Showing posts with label Judiciary. Show all posts
Showing posts with label Judiciary. Show all posts

Monday, October 9, 2017

वरिष्ठका बहुरूप



- रुन्चे राइँलो

वरिष्ठ अधिवक्ताको हुलमा २ सय ७२ जना नयाँ वरिष्ठ थपिएछन् । हामीले गौरव गर्नुपर्छ, यति धेरै वरिष्ठ भएको मुलुकका नागरिक हुन पाएकामा । अदालतको दैलो नदेखेको जुग बिते पनि, मुद्दाका पक्षहरुले पत्याउन छाडेपछि अर्कै पेसा रोजे पनि अदालतले एक से एक वरिष्ठहरुको हिसाबकिताब राखेको रहेछ । अदालतको अभिलेख पद्धतिलाई त झन् सय तोपको सलामी दिनुपर्ने भएछ ।

वास्तवमा वकिल भएपछि मुद्दाका पक्षहरुकै लागि वकालत गर्नैपर्छ भन्ने के छ र ? इजलास धाउनैपर्छ भन्ने पनि छैन । न्यायाधीशका निवास र च्याम्बर धाउनु पनि त वकालत नै हो नि, होइन र ? पार्टीको वकालत गर्नु पनि वकालत नै हो । नेताको वकालत गर्नु झन् नम्बरी वकालत हुने भइगयो । फेरि सबै दल, वर्ग, क्षेत्र, आवासीय, गैरआवासीय सबैलाई भाग पुर्‍याएर समावेशी बनाउनैपर्‍यो ।

Sunday, June 11, 2017

सुशीला कार्की र अदालतको कोतपर्व

  • रामबहादुर रावल

बोल्न नमान्ने कार्की
मिडियाबाट टाढै रहन चाहने प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो कार्यकालभरिमा सञ्चारकर्मीसँग कहिल्यै औपचारिक अन्तक्र्रिया गर्न रुचाइनन् । सञ्चारकर्मीकै पहलमा भएका कार्यक्रममा न्यायाधीश गोपाल पराजुली सहजै गए तर उनी उपलब्ध भइनन् । लोकमानसिंह कार्कीलाई मोसो दलेको घटनापछि त हामी सञ्चारकर्मीले सर्वोच्च अदालत प्रवेशका लागि समेत निकै संघर्ष गर्नुपर्‍यो । अरु नै परिचय बोकेर बालुवाटारस्थित प्रधानन्यायाधीश निवास प्रवेश गरेका एक जना पत्रकारले अन्तर्वार्ताको कुरा गर्दा बाहिर निकालेको प्रसंग पनि सुनिएको थियो । त्यसैले भेटिहाले पनि हत्पत्ति अन्तर्वार्ता वा समाचार लेख्ने कुरा गर्नु उनका अगाडि अलि ‘धक’कै विषय थियो ।

कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा गएर भने मिडियालाई राम्रै खुराक दिन्थिन् उनी । उनको हकी स्वभाव यसको प्रमुख कारण थियो । त्यस्तो पात्रलाई भेट्नु हामी पत्रकारका लागि भने निकै उपयोगी हुन्छ । पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको स्वभाव पनि करिब यस्तै थियो । मनमा केही कुरा नराख्ने । कुनै कुरा तौलेर नबोल्ने । आफूलाई फाइदा हुने कुरा मात्र बोलेर मिडियालाई प्रयोग गर्न खोज्ने शक्तिशाली व्यक्ति र तिनका ‘स्पिन डक्टर’हरु त जति पनि भेटिन्छन् । तिनले दिने सूचनाको नियत बुझ्न सक्नु नै हाम्रो पहिलो चुनौती हुने गर्छ । यस्ता स्रोतहरु नभेटी पनि नहुने, भेटेर पनि सुख नपाइने खालका हुन्छन् । नि:स्वार्थ रुपमा यथार्थ कुरा बताइदिने ‘हाइप्रोफाइल’ स्रोतहरु पाउन गाह्रो पर्छ ।

Tuesday, June 6, 2017

सबैभन्दा भ्रष्ट राजनीतिक तह : सुशीला कार्की

भ्रष्टाचार मुद्दा टुंग्याउन, राजनीतिक र संवैधानिक पदाधिकारीका स्वेच्छाचारी गतिविधिमा अंकुश लगाउन प्रधानन्यायाधीश सुशीला कार्कीले देखाएको सक्रियता पछिल्लोपल्ट सत्तारूढ दललाई नै पचाउन गाह्रो पर्‍यो । र, नेपालको न्यायिक इतिहासमा कुनै प्रधानन्यायाधीशले सामना गर्नु नपरेको महाभियोग उनले खेप्नुपर्‍यो । भलै, चौतर्फी दबाबपछि सत्ता गठबन्धनले महाभियोग प्रस्ताव फिर्ता लियो । प्रमुख दलहरूको सहमतिमा अख्तियार प्रमुखमा नियुक्त भएका र अदालतबाट मान्यता पाइसकेका लोकमानसिंह कार्कीका अराजकताले आजित भएर पनि कोही बोल्न नसकिरहेका बेला प्रधानन्यायाधीश कार्कीले नै मुद्दा ब्यूँताइन् र लोकमान उक्त पदमा रहन अयोग्य घोषित भए । पूर्वराजा ज्ञानेन्द्रले छाउनीस्थित १५ रोपनी १ आना सरकारी जग्गा छोरी प्रेरणा सिंहलाई दिएको दाइजो सर्वोच्चकै दुई न्यायाधीशको इजलासले कानुनी मान्यता दिइसकेको थियो । त्यो उल्टाउने साहस कार्कीले देखाइन् । अर्थात्, न्यायिक नेतृत्वमा हुनुपर्ने निष्ठा र निर्भीकताको परिचय दिइन् । २४ जेठबाट ६५ वर्षे उमेर हदका कारण निवृत्त हुनै लाग्दा उनै प्रधानन्यायाधीश कार्कीसँग रामबहादुर रावल र प्रशान्त अर्यालको कुराकानी :



आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?

जुन विश्वासका साथ म यति काम गरुँला भनेर आएकी थिएँ, कामै गर्न पाइनँ । धेरैजसो बाधा, अवरोध मात्र भइरह्यो ।

के गर्छुजस्तो लागेको थियो ?

मुलुक जोगाउने हो, भ्रष्टाचारको दलदलमा थप फस्न नदिने हो भने अदालतले धेरै काम गर्न सक्छ । न्यायपालिका फिल्टर हो, चाल्नो हो । हाम्रो शरीरका विकारहरू फिल्टर गरी तन्दुरुस्त राख्ने अंगजस्तै हो, अदालत । यसले विकृतिलाई चालेर सही चिजलाई जोगाउँछ । यसले वातावरण ठीक राख्न सक्छ । राजनीतिलाई ठीक पार्न सक्छ । यसका निम्ति अलि साहस जरुरी हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । समाजलाई बनाउनेतिर जानुपर्‍यो । अलिकति भए पनि जनतालाई राहत दिने किसिमले सोच्नुपर्‍यो भनेर मैले केही कदम चालेँ । केही हदसम्म सफल पनि भइयो । धेरै त बाधाविरोध नै भए ।

के–कस्ता बाधा झेल्नुभयो ?
धेरै कुरा छन् । धेरै कारण छन् । मेरा पालामा पेसी धेरै स्थगित गरिदिने (मुद्दाको सुनुवाइ रोक्ने) काम भयो । अचाक्ली स्थगित त महान्यायाधिवक्ताको कार्यालयबाट भयो । कानुन व्यवसायीहरूबाट पनि धेरै स्थगित भए । मैले त केही हदसम्म कडाइ पनि गरेँ । तर, अरू साथी (न्यायाधीश)हरू कस्तो हुनुहुन्छ भने स्थगित गर्न निवेदन आउनेबित्तिकै गर्दिहाल्ने । मैले महाभियोग खेप्नुको एउटा कारण स्थगित गर्न नमान्नु पनि हो । दुईपटकभन्दा बढी स्थगित गर्न दिन्नँ भन्दा वकिलहरू चिढिए ।

Monday, May 22, 2017

महाभियोगको मौकामा चौका

प्रधानन्यायाधीश सुशीला कार्कीको निलम्बनको अवसर छोपेर सत्तापक्ष र प्रतिपक्षको सहमतिमा अख्तियार प्रमुख र महालेखा परीक्षकको नियुक्ति सिफारिस

- रामबहादुर रावल

१७ वैशाख : संसद् सचिवालयमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता । राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्म कार्की निलम्बनको पत्राचार । महाभियोग र त्यसको प्रस्तावक सत्तापक्षप्रति प्रतिपक्षी एमालेको कडा प्रतिक्रिया ।

१८ वैशाख : मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा ।


१९ वैशाख : प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपसभामुख गंगाप्रसाद यादव, तत्कालीन कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीद्वारा समेत हस्ताक्षर ।


२० वैशाख : दुई दिनमा दोस्रोपटक संवैधानिक परिषद्को बैठक । प्रधानमन्त्री कार्यालयमा रहेका सचिव टंकमणि शर्मालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस ।


यस घटनाक्रमका तीनवटा पाटा छन् । एक, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोगको प्रस्ताव संसद्मा दर्ता गरेलगत्तै हतारहतार संवैधानिक परिषद्को बैठक बोलाएर किन नियुक्तिको निर्णय गरियो ? दुई, कायममुकायम (कामु) प्रधानन्यायाधीशको हैसियतमा पुगेका पराजुलीले आफ्नो कार्यप्रकृति, परिषद्को कार्यविधि र सम्भावित उम्मेदवारको योग्यताबारे बिनाकुनै छलफल कसरी सहमति जनाए ? तीन, महाभियोगमा असहमति जनाउँदै सत्तापक्षप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई एकाएक कुन तत्त्वले पगाल्यो ?

