Wednesday, July 17, 2013

नेता बिर्साउने न्यायाधीश


यसपालि न्यायपरष्िाद् दिवसमा न्यायाधीशहरू नै दन्तबझानमा ओर्लिए। उत्कृष्ट सम्मान पाएका न्यायाधीश केशरीराज पण्डितले सत्य बोल्नु, अपि्रय नबोल्नु भन्दै व्यंग्य कसे। त्यसको सप्रसंग व्याख्या गरे, अर्का न्यायाधीश रामकुमारप्रसाद साहले। त्यसको प्रतिवादमा उत्रिए, वरष्िठतम् न्यायाधीश दामोदरप्रसाद शर्मा। भने, "न्यायपरष्िाद् सक्षम रहेकैले उहाँ -साह)जस्ता बोल्न सक्ने न्यायाधीश न्यायपालिकामा छन्।" न्यायाधीशहरू नै गाँड कोराकोर गर्न थालेपछि मञ्चमा आसीन प्रधानमन्त्री बाबुराम भट्टराई मुस्कुराए। अब घोचपेच नेताहरूको पेवा कहाँ रह्यो र ? 
- रामबहादुर रावल 

वीरताको चिनो







देहरादुन सहरको उत्तरपूर्वी किनारको शान्त बगैँचामा ठिंग उभिएका छन्, दुई पुराना स्मारक। यिनै स्मारकले १ सय ९८ वर्ष पुरानो इतिहास सम्झाउँछन्। भारत सरकारको पुरातत्त्व सर्वेक्षण कार्यालयले छेउमै टाँगेको छ, 'हमारी विरासत, हमारा गौरव' लेखिएको बोर्ड।

त्यही इतिहास, जहाँ वीर गोर्खाली -नेपाली) सेना आफ्ना परम्परागत हतियार र युद्धकौशलका सहायताले आधुनिक हतियारबद्ध अंग्रेज फौजलाई हायलकायल पार्छन्। सेनापति वीर बलभद्र कुँवरले आफ्ना ६ सय सैनिक, महिला तथा बालबालिकाका साथ ३ हजार ५ सयभन्दा बढी सैनिक रहेको अंग्रेज फौजसँग लड्छन् । अंग्रेज सेनाका सबैभन्दा योग्य मानिएका जनरल जिलेस्पीसमेत ठाउँको ठाउँ मारिन्छन् ।

लडाइँमा विफल भएपछि अंग्रेजले नेपाली फौजलाई सखाप पार्न नालापानी किल्लामा जाने पानी नै बन्द गरििदएको थियो। त्यसपछि बलभद्रले बाँकी रहेका ७० जना लडाकूका साथ स्वेच्छाले किल्ला छाड्ने घोषणा गरेका थिए। अंग्रेजले नेपाली फौजको अदम्य साहस र वीरताको कदर गर्दै आफ्ना जनरल जिलेस्पीकै समानान्तर बलभद्रको पनि स्मारक बनाइदिएका छन्। र, नेपाली फौजलाई भनेका छन्, 'हाम्रा वीर शत्रु।' यो संसारमै एक मात्र यस्तो स्मारक हो, जहाँ आफैँसँग लडेका शत्रु सेनाको प्रशंसा र सम्मान प्रकट गरिएको छ।

नालापानी पर्वतीय शृंखलाको सबैभन्दा अग्लो डाँडो। दक्षिणपश्चिममा लमतन्न फैलिएको छ, सेतो बर्को ओछ्याएजस्तो देहरादुन सहर। घना जंगलको यो निर्जन टाकुरामा आकाशै छेडूँलाजस्तो गरी ठडिएको छ, मानव निर्मित एक आकृति।

गोर्खाली वीरताको चिनोका रूपमा हालै देहरादुनका नेपालीले बनाएका हुन्, बलभद्र खलंगा युद्ध स्मारक। देहरादुनको सहस्रधारा रोडस्थित अंग्रेजले बनाएको पुरानो स्मारकभन्दा करबि तीन किलोमिटर टाढा। केही तल सागरताल छ, जहाँ अहिले पनि नेपालीहरू बर्सेनि खलंगा मेला भर्छन्।

त्यतिखेर गोर्खाली सेना आफू बस्ने छाउनीलाई खलंगा भन्ने गर्थे। तर, यस क्षेत्रमा नेपालीले बनाएको किल्ला, प्रयोग गरेका हतियार र अरू पुरातात्त्विक महत्त्वका वस्तुहरूको खोजी हुन सकेको छैन। यस क्षेत्रलाई पनि पुरातत्त्वले जिम्मा लिएर आवश्यक संरक्षण र उत्खनन गर्नुपर्ने, युद्ध क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग यहाँका नेपालीले उठाउँदै आएका छन्।

भारतमा शासन गररिहेको अंग्रेजलाई समेत चुनौती दिने दुई बलिया राजा थिए, संसार चन्द र रणजित सिंह। ती दुवैलाई एकसाथ थर्कमान बनाएका थिए, नेपालीले। पश्चिमोत्तर भारतको काँगडा राज्य नेपालीले कब्जा गर्दा त्यहाँका राजा संसार चन्द काँगडाको यस ढुंगे किल्लाभित्र थुनिएका थिए।

काँगडाको मूल बजार र वस्तीभन्दा निकै पर । बाणगंगा र माझी नदीको दोभानमा अवस्थित यस थुम्कोमा निर्मित ढुंगे किल्लालाई जसले कब्जा गर्छ, उसैको यो राज्य हुन्छ भन्ने मान्यतालाई समेत नेपालीले खण्डित गरेका थिए।

किल्लाबाट देखिने गरी नजिकै अर्को डाँडोमा बडाकाजी अमरसिंह थापाले जयन्ती माताको मन्दिर थापना गरी ध्वजा फहराइसकेका थिए। काँगडाको सिमाना सतलज नदीभन्दा पार िगोर्खाली फौज पुगिसकेको थियो। राजा संसार चन्द तीन वर्षसम्म यही किल्लाभित्र थुनिए। नेपालीलाई बर्सेनि लाखौँ रकम र आफ्नी छोरीसमेत दिन उनी तयार भए। आफ्नो ज्यान जोगाउन महिलाको भेष धारण गरी भागे। तर, पन्जाबका राजा रणजित सिंहले संसार चन्दलाई सहयोग गर्ने नाममा गोर्खाली फौजमाथि आक्रमण बढाए र काँगडा किल्ला कब्जा गरे। संसार चन्दको काँगडा राज्य पतन भयो ।















नेपाली जीवन : नालापानीदेखि काँगडासम्म

  • नेपाल राज्य विस्तार अभियानसँगै फैलिएका नेपाली बस्तीहरू





पश्चिम नेपालको पोखरातिरका गुमानसिंह खड्का बडाकाजी अमरसिंह थापाको नेपाल राज्य विस्तार अभियानका एक सदस्य थिए। त्यही क्रममा उनी हाल भारतको हिमाचल प्रदेशमा पर्ने काँगडा पुगे। कुरा आजभन्दा दुई सय वर्षअघिको हो। 

नेपाली सेनाको फौजले काँगडा कब्जा गरी त्यहाँका राजा संसार चन्दलाई ढुंगैढुंगाको किल्लाभित्र थुन्यो। नेपालको सिमाना सतलजभन्दा पनि पर व्यास नदीसम्म कायम भयो। हाल पाकिस्तान, चीन र भारतबीच कचिंगलको विषय रहेको कश्मीरसमेत विशाल नेपाल राज्यभित्र एकीकृत गर्ने त्यो फौजको सपना थियो। काँगडा वरपरका दर्जनौँ राज्यलाई कज्याएका सम्राट नेपालीको शक्तिसामु निरीह भए। उनको विशाल साम्राज्य खुम्चिँदै गएर काँगडाको एउटा थुम्कोमा बनाइएको ढुंगे किल्लाभित्र सीमित हुन पुग्यो। 

हो, त्यही बेला नेपाली फौज, प्रशासक र सामाजिक क्षेत्रका अभियन्ताहरू काँगडा क्षेत्रमा छरएि। यतै घरबार बसाए। तिनैमध्येका एक थिए, गुमानसिंह। आज यो भूमि नेपाल राज्यको सीमाभित्र छैन। भूगोल नेपालभित्र नरहे पनि त्यो पुरानो इतिहास सम्झाउने गरी नेपालीहरू यस क्षेत्रमा पुस्तौँदेखि छरिएर बसेका छन्। तीमध्ये पनि सीमित परिवार आफ्नो नेपाली पहिचान जोगाएर बसेका छन्। गुमानसिंहको पाँचौँ पुस्ता सुनीलविक्रम खड्का, ५६, आज पनि परविारका साथ भेटिन्छन्, काँगडा जिल्लाको भाग्सु क्षेत्र अन्तर्गत दाडी गाउँमा। 

सुनीललाई दाडी गाउँका नेपाली समुदायले मुखिया नियुक्त गरेको छ। आफूलाई नेपालीभन्दा भारतका अरू समुदाय र प्रशासनले नेपालको राष्ट्रियतासँग दाँजेर हेर्ने हुँदा तिनलाई नेपाली भन्न गाह्रो छ। त्यसैले उनी भारतीयभित्रै गोर्खाली समुदायका रूपमा छुट्टै पहिचान राख्न चाहन्छन्। "हाम्रो दाडी गाउँमा मात्रै गोर्खालीका ४ सय ५० घरपरिवार छन्," सुनीलसँग आँकडा कण्ठस्थ छ, "यो हिमाचल प्रदेशमा सबैभन्दा बाक्लो नेपाली बस्ती भएको गाउँ पनि हो।" 

खड्काका अनुसार भाग्सु क्षेत्रमा यस्ता नेपालीबहुल १६ गाउँ छन्। यस क्षेत्रको नाम धर्मशाला पनि हो। तर, भाग्सु नाममा बढी अपनत्व महसुस गर्छन् नेपालीहरू। "नेपालीले नै राखेको नाम हो, भाग्सु। त्यसैले हामीलाई यही नाम प्यारो लाग्छ," सुनील भन्छन्। 

