Wednesday, December 20, 2017

सम्भव छ आत्मनिर्भर अर्थतन्त्र ?


  • रामबहादुर रावल


के नेपालको आत्मनिर्भर अर्थतन्त्र सम्भव छ ? यसका बाधकहरू के के छन् ? हाम्रो ऐतिहासिक परिप्रेक्ष्य के छ ? यसमा भूराजनीतिक पक्षको भूमिका के हुन्छ ? हाम्रा हालसम्मका नीतिपत्र र नीति निर्माताहरूले कस्तो सोच राखेका रहेछन् ? यिनै प्रश्नको जवाफ तथ्य, तथ्यांक र हाम्रो वस्तुगत यथार्थका आधारमा पर्गेल्ने प्रयास हो, पोलिटिकल इकोनोमी अफ नेपाल ।
खास गरी यसमा विभिन्न क्षेत्रका प्राज्ञहरूले मुलुकको गार्हस्थ्य उत्पादन, विश्वव्यापीकरण, विदेशी सहायता, विप्रेषण र वैदेशिक रोजगारी, शासन प्रणाली र अविकासलगायत विविध पक्षका प्रभावहरूको मूल्यांकन र विवेचना गरेका छन् । आठवटा परिच्छेदमा विभक्त यस पुस्तकको पहिलो परिच्छेद परिचयमा केन्द्रित छ । दोस्रो परिच्छेदमा रामप्रसाद ज्ञवालीले सन् १९७५ (२०३१/३२) देखि २०१४ सम्मका सूक्ष्म अर्थशास्त्रीय तथ्यांकको संकलन र विश्लेषण गरी नेपालको अर्थ व्यवस्थाको चिरफार गरेका छन् ।

Tuesday, October 31, 2017

चुनाव चिह्न भाडामा

- रुन्चे राइँलो

यहाँ चुनाव चिह्न भाडामा पाइन्छ । समयमै दल दर्ता गर्न नसकेर चुनाव लड्न नपाएकाहरु, आफ्नो चुनाव चिह्नमा विश्वास नभएकाहरु जो जो हुनुहुन्छ, अब चिन्ता लिनुपर्दैन । आउनुहोस्, छिटो गर्नुहोस् । हाम्रो चुनाव चिह्न भाडामा उपलब्ध छ । 

सबै कानुनी प्रक्रिया पुगेको, उस्तै परे बैंक ग्यारेन्टी र बिमासमेतको व्यवस्था भएको चुनाव चिह्न हामीसँग छ । हाम्रो चिह्न आममतदाताबीच परिचित भएकाले विज्ञापनमा धेरै खर्च गर्नु पर्दैन ।

दसैँ, तिहार, छठ, नेपाल संवत्को नयाँ वर्षलगायत सम्पूर्ण चाडपर्वको अवसरमा हामीले चुनाव चिह्नसम्बन्धी विभिन्न स्किम सार्वजनिक गरेका छौँ ।

एउटा मात्र चुनाव लड्ने, दुईवटा चुनाव लड्ने, पाँच वर्ष, १० वर्ष, १५ वर्ष, २० वर्षदेखि ४० वर्षसम्म हाम्रो चुनाव चिह्न लिजमा उपलब्ध छ । 

Monday, October 9, 2017

स्कुलमा नोटबन्दी



- रुन्चे राइँलो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजारका नोट अवैध हुने घोषणा गरेपछि भारतीय नोट बजारमा तहल्का भयो । स्रोत खुल्न नसकेका करोडौँ नोटका खात रातारात कागजका खोस्टा साबित भए । नेपालमा कालो धनलाई कालो मलमा परिणत गर्नुपर्ने आवाज नउठेको होइन । तर, हाम्रा राजनीतिज्ञले कालो धनको विपक्षमा नीति ल्याउने कुरै थिएन, छैन ।

नेताहरुले यो नीति अनुसरण गर्न नसकेर के भो त ? एक जना निजी स्कुलका सञ्चालकको कानमा मोदी नीतिको कुरा पर्‍यो । उनी हतारहतार आफ्नो स्कुल गए । हरेक विद्यार्थीलाई आफ्ना नोट (कापी) देखाउन भने । हरेक नोटलाई अवैध घोषणा गरिदिए । र, अबदेखि आफ्नो स्कुलको लोगो, निश्चित रङ र आकार भएका नोट मात्र आफ्नो स्कुलमा वैध हुने घोषणा गरे ।

विद्यार्थी वाल्ल परे । एकाएक किन यस्तो नीति ?

वरिष्ठका बहुरूप



- रुन्चे राइँलो

वरिष्ठ अधिवक्ताको हुलमा २ सय ७२ जना नयाँ वरिष्ठ थपिएछन् । हामीले गौरव गर्नुपर्छ, यति धेरै वरिष्ठ भएको मुलुकका नागरिक हुन पाएकामा । अदालतको दैलो नदेखेको जुग बिते पनि, मुद्दाका पक्षहरुले पत्याउन छाडेपछि अर्कै पेसा रोजे पनि अदालतले एक से एक वरिष्ठहरुको हिसाबकिताब राखेको रहेछ । अदालतको अभिलेख पद्धतिलाई त झन् सय तोपको सलामी दिनुपर्ने भएछ ।

वास्तवमा वकिल भएपछि मुद्दाका पक्षहरुकै लागि वकालत गर्नैपर्छ भन्ने के छ र ? इजलास धाउनैपर्छ भन्ने पनि छैन । न्यायाधीशका निवास र च्याम्बर धाउनु पनि त वकालत नै हो नि, होइन र ? पार्टीको वकालत गर्नु पनि वकालत नै हो । नेताको वकालत गर्नु झन् नम्बरी वकालत हुने भइगयो । फेरि सबै दल, वर्ग, क्षेत्र, आवासीय, गैरआवासीय सबैलाई भाग पुर्‍याएर समावेशी बनाउनैपर्‍यो ।

सीईओको वर्गीकरण


- रुन्चे राइँलो

नेपाल राष्ट्र बैंकले व्यावसायिक बैंक तथा वित्तीय संस्थाहरुको वर्गीकरण गर्छ तर प्रमुख कार्यकारी अधिकृत (सीईओ)को गर्दैन । तसर्थ, यहाँ नेपालमा सर्वाधिक तलब खाने यो पदमा आसीन व्यक्तिहरुको वर्गीकरण तीन प्रकारले गर्ने धृष्टता रुन्चेले गरेको छ ।

सेलिब्रिटी सीईओ : क्यामरा देख्नै नहुने, फोटोका लागि पोज दिइहाल्ने । फेसबुकमा सेल्फी अपडेट गरिरहने । बैंकका आफ्नै कार्यक्रममा जान नभ्याए पनि सुन्दरी प्रतियोगिताको निर्णायक मण्डलमा पुगिहाल्ने । आफ्नो बैंक डुबे पनि अरुलाई कसरी सफल हुने भनेर करिअर काउन्सिलिङ र प्रवचन दिइरहने ।

टिचर सीईओ : बैंकको कर्मचारी होस् वा सञ्चालक देख्नै नहुने, लेक्चर दिइहाल्ने । अर्ती–उपदेशको त खानी नै । कामभन्दा गफमा बढी विश्वास गर्ने । आफूले के गरेँ भन्दा पनि अरुले के गर्नुपर्छ भन्नेमा पोख्त ।

हस्–सचिव समूह


- रुन्चे राइँलो

यहाँ मन्त्रालयदेखि संवैधानिक निकायहरूमा राय बझाउने सचिव–सहसचिवहरुको काम छैन । उनीहरू विकासका बाधक भए । सुशासनका तगारा भए । तिनले नै गर्दा मेट्रोरेलदेखि मोनोरेल नबन्ने भो । चुनाव त सरेको सर्‍यै हुने भो । स्थगित मतगणना बदर गर्नै नसकिने भो । फास्ट ट्रयाकदेखि बुढीगण्डकीसम्मका राष्ट्रिय गौरवका आयोजना समयमा नबन्ने भए । सिंहदरबारको शक्ति विभाजित भयो । 

अब जनताका इच्छा–आकांक्षा कसरी पूरा होऊन् ? जनप्रतिनिधिका योजना कसरी सम्पन्न होऊन् ? जनप्रतिनिधिले नै टिपेर संवैधानिक आयोगमा राखेका पदाधिकारीहरुको अभीष्टमा किन आँच नआओस् ?

