकले प्रौढहरूका लागि ४७ वर्षअघिको मुलुकको दैनिकीको याद दिलाउँछ । बालबालिकालाई लेख्ने बानी र सीपप्रति आकर्षित गर्नेछ । 

आजभन्दा ४७ वर्षअघि एउटा संस्कृत विद्यालयका छात्र यस्तो प्रतिबद्धता गर्छन्, वर्षभरि एक दिन पनि नबिराई दैनिकी लेख्ने । त्यो पनि महिनाको एक दिन नेपालीमा र बाँकी सबै अंग्रेजीमा । अंग्रेजी भाषा र हस्तलेखनको सीप विकास गर्ने उद्देश्यले थालिएको त्यो प्रयास आज इतिहासका महत्त्वपूर्ण घटनाक्रमको अभिलेख बन्न पुगेको छ । र, ती घटनाप्रति तत्कालीन किशोर पुस्ताको अनुभव–अनुभूति उतारिएको छ । त्यही पुस्तक हो, मेरो डायरी, २०२५ ।
डायरी लेखक जयराज आचार्यको यस डायरीमा समाज, राजनीति, अर्थतन्त्र, ग्रामीण परिवेशदेखि अन्तर्राष्ट्रिय मामिलासम्मका रोचक तथ्य र विवरणहरू यसमा संकलन गरिएका छन् । यसको मूल आधार उनले गोरखापत्र दैनिकलाई लिएका छन् । त्यसबाहेक रेडियोमा सुनेका समाचार सामग्रीहरू पनि उनले डायरीमा टिपेका छन् । भ्रमणका अनुभवहरू सँगालेका छन् ।

Friday, November 6, 2015

हिन्दु पारिवारिक कानुनमाथि मुस्लिम न्यायाधीशको शल्यक्रिया


कानुन व्यवसाय हुँदै पुनरावेदन अदालतका न्यायाधीशको कुर्सीमा पुगेपछि सलाहुद्दीन अख्तर सिद्धिकीलाई लाग्यो, नेपाली समाज नबुझी प्रभावकारी न्याय सम्पादन गर्न सकिँदैन । नेपाली समाज बुझ्न हिन्दू व्यवस्था बुझ्नुपर्ने रहेछ । त्यसपछि उनी लागे, हिन्दू धर्म, दर्शन र नेपाली समाजलाई निर्देशित गर्ने अन्य विधिविधानहरूको अध्ययनतर्फ । त्यस क्रममा उनको नजर मनुस्मृतिमा अड्यो, जसले परिवार, समाज र राज्यको धर्म, विधि र आचारहरूको सीमा कोरिदिएको छ ।

नेपाली समाजका धेरै मूल्य–मान्यता यही कृतिबाट निर्देशित र प्रभावित रहेको सिद्धिकीले चाल पाए । र, त्यसैको गहिराइमा पुगेर अनुसन्धान गर्ने, आजको नेपाली समाजको पारिवारिक विवादहरूको जरो खोतल्ने र समाधान दिने निर्णयमा पुगे । त्यही निर्णयको उपज हो, मनुस्मृतिको पारिवारिक व्यवस्था र नेपालमा पारिवारिक विवाद

Sunday, July 12, 2015

मस्टो मिमांसा

मस्टो संस्कृति र परम्परा 
लेखक :    श्यामबहादुर खड्का

प्रकाशक :    एकता बुक्स

मूल्य :    ४२५ रुपियाँ
पृष्ठ :    ४५०

दैवी सत्ताबारे अध्ययन पंक्तिकारका लागि त्यति लगावको विषय होइन । भजनकीर्तन र पूजा विधि त अझ रुचिबाहिरको कुरा हो । पुस्तक हात पर्दा लागेको थियो, यो मस्टाको प्रशस्ति होला र मस्टो उपासनाको विधि र महत्ताले नै पुस्तकका पाना रंगिएका होलान् । तर, पढ्दै जाँदा त्यो पूर्वधारणा खण्डित मात्रै भएन, विषयवस्तुको गहनता र प्रस्तुतिमा सरलताका कारण आकर्षण बढ्दै गयो । पुस्तकको अर्को आकर्षण के भने लेखकले आफ्नै पारिवारिक संस्कार, संस्कृति र आफ्नै वरिपरिका रहस्यहरूलाई खोतलेका छन् । कैयौँ वर्षदेखि मनमा रहेका जिज्ञासाको जवाफ एउटै पुस्तकमा भेटाउँदाको खुसी र सन्तुष्टिको त कुरै बेग्लै छ ।