खड्का परिवारकै इतिहास नियाल्ने हो भने यहाँ नेपाली समुदायको अविच्छिन्न इतिहास छर्लंग हुन्छ। गुमानसिंहले यतै घरजम गरे। उनका छोरा तेजु खड्का भारतीय सेनामा जागिरे बने। वीर नेपाली जातिका सन्तान भन्नेबित्तिकै रणजित सिंहदेखि इस्ट इन्डिया कम्पनी र बि्रटिस सरकारले समेत रातो कार्पेट बिछ्याए। त्यसैले नेपालीहरूको मूल पेसा नै फौजी जागिर बन्न पुग्यो। तेजु खड्काका छोरा पूरणसिंह, नाति जंगबहादुर र पनाति सुनीलले समेत पुख्र्यौली बिँडो थामे। फरक यति हो कि कसैले नेपाल राज्यको पक्षमा लडे। कसैले बि्रटिस साम्राज्यको पक्षमा त कसैले स्वतन्त्र भारतको पक्षमा। 

अमर सिंह थापाको राज्य विस्तार अभियानमा फौजी मात्रै थिएनन्। फौजका सहयोगी, व्यवस्थापक, प्रशासक र धार्मिक-सामाजिक क्षेत्रमा काम गर्ने गैरसैनिक नेपालीको जत्था पनि साथै गएको थियो। सायद तिनैमध्येका एक थिए, उनका पुर्खा। उनी अर्थात् जगदीशसिंह प्रधान, ८८, जो भारतीय सेनामा सम्पूर्ण युवावय खर्चेर निवृत्त जीवन बिताइरहेका छन्, भाग्सुको सल्लाघारीमा। 

त्यस परिवारमा उनी पाँचौँ पुस्ताका हुन्, भाग्सु आएर बस्ने। त्यसअघि त्यो परविार हिमाचल प्रदेशकै जोगेन्द्रनगरतिर बस्यो। जगदीशका जिज्यूबाजे भाग्सु पुगे। "नेपाली फौज लड्दै कब्जा गर्दै पश्चिमतिर आउँदा विभिन्न ठाउँमा नेपालीको बस्ती विस्तार हुँदै आयो," जिज्यूबाजेको नाम थाहा नभए पनि यी पाका नेपालीले आफ्ना बाबुबाट सुनेका यति कुराचाहिँ 'नोट' गरेका रहेछन्, "शोले चलचित्रमा गब्बर सिंहको खौफ जस्तो देखिन्छ, एकताका त्यस्तै नेपालीको थियो।" 

उनकै विश्लेषणमा नेपाली समुदायको प्रभुत्व घट्दै जाँदा त्यो खौफ पनि ओरालो लाग्यो। अहम् र हीनभावको चक्रमा जेलिँदै कतै नेपाली भाषा र संस्कृति भारतीयमा विलीन भयो। केही भने यस्तै सुदूर इलाकामा बस्न आए। कि यसरी अलग बस्नेहरूले नेपाली पहिचानलाई जोगाए कि त बढी संख्यामा साथै बस्नेले।

नेपाली गाउँहरूको सहर 
"पाल्पा घर भन्छन् तर कुन गाउँ, कुन ठाउँ थाहा छैन," एउटै वाक्यमा नेपालसम्बन्धी जानकारीको बिट मारे, टेकबहादुर गुरुङ, ७२, ले। बाबुआमा दुवै नेपाली भए पनि भारतमै जन्मे, पढे, हुर्के, बढे। ३२ वर्ष सैन्य जागिर गरे। लक्ष्मणपुर, देहरादुनमा घरबार बसाएका उनको पनि पारिवारिकि पेसा नै सैन्य बनेको छ। बाबु पदमसिंह गुरुङले थालेको यो पेसालाई टेकबहादुरका छोराले समेत निरन्तरता दिएका छन्। सुरुका केही वर्ष धर्मशालामा बसे पनि पदमसिंह जागिरे जीवनका अन्तिम दिन देहरादुन आइपुगे। यतै निवृत्तिभरण लिने गरी घर बनाए। उनको परिवार देहरादुन बसेको पनि ५३ वर्ष भइसकेको छ।

देहरादुन सहर उनीजस्तै सेवानिवृत्त फौजीहरूको पर्याय बनेको छ। छाउनी सहरको परचिय भिरेको देहरादुनलाई यस रूपमा विकास गर्न बेलायती उपनिवेशकालदेखि प्रयास भएको देखिन्छ। अझ नालापानीको खलंगा (अंग्रेजद्वारा कलिंगा लेखिएको) मलाउ युद्धमा नेपालीहरूको बहादुरीपूर्ण प्रदर्शनबाट प्रभावित भएर तिनै नेपालीलाई मिलाएर गोरखा पल्टन बनाइदिए अंग्रेजले। साथै, नेपाली किशोर तथा युवाहरूलाई सैन्य भर्ती र तालिम दिनका लागि चारवटा केन्द्र यहीँ स्थापना गरएि। "पछि सैन्य परिवारका लागि घरजग्गा, स्कुल, अस्पतालको व्यवस्था गरिएपछि भारतीय सेनामा काम गर्ने सबैतिरका नेपाली यहीँ केन्द्रीकृत भए। त्यसैले जता हेरे पनि फौजी नेपाली देखिन्छन् यहाँ," गोर्खा सुधार सभाका अध्यक्ष भगवानसिंह क्षेत्री भन्छन्। 

पूरनसिंह प्रधान, ५८, देहरादुनको नयाँगाउँमा किराना पसल गरी बसेका छन्। भारतीय सेनाको निवृत्तिभरण त यहाँका हरेक प्रौढको अभिन्न अंग नै हो। उनी अपवाद बन्ने कुरै छैन। "पुख्र्यौली घर कहाँ भन्ने थाहा छैन," देहरादुनी वासमती चामल तौलँदै उनी भन्छन्, "आमा भने दैलेखतिरको भन्छन्।" 

बाबु नेपालकै कुनै गाउँबाट भागेर लखनउ गएको र त्यतै भारतीय सेनामा प्रवेश पाएको हुन सक्ने अनुमानसम्म गरेका छन्, उनले। यसले के देखाउँछ भने देहरादुनमा पनि विभिन्न चरणमा आएर बसेका छन्, नेपालीहरू। 

देहरादुनको सहस्रधारा रोडमा नेपाली फौजका कमान्डर बलभद्र कुँवर र अंग्रेज कमान्डर जनरल जिलेस्पीको सम्मानमा अंग्रेजहरूले बनाएको स्मारक छ। त्यससँगै जोडिएको जंगलको भिरालो शिरमा नेपालीहरूले केही वर्षअघि बनाएको बलभद्र खलंगा युद्ध स्मारक छ। त्यही स्मारकको केही तल सागरतालमा हरेक वर्ष नेपालीहरूले खलंगा मेला मनाउँछन्। गएको २४ नोभेम्बरमा ३८औँ खलंगा मेला मनाए उनीहरूले। तर, नालापानी क्षेत्रवरपर नेपाल राज्य विस्तारका क्रममा आई बसेका नेपाली परविार खोज्ने हो भने भेट्न मुस्किल छ। 

विभिन्न समयमा आएका सेवानिवृत्त फौजीहरूकै बाहुल्य भएकाले पनि दुई सय वर्षअघिका र नालापानी युद्धपछिका को हुन् भन्ने छुट्याउन गाह्रो भएको नयाँगाउँ ग्राम पञ्चायतका उपप्रधान खेमबहादुर थापा, ७१, बताउँछन्। धेरै पुस्ताअघिको बसाइँ भए पनि कतिपय नेपालीले आफ्नो भाषा, संस्कृतिलाई जोगाउन नसकेका कारण पनि यहाँका पुराना नेपालीको पहिचान हुन नसकेको धेरैजसो अगुवाहरूको भनाइ छ। 

देहरादुनका नयाँगाउँ, अनारवाला, जोहडी गाउँ, गजियावाला, घट्टेखोला, इन्द्रनगर, वाणगंगा, जयतनवाला, चाँदमारी, नागनाथ, गढी, कौलागढ, पण्डितबाडी, चन्द्रमणि, चोइला, लाडपुर, बान्लावाला, लछीवाला, छिद्दरवाला, सेलाकुई, भरोटेवाला, गुच्चुपानी, ठाकुरपुर, श्यामपुर, रायपुर, रायवाला, गढी क्यान्ट, डाकरा, चानमारी, विकास नगर, लक्ष्मणपुर, नेहरुग्राम यस्ता नाम हुन्, जहाँ नेपालीको बाक्लो बसाइ छ। यहाँका अधिकांश नेपाली अंग्रेज-नेपाल युद्धको समाप्तिपछि भारतीय वा इस्ट इन्डिया कम्पनी सरकारको सेनामा जागिर गरेर निवृत्त भएका हुन्। छिटपुट मात्र अन्य पेसामा बाँधिएका छन्। उत्तराखण्डको राजधानी देहरादुन र त्यसवरपरको क्षेत्रमा धेरै नेपालीबहुल बस्ती छन्, जहाँ अहिले पनि नेपाली भाषा नै चल्छ। कुनै बेला देहरादुन, कुमाउ र गढवाल क्षेत्रमा सम्पर्क भाषाकै स्थानमा पुगेको नेपाली पछिल्लो समयमा भने ओरालो लाग्दो छ। 

गोर्खाली सुधार सभाका महासचिव गोविन्द थापाका अनुसार उत्तराखण्ड राज्यमा १० देखि १२ लाख नेपाली मूलका भारतीयको बसोवास छ। बाँकी बंगाली, पन्जाबी, मद्रासी छन्। उत्तराखण्ड राज्यको कुल जनसंख्या भने १ करोड १ लाख रहेको गत वर्षको जनगणनाले देखाएको थियो। तर, यहाँ जनगणनामा जातीयताका आधारमा लगत नलिइने हुँदा ठोस आँकडा नभएको थापाको भनाइ छ। 