परिषद्का दुवै बैठकमा खासै धेरै छलफल भएन । परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरे । सबैले एकमतले सहमति जनाए । विवाद, विरोध वा बहस गर्नतिर कोही लागेनन् । बरू पहिलो बैठकमा परिषद्को नयाँ सदस्यका रूपमा उपस्थित पराजुलीलाई पालैपालो सबैले बधाई दिए । उनले पनि खुसी व्यक्त गरे । त्यतिन्जेल मुख्यसचिव सोमलाल सुवेदीले निर्णय टिपे । उपसभामुख एवं परिषद् सदस्य गंगाप्रसाद यादव भन्छन्, “एकदमै सौहार्दपूर्ण वातावरणमा निर्णय भयो । कसैको विमति वा फरक मत रहेन ।”


प्रचण्ड प्रयास
अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की सर्वोच्च अदालतद्वारा गत २४ पुसमा अयोग्य घोषणा भएलगत्तै त्यस ठाउँमा प्रधानमन्त्री प्रचण्डले त्यहीँका आयुक्त दीप बस्न्यातलाई नियुक्त गर्न खोजेका थिए । गत १४ माघमा परिषद्कै बैठकमा प्रचण्डले उनको नाम प्रस्ताव गर्दा प्रधानन्यायाधीश सुशीला कार्कीले कडा शब्दमा विरोध जनाएकी थिइन् । जबकि, सोही दिनको बैठकले निर्वाचन आयुक्तहरूमा ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार साह र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो । प्रधानन्यायाधीश कार्कीको असहमतिकै कारण बस्न्यातको नाम अघि बढ्न सकेको थिएन । उनको भनाइ थियो, ‘जसको योग्यतामाथि प्रश्न उठेर अदालतमा मुद्दा विचाराधीन छ । पृष्ठभूमि पनि गतिलो छैन । त्यस्तो व्यक्तिको नाममा समर्थन गर्न सक्दिनँ ।’ अख्तियारजस्तो निकायमा न्यायिक एवं कानुनी पृष्ठभूमिको व्यक्ति पठाउनु उचित हुने उनको सुझाव थियो ।

Thursday, May 11, 2017

खिलराज रेग्मीको सिंहदरबार बसाइ अनुभव


यसरी सम्भव भएको थियो दोस्रो संविधानसभा निर्वाचन
  • रामबहादुर रावल

बाटो बिराएको राजनीतिलाई 'ट्रयाक'मा ल्याए। धूलो जमेको अन्तरिम संविधानलाई क्रियाशील बनाए। बेवारिसे बनेको संविधानसभा/व्यवस्थापिका भवनलाई गुल्जार बनाए। चौतर्फी प्रतिकूलताका बीच उनले संविधानसभाको दोस्रो निर्वाचनका रूपमा एउटा राष्ट्रिय अनुष्ठान सम्पन्न गरे। पूर्वप्रधानन्यायाधीश एवं अन्तरिम चुनावी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, ६५, करिव तीन वर्षपछि बानेश्वरस्थित निजी घरमा फर्किएका छन्। 

निर्वाचित सरकारलाई सिंहदरबारको साँचो सुम्पेपछिको फुर्सदको यो क्षण उनी निजी निवासको धूलोसँग खेल्दै छन्। पछिल्ला तीन वर्ष कसरी बिते भनेर अचम्मको उच्छ्वास पनि छाडिरहेका छन् उनी। "घर त धेरै अस्तव्यस्त भइसकेछ," घरमा फर्केपछि उनले देखे, "धेरैतिर धूलो जमेछ। कति ठाउँमा माकुराले जालो बनाएछ। गमलाहरू असरल्ल छन्।"

अहिले त्यही धूलो, गमला, माकुराको जालो सफा गर्दै छन् उनी।

Monday, May 8, 2017

महाभियोगको पटाक्षेप



न्यायालयमाथि प्रतिशोध साँध्न राजनीतिक नेतृत्वले प्रयोग गरेको हतियार विफल

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध १७ वैशाखमा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भयो । उनको हातमा तुरुन्तै निलम्बित भएको पत्र पुग्यो । नेकपा एमालेलगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश त पाउन सकेन नै, २२ वैशाखमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी नै बनाइदियो ।

कार्यकारीको अधिकार क्षेत्रमा अतिक्रमण, अदालतभित्र गुटबन्दी गरेको लगायतका आरोप कार्कीमाथि लगाइएको थियो । अदालतले भने महाभियोग लगाउनुपर्ने पर्याप्त आधार र कारण नभएको, संविधानको मर्म र भावना प्रतिकूल रहेको भन्दै उक्त प्रस्ताव प्रथम दृष्टिमै गलत भनेको छ । अदालतको आदेश अनुसार २२ वैशाखबाटै प्रधानन्यायाधीश कार्कीले पुन: जिम्मेवारी सम्हालिसकेकी छन् ।

असान्दर्भिक कदम

प्रधानन्यायाधीश कार्कीविरुद्ध यस्तो समयमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो, उनी सेवाबाट अवकाश पाउन ३८ दिन मात्र बाँकी थियो । ६५ वर्षे उमेर हदका कारण उनी २५ जेठबाट निवृत्त हुँदै थिइन् । पछिल्लो समयमा उनले भ्रष्टाचारसम्बन्धी विचाराधीन मुद्दा छिटो किनारा लगाउने कुरालाई अभियानकै रूपमा अगाडि बढाएकी थिइन् । यिनैमध्येको चर्चित सुडान घोटाला प्रकरण, जसमा नेपाल प्रहरीका तीन जना पूर्वमहानिरीक्षकसमेत अभियुक्त थिए, को फैसला त्यही दिन गर्दै थिइन्, जुन दिन उनीमाथि महाभियोग प्रस्ताव दर्ता हुँदै थियो । भ्रष्टाचार मुद्दा किनारा लगाउन खोज्दा उनले धेरैतिरबाट बाधा, विरोध र अवरोध झेलेकी थिइन् (हेर्नूस्, प्रधानन्यायाधीशलाई अवरोध, नेपाल, २४ वैशाख ०७४) । महाभियोग उनको यो अभियानमा गरिएको अवरोधकै एउटा शृंखला थियो । किनभने, त्यस्ता मुद्दाका अभियुक्त कि त सत्तारूढ दलसम्बद्ध नेताहरू थिए, कि सरकारका महान्यायाधिवक्ता रमन श्रेष्ठको वकालतनामा भएकाहरू ।

प्रस्तावमा प्रमुख रूपमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिबारे अदालती आदेश र सुनुवाइ प्रक्रियामा प्रश्न उठाइएको थियो, जुन सर्वोच्च अदालतबाट पूर्ण रूपमा टुंगिइसकेको थिएन । नायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्त गर्ने १ चैतको मन्त्रिपरिषद् निर्णयलाई उल्टाउँदै सर्वोच्चले ८ चैतमा वरीयतामा पहिलो नम्बरमा हुने नायब महानिरीक्षकलाई नियुक्त गर्नुपर्ने फैसला गरेको थियो । २८ चैतमा सरकारले नायब महानिरीक्षक प्रकाश अर्याललाई पहिलो नम्बरमा रहेको भन्दै प्रहरी प्रमुखको दज्र्यानी चिह्न लगाइदियो । सरकारको यो निर्णयले आफूमाथि अन्याय भएको भन्दै अर्का नायब महानिरीक्षक नवराज सिलवाल सर्वोच्च अदालत पुगे । उक्त रिटमा सिलवालको माग अनुसार अदालतले अन्तरिम आदेश त दिएन तर कारण देखाऊ आदेश जारी गर्दै १९ वैशाखमा सुनुवाइको मिति तोक्यो । उक्त मिति आउनुभन्दा दुई दिनअगाडि मात्र महाभियोग दर्ता गरियो ।

महानिरीक्षक नियुक्ति प्रकरणमा सुनुवाइको दुई दिनअघि मात्र महाभियोग प्रस्ताव दर्ता गरी गलहत्याउन खोज्नुले सोही मुद्दा प्रभावित पार्न खोजेको अर्थमा बुझ्न सकिन्थ्यो । किनभने, संविधानको धारा १०५ मा लेखिएको छ, ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा कुनै सदनमा छलफल गरिने छैन ।’

न्यायाधीशको आचरणसम्बन्धी प्रश्नमा मात्र संसद्मा बहस गर्न पाइने सोही धारामा स्पष्ट पारिएको छ । तर, महाभियोगमा आचरणसम्बन्धी कुनै प्रश्न उठाइएको थिएन । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ भन्छन्, “झगडियासँग हिमचिम छ कि ? नाताभित्रको मुद्दा हेरेको हो कि ? घूस खाएर फैसला गरेको हो कि ? कुनै कुरा स्पष्ट छैन । निराधार आरोपका आधारमा न्यायिक नेतृत्वमाथि प्रहार गर्ने नियत मात्र विधायकहरूको देखिन्छ ।”

Sunday, February 26, 2017

कल्याण–तर्क

प्रधानन्यायाधीशमा बहाल हुनै लाग्दा कल्याण श्रेष्ठले नेपालसँगको संवादमा खिलराज प्रकरणबारे भनेका थिए, “मलाई यसबारेमा धीत मर्ने गरी जवाफ दिन मन थियो तर मुद्दा विचाराधीन भएको कारण बोल्न सक्दिनँ ।” नभन्दै उनकै पालामा त्यो प्रकरणमा फैसला भयो । तर, उनकै राय अल्पमतमा पर्‍यो ।

सर्वोच्च अदालतबाट बिदा हुने दिन नजिकिँदै गर्दा श्रेष्ठलाई बालुवाटारस्थित सरकारी निवासमा भेट्ने मौका मिल्यो । सोधियो, ‘प्रधानन्यायाधीश नै अल्पमतमा पर्ने कस्तो राय दिनुभयो ?’