शीर्षस्थ अधिवक्ता

- रुन्चे राइँलो

एकाध वकिललाई अहिले भ्याइनभ्याइ छ सिंहदरबारमा । पेसाले वकिल भए पनि उनीहरु अदालतमा भन्दा सिंहदरबारमै बढी रमाउँछन् । अझ भनौँ, सिंहदरबारबाटै अदालत चलाउने खुबी उनीहरुसँग छ । त्यही खुबीको सम्मानस्वरुप अदालतले पनि वरिष्ठ अधिवक्ताको पगरी गुथाइदिएको छ । तर, रुन्चे राइँलोलाई लाग्छ, वरिष्ठ अधिवक्ता मात्र भन्नु तिनको योग्यतामाथि अन्याय गर्नु हो । 

उनीहरु प्राय: शीर्षस्थ नेताहरुसँग हुन्छन् । शीर्षस्थ नेताहरुप्रति तिनको समर्पणबारे हजार जिब्रा भएका शेष नागले पनि वर्णन गर्न सक्दैनन् । राजनीतिक दाउपेच र छलछामका निम्ति शीर्षस्थ राय तिनैले दिन्छन् । पार्टीका शीर्षस्थहरु भ्रष्टाचारमा चुर्लुम्म डुब्न थाल्दा उम्किने बाटो तिनैले दिन्छन् । 

Tuesday, July 11, 2017

जुम्सा सचिवहरू

प्रायः सचिव निर्णय गर्न डराउने, राजनीतिक नेतृत्वलाई खुसी पार्न खोज्ने



  • रामबहादुर रावल

मुख्यसचिव सुवेदी नै नेपाली कर्मचारीतन्त्रमा रहेको स्वार्थी र आत्मकेन्द्रीत सोचका ज्वलन्त नमुनाका रूपमा प्रस्तुत भइसकेपछि उनले चलाएको बाँकी प्रशासनतन्त्र कस्तो छ भनेर धेरै व्याख्या–विश्लेषण गर्नु नपर्ला । मुलुकका सम्पूर्ण प्रशासक मुख्यसचिव सुवेदीजस्तै छन् र हुनुपर्छ भन्ने होइन । तर, उनी प्रतिनिधि पात्र अवश्य हुन् । नेपाल सरकारका ६८ जना विशिष्ट श्रेणीका कर्मचारीमध्ये ३० वटा मन्त्रालय हाँकेर बसेका प्रशासकहरूलाई नमुना मान्ने हो भने पनि यही प्रवृत्तिको बोलवाला रहेको स्पष्ट हुन्छ ।

अनुभव र दक्षताका आधारमा होइन, धेरैतिर चाकडी र शक्तिका भरमा जिम्मेवारी दिइएको छ । यसको अर्थ हो, धेरै मन्त्रालयमा मन्त्रीहरूले व्यावसायिक सहजकर्ता वा काबिल व्यवस्थापक होइन, ‘एस म्यान’ खोजेको हो । किनभने, उनीहरूको दक्षता र अनुभवको पृष्ठभूमिसँग प्राप्त जिम्मेवारी कतै मेल खाँदैन । त्यसैले मुलुकको समग्र प्रशासन लगभग निर्देशनमुखी र चाकडीबाज बन्न पुगेको छ ।


असार तेस्रो साता नेपालले सबै मन्त्रालयका सचिवहरूको कार्यसम्पादन शैली र क्षमताबारे अवलोकन/सर्वेक्षण गरेको थियो । उनीहरुका  सबल र दुर्बल पक्षम अध्ययन गरेको थियो । त्यस अनुसार, परम्परागत रूपमा कर्मचारीतन्त्रलाई स्थायी सरकार मानिए पनि सबैभन्दा अस्थायी उच्च प्रशासकहरूको अवस्था देखियो । माथिल्लो तहको कर्मचारीको पदस्थापन र वृत्तिविकास नेताहरूको स्वार्थमा हुन्छ । मन्त्रीले चाहेमा सचिवलाई जिम्मेवारीशून्य बनाउन सक्छ । ६–सात महिनामा मन्त्री फेरिने र उनीहरूले पहिलो काम सचिव फेर्ने हुनाले उच्च प्रशासकहरूमा अस्थिरता र असुरक्षाको भाव उच्च छ । आकर्षक भनिने ठाउँमा पदस्थापन र स्थायित्वका निम्ति उनीहरू राजनीतिक नेतृत्वसँग हिमचिम र सम्झौता गर्न पुगेका छन् । काम गर्दा विवाद हुन्छ भनेर सकेसम्म चुप लाग्ने, निर्णय नगर्ने र सक्दो टार्ने जुम्सो प्रवृत्ति कर्मचारी प्रशासनको आधारभूत चरित्र बन्न पुगेको छ ।


Tuesday, June 27, 2017

राज्यले कर्मचारीलाई खटाएपछि जान्नौँ भन्न पाइन्छ र ?

निजामती सेवाका कर्मचारीहरू स्थानीय र प्रदेशको मातहत रहेर काम गर्न नमान्दा कर्मचारी समायोजनको विषय जटिल बनेको छ । यसले संघीयता कार्यान्वयनमा कर्मचारी प्रशासन बाधक बन्ने त होइन भन्ने आशंका पनि उब्जाएको छ । यही सेरोफेरोमा नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीसँग रामबहादुर रावलको कुराकानी:


कर्मचारीतन्त्रमा संघीयताप्रति कत्तिको लगाव देखिन्छ ?

यसमा दुई खालको सोच छ । संविधानको भावनाअनुरूप हुबहु कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यतामा एकदम कम मान्छे छन् । राजनीतिक नेतृत्वमा पनि यो समस्या छ । म त्यो मानसिकतालाई पन्छाउँदै काम गरिरहेको छु । संविधानबमोजिम कानुन बनाउनुपर्छ, प्रस्ताव मिलेको छैन भन्दा देशैभरिका केही जनशक्तिले मलाई गाली गरिरहेका छन् । यसले के देखाउँछ भने संघीयता कार्यान्वयनका लागि हामीलाई सहयोगी वातावरण छैन । किनभने, परिवर्तन भन्ने कुरा संविधानमा भए पनि व्यवहारमा कार्यान्वयन गराउन गाह्रो रहेछ ।

मुख्यसचिवले नै गाह्रो भनेपछि कसले गर्ने त यो काम ?

सचिवको दरबन्दी बढाउने कुरामा मेरो कुरा मिलेन, मैले रोकेँ । अहिलेसम्म म रोक्न सफल भएको छु । त्यसमा मेराविरुद्ध अनावश्यक सिकायत पनि भए । मिडियाबाजी पनि भए । विभिन्न कोणबाट कुरा आए । तर, दरबन्दी बढ्न दिइएन । कृषि, पशुविकासका तीन–तीन हजार प्राविधिक सहायक दरबन्दी थप्ने प्रस्ताव आएको थियो, त्यसलाई रोकेर १२–१५ सयमा सीमित गर्दा मलाई भयंकर दुःख भयो । माननीय मन्त्रीज्यूहरूले असहयोग गरेको आरोपसमेत लगाउनुभयो । प्रधानमन्त्रीले समेत ‘यो गर्नैपर्छ, असन्तुष्टि बढी आयो’भन्दा मैले होइन, त्यसो गर्नुहुन्न भनेर अडान लिएँ ।


अहिले दरबन्दी बढाउन नहुने कारणचाहिँ के हो ?

संघीयतामा नगएसम्म हामीले दरबन्दी थप्नुहुँदैन । जुन तहमा जुन खालको जिम्मेवारी जान्छ, त्यसैअनुरूपका कर्मचारी अहिले समायोजन हुन्छन् । जुन तहमा जनशक्ति पुग्दैन, त्यो भर्ना गर्ने जिम्मेवारी उही तहको हो । अहिलेदेखि नै हामीले फादरसिप चलाउनु हुँदैन भनेर मैले रोकेँ ।

सिंहदरबार छाड्न कर्मचारीतन्त्र अनिच्छुक

पुरानो निजामती कर्मचारी संयन्त्रलाई संघ, प्रदेश र स्थानीय तहमा विभाजित गर्नै गाह्रो


  • रामबहादुर रावल
सामान्य प्रशासन मन्त्रालयले ५ असारमा स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी एक आदेश जारी गर्दै अन्तरिम व्यवस्थापनको ढाँचा सार्वजनिक गरेको छ । त्यसमा नयाँ गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र तिनका वडामा रहने कर्मचारीको विवरण उल्लेख गरिएको छ । नयाँ गाउँपालिकामा उपसचिव वा शाखा अधिकृतस्तरका एक कार्यकारी प्रमुखसहित न्यूनतम ९ जना कर्मचारी तोकिएको छ । तीबाहेक विभिन्न सेवा, परियोजना एवं कार्यक्रमका कर्मचारीहरू रहनेछन् ।