अल इन्डिया गोर्खा एक्ससर्भिसमेन वेलफेयर एसोसिएसनको केन्द्रीय कार्यालय पनि देहरादुनमै छ, जसले पूर्वसैन्यको परविार कल्याणसम्बन्धी काम गर्छ। भारतीय रक्षा मन्त्रालयबाट वाषिर्क आठ लाख रुपियाँ अनुदान पाउने यस संस्थाले दार्जीलिङपछि देहरादुन र धर्मशाला क्षेत्रमै बढी खर्च गरेको छ। यसले पनि सेवानिवृत्त फौजीहरूको बाक्लो उपस्थितिलाई प्रस्ट पार्छ।

गोर्खा धर्मसभाको अध्ययन अनुसार हिमाचल प्रदेशमा एक लाखभन्दा बढी नेपाली मूलका भारतीय पुस्तौँदेखि बसेका छन्। उनीहरू मुस्किलले नेपाली भाषा बोल्छन्। उनीहरूको नेपाली भाषामा अधिकांश शब्द र लबज हिन्दीकै काँगडा भाषिकाको प्रभाव छ। हिमाचली संस्कृतिले उनीहरूलाई छपक्कै छोपेको छ। युवा उमेर भारतीय र बि्रटिस सेनामा बिताएर निवृत्त जीवन मात्र घरमा बित्नु यस क्षेत्रका पुराना नेपालीको विशेषता हो। "९० प्रतिशत त फौजी पृष्ठभूमिकै छौँ," हिमाचल प्रदेशका नेपाली र भाग्सुको इतिहासबारे पुस्तक प्रकाशनको तयारी गररिहेका प्रतापसिंह गुरुङ, ७५, भन्छन्।

काँगडा र नालापानीबाट नेपाली फौजको फिर्ती, सन् १८९० को हैजाको महामारी र सन् १९०५ को भुइँचालो पनि नेपालीको पहिचान र इतिहास विस्तारमा उथलपुथल ल्याउने मुख्य घटना थिए। नेपालीको पुरानो बसोवासलाई झल्काउने चिनोमध्येको एक हो, सन् १९०५ मा आएको ७ दशमलव ८ रेक्टर स्केलको भुइँचालोमा पनि नढलेको भाग्सुको एक घर। भाग्सुको गब्ली दाडी पञ्चायतकी प्रधान सबिता कार्की, ५६, को उक्त घरमा नेपाली परविारका पाँच पुस्ता हुर्किसकेका छन्। हिमाचल प्रदेशमा भाग्सुबाहेक नेपाली समुदाय धेरै बसोवास भएका ठाउँहरूमा नाहान, बक्लोह, पालमपुर, सिमलालगायत पर्छन्। 

काँगडाका राजा संसार चन्दलाई तीन वर्षसम्म किल्लाभित्र थुनियो। यसबीचमा कैयौँ लडाइँ भए। सामाजिक उथलपुथल भए। युद्धनीतिमा मतभेद हुँदा नेपाली फौजको प्रदर्शन कमजोर बन्यो। उता संसार चन्दले पन्जाबका अर्का शक्तिशाली रणवीर सिंहसँग सहायता मागे। लामो समयको राजनीतिक अन्योल र युद्धबाट स्थानीय समुदाय आजित भइसकेको थियो। सुरुमा नेपालको स्वामित्व स्वीकार गरेका रजौटाहरूको लगाव पनि नेपालप्रति कम हुँदै गयो। परिणामतः नेपालले त्यस क्षेत्रको स्वामित्व गुमायो। राजनीतिक नक्सामा त्यो ठाउँ नेपालभित्र नपरे पनि कैयौँ नेपालीले त्यही भूमिलाई आफ्नो बनाए। र, आज लाखौँको संख्याका नेपालीले काँगडालगायत हिमाचल र उत्तराखण्डको विशाल भूगोल ओगटेका छन्। यही ठाउँलाई उनीहरू आफ्नो मातृभूमि भनेर गर्व गर्छन्। 

नेपाली फौज र प्रशासन यहाँबाट फर्किएपछि यहीँ बसेका धेरै नेपाली भारतीय भाषा र संस्कृतिमै सम्मिलित भए। उनीहरूको सांस्कृतिक सम्मिलन एक प्रकारले विलय थियो। एकातिर, राज्यसत्तामा नेपाली जातिको पराजय, अर्कोतिर अल्पसंख्यक उपस्थिति। यसले भाषिक र सांस्कृतिक पहिचानमा संकट ल्याउनु स्वाभाविक थियो। त्यस कारण धेरै नेपालीका थर पनि भारतीय जाति र थरसँग मिल्दाजुल्दा भए। भाषा, संस्कृति र रीतिरिवाज बिस्तारै भारतीयकरण भए। कतिपय त स्थानीय समुदायमा यसरी भिजे कि नेपाली पहिचान नै विलीन भयो। बरू वीर गोर्खालीका लागि त्यस क्षेत्रका रजौटादेखि इस्ट इन्डिया कम्पनीका सेनामा जागिर सधैँ खुला रह्यो। त्यसैले आज पश्चिमोत्तर भारतको जुनसुकै भूगोलमा पुगे पनि अधिकांश नेपाली फौजी पृष्ठभूमिकै भेटिन्छन्। 

भाग्सुमा नेपालीबहुल बस्ती बन्नुको कारण त्यहाँको सरकारी नीति पनि हो। भारतमा बेलायती साम्राज्य छँदै भाग्सु क्षेत्रलाई ९९ वर्षका लागि लिजमा दिइएको थियो। फस्ट गोर्खा राइफल्स, ६६-नर्सरी बटालियनबाट निवृत्त भएका नेपालीलाई यहाँ बस्न दिइन्थ्यो। त्यसबेला सेनामा काम गर्न उमेर हद थिएन। काम गर्न सक्ने हुन्जेल खट्नुपथ्र्यो। बूढो उमेरमा न घर फर्किने तागत हुन्थ्यो, न अहिलेजस्तो यातायातका साधन नै थिए। त्यसैले यस सल्लाघारी क्षेत्रमा जंगल फाँडेर निवृत्त नेपालीलाई त्यहीँ बस्न दिइएको थियो। जग्गाको भाडा पनि कमै थियो। "जसले जति जंगल फाँड्न सके, त्यति नै जग्गा उपयोग गरे," प्रधान भन्छन्, "पछि भारत सरकारले भाडा पनि तिर्न नपर्ने गरी दर्ता प्रमाणपत्र दियो। अब त बाबुबाजे बसेको ठाउँ छाडेर छोरानाति जाऊन् नै कहाँ ?" 


फौजी अर्थतन्त्र

नयाँगाउँ, देहरादुनकी रीता गुरुङ आउँदो होलीसम्म नयाँ घरमा बस्ने योजनामा छिन्। भारतीय सेनामा जागिरे श्रीमान्को कमाइ नै उनको परिवार धान्ने प्रमुख आधार हो। परिवार धान्ने मात्रै होइन, त्यस क्षेत्रका औसत घरभन्दा केही ठूलो आवासीय भवन बनाउने धुनमा छिन् उनी। भन्छिन्, "२७ लाख रुपियाँजतिमा घरको काम पूरा होला भनेकी थिएँ, लागत केही बढ्ला जस्तो छ।" यो नेपाली ४३ लाख रुपियाँभन्दा बढी रकम हो। सेनामा जागिरे भएपछि राम्रो विद्यालयमा छोराछोरीको पढाइ, राम्रो अस्पतालमा नियमित स्वास्थ्य जाँच, कम्तीमा एउटा मोटर र फराकिलो घडेरीमा डेढ-दुई तलाको घर बनाउनु हरेक परिवारको विशेषता नै बनेको छ। नेपालीबहुल धेरैजसो गाउँटोलमा चिल्ला र सुकिला डेढ-दुई तलाका घर, घरको फराकिलो आँगन, आँगनमा एक चारपांग्रे र एकाध दुईपांग्रे सवारीसाधन भेटिन्छन्। 

देहरादुनको गढी क्यान्टतर्फ जाने मुख्य सडकसँगै जोडिएको छ, बलराजसिंह घर्तीको अटो सप (गाडी मर्मत पसल)। सडकसँगै सोझिएको उनको पसललाई बायाँ पारी भित्रतिर छिर्ने हो भने उनको घरमा पुगिन्छ। भर्खरै छोरी रुचिका घर्तीको विवाह गरिदिएका बलराज भन्दै थिए, "६ लाख रुपियाँको कार उपहार दिएँ। १० लाख अरू खर्च भयो।" यो करबि २६ लाख नेपाली रुपियाँ हो। घर्तीले छोरीको विवाहमा गरेको खर्चको मोटो विवरणले प्रस्ट पार्छ, फौजीबहुल बस्तीको सामान्य अर्थशास्त्र। फेसन डिजाइनको क्षेत्रमा भविष्य बनाउँदै गरेकी रुचिकाको विवाह भारतीय सेनामा क्याप्टेन रहेका युवक विकास गुरुङसँग भएको थियो। घर्ती भन्छन्, "सामान्य विवाहमा पनि ८ देखि १० लाख भारतीय रुपियाँ त खर्च लाग्छ नै। छोरीको विवाहमा अझ धेरै लाग्छ। कार दाइजो दिनु सामान्यजस्तै बनेको छ।" 

कतिपयका भनाइमा भारतभरमिा सबैभन्दा राम्रो आर्थिक अवस्था भएका नेपाली देहरादुनमा बस्छन्। अन्यत्र चौकीदारी र खेतीमा संलग्न नेपाली मूलका भारतीयको बसोवास बढी छ। उत्तराखण्डमै पनि देहरादुनबाहिर निवृत्त फौजीभन्दा बढी अरू पेसा-व्यवसायमा लागेका नेपालीभाषी छन्। सेनामा दोस्रो उच्च पदसम्म पुगे पनि अन्य क्षेत्रमा यहाँका नेपालीको उपस्थिति कमजोर छ । नेपाली मूलकी मालाराज्यलक्ष्मी शाह यस क्षेत्रकी अहिलेसम्मकै एक्लो लोकसभा सदस्य हुन् । 