जस्तासुकै प्रश्नको पनि तर्कपूर्ण उत्तर दिन उनी खप्पिस छन् भन्नेमा भलीभाँती जानकार यो पंक्तिकार धेरै यस्ता प्रश्नको पोको लिएर पुगेको थियो, जुन श्रेष्ठलाई सहज लाग्ने थिएनन् । यो प्रश्न पनि तिनैमध्येको थियो । त्यसबाहेक न्यायाधीश नियुक्तिदेखि न्यायपरिषद् सदस्यहरूका बिदाइसम्मका प्रशासनिक निर्णयबारे विवाद पनि थिए ।

Wednesday, February 1, 2017

पायोनियर परिवार

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, इन्जिनियर राममनोहर श्रेष्ठ र डा पुकारचन्द्र श्रेष्ठ

तीन फरक विधामा एकाघरका दाजुभाइको उम्दा उपस्थिति

ललितपुर, कुपन्डोल हाइटको भित्री गल्लीबाट उकालोतिर अघि बढ्न खोज्दा ठोक्किन आइपुग्छ, पुरानोजस्तो लाग्ने एउटा फलामे द्वार । त्यहीँभित्र छन्, करिब डेढ रोपनीमा फैलिएको जग्गामा तीनवटा घर, रूखबिरुवा, गमला र लहराहरू, जुन यस क्षेत्रका अरू आवासीय घरआँगनभन्दा खासै भिन्न छैनन् । बाहिरबाट सामान्यजनकै जस्तो देखिए पनि यस परिसरभित्रको उपस्थिति भने भव्य छ, जहाँ देश–विदेशमा ख्याति कमाएका तीन उम्दा प्रतिभाको बास छ । र, तीनै भिन्न विधाका प्रतिभा एउटै बा–आमाका सन्तान हुन् ।

न्याय सेवामा सक्रिय जीवन बिताएका कुलबहादुर श्रेष्ठ, ८५, को बिडो मात्रै थामेनन्, माइला छोरा कल्याण श्रेष्ठ, ६३, ले । ०७२ को समापनसँगै ४० वर्ष ९ महिनाको जागिर–वृत्तिलाई बिसाउँदै गर्दा औसत जागिरे मात्र भएर पनि निस्कँदै छैनन् उनी । इतिहासको आँखीझ् यालमा औसत न्यायकर्मीको कदभन्दा निकै अग्ला देखिनेछन् । प्रधानन्यायाधीशका रूपमा उनको नौ महिने कार्यकाल मात्रै होइन, पछिल्लो एक दशकमा सर्वोच्च अदालतको इजलासमा बसेर नेपालको विधिशास्त्र, न्याय प्रणाली र सुशासनमा पुर्‍याएको योगदानका कारण पनि उनले बेग्लै चिनारी बनाएका छन् ।

Tuesday, January 24, 2017

किन हतारियो विशेष अदालत ?


पुराना भ्रष्टाचार मुद्दा जहाँका तहीँ, ल्हारक्याल लामालाई चाहिँ सफाइ दिन हतारो
  • रामबहादुर रावल


काठमाडौँ । करिब ९ करोड ४४ लाख रुपियाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपसहित नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विशेष अदालतले ६ महिनामै टुंग्यायो ।  ३० वैशाख ०७३ मा दायर मुद्दा ३० कात्तिकमै किनारा लाग्यो । जब कि, चार वर्ष पुराना साढे दुई सयभन्दा बढी मुद्दा त्यही अदालतमा विचाराधीन छन् । 

लामाले विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलाबाट सफाइ पाए । अख्तियारले अवैध दाबी गरेको उनको सबै सम्पत्ति  वैध ठहरियो । विशेष अदालत ऐन, २०५९ को दफा १६ अनुसार मुद्दा दायर भएको ६ महिनाभित्र भ्रष्टाचार मुद्दाको टुंगो गरिसक्नुपर्छ । ठीक ६ महिना पुगेकै दिन उनको मुद्दा फैसला हुँदा ऐनको प्रावधान त पालना भयो तर विशेष अदालतमै चार वर्षदेखि धाइरहेका अन्य मुद्दा पक्षहरूले भने लामाको फैसलाप्रति जिब्रो टोके । कारण थियो, हत्पत्ति कानुनले तोकेको म्यादभित्र मुद्दा नछिन्ने विशेष अदालत सांसद लामाको मुद्दा भने समयमै छिनिएको थियो ।

Tuesday, April 19, 2016

कानुनी पत्रकारिता पुरस्कार रावल र दुलाललाई

- कान्तिपुर संवाददाता, काठमाडौं

वैशाख ७, २०७३- नेपाल बार एसोसिएसनले यस वर्षको कानुनी पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका रामबहादुर रावललाई प्रदान गरेको छ ।

मंगलबार राजधानीमा आयोजित वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रममा रावललाई सम्मानपत्र र दोसल्लाका साथ नगद पुरस्कार बारका निवर्तमान कार्यवाहक अध्यक्ष राजेन्द्र साउद र उपाध्यक्ष टीकाराम भट्टराईले प्रदान गरे ।

न्याय र कानुनको क्षेत्रका समाचार सम्प्रेषण गरी स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र लोकतान्त्रिक विधि एवम् प्रक्रियाको पक्षमा जनतालाई सुसूचित तुल्याएको भन्दै बारले सम्मानपत्र साथ पुरस्कार प्रदान गरेको हो ।

Sunday, January 3, 2016

अदालतमा संवैधानिक संक्रमण

नयाँ संविधानको कार्यान्वयनमा न्यायपालिकालाई यस्तो छ अड्चन 


- रामबहादुर रावल


संविधानसभाबाट नेपालको संविधान जारी भएपछि २२ मंसिरमा पहिलोपल्ट न्यायपरिषद्को बैठक बस्यो । बैठकले संवैधानिक इजलास गठन गर्न न्यायाधीशहरू गिरीशचन्द्र लाल, सुशीला कार्की, वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीलाई सिफारिस गर्‍यो । यो निर्णयसँगै मुलुकको न्यायपालिका आफ्नो संरचनालाई नयाँ संविधानको व्यवस्था अनुरूप ढाल्न र संविधान कार्यान्वयन गर्न अग्रसर त भयो तर सँगसँगै उसले केही संवैधानिक अड्चन र रिक्तताहरूको सामना गर्नुपरेको छ, जसका लागि राजनीतिक नेतृत्वको मुख ताक्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसले प्रधानन्यायाधीश कल्याण श्रेष्ठको न्यायपालिका सुधारको प्रतिबद्धता र न्याय सम्पादनको प्रभावकारितामा प्रत्यक्ष प्रभाव पारेको छ ।

Friday, September 25, 2015

अख्तियारका आँखा छल्दै किनमेलमा न्यायाधीश

सर्वोच्च अदालतमा हुने ठूला खरिदबिक्री र आर्थिक कारोबारका निम्ति न्यायाधीशहरू नै सम्मिलित समितिहरू बनाउने चलन बसालिएको छ । यो चलन बस्नुमा हालका प्रधानन्यायाधीश श्रेष्ठको कुनै भूमिका छैन । किनभने, यो प्रथा करिब १० वर्षअघिको न्याय प्रशासनको नेतृत्वबाट बसालिएको हो । खासमा किनमेल र सरसामग्री व्यवस्थापनको काम अदालत प्रशासनकै हुनुपर्ने हो । न्यायाधीशहरू लेखापढी र न्याय सम्पादनको काममै व्यस्त रहनुपर्ने हो । तर, न्यायाधीशहरू यस्ता समितिमा रहन पाउँदा खुसी नै रहेको पाइन्छ ।

