हामीले हाम्रा प्रजातिलाई होमो सेपियन्स अर्थात् ज्ञानी मानव भनेर नाम दिएका छौं । तर यस नामका लागि हामी साँच्चै योग्य छौं त ? यो प्रश्न विवादास्पद छ ।
पछिल्ला एक लाख वर्षमा मानवले निःसन्देह विशाल शक्ति हासिल
गरेको छ । हाम्रो खोज, आविष्कार र विजयहरूको सूची बनाउने हो भने त्यसले धेरै पुस्तकहरू
भरिनेछन् ।
तर शक्ति र बुद्धि (विवेक) एउटै कुरा होइनन् ।
यी एक लाख वर्षका खोज, आविष्कार र विजयहरूपछि पनि मानवता आज अस्तित्वकै
संकटमा छ । हामी आफ्नै शक्तिको दुरुपयोगका कारण पारिस्थितिकीय पतनको सिमानामा
पुगेका छौं । हामी कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरू विकास गर्न
व्यस्त छौं, जसले हाम्रो नियन्त्रणबाट बाहिर गएर हामीलाई नै दास बनाउने वा नष्ट
गर्ने सम्भावना बोकेको छ ।
हाम्रो प्रजातिले यी गम्भीर संकटहरूसँग एकजुट भएर सामना
गर्नुपर्नेमा उल्टै अन्तर्राष्ट्रिय तनावहरू बढ्दै गएका छन् । वैश्विक सहकार्य
कमजोर हुँदै गएको छ । राष्ट्रहरूले अझै पनि नयाँ परमाणु हतियार सञ्चित गरिरहेका
छन् र अर्को विश्वयुद्ध असम्भवजस्तो देखिँदैन ।
यदि हामी साँच्चै ज्ञानी मानव हौँ भने,
हामी किन यति आत्मविनाशक छौं त?
हामीसँग डीएनए अणुदेखि लिएर आकाशगंगासम्मको अद्भुत ज्ञान छ तर
यसले जीवनका यी मूल प्रश्नहरूको उत्तर दिएको छैन–
हामी को हौँ? हामी किन छौं? राम्रो
जीवन के हो र हामी कसरी बाँच्नुपर्छ?
आज पनि, विशाल जानकारीको युगमा बाँच्दाबाँच्दै, हामी
हाम्रा प्राचीन पुर्खाहरूझैँ कल्पना र भ्रान्तिमा सजिलै फस्छौं।
इतिहासका धेरै कालखण्डहरूमा मानव समाज सामूहिक पागलपनले ग्रस्त भएको छ । नाजीवाद र स्टालिनवाद यसैका प्रमाण हुन् ।
आजको मानवले पाषाण युगभन्दा असंख्य गुणा बढी शक्ति र
जानकारी हासिल गरेको छ तर यसले हामीलाई आफू र ब्रह्माण्डमा हाम्रो स्थान बुझ्न अझै
सक्षम बनाएको छैन।
प्रश्न उठ्छ, हामी जानकारी र शक्ति संकलन गर्नमा किन यति
सफल छौं तर विवेक प्राप्त गर्नमा किन असफल ?
