Wednesday, September 21, 2011

फाइदै फाइदामा चतुर्वेदी



२ ०५९ सालको मध्यतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामाज्ञाप्रसाद चतुर्वेदीको खानतलासी लियो। खातापाता खोतल्यो। अनुसन्धानका लागि ५ महिना ४ दिन हिरासतमा राख्यो। कतिले 'पाप धुरीबाट कराउँछ' भनेर अख्तियारलाई स्याबासी दिन्थे। तर, समयचक्रले उनलाई यसरी साथ दियो कि आममानिसले आकलन गरेभन्दा कैयौँ भाग कम दु:ख पर्‍यो उनको भागमा। अख्तियारले उनी सार्वजनिक पदमा पुगेपछि मात्रै ७ करोड ७१ लाख ६५ हजार ५ सय ७३ रुपियाँबराबर सम्पत्ति आर्जन गरेको तथ्य पत्ता लगायो। त्यसमध्ये ७९ लाख ८३ हजार रुपियाँ मात्रै वैध र बाँकी सबै भ्रष्टाचारबाट आर्जित ठहर्‍यायो। तर, विशेष अदालतमा आएपछि उनका सुदिन फिरे। ६ महिनाभित्र टुंगो लाग्नुपर्ने यो मुद्दा दुई वर्षसम्म लम्बियो। दुई वर्षसम्म उनको प्रतिष्ठालाई ' भ्रष्टाचारी'मा सम्म र्झन नदिएर विशेष अदालतले उनलाई सहुलियत प्रदान गर्‍यो। त्यसमाथि विशेष अदालतले १ करोड ९० लाख ९७ हजार ६ सय २६ रुपियाँ मात्रै भ्रष्टाचार ठहरायो। त्यसबाट उनलाई ५ करोड ८४ हजार सोझै नाफा भयो।

अहिले आएर सर्वोच्च अदालतको निर्णय पनि उनका लागि सहुलियतपूर्ण रह्यो। विशेषले ठहरेभन्दा ५१ लाख ७३ हजार रुपियाँ कम गरेर सर्वोच्चले १ करोड ३९ लाख २५ हजार रुपियाँबराबरको सम्पत्ति मात्रै भ्रष्टाचारबाट आर्जित रहेको फैसला गरििदयो। रकममा मात्रै होइन, सर्वोच्चले तीन महिनाभित्र गर्नुपर्ने फैसला ६ वर्ष ४ महिना ढिलो गरेर थप राहत दिलायो।

विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दा दुई वर्षसम्म जेल बस्नुपर्ने फैसला गरेको थियो। सर्वोच्चले त्यो पनि घटाएर डेढ वर्ष बसे पुग्ने भन्यो। अझ चतुर्वेदीको बुद्धिमत्ताले नै सही, सर्वोच्चले तोकेको सजायमा २० प्रतिशत अरू छूट पाउने भएका छन्। मुलुकी ऐनको दण्ड सजाय महलको ४१ -क)मा फैसला भएको मितिले ६० दिनभित्र अभियुक्त अदालतमा हाजिर भएमा सजायको २० प्रतिशत छुट दिनसक्ने व्यवस्था छ। यही व्यवस्था अनुसार छूट पाउनुपर्ने दाबीसहितको निवेदन चतुर्वेदीले २८ भदौमा अदालतमा दिएका छन्।

No comments:

Post a Comment