Wednesday, September 23, 2015

सर्वोच्चमा आईटी भ्रष्टाचार प्रकरण : फासफुस अनुसन्धान

रामबहादुर रावल

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहका पालामा भएको कम्प्युटर, प्रिन्टर, ल्यापटपलगायत सूचनाप्रविधिसम्बन्धी सामान खरिद प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति गठन गरे, सर्वोच्चकै दुई न्यायाधीश र एक सह–रजिस्ट्रार रहेको । डेस्कटप कम्प्युटर खरिदमा मात्रै करिब ४० लाख रुपियाँबराबरको हानि–नोक्सानी पुगेको प्रारम्भिक अनुमान त्यतिखेर सार्वजनिक भएको थियो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र देवेन्द्रगोपाल श्रेष्ठ सम्मिलित समितिले समयमै अनुसन्धान गरी प्रतिवेदन पनि दियो । प्रतिवेदन बुझाएपछि समितिका सदस्यहरूले भनेका थिए, ‘रजिस्ट्रारज्यूले सार्वजनिक गर्छु भन्नुभएको छ । चाँडै यथार्थ बाहिर आउँछ ।’

प्रवक्ता नहकुल सुवेदीले पनि रजिस्ट्रारमार्फत नै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी पत्रकारहरूलाई दिएका थिए । तर, न प्रतिवेदन सार्वजनिक भयो, न त त्यस प्रकरणमा कसैमाथि कारबाही नै भयो । न्यायपालिका प्रमुख नै मुछिएको विवादबारे अनुसन्धान गर्नु चानचुने कुरा थिएन । त्यसमाथि व्यवस्थापिका–संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गर्न नसकेको काम थियो त्यो । त्यसैले हामी सञ्चारकर्मीका लागि त्यो ज्यादै चासोको विषय पनि थियो । तर, अहिले त्यो प्रकरण त्यसै फासफुस भएको चर्चा अदालत परिसरमै सुनिन थालेको छ ।

Thursday, September 10, 2015

अदालतमा पावर र आवर

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ नियुक्त भएपछि न्यायपालिकामा लामो समय अड्किएका केही काम फटाफट भए । सर्वोच्च अदालतमा रजिस्ट्रार नियुक्ति, न्यायपरिषद्मा सचिव बढुवा, ठूलो संख्यामा जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशको सरुवा अनि जिल्ला न्यायाधीश नियुक्ति ।
यी नियमित प्रशासनिक काम भए पनि विगतमा विभिन्न स्वार्थ समूहको द्वन्द्वका कारण हुन सकेका थिएनन् । श्रेष्ठले गरेको निर्णयले न्यायपालिकाले गति पाउने र यसअघि हुने टिप्पणी र असन्तुष्टिका कुरा कम सुनिने अपेक्षा थियो ।

Monday, July 13, 2015

भ्रष्टाचारका मुद्दा ढंगले फर्स्योट हुनुपर्छ : कल्याण श्रेष्ठ

न्यायपालिकालाई अघि बढाउने तपाईंका एजेन्डा र प्राथमिकता के हुन् ?

न्यायालयको काम परिभाषित हुन्छ । त्यही कामलाई निरन्तरता दिनु न्यायिक नेतृत्वको दायित्व हो । अदालतका उपभोक्ताको सन्तुष्टिको मात्रा बढाउने हो । 

तपाईंसँग विशेष के अपेक्षा गर्ने भन्न खोजेको ?

क वा ख आउनु–जानु नियमित हो, आइरहन्छ, गइरहन्छ । मेरै हकमा भन्दा कल्याण श्रेष्ठ स्मरणीय हुनुपर्दैन । ऊसँग धेरै अपेक्षा उराल्नु पनि हँुदैन । हामीले खोज्नुचाहिँ के पर्छ भने पद्धति सुचारु छ कि छैन ? एउटा व्यक्ति सधैँभरि बाँचिरहँदैन, बसिरहँदैन । त्यसैले हामीले व्यक्ति हेरी अपेक्षा गर्नुभन्दा पद्धतिको प्रभावकारि तालाई नै पक्का गर्नुपर्छ । 

विवादित न्यायाधीशहरूका कारण टिम बनाउन पनि गाह्रो पर्छ कि ?

यो प्रश्न गम्भीर छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीजस्तो आफ्नो टिम छान्ने अवसर छैन । प्रधानमन्त्रीलाई मन परेको मन्त्री ल्याउने, नपरेको फाल्ने वा नल्याउने स्वतन्त्रता छ । हामी अरु कसैबाट छानिएका हौँ । अरुले तय गरेको टिममा घुलमिल गरेरै काम गर्नुपर्ने र संस्थाको उद्देश्य अनुसार चलाउनुपर्ने बाध्यता छ । मैले यो वा त्यो व्यक्ति कस्तो भनिरहन न कानुनी रुपले न नैतिक रुपले सम्भव छ । जेजस्तो टिम छ, त्यो मेरो र सम्पूर्ण न्यायपालिकाको पुँजी नै हुनुपर्छ । यससम्बन्धी अन्य कुराको हकमा जसले टिमको संरचना गर्‍यो, संवैधानिक पद्धति जे छ, तिनीहरुले नै जान्नुपर्छ । हाम्रो काम त भइरहेको टिम संरचनालाई यथाशक्य अधिकतम लाभदायक उपयोग गर्ने हो ।


तैपनि, न्यायपालिका प्रमुखको हैसियतले फिल्टर त गर्नुपर्ने होला नि ?



प्रधानन्यायाधीशको प्राथमिकता सुन्ने र उसको भनाइलाई प्राथमिकता दिने नियुक्ति प्रक्रियाको व्यवस्था हामीले कहाँ गर्‍यौँ ? प्रधानन्यायाधीश आफैँ अल्पमतमा बसेको न्यायपरि षद् छ । उसले ठीक भनेको व्यक्ति नियुक्त हुन्छ भन्ने कुरा निश्चित नहुने, हुन्न भनेको चाहिँ नियुक्त गर्नुपर्ने बाध्यता सिर्जना गर्ने अवस्थाको समीकरण न्यायपरिषद्भित्र छ भने कसरी फिल्टर हुन्छ ? मान्छे छान्न नपाउने, अरुले छानेका मान्छेबाट उसले भरपूर सकारात्मक परिणाम ल्याउने प्रतिबद्धता देखाइदिनुपर्ने ? यो अपेक्षा कस्तो हो ? यो सम्पूर्ण प्रणालीका नियन्ता, निर्माता र सञ्चालकहरुको जम्मेवारी र जवाफदेहीको विषय बन्नुपर्ने हो ।

परीक्षामा कल्याण श्रेष्ठ



नयाँ प्रधानन्यायाधीशका प्राथमिकता


पाँच कार्यभार

  • न्यायाधीश नियुक्ति, मुद्दा चाप नियन्त्रण ।
  • विवादित न्यायाधीशहरूको व्यवस्थापन ।
  • तल्ला अदालतमा ठहर भएका भ्रष्टाचार मुद्दा उल्ट्याउने क्रममा पुन:विचार ।
  • पूर्ववर्तीहरुका कारण गुमेको न्यायालयको छवि पुन:स्थापना ।
  • राजनीतिक संक्रमणमा राज्यका अन्य निकायसँगको सन्तुलन ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले पदभार ग्रहण गर्नेबित्तिकै गत २४ असोजमा आफ्ना प्राथमिकता यसरी राखेका थिए, ‘न्यायपालिकाको सकारात्मक सुधार गर्ने, मुद्दाको चाप कम गर्ने र त्यसका लागि तत्काल न्यायाधीश नियुक्ति गर्ने ।’ नौमहिने कार्यकालको अन्त्यमा हेर्दा यीमध्ये कुनै पनि प्रतिबद्धतामा उनी खरो उत्रन सकेनन् । मुद्दाको चाप झन् बढ्यो । उनी नियुक्त हुँदा सर्वोच्चमा विचाराधीन मुद्दाको संख्या १९ हजार थियो । १८ असारसम्म त्यो संख्या २१ हजार ६ सय ४७ पुगेको छ । 

यति मात्र होइन, उनी आफैँ विवादित आदेशका हिस्सा बने । अवकाश पाउनै लाग्दा न्यायाधीश र कर्मचारीको व्यापक काज सरुवा गरेर साहले थप आलोचना खेपे । त्यसअघिका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको कार्यकाल न्यायाधीश नियुक्ति, कतिपय आदेश र फैसलाका कारण विवादास्पद रह्यो । उनका पालामा खस्किएको न्यायालयको छवि पुर्ताल गर्न साहको कार्यकाल स्मरणीय बन्न सकेन । 

२३ असारबाट त्यो कुर्सीमा पुग्दै छन्, कल्याण श्रेष्ठ, ६४ । नौ महिना न्यायपालिका प्रमुखका रूपमा रहँदा उनले गर्नुपर्ने कामको चाङ ठूलै छ । फेरि उनी यस्तो समयमा प्रधानन्यायाधीश बन्दै छन्, उनका पूर्ववर्तीहरूले बनाउनेभन्दा न्यायालय भताभुंग पार्नेमा नाम कमाए । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीका भनाइमा विगतको दु:खद अवस्था बिर्साएर न्यायालयको साख फर्काउनु नै उनीमाथि समयले दिएको प्रमुख दायित्व हो । “उहाँले फैसलाबाट गर्नुपर्ने धेरै कुरा गरिसक्नुभएको छ र छाड्नुपर्ने छाप/छवि छाडिसक्नुभएको छ,” रायमाझी भन्छन्, “अबको समय म केही गर्दिनँ भनेर पुरानै दैनिकीका साथ दिन गुजार्न पनि सक्नुहुन्छ । तर, न्यायपालिका सुधारका पक्षमा उहाँले के गर्नुहुन्छ भन्ने कुरा नै प्रमुखत: मूल्यांकनको विषय बन्नेछ ।”

