Tuesday, October 31, 2017

चुनाव चिह्न भाडामा

- रुन्चे राइँलो

यहाँ चुनाव चिह्न भाडामा पाइन्छ । समयमै दल दर्ता गर्न नसकेर चुनाव लड्न नपाएकाहरु, आफ्नो चुनाव चिह्नमा विश्वास नभएकाहरु जो जो हुनुहुन्छ, अब चिन्ता लिनुपर्दैन । आउनुहोस्, छिटो गर्नुहोस् । हाम्रो चुनाव चिह्न भाडामा उपलब्ध छ । 

सबै कानुनी प्रक्रिया पुगेको, उस्तै परे बैंक ग्यारेन्टी र बिमासमेतको व्यवस्था भएको चुनाव चिह्न हामीसँग छ । हाम्रो चिह्न आममतदाताबीच परिचित भएकाले विज्ञापनमा धेरै खर्च गर्नु पर्दैन ।

दसैँ, तिहार, छठ, नेपाल संवत्को नयाँ वर्षलगायत सम्पूर्ण चाडपर्वको अवसरमा हामीले चुनाव चिह्नसम्बन्धी विभिन्न स्किम सार्वजनिक गरेका छौँ ।

एउटा मात्र चुनाव लड्ने, दुईवटा चुनाव लड्ने, पाँच वर्ष, १० वर्ष, १५ वर्ष, २० वर्षदेखि ४० वर्षसम्म हाम्रो चुनाव चिह्न लिजमा उपलब्ध छ । 

Monday, October 9, 2017

स्कुलमा नोटबन्दी



- रुन्चे राइँलो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजारका नोट अवैध हुने घोषणा गरेपछि भारतीय नोट बजारमा तहल्का भयो । स्रोत खुल्न नसकेका करोडौँ नोटका खात रातारात कागजका खोस्टा साबित भए । नेपालमा कालो धनलाई कालो मलमा परिणत गर्नुपर्ने आवाज नउठेको होइन । तर, हाम्रा राजनीतिज्ञले कालो धनको विपक्षमा नीति ल्याउने कुरै थिएन, छैन ।

नेताहरुले यो नीति अनुसरण गर्न नसकेर के भो त ? एक जना निजी स्कुलका सञ्चालकको कानमा मोदी नीतिको कुरा पर्‍यो । उनी हतारहतार आफ्नो स्कुल गए । हरेक विद्यार्थीलाई आफ्ना नोट (कापी) देखाउन भने । हरेक नोटलाई अवैध घोषणा गरिदिए । र, अबदेखि आफ्नो स्कुलको लोगो, निश्चित रङ र आकार भएका नोट मात्र आफ्नो स्कुलमा वैध हुने घोषणा गरे ।

विद्यार्थी वाल्ल परे । एकाएक किन यस्तो नीति ?

वरिष्ठका बहुरूप



- रुन्चे राइँलो

वरिष्ठ अधिवक्ताको हुलमा २ सय ७२ जना नयाँ वरिष्ठ थपिएछन् । हामीले गौरव गर्नुपर्छ, यति धेरै वरिष्ठ भएको मुलुकका नागरिक हुन पाएकामा । अदालतको दैलो नदेखेको जुग बिते पनि, मुद्दाका पक्षहरुले पत्याउन छाडेपछि अर्कै पेसा रोजे पनि अदालतले एक से एक वरिष्ठहरुको हिसाबकिताब राखेको रहेछ । अदालतको अभिलेख पद्धतिलाई त झन् सय तोपको सलामी दिनुपर्ने भएछ ।

वास्तवमा वकिल भएपछि मुद्दाका पक्षहरुकै लागि वकालत गर्नैपर्छ भन्ने के छ र ? इजलास धाउनैपर्छ भन्ने पनि छैन । न्यायाधीशका निवास र च्याम्बर धाउनु पनि त वकालत नै हो नि, होइन र ? पार्टीको वकालत गर्नु पनि वकालत नै हो । नेताको वकालत गर्नु झन् नम्बरी वकालत हुने भइगयो । फेरि सबै दल, वर्ग, क्षेत्र, आवासीय, गैरआवासीय सबैलाई भाग पुर्‍याएर समावेशी बनाउनैपर्‍यो ।

