Saturday, October 4, 2025

मानवः शक्ति र बुद्धि



हामीले हाम्रा प्रजातिलाई होमो सेपियन्स अर्थात् ज्ञानी मानव भनेर नाम दिएका छौं । तर यस नामका लागि हामी साँच्चै योग्य छौं त ? यो प्रश्न विवादास्पद छ ।

पछिल्ला एक लाख वर्षमा मानवले निःसन्देह विशाल शक्ति हासिल गरेको छ । हाम्रो खोज, आविष्कार र विजयहरूको सूची बनाउने हो भने त्यसले धेरै पुस्तकहरू भरिनेछन् ।

तर शक्ति र बुद्धि (विवेक) एउटै कुरा होइनन् ।

यी एक लाख वर्षका खोज, आविष्कार र विजयहरूपछि पनि मानवता आज अस्तित्वकै संकटमा छ । हामी आफ्नै शक्तिको दुरुपयोगका कारण पारिस्थितिकीय पतनको सिमानामा पुगेका छौं । हामी कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरू विकास गर्न व्यस्त छौं, जसले हाम्रो नियन्त्रणबाट बाहिर गएर हामीलाई नै दास बनाउने वा नष्ट गर्ने सम्भावना बोकेको छ ।

हाम्रो प्रजातिले यी गम्भीर संकटहरूसँग एकजुट भएर सामना गर्नुपर्नेमा उल्टै अन्तर्राष्ट्रिय तनावहरू बढ्दै गएका छन् । वैश्विक सहकार्य कमजोर हुँदै गएको छ । राष्ट्रहरूले अझै पनि नयाँ परमाणु हतियार सञ्चित गरिरहेका छन् र अर्को विश्वयुद्ध असम्भवजस्तो देखिँदैन ।

यदि हामी साँच्चै ज्ञानी मानव हौँ भने,

हामी किन यति आत्मविनाशक छौं त?

हामीसँग डीएनए अणुदेखि लिएर आकाशगंगासम्मको अद्भुत ज्ञान छ तर यसले जीवनका यी मूल प्रश्नहरूको उत्तर दिएको छैन–

हामी को हौँ? हामी किन छौं? राम्रो जीवन के हो र हामी कसरी बाँच्नुपर्छ?

आज पनि, विशाल जानकारीको युगमा बाँच्दाबाँच्दै, हामी हाम्रा प्राचीन पुर्खाहरूझैँ कल्पना र भ्रान्तिमा सजिलै फस्छौं।