आदेशअनुसार कृषि सेवा केन्द्र÷उपकेन्द्र, पशु सेवा केन्द्र÷उपकेन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी÷उपचौकी, आयुर्वेद औषधालय, शिक्षा स्रोत केन्द्र आदि स्थानीय सरकारमा गाभिनेछन् । त्यसैगरी सामुदायिक सूचना केन्द्र, सामुदायिक पुस्तकालय, सामुदायिक भवन, सरकारी वृद्धाश्रम, खेलकुद सम्बन्धी कार्यालय पनि स्थानीय तहको सरकारअन्तर्गत सञ्चालन हुनेछन् । विभिन्न योजना वा कार्यक्रमबाट सम्पन्न खानेपानी र सिँचाइ पनि अब स्थानीय सरकारले हेर्नेछ । महिला विकास, वन, भूसंरक्षण, घरेलु उद्योग, भवन तथा सहरी विकास, नगर विकास समिति, सडक, श्रम, पर्यटन, वाणिज्य, सहकारी र युवा कार्यालय पनि स्थानीय सरकारले सञ्चालन गर्नेछ ।

यी सम्पूर्ण कार्यालय, तिनको सम्पत्ति र कर्मचारीसमेत हस्तान्तरण गर्न असार मसान्तसम्मको समयसीमा तोकिएको छ । यही अवधिभित्र जिल्ला, नगर र गाउँस्तरका सरकारी स्वामित्वका संघ, संस्था, समिति, संरचना वा निकाय स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने आदेशमा उल्लेख छ । १ साउनबाट नयाँ आर्थिक वर्षको बजेट निकासा र कार्यान्वयन हुने भएकाले यो समयसीमा दिइएको नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी बताउँछन्  ।


समायोजन गर्न एक वर्ष

हुन त अहिले सरकारले सधैँका लागि सरुवा नगरी तत्कालका लागि कर्मचारीलाई काजमा खटाउन लागेको हो । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्नका लागि सरकारले संसद्मा समायोजनसम्बन्धी विधेयक दर्ता गरेको छ । उक्त विधेयक पारित भएपछि कुन एकाइमा कति कर्मचारी आवश्यक पर्छन् भनेर संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गरिनेछ । 

Tuesday, June 20, 2017

यी हुन् टप टेन प्लस टु-२०७४


  • रामबहादुर रावल


गत वर्ष १५ असारबाट लागू भएको संशोधित शिक्षा ऐनले उच्च माध्यमिक विद्यालयको अवधारणालाई मेटाउँदै कक्षा–१२ सम्मलाई नै माध्यमिक विद्यालयमा रूपान्तर गर्ने प्रावधान ल्यायो । नयाँ कानुनी प्रावधान अनुसार अब उच्च माध्यमिक (प्लस टू) तह माध्यमिक विद्यालयमा परिणत हुनुपर्छ । केहीले यो प्रक्रिया सुरु गरिसकेका छन् भने केहीचाहिँ नयाँ शिक्षा नियमावली तथा नीतिगत स्पष्टताको पर्खाइमा छन् ।

जे भए पनि विद्यालय शिक्षाको सबैभन्दा उपल्लो तह हो, कक्षा–११ र १२ । मुलुकभरका ३ हजार ५ सय १५ वटा शैक्षिक संस्थाले गत वर्षसम्म यो तहको परीक्षामा आफ्ना विद्यार्थी सामेल गराएका छन् । तिनैमध्येबाट छानिएका उम्दा शैक्षिक संस्थाहरूको नतिजा विश्लेषणका आधारमा छानिएका हुन् यी । विगत चार वर्षमा लगातार उत्तीर्ण दर उच्च भएका विद्यालयहरूको सूचीमा केही विगत वर्षकै दोहोरिएका छन् भने केहीचाहिँ नयाँ थपिएका छन् ।

मानभवन, ललितपुरको प्रसादी एकेडेमीले १० वर्षदेखि अविजित रूपमा आफ्नो प्रथम स्थान कायम राखेको छ । नेपालको तथ्यांक विश्लेषणमा उसले गत वर्षको औसत ९८.३५ अंकको तुलनामा यस वर्ष उत्तीर्ण दर ९८.४८ प्रतिशत पुर्‍याएको छ ।

दोस्रो स्थान पनि गत वर्षकै माइतीघर, काठमाडौँस्थित सेन्ट जेभियर्स कलेजले आफ्नो स्थान सुरक्षित गरेको छ । उसको नतिजा गत वर्षको (९८.०७) भन्दा यसपटक केही घटेको (९७.६६) छ ।

गत वर्ष चौथो स्थानमा रहेको बागबजारस्थित काठमाडौँ मोडेल कलेज (केएमसी) ९६.०७ प्रतिशत उत्तीर्ण दरका साथ एक स्थान माथि उक्लिएको छ । चौथो स्थानमा रहेको सेन्ट मेरिजको भने गत वर्षको (९६.१८) बाट ०.२८ अंक घटेको छ । र, उत्कृष्ट १० को सूचीमा परेका मध्ये यो एक मात्र छात्रा विद्यालय पनि हो ।

मध्यबानेश्वर, काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टले दुई वर्षदेखि पाँचाँै स्थान ओगटेर व्यवस्थापन मात्र अध्यापन गर्ने संस्थाहरूमा सर्वोत्कृष्ट संस्थाका रूपमा निरन्तरता पाएको छ । यसको विद्यार्थी उत्तीर्ण दर पनि गत वर्षकै (९५.३३) कायम छ । गत वर्ष सातौँ स्थानमा रहेको पोखराको सगरमाथा मावि यसपटक ९३.७१ अंकका साथ एक स्थान माथि उक्लिएको छ । तर, छैटौँ र सातौँका बीचमा पर्याप्त दूरी (१.६२) छ । सगरमाथालाई पछ्याउन आइपुगेको छ, साँगा, काभ्रेस्थित नेपाल प्रहरी विद्यालय । पछिल्ला चार शैक्षिक सत्रको कक्षा–११ र १२ को परीक्षामा यस संस्थाबाट औसत ९३.५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

Sunday, June 11, 2017

आवरण कथा» चुनाव, चुनाव, मात्र चुनाव

नवनिर्वाचित प्रधानमन्त्री देउवाको मूल कार्यभार स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन
 - रामबहादुर रावल




बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख कार्यकारीमा निर्वाचित हुँदा मुलुक स्थानीय तहको निर्वाचनको मुडमा छ । प्रधानमन्त्रीका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेपछि पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रश्न गरे, ‘अहिले प्रधानमन्त्री परिवर्तन गर्नु के जरुरी थियो ?’

जवाफमा प्रधानमन्त्रीमा निर्वाचित हुँदै गरेका देउवाको व्यंग्योक्ति थियो, ‘यस्तो चिन्ता पछि पनि गर्नुहोला ।’ अर्थात्, आफू प्रधानमन्त्री भइसकेपछि गठबन्धनमा धक्का पुर्‍याउने र आफ्नो सरकार ढाल्ने काम एमालेले नगरोस् भन्ने उनको आशय थियो ।

देउवा तिनै हुन्, जसले एमाले अध्यक्ष ओली नेतृत्वको संयुक्त सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रलाई प्रभावमा पार्न सफल भएका थिए । ओलीको गाथगादीमाथि देउवाको त्यो अचूक हमलापछि एमाले नेतृत्व घाइते बाघजसरी रन्थनिनुपर्ने अवस्थामा पुग्यो, जसको थोरबहुत धङधङी अझै छ ।

प्रचण्ड आफ्नो कार्यकाल सकेर देउवालाई बिनाकचिंगल सत्ता हस्तान्तरण गर्न त तयार भए तर यो गठबन्धन टिकाउन कतिन्जेल लागि पर्छन् भन्नेचाहिँ भविष्यकै गर्भमा छ । उही गठबन्धन भए पनि प्रचण्डको प्रधानमन्त्रित्व र देउवाको प्रधानमन्त्रित्वमा थोरै समानता र धेरै भिन्नता छ । तात्कालिक एजेन्डामा देउवाको प्रतिबद्धता र कार्यशैली, देउवाप्रति प्रचण्डको लगाव, प्रमुख प्रतिपक्षीको भूमिका र भूराजनीतिक आयामहरू यो गठबन्धनका आयु निर्धारक हुन् ।

सुशीला कार्की र अदालतको कोतपर्व

  • रामबहादुर रावल

बोल्न नमान्ने कार्की
मिडियाबाट टाढै रहन चाहने प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो कार्यकालभरिमा सञ्चारकर्मीसँग कहिल्यै औपचारिक अन्तक्र्रिया गर्न रुचाइनन् । सञ्चारकर्मीकै पहलमा भएका कार्यक्रममा न्यायाधीश गोपाल पराजुली सहजै गए तर उनी उपलब्ध भइनन् । लोकमानसिंह कार्कीलाई मोसो दलेको घटनापछि त हामी सञ्चारकर्मीले सर्वोच्च अदालत प्रवेशका लागि समेत निकै संघर्ष गर्नुपर्‍यो । अरु नै परिचय बोकेर बालुवाटारस्थित प्रधानन्यायाधीश निवास प्रवेश गरेका एक जना पत्रकारले अन्तर्वार्ताको कुरा गर्दा बाहिर निकालेको प्रसंग पनि सुनिएको थियो । त्यसैले भेटिहाले पनि हत्पत्ति अन्तर्वार्ता वा समाचार लेख्ने कुरा गर्नु उनका अगाडि अलि ‘धक’कै विषय थियो ।

कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा गएर भने मिडियालाई राम्रै खुराक दिन्थिन् उनी । उनको हकी स्वभाव यसको प्रमुख कारण थियो । त्यस्तो पात्रलाई भेट्नु हामी पत्रकारका लागि भने निकै उपयोगी हुन्छ । पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको स्वभाव पनि करिब यस्तै थियो । मनमा केही कुरा नराख्ने । कुनै कुरा तौलेर नबोल्ने । आफूलाई फाइदा हुने कुरा मात्र बोलेर मिडियालाई प्रयोग गर्न खोज्ने शक्तिशाली व्यक्ति र तिनका ‘स्पिन डक्टर’हरु त जति पनि भेटिन्छन् । तिनले दिने सूचनाको नियत बुझ्न सक्नु नै हाम्रो पहिलो चुनौती हुने गर्छ । यस्ता स्रोतहरु नभेटी पनि नहुने, भेटेर पनि सुख नपाइने खालका हुन्छन् । नि:स्वार्थ रुपमा यथार्थ कुरा बताइदिने ‘हाइप्रोफाइल’ स्रोतहरु पाउन गाह्रो पर्छ ।

Tuesday, June 6, 2017

सबैभन्दा भ्रष्ट राजनीतिक तह : सुशीला कार्की

भ्रष्टाचार मुद्दा टुंग्याउन, राजनीतिक र संवैधानिक पदाधिकारीका स्वेच्छाचारी गतिविधिमा अंकुश लगाउन प्रधानन्यायाधीश सुशीला कार्कीले देखाएको सक्रियता पछिल्लोपल्ट सत्तारूढ दललाई नै पचाउन गाह्रो पर्‍यो । र, नेपालको न्यायिक इतिहासमा कुनै प्रधानन्यायाधीशले सामना गर्नु नपरेको महाभियोग उनले खेप्नुपर्‍यो । भलै, चौतर्फी दबाबपछि सत्ता गठबन्धनले महाभियोग प्रस्ताव फिर्ता लियो । प्रमुख दलहरूको सहमतिमा अख्तियार प्रमुखमा नियुक्त भएका र अदालतबाट मान्यता पाइसकेका लोकमानसिंह कार्कीका अराजकताले आजित भएर पनि कोही बोल्न नसकिरहेका बेला प्रधानन्यायाधीश कार्कीले नै मुद्दा ब्यूँताइन् र लोकमान उक्त पदमा रहन अयोग्य घोषित भए । पूर्वराजा ज्ञानेन्द्रले छाउनीस्थित १५ रोपनी १ आना सरकारी जग्गा छोरी प्रेरणा सिंहलाई दिएको दाइजो सर्वोच्चकै दुई न्यायाधीशको इजलासले कानुनी मान्यता दिइसकेको थियो । त्यो उल्टाउने साहस कार्कीले देखाइन् । अर्थात्, न्यायिक नेतृत्वमा हुनुपर्ने निष्ठा र निर्भीकताको परिचय दिइन् । २४ जेठबाट ६५ वर्षे उमेर हदका कारण निवृत्त हुनै लाग्दा उनै प्रधानन्यायाधीश कार्कीसँग रामबहादुर रावल प्रशान्त अर्यालको कुराकानी :



आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?

जुन विश्वासका साथ म यति काम गरुँला भनेर आएकी थिएँ, कामै गर्न पाइनँ । धेरैजसो बाधा, अवरोध मात्र भइरह्यो ।

के गर्छुजस्तो लागेको थियो ?

मुलुक जोगाउने हो, भ्रष्टाचारको दलदलमा थप फस्न नदिने हो भने अदालतले धेरै काम गर्न सक्छ । न्यायपालिका फिल्टर हो, चाल्नो हो । हाम्रो शरीरका विकारहरू फिल्टर गरी तन्दुरुस्त राख्ने अंगजस्तै हो, अदालत । यसले विकृतिलाई चालेर सही चिजलाई जोगाउँछ । यसले वातावरण ठीक राख्न सक्छ । राजनीतिलाई ठीक पार्न सक्छ । यसका निम्ति अलि साहस जरुरी हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । समाजलाई बनाउनेतिर जानुपर्‍यो । अलिकति भए पनि जनतालाई राहत दिने किसिमले सोच्नुपर्‍यो भनेर मैले केही कदम चालेँ । केही हदसम्म सफल पनि भइयो । धेरै त बाधाविरोध नै भए ।

के–कस्ता बाधा झेल्नुभयो ?
धेरै कुरा छन् । धेरै कारण छन् । मेरा पालामा पेसी धेरै स्थगित गरिदिने (मुद्दाको सुनुवाइ रोक्ने) काम भयो । अचाक्ली स्थगित त महान्यायाधिवक्ताको कार्यालयबाट भयो । कानुन व्यवसायीहरूबाट पनि धेरै स्थगित भए । मैले त केही हदसम्म कडाइ पनि गरेँ । तर, अरू साथी (न्यायाधीश)हरू कस्तो हुनुहुन्छ भने स्थगित गर्न निवेदन आउनेबित्तिकै गर्दिहाल्ने । मैले महाभियोग खेप्नुको एउटा कारण स्थगित गर्न नमान्नु पनि हो । दुईपटकभन्दा बढी स्थगित गर्न दिन्नँ भन्दा वकिलहरू चिढिए ।

Monday, May 22, 2017

महाभियोगको मौकामा चौका

प्रधानन्यायाधीश सुशीला कार्कीको निलम्बनको अवसर छोपेर सत्तापक्ष र प्रतिपक्षको सहमतिमा अख्तियार प्रमुख र महालेखा परीक्षकको नियुक्ति सिफारिस

- रामबहादुर रावल

१७ वैशाख : संसद् सचिवालयमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता । राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्म कार्की निलम्बनको पत्राचार । महाभियोग र त्यसको प्रस्तावक सत्तापक्षप्रति प्रतिपक्षी एमालेको कडा प्रतिक्रिया ।

१८ वैशाख : मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा ।


१९ वैशाख : प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपसभामुख गंगाप्रसाद यादव, तत्कालीन कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीद्वारा समेत हस्ताक्षर ।


२० वैशाख : दुई दिनमा दोस्रोपटक संवैधानिक परिषद्को बैठक । प्रधानमन्त्री कार्यालयमा रहेका सचिव टंकमणि शर्मालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस ।


यस घटनाक्रमका तीनवटा पाटा छन् । एक, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोगको प्रस्ताव संसद्मा दर्ता गरेलगत्तै हतारहतार संवैधानिक परिषद्को बैठक बोलाएर किन नियुक्तिको निर्णय गरियो ? दुई, कायममुकायम (कामु) प्रधानन्यायाधीशको हैसियतमा पुगेका पराजुलीले आफ्नो कार्यप्रकृति, परिषद्को कार्यविधि र सम्भावित उम्मेदवारको योग्यताबारे बिनाकुनै छलफल कसरी सहमति जनाए ? तीन, महाभियोगमा असहमति जनाउँदै सत्तापक्षप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई एकाएक कुन तत्त्वले पगाल्यो ?

परिषद्का दुवै बैठकमा खासै धेरै छलफल भएन । परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरे । सबैले एकमतले सहमति जनाए । विवाद, विरोध वा बहस गर्नतिर कोही लागेनन् । बरू पहिलो बैठकमा परिषद्को नयाँ सदस्यका रूपमा उपस्थित पराजुलीलाई पालैपालो सबैले बधाई दिए । उनले पनि खुसी व्यक्त गरे । त्यतिन्जेल मुख्यसचिव सोमलाल सुवेदीले निर्णय टिपे । उपसभामुख एवं परिषद् सदस्य गंगाप्रसाद यादव भन्छन्, “एकदमै सौहार्दपूर्ण वातावरणमा निर्णय भयो । कसैको विमति वा फरक मत रहेन ।”


