Friday, November 6, 2015

हिन्दु पारिवारिक कानुनमाथि मुस्लिम न्यायाधीशको शल्यक्रिया


कानुन व्यवसाय हुँदै पुनरावेदन अदालतका न्यायाधीशको कुर्सीमा पुगेपछि सलाहुद्दीन अख्तर सिद्धिकीलाई लाग्यो, नेपाली समाज नबुझी प्रभावकारी न्याय सम्पादन गर्न सकिँदैन । नेपाली समाज बुझ्न हिन्दू व्यवस्था बुझ्नुपर्ने रहेछ । त्यसपछि उनी लागे, हिन्दू धर्म, दर्शन र नेपाली समाजलाई निर्देशित गर्ने अन्य विधिविधानहरूको अध्ययनतर्फ । त्यस क्रममा उनको नजर मनुस्मृतिमा अड्यो, जसले परिवार, समाज र राज्यको धर्म, विधि र आचारहरूको सीमा कोरिदिएको छ ।

नेपाली समाजका धेरै मूल्य–मान्यता यही कृतिबाट निर्देशित र प्रभावित रहेको सिद्धिकीले चाल पाए । र, त्यसैको गहिराइमा पुगेर अनुसन्धान गर्ने, आजको नेपाली समाजको पारिवारिक विवादहरूको जरो खोतल्ने र समाधान दिने निर्णयमा पुगे । त्यही निर्णयको उपज हो, मनुस्मृतिको पारिवारिक व्यवस्था र नेपालमा पारिवारिक विवाद


विद्यावारिधिको शोधमा आधारित यस पुस्तकमा मनुस्मृतिको परिचय, मनुको परिवारसम्बन्धी दृष्टिकोण र न्याय व्यवस्थाबारे चर्चाले पूर्वीय प्रचीन विधि–वाङ्मयसँग सामान्य पाठकलाई पनि साक्षर बनाउँछ । परिवारसम्बन्धी धार्मिक अवधारणा, प्राचीनकालदेखि मुलुकी ऐन, २०१० हुँदै आजसम्मको नेपालका कानुनमा पारिवारिक व्यवस्थाको कालक्रमिक अध्ययनले हाम्रो समाजको ऐतिहासिक विकासक्रमसँग साक्षात्कार गराउँछ । संस्कृत भाषाबाट टाढिँदै गएको आजको पुस्तालाई बुझाउने गरी लेखकले संस्कृत श्लोकलाई नेपालीमा उल्था गरी प्रस्तुत गरेका छन् । 

लेखकका अनुसार, मनस्मृतिले धर्मको प्रथम प्रयोगस्थल परिवार मानेको छ । अर्थात्, हिन्दू समाजमा धर्म–अधर्मका मानक परिवारबाटै सुरु हुन्छन् । त्यसैले परिवारको संरचना, आचार र व्यवहार मनुस्मृतिले किटेको छ । परिवार र समाजलाई व्यवस्थित गर्न विवाह, पति–पत्नी सम्बन्ध, यौन जीवन, सन्तान उत्पादन र ग्रहण, अंशबन्डालगायत विषयमा मनुस्मृतिमा उल्लेख भएका व्यवस्थालाई आधुनिक पारिवारिक कानुनसँग पनि उनले तुलना गरेका छन् ।

नेपालको पारिवारिक कानुनसम्बन्धी मन्थनका क्रममा लेखकले केही महत्त्वपूर्ण सवाल उठाएका छन् । जस्तो कि, पछिल्ला अढाई दशकयता नेपाली कानुनी दस्तावेजहरूमा पश्चिमा मूल्य, मान्यताहरू हावी भएका छन् । पश्चिमा अवधारणाको केन्द्रमा व्यक्ति र उसको स्वतन्त्रता हुन्छ । यसलाई मानव अधिकार वा वैयक्तिक स्वतन्त्रता भन्ने गरिएको छ । तर, पूर्वीय मान्यतामा व्यक्तिभन्दा परिवारलाई महत्त्व दिइन्छ । यस मान्यताअनुसार, व्यक्तिको स्वतन्त्रतालाई परिवारप्रतिको दायित्व, पारिवारिक (सामूहिक) हित र सामूहिक भावनाले संकुचित गर्न सक्छ । हाम्रो वारिवारिक विवाद वा द्वन्द्वको प्रमुख जरो पनि हो यो ।

