Showing posts with label History. Show all posts
Showing posts with label History. Show all posts

Saturday, October 4, 2025

मानवः शक्ति र बुद्धि



हामीले हाम्रा प्रजातिलाई होमो सेपियन्स अर्थात् ज्ञानी मानव भनेर नाम दिएका छौं । तर यस नामका लागि हामी साँच्चै योग्य छौं त ? यो प्रश्न विवादास्पद छ ।

पछिल्ला एक लाख वर्षमा मानवले निःसन्देह विशाल शक्ति हासिल गरेको छ । हाम्रो खोज, आविष्कार र विजयहरूको सूची बनाउने हो भने त्यसले धेरै पुस्तकहरू भरिनेछन् ।

तर शक्ति र बुद्धि (विवेक) एउटै कुरा होइनन् ।

यी एक लाख वर्षका खोज, आविष्कार र विजयहरूपछि पनि मानवता आज अस्तित्वकै संकटमा छ । हामी आफ्नै शक्तिको दुरुपयोगका कारण पारिस्थितिकीय पतनको सिमानामा पुगेका छौं । हामी कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरू विकास गर्न व्यस्त छौं, जसले हाम्रो नियन्त्रणबाट बाहिर गएर हामीलाई नै दास बनाउने वा नष्ट गर्ने सम्भावना बोकेको छ ।

हाम्रो प्रजातिले यी गम्भीर संकटहरूसँग एकजुट भएर सामना गर्नुपर्नेमा उल्टै अन्तर्राष्ट्रिय तनावहरू बढ्दै गएका छन् । वैश्विक सहकार्य कमजोर हुँदै गएको छ । राष्ट्रहरूले अझै पनि नयाँ परमाणु हतियार सञ्चित गरिरहेका छन् र अर्को विश्वयुद्ध असम्भवजस्तो देखिँदैन ।

यदि हामी साँच्चै ज्ञानी मानव हौँ भने,

हामी किन यति आत्मविनाशक छौं त?

हामीसँग डीएनए अणुदेखि लिएर आकाशगंगासम्मको अद्भुत ज्ञान छ तर यसले जीवनका यी मूल प्रश्नहरूको उत्तर दिएको छैन–

हामी को हौँ? हामी किन छौं? राम्रो जीवन के हो र हामी कसरी बाँच्नुपर्छ?

आज पनि, विशाल जानकारीको युगमा बाँच्दाबाँच्दै, हामी हाम्रा प्राचीन पुर्खाहरूझैँ कल्पना र भ्रान्तिमा सजिलै फस्छौं।