युवा पुस्ताको अलग बाटो 

दीपक खत्री, ४२, ले फौजी बाबुबाजेको पेसा पछ्याएनन्। उनले सहिद मेघ गुरुङ मार्ग, देहरादुनमा एउटा रेस्टुराँ र होस्टेल (छात्रावास) चलाएका छन्। सहरमा मध्यमस्तरको व्यवसायीमा गनिन्छन् उनी। आफूबाहेक श्रीमती र फौजी सेवाबाट निवृत्त बाबुलाई समेत त्यही व्यवसायमा व्यस्त राखेका उनले थप तीन जनालाई रोजगारी दिएका छन्। प्यूठान, भिंगृबाट दीपकका जिज्यूबाजे भारतीय सेनामा जागिर गर्न पुगेका थिए। त्यसपछि उनको परिवार देहरादुनमै बस्दै आएको छ। जिज्यूबाजेदेखिको सेनामा जागिर गर्ने क्रमलाई उनले भंग गरिदिए। "हाम्रो पुस्ता सरकारी जागिरको विकल्प खोज्दै छ। आफ्नै व्यवसायले बढी स्वतन्त्र र आत्मनिर्भर भएको महसुस हुन्छ," दीपक भन्छन्। 

दीपक यस्ता उदाहरण हुन्, जो देहरादुनमा रहेको नेपाली समुदायको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्छन्। उनीजस्तै आज धेरैजसो भारतीय नेपाली युवक स्वतन्त्र पेसा र व्यवसायको खोजीमा छन्। त्यसैले कतिपय आफ्नै व्यवसाय सञ्चालन गर्दै छन् भने कतिपय निजी क्षेत्रको जागिरमा फैलिँदै छन्। पेसा र व्यवसायका विविध क्षेत्रसँग परिचित हुनु, विभिन्न प्राविधिक तथा उच्च शिक्षाको सहज पहुँचमा पुग्नु र सरकारले सैन्य भर्तीमा आरक्षणको कटौती गर्नु आजको पुस्ता विविध क्षेत्रमा फैलिनाका प्रमुख कारण हुन्। भारतीय सेनाका बि्रगेडियरबाट निवृत्त भएका पीएस गुरुङ भन्छन्, "अवसर र बाध्यता दुवै कारण नयाँ पुस्ता फौजी जागिरको विकल्प खोज्दै छ।"

नेपाली भाषा, संस्कृति र पहिचानबाट पनि युवा पुस्ता थप टाढिँदै छ। भारतीय राष्ट्रिय सैन्य प्रतिष्ठानको परेडस्थलछेवैको बाटो भएर कार्यालयतर्फ जाँदै गरेकी सोनाली चन्द, २३, लाई नै हेरौँ। उनको घरमा नेपाली भाषा चले पनि कम हुँदै गएको छ। देहरादुनकै एक सूचना तथा सञ्चार प्रविधि कलेजकी कम्प्युटर शिक्षक सोनालीका लागि कम्प्युटर, इन्टरनेट, आइप्याड, स्कुटी र अंग्रेजी भाषा जति अनिवार्य छ, त्यति आवश्यक छैन, नेपाली भाषा। त्यसैले उनी घरमा पनि अधिकांश हिन्दी र केही अंगे्रजी बोल्छिन्। स्टिल कारखानामा काम गर्ने बाबु र फौजी काकाहरू पनि हिन्दीमै अभ्यस्त भइसकेकाले परविारमा नेपाली भाषाको उपस्थिति कम हुँदै गएको हो। 

नयाँगाउँ, देहरादुनकी नयना थापा, २२, एयर होस्टेस हुन्। दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा केन्दि्रत उनको जागिरका कारण वर्षमा एकाधपटक मात्र घरपरविारसँग बित्छ। अंग्रेजी स्कुलमा पढेकी, परष्िकृत हिन्दी लबजमा अभ्यस्त भएकी नयनालाई नेपाली बोल्न भने झन्झट लाग्न थालिसकेको छ। तैपनि, बाबुआमालाई भेट्न देहरादुन आइपुग्दा हिन्दी र अंग्रेजीमिश्रति नेपाली बोल्ने प्रयास गर्छिन्। 

उनका बाबु प्रीतमकुमार थापा र बाजे पनि सेनामा जागिरे थिए। उनीहरू आबद्ध पल्टनमा नेपालीकै बाहुल्य हुँदा अनौपचारकि कुराकानी नेपालीमा नै हुन्थ्यो। नेपाली गीतसंगीतमा रमाउँथे। तर, नयना यस्तो माहोलबाट निकै टाढा पुगिसकेकी छन्। अमरसिंह थापासँगै काँगडा पुगेका योद्धा गुमानसिंह खड्काका पाँचौँ उत्तराधिकार सुनीलविक्रमको चिन्ता पनि यही छ, "हामी गोर्खाली जातिको भाषा, धर्म, संस्कृति नै नामेट पो हुने हो कि ? हाम्रो जातिको सभ्यता नामेट भयो भने हाम्रो अस्तित्व केमा खोज्ने ?" 


मास्टर मित्रसेनको तोतारानी

टाउको उठाएर हेर्दा नाकैमा ठोकिएलाजस्तो हिउँको पहाड अगाडि उभिन्छ। त्यसैको फेदीमा छ, भाग्सु धर्मशाला। यही भाग्सु क्षेत्रको तोतारानी गाउँमा आजभन्दा करबि ५० वर्षअघि मास्टर मित्रसेन थापाले झर्रा शब्दमा झ्याउरे गीतका बान्की भट्याएका थिए। हरियो जंगलको भित्रभित्रै हुर्कंदै गरेको यही भूमिबाट उनले नेपाली वीर जातिको गौरवगाथा गाएका थिए। लाहुरे जीवनको यथार्थलाई देश-देशावर पुर्‍याएका थिए। हो, तिनै मित्रसेनलाई जन्माउने यो भूमिमा, यो नेपाली बस्तीमा आज त्यस्ता विभूतिको खडेरी छ। मित्रसेनका झर्रा शब्द भट्याउने, नेपाली जनजीवनको स्पन्दन ठम्याउने नयाँ पिँढी खोज्नुपर्ने अवस्था छ। मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले, धानको बाला झुल्यो हजुर देशै रमाइलो, लाहुरेको रेलिमाई फेसनै राम्रो, चुइँचुइँ चुइँकिने जुत्ता, छड्के टोपी ढल्काई ढल्काई खुकुरी चम्काई, अब त जाऊँ कान्छी घर बाटो छ उकाली ओरालीजस्ता शब्दलाई झ्याउरे भाकामा कर्णपि्रय स्वरमा ग्रामोफोनमा रेकर्ड गराएर नेपाली ढुकढुकीमा बस्न सफल भएका मास्टर मित्रसेनकै घरमा नेपाली भाषा बुझाउन दोभाषे राख्नुपर्ने अवस्था त आउने होइन भन्ने स्थितिमा भाग्सु पुगेको छ। उनकै छिमेकी गाउँ दाडीका चन्दन कार्की, ५९, हिमाचली कुल्लु मिलाउँदै भन्छन्, "घरभित्र त नेपाली नै बोल्छौँ। तर, अचेलका केटाकेटीले नेपाली बोल्न र बुझ्नै छाडिसके।"

तैपनि, यहाँ मित्रसेनकै नाममा मित्रसेन साहित्य संगीत सभा स्थापना गरिएको छ। यस संस्थाले बेलाबेला साहित्यिक जमघट र सांस्कृतिक कार्यक्रम गर्दै आएको स्थानीय प्रतापसिंह गुरुङ बताउँछन्। त्यसबाहेक देवीदेवताको पूजा, दसैँतिहार, भैलो, चाडपर्व नेपाली चलन अनुसार मनाउने गरएिको उनको भनाइ छ। अर्को रोचक पक्ष के भने यहाँका नेपालीमूलका भारतीयहरू आफ्नो अलग र ऐक्यबद्ध सांस्कृतिक पहिचानका लागि हरेक वर्ष चाडपर्वको पात्रो प्रकाशित गर्छन्। "त्यो पात्रो भाग्सुलगायत काँगडा जिल्लाका हरेक गोर्खालीका घरमा पुर्‍याउँछौँ। र, एउटै रीति र तिथिमा ती चाडपर्व मनाउँछौँ," काँगडाकै द्रमण, प्रीतमनगरका एक मात्र गोर्खाली परिवारका मूली लालबहादुर भण्डारी भन्छन्। 

यता, उत्तराखण्डको देहरादुनमा नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृति हस्तान्तरण गर्न कतिपय विद्यालयमा नेपाली अध्यापन नै गराउन खोजियो। तर, विद्यार्थी त्यसतर्फ आकषिर्त हुनै सकेनन्। अहिले त्यो अभियान बन्द छ। "बरू, गीत र सांस्कृतिक क्षेत्रबाट गोर्खाली पहिचानप्रति नयाँ पुस्तालाई सचेत बनाउन सकिन्छ कि भनेर लागिएको छ," गुराँस सांस्कृतिक कला केन्द्रकी कोषाध्यक्ष प्रभा शाह भन्छिन्। 

केन्द्रकी नृत्य निर्देशिका सुम्निमा शर्मा गुरुङले स्वयंसेवी रूपमा झ्याउरे, सोरठी, कौरा, मारुनी, तामाङ सेलोजस्ता नेपाली नृत्य स्कुले बालबालिकालाई सिकाउँदै आएकी छन्। कोषाध्यक्ष शाहका अनुसार गोर्खालीलाई एकतामा बाँध्न र आफ्नो जातीय संस्कृतिप्रति सबैको ध्यान आकषिर्त गर्न यो तरिका बढी प्रभावकारी भएको छ। "प्रदेशस्तरमा हुने प्रतियोगितात्मक कार्यक्रम, सरकारी स्तरबाट आयोजना हुने सभा, समारोह, राजनीतिक संगठनका कार्यक्रम र नेपाली चाडपर्वका अवसरमा समेत हामी ठेट नेपाली प्रस्तुति दिन्छौँ," शाह भन्छिन्, "हाम्रो प्रस्तुति हेरेपछि आफ्नो जातीय संस्कृतिप्रति हरेक गोर्खाली सोच्न बाध्य हुन्छ।" 

