Thursday, August 13, 2015

बाहुनवाद, दलित र पहिचानको आन्दोलन

मित्र विश्वराजजी, 
बाहुनवादबारे कृष्ण भट्टचनको लेखमाथिको तपाईंको प्रतिक्रिया पढियो । यसले मलाई पनि केही लेख्न प्रेरित गर्‍यो । 

आधारभूत रूपमा तपाईंको ब्लग/प्रतिक्रियामा असहमति राख्ने ठाउँ छैन । बाहुन कसरी शिक्षित र बौद्धिक कार्यमा अभ्यस्त भए भन्नेमा जुन तर्कहरु प्रस्तुत गर्नुभएको छ, ती मननीय र रमाइला पनि छन् ।

दलितको सन्दर्भमा चाहिं मेरो फरक दृष्टिकोण छ । पेसागत हिसाबले दलितहरू आयमूलक काममा छन् । व्यापार र व्यवसायमूलक कर्ममा छन् । यस हिसाबले हेर्दा उनीहरू नेपाली अर्थतन्त्रका आधार वर्ग हुनुपर्ने हो । व्यावसायिक वर्ग हुनुपर्ने हो । तर, तिनै दलित अमानवीय रुपमा हेपिएका छन्, उत्पीडित छन् । यो हामीले मनन गर्नैपर्छ कि श्रमको सम्मान नगर्ने संस्कृति हाम्रो विकासको बाधक बनेको छ । दलितलाई हेप्ने, अपमान गर्ने र छूवाछूतको व्यवहार गर्ने हाम्रो संस्कारको कारण कर्मी कामी बन्यो । सूचीकार दर्जी बन्यो । कलाकार गाइने बन्यो । चर्मकार सार्की बन्यो । सुवर्णकार सुनार बन्यो । उनीहरुका आरनले कर्पोरेट आकार लिन सकेनन् । परिणाम, हामी सबै पछि पर्‍यौँ । अझै पनि म भन्छु, दलितको सीप र कौशललाई हामीले कर्पोरेटीकरण गर्न नसकेसम्म हाम्रो उन्नति र प्रगति सम्भव छैन । समतामूलक विकास पनि सम्भव छैन । यो जिम्मेवारी बाहुनको पनि हो । क्षत्रीको पनि हो । दलितलाई समान हैसियतमा नपुर्‍याएसम्म बाहुनको पनि इज्जत रहनेवाला छैन । बाहुनवादको सप्कोले बेरिरहनेछौँ ।

Sunday, August 9, 2015

संविधान पक्का






प्रधानमन्त्री निवास बालुवाटारमा ८ साउनको प्रमुख चार दलीय बैठकमा अरू बेलाभन्दा भिन्न अवस्था देखापर्‍यो । नेकपा एमालेका नेताहरूले पुरानै शैलीमा संविधान जारी गर्ने प्रक्रियालाई छिटो अघि बढाउनुपर्ने प्रस्ताव राखे । केही नेताले साउन मसान्तको समयसीमा माग गरे । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले त्यसभन्दा निकै अघि बढेर भने, ‘कहाँ साउन मसान्तसम्म पर्खिन सकिन्छ ? २५ गतेभित्र संविधान जारी गरिसक्नुपर्छ ।’

संविधान निर्माणमा ढिलाइ गर्न खोजेको, सत्ता लम्ब्याउन चाहेको र सत्तामै रहेर महाधिवेशनमा जान खोजेको जस्ता आरोप खेपिरहेका कांग्रेस नेताहरूले नै सबैलाई उछिनेर संविधान चाँडो जारी गर्न भन्दै मिति प्रस्ताव गरेपछि अन्य दलका नेताहरू आश्चर्यचकित नहुने कुरै भएन । तैपनि, पौडेलले २५ साउनमै संविधान जारी गरिसक्नुपर्नाका कारणमा २–५ असोजमा हुन लागेको कांग्रेस महाधिवेशनलाई नै अघि सारेका थिए । स्थानीय तहका अधिवेशनहरू भदौ संक्रान्तिबाटै सुरु हुने कार्यतालिका स्मरण गराउँदै पौडेल भन्दै थिए, ‘हाम्रो महाधिवेशन १ भदौदेखि नै सुरु हुन्छ । नेताहरू टाढाटाढा जानुपर्छ । संविधानका सबै काम २५ गतेभित्र सक्नुपर्छ ।’