प्रचण्ड प्रयास
अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की सर्वोच्च अदालतद्वारा गत २४ पुसमा अयोग्य घोषणा भएलगत्तै त्यस ठाउँमा प्रधानमन्त्री प्रचण्डले त्यहीँका आयुक्त दीप बस्न्यातलाई नियुक्त गर्न खोजेका थिए । गत १४ माघमा परिषद्कै बैठकमा प्रचण्डले उनको नाम प्रस्ताव गर्दा प्रधानन्यायाधीश सुशीला कार्कीले कडा शब्दमा विरोध जनाएकी थिइन् । जबकि, सोही दिनको बैठकले निर्वाचन आयुक्तहरूमा ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार साह र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो । प्रधानन्यायाधीश कार्कीको असहमतिकै कारण बस्न्यातको नाम अघि बढ्न सकेको थिएन । उनको भनाइ थियो, ‘जसको योग्यतामाथि प्रश्न उठेर अदालतमा मुद्दा विचाराधीन छ । पृष्ठभूमि पनि गतिलो छैन । त्यस्तो व्यक्तिको नाममा समर्थन गर्न सक्दिनँ ।’ अख्तियारजस्तो निकायमा न्यायिक एवं कानुनी पृष्ठभूमिको व्यक्ति पठाउनु उचित हुने उनको सुझाव थियो ।

Thursday, May 11, 2017

खिलराज रेग्मीको सिंहदरबार बसाइ अनुभव


यसरी सम्भव भएको थियो दोस्रो संविधानसभा निर्वाचन
  • रामबहादुर रावल

बाटो बिराएको राजनीतिलाई 'ट्रयाक'मा ल्याए। धूलो जमेको अन्तरिम संविधानलाई क्रियाशील बनाए। बेवारिसे बनेको संविधानसभा/व्यवस्थापिका भवनलाई गुल्जार बनाए। चौतर्फी प्रतिकूलताका बीच उनले संविधानसभाको दोस्रो निर्वाचनका रूपमा एउटा राष्ट्रिय अनुष्ठान सम्पन्न गरे। पूर्वप्रधानन्यायाधीश एवं अन्तरिम चुनावी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, ६५, करिव तीन वर्षपछि बानेश्वरस्थित निजी घरमा फर्किएका छन्। 

निर्वाचित सरकारलाई सिंहदरबारको साँचो सुम्पेपछिको फुर्सदको यो क्षण उनी निजी निवासको धूलोसँग खेल्दै छन्। पछिल्ला तीन वर्ष कसरी बिते भनेर अचम्मको उच्छ्वास पनि छाडिरहेका छन् उनी। "घर त धेरै अस्तव्यस्त भइसकेछ," घरमा फर्केपछि उनले देखे, "धेरैतिर धूलो जमेछ। कति ठाउँमा माकुराले जालो बनाएछ। गमलाहरू असरल्ल छन्।"

अहिले त्यही धूलो, गमला, माकुराको जालो सफा गर्दै छन् उनी।

Monday, May 8, 2017

महाभियोगको पटाक्षेप



न्यायालयमाथि प्रतिशोध साँध्न राजनीतिक नेतृत्वले प्रयोग गरेको हतियार विफल

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध १७ वैशाखमा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भयो । उनको हातमा तुरुन्तै निलम्बित भएको पत्र पुग्यो । नेकपा एमालेलगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश त पाउन सकेन नै, २२ वैशाखमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी नै बनाइदियो ।

कार्यकारीको अधिकार क्षेत्रमा अतिक्रमण, अदालतभित्र गुटबन्दी गरेको लगायतका आरोप कार्कीमाथि लगाइएको थियो । अदालतले भने महाभियोग लगाउनुपर्ने पर्याप्त आधार र कारण नभएको, संविधानको मर्म र भावना प्रतिकूल रहेको भन्दै उक्त प्रस्ताव प्रथम दृष्टिमै गलत भनेको छ । अदालतको आदेश अनुसार २२ वैशाखबाटै प्रधानन्यायाधीश कार्कीले पुन: जिम्मेवारी सम्हालिसकेकी छन् ।

असान्दर्भिक कदम

प्रधानन्यायाधीश कार्कीविरुद्ध यस्तो समयमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो, उनी सेवाबाट अवकाश पाउन ३८ दिन मात्र बाँकी थियो । ६५ वर्षे उमेर हदका कारण उनी २५ जेठबाट निवृत्त हुँदै थिइन् । पछिल्लो समयमा उनले भ्रष्टाचारसम्बन्धी विचाराधीन मुद्दा छिटो किनारा लगाउने कुरालाई अभियानकै रूपमा अगाडि बढाएकी थिइन् । यिनैमध्येको चर्चित सुडान घोटाला प्रकरण, जसमा नेपाल प्रहरीका तीन जना पूर्वमहानिरीक्षकसमेत अभियुक्त थिए, को फैसला त्यही दिन गर्दै थिइन्, जुन दिन उनीमाथि महाभियोग प्रस्ताव दर्ता हुँदै थियो । भ्रष्टाचार मुद्दा किनारा लगाउन खोज्दा उनले धेरैतिरबाट बाधा, विरोध र अवरोध झेलेकी थिइन् (हेर्नूस्, प्रधानन्यायाधीशलाई अवरोध, नेपाल, २४ वैशाख ०७४) । महाभियोग उनको यो अभियानमा गरिएको अवरोधकै एउटा शृंखला थियो । किनभने, त्यस्ता मुद्दाका अभियुक्त कि त सत्तारूढ दलसम्बद्ध नेताहरू थिए, कि सरकारका महान्यायाधिवक्ता रमन श्रेष्ठको वकालतनामा भएकाहरू ।

प्रस्तावमा प्रमुख रूपमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिबारे अदालती आदेश र सुनुवाइ प्रक्रियामा प्रश्न उठाइएको थियो, जुन सर्वोच्च अदालतबाट पूर्ण रूपमा टुंगिइसकेको थिएन । नायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्त गर्ने १ चैतको मन्त्रिपरिषद् निर्णयलाई उल्टाउँदै सर्वोच्चले ८ चैतमा वरीयतामा पहिलो नम्बरमा हुने नायब महानिरीक्षकलाई नियुक्त गर्नुपर्ने फैसला गरेको थियो । २८ चैतमा सरकारले नायब महानिरीक्षक प्रकाश अर्याललाई पहिलो नम्बरमा रहेको भन्दै प्रहरी प्रमुखको दज्र्यानी चिह्न लगाइदियो । सरकारको यो निर्णयले आफूमाथि अन्याय भएको भन्दै अर्का नायब महानिरीक्षक नवराज सिलवाल सर्वोच्च अदालत पुगे । उक्त रिटमा सिलवालको माग अनुसार अदालतले अन्तरिम आदेश त दिएन तर कारण देखाऊ आदेश जारी गर्दै १९ वैशाखमा सुनुवाइको मिति तोक्यो । उक्त मिति आउनुभन्दा दुई दिनअगाडि मात्र महाभियोग दर्ता गरियो ।

महानिरीक्षक नियुक्ति प्रकरणमा सुनुवाइको दुई दिनअघि मात्र महाभियोग प्रस्ताव दर्ता गरी गलहत्याउन खोज्नुले सोही मुद्दा प्रभावित पार्न खोजेको अर्थमा बुझ्न सकिन्थ्यो । किनभने, संविधानको धारा १०५ मा लेखिएको छ, ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा कुनै सदनमा छलफल गरिने छैन ।’

न्यायाधीशको आचरणसम्बन्धी प्रश्नमा मात्र संसद्मा बहस गर्न पाइने सोही धारामा स्पष्ट पारिएको छ । तर, महाभियोगमा आचरणसम्बन्धी कुनै प्रश्न उठाइएको थिएन । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ भन्छन्, “झगडियासँग हिमचिम छ कि ? नाताभित्रको मुद्दा हेरेको हो कि ? घूस खाएर फैसला गरेको हो कि ? कुनै कुरा स्पष्ट छैन । निराधार आरोपका आधारमा न्यायिक नेतृत्वमाथि प्रहार गर्ने नियत मात्र विधायकहरूको देखिन्छ ।”

Wednesday, April 26, 2017

जोखिममा साढे नौ अर्ब, को कहाँ ठगिए ?