Thursday, March 12, 2015

यस्तो थियो गलैँचा काण्ड

राधारमण उपाध्याय

संस्मरण

त्यसबेला वाणिज्य विभागको डेपुटी डाइरेक्टर भए पनि डाइरेक्टर नभएकाले मलाई नै कार्यवाहक सुम्पिएको थियो । मैले सचिवलाई भनेँ, "पछि गएर यो खतरनाक हुन्छ, अन्तिममा भारतलाई मात्र होइन, हामीलाई पनि ठूलो नोक्सानी पुर्‍याउँछ । अन्ततः ठूलालाई केही हुँदैन, बढी मार हामीजस्ता कमजोरलाई नै पर्ने हो । हामी यो काम नगरौँ ।"
प्रसंग, नेपालबाट गलैँचा निकासीबापत बोनस लाइसेन्स प्राप्त गर्न पाइने हुँदा गलैंचाको बढी बिजकीकरण गरी निर्यात गर्ने प्रकरणको थियो । हातले बुनेको तिब्बती गलैँचा निर्यात गर्दा हामीलाई केही फाइदा पुग्ने भए पनि त्यो न्यायसंगत थिएन ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि बेलायतीहरूसँगै केही भारतीयहरू पनि पलायन भए । आफूलाई कुलीन वर्गमा गन्ने उनीहरू उपनिवेशकालीन भारतीय प्रशासनको उच्च ओहदामा नभए पनि बेलायती पदाधिकारीका सहयोगी थिए । पछि उनीहरू बेलायतमा आत्मसम्मान र सुरक्षा महसुस गर्न नसक्दा जन्मस्थल फर्किन थाले । तर, फर्किंदा उनीहरूले कमाएको रकम कानुनी र ब्यांकिङ् प्रक्रियाबाट भित्र्याउन चाहेनन् । त्यही क्रममा उनीहरूले अपनाएको एउटा हथकण्डा हो, गलैँचा काण्ड ।
भारत सरकारलाई झुक्याउन वा बेइमानी गर्न उनीहरूले नै यो सब प्रपञ्च रचेका थिए । उनीहरू कर छलेर आफ््नो कालो धन स्वदेश फर्काउन चाहन्थे । त्यसका लागि नेपालबाट गलैँचा निकासी गरेको देखाएर यो सब गर्न खोजेका थिए । काठमाडौँको बाटो हुँदै गर्न खोजेकाले नेपाल पनि यसमा मुछियो ।
'अफिसियल' कारोबारका लागि राष्ट्रिय वाणिज्य ब्यांकबाट कर्जा लिई भुक्तानी नगर्नुका साथै जमानत पनि नदिएको आरोपमा सोही प्रकरणमा सज्जनकुमार घिराइया, जगन्नाथ साहु, गोठी ट्रेडर्सका प्रोपाइटर श्रवणकुमार अधिकारी, दिलेन्द्रराज देवकोटा, प्रेमविजय कोइराला, विजुलीमान कंसाकार, अनिलकुमार राठी, रामकुमार राठी, जगदीशकुमार राठी, अशोककुमार अग्रवाल आदि कारबाहीमा परे ।
पहिला उनीहरूले भारतमै पनि अनेक कम्पनी खोलेर यो काम गर्न खोजेका थिए । तर, त्यसमा असफल भएपछि शंका कम हुने र सहानुभूति दर्शाएकोजस्तो पनि हुने देखेर नेपालका तिब्बती शरणार्थीले हातले बुनेका गलैँचा किनेर बिक्री गरेको देखाउँदा मूल्य जति राख्दा पनि हुने उपाय निकालेका थिए । त्यसको निश्चित मूल्यांकन पनि गर्नु नपर्ने भएकाले उनीहरू यो अभियानमा ज्यान फालेर लागेका थिए ।
पञ्चायतको मध्यकालखण्डमा चर्चित र विवादास्पद यो गलैँचा काण्ड अख्तियार दुरूपयोग निवारण आयोगको निसानामा परेपछि झन् चर्चामा आएको थियो । त्यसबेला प्रधानमन्त्री तुलसी गिरीदेखि अर्थ र उद्योग राज्यमन्त्री हुँदै राष्ट्र ब्यांकका गभर्नर, व्यापारी र कर्मचारीतर्फ उच्च तहका मात्र होइन, मुखियादेखि पञ्चायतका ठूला हस्तीहरूसम्म कारबाहीमा परे । तुलसी गिरी प्रमुख अभियुक्त बनेको यस प्रकरणमा पीताम्बरध्वज खाती, भेषबहादुर थापा र हर्क गुरुङका साथै तत्कालीन अर्थसचिव नरकान्त अधिकारी, गभर्नर कुलशेखर शर्मा, निधेन्द्रराज शर्मा आदिमाथि बढी बिजकीकरण गरेको आरोप लागेको थियो । गिरी त यही अभियोगमा पछि राजनीतिबाट मात्र होइन, मुलुकबाटै पलायन भएका थिए ।