देहरादुनमा देउसीभैलोको प्रचलन भए पनि त्यसमा संस्कृति, कला र धार्मिक पक्ष कम तर पैसा माग्ने पक्ष बढी हावी भएको देखेर सेनाका पूर्वबि्रगेडियर पीएस गुरुङ चिन्तित बने। त्यसपछि उनले प्रस्ताव ल्याए, असली देउसीभैलो खेलेर देखाइदिनुपर्‍यो। गोर्खालीहरूको बैठकै डाकेर केही दिन देउसीभैलोको रहिर्सल गरियो र गएको तिहारमा गाउँगाउँमा गएर परम्परागत देउसीभैलो खेलियो। भन्छन्, "मौलिक संस्कृति हराउँदै गएको ठानेर हामीले असली देउसीभैलोको अभ्यास थालेका छौँ।" अहिले नेपाली कला र संस्कृतिसम्बन्धी पुस्तक, वाद्य, तस्बिर र भिडियो संकलन गर्नु उनको दैनिकी बनेको छ। 

साहित्य, कला, संगीतका क्षेत्रमा उर्वर बन्न नसकेको यस क्षेत्रमा जागरणको लहर ल्याउन कठिन रहेको लेखक भूपेन्द्र अधिकारीको ठम्याइ छ। तर, यही क्षेत्रमा मरिमेट्ने हो भने पुनःजागरणको सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ। "हरेक वर्ष २९ असारमा भानुजयन्ती धुमधामका साथ मनाउँछौँ। खलंगा मेलामा सहभागी हुन बाहिर रहेका गोर्खालीसमेत घर फिर्छन् र यसमा राजनीतिक नेता र सरकारी ओहोदावाल पनि सहभागी हुन थालेका छन्," नेपाली भाषाका शिक्षकसमेत रहेका अधिकारी भन्छन्, "यसले नेपाली जातीय पहिचान र सांस्कृतिक जागरणको पक्षमा झीनो आशाको संकेत गर्छ।"

घरघरमा कलह




किचलो १ : ललितपुरको कुटीसौगलस्थित पाँच आना जग्गामा तीनतले घर छ। त्यही जग्गाको अर्को छेउमा एक छाप्रो छ। पक्की घरमा दाजु सागर स्थापित बस्छन् भने छाप्रोमा भाइ महेश। एउटै बाबुआमाको काखमा हुर्केबढेका र अहिले पनि एउटै आँगन बनाएर जीवन निर्वाह गर्दै आएका उनीहरूबीचको सम्बन्ध सुमधुर हुनुपर्ने हो। तर, यी दाजुभाइबीच बोलचालसमेत छैन। केहीअघि उनीहरूबीच महानगरीय प्रहरी परिसर ललितपुरको महिला तथा बालबालिका सेवा केन्द्रमा पारिवारिक किचलोमा छलफल गर्ने क्रममा हात हालाहाल नै भयो। स्थापित दाजुभाइको पारिवारिक झगडाको जालो कहाँसम्म जेलिएको छ भने सम्पत्तिको विवादमा विवाहित दिदीदेखि भान्जासम्म जोडिएका छन्। दिदी गंगादेवी शिल्पकार र जमुनादेवी ताम्राकारले दुवै भाइलाई घरबाट निक्लिन दबाब दिइरहेकी छन्। बाबुआमाको उक्त घर भाडामा लगाएर जीवन गुजार्न सजिलो हुने उनीहरूको तर्क छ। तर, भाइ महेश भने दिदीहरूले बाबुआमाको सम्पत्ति हडप्न यस्तो षड्यन्त्र रचेको दाबी गर्छन्। गंगादेवीका छोरा विशाल शिल्पकारले म्यानपावर कम्पनी सञ्चालन गर्दा लागेको ऋण तिर्न त्यही घर बन्धकीमा राख्ने दाउ कसेको महेशको दाबी छ। त्यही आशंकामा उनले गत फागुनमा ललितपुर जिल्ला अदालतमा घरजग्गा रोक्काका लागि मुद्दा दायर गरे। त्यसपछि दाजु सागर दुवै दिदी र भान्जा महेशसँग आक्रोशित छन्। कतिसम्म भने भान्जा विशालले लालपुर्जा खोस्न आफूमाथि भौतिक आक्रमण गरेको महेशले प्रहरीसमक्ष बताएका छन्। मामा-भान्जाको झगडामा आफ्नी चारवर्षे छोरी बेहोस भएको महेशकी श्रीमती अम्बिका ताम्राकार बताउँछिन्। भन्छिन्, "त्रासका कारण छोरी घरमा आउनासाथै चिच्याउँछे। त्यसैले माइतीमै राखेर पढाइरहेकी छु।" त्यसपछि सागरले मूल गेटमै ताल्चा लगाइदिए। बिजुलीको लाइन काटिदिए। त्यसपछि घरमा बस्ने वातावरण नभएको, श्रीमतीलाई गालीगलौज गरेको भन्दै महेश प्रहरीमा उजुरी गर्न पुगे। परिसर अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक निर्मला खनाल दाजुभाइको झगडामा दिदीबहिनीको संलग्नता भएकाले परिवारको झगडा जटिल बनेको बताउँछिन्। 

किचलो २ : ३ असारको मध्यान्ह। एक अधबैँसे महिला ७० वर्षकी वृद्धालाई हातमा समातेर कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा छिरिन्। लाग्थ्यो, उनी अशक्त वृद्धालाई सहयोग गरिरहेकी छन्। तर, ती महिला त सासूले श्रीमान्सँग आफ्नो सम्पर्क छिनाइदिएको भन्दै प्रहरीको शरणमा पुगेकी हुन्। ती बुहारी नुवाकोटको एक सरकारी विद्यालयमा पढाउँछिन् भने सासू मोरङमै पसल गरेर जीविका चलाउँछिन्। सासूले कुरा लगाइदिएर सम्बन्ध चुँडाइदिएको भन्दै उनी श्रीमान्सँग जसरी पनि एकपटक भेट गराइदिन प्रहरीसँग आग्रह गर्दै थिइन्। २०५८ मा विवाहलगत्तै बिदेसिएका श्रीमान्सँग त्यसपछि एकपटक पनि भेट भएको छैन उनको। विदेशबाट आए पनि आमाको कुराले आफूलाई नभेटी र्फकने गरेको ती महिलाको आरोप छ। तर, ती सासू भने आफूलाई समेत छोराको पत्तो नभएको बताउँदै थिइन्। 


किचलो ३ : काठमाडौँका सन्तोष आचार्य र नीलू थापाको भेट एक गैरसरकारी संस्थामा काम गर्दा भएको हो। त्यहीँ दुई जनाबीच प्रेम बस्यो र विवाहसमेत भयो। दुवै जनाको ५०/६० हजार रुपियाँको आकर्षक तलब थियो। उनीहरूको परिवार साँच्चै सुखी हुनुपर्ने हो। तर, उनीहरूको प्रेमविवाह लामो समय टिकेन। श्रीमान्ले घर भित्र्याउँदा सासूले विरोध गरिन्। सन्तोषले समेत आमाको कुरा काट्न सकेनन्। केही समय नीलू सहेरै बसिन्, बिस्तारै ठीक हुँदै जाने आशामा। तर, श्रीमान्ले समेत 'घरमा यस्तै हो मन लागे बस्नू, नलागे नबस्नू' भनेपछि उनी छुट्टै बस्ने निर्णयमा पुगिन्। सन्तोष नै कानुनी बाटो समातेर महानगरपालिकाको कार्यालय पुगेपछि नीलूलाई झनै सजिलो भयो। र, अन्ततः उनीहरूको सम्बन्धविच्छेद भयो। परम्परावादी अभिभावकको सोचलाई छोराले पछ्याउँदा प्रेमविवाह गरेर बाँधिएको जोडीसमेत छुट्टनि बाध्य भयो।

माथिका भिन्दाभिन्दै घटनाले घरघरमा कसरी कलहको बीजारोपण हुन्छ र त्यसले परविारलाई विखण्डनको बाटोमा पुर्‍याउँछ भन्ने कुरा दर्शाउँछन्। लोग्ने-स्वास्नीको झगडालाई परालको आगो मान्ने नेपाली समाजमा अहिले त्यो पनि सहजै ननिभ्ने स्थिति पैदा भएको छ। प्रहरी, महानगरपालिका, अदालतसम्म पुग्ने सम्बन्धविच्छेदका बढ्दा आँकडाले यसैलाई पुष्टि गर्छन्। 

प्रायः घरमा श्रीमान्-श्रीमती, दाजु-भाइ, सासू-बुहारी, सासू-बुहारी-छोराबीच द्वन्द्व बढेको छ। प्रहरीकहाँ पुग्ने घरायसी झैझगडाको आँकडाले समेत यस्तै देखाउँछ। ललितपुरस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा आर्थिक वर्ष ०६४/६५ मा घरायसी झैझगडाको विवरण ५८ रहेकामा यो संख्या ०६८/६९ मा २ सय ४० पुगेको छ। यस्ता झैझगडा प्रहरीसम्म पुग्ने क्रम बर्सेनि तीव्र गतिमा बढिरहेको देखिन्छ। कालीमाटी महिला सेलमा घरायसी झैझगडाका मुद्दा ०६८/६९ मा ७ सय ३८ परेका छन्, जुन संख्या अघिल्लो आर्थिक वर्षमा करबि ६ सय थियो। महानगरपालिकामा समेत सम्बन्धविच्छेदका मुद्दा बढ्दै छन्। महानगरपालिकामा ०६५/६६ मा २९ वटा रहेको सम्बन्धविच्छेदको तथ्यांक ०६८/६९ मा ४३ पुग्यो। 

