Wednesday, June 9, 2010

माधवको रिस झलनाथमाथि !


संविधानसभाको म्याद दुई दिन मात्रै बाँकी रहँदा जेठ १२ गते प्रधानमन्त्री माधव नेपालसँग तीतो वार्ता सकेर तीन दलको दोस्रो चरणको बैठकमा पुगेका प्रचण्डले चर्को आक्रोश र निराशा व्यक्त गरे । प्रधानमन्त्री नेपाल माओवादी लडाकूका शिविर खाली नगरेसम्म राजीनामा नदिने अडानबाट टसमस नभएपछि माओवादी नेताहरू उनीप्रति रुष्ट बनेका थिए । त्यसक्रममा दुई शीर्ष नेताबीच व्यक्तिगत रूपमै आरोप-प्रत्यारोप भएको थियो । त्यही साँझ संविधानसभा भवनमा बसेको तीन दलीय बैठकपछि पनि माओवादी नेताहरू आक्रोशित मुद्रामै निस्िकएका थिए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बैठकबारे जानकारी दिन पत्रकारमाझ उभिइरहँदा अध्यक्ष प्रचण्ड आफ्नो निवास पुगिसकेका थिए ।

प्रचण्डले निवास पुग्नेबित्तिकै एमाले अध्यक्ष झलनाथ खनालसँग टेलिफोन वार्ता गरे । त्यस क्रममा उनले प्रधानमन्त्रीलाई राजीनामासमेत गराउन नसकेको भन्दै खनालमाथि चर्को असन्तोष पोखे । स्रोतका अनुसार, 'यस्तो दक्षिणपन्थी गठबन्धनलाई कतिञ्जेल बोक्न सक्नुहुन्छ' भन्दै प्रचण्डले खनालमाथि आफ्नो भरोसा टुटेको बताएका थिए । स्रोतका अनुसार, पार्टीभित्रबाट प्रधानमन्त्रीलाई राजीनामाका लागि दबाब सिर्जना गर्नुपर्ने सल्लाह प्रचण्ड र खनालबीच त्यसअघि भएको थियो । सडकबाट माओवादी र नागरकि समाजको दबाब, पार्टीभित्रबाट संस्थापनको दबाब परेपछि नेपालको राजीनामा आउने आकलन गरएिको थियो । तर, नेपाल टसको मस नभएपछि प्रचण्डले खनालमाथि आक्रोश पोखेको प्रचण्डनिकट स्रोतको भनाइ छ । प्रधानसेनापतिलाई कारबाही गरेको प्रकरणमा खनालले निर्वाह गरेको भूमिकासमेत सम्झाउँदै अध्यक्ष खनालमाथि प्रचण्डले एकोहोरो असन्तोष पोखेका थिए । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्न सुरुमा सहमति दिएका अध्यक्ष खनालले पछि कारबाही रोक्नका लागि राष्ट्रपतिलाई लेखिएको आठ दलको पत्रमा सही गरेका थिए । नेपाल नेतृत्वको सरकारप्रति अध्यक्ष खनाल सन्तुष्ट नभए पनि पार्टीमा फिर्ता बोलाउन सकेका छैनन् ।

प्रचण्ड आक्रोशित रूपमा प्रस्तुत भए पनि योग साधक खनाल भने संयमपूर्वक प्रस्तुत भएका थिए । उनले अझै समय बाँकी रहेको र निराश भइहाल्नु नपर्ने बताए । म्याद थपेर अगाडि बढ्नुको विकल्प नभएको र त्यसमा सरकार र माओवादी दुवै पक्ष लचिलो हुनुपर्ने खनालले बताएका थिए । खनालनिकट स्रोतका अनुसार, उनले प्रचण्डलाई प्रधानमन्त्रीको राजीनामाको प्रतिबद्धताका लागि आश्वस्त पारेका थिए । केही समयअघि खनालले यसबारे आफूनिकट केन्द्रीय नेताहरूसँग छुट्टै छलफलसमेत गरेका थिए ।

No comments:

Post a Comment