नेपालमा चोरी गर्दा मात्र त्यो चोरी ठहरनिे र अन्यत्र चोरी गर्दा जायज मान्ने जुन प्रक्रिया त्यसबेला अपनाइयो, त्यो सरासर गलत थियो । बेइमान जहाँको पनि बेइमान नै हुन्छ । समुद्रपारकिो बेइमान यहाँ इमानदार हुन सक्दैन । त्यस समूहले भारतमा बेइमानी गर्न नेपालको बाटो रोजेको थियो, त्यो पनि आफैँ गैरकानुनी हो । त्यो किन पनि भने नेपालबाट गलैँचा निकासी गर्दा प्रचलित कानुन उल्लंघन गरी तोकेको ढाँचा फरक पारी दरखास्त दिने, लाइसेन्स लिनेदिने, निकासी दर्ता र विदेशी खरदिकर्ताबीच सम्झौता नगरी 'कन्सायनमेन्ट बेसिस'मा मालसामान उठाउने गरएिको थियो ।
त्यसबखत शिवनारायण लाल दास सचिव थिए । उनी मलाई भनिरहन्थे, "इजाजत दिनुपर्छ ।" त्यसबखत हर्क गुरुङ उद्योग राज्यमन्त्री र भेषबहादुर थापा अर्थराज्यमन्त्री थिए । सचिव दासले मलाई उद्योग राज्यमन्त्रीकहाँ पुर्‍याए । मन्त्रीले किन गलत छ भनेर सोद्धा मैले 'स्मेल गर्दा त्यस्तै पाएँ' भनेँ । उनले अर्थमन्त्रीलाई सोध्छु भनेर मलाई फिर्ता पठाइदिए । गुरुङले फेर िअर्को दिन बोलाएर भने, "अर्थमन्त्रीसित कुरा भयो, दिँदा आपत्ति हुँदैन रे !" मैले दुई हात जोडेर भनेँ, "मेरो मनले यस्तो गर्न दिँदैन । तसर्थ, मलाई बिदा दिनूस् ।" मैले त्यसअघि नै फाइलमा टिप्पणी लेखिदिएको थिएँ, "यो ओभर इन्भोइसिङ्को कुरा हो, यसले व्यापार विचलन हुन्छ र आखिरमा राष्ट्रलाई नोक्सान पुर्‍याउँछ ।" फाइलमा नेपालबाट गलैँचा निकासी गर्दा नेपाललाई कुनै हानिनोक्सानी नपुग्ने उल्लेख गरिएको थियो ।
अभियोग लागेकाहरूले पछि 'निकासी व्यापारका सम्बन्धमा विभाग, ब्यांकहरूको परिपाटी, कानुन, निर्देशन अनुसार काम गरेका हौँ तर बदनियतपूर्वक काम गरी अनुचित फाइदा लिए/दिएका छैनौँ' भनी जिकिर गरे । यसरी २०३७ पुस २३ गते उनीहरूले सफाइ पाए । म स्वयम्ले पनि अदालतमा गएर बयान दिएँ । मेरो भनाइ थियो, "काम गलत हो तर नियतवश र भ्रष्टाचार गर्ने मनसायले भन्दा पनि टेक्निक नजान्दा यस्तो भएको हो ।" यो प्रकरणमा अभियोग लागेका जति सबै दोषीचाहिँ थिएनन्, केही थिए ।
यस प्रकरणपछि म खसै्र बाटो रोजेर सीडीओ -प्रमुख जिल्ला अधिकारी) भई गाउँगाउँ घुमेँ । मलाई बेलायत, अमेरकिाभन्दा गाउँ चहार्नु नै उपयुक्त लाग्यो । खासमा मलाई सचिवले त्यस प्रोजेक्टको सफलतासँगै विदेश सयरको आश्वासन दिएकाले गृह मन्त्रालयमा सरुवा मागेको थिएँ । म गृहतर्फ गएपछि उद्योग वाणिज्य मन्त्रालयका उपसचिव शंकरनाथ पन्तलाई वाणिज्य विभागको डाइरेक्टर बनाइएको थियो । पछि उनीसहित ९१ जनाको समूह त्यस काण्डमा फसेको थियो ।
नेपाल साप्ताहिक ३३३