"हरेक घर, व्यक्ति-व्यक्तिबीच द्वन्द्व हुन्छ। यसलाई उचित व्यवस्थापन गर्न नसक्दा त्यसले उग्र रूप लिएर विखण्डनको डिलमा पुर्‍याउँछ," महानगरीय प्रहरी परसिर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) वसन्तराज पन्त भन्छन्, "तर, अहिले परिवार, समाजमा देखिने द्वन्द्व अस्वाभाविक तवरले बढेको छ।" विभिन्न निकायका तथ्यांकले के देखाउँछन् भने परिवारमा लोग्ने-स्वास्नीकै झगडा बढी हुने गर्छ। तर, यसको सम्बन्धमा भने व्यापक फेरबदल आएको काठमाडौँ महानगरपालिकाका कानुन अधिकृत वसन्त आचार्य बताउँछन्। लामो समय लोग्ने-स्वास्नी टाढिँदा, सँगै बसे पनि भावनात्मक कुरा साटासाट नहुँदा, शंकालु स्वभावजस्ता कारण लोग्ने-स्वास्नीमा बढी समस्या देखिएको आचार्यको विश्लेषण छ। 

श्रीमान्ले जाँडरक्सी खाएर श्रीमतीलाई शारीरकि, मानसिक यातना दिने, दाइजो नल्याएको भन्दै यातना दिने, बाह्य सम्पर्कमा गएपछि श्रीमतीलाई कुरूप देख्नेजस्ता कारण दम्पतीबीच सम्बन्धमा चिरा पर्ने गरेको आचार्यको विश्लेषण छ। साथै, दम्पतीमध्ये एकको सामाजिक, आर्थिक, शैक्षिक स्तर बढेमा आफ्नो जीवनसाथी भनेर चिनाउनै हिचकिचाउने कारण समेत उनीहरूबीचको सम्बन्धमा फाटो आउने गरेको छ। पछिल्लो समय मोबाइल फोनका कारणले समेत दम्पतीमा तिक्तता आउन थालेको महानगरीय प्रहरी वृत्त कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक हर्षमाया महर्जन बताउँछिन्। मोबाइलमा आउने एसएमएस, मोटरसाइकलमा दिइने लिफ्ट, रेस्टुराँ भेला वा गेट टुगेदर संस्कृति श्रीमान्-श्रीमतीबीच द्वन्द्वका कारक बन्ने गरेका छन्। "एकअर्कामा चरम अविश्वास बढ्दै जाँदा उनीहरूबीच फाटो आउँछ," आचार्य भन्छन्। श्रीमतीले रेस्टुराँ गइराख्नुपर्ने, फेसनेबल बन्नुपर्ने, भड्किला पोसाक लगाउनुपर्नेजस्ता स्वच्छन्द सहरी संस्कृति हाबी हुँदा श्रीमान्ले थेग्न गाह्रो भएकाले समेत सम्बन्धविच्छेदको स्थितिमा पुग्ने गरेको आचार्यको विश्लेषण छ। उमेर अन्तर बढी भएमा पनि दाम्पत्य जीवन लामो समय नटिक्ने हालसम्म आएका तथ्यांक केलाउँदा देखिने उनी बताउँछन्।

अझ प्रेमविवाहबाट आएका दम्पतीमा समेत कलहको मात्रा उत्तिकै बढी देखिनु अचम्मलाग्दो अवस्था छ, जसले विवाहको केही वर्षमै सम्बन्धविच्छेदको अवस्थासम्म लैजान्छ। नवलपरासीको पञ्चनगरमा देखिएको एउटा समस्या यस्तै प्रकृतिको थियो, जहाँ प्रेमविवाहबाट आएका एक दम्पतीबीच दुई सन्तान भएपछि छोडपत्र भयो। जसको कारण तुलनात्मक रूपमा केही धनी परिवारकी ती युवतीको बिहे कमजोर आर्थिक हैसियतका युवकसँग हुनु थियो। कम उमेरमै बहकिएर व्यावहारकि धरातलको कुनै हेक्का नराखी बिहे गर्न हतारनिे प्रवृत्तिले समेत घरभित्रका समस्या बढाएको छ। सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावल भन्छन्, "सम्बन्धविच्छेद गर्नेमध्ये धेरैजसो अर्को बिहेको सम्भावना भएका हुन्छन्। नत्र उमेर ढल्केका जोडी समस्याकै बीच घरभित्रै जसोतसो बसिरहेका हुन्छन्।"

घरभित्रका कलह मुख्यतः दुई किसिमको जगमा हुर्किरहेका छन्, सदस्यहरूको असमान आर्थिक उत्पादनशीलता र पुस्तान्तर। दाजुभाइमा एउटाको आम्दानी राम्रो र अर्काको नराम्रो भयो भने पनि थुप्रैको घरमा कलहको लहर निम्तिएको हुन्छ। त्यसो हुँदा घरमा पैसा कमाउने र चलाउनेकै वर्चस्व हुन्छ। दाजुभाइमा त्यसरी समस्या हुनु त छँदै छ, त्यसभन्दा ठूलो समस्या घरका बुहारीहरूमा देखिन्छ। धेरैजसोमा जेठानी-देउरानीबीच समस्या सिर्जना भएर पछि मात्र त्यसको असर दाजुभाइसम्म आइपुग्छ। 

अर्को समस्या भनेको पुरानो संस्कारमा हुर्केका घरका ज्येष्ठ सदस्यहरू -सासू-ससुरा)सँग नयाँ पुस्ताका बुहारीहरूको स्वभाव एवं व्यवहारमा रहेको खाडल हो। "पुरानो संस्कारमा हुर्केका सासूहरू आफू बुहारी हुँदा जस्तो सास्ती वा दुःख खेपेका थिए, त्यसरी नै अहिलेका बुहारीहरूमा लाद्न खोज्छन्," एक दशकदेखि नवलपरासीको पञ्चनगरस्थित सामुदायिक मेलमिलाप केन्द्रमा मध्यस्थकर्ताका रूपमा काम गरेकी कमला सुवेदी भन्छिन्, "अर्कोतर्फ अचेलका बुहारीहरू पनि झुक्ने स्वभावका हुँदैनन्।" त्यसैले व्यक्तित्व टकरावकै कारणसमेत घरभित्र भूसको आगो सल्केजसरी पारिवारिक झगडा सल्किने गर्छ।

काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस-३ मा भएको एउटा घटनामा एक सासूले आफ्नी बुहारीलाई पैसा चोरीको आरोप लगाएपछि ठूलै रडाको मच्चियो। आमाकै भनाइमा लागेर छोराले आफ्नी श्रीमतीमाथि कुटपिटसमेत गरे। घरबाटै अलग्याउनेसम्मका काम पनि भए। यो समस्या स्थानीय पारालिगल कमिटीमा पुगेपछि पत्ता लाग्यो, त्यहाँ कुनै चोरी नभई सासूले नै उक्त पैसा लुकाएको ठाउँ बिर्सेकी रहिछन्। पारालिगल संयोजक कमला अधिकारी भन्छिन्, "शंका, अविश्वास र हैकमवादी प्रवृत्तिले नै यस्ता समस्या थुप्रैका घरमा जन्मिरहेका छन्।" जसले एउटै पर्खालभित्र भईकन पनि एउटामा उच्च र अर्कोमा निम्नस्तरको भएको भावना विकास गराउँछ।

यस्ता घटना ग्रामीण भेगमा मात्रै छन् भन्ने छैन। जिल्ला अदालत काठमाडौँमा अहिले एउटा त्यस्तै घटनामा आफ्नै पतिबाट अंश तथा मानाचामलका लागि दर्ता भएको मुद्दा मेलमिलाप केन्द्रमा सरेको छ। जसको कारणसमेत घरमा सासूको ज्यादती नै थियो। अहिले नै छुट्टै बसेकी श्रीमतीका लागि सेभ द चिल्ड्रेनमा काम गर्ने श्रीमान्ले मुद्दाको टुंगो नलागेसम्म मासिक ५० हजार रुपियाँ मानाचामल अन्तर्गत बेहोररिहेका छन्। अंशबन्डा भएपछि मानाचामल स्वरूप दिइने खर्च रोकिन्छ तर त्यस्ता मुद्दाको अवधि निकै लामो हुने हुँदा धेरैले मानाचामल तथा अंश मुद्दा हाल्ने अधिवक्ता तथा मेलमिलापकर्ता वसन्तप्रसाद रमिाल बताउँछन्। रमिाल भन्छन्, "श्रीमान् समस्याको कारण नभएकाले अंशबन्डा नै नगरीकन मानाचामल मात्र गरेर बस्ने महिलाहरू थुप्रै भेटिन्छन्।" सम्बन्धविच्छेद पनि नगर्ने, सँगै बस्न पनि नसक्ने दम्पतीहरूको हकमा कानुनमा व्यवस्था भएको मानाचामलको अधिकारले श्रीमान्ले श्रीमतीलाई उसको आयस्रोत अनुसार इज्जत/आमद हेरेर तलब वा उसको औसत आम्दानीबाट स्वतः कट्टा हुने व्यवस्था गरििदन्छ। सासू-ससुरासँग जोडिएको समस्याकै कारण थुप्रै युवा जोडी बाहिरै कोठा लिएर बस्न थालेका उदाहरण पनि पाइन्छन्। 

"धेरै बुहारी हुने घरमा दाइजो बढी ल्याउने बुहारीलाई बढी माया गर्ने गरेको पाइन्छ," दाङको फूलबारीस्थित पारालिगल कमिटीकी मध्यस्थकर्ता नारायणी देवकोटा भन्छिन्, "जसले गर्दा प्रेमविवाह गरेकी बुहारी नै बढी पीडित हुन्छिन्।" कतिपय महिला श्रीमान्को मृत्युपछि सासू-ससुराबाट अंश पनि नपाउने, उचित व्यवहार पनि नपाउने समस्याबाट पीडित छन्। त्यस्तो परिवारमा रहेको बेमेलले बालबालिकाको मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पररिहेको देवकोटा बताउँछिन्। 