 - रामबहादुर रावल

चैत्र ४, २०७०- पुतलीसडक, काठमाडौँस्थित स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्थाबाट बाबुलाल श्रेष्ठले २ करोड ७० लाख ७१ हजार ६ सय ४८ रुपियाँ ऋण लिएका छन्। तर, उनले एक रुपियाँ पनि ब्याज तिर्नुपर्दैन। कारण, उनी उक्त सहकारीका सञ्चालक खुशचन्द्र श्रेष्ठका दाजु हुन्।

स्ट्यान्डर्ड सहकारीकै खाता पल्टाउने हो भने किचा चित्रकारका नाममा २ करोड १ लाख ४९ हजार रुपियाँ ऋण भेटिन्छ। उनलाई पनि नाम मात्रको ब्याज तोकिएको छ। कारण, उनी अर्का सञ्चालक राजेश श्रेष्ठका व्यावसायिक साझेदार हुन्। ९ लाख ४० हजार रुपियाँ ऋण लिएकी ललिता राईले ब्याजबापत मात्र २ लाख ४४ हजार तिर्नुपर्छ। यतिबिघ्न ब्याज पुग्दा पनि संस्थामा उनलाई ताकेता गर्ने कोही छैन। उनले यति सहुलियत पाउनुको कारण पनि सञ्चालकसँगको नाता नै हो। उनी सञ्चालक राजेश श्रेष्ठकी दिदी हुन्। फ्लेक्जी लोन वा होम लोन शीर्षकमा लगानी गरिएको यस्तो ऋणको साँवा रकम मात्र २३ करोड ४५ लाख छ, स्ट्यान्डर्डको।

बचतकर्ताहरू आफूले खाइनखाई जम्मा गरेको रकम, जागिर सकिएपछि आएको उपदान र विदेशमा पसिना बगाएर पठाएको आफन्तको रेमिट्यान्स फिर्ता पाउन सकिरहेका छैनन्, सहकारीले दिन्छु भनेको ब्याज त परै जाओस्। तर, सञ्चालकहरू ढुक्कले सर्वसाधारणको रकम आफ्नै पैतृक सम्पत्तिजस्तो प्रयोग गररिहेका छन्। उनीहरूले सर्वसाधारणको रकम बिनाब्याज आफन्तलाई बाँडेका छन्। ब्याज लिए पनि नाम मात्रको तोकिएको छ। ब्याज तोकिए पनि र ऋण भनिए पनि संस्थालाई फिर्ता गर्नुपरेको छैन।

Thursday, March 9, 2017

ट्रयाक १.५: राजनीतिको परनिर्भर बाटो

शान्ति प्रक्रियाका नाममा दातृ निकायहरूले आ–आफ्नै स्वार्थमा बेग्लाबेग्लै पसल खोले । हाम्रा राजनीतिक र जातीय संगठनका नेताहरूलाई ती पसलमा आ–आफ्नै तरिकाले स्वागत गरियो । देश–विदेश घुमाइयो । 

यसबाट ती पसलका कामदारको आर्थिक र व्यावसायिक वृत्तिविकास त भयो होला तर तिनले राष्ट्रिय स्वार्थमा काम गरे कि ती पसलका मालिकहरूको स्वार्थमा नाचे ? राजनीतिका यी परनिर्भर औजारहरूले राज्यलाई बलियो बनाए कि कमजोर ? ट्रयाक १.५ नाम दिइएको राज्यका औपचारिक संस्था र संगठनलाई छल्ने विधि हो । 

शान्ति प्रक्रियालाई सघाउने नाममा थापिएका यस्ता अवैध पसलहरूको एउटा विवरण :

Wednesday, March 8, 2017

फेरि जग्गा बाँड्ने आयोग

सुकुमबासीका नाममा ०४६ यता १३ आयोग, डेढ लाख परिवारलाई ४६००० बिघा जग्गा वितरण तर समस्या झन् बढ्दै

  • रामबहादुर रावल



काठमाडौँ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को ९ फागुनको बैठकले राष्ट्रिय बसोबास आयोग गठन गर्ने निर्णय गर्‍यो । भूमिसुधार मन्त्री विक्रम पाण्डेको अध्यक्षतामा गठित आयोगमा सोही मन्त्रालयका सचिवका साथै वन तथा भू–संरक्षण, सहरी विकास र गृहसचिवसमेत सदस्य तोकिएको छ । साथै, तीन जना सम्बन्धित क्षेत्रका विज्ञ सदस्य मनोनीत गरिने गठनादेशमा उल्लेख छ । मन्त्रालयका सहसचिवले आयोगको सदस्य–सचिवका रूपमा काम गर्नेछन् ।


सरकारी, सार्वजनिक र गुठी जग्गामा भएका अतिक्रमण रोक्न, अव्यवस्थित बसोबास र सुकुमबासी समस्याको समाधान गर्न यो आयोग गठन गरिएको सरकारी निर्णयमा उल्लेख छ, जसको कार्यकाल दुई वर्ष हुने भनिएको छ ।

सुकुमबासी तथा भूमिहीनलाई लक्षित गरी गठन गरिएको यो १३औँ आयोग हो । यसअघिको १२औँ आयोग २ असार ०७१ मा शारदाप्रसाद सुवेदीको अध्यक्षतामा गठन भएको थियो, जुन सर्वोच्च अदालतको अन्तरिम आदेशबाट निष्क्रिय छ ।

Sunday, February 26, 2017

कल्याण–तर्क

प्रधानन्यायाधीशमा बहाल हुनै लाग्दा कल्याण श्रेष्ठले नेपालसँगको संवादमा खिलराज प्रकरणबारे भनेका थिए, “मलाई यसबारेमा धीत मर्ने गरी जवाफ दिन मन थियो तर मुद्दा विचाराधीन भएको कारण बोल्न सक्दिनँ ।” नभन्दै उनकै पालामा त्यो प्रकरणमा फैसला भयो । तर, उनकै राय अल्पमतमा पर्‍यो ।

सर्वोच्च अदालतबाट बिदा हुने दिन नजिकिँदै गर्दा श्रेष्ठलाई बालुवाटारस्थित सरकारी निवासमा भेट्ने मौका मिल्यो । सोधियो, ‘प्रधानन्यायाधीश नै अल्पमतमा पर्ने कस्तो राय दिनुभयो ?’

जस्तासुकै प्रश्नको पनि तर्कपूर्ण उत्तर दिन उनी खप्पिस छन् भन्नेमा भलीभाँती जानकार यो पंक्तिकार धेरै यस्ता प्रश्नको पोको लिएर पुगेको थियो, जुन श्रेष्ठलाई सहज लाग्ने थिएनन् । यो प्रश्न पनि तिनैमध्येको थियो । त्यसबाहेक न्यायाधीश नियुक्तिदेखि न्यायपरिषद् सदस्यहरूका बिदाइसम्मका प्रशासनिक निर्णयबारे विवाद पनि थिए ।

पादरीको प्रायश्चित्त !


नेपाली क्रिस्चियन समुदायका अगुवा/प्रचारक केबी रोकाया आफ्ना पूर्वमान्यताहरूबाट अचेल ‘यू टर्न’ देखिन्छन् । विगतमा आफैँले उठाएका र पैरवी गरेका मुद्दा बेठीक भन्दै हिँड्नुपरेको छ उनलाई । र, आफूले पहिला बोलेका कुरामा विश्वास नगर्न आग्रह गर्दैमा उनका दिन बितिरहेका छन् । अझ रोचक के भने संविधान नआउन्जेल उनले जुन मुद्दाको पक्षमा वकालत गरेका थिए, संविधानले ती कुरा सम्बोधन गरेपछि अहिले तिनकै विरोध गर्नुपरेको छ ।

अन्तरवार्ता हेर्नुहोस् : "क्रिस्चियन नाताले माओवादीप्रति पश्चिमाको समर्थन जुटाएँ"
अहिले उनी भन्छन्, “धर्मनिरपेक्षता अधार्मिक/नास्तिक मान्यता हो । संघीयता देशलाई फाप्दैन । माओवादीले देश बनाउँदैन ।” जबकि, धर्मनिरपेक्षताकै लागि उनले निकै जोडबल लगाएका थिए । क्रिस्चियन मिसन, माओवादी आन्दोलन र पश्चिमा शक्तिहरूसँगको त्रिकोणीय सम्बन्ध जोड्न भूमिका खेलेका थिए । अहिले उनलाई सबैभन्दा ठूलो फसाद केमा छ भने आफ्नै धार्मिक समुदायलाई मनाउन हम्मेहम्मे परेको छ ।

बाबुरामको कस्मेटिक शक्ति


बाबुराम भट्टराईको नयाँ शक्ति कति नयाँ हुन्छ, त्यो बेग्लै पक्ष छ । तर, उनले आफूलाई नयाँ देखाउन के के गर्दै छन्, त्यो भने हेर्नलायक छ ।

सुरुमा हेरौँ, बबरमहलस्थित नयाँ शक्तिको मुख्यालय । पुरानो घरलाई उनले यसरी चम्काएका छन् कि त्यहाँभित्र पस्ने जो कोहीले भन्छ, यो त हिजोअस्ति मात्र बनेको हो ।

ढोकाहरूमा कलात्मक आकृति कुँदिएका छन् । भुइँमा महँगा कार्पेट बिछ्याइएका छन् । माथि सेतो कलात्मक फल्स सिलिङ र त्यसमा मिल्दा बिजुलीका बल्ब झुन्ड्याइएका छन् ।

घुम्ने कुर्सी, टेबुल र सोफासेटहरूको सजावट उस्तै लोभलाग्दो छ । पुरानो घरलाई यति व्यवस्थित, आकर्षक र कलात्मक बनाउनु सायद बाबुरामको वास्तुचेत मात्रै होइन, उनको जोडजाड (एसेम्बल्ड) शैलीको उम्दा विम्ब पनि हो ।