त्यसैगरी, आधुनिक शिक्षाका नाममा पश्चिमा मूल्य–मान्यताहरूबाट दीक्षित आजको पुस्ता वैयक्तिक स्वतन्त्रतामा रमाउन थालेको छ । उसले परिवारलाई दोस्रो प्राथमिकतामा पार्दै गएको छ । सामूहिक भावनाको ठाउँमा व्यक्तिवाद हावी भएको छ । हाम्रो समाज र सांस्कृतिक मूल्यहरू पनि यस्तै संक्रमणको अवस्थामा गुज्रिरहेका छन् । पुराना भनिने पूर्वीय मूल्य–मान्यता र आधुनिक भनिने पश्चिमा मूल्य–मान्यताको द्वन्द्वको स्वाभाविक प्रतिविम्ब हाम्रा सांस्कृतिक व्यवहारहरूमा पनि देखिएका छन् । र, परिवारमा यसको प्रतिविम्बन हुँदा हिंसा र द्वन्द्वको रूप लिन्छ ।

यो मन्थनले दुई परस्परविरोधी प्रश्न उठाउँछ । एक, हामी आधुनिक हुने नाममा मौलिकता गुमाउँदै त छैनौँ ? दुई, मौलिकता जोगाउने नाममा वैयक्तिक स्वतन्त्रलाई सीमित गर्न मिल्छ ? लेखक मध्यमार्गी बाटो सुझाउँछन् । आधुनिकताका नाममा परिवारलाई बेवास्ता गर्न मिल्दैन । स्वतन्त्रताका नाममा अनुशासनलाई नजरअन्दाज गर्न हुँदैन । र, परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रतालाई सीमित गर्न हुँदैन । व्यक्तिको सम्मान र मौलिकताको संवद्र्धन हुने सन्तुलित विधि–विधानको खाँचो छ । यसका लागि न्याय व्यवस्थामा पारिवारिक द्वन्द्व समाधानको वैकल्पिक विधि खोजिनुपर्ने उनको मत छ ।

हाम्रो मौजुदा कानुनको व्यवस्था र न्याय प्रणालीले पारिवारिक द्वन्द्वलाई उचित तवरमा सम्बोधन गर्न नसकेको न्यायकर्मी सिद्दिकीको ठहर छ । मुलुकभरमा कुल परिवार संख्याको तुलनामा अदालतमा पुगेका मुद्दा संख्या शून्य दशमलव ६ प्रतिशत मात्र रहेको तथ्यांक प्रस्तुत गर्दै उनी भन्छन्, ‘कि त हाम्रो समाज स्वर्णिम युगमा छ, जहाँ विवादै छैनन् । कि त हाम्रो न्याय प्रणालीमा खराबी छ, जहाँ परिवारका विवाद अदालत आउनै सक्दैनन् ।’ 

मनुस्मृति आजका मूल्य मान्यता र विश्वदृष्टिकोणसँग शतप्रतिशत मेल खाँदैन । त्यसैले यसको विरोध र आलोचना पनि प्रशस्तै भइसकेको छ । तर, यो हजारौँ वर्षअघिको कृति हो । त्यतिखेरका मूल्य मान्यतामा आधारित छ । तीमध्ये कतिपय मान्यता र व्यवस्था आजको समयमा पनि उत्तिकै मननीय छन् भन्ने बुझ्नु उचित होला । लेखकको निष्कर्ष पनि यही छ । तर, त्यो अति प्राचीन कृतिको प्रभाव आजको समाजसम्म आइपुग्दा पनि जुन मात्रा र स्वरूपमा बाँचेको छ, त्यसले यसको शक्ति र प्रभावलाई समेत स्पष्ट पार्छ ।

नेपाली समाजलाई यो हदसम्म प्रभाव पार्ने कृतिलाई मुस्लिम समुदायका एक बौद्धिक पेसाकर्मीले अध्ययनको विषय बनाउनु र आम पाठकका सामु सरल भाषामा यसलाई प्रस्तुत गर्नु आफैँमा प्रशंसनीय कार्य हो । त्यसमा पनि उनले आफ्नो अध्ययनलाई पारिवारिक शान्तिको खोजी अभियानको एउटा कडी मानेका छन् । लेख्छन्, ‘परिवारमा शान्ति नभई समाजमा शान्ति हुँदैन । समाजमा शान्ति नभई विश्वमा शान्ति हुँदैन । त्यसैले शान्तिको जग बसाल्न परिवार नामक संस्थालाई शान्तिपूर्ण र सौहाद्र्र बनाउन सक्नुपर्छ ।’ हिज्जेलगायत कतिपय प्राविधिक कमजोरीका बाबजुद न्यायाधीश सिद्दिकीले शोधग्रन्थलाई छरितो स्वरूप दिने प्रयास गरेका छन् । 

मनुस्मृतिको पारिवारिक व्यवस्था र नेपालमा पारिवारिक विवाद
स्रष्टा : सलाहुद्दीन अख्तर सिद्दिकी
प्रकाशक : मुशीं सिद्दिकी परिवार
पृष्ठ : १९६
मूल्य : ४०० रुपियाँ

नेपालप्रकाशित: कार्तिक १९, २०७२


No comments:

Post a Comment