श्रेष्ठका सामु पनि तिनै चुनौती छन्, जो साहका सामुन्ने थिए । फरक यत्ति हो कि साहले नगरेका कामको भारी पनि श्रेष्ठलाई नै सरेको छ । सर्वोच्चमा बढ्दो मुद्दाको चाप घटाउने, त्यसका लागि तत्काल न्यायाधीश नियुक्त गर्ने, नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप र कार्यकर्ता भर्तीको आरोपप्रति सजग रहने श्रेष्ठका तत्कालका कार्यभार हुन् । यी कार्यभार उनका सामान्य प्रयासबाट सम्भव हुन सक्छन् । मूलत: अदालतले सधैँ खेप्दै आएको भ्रष्टाचारको आरोपको सम्बोधन गर्ने, विगतमा तीव्र विवादका बीच नियुक्त न्यायाधीशहरूको व्यवस्थापन र भ्रष्टाचार मुद्दामा सर्वोच्चले विगतमा बसालेको पद्धतिबाट विचलित हुन खोजेको त होइन भन्ने आशंकाको शमन गर्ने काम चुनौतीपूर्ण छन् । 

हुन पनि आजसम्म न्यायाधीश श्रेष्ठको क्षमता, योग्यता र निष्ठामा कसैले प्रश्न उठाउन सकेको छैन । वकिलहरू उनलाई मुद्दा बुझ्ने न्यायाधीशका रूपमा चिन्छन् । इजलासमा मात्र होइन, अन्य मञ्चमा समेत उनको वाक्पटुता र तर्कशक्तिबाट लट्ठिने धेरै छन् । पछिल्लो संसदीय सुनुवाइ विशेष समितिमा पनि उनको त्यही क्षमताका कारण धेरै सभासद् अवाक् बने । 

Sunday, July 12, 2015

अकर्मण्य प्रधान्यायाधीश कि बार नेतृत्व ?


न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्न नसकेको भन्दै न्यायिक नेतृत्वको आलोचना गर्ने वकिल र बार पदाधिकारी जति पनि भेटिन्छन्। ‘अदालतमा ढिलासुस्ती भयो, जनताले न्याय पाएनन्’ भनेर बार एसोसिएसनले सम्झाएको सम्झायै छ। न्यायपालिकाको नेतृत्व अकर्मण्य भएको आरोप लगाइँदै छ। हो, न्यायपालिकाको नेतृत्वमा पछिल्ला केही वर्षयता अकर्मण्यता देखिएकै हो। तर, बारको प्रतिनिधित्व गरेर न्यायपरिषद् सदस्य भएका उपेन्द्रकेशरी न्यौपानेले राजीनामा दिएको ६ महिना पुग्दै छ।

आफ्नो कोटाबाट पठाउनुपर्ने एक जना विज्ञ कानुन व्यवसायीलाई सदस्यका रूपमा सिफारिस गर्न नसक्ने बार नेतृत्वले यो पनि बुझ्नुपर्ने हो कि औँला आफूतिर पनि फर्किन सक्छ। कांग्रेस–एमाले मतभेद, कांग्रेसभित्रैका दुई खेमाको विवाद अनि बार नेतृत्वको व्यक्तिगत आकांक्षाको सिकार त्यो संवैधानिक निकाय भइरहेको छ। आफू व्यक्तिगत, पार्टीगत र गुटगत स्वार्थबाट बाहिर आउन नसक्ने, त्यही कारणले राज्यसंयन्त्रमा पुगेको क्षतिप्रति आँखा चिम्लने तर आफूले कतै जवाफ दिनु नपर्ने। अनि, सधैँभर अरूतिर मात्र औँला सोझ्याएर बस्न मिल्छ ?

Saturday, July 11, 2015

कृष्णहरि बाँस्कोटाज्यू, धोकेबाज सचिवलाई के कारवाही हुन्छ ?


न्यायालयभित्र सबैभन्दा अपारदर्शी, रूढिग्रस्त र जवाफदेहिताविहीन संस्था न्यायपरिषद् हो भन्ने आलोचना त पुरानै हो। तर, यस संस्थामा रहने व्यक्तिहरूको साँघुरो सोचको सामना खासै धेरै गर्नुपरेको थिएन। यसअघिका न्यायपरिषद् सचिवहरू काशीराज दाहाल, प्रकाशकुमार ढुंगाना, जीवनहरि अधिकारीलगायतले हाम्रो अनुरोधको सम्बोधन व्यावहारिक तवरले नै गर्न खोज्थे। सकेको मद्दत गर्थे, नसकेको यस कारणले गर्न सकिएन भन्थे। कतिपय खुला दस्तावेजमा पनि हाम्रो आँखा नपुगेको हुन सक्थ्यो। त्यस्तो बेलामा उनीहरू यस्तोमा पनि किन हामीबाटै सूचना लिन खोज्नुहुन्छ, फलानो दस्तावेज वा प्रकाशन हेर्नूस् न भनेर पनि बाटो देखाइदिन्थे। तर, न्यायपरिषद्का निमित्त सचिव कृष्ण गिरीले विगतका ती अनुभवलाई पूरै बिर्साइदिए।


प्रसंग न्यायालयभित्रको दण्डहीनतासम्बन्धी रिपोर्टिङको हो। न्यायाधीशविरुद्ध परेका उजुरी, छानबिन र कारबाहीको सालबसाली तथ्यांक माग्न जाँदा उनले सजिलै भने, “यस्तो विवरण पाउन सम्भव छैन।” आदरपूर्वक थप जोडबल गरेँ। गिरीले सम्बन्धित फाँटका कर्मचारी बोलाएर सोधे, ‘यस्तो विवरण दिन सम्भव छ र ?’ ती कर्मचारी तीन बित्ता उफ्रेर भन्न थाले, ‘यस्तो त कहाँबाट पाउनु ? कसरी दिनू ? सम्भवै छैन। 


उनको प्रस्तुति हेर्दा लाथ्यो, वार्षिक प्रतिवेदनमा नियमित प्रकाशित हुनुपर्ने विवरण माग्नु भनेको राज्य विप्लवको तयारी हो। मलाई सह्य हुने कुरै थिएन। केही बेर चर्काचर्की चल्यो। गिरी लचिलो भए, “ठीकै छ, नतात्तिनूस्। तपाईंको मागबारे के गर्न सकिन्छ, म हेर्छु।” उनले साँझसम्म विवरण उपलब्ध गराउने वचन दिए। म पनि ढुक्क भएँ। तर, त्यसपछि न उनले त्यो विवरण दिए, न त विवरण दिन नसक्नाका कारण बताए। मौखिक वचनको भर पर्दा पाइएको धोकाविरुद्ध उजुरी कहाँ दिनू ? 

यस्ता धोकेबाज सचिवलाई के कारवाही हुन्छ, सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाज्यू ?


Thursday, July 9, 2015

दक्षिण ढल्केकै हो सर्वोच्च अदालत ?


४ असार २०७२, दिउँसो। न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलास, सर्वोच्च अदालत। 

इजलासमा वकिलको बहस सकिएर न्यायाधीश आदेश दिन ठीक्क परेका थिए। यत्तिकैमा अर्कै मुद्दाको बहसका लागि पक्षहरू इजलास छिर्न थाले। त्यसरी छिर्नेमा कानुन व्यवसायी पनि थिए। त्यसो त खुला इजलासमा को पस्न पाउने र को नपाउने भन्ने हुँदैन। जोसुकैले अदालतमा भएका बहस सुन्न पाउँछन्। इजलासमा उपस्थित हुन पाउँछन्। तर, त्यस दिन न्यायाधीश लालले रुलिङ गरे, ‘विद्वान्हरू आउनुभएको रहेछ। एकछिन बाहिर गइदिनूस् न!’

त्यो सुनेर वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले असजिलो मानेर मुखामुख गरे। न्यायाधीश लालले प्रस्ट पार्न खोजे, ‘मैले अन्यथा भन्न खोजेको होइन। प्राकृतिक प्रकोपको बेला छ। त्यसैले भनेको।’

बीचैमा कसैले प्रश्न गर्‍यो, ‘के यो घर पनि चर्केको छ र ?’

