Tuesday, June 28, 2016

‘बजारलाई मात्रै छाड्दा हाम्रो स्वास्थ्य रक्षा हुँदैन’




पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति तथा हालै सरकारद्वारा गठित चिकित्सा शिक्षा आयोगका सदस्य डा अर्जुन कार्की जति दक्ष चिकित्सक मानिन्छन्, उत्तिकै कुशल व्यवस्थापक पनि । डा कार्कीसँग स्वास्थ्य सेवा तथा शिक्षा प्रणालीमा केन्द्रित रहेर रामबहादुर रावलले गरेको संवाद :

हाम्रो स्वास्थ्य सेवा प्रणालीमा सन्तोष गर्ने ठाउँ छ ?
हामीले जहाँबाट सुरु गरेका थियौँ, त्यसभन्दा प्रगति गरेका छौँ । यो सकारात्मक पाटो हो । तर, विज्ञान, प्रविधि र व्यवस्थापनको समग्र सूचकांकमा हाम्रो मुलुक र बाँकी विश्वबीच ठूलो खाडल छ । अझ ठूलो खाडल काठमाडौँ र बाँकी नेपालको बीचमा छ ।

प्रगतिचाहिँ केलाई मान्ने त ?
५० वर्षअगाडिको स्थितिभन्दा अहिले उल्लेख्य प्रगति भएको छ । अहिले हामीसँग स्पष्ट स्वास्थ्य नीति छ । हरेक गाविसमा स्वास्थ्य चौकी, उपचौकी छन् । तिनले काम के कति गरेका छन् भन्ने छुट्टै कुरा हो । आजभन्दा ३८ वर्षअघि हामीकहाँ डाक्टर उत्पादन नै हुँदैनथे । अहिले मुलुकभित्रै प्रतिवर्ष दुई हजार चिकित्सक उत्पादन गर्ने क्षमता बनेको छ । अब विश्व र काठमाडौँबीचको खाडल अनि काठमाडौँ र बाँकी नेपालबीचको खाडल पुर्नुपर्ने बेला आएको छ ।

सम्भव हुने सेवामा पनि प्रवाहको प्रणाली झनै निम्छरो छ नि ?
यसको एउटा मात्रै कारण छैन । प्रणाली केन्द्रीकृत छ । केन्द्रको दृष्टिमा जेजे पर्‍यो, केन्द्र हाँकेर बसेका मान्छेको नजरमा जोजो परे, तिनले प्राथमिकता पाउँछन् । ‘आयो गयो माया मोह, नत्र को हो को हो’ भन्ने उखानै छ । टाढा, दुर्गममा रहने मान्छे आँखामा पर्दैनन् । कर्मचारीले हाकिमको, हाकिमले अझ माथिको हाकिमको चाकडी मात्र गर्छ । हाम्रो समय त्यसैमा जान्छ । मुखले सबै ठीक छ, राम्रो भइरहेको छ भन्छ । तलको कुरा ओझेल पर्छ । तेस्रो कुरा, राज्यको दायित्व हो भन्ने कुरा सिद्धान्तत: सरकारले स्वीकारे पनि व्यवहारमा त्यही अनुरूपको स्रोतसाधनको परिचालन भएको छैन ।

यस्तै प्रणालीगत समस्या देखाएर कहिलेसम्म बस्ने ?
यो यथार्थ हो हाम्रो । केन्द्रीय अस्पतालमध्ये पाटन अस्पताललाई नै हेरौँ । वर्षमा झन्डै तीन–चार लाख जनताको सेवा गर्छ तर सञ्चालन खर्च सरकारले बेहोर्दैन । कमाऊ खाऊ भन्दिन्छ । त्यस्तो नीति भएपछि एउटा सार्वजनिक संस्थाले कसरी कमाएर चल्छ ? फेरि पैसा तिर्ने सामथ्र्य नभएका कारण कसैलाई फर्काउनु नपरोस् भन्ने संस्थागत मान्यता छ । प्रशस्त गरिब भएको देशमा यस्ता अस्पताल कसरी चल्छन् ? त्यसैले प्राथमिकीकरण गरेर स्वास्थ्य र शिक्षाजस्ता आधारभूत कुरामा राज्य उदार देखिनुपर्छ ।

प्यानल होइन, व्यक्तिलाई मत, युवाप्रति आशा, आर्थिक मुद्दामा जोड

नेपाली कांग्रेस १३औं महाधिवेशन: नेपाल मत सर्वेक्षण


  • - रामबहादुर रावल

    नेपाली कांग्रेसको १३औँ महाधिवेशनका प्रतिनिधिहरूको चयन लगभग सकिएको छ । तालिका हेरफेर नभएमा २० फागुनमा उद्घाटन हुने महाधिवेशनमा मुलुकभरका तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा सहभागी हुन तम्तयार प्रतिनिधिहरूको विचार बुझ्ने कोसिस गरेको छ, नेपालले । 
    वैज्ञानिक विधिमा आधारित भई मुलुकभरबाट छानिएका प्रतिनिधिहरूले सर्वेक्षणमार्फत धेरै हदसम्म आफ्ना धारणा खुलेर राखेका छन् । त्यसैले यो कांग्रेसप्रति आस्थावान् नेता–कार्यकर्ताहरूकै नजरमा स्वयं कांग्रेस कस्तो देखिन्छ भन्ने प्रश्नको जवाफको खोजी पनि हो । यस अभिमत सर्वेक्षणले त्यस पार्टीको सांगठनिक स्वास्थ्य र राष्ट्रिय राजनीतिमा अवस्थितिबारे मूल्यांकन एवं भावी कार्यदिशा प्रस्तुत गरेको छ । 

