Tuesday, January 24, 2017

किन हतारियो विशेष अदालत ?


पुराना भ्रष्टाचार मुद्दा जहाँका तहीँ, ल्हारक्याल लामालाई चाहिँ सफाइ दिन हतारो
  • रामबहादुर रावल


काठमाडौँ । करिब ९ करोड ४४ लाख रुपियाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपसहित नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विशेष अदालतले ६ महिनामै टुंग्यायो ।  ३० वैशाख ०७३ मा दायर मुद्दा ३० कात्तिकमै किनारा लाग्यो । जब कि, चार वर्ष पुराना साढे दुई सयभन्दा बढी मुद्दा त्यही अदालतमा विचाराधीन छन् । 

लामाले विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलाबाट सफाइ पाए । अख्तियारले अवैध दाबी गरेको उनको सबै सम्पत्ति  वैध ठहरियो । विशेष अदालत ऐन, २०५९ को दफा १६ अनुसार मुद्दा दायर भएको ६ महिनाभित्र भ्रष्टाचार मुद्दाको टुंगो गरिसक्नुपर्छ । ठीक ६ महिना पुगेकै दिन उनको मुद्दा फैसला हुँदा ऐनको प्रावधान त पालना भयो तर विशेष अदालतमै चार वर्षदेखि धाइरहेका अन्य मुद्दा पक्षहरूले भने लामाको फैसलाप्रति जिब्रो टोके । कारण थियो, हत्पत्ति कानुनले तोकेको म्यादभित्र मुद्दा नछिन्ने विशेष अदालत सांसद लामाको मुद्दा भने समयमै छिनिएको थियो ।