‘हो, ढल्केको छ,’ अरू कसैले भन्यो।

नेपाल बारका पूर्वअध्यक्ष थापाले ख्यालख्यालमै टिप्पणी गरे, ‘यो घर दक्षिणतिर ढल्केको छ भन्छन्।’

अधिवक्ताद्वय बाहिरिए। केही बेरमा त्यही इजलासबाट अन्तरिम आदेश जारी भयो, ‘दलहरूबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्नू।’


सर्वोच्च अदालतको मूल भवन भूकम्पले क्षतिग्रस्त भएकाले हिजोआज मुद्दाको सुनुवाइ पहिला न्यायपरिषद् सचिवालय रहेको एनेक्स भवनमा हुन्छ। लिफ्टलगायत सुविधा पनि छन्, भवनमा। तुलनात्मक रूपमा यो भवन आकर्षक र सुरक्षितजस्तो देखिन्छ। प्राविधिक जाँचपछि नै यहाँ अदालत सारिएको हो। यहाँ पनि सुरक्षाको अनुभूति छैन भने अरू सुरक्षात्मक उपाय अपनाइयोस्। कामना गरौँ, भवन कतै नढल्कियोस्। ढल्केको आभास पनि नहोस्। 
नेपाल अंक ६५३ | २०७२ असार २०

Sunday, July 5, 2015

राजनीतिक विवादमा अदालत





‘स्वस्थ र सुव्यवस्थित राजनीतिक परम्परा विकास नभई र त्यसो गर्नेतर्फ ध्यान नदिई हरेक राजनीतिक विवादमा अदालतलाई समावेश गराउन खोज्ने र अदालत समावेश हुँदै जाने हो भने देशको राजनीति, जनताको भावना, मनस्थिति र संवेदनाबाट टाढा जान सक्छ । अदालतबाटै राजनीतिक प्रक्रिया सञ्चालन गर्ने प्रवृत्तिको विकास हुँदा जनता, जनमत र जनभावनाको भूमिका घट्दै जाने र जनता देशको राजनीतिक व्यवस्थाप्रति उदासीन र निष्क्रिय हुन सक्छन् ।’


१८ कात्तिक ०६४ मा तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद गिरीको एकल इजलासबाट भएको निर्णयको एक अंश हो यो । अन्तरिम संविधानको धारा १३८ बमोजिम राज्य पुन:संरचना आयोग तत्काल गठन गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई त्यतिबेला प्रधानन्यायाधीश गिरीले इजलासमै भनेका थिए, ‘यो राजनीतिक विषय हो । कतिखेर कुन तरिकाले गर्ने (आयोग गठन) भन्ने कुरा सरकारको सन्तुष्टिको विषय हो । र, संविधानसभाको अधिकारक्षेत्रको कुरा हो । आयोग गठन गर्नैपर्ने लाग्यो भने तपाईंजस्ता विद्वान् प्रधानमन्त्रीकहाँ जुलुस लिएर जानूस्, दबाब दिनूस् । अदालतले बोल्न मिल्दैन ।’


उक्त रिट प्रारम्भिक सुनुवाइकै दिन अदालतले खारेज मात्र गरेन, धारा १३८ बारे अदालतमा प्रवेश गर्न नपाइने ‘रुलिङ’ नै गर्‍यो । गिरीको उक्त फैसलामा भनिएको छ, ‘आयोगको गठन यति समयभित्र गरिसक्नुपर्छ भनी संविधानमा कहीँकतै उल्लेखसमेत छैन र यो सरकारको सन्तुष्टिमा भर पर्ने विषयवस्तु हो, जुन नितान्त राजनीतिक प्रकृतिको देखिन्छ ।’ यसलाई अदालतबाट निरूपण नै हुन नसक्ने विषयवस्तु भन्दै हस्तक्षेप गर्न नमिल्ने सर्वोच्चको ठहर छ ।


पछिल्लोपल्ट ४ असारमा सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले संविधानको त्यही धारामा टेकेर राजनीतिक दलहरूबीच भएको १६ बुँदे सहमति कार्यान्वयनलाई नै रोक लगाइदियो । एकातिर दलहरूबीच भएको राजनीतिक लेनदेनको दस्तावेजमा अदालतको आदेश, अर्कोतिर विगतमा उस्तै विवादमा भएका फैसलासँग अमिल्दो । त्यसमाथि विगत १० वर्षदेखिको संविधान निर्माणको पट्यारलाग्दो यात्रालाई बल्लतल्ल निष्कर्ष दिने आशामाथि प्रहार । यही कारण न्यायाधीश लालद्वारा जारी अन्तरिम आदेश विवादमा मात्र परेको छैन, सिंगो न्यायालयको भूमिकामाथि नै प्रश्न उठेको छ ।


विशेषत: १६ बुँदे सहमतिले संविधान बन्ने सम्भावना बढेको थियो तर अदालतको पछिल्लो आदेशले त्यसलाई चुनौती दिएको छ । १६ बुँदे सहमतिप्रति केही राजनीतिक दलको असन्तुष्टि र कतिपय शक्तिकेन्द्रका आशंकापूर्ण कसरतकै बीच अदालतको यो आदेश आएको छ । राजनीति ध्रुवीकृत भएको विषयमा एउटा पक्षलाई राहत पुग्ने खालको आदेश जारी गर्दा अदालतको निष्पक्षतामाथि प्रश्न त उठेकै छ, विगतमा यही संस्थाले प्रतिपादन गरेका सिद्धान्त, नजिर र स्वयं न्यायाधीश लालकै पूर्वमान्यतासँग पनि मेल नखाँदा विवाद झन् बढाइदिएको छ । अधिवक्ता भीमार्जुन आचार्य पछिल्लो प्रकरणलाई अदालतले गरेको राजनीतिको संज्ञा दिन्छन् । भन्छन्, “संसारभर नै न्यायालयले राजनीति गर्छ । धेरै देशका न्यायालय देश र जनताको हितमा गर्छन् तर हामीकहाँ धेरैजसो अहितमा गरेको छ । पछिल्लो आदेश त्यस्तै राजनीतिको एउटा कडीजस्तो देखिन्छ ।”



आफ्नै मान्यताविपरीत
दोस्रो संविधानसभाको निर्वाचनपश्चात् राष्ट्रपति र उपराष्ट्रपतिको पुन: निर्वाचन गर्नुपर्ने आवाज राजनीतिक तहमा उठ्यो । यो विषय पनि अदालत प्रवेश गर्‍यो, संविधानसभा कायम रहुन्जेल राष्ट्रपति र उपराष्ट्रपति रहने भन्ने व्यवस्था आवधिक एवं विश्वव्यापी लोकतान्त्रिक मान्यताको विरुद्ध रहेको दाबीसहित । संविधानसभाले संविधान नबनाएसम्म राष्ट्रपति/उपराष्ट्रपति कायम रहने व्यवस्था पहिलो संविधानसभाको अवधिलाई आधार मानेर गरेको र दोस्रो संविधानसभा आइसकेपछि परिस्थिति भिन्न भएकाले नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुनिनुपर्ने दाबी अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदनमा गरेका थिए । 



९ माघ ०७० मा लालको एकल इजलासले राजनीतिक विषय भन्दै उक्त रिट खारेज गरिदियो । “जुन विशुद्ध संवैधानिक र कानुनी विषय थियो । अदालतले संविधान व्याख्या गर्नुपर्ने विषयमा दिनभरि बहस सुनेर कारण देखाउ आदेशसमेत जारी नगरी रिट खारेज गरियो,” अधिवक्ता अर्याल भन्छन्, “अहिले तिनै न्यायाधीशले विशुद्ध राजनीतिक विषयमा अन्तरिम आदेश जारी गर्दा निष्पक्षता कायम गर्न नसकेको देखियो ।”


यस्ता अरू पनि दृष्टान्त छन्, जुन विगतका उस्तै विवादमा लालले गरेका आदेश र फैसलाहरूसँग एकरूपता (कन्सिस्टेन्सी) देखिँदैन । यिनै चार दलले ३० फागुन ०६९ मा ११ बुँदे सहमति गरे । त्यही सहमतिमा आधारित भएर उच्चस्तरीय राजनीतिक समिति गठन र बाधा अड्काउ फुकाउको आदेश तयार भयो, जुन पछि संविधानकै अंग बन्यो । राजनीतिक समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने सिफारिस गर्‍यो । कार्कीको सिफारिसविरुद्ध अर्यालले नै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरे । न्यायाधीश सुशीला कार्कीको एकल इजलासबाट कार्कीको नियुक्ति रोक्न अन्तरिम आदेश जारी पनि भयो । तर, न्यायाधीश लाल र तर्कराज भट्टको इजलासले राजनीतिक समितिको संवैधानिक र कानुनी मान्यता नरहेको, उक्त समितिको सिफारिसकै आधारमा आदेश गर्नु अपरिपक्व हुने ठहर गर्‍यो, १६ वैशाख ०७० मा । उक्त ठहरसँगै कार्कीद्वारा जारी अन्तरिम आदेश बदर मात्र भएन, रिट निवेदन नै खारेज भयो । “त्यतिखेर उच्चस्तरीय राजनीतिक समितिले गरेको कार्यलाई राजनीतिक निर्णय हो र कानुनी हैसियत छैन भनियो । दिइसकेको आदेश पनि खारेज गरियो । अहिले तिनै चार दलको राजनीतिक दस्तावेजलाई आधार मानेर अन्तरिम आदेश जारी गरिएको छ,” अर्याल भन्छन्, “कानुनी र संवैधानिक मान्यता नभएको, विशुद्ध राजनीतिक दस्तावेजलाई हेरेर आदेश गरिएको छ ।”


मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ सभासद् पिछडिएको समुदाय र क्षेत्रका प्रतिनिधि वा कुनै दलमा आबद्ध नभएका विज्ञ हुनुपर्ने, तिनका लागि संविधानसभामा अलग्गै कार्यालय र बेन्च राखिनुपर्ने आदेश न्यायाधीशद्वय रामकुमारप्रसाद साह र कल्याण श्रेष्ठको इजलासबाट जारी भएको आदेश पुनरावलोकनको माध्यमबाट उल्टाउने इजलासको नेतृत्व लालले नै गरेका थिए । २६ सभासद्को मनोनयन सरकारको स्वविवेकीय अधिकार रहेको र यो विशुद्ध राजनीतिक विषय भएकाले यसमा अदालत प्रवेश गर्नु उचित हुँदैन भनेर २९ वैशाख ०७१ मा फैसला उनले नै लेखेका थिए । “यसले उनी राजनीतिक मुद्दामा हात हाल्ने, अर्को निकायको अधिकार क्षेत्रमा प्रवेश गर्ने र हस्तक्षेप गर्ने मान्यताबाट टाढा रहेको देखिन्छ,” नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई भन्छन्, “के कारणले हो, ४ असारको आदेश अस्वाभाविक मात्र छैन, निष्क्रिय भइसकेको संविधानको धारामा टेकेर गरिएको छ ।”



राजनीतिमा अदालत
प्रमुख चार राजनीतिक दलबीच २५ असारमा भएको १६ बुँदे सहमतिलाई आधार मानेर संघीयताको स्पष्ट खाका, प्रदेशको नामांकन, सीमांकन र अधिकार बाँडफाँट नगरी संविधान जारी गर्न लागेको आशंकामा अदालतले ४ असारको अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता विजयकान्त कर्णद्वारा दायर रिट निवेदनमा पहिलो सुनुवाइमै न्यायाधीश लालले उक्त आदेश जारी गरेका हुन् । आदेशको मूल खण्डको प्रारम्भिक वाक्यमै ‘संघीयता र प्रदेश संरचनासम्बन्धमा केही दलबीच भएको १६ बुँदे सम्झौता अनुसारको संविधानसभाबाट अपनाइएको प्रक्रिया’लाई ‘वर्तमान संवैधानिक प्रक्रिया र व्यवस्थाविपरीत’ भनिएको छ । साथै, संविधानसभा, व्यवस्थापिका संसद् र राजनीतिक दललगायत राज्य र राज्यले स्थापना गरेका निकायहरू संविधान र कानुनबमोजिम सञ्चालित हुनुपर्ने स्मरण गराइएको छ । 



नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्त प्रदेशहरूको सीमा, संख्या, नाम र संरचनाका अतिरिक्त केन्द्र र प्रदेशका सूचीहरूको पूर्ण विवरण, साधन स्रोत र अधिकारको बाँडफाँट संविधानसभाबाट गरिनेछ भन्ने अन्तरिम संविधानको धारा १३८ (१क)लाई उद्धृत गर्दै त्यो व्यवस्था पालना नगरी संविधान जारी गर्ने चेष्टा भएमा संविधानविपरीत हुने अदालती आदेशमा छ । साथै, धारा ८२ मा संविधान जारी भएपछि संविधानसभाको काम समाप्त हुने र राज्यको अग्रगामी पुन:संरचना हुनुअगावै संविधानसभा विघटन हुनु पनि संविधान अनुकूल नहुने आदेशमा उल्लेख छ । यसरी संविधान जारी हुँदा विवाद हुने, राष्ट्रको शान्ति व्यवस्थामा खलल पुग्ने अर्को द्वन्द्व निम्त्याउन सक्ने आशंकासमेत आदेशमा गरिएको छ । तर, शान्तिमा खलल पुर्‍याउने र द्वन्द्व निम्तिने आशंकाका आधार के हुन् भन्नेचाहिँ स्पष्ट छैन ।


अन्तरिम आदेशमा उल्लिखित अन्तरिम संविधानको धारा १३८ बमोजिम राज्य पुन:संरचना आयोग गठन भई अघिल्लो संविधानसभामा प्रतिवेदन पेस भइसकेको छ । “त्यो प्रतिवेदन मान्ने/नमान्ने संविधानसभाको स्वविवेकीय अधिकार हो,” अधिवक्ता भट्टराई भन्छन्, “आयोगले काम पूरा गर्नेबित्तिकै त्यो धारा निष्क्रिय भइसकेको छ । निष्क्रिय धाराका आधारमा अन्तरिम आदेश जारी हुनै सक्दैन ।” उनकै भनाइमा, राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई संविधानत: संविधानसभाले चिन्दैन, जुन त्यो राजनीतिक दलहरूबीचमा गरिएको सम्झौता पूर्ण रूपमा राजनीतिक प्रकृतिको हुने भएकाले न्यायिक पुनरावलोकनको विषय हुन सक्दैन ।


रोकिएन संविधानसभा
शासकीय स्वरूप, राज्यको पुन:संरचना, निर्वाचन प्रणाली र न्यायप्रणालीजस्ता संविधानका महत्त्वपूर्ण अन्तरवस्तुमा दलहरूबीच सहमति कायम हुन नसक्दा पहिलो संविधानसभा विघटन भयो । दोस्रो सं्रविधानसभाको पहिलो एक वर्षभित्र संविधान जारी गरिसक्ने राजनीतिक दल र संविधानसभाको प्रतिबद्धता पनि खेर गयो । ढिलो गरी २५ वैशाखमा संविधानसभाको तीन चौथाइभन्दा बढी मत भएका मुलुकका प्रमुख चार राजनीतिक दलहरू विगत लामो समयदेखिको विवादलाई सुल्झाउँदै १६ बुँदे सहमतिमा पुगे । सहमतिको २ र ३ नम्बर बुँदामा आठ प्रदेशको संघीय संरचना बनाउने, प्रदेशको नाम प्रदेश सभाले निर्धारण गर्ने र सिमानाबारे सुझाव दिन आयोग गठन गर्ने, जसले ६ महिनाभित्र प्रतिवेदन दिने उल्लेख छ ।



सहमतिका यिनै बुँदालाई जातीय र क्षेत्रीय मताधार भएका संविधानसभाका केही ससाना राजनीतिक दलहरूले धोकाको संज्ञा दिँदै विरोध जनाएका छन् । जुन विषयमा राजनीति धु्रवीकृत भएको थियो, त्यसलाई अदालतले संवैधानिक विवादको रूपमा ग्रहण गरेर न्यायिक विवेचना गरी तत्कालै आदेशसमेत गर्नाले दुई पक्षमध्ये एउटा खुसी भएको छ भने अर्को आक्रोशित । अदालतको आदेशले फाइदा पुग्ने पक्ष खुसी हुनु र अर्को पक्ष असन्तुष्ट हुनु नौलो कुरा भएन । तर, सर्वोच्चको उक्त आदेश राजनीतिक प्रकृतिको देखिएको र त्यसले संविधानसभाको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै कार्यान्वयन नै गर्नु नपर्ने निष्कर्षमा दलहरू पुगेका छन् । अदालतको आदेशका कारण संविधानसभाका काम रोकिएका पनि छैनन् । संविधान मस्यौदा समितिले उपसमिति र कार्यदल गठन गरी मस्यौदालाई अन्तिम रूप दिने तयारी गरिरहेका छन् । संविधानसभाको पूर्ण बैठक १४ असारमा बोलाइएको छ ।


प्रमुख राजनीतिक दलका नेता र सरकारकै मन्त्रीहरूले अदालती आदेशप्रति असन्तुष्टि प्रकट गरेका छन् । यो आदेशलाई राजनीतिक वा अन्य शक्तिकेन्द्रको प्रभावमा आएको भन्नेदेखि अदालतले राजनीति गर्न खोजेको भन्नेसम्मका प्रतिक्रिया सार्वजनिक भएका छन् । सरकारले उक्त अन्तरिम आदेश खारेजीका लागि निवेदन दायर गर्ने कानुनमन्त्री नरहरि आचार्यले बताएका छन् । सहमतिमा हस्ताक्षरकर्तामध्येका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले त सर्वोच्चको आदेश प्रायोजित भएको टिप्पणीसमेत गरे । ११ असारमा विराटनगर पुगेर उनले अदालतको आदेशतर्फ संकेत गर्दै भने, “विभिन्न शक्तिकेन्द्र संविधान निर्माण हुन नदिने खेलमा लागेका छन् ।”



चुनौती नयाँ नेतृत्वलाई 
यही २३ असारबाट प्रधानन्यायाधीशको पदमा बहाल हुँदै छन्, वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठ । २ असार ०७२ मा उनीसमेत रहेको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट)ले न्यायाधीशमाथि छानबिन र अनुगमन गर्न संसदीय समिति गठन गर्ने दलहरूबीचको १६ बुँदे सहमतिप्रति असन्तुष्टि प्रकट गर्‍यो । यसबाट के प्रस्ट हुन्छ भने पछिल्लो चर्चित विवादलाई लालको इजलासमा पेसी तोक्ने प्रधानन्यायाधीश रामकुमारप्रसाद साह मात्र होइन, आगामी न्यायिक नेतृत्व पनि १६ बुँदे सहमतिप्रति सकारात्मक बन्न मुस्किल छ ।