वैदिक र पौराणिक साहित्य र शास्त्र, प्राप्त तथ्य र अभिलेख, लोकजीवनमा प्रचलित किम्बदन्तीलगायतको संकलन र तिनको प्रासंगिक व्याख्या पुस्तकका आधार सामग्री हुन् । पुस्तकमा मिथक र किम्बदन्तीहरूको संकलन पढ्दासमेत सुदूर र मध्यपश्चिम पहाडको धरातलीय यथार्थसँगै साक्षात्कार भइरहेजस्तो लाग्छ । मस्टो एउटा देवताको नाम मात्र होइन रहेछ, यो त एउटा बृहत् सभ्यताको आधारस्तम्भ रहेछ । यसका वरिपरि मानवशास्त्रीय विकासक्रमका थुप्रै कडी जोडिएका रहेछन् । सांस्कृतिक अध्ययनका थुप्रै अध्याय समाविष्ट रहेछन् । यसको सिमाना कुनै प्रशासनिक र राजनीतिक भूगोलमा मात्र सीमित रहेनछ, भारतका कुमाउ, गढवालदेखि पन्जाबसम्म फैलिएको रहेछ । नेपालको पहाडी सभ्यताका थुप्रै अनुद्घाटित पाटाहरू यसले बाहिर ल्याएको छ । केही पुराना भ्रम र अस्पष्टताहरूलाई चिरेको छ । केही नयाँ प्रस्तावना दिएको छ । परम्परागत मान्यता र विश्वासकै कुरालाई पनि संगठित र अभिलिखित गरेर एउटा आकार दिएको छ । 


पुस्तक पढ्दा थाहा हुन्छ, हाम्रा देउताका पनि तह र वर्ग छन् । एकले अर्कालाई अह्राउँछन् । एकले अर्कासँग द्वेषभाव राख्छन् । एकलाई अप्ठ्यारो पर्दा सरसहयोग पनि गर्छन् । घात–प्रतिघात छ । शक्तिको संघर्ष छ । वर्गहरूबीचको द्वन्द्व छ । सम्बन्धहरूको उतारचढाव छ । दुर्गा र सुर्मा दिदीबहिनी भए पनि लामो समय सँगै बस्न सक्दैनन् । एक चरणमा गएर उनीहरू छुट्टिन्छन् । छुटिँदा आफू रहे बसेको भूगोलसमेत उठाएर अन्यत्र लैजान्छन् । पाँगरका रूखसमेत आधा उठाएर अर्कै ठाउँमा पुर्‍याउँछन् । यति मात्र होइन, भक्तका गाउँहरू पनि बाँडिन्छन् ।


यस पुस्तकको महत्त्वपूर्ण दाबी, निष्कर्ष वा प्राप्ति भने अहिलेसम्म पश्चिम पहाडको खस सभ्यतामाथि उठाइएको प्रश्नको निरूपण हो । त्यो खस सभ्यता भारतवर्षमा विकसित आर्य सभ्यताभन्दा भिन्न हो वा हिमाल र उच्च पहाडी भूगोलको बीचतिर उत्पत्ति भएको बेग्लै हो ? अथवा, उत्तरतिरबाट छिरेको बोन सभ्यतासँग निकट पो हो कि ? मस्टोजस्तो छुट्टै देवता र उपासना पद्धतिलाई लिएर बेग्लै धर्मको दाबी गर्नेहरू पनि नभएका होइनन् । धामी–झाँक्री मान्ने, प्रकृतिको पूजा गर्ने, मस्टाका नाममा आकृतिहीन देवतालाई कूलरक्षक ठान्ने र दूध–चामल चढाउनेजस्ता विशेषताका आधारमा उत्तरतिरबाट छिरेको बोन निकट सभ्यताका रूपमा व्याख्या गर्न खोजिएको पनि पाइन्छ ।