Monday, February 20, 2017

पप–रकमा शान्तिको स्वर

काठमाडौँ । पत्रकार अनुप ओझाले मुलुकले बेहोरेको द्वन्द्व र अशान्तिबारे एक कार्यक्रमको अनौपचारिक सत्रमा गाएको गीत लोकप्रिय बनेको छ (हेर्नुहोस् भिडियोमा )। उनले यस गीतमा द्वन्द्वले के पायौँ भनेर प्रश्न गरेका छन् । आफन्तहरु गुमाउनुपर्दा र शान्तिको खोजी गर्दा आफ्नो नामै भुलेको मार्मिक प्रसंग पनि गीतमा समावेश गरेका छन् ।
निकट भविष्यमा छुट्टै एल्बम ल्याउने तयारी गरिरहेका उनी यो गीत लोकप्रिय भएपछि आफू उत्साहित भएको बताउँछन् ।

Thursday, February 16, 2017

सुमार्गीको शंकास्पद ११ अर्ब


अवैध प्रक्रियाबाट भित्र्याइएको रकमलाई वैधानिकता दिने प्रयास


  • रामबहादुर रावल


नेपाल राष्ट्र बैंकमा ५ जेठ ०७० मा एउटा यस्तो पत्र आइपुग्यो, जसले बैंकका अधिकारीहरूलाई सशंकित बनायो । किनभने, त्यो पत्रमा विदेशबाट आएको १ करोड २० लाख अमेरिकी डलर अर्थात् १ अर्ब २० करोड रुपियाँबराबरको रकम ऋणका रूपमा स्वीकृत गरिदिन अनुरोध गरिएको थियो । तर, उक्त रकम ल्याउनुअघि अपनाउनुपर्ने कुनै प्रक्रिया अवलम्बन गरिएको थिएन ।

साथै, उक्त कारोबारले अनेक आशंका जन्माएको थियो । जस्तो कि, एउटै व्यक्तिले पटक–पटक उही कम्पनीबाट किन र के प्रयोजनका लागि रकम ल्याउँदैछ ? जुन प्रयोजनका लागि रकम ल्याउने भनेको छ, त्यही काममा प्रयोग भएको छ कि छैन ? भोलि उसको कुनै परियोजना असफल भएमा त्यसरी ल्याएको ऋण भनिएको रकम तिर्ने सामथ्र्य राख्छ कि राख्दैन ? विदेशबाटै किन ऋण लिनुपर्‍यो, त्यो पनि अस्वाभाविक महँगो व्याजदरमा ?


राष्ट्र बैंकले यी प्रश्नको उत्तर खोज्न उक्त रकम र त्यससँग जोडिएका व्यक्ति र कम्पनीहरूको कारोबार खोतल्यो । तर, न उताबाट ऋण दिने कम्पनीको इतिहास र छवि गतिलो छ, न यता रकम प्राप्त गर्ने कम्पनीको । पठाउने कम्पनी पनि कर उन्मुक्ति पाइने मुलुक, जो ‘ट्याक्स हेभन’ भनेर चिनिन्छन्, मा दर्ता भएका, आफ्नो मुलुकमा लगानी गर्ने अधिकार नभएका (अफ्सोर) र कारोबार पारदर्शी नभएका थिए । तीमार्फत भित्र्याइएको रकम सही ठाउँमा प्रयोग हुने पर्याप्त आधार पनि देखिएन । राष्ट्र बैंकले तोकेका सर्तहरू पूरा नगरी भित्र्याइएको उक्त रकम जोखिमपूर्ण ठाउँ वा राष्ट्र बैंककै भाषामा ‘रिस्की ग्रुप’मा प्रयोग हुँदै थियो ।


त्यो अनुसन्धान गर्दै जाँदा धेरै गडबडी भेटियो । राष्ट्र बैंकको अनुमतिबेगर नै ती कम्पनीका नाममा विदेशबाट पटक–पटक रकम ल्याई स्थानीय बैंकहरूसँगको मिलेमतोमा प्रयोग र परिचालन गरिएको रहेछ ।

Wednesday, February 1, 2017

दागी कमान्डर : कोषराज वन्त

सशस्त्र प्रहरी महानिरीक्षकको पदमा बहाल रहेकै बेला कोषराज वन्तमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा कारबाही चलायो र निलम्बन गर्न सरकारलाई निर्देशन दियो । ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको छानबिनबाट देखिएपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

मुलुकको अर्धसैन्य फौजको प्रमुखमा बहाल रहेकै बेला भ्रष्टाचार मुद्दा लागेर पदमुक्त भएको यो नै पहिलोपल्ट हो । राष्ट्रिय सुरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको निकायका प्रमुखमाथिको यो अभियोगले सिंगो संगठनकै मनोबल र छविमै आँच पुग्यो । साथै, यो सुरक्षा संगठनमा आर्थिक अराजकता कुन हदसम्म चुलिएको रहेछ भन्ने कुराको पोल पनि उनैबाट खुल्यो ।

त्यति मात्र होइन, विगतका सबै जीवित सशस्त्र प्रहरी महानिरीक्षकहरूमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चल्यो । उच्च नैतिक, चरित्रवान् र राज्यको विश्वासिलो व्यक्ति हुनुपर्ने ठाउँमा कति अव्यावसायिक र असंवेदनशील व्यक्ति त्यो संगठनको नेतृत्वमा पुगेका रहेछन् भन्ने कुरा वन्तबाटै खुल्यो, जसले किन्दै नकिनेको सामानको नक्कली बिल भर्पाई बनाएको, ती सामान मातहतका विभिन्न युनिटमा पठाएको यातायात खर्चसमेत आफैँले लिएको अभियोग बेहोरे । 

कूटनीतिक महारथी


वर्षको मध्यतिर पदभार ग्रहण गर्न पुगेका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री दुइटा महत्त्वपूर्ण घटनाका कारण चर्चामा रहे ।

एक, भारतीय नाकाबन्दीकै बीचमा भारत भ्रमणमा जाँदा आलोचना खेपेका क्षत्री स्वदेश फर्कंदा भने फरक माहोल बन्यो । कारण, उनले दुई मुलुकबीचको सैन्य सम्बन्धको उपयोग गर्दै नाकाबन्दी फिर्ता लिन भारतीय पक्षलाई मनाउन भूमिका खेले । भारतीय प्रधानसेनापति, रक्षामन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारलाई उनले नेपालविरुद्धको नाकाबन्दी कसरी भारतकै सुरक्षाका लागि घातक छ भन्ने विश्लेषण प्रस्तुत गरे ।

प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरेर उनले खेलेको भूमिका सैन्य कूटनीतिमा नयाँ आयाम साबित भयो । यसै गरी, उनले नेपाली सेना दिवस र पृतनापतिहरूको सम्मेलनमा मुलुकको समसामयिक अवस्थाका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गरे । मुलुकमा पृथकतावादी गतिविधि भइरहेको तर्फ संकेत गर्दै उनले राजनीतिक नेतृत्वलाई चनाखो रहन ध्यानाकृष्ट मात्र गरेनन्, सरकारले चाहेमा संवैधानिक तवरले परिचालित हुन सेना तयार रहेको अभिव्यक्तिसमेत दिए ।

http://nepal.ekantipur.com/news/2016-04-17/20160417151346.html

नयाँ शक्तिका पुराना खेलाडी : बाबुराम भट्टराई

१० वर्ष सशस्त्र संघर्ष अनि थप १० वर्ष शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका निभाएका एमाओवादीका पूर्वनेता बाबुराम भट्टराईले संविधान जारी भएसँगै संसद् सदस्यता र पार्टी परित्याग मात्रै गरेनन्, माओवादी विचार नै त्यागेको घोषणा गरे । र, वैकल्पिक राजनीतिक विचारधाराका रूपमा नयाँ शक्ति निर्माणको बहस प्रारम्भ गरे । एमाओवादीकै नेतृत्व लिएर त्यसलाई नयाँ शक्तिमा रूपान्तरित गर्ने प्रयासमा सफल नभएपछि उनी छुट्टै संगठन निर्माणमा जुटेका हुन् । तर, संविधान निर्माणमा द्वैध भूमिकाका कारण उनी आलोचित रहे ।