Monday, January 12, 2015

पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता


विपिन अधिकारी

डीन, काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल


त्यो सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज  चलेको थियो । मान्छेले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक  रूपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता हिमवत् खण्डमा थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद सुरु भइसकेको थियो । यस्तो  अवस्थामा हिमवत् खण्डको सुरक्षा एउटा चुनौतीपूर्ण प्रश्न थियो । आज पृथ्वीनारायण शाहलाई अध्ययन गर्न बस्दा त्यस बेलाको मापदण्डले हेर्नुपर्छ ।

नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र  हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । यहाँका अति प्रभावशाली लिच्छवि राजाहरूको पतनपछि क्रमशः विभिन्न सानाठूला राज्य बन्दै-भत्कँदै गए । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी-चौबीसी  राज्य-रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे ।

उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण स ंसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सिमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्र निर्माणको प्रक्रिया  सुरु भयो ।

यस कारण भन्न सकिन्छ, एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । नेपालको इतिहासमा पृथ्वीनारायणको त्यति नै महत्त्व छ, जति प|mान्सको इतिहासमा नेपो लियन बोनापार्ट (सन् १७६९-१८२९), जर्मनीको इतिहासमा अट्टोभान विस्मार्क (सन् १८१५-९८) र इटलीको इतिहासमा जुसेप्प गरिबाल्डी (सन् १८०७-८२) वा प्रधानमन्त्री काभोर -सन् १८१०-६१)को छ ।

यी सबैका राष्ट्रिय चुनौती र परिवेश फरक थिए । विस्मार्कले जर्मनीका भुरेटाकुरे राज्यहरू तथा पर्सियालाई मिलाएर एउटा ठूलो जर्मन राज्यको एकीकरण गरे । उनले त्यो नयाँ मुलुक रगत र इस्पातले बनेको हो भनेका थिए । जर्नेल नेपोलियन बोनापार्टले  क्रान्तिको माध्यमबाट प|mान्सलाई विश्वस्तरीय साम्राज्यमा रूपान्तरण गरे । जर्नेल गरिबाल्डी र प्रधानमन्त्री काभोरको क्षमताका कारण इटली एउटा समृद्धशाली एकीकृत मुलुकका रूपमा निर्माण हुन पुग्यो । यी सबै इतिहासका लौहपुरुष मानिन्छन् ।

यी सबैभन्दा पुराना थिए, पृथ्वीनारायण शाह । तैपनि, उनी बढी आधुनिक तथा बहुआयामिक र राजनीतिक रूपमा बढी परिपक्व देखिन्छन् । उनले नेपाल एकीकरण मात्र गरेनन् । नेपालको स्थापनाकालीन सिद्धान्तहरू पनि कायम गरे । यी सिद्धान्त नेपालका  सम्बन्धमा आज पनि अकाट्य सत्यका रूपमा पढिन्छन् । एकताका सूत्रका रूपमा ऐतिहासिक कालमा यसको ठूलो महत्त्व थियो । आज पनि तिनको महत्त्व घटेको छैन ।

महत्त्वाकांक्षी र रणनीतिक
संसारमा कुनै पनि व्यक्ति जात वा नस्लका आधारमा राष्ट्रनिर्माता हुन सक्दैन । कुनै विशेष जात, धर्म, वर्ण, लिंग र क्षेत्रलाई राष्ट्राधार बनाउने व्यक्ति लामो समयसम्म राष्ट्रनिर्माता हुन वा टिकिरहन गाह्रो हुन्छ । पृथ्वीनारायण खस वा मगर कुन मूलका थिए, ठो कुवा गर्न सकिने स्थिति छैन । तथापि, उनले आफूलाई मगरातको राजा मै हुँ भनेका छन् । सुरथसिं राना आफ्नो मामाघरको हजुरबुबा भएको उनले उल्लेख गरेका छन् । त्यस्तै उनले मकवानपुरका दिग्बन्द सेनकी बहिनी बिहे गरेको इतिहासमा उल्लेख छ ।  उनको दरबारमा पाण्डे -बाहुन) र बस्नेत -क्षेत्री)को बिहेबारी चल्थ्यो । यी सबै पृष्ठभूमिबाट के देखिन्छ भने या त उनी मगर कुलका थिए, या मगर र खस राजपरिवारबीच राम्रै बिहेबारी चलेको अवस्था थियो । जात जे भए पनि उनी पढेलेखेका थिएनन् । देश-दे शान्तर घुमेका पनि होइनन् । ससुराली मकवानपुरबाट र्फकंदा चन्द्रागिरिको डाँडोबाट उनले पहिलोपटक काठमाडौँका तीन सहर देखेका हुन् ।