    मूलत: कांग्रेस प्रतिनिधिहरू आधारभूत अधिकारको वकालत, व्यवस्था परिवर्तनको संघर्ष र संविधान निर्माणको सकस सकिएपछि अब आर्थिक उन्नतिको बाटोमा मुलुकलाई हिँडाउने परिकल्पना व्यवहारमा अनुवाद गर्न सक्ने नेतृत्व अनि कार्यक्रमको खोजीमा छन् । राजनीतिक मुद्दाहरूमा धेरै अल्झिँदा विकास पछि परेको महसुस सबैजसो कांग्रेसजनलाई भएको छ । उनीहरू चाहन्छन्, ताजा, गतिशील र प्रणालीमा आधारित संगठन होस् । अद्यावधिक विचार र युवा पुस्ताका नवीन आकांक्षाहरूलाई बोक्न सक्ने नेतृत्व होस् । संस्थापक बीपी कोइरालाको विचार पूरै नत्यागियोस् । सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्था रहोस् । लोककल्याणकारी व्यवस्थासहितका आर्थिक कार्यक्रम लागू गर्न सक्ने सरकार बनोस् । 

    कांग्रेसको संगठनमा बीपीकै विचारको गहिरो छाप छ । त्यसैले बहुमत कांग्रेसजनको झुकाव अझै बीपीको लोकतान्त्रिक समाजवादप्रति नै देखिन्छ । पुँजीवादी लोकतन्त्रमा झुकाव राख्नेहरूले समेत समाजवादी विशेषतासहितको व्यवस्थाकै पक्षमा उभ्याएका छन् । विशुद्ध उदारवादी/पुँजीवादी लोकतन्त्रको पक्षमा जुन झीनो मत देखिएको छ, त्यही हाराहारीका कांग्रेसजन पार्टी वैचारिक अस्पष्टतामा रुमलिएको ठान्छन् । अझ पार्टीभित्र परम्परागत लोकतन्त्र, समाजवाद र यी दुवैको मिश्रित स्वरूपभन्दा भिन्न नयाँ विचारको पक्षमा बहस अंकुराउन खोजेको संकेत उल्लेखनीय छ । 

संविधान बनाउँदाका सुशील

  • कोइरालाको प्रधानमन्त्रित्वमा संविधान जारी हुनु नै उपलब्धि


‘असारभरमा संविधान बनाऔँ, साउन १ गते छाडिदिन्छु ।’ 
बालुवाटारस्थित सरकारी निवासमा प्रमुख चार दलको बैठकमा प्रधानमन्त्रीको कुर्सीबाट सुशील कोइरालाले घोषणा गरेका थिए, १५ जेठ ०७२ मा । नेपाली कांग्रेसका सभापतिसमेत रहेका कोइरालाले यस्तो बेलामा त्यो अभिव्यक्ति दिए, जतिखेर निकै तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अप्रत्यासित निकटता देखियो । 


त्यसो त १२ वैशाखको भूकम्पले प्रमुख दलहरूलाई नजिक ल्याइपुर्‍याएको थियो । संविधानसभाबाट संविधान जारी गर्न ३० वैशाखमा संसद्बाट सर्वसम्मतिले संकल्प प्रस्ताव पनि पारित भयो । यहीबीचमा आफ्नै सरकारको गठबन्धन घटक एमालेका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीचको निकटताले कोइरालालाई नराम्ररी झस्काएको थियो ।



हुन पनि दोस्रो संविधानसभाको एक वर्ष संविधान निर्माणमा कुनै उपलब्धि नभई गुज्रिएको थियो । एमालेले कोइरालालाई गरेको समर्थनको सर्त ८ माघ ०७१ भित्र संविधान जारी गर्ने थियो, जुन पूरा नभएपछि सत्ता गठबन्धनमा पुन:विचार गर्नुपर्ने छलफल एमालेभित्रै चल्न थाल्यो ।



अर्कोतर्फ, ३० दलीय मोर्चाको आन्दोलन असफल भएपछि ‘फेस सेभिङ’कै लागि भए पनि जतिसक्दो चाँडो सत्तामा जान आतुर देखिन्थे, प्रचण्ड । “यी सबै प्रकारका घटनाक्रम हेर्दा सुशील कोइराला नेतृत्वको सरकार हटाउने सहमतिजस्तो देखियो,” कोइरालासँग निकट रहेर काम गरेका सांसद एवं कांग्रेसका युवा नेता बद्री पाण्डे त्यस बेलाको परिवेश सम्झन्छन्, “सुशील धेरै कूटनीतिक त होइनन् तर त्यतिखेरको अभिव्यक्ति कूटनीतिक नै देखियो ।”