धेरै दार्शनिक र धार्मिक परम्पराहरूले यस प्रश्नको उत्तर
खोज्ने प्रयास गरेका छन् । तीमध्ये धेरैले भन्छन्– हाम्रो स्वभावमै एउटा दोष छ, जसले
हामीलाई त्यस्तो शक्ति प्राप्त गर्न प्रेरित गर्छ, जसलाई हामी
नियन्त्रण गर्न सक्दैनौं ।
यस्तै एउटा ग्रीक मिथक हो– पाइथनको कथा।
पाइथनले पत्ता लगाउँछ कि ऊ सूर्य देवता हेलियसको पुत्र हो।
उसले आफ्नो दैवी उत्पत्तिलाई प्रमाणित गर्न चाहन्छ र सूर्य
देवताको रथ चलाउने अनुमति माग्छ ।
हेलियसले चेतावनी दिन्छन्, “कुनै पनि मानवले सूर्य रथका
आकाशीय घोडाहरूलाई नियन्त्रण गर्न सक्दैन।”
तर पाइथन अडिग रहन्छ । उसको अड्डीसामु अन्ततः देवता हार
मान्छन् र उसलाई अनुमति दिन्छन् ।
जब पाइथन गर्वका साथ आकाशमा उठ्छ, ऊ रथको
नियन्त्रण गुमाउँछ । सूर्यको तापले पृथ्वी जलाउन थाल्छ । वनस्पति सुक्छन्, प्राणीहरू मर्छन् र पृथ्वी ज्वालामुखीजस्तै डढ्न थाल्छ ।
त्यसपछि ज्युज हस्तक्षेप गर्छन् र बिजुली प्रहार गरेर
पाइथनलाई आकाशबाट खसाल्छन् ।
घमण्डी मानव आफ्नो आगोमा जलेर नष्ट हुन्छ ।
अन्ततः देवताहरूले फेरि आकाशको नियन्त्रण पुनः प्राप्त
गर्छन् र संसारलाई बचाउँछन् ।
यो कथा केवल मिथक होइन, मानव इतिहासको दर्पण हो।
आज पनि हामी पाइथनझैं व्यवहार गर्दैछौं । आफ्नो क्षमता
प्रमाणित गर्नका लागि शक्तिको रथ चलाउन खोज्दैछौं तर नियन्त्रण गुमाउने जोखिम
बोकेर।
दुई हजार वर्षपछि, जब औद्योगिक क्रान्ति आफ्नो पहिलो पाइला चाल्दै थियो र धेरै
कार्यहरूमा मेसिनहरूले मानवहरूको स्थान लिँदै थिए, जोहान वुल्फगाङ गोथेको प्रसिद्ध
कविता “द सोर्सरर्स एप्रेन्टिस”
प्रकाशित भयो । पछि वाल्ट डिज्नीले यस कथालाई मिकी माउसको भूमिकामा प्रस्तुत गरेर
विश्वव्यापी रूपमा लोकप्रिय बनाए ।
कवितामा एक बूढो जादूगरले आफ्नो युवा शिष्यलाई कार्यशालाको जिम्मेवारी दिँदै
केही साधारण कामहरू गर्छ । जस्तै, नदीबाट पानी ल्याउने । शिष्यले आफ्नो काम सजिलो
बनाउन जादू प्रयोग गर्छ र एक झाडूलाई जीवित बनाएर पानी ल्याउन पठाउँछ । उसले
झाडूलाई पानी ल्याउन त पठाउँछ तर रोक्ने मन्त्र जान्दैन । यसै कारण कार्यशाला
बाढीले डुब्न थाल्छ । आतंकित भएर उसले झाडूलाई बीचमा काट्छ तर दुवै टुक्रा जीवित
भएर दुई झाडू बन्छन् । बाढी दोब्बरले वृद्धि हुन्छ । अन्ततः बूढो जादूगर फर्केर
मन्त्र तोड्छ र स्थिति नियन्त्रणमा ल्याउँछ ।
कथाको शिक्षा हुन्छ, तिमीले नियन्त्रण गर्न नसक्ने शक्तिहरू कहिल्यै नबोलाऊ।
यो पुरानो चेतावनी आजको २१औं शताब्दीमा पनि सान्दर्भिक छ । हामी मानवहरूले यस