पारिवारिक समस्याको अर्को जड जग्गाजमिन हो। जग्गाको मात्रात्मक र गुणात्मक दुवै रूपमा समान हुने गरी नरम-करम मिलाएर अंशको वितरण जति कठिन छ, अर्कोतर्फ कीर्ते कागजपत्र बनाउनेदेखि व्यक्तिगत रूपमा कमाएको सम्पत्तिमा समेत अर्कोले आँखा गाड्दा घरभित्र कलह जन्मिरहेको हुन्छ। कानुनतः पैतृक सम्पत्तिमा मात्र अंशियारहरूको हक लाग्ने व्यवस्था छ। नवलपरासीकै एउटा घटनामा आफ्ना आमा-बुबा दुवैको मृत्यु भइसकेको अवस्थामा छोराले आफ्नी सौतेनी आमाको नाममा रहेको ६ कठ्ठा जमिन आफ्नो नाममा पास गर्न नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाए। पछि ती सौतेनी आमाले उपचारका लागि आफ्नो जग्गा धितो राख्न खोज्दा सबै रहस्य खुल्यो। 

अंशबन्डा नेपाली समाजको सबैभन्दा बढी पारिवारिक झगडाको कारक बनेको छ। एकपटक हुने अंशबन्डाले पुस्तौँसम्म झगडाको बीउसमेत रोपिदिन्छ। भुताहा, नवलपरासीका धनबहादुर क्षेत्री भारतमा रहेका बेला घरमा बाबुले अंशबन्डा गरिदिए। उनको भागमा चार कट्ठा जग्गा र ६ लाख रुपियाँ दिने निर्णय भयो भने अन्य दुई भाइलाई १८/१८ कट्ठाका दरले। धनबहादुर घर फर्केयता दिनदिनै बाबु-छोराबीच किचकिच भइरहन्छ। कतिपटक त हात हालाहाल नै भयो। अंशका क्रममा जन्मने यस्ता विवादले कतिसम्म नराम्रो रूप लिन्छन् भन्ने त बझाङको स्याङ्दी-९, मेलाकुल्लाको एउटा घटनाले छर्लंग पारिदिन्छ। दुई दाजुभाइबीच उत्पन्न विवादले परिवारका सात जनाको ज्यान लियो। दाजु गगन विकका दुई छोराछोरी र भाइ वीरजित विकका श्रीमती र चार छोराछोरी मारिए। कतैकतै आमाबुबाले सम्पत्तिको ठूलो हिस्सा लुकाएर राखेको, आफूलाई नदिएको, अरूलाई दिएको जस्ता आशंकाकै भरमा आमाबुबामाथि छोराहरूले हमला गरेका घटना पनि सार्वजनिक हुन्छन्। काभ्रे कुशादेवीस्थित एक युवकले त्यस्तै आशंकामा आफ्नी ५५ वषर्ीया आमालाई मरणासन्न हुने गरी कुटपिट गरेको विवाद प्रहरीसम्म पुगेको थियो।

जाँडरक्सी, लागूऔषधजस्ता दुव्र्यसन घरझगडाको अर्को कारक हो। अंशबन्डा, सम्बन्धविच्छेद, करकाप, जालसाजी, घरेलु हिंसाजस्ता घटनाको भित्री कारण खोतल्दै जाँदा यस्तै दुव्र्यसनसम्म पुगिन्छ। वैदेशिक रोजगारीमा रहेका धेरैका घरमा सासू-बुहारी टकराव देखिन्छ। सासूले आफ्नो छोराले कमाएको पैसा भन्ने र बुहारीले आफ्नो श्रीमान्ले कमाएको भन्नेबाट विवाद जन्मिन्छ। र, बुहारीहरू सासू-ससुरासँग बस्न नचाहने प्रवृत्तिले पनि यस्ता द्वन्द्वलाई मलजल गररिहेको छ। 


एउटा अपवाद विवाद
भक्तपुर कमलविनायकको एक परविारको अंश मुद्दा अहिले सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन छ। न्यायकर्मीहरू दाजुभाइको अंशबन्डा मुद्दा कमै मात्र सर्वोच्चको पूर्ण इजलाससम्म पुग्ने बताउँछन्। भक्तपुर नगरपालिका-४, कमलविनायकका हर्षबहादुर प्रजापति र पञ्चकन्या प्रजापतिका तीन छोरा जन्मिए, हरिश्चन्द्र, कृष्णभक्त र ज्वालाकुमार। २४ मंसिर ०४४ मा हर्षबहादुरले माइलो छोरा कृष्णभक्तलाई ३ पैसा २ दामको घरजग्गा अंशमध्येबाट छोडपत्र गरेर दिए। त्यसपछि जेठो छोरा हरिश्चन्द्रलाई बकसपत्रबापत ३ आना ३ पैसा जग्गा दिए, पिताले। ०४९ मा पुनः कृष्णभक्तलाई बकसपत्रबाट थप १ आना १ दाम जग्गा दिए। पुनः हरिश्चन्द्रलाई बकसपत्रमै थप जग्गा दिए, हर्षबहादुर प्रजापतिले। 

०४९ मा बाबुआमाको अंश भागमा पर्ने सम्पत्ति 'तिमी कान्छो छोरा ज्वालाकुमारले आमाबाबुको शेषपछि खानू' भनेर हर्षबहादुरले बकसपत्र गरिदिए। तीनै छोरालाई पटकपटक सम्पत्ति दिने बाबुआमाले नै भक्तपुर जिल्ला अदालतमा ०५८ जेठमा अंश मुद्दा दायर गरे। मुद्दा हाल्नेमा कान्छा छोरा ज्वालाकुमार पनि थिए। त्यसपछि हरिश्चन्द्र र कृष्णभक्तले आ-आफ्ना नाममा पाएको सम्पति अंशबन्डा लाग्ने वा नलाग्ने भन्ने विवाद अदालतमा पुग्यो। 

भक्तपुर अदालतले ०६० वैशाख ८ मा बकसपत्रबाट पाइसकेको जग्गा बन्डा नलाग्ने फैसला गर्‍यो। साथै, छोडपत्रबाट पाएको जग्गा बन्डा नलाग्ने तर बन्डा बाँकी जग्गामा कट्टा हुने फैसला भयो।

यो फैसला चित्त नबुझेपछि हर्षबहादुर, पञ्चमाया र ज्वालाकुमार पुनरावेदन अदालत पाटन पुगे। पुनरावेदनले भने जसका नाममा भए पनि बन्डा लाग्ने भन्दै वादीकै पक्षमा निर्णय गरििदयो। त्यसपछि यो मुद्दा चैत ०६६ मा सर्वोच्च अदालत पुग्यो। मोहनप्रसाद सिटौला र प्रकाश वस्तीको संयुक्त इजलासले जिल्ला अदालतकै फैसला सदर गरिदियो। 'स्वआर्जनबाट बढे/बढाएको सम्पत्ति अरू अंशियारबीच बन्डा गर्न कर नलाग्ने' निर्णय सर्वोच्चले गरेको छ। बृहत् पूर्ण इजलासको नजिरमा टेकेर सर्वोच्चले यस्तो निर्णय गरे पनि पक्षको चित्त नबुझेपछि पुनः यो मुद्दा पूर्ण इजलासमा पुगेको छ। 

आफैँले दिएको अंशमाथि हर्षबहादुरले मुद्दा हाल्नुको कारण राम्रो आम्दानी हुने सम्पत्ति फिर्ता नै हो। पहिले कृष्णभक्तलाई दिएको भक्तपुर बसपार्कको जग्गामा बिजुलीको ठूलो पोल थियो, जसलाई उपयोगमा ल्याउन कठिन थियो। तर, कृष्णभक्तले आफ्नो जग्गामा भएको पोललाई अर्कै ठाउँमा सार्न सफल भएपछि जग्गाको उपयोग बढ्ने नै भयो। यही दाजुको नाममा दिइएको जग्गा आफ्नो भागमा पार्न कृष्णबहादुरले बाबुआमाको सहयोगले मुद्दा हालेका हुन्। 

रोचक पक्ष के भने यो मुद्दामा जसको पक्षमा फैसला भए पनि ज्वालाकुमारले भने तीन भाग पाउने छन् भने माइलो र जेठो भाइले एक-एक भाग। किनभने, बाबुआमाको अंश उनीहरूको शेषपछि कान्छो छोरालाई हुने भनेर बकसपत्र गरसिकिएको छ। 
(साथमा, मनबहादुर बस्नेत र प्रदीप बस्याल)

आधा धुरका लागि लाखौँ खर्च
बिसहरिया-३, सप्तरीका नारायण दासले १५/२० हजार रुपियाँ पर्ने जग्गा जोगाउन सप्तरी जिल्ला अदालतमा ६ वर्ष मुद्दा खेपे। मुद्दा लड्ने क्रममा दासले लिखत, कानुन व्यवसायी, आतेजाते भाडालगायतमा दुई लाखभन्दा बढी खर्चे गरे पनि आधा धुर क्षेत्रफलको उक्त घडेरी जोगिएन।

असार ०६८ मा न्यायाधीश मेघनाथ भट्टराईले दासकी कान्छी पत्नी पवनदेवीलाई अंश दिन आदेश दिए। एक छोराकी आमा पवनदेवी खान लगाउन नदिएको र जेठी पत्नीले कुटपिट गरेको आरोप लगाउँदै मंसिर ०६२ मा पतिविरुद्ध अदालत गएकी थिइन्। मुद्दा लड्दा ६ वर्षमा एकै परिवारका दुवै पक्षले एक दर्जन कानुन व्यवसायी राखे। गाउँबाट आउने सहयोगीको चिया-नास्ता, प्रमाण जुटाउन विभिन्न निकायमा लाग्ने दस्तुर तथा अन्य खर्च गरी अढाई लाखभन्दा बढी खर्च भयो। कमजोर आर्थिक अवस्थाका दास र पवनदेवीले दैनिक मजदुरी गरेर मुद्दा खर्च जुटाए। यति गरेर पनि अदालतको फैसलाबमोजिम आफूले अंश उपयोग गर्न नपाएको पवनदेवीको भनाइ छ। उनी फेरि अर्को मुद्दा दिने तयारीमा छिन्। 