सीईओको वर्गीकरण


- रुन्चे राइँलो

नेपाल राष्ट्र बैंकले व्यावसायिक बैंक तथा वित्तीय संस्थाहरुको वर्गीकरण गर्छ तर प्रमुख कार्यकारी अधिकृत (सीईओ)को गर्दैन । तसर्थ, यहाँ नेपालमा सर्वाधिक तलब खाने यो पदमा आसीन व्यक्तिहरुको वर्गीकरण तीन प्रकारले गर्ने धृष्टता रुन्चेले गरेको छ ।

सेलिब्रिटी सीईओ : क्यामरा देख्नै नहुने, फोटोका लागि पोज दिइहाल्ने । फेसबुकमा सेल्फी अपडेट गरिरहने । बैंकका आफ्नै कार्यक्रममा जान नभ्याए पनि सुन्दरी प्रतियोगिताको निर्णायक मण्डलमा पुगिहाल्ने । आफ्नो बैंक डुबे पनि अरुलाई कसरी सफल हुने भनेर करिअर काउन्सिलिङ र प्रवचन दिइरहने ।

टिचर सीईओ : बैंकको कर्मचारी होस् वा सञ्चालक देख्नै नहुने, लेक्चर दिइहाल्ने । अर्ती–उपदेशको त खानी नै । कामभन्दा गफमा बढी विश्वास गर्ने । आफूले के गरेँ भन्दा पनि अरुले के गर्नुपर्छ भन्नेमा पोख्त ।

हस्–सचिव समूह


- रुन्चे राइँलो

यहाँ मन्त्रालयदेखि संवैधानिक निकायहरूमा राय बझाउने सचिव–सहसचिवहरुको काम छैन । उनीहरू विकासका बाधक भए । सुशासनका तगारा भए । तिनले नै गर्दा मेट्रोरेलदेखि मोनोरेल नबन्ने भो । चुनाव त सरेको सर्‍यै हुने भो । स्थगित मतगणना बदर गर्नै नसकिने भो । फास्ट ट्रयाकदेखि बुढीगण्डकीसम्मका राष्ट्रिय गौरवका आयोजना समयमा नबन्ने भए । सिंहदरबारको शक्ति विभाजित भयो । 

अब जनताका इच्छा–आकांक्षा कसरी पूरा होऊन् ? जनप्रतिनिधिका योजना कसरी सम्पन्न होऊन् ? जनप्रतिनिधिले नै टिपेर संवैधानिक आयोगमा राखेका पदाधिकारीहरुको अभीष्टमा किन आँच नआओस् ?

शीर्षस्थ अधिवक्ता

- रुन्चे राइँलो

एकाध वकिललाई अहिले भ्याइनभ्याइ छ सिंहदरबारमा । पेसाले वकिल भए पनि उनीहरु अदालतमा भन्दा सिंहदरबारमै बढी रमाउँछन् । अझ भनौँ, सिंहदरबारबाटै अदालत चलाउने खुबी उनीहरुसँग छ । त्यही खुबीको सम्मानस्वरुप अदालतले पनि वरिष्ठ अधिवक्ताको पगरी गुथाइदिएको छ । तर, रुन्चे राइँलोलाई लाग्छ, वरिष्ठ अधिवक्ता मात्र भन्नु तिनको योग्यतामाथि अन्याय गर्नु हो । 

उनीहरु प्राय: शीर्षस्थ नेताहरुसँग हुन्छन् । शीर्षस्थ नेताहरुप्रति तिनको समर्पणबारे हजार जिब्रा भएका शेष नागले पनि वर्णन गर्न सक्दैनन् । राजनीतिक दाउपेच र छलछामका निम्ति शीर्षस्थ राय तिनैले दिन्छन् । पार्टीका शीर्षस्थहरु भ्रष्टाचारमा चुर्लुम्म डुब्न थाल्दा उम्किने बाटो तिनैले दिन्छन् ।