पौडेलको उक्त प्रस्तुतिप्रति अन्य दलका नेताहरूले दुई खालका अर्थ लगाए । एक, समयमै संविधान जारी गरेर ढुक्कसँग महाधिवेशनको सुरसारमा लाग्ने सोच । दुई, समयले नभ्याउने तिथि तोकेर संविधान निर्माणको काम थाती राख्ने र सरकारमै बसेर महाधिवेशनतिर लाग्ने चलाखी । तर, भोलिपल्टैबाट संविधान मस्यौदामाथि प्राप्त जनमतको प्रतिवेदन तयार गर्ने काम अघि बढ्यो । बेरोकटोक प्रतिवेदन संविधानसभामा पेस भयो र त्यहाँबाट पनि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पुगिसकेको छ ।


गत ८ माघभित्र संविधान जारी गर्ने संविधानसभाको कार्यतालिका असफल भयो । अर्थात्, त्यो एक वर्ष संविधान निर्माणका दृष्टिले बिनाउपलब्धि सकियो । २५ जेठमा सम्पन्न १६ बुँदे सहमतिपछि संविधान निर्माण प्रक्रियाका महत्त्वपूर्ण दुई चरण सम्पन्न भएका छन्, प्रारम्भिक मस्यौदा निर्माण तथा संविधानसभाबाट पारित र मस्यौदामाथि जनमत संकलन । “विगत एक वर्षमा नभएको काम १६ बुँदे सहमतिपछि फटाफट भएको छ, जसले संविधान निर्माणको आधार तयार गरेको छ । अब कसैले चाहेर पनि संविधान जारी हुनबाट रोक्ने स्थिति छैन,” राजनीतिक विश्लेषक विष्णु सापकोटा भन्छन्, “जारी गर्ने मिति मात्र केही तलमाथि हुन सक्छ ।”

Thursday, August 6, 2015

लिपुलेक मात्र होइन, लिम्पियाधुरासम्म हाम्रै हो : विवेकशील


विवेकशील नेपाली पार्टीले नेपालको भूभाग लिपुलेक मात्र नभई लिम्पियाधुरासम्म रहेको भन्दै नेपाल सरकारलाई विस्तृत अध्ययन र तयारीका साथ कूटनीतिक माध्यमबाट आफ्नो भूमिमा अधिकार स्थापनाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अहिलेको परिस्थितिमा नेपाल सरकारले सीमा, इतिहास र भूगोलका विज्ञहरु सामेल एक उच्चस्तरीय अध्ययन टोली गठन गरी लिपुलेकको विषयमा गहन अध्ययन र प्रमाण संकलन गरी सोही अध्ययनको निष्कर्षको आधारमा पूर्ण तयारीका साथ भारत र चीनसंग वार्ता गर्न पनि उसले सुझाएको छ ।  

Wednesday, August 5, 2015

यस्ता छन्, मुख्यसचिव सोमलाल सुवेदी

सोमलाल सुवेदी

सबल पक्ष
    विकेन्द्रीकरणमा दक्खल
    तल्लो तहदेखिको अनुभव
    अध्ययनशील
    खरो स्वभाव

दुर्बल पक्ष
    अहम्भाव
    विदेशी दाता र विदेश भ्रमणमा आशक्ति
गाउँले पृष्ठभूमि, संघर्षशीलता र प्रशासनको तल्लो तहदेखिको अनुभव सुवेदीका प्रमुख चिनारी हुन् । निजी रूपमा अध्ययन गर्दै र जागिर पनि सँगै हिँडाउँदै उनले विद्यावारिधिसम्मको उपाधि प्राप्त गरे । ०३८ सालमा कृषि विकास कार्यालयमा सहलेखापाल भएर सेवा प्रवेश गरेका थुम्की–६, कास्कीका सुवेदी लेखापाल, शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिव बनेका हुन् । ०४६ मा प्रशासन समूहमा प्रवेश गरेपछि उनी सामान्य प्रशासन, अर्थ र स्थानीय विकास मन्त्रालय तथा अन्तर्गतका निकायमा रहे ।