उनको समयमा गोरखा आफैँमा धनी वा वैभवशाली राज्य पनि थिएन । पृथ्वीनारायणका बाबु नरभूपाल शाह विशेष योग्यता भएका मान्छे थिएनन् । तर, करिब २० वर्षकै उमेरमा राजा भएका पृथ्वीनारायण महत्त्वाकांक्षी र होनहार दुवै थिए । उनमा गोरखा  राज्यको विस्तार र वैभवशाली एवं सम्पन्न जनताको परिकल्पना पनि थियो । उनलाई राजा राम शाह, भूपतिन्द्र मल्ल वा महिन्द्र मल्लजस्तो न्यायपि्रय राजा बन्ने रहर थियो । ठूलो देशको अधिपति हुनका लागि हिमवत् खण्डको एकीकरण आवश्यक थियो भने  परम्परागत रूपमा आर्थिक समृद्धिका लागि भोटसँग व्यापार गर्ने हिमाली नाकाहरू तथा दक्षिणतर्फको मुगलानसम्मको पहुँच नभई सम्भव थिएन । यो परिकल्पनाले पृथ्वीनारायणलाई राज्य विस्तार एवं एकीकरणतर्फ उन्मुख गरायो ।

नेपाल एकीकरणको प्रयास गर्ने पृथ्वीनारायण पहिलोे व्यक्ति थिएनन् । मानदेवलगायतका लिच्छविकालीन राजाहरू सम्भवतः सबैभन्दा प्रभावशाली थिए । अहिलेको नेपालभन्दा लगभग ठूलो नेपालमा उनीहरूले शासन गरेको मानिन्छ । तर, नेपाल सोही रूपमा  रहिरहन सकेन । वास्तवमा अठारौँ शताब्दीका राजा अरमुडी, बाह्रौँ शताब्दीका राजा नागराज, सत्रौँ शताब्दीका राजा प्रताप मल्ल र राम शाहले पनि यस हिमवत् खण्डमा एकीकरणको भगीरथ प्रयत्न गरेका हुन् । पृथ्वीनारायण र अरूका बीचको मुख्य फरक के  हो भने उनी ती प्रतापी राजाहरूभन्दा बढी महत्त्वाकांक्षी र रणनीतिक थिए । यो क्षमताले उनलाई राज्य विजेता मात्र नभई समग्र नेपालको एकीकरणकर्ता बनायो । यो अवसर प्रताप मल्लजस्ता सम्पन्न नेपालका राजा र अरमुडी वा नागराजजस्ता कश्मीरसम्म  शासन गर्ने राजालाई प्राप्त भएन । किनभने, एकीकरण गर्न चाहिने सामरिक क्षमता र एकीकृत देशलाई धान्न सक्ने सामाजिक, आर्थिक, राजनीतिक र प्रशासकीय हुति सबैमा उत्तिकै थिएन । पृथ्वीनारायणले यो पुरुषार्थ गरेरै देखाएका हुन् ।

विश्व परिस्थिति

एकीकरण राजा पृथ्वीनारायणको महत्त्वाकांक्षा मात्र थिएन । यसका लागि तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरू पनि विद्यमान थिए । उनी जन्मनुअघि रोबर्ट वालपोल बेलायतका प्रधानमन्त्री भएका थिए । बेलायतको बढ्दो सैन्यशक्ति त्रासको विषय भइसकेको  थियो । रुसका राजा -जार) पिटर द ग्रेटले राज्यमा ठूलो भूमिका पाएको अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए । तथापि, रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो । अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए । चीनका कांशी  बादशाह भर्खर बितेका थिए ।

पृथ्वीनारायणको जन्मपछि नै पर्सियालाई कन्स्ट्यान्टटिनोपोल सन्धि अन्तर्गत रुस र अटोमान साम्राज्यले बाँडीचुँडी खाएका थिए । अंग्रेज र स्पेनीहरूबीचको युद्ध त्यसपछिको अर्को ठूलो घटना थियो । पृथ्वीनारायण शाह किशोर उमेरमा टेक्दा नटेक्दै रुस र टर्कीबीच  चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो । चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको कार्यक्रम त्यत्तिकै दह्रो थियो । यता हिन्दुस्थानमा मुगलहरूको बिजोग सुरु भइसकेको थियो । जो टुक्राटुक्रा हुँदै थिए । पर्सियाका नादिर शाहको आक्रमणबाट  मोहम्मद शाह निकै पीडित थिए । युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भएझैँ यस क्षेत्रमा मुस्लिम र हिन्दु राज्यहरू भिड्न सुरु गरिसकेका थिए । चतुर बेलायती तथा प|mान्सेलीहरू हिन्दुस्थानमाथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका थिए ।  यो खेलमा बेलायती महाचतुर देखिए । दिव्योपदेशमा टर्की, चीन र हिन्दुस्थानका बारेमा सावधान गर्नुपर्ने कारण सम्भवतः तिनै थिए ।