न्यायपालिकामाथिको संसदीय अंकुश हटाउनका लागि दबाबस्वरूप पछिल्लो आदेश आएको हुन सक्ने अनुमान गर्नेहरूको पनि कमी छैन । नेपाल बार एसोसिएसनले पनि अदालतभित्रका विसंगति नियन्त्रण गर्न अरू नै उपाय अपनाउनु उचित हुने तर संसदीय समितिको अधीनस्थ हुने/देखिने खालको व्यवस्था संविधानमा राख्न नहुने भन्दै २ र १० असारमा अलगअलग विज्ञप्ति जारी गरिसकेको छ । यसले १६ बुँदेको संशोधनका लागि दबाब बढाएको छ । तर, संविधान निर्माणकै गतिलाई कसैले अवरुद्ध गर्छ भने विगत नौ वर्षदेखिको प्रयास सफल हुन नसकेकामा एकमुष्ट दोष आइलाग्ने जोखिम पनि उत्तिकै रहेको छ । अधिवक्ता आचार्य भन्छन्, “यो मुद्दा अझै विचाराधीन भएकाले संविधान जारी गर्दासम्म कुनै पनि बेला प्रयोग गर्ने खतरा रहेको छ । संविधान निर्माणमा कुनै बाधक छ भने यही मुद्दा बन्ने देखिन्छ ।” 


- - - - - - - - -


संघीयता कार्यान्वयन नहुने हो कि, प्रदेशलाई अधिकारसम्पन्न नबनाइने हो कि भन्ने चिन्ता अदालतको आदेशमा देखिन्छ । मुलुकमा द्वन्द्व र अस्थिरता बढ्ने हो कि भन्ने अनुमान पनि छ । यो चिन्ता र अनुमान स्वाभाविक देखिए पनि अदालतको क्षेत्रभित्रको विषय होइन । राजनीतिक दलले गरेको कबुल पूरा भए/नभएको हेर्ने, मूल्यांकन गर्ने र दण्डित वा पुरस्कृत गर्ने जनता नै हुन् । यस्ता कुरामा न्यायालय निरपेक्ष रहँदा नै मर्यादा र गरिमा रहन्छ ।


- चन्द्रकान्त ज्ञवाली, अधिवक्ता



- - - - - - - - -


१६ बुँदे राजनीतिक दस्तावेज भए पनि यसका २ र ३ नम्बर बुँदा संविधानसँग प्रत्यक्षत: सम्बन्धित छन् । संविधानसभाले संघीयताको स्पष्ट खाका पेस नगर्ने तर आयोगले ६ महिनापछि दिने प्रतिवेदनका आधारमा रूपान्तरित संसद्ले संघीय संरचना तय गर्ने भन्ने बिलकुल असंवैधानिक कुरा हो । संविधानसभा आफँैमा सार्वभौम र संसद्भन्दा अतिरिक्त अधिकार राख्ने निकाय हो । यो आफ्नो काम सकेपछि स्वत: विघटन हुन्छ तर आफूले नगरेको काम अर्कोलाई सुम्पेर वा अधिकार प्रत्यायोजित गरेर पन्छिन पाउँदैन ।


- बलराम केसी, पूर्वन्यायाधीश
सर्वोच्च अदालत




के केसम्म भयो ?
संविधान र कानुनको व्याख्याका क्रममा नजिर र सिद्धान्त प्रतिपादन, मानव अधिकार रक्षा र निरंकुशतामा अंकुश लगाउन महत्त्वपूर्ण भूमिका खेलेका प्रशस्त उदाहरण हुँदा हुँदै नेपालको न्यायालयले बेलाबेला कोरा राजनीतिक विषयमा प्रवेश गरेका कारण विवादित हुँदै आएको छ । सर्वोच्चकै आदेशका कारण राजनीतिक समीकरणहरू उथलपुथल भएका छन् । राजनीतिको स्वाभाविक गतिमा बिराम लागेको छ ।



०४७ को संविधान जारी भएपछिको सबैभन्दा चर्चित मुद्दा १२ भदौ ०५२ को फैसलाका कारण न्यायालय विवादित बन्यो । यो फैसला बढी विवादित बन्नुको कारण त्यसअघि यस्तै प्रकृतिको रिटमा सर्वोच्चले विघटनको पक्षमा फैसला सुनाउनु थियो । आफ्नै पार्टीभित्रको बेमेल अनि विपक्षीको अविश्वास प्रस्तावको तयारीकै बीच तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो पदबाट राजीनामासँगै २६ असार ०५१ सालमा संसद् विघटनको सिफारिस गरे । दरबारले संसद् विघटन अनुमोदन गर्‍यो । त्यो विषय अदालत प्रवेश गर्‍यो । तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहित ११ सदस्यीय विशेष इजलासले २७ भदौ ०५१ मा विघटनलाई कानुनी मान्यता प्रदान गर्‍यो । राजनीतिक कारणले औचित्य वा पर्याप्तताको क्षेत्रभित्र अदालतले प्रवेश गरी शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम मूल्यांकन गर्न नमिल्ने ठहर अदालतले गरेको थियो । 


२६ जेठ ०५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा विघटनको सिफारिस गरे । सिफारिस दरबारले अनुमोदन गर्‍यो । प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेपछि अधिकारीले विघटनको सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परे । तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहित ११ सदस्यीय विशेष इजलासले १२ भदौ ०५२ को सिफारिसलाई असंवैधानिक ठहर गर्‍यो । फैसलापछि प्रतिनिधिसभा पुन:स्थापित मात्र भएन, अधिकारीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । विश्वासको मत लिन असफल भएपछि एमाले सरकार ढल्यो । त्यसपछिको संसदीय विकृति र अस्थिरताको कारकमध्ये एक उक्त फैसलालाई पनि मान्ने गरिएको छ ।


पार्टीमा आन्तरिक बेमेल बढ्दै गएपछि ८ जेठ ०५९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसद् विघटन गरे । तत्कालीन राजा ज्ञानेन्द्रले पनि उनको सिफारिस सदर गरे । विघटनविरुद्ध सर्वोच्चमा तीनवटा रिट दायर भए । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायसहित ११ सदस्यीय विशेष इजलासले राजनीतिक प्रश्न भन्दै न्यायिक निरूपण गर्नु नपर्ने ठहर गर्‍यो । राजनीतिक परिवेश, शक्तिकेन्द्रको मनोभावना र कतिपय न्यायाधीशका आफ्नै राजनीतिक लगावका आधारमा बेलाबेलामा यस्ता फैसला/आदेश आउँदा अदालत विवादमा पर्दै आएको छ ।


पछिल्लोपल्ट संविधानसभाको म्यादसम्बन्धी विवादहरूले अदालतलाई राजनीतिक विवादमा तानिरह्यो । ११ जेठ ०६८ र ११ भदौ ०६८ मा सर्वोच्चले संविधानसभाको एक–एक वर्ष कार्यकाल थप्ने कार्य आवश्यकताको सिद्धान्त अनुसार उपयुक्त रहेको ठहर गर्‍यो । ९ मंसिर ०६८ मा भने पहिलाको म्याद थपलाई मान्यता दिँदै अन्तिमपटकका लागि थप ६ महिना नबढ्ने गरी संविधानसभाको म्याद लम्ब्याउन सकिने फैसला गर्‍यो । यसलाई एकथरीले संविधानसभाको म्याद बढाउन पहिल्यै हरियो बत्ती देखाइदिएको आरोप लगाए भने केहीले सार्वभौम संविधानसभाको अधिकारलाई सीमित गरेको टिप्पणी गरे । सर्वोच्चबाट पाएको सहुलियतको उपयोग गर्दै १४ मंसिर ०६८ मा संविधानसभाको म्याद ६ महिना थपियो तर पनि त्यस अवधिमा संविधान निर्माण पूरा नहुने भएपछि दलहरूले सरकारमार्फत पुन: तीन महिना म्याद थप्ने विधेयक संविधानसभा सचिवालयमा दर्ता गराए । तर, ११ जेठ ०६९ मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले उक्त विधेयक निष्क्रिय हुने अन्तरिम आदेश जारी गरिदिए । र, १४ जेठ ०६९ मा संविधानसभा नै विघटन भयो । उनको यो आदेशलाई लिएर पक्ष र विपक्षमा जनमत बाँडियो । रेग्मी भन्छन्, “अन्त्यहीन रूपमा लम्ब्याइएको निष्फल खेललाई कुनै न कुनै विन्दुमा कसै न कसैले ब्रेक लगाउनुपर्ने थियो, सर्वोच्चले त्यही गरेको हो ।”


पछि दलहरूकै सहमतिमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष तिनै रेग्मी भएपछि भने उनका त्यसअघिका आदेश र फैसलाहरू कुनै राजनीतिक अभीष्टबाट निर्दिष्ट थिए कि भनेर प्रश्न गर्नेहरू अद्यापि रहेका छन् । रेग्मीको सिंहदरबार प्रवेशको विरोध गर्दै आएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई भन्छन्, “बेलाबेला राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरूले न्यायालयलाई यस्ता विवादमा मुछ्न खोज्छन् । न्यायपालिका प्रमुखलाई कार्यकारी प्रमुख बनाएर खुलमखुला राजनीतिमा न्यायालयलाई आमन्त्रण गरियो । त्यो भूकम्प थियो भने पछिल्लो आदेश त्यसैको परकम्प हो ।”
अंक ६५२ | २०७२ असार १३