सन्देशलाई बेवास्ता गरेका छौं । हामीले पृथ्वीको जलवायु असन्तुलित बनाएका छौं । करोडौँ
जादूगरीका ड्रोन, रोबोट र एआई प्रणालीहरू सिर्जना गरेका छौं, जो कुनै पनि दिन
हाम्रो नियन्त्रणबाट बाहिरिन सक्छन् ।
यी कथाहरूले अर्को एउटा कुरा पनि सिकाउँछन्, मानिसले आफ्नो समस्या समाधानको
जिम्मेवारी अरू शक्तिहरू (देवता वा जादूगर) माथि सुम्पनु खतरनाक हुन्छ ।
सत्य त के हो भने देवता र जादूगरहरू पनि मानवकै सिर्जना हुन् । ठ्याक्कै
त्यस्तै रूपमा रथ, झाडू र एल्गोरिदमहरूलाई बुझ्न सकिन्छ ।
मानवले शक्ति र प्रभाव सिर्जना गर्ने प्रवृत्ति नयाँ होइन । यो धर्म र विश्वास
प्रणालीहरूसँगै सुरु भएको हो । इतिहासमा भविष्यवक्ता र धर्मगुरुहरूले पनि शक्ति
बोलाएका छन्, जसले शान्ति ल्याउने आशा गरिएको थियो तर प्रायः त्यसले युद्ध
र हिंसा ल्यायो ।
गोथे र पाइथनका मिथकहरूले एउटा गल्ती गर्छन्, तिनीहरूले शक्तिलाई व्यक्तिगत
घमण्ड वा लालचको नतिजा ठान्छन् । वास्तवमा शक्ति व्यक्तिगत होइन, सामूहिक
हुन्छ। मानव शक्ति लाखौँ मानिसहरूबीचको सहकार्य र साझा जानकारीको सञ्जालबाट
जन्मिन्छ । त्यसैले समस्याको मुहान व्यक्तिगत मनोविज्ञानमा होइन, सञ्जालको संरचना र सूचनाको प्रवाहमा छ ।
सूचना वा जानकारी नै ती सञ्जालहरूलाई जोड्ने गुँद हो । तर हजारौँ वर्षदेखि
मानिसहरूले सञ्जाल निर्माणका क्रममा झूट, मिथक र भ्रमहरू सिर्जना गर्दै आएका छन् । र,
साँचो ज्ञान होइन, बरु साझा भ्रमहरूले नै समाजलाई एकताबद्ध
बनाएको छ ।
यसकै चरम उदाहरण नाजीवाद र स्टालिनवाद हुन् । दुवै शक्तिशाली नेटवर्कहरू झूट र
भ्रान्त विचारमा आधारित छन् । जर्ज ओरवेलले भनेझैं, अज्ञानतामा शक्ति हुन्छ।
यी व्यवस्थाहरू पतन भए पनि तिनीहरूले देखाए कि भ्रमपूर्ण विचारमा
आधारित शक्ति पनि अत्यन्त बलियो हुन सक्छ।
१९४० को दशकमा नाजीहरू लगभग दोस्रो विश्वयुद्ध जितको नजिक पुगे र शीतयुद्धको
समयमा स्टालिन र उनका उत्तराधिकारीहरूले पनि विश्वशक्ति बनाउने प्रयास गरे ।
१९९० को दशकमा उदार लोकतान्त्रिक प्रणालीले अग्रता पायो तर त्यो
स्थायी साबित भएको छैन ।
२१औं शताब्दीमा नयाँ प्रकारका तानाशाहहरू प्रविधि, निगरानी र एआईको सहयोगमा हिटलर र स्टालिन असफल भएका ठाउँमा सफल हुन सक्छन्
।
यदि हामीले त्यस्ता भ्रमपूर्ण सञ्जालहरूको पुनरुत्थान रोक्न चाहन्छौं भने केवल
देवता वा जादूगरको प्रतीक्षा गर्नुहुँदैन।
हामीले नै जिम्मेवारी लिनुपर्छ । सत्य, सहानुभूति
र तर्कमा आधारित सञ्जाल निर्माण गर्नुपर्छ ।
(युवल नोहा हरारीको पुस्तक 'नेक्सस'को प्राक्कथनमा आधारित।)

No comments:
Post a Comment