राष्ट्र निर्माणका आधार
पृथ्वीनारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र होइनन् । आफ्नो जिन्दगीको अन्तिम लडाइँ उनले सन् १७७३ मा लडेको देखिन्छ । करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वीनारायणमा देखिएको राजनीतिक कौशलले उनको  परिपक्वता दर्साउँछ । उनले टिपाएको 'दिव्योपदेश' र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देख्न चाहे । हिमवत् खण्डको असंलग्न  परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरे । राष्ट्रिय सेनाको  निर्माण एउटा ठूलो प्रयोग थियो । आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । नवएकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटकपटक लडाइँ  लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकारिता पृथ्वीनारायण शाहले नै सुरु गरेका हुन्, जसमा अरूको पनि पर्याप्त लगानी छ । तथापि, सूत्रधार पृथ्वीनारायण नै हुन् भन्ने  कुरामा विवाद छैन ।

पृथ्वीनारायणले निर्माण गरेको एकीकृत नेपाल उनको जमाना अनुसार हेर्दा सबैभन्दा टिकाउ भएको मान्नुपर्छ । उनको जमानामा यस क्षेत्रमा विभिन्न लडाइँ भए । तर, एकीकरणको प्रयास भएन । चिनियाँ प्रयोगलाई अलग गर्ने हो भने उनीपछि बनेको यस क्षेत्रको  वैभावशाली सिख साम्राज्य ४८ वर्ष पनि टिक्न सकेन । यसका संस्थापक रञ्जित सिंह बितेपछि यो मूलतः सकियो । यसै बेला छत्रपति शिवाजीले मराठा साम्राज्य पनि स्थापित गरेका थिए, जसलाई हिन्दु राज्य भनिन्थ्यो । यो सन् १६७४ देखि १८१८ सम्म मात्र  टिक्यो । सन् १८५८ देखि १९४७ का बीच उपनिवेशउन्मुख बेलायतीहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि करिब ५ सय ६२ वटा बाइसी-चौबीसी प्रकारका राज्य बेलायत सरकारलाई राजनीतिक-आर्थिक कूत  बुझाउँथे । यो परिस्थितिलाई हेर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले बेलायती साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग पनि जटिल कूटनीति निर्वाह गरी निरन्तर गन्तव्य पहिचान गर्‍यो ।

विस्तारवाद, जातीयता र धर्म
जतिसुकै राम्रा व्यक्तिका पनि कमीकमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् -हेर्नूस्, बक्स) । कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासक । त्यस्तै जातीय  शासनलाई उनले भताभुंग पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । प्रकाशित सामग्रीका आधारमा हेर्दा प ृथ्वीनारायणले नेपाललाई 'असली हिन्दुस्थान' बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारे विभिन्न मान्छेका विभिन्न दृष्टिकोण हुन सक्छन् । तथापि, राज्य जित्ने अभिलाषा नभएको भए एकीकरणको परिप्रेक्ष्य आउने थिएन भन्न सकिन्छ ।

उनले नेपाललाई असली हिन्दुस्थान बनाउन खोजे भन्ने आरोपको आधार देखिँदैन । मुगल वा अंग्रेजबाट यो बिटुलिएको छैन भन्ने प्रसंगमा उनले 'असली हिन्दुस्थान रहेछ' भनेका छन् । उनले देखेबुझेसम्मको वस्तुस्थितिका आधारमा निकालिएको निष्कर्ष थियो त्यो ।  त्यस्तै, उनको समयमा कतै जातीय राज्य वा शासन भएको इतिहासले देखाउँदैन । यस अर्थमा उनले कसैसँग जातीय लडाइँ लडेका थिएनन् । जस्तो ः एकीकरणको वृत्तान्तमा गोर्खालीहरूले राजा जयप्रकाश मल्लको खस एवं मगर सेनासँग समेत लडाइँ लडेको  पढ्न सकिन्छ ।

आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन् । विभिन्न मिथक, मूर्ति, प्रतिमा र प्रतीकलाई पनि एकताको आधारका रूपमा स्थापित गरिएका हुन्छन् । प्रकृतिको अवधारणालाई नियति र ईश्वरको अवधारणालाई मिथक भनिएकै छ । तर, त्यसबिना  साधारण मान्छेको जीवनको परिकल्पना सम्भव हुँदैन । आममान्छेले बुझ्ने ससाना ऐतिहासिक तथ्य, वीरता, लडाइँ र शान्तिका गीतहरू आफ्नो भाषा, धर्म-संस्कृति, खोलानाला, जंगल, तरुण र तरुणीको सम्बन्ध, मेलापात, दुःख एवं विस्मात्का प्रसंगले मान्छे,  समाज अनि राष्ट्रलाई जोडेका हुन्छन् । कतिपय कुरा असत्य पनि होलान्, तथापि यी समग्र परिस्थितिले देश र राष्ट्रियताको भावना जागृत गर्ने हो । प्रजातन्त्र, समानता र मौलिक अधिकार एवं शासनमा सहभागिताका कारण बन्ने राष्ट्रवाद त आजको सिर्जना हो ।  इतिहासलाई यसका आधारमा मूल्यांकन गर्न खोज्नु हुँदैन । राज्यहरू सेनाले टिक्लान्, नटिक्लान् तर यी साधारण सत्यका आधारमा ठूल्ठूला साम्राज्य बनेका पनि छन्, ढलेका पनि छन् । पृथ्वीनारायणका बारेमा नेपालीले गौरवान्वित हुनुपर्छ, नेपाल टिकेको मात्र छैन,  आवश्यक पर्दा यसले शत्रुलाई ढालेको पनि छ ।

पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः कथा भइसकेको हुने थियो । प्रजातन्त्र र संविधानवादले मुलुकलाई बलियो बनाउने आधार  उनले छाडेर गए । आजका नेपाली आजको आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र  होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप हुने भन्ने हुनै सक्दैन ।

राष्ट्र निर्माणका ८ आधार

१ छरिएर रहेका राज्य-रजौटा एकीकरण

२ राष्ट्रिय सेना निर्माण

३ राष्ट्रिय सुरक्षा नीति

४ असंलग्न परराष्ट्र नीतिको स्थापना

५ स्वदेशमै पुँजी परिचालन र उत्पादनमा जोड

६ राज्यलाई धार्मिक, सांस्कृतिक र जातीय विविधताको साझा फूलबारीका रुपमा स्वीकार

७ विजित राज्य-रजौटालाई स्वायत्तता

८ प्रजातान्त्रिक शासन पद्धतिप्रतिको अठोट (दुनियाँ/जनताले मन पराएको व्यक्तिलाई कज्याइँ/प्रधानमन्त्रीत्व)


हरेक महानका अँध्यारा पक्ष
मान्छेमा देउता खोज्न सकिन्छ तर मान्छे देउता हुँदैन । राम्रा मान्छेलाई तत्कालीन परिवेश र समयको स्तरभन्दा राम्रो भएकाले राम्रो भनिएको हो । उसमा अवगुण छँदै थिएन भनेर राम्रो भनिएको हुँदैन । पृथ्वीनारायण शाह पनि यसै कोटीका शासक थिए । यस  किसिमको आलोचना अन्य धेरै ठूला राष्ट्रनिर्माता वा व्यक्तित्वको पनि भएको छ ।

इतिहासमा विस्मार्कलाई 'एरिस्टोक्रेटिक जंकर' भन्नेहरू पनि थिए । अमेरिकी संघका संस्थापक जर्ज वासिङ्टनले जाडो महिनामा रेड इन्डियनहरूको गाउँ जलाउन सिपाहीहरू पठाएको इतिहास छ । अमेरिकी संविधानका निर्माताहरू कतिपयले दासहरूको व्यापार  गर्थे । दासताबाट मुक्तिको घोषणा गर्नेबित्तिकै अब्राहम लिंकनले अमेरिकामा धेरै स्थानीय अमेरिकीलाई फाँसी दिएका थिए । अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलो सामूहिक फाँसी थियो ।