असन्तुष्ट राजनीतिक पक्षसँग वार्ता गर्ने र संविधानका विवादित विषयमा सहमति जुटाउने अभिभारा पाएको संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले परिभाषित भूमिकाभन्दा ठीक उल्टो रूपमा प्रस्तुत भए । एमाओवादी आन्दोलनमा छँदा मात्र होइन, १६ बुँदे सहमतिपछि पनि उनको भूमिका द्वैध रह्यो । संविधानको पहिलो मस्यौदामाथि संविधानसभामा छलफल भइरहँदा उनले एमाओवादीका जातीय संगठनहरूलाई आन्दोलन गर्न सल्लाह दिइरहे । आफैँले सही गरेको संविधान जारी हुँदा पनि उनले त्यसप्रति अपनत्व देखाएनन् । बरू, संविधान जारी हुँदा रमाउने नेपालीजनलाई उल्टै उत्सव नमनाउन सल्लाह दिए ।

http://nepal.ekantipur.com/news/2016-04-17/20160417150853.html

वर्षव्यक्ति- २०७२ : केपी शर्मा ओली


  • रामबहादुर रावल

वर्ष २०७२ को सुरुमै बारपाक, गोर्खा केन्द्रविन्दु भएर आएको ७.६ रेक्टर स्केलको भूकम्पसँगै राष्ट्रिय राजनीति पनि नयाँ रूपमा ध्रुवीकृत भयो । र, त्यसपछिका प्राय: राजनीतिक घटनाहरूको ‘इपिसेन्टर’ बन्यो, बालकोट, भक्तपुरस्थित केपी शर्मा ओलीको निवास । बालकोट केन्द्रविन्दु भई आएका राजनीतिक कम्पनहरूले मुलुकको आन्तरिक र बाह्य शक्ति सन्तुलनमा व्यापक उथलपुथल ल्याए ।

वर्ष २०७२ को सुरुमै बारपाक, गोर्खा केन्द्रविन्दु भएर आएको ७.६ रेक्टर स्केलको भूकम्पसँगै राष्ट्रिय राजनीति पनि नयाँ रूपमा ध्रुवीकृत भयो । र, त्यसपछिका प्राय: राजनीतिक घटनाहरूको ‘इपिसेन्टर’ बन्यो, बालकोट, भक्तपुरस्थित केपी शर्मा ओलीको निवास । बालकोट केन्द्रविन्दु भई आएका राजनीतिक कम्पनहरूले मुलुकको आन्तरिक र बाह्य शक्ति सन्तुलनमा व्यापक उथलपुथल ल्याए ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिको अवरोधका बाबजुद ओली, तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त सहकार्यमा संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक काम भयो (हेर्नूस्, संविधानका सारथि) । यो सहकार्यले सात वर्षदेखि मिल्न नसकेका संविधानका महत्त्वपूर्ण विवादमा सहमति जुटाउँदै २५ जेठमा १६ बुँदे सम्झौता गरायो, जुन संविधानको आधार दस्तावेज बन्न पुग्यो । फलत: ३ असोजमा संविधान घोषणा भएसँगै आफ्नै प्रतिनिधिबाट संविधान निर्माण गर्ने नेपाली जनताको ६ दशकदेखिको सपनाले साकार रूप लियो । र, पछिल्लो एक दशक लामो राजनीतिक संक्रमण र शान्ति प्रक्रियामा समेत वैधानिक पूर्णविराम लाग्यो ।

पायोनियर परिवार

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, इन्जिनियर राममनोहर श्रेष्ठ र डा पुकारचन्द्र श्रेष्ठ

तीन फरक विधामा एकाघरका दाजुभाइको उम्दा उपस्थिति

ललितपुर, कुपन्डोल हाइटको भित्री गल्लीबाट उकालोतिर अघि बढ्न खोज्दा ठोक्किन आइपुग्छ, पुरानोजस्तो लाग्ने एउटा फलामे द्वार । त्यहीँभित्र छन्, करिब डेढ रोपनीमा फैलिएको जग्गामा तीनवटा घर, रूखबिरुवा, गमला र लहराहरू, जुन यस क्षेत्रका अरू आवासीय घरआँगनभन्दा खासै भिन्न छैनन् । बाहिरबाट सामान्यजनकै जस्तो देखिए पनि यस परिसरभित्रको उपस्थिति भने भव्य छ, जहाँ देश–विदेशमा ख्याति कमाएका तीन उम्दा प्रतिभाको बास छ । र, तीनै भिन्न विधाका प्रतिभा एउटै बा–आमाका सन्तान हुन् ।

न्याय सेवामा सक्रिय जीवन बिताएका कुलबहादुर श्रेष्ठ, ८५, को बिडो मात्रै थामेनन्, माइला छोरा कल्याण श्रेष्ठ, ६३, ले । ०७२ को समापनसँगै ४० वर्ष ९ महिनाको जागिर–वृत्तिलाई बिसाउँदै गर्दा औसत जागिरे मात्र भएर पनि निस्कँदै छैनन् उनी । इतिहासको आँखीझ् यालमा औसत न्यायकर्मीको कदभन्दा निकै अग्ला देखिनेछन् । प्रधानन्यायाधीशका रूपमा उनको नौ महिने कार्यकाल मात्रै होइन, पछिल्लो एक दशकमा सर्वोच्च अदालतको इजलासमा बसेर नेपालको विधिशास्त्र, न्याय प्रणाली र सुशासनमा पुर्‍याएको योगदानका कारण पनि उनले बेग्लै चिनारी बनाएका छन् ।

क्रिस्चियन नाताले माओवादीप्रति पश्चिमाको समर्थन जुटाएँ : केबी रोकाया


ऊर्जा इन्जिनियर एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका पूर्वप्रमुख केबी रोकाया राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन् । क्रिस्चियन समुदायका अगुवा/प्रचारकको हैसियतमा उनले द्वन्द्वकालमा माओवादीप्रति युरोप र अमेरिकी सहानभूति जुटाउन पनि भूमिका खेलेका थिए । उनीसँग समसामयिक विषयमा रामबहादुर रावलले गरेको संवाद :

भारत र युरोपेली संघ (ईयू)को सम्मेलनपछि जारी संयुक्त वक्तव्यलाई कसरी लिनुभएको छ ?
यो नयाँ कुरै होइन । उनीहरूले भन्दै आएको कुरा हो । आफूले गर्नुपर्ने काम नगरेर आशंका धेरै गर्ने र चर्को प्रतिक्रिया जनाउने हाम्रो बानीका कारण चर्चा भएको हो । केही दिनमा त्यसै सेलाउँछ ।

हाम्रो समस्यामाथि बाहिरी शक्तिले आ–आफ्नै तरिकाले बोल्ने, दबाब दिने कुरालाई जायज भन्ने त ?
आन्तरिक व्यवस्थापन चुस्त बनाऔँ, अरूलाई बोल्ने ठाउँ नदिऊँ भइहाल्यो नि † दबाब नै दिन थाले भने कस्तो प्रतिक्रिया जनाउने भन्नेमा हामी स्वतन्त्र छँदै छौँ । अहिले उनीहरू नेपाल मामिलामा सहमत भएको कुरा मात्र आएको छ ।

हाम्रो अनुभव त संविधान जारी गर्दा तिनै शक्तिले रोक्न खोज्ने, खासखास मुद्दामा दबाब दिने खालको छ नि ?
हाम्रा हरेक निर्णय बाहिरकै प्रभावमा हुँदै आएका छन् । नेपालीले नै हाम्रो काम गर्ने भए दुई वर्षमा संविधान बन्थ्यो । अरू दुई वर्ष थप्दा पनि पहिलो संविधानसभाले संविधान लेखेन । बाबुराम भट्टराईले प्रधानमन्त्रीको कुर्सीमै रहेर ‘नेपालको साँचो बाहिर छ’ भन्दा कसले खण्डन गर्‍यो ? उहाँलाई कठघरामा उभ्याउने आँट कसले गर्‍यो ?

Tuesday, January 24, 2017

किन हतारियो विशेष अदालत ?


पुराना भ्रष्टाचार मुद्दा जहाँका तहीँ, ल्हारक्याल लामालाई चाहिँ सफाइ दिन हतारो
  • रामबहादुर रावल


काठमाडौँ । करिब ९ करोड ४४ लाख रुपियाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपसहित नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विशेष अदालतले ६ महिनामै टुंग्यायो ।  ३० वैशाख ०७३ मा दायर मुद्दा ३० कात्तिकमै किनारा लाग्यो । जब कि, चार वर्ष पुराना साढे दुई सयभन्दा बढी मुद्दा त्यही अदालतमा विचाराधीन छन् । 

लामाले विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलाबाट सफाइ पाए । अख्तियारले अवैध दाबी गरेको उनको सबै सम्पत्ति  वैध ठहरियो । विशेष अदालत ऐन, २०५९ को दफा १६ अनुसार मुद्दा दायर भएको ६ महिनाभित्र भ्रष्टाचार मुद्दाको टुंगो गरिसक्नुपर्छ । ठीक ६ महिना पुगेकै दिन उनको मुद्दा फैसला हुँदा ऐनको प्रावधान त पालना भयो तर विशेष अदालतमै चार वर्षदेखि धाइरहेका अन्य मुद्दा पक्षहरूले भने लामाको फैसलाप्रति जिब्रो टोके । कारण थियो, हत्पत्ति कानुनले तोकेको म्यादभित्र मुद्दा नछिन्ने विशेष अदालत सांसद लामाको मुद्दा भने समयमै छिनिएको थियो ।