गान्धीजस्ता महात्मा पनि आलोचनारहित थिएनन् । उनले काला नस्लका मान्छेलाई आफ्नो जीवनमा कहिल्यै महत्त्व नदिएको आरोप खेपेका थिए । उनी स्वेच्छाचारी तथा आकर्षक तरुण महिलाप्रति आशक्त रहन्थे भन्ने आरोप छ । गान्धीको हर्मन कालेनब्याक  भन्ने पुरुषसँग विकृत सम्बन्ध थियो भनेर पनि लेखिएको छ । श्रीमती बिरामी भई छटपटिएर मर्न लाग्दा पनि गान्धीले बलमिच्याइँ गरी आधुनिक उपचार गर्न नदिएको आरोप पनि छ । प्राकृतिक उपचारकै माध्यमबाट बाँच्नुपर्छ भन्ने उनको मान्यता थियो ।

अमेरिकाका गान्धी मानिने मार्टिन लुथर किङलाई अर्को विश्वविद्यालयमा पढ्ने एक छात्रसँग आफूले लेख्नुपर्ने 'डक्टोरल थेसिस' किनेको आरोप लगाइएको छ । उनको 'आइ ह्याभ अ डि्रम' भन्ने प्रख्यात भाषण पनि चोरीकै भन्ने आरोप छ ।

यी आरोपबाट के देखिन्छ भने राजनीतिक जीवन निर्वाह गर्ने व्यक्तिलाई यस्ता आरोप लागिरहन्छन् नै । कति सही होलान्, कति गलत । तर, कसैको मूल्यांकन गर्दा त्यस्तो व्यक्तिले बाँचेको समग्र जिन्दगी स्थापित सिद्धान्तहरू के थिए र उसको मूलप्रवाह के थियो  भन्नेतर्फ लक्षित हुनुपर्छ । नराम्रा कुराले कुनै व्यक्तिमा भएको राम्रो कुरालाई बगाएर लैजान सक्दैन ।

रोबाटोको आक्रोश
वास्तवमा पृथ्वीनारायण शाहले बाँचेको समकालीन इतिहासमा काठमाडौँमा बसी काम गर्ने रोमन मिसनका धर्मप्रचारक जोसेप डे रोबाटोबाहेक कसैले पनि उनको खेदो खनेको इतिहासमा देखिँदैन । जतिले खेदो खनेका छन्, तिनको आधार जहिले पनि रोबाटो नै  हुने गरेका छन् । यस प्रसंगमा रोबाटो को हुन् भनेर बुझ्नु आवश्यक छ । उनी एकीकरण युद्धमा कान्तिपुरका राजा जयप्रकाश मल्लका लागि अंग्रेजको सहयोग जुटाउने कार्यमा लागेको शंकाका आधारमा गोर्खालीद्वारा काठमाडौँबाट लखेटिएका व्यक्ति हुन् । उनी  मिसनसहित भारतको बेतियातर्फ लखेटिएका थिए । उनले पृथ्वीनारायणको निन्दा गर्नु स्वाभाविक थियो । शत्रुको तारिफ केवल क्षमतावान्बाट मात्र हुन सक्छ ।

काठमाडौँ उपत्यका एकीकरणको युद्धमा कीर्तिपुरवासीको नाक काटेको, काठमाडौँभित्र खाद्यान्न ओसारपसार गर्ने नाका बन्द गरेको र चाहिनेभन्दा बढी बल प्रयोग गरेको भन्दै रोबाटोले आफ्ना लेखोटमा उल्लेख गरेका छन् । रोबाटोकै लेखोटलाई एक जना अंग्रे जले धेरै पछि अंग्रेजीमा उल्था गरी कोलकाताबाट प्रकाशित हुने एसियाटिक सोसाइटीको जर्नलमा प्रकाशित गरेका थिए । यसबाहेक कुनै पनि इतिहासका अध्येताले पृथ्वीनारायणमाथि यस्ता आरोप लगाएका छैनन् । यहाँनिर के कुरा बिर्सनु हुँदैन भने काठमाडौँ  एकीकरण गर्दा पृथ्वीनारायणले सबैभन्दा कठिन लडाइँ लडेका थिए ।
रामबहादुर रावलसँग कुराकानीमा आधारित । स्केच : रवीन्द्र मानन्धर ।
प्रथमपटक प्रकाशित : नेपाल राष्ट्रिय साप्ताहिक ।
http://www.ekantipur.com/nepal/2071/9/27/full-story/7924.html
अंक ६२८ | २०७१ पुस २७