प्रसवनी-४ का हरिनाराण गोइत यादवले जिल्ला अदालतमा ०६१ देखि अंश मुद्दा लड्दै आएका छन्। तीन दाजुभाइ, भतिजा-भतिजीलगायत आफ्नै परिवारका २२ जनामाथि मुद्दा दायर गरेका हरिनारायणले ६ वर्ष जिल्ला अदालतमा धाए। जिल्लाको फैसला चित्त नबुझेपछि पुनरावेदन अदालत पुगेका छन् उनी। केही मूल्यवान् जग्गालाई अन्य दाजुभाइले आर्जेकाले अंशबन्डा गर्न नमिल्ने भन्दै जिल्ला अदालतले गरेको निर्णय चित्त नबुझेको उनको भनाइ छ। भन्छन्, "जिल्लामै मुद्दा लड्दा दुई लाखभन्दा बढी खर्च भइसक्यो। घरको काम छाडेर दिनैपिच्छे वकिल र अदालत धाउँदाको कुनै हिसाब छैन।" अरू २२ जना विपक्षीको पनि त्यसभन्दा कम खर्च भएको छैन।

परिवारभित्रको किचलो कति संवेदनशील र महँगो साबित हुँदै छन् भन्ने यी प्रतिनिधि घटना मात्र हुन्। सप्तरी यस्तो जिल्ला हो, जहाँ देशकै सबैभन्दा बढी पारिवारिक मुद्दा छन्। यसमा पनि सम्पत्ति र अंश विवादले जिल्लाका कमै परिवार अछुतो छन्। मधेस सामुदायिक मध्यस्थता परियोजना सञ्चालन गर्दै आएको मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत रिया रोय भन्छिन्, "जिल्लाका ५० प्रतिशतभन्दा बढी परिवारमा अंश, बहुविवाह, प्रेमविवाह आदिका कारण आन्तरिक द्वन्द्व छ।"

प्रतिष्ठानले तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा मध्यस्थता कार्यक्रम गर्दै आएको रोयको भनाइ छ। उनका अनुसार तीन वर्षअघि सप्तरीमा वाषिर्क एक सयको हाराहारीमा यस्ता घटना सार्वजनिक हुन्थे भने अहिले सात सय पुगेको छ। मेलमिलापको उद्देश्यले आउने घटनाको विवरण मात्र हो यो। सामान्य विवादमा पनि परिवारका सदस्यलाई दुःख दिने नियतले समेत मध्यस्थता केन्द्रमा आउने क्रम बढेको छ। अदालतमा पुग्ने मुद्दाका तुलनामा यो नगण्य हो। 

सप्तरी जिल्ला अदालतका श्रेस्तेदार वेदप्रसाद उप्रेतीका अनुसार उक्त अदालतमा ३ हजार २ सय ३९ मुद्दा दर्ता भएकामा २ हजार ३ सय २६ मुद्दा देवानी थिए। तीमध्ये अधिकांश मुद्दा पारिवारिक कलहसम्बन्धी छन्। तराईका धेरै जिल्लामा पारिवारिक किचलो कुटपिट र अदालती बहसको विषय मात्रै होइन, हत्यासम्मको कारण बन्ने गरेको छ।
- जितेन्द्र खड्गा/राजविराज


टिप्पणी : पारिवारिक कलहका बदलिादा बान्की

- प्रा डिल्लीराम दाहाल
पारिवारिक झगडा हिजो पनि थियो, आज पनि छ। पुस्ता, पारिवारिक ढाँचा र झैझगडाको चरत्रि मात्र फरक हो। हिजोको अर्थव्यवस्था कृषिमै आधारति थियो। परिवारको आकार धेरै ठूलो हुने, सासूको प्रमूख भूमिका हुने, छोरीको सानैमा बिहे गर्ने, बाहिरबाट आउने हुँदा बुहारीले बढी काम गर्नुपर्ने। अर्थात्, बुहारीको भूमिका कामदारका रूपमा थियो। बिहान सबेरै उठ्नुपर्ने, मध्यरातसम्म काममा खट्नुपर्ने, खाने र सुत्नेसमेत ठेगान नहुने। काम नगरे झगडा। सबेरै नउठे पनि झगडा। त्यसकै आधारमा बुहारीको मूल्यांकन हुन थाल्यो। 

त्यो समाज पढेलेखेको थिएन। समयमा बच्चा नजन्माउने महिलालाई हेला गरन्िथ्यो। छोरालाई दोस्रो बिहे गर्न बाबुआमाले नै दबाब दिन्थे। बुहारीलाई जैविक आवश्यकता र क्षमताका दृष्टिले होइन, कारखानाका रूपमा हेरन्िथ्यो। बच्चामा पनि छोरै हुनुपर्ने। महिलाले घरबारी, चुलोचौको हेर्ने र पुरुष बाहिरफेरा गएर आर्थिक उपार्जनका काम गर्नुपर्ने मान्यता थियो। त्यस्तो अवस्थामा सासू-बुहारीबीच बढी ठाकठुक पथ्र्यो। सासूमा जहिले पनि दबाउन खोज्ने प्रवृत्ति थियो। हदै भए अन्त्यमा परिवार छुट्टन्िथ्यो। 

त्यतिबेला संयुक्त परिवार र विस्तारति परिवार हुन्थे। संयुक्त परिवारमा काका, बडाबा पनि सँगै हुन्छन् भने विस्तारति परिवारमा आफ्नो पुस्ताका बाबु, छोरा, नाति मात्र। दाजु-भाइ, बाबु-छोराको अंश वा व्यवहार मिलेन भने छुट्टनिुपर्ने हुन्थ्यो। ठूलालाई मान्नुपर्ने, अग्रजका कुरा सहनुपर्ने, ठाडो कुरा गर्नु नहुनेजस्ता मूल्यमा समाज बाँधिएको थियो। ठूलाबडाको सम्मान ठीकसँग पुगेन भने पनि परविारमा झगडा हुन्थ्यो। धेरैजसो अवस्थामा सम्पत्ति बराबर भाग लगाइन्थ्यो। कहिलेकाहीँ बहुविवाहका कारण जेठीपट्टी र कान्छीपट्टी भनेर मनमुटाव हुन्थ्यो। 

अहिले समाज जागिरमा केन्दि्रत भएको छ। पारिवारिककि संरचनामा पनि यसले फरक पारेको छ। महिलाको साक्षरता ०२८ मा ३.९ प्रतिशत थियो, अहिले ५५.५६ प्रतिशत छ। बिस्तारै महिला देशविदेश पुग्ने भएका छन्। सामाजिक बनोटमा व्यापक परविर्तन आइसक्यो। पढेको, बाहिर हिँडेको, देशविदेश खाएको आजको पुस्ता एकल परिवारमा रम्न थालेको छ। बरू, अहिलेको झगडा सम्पत्तिमा छ। सम्पत्तिको बाँडफाँट कसरी गर्ने, छोरीलाई सम्पत्ति दिने/नदिने भन्ने झगडाका विषय बनेका छन्। छोरा र छोरीमा विभेद कम हुँदै छ। 

दाजुभाइ, दिदीभाइको झगडा अहिले सम्पत्तिमा केन्दि्रत छ। सासू-बुहारीको त झगडा सहरमा न्यून छ। श्रीमान्ले स्वास्नी कुट्ने, अर्कैसँग लहसिनेका कथा बेग्लै हुन्। लोग्ने विदेश गयो, पैसा पठायो। यता स्वास्नी विलासितामा मस्त। तन्नेरी उमेरमा जैविक आवश्यकता पूरा गर्नुपर्‍यो। अनि, अर्कैसँग हिमचिम भयो। र, सम्पत्तिसमेत लिएर गयो। यस्ता कथा अनगिन्ती छन्। यसले पारिवारिक र सामाजिक विखण्डन ल्याएको छ। 

परिवारको बदलिँदो ढाँचाले नयाँनयाँ समस्या जन्माएको छ। हिजो नैतिकताले बाँधेको थियो। धनी वा विपन्न जस्तोसुकै अवस्थामा पनि बाबुआमालाई पाल्नुपर्छ, हेरविचार गर्नुपर्छ भन्ने थियो। त्यो बन्धन अहिले खुकुलो हुँदै गयो। धेरै छोराबुहारी भएका घरमा आमाबाबुलाई कसले पाल्ने भन्ने झगडा छ। कमाउने प्रतिस्पर्धामा उनीहरू आफ्नै बाबुआमालाई उपेक्षा गर्दै छन्। उनीहरू आफ्ना बाबुआमा पाल्न तयार छैनन्। छोरो पाल्न तयार होला तर बुहारी झन्झट मान्छिन्। त्यसैले परिवारलाई कलहको केन्द्र बनाएको छ। काठमाडौँ र अरू सहरी क्षेत्रमा यस्तो समस्या बढी छ। 

अहिलेको समाज आधारभूत रूपमा सम्पत्तिमा आधारति छ। सम्पत्तिको लेनदेन सकिएपछि सम्बन्ध पनि खुकुलिँदै गएको छ। जागिर, व्यापार व्यवसाय र अरू पेसामा आधारति हुँदै गएको छ, आजको समाज। आफैँले कमाएर खानुपर्ने बाध्यता छ। साथी र संगाती फरक छन्। परिवारप्रतिको निर्भरता घट्दै छ। स्वतन्त्र र स्वनिर्भर भएर काम गर्ने प्रवृत्ति बढेको छ। कमाउने तरिका फरक भएको छ। 

अहिले अधिकारका सवालले पनि कचमच हुन थालेका छन्। महिलालाई कानुनले नै संरक्षण दिएको छ। पुरुषलाई दोस्रो विवाह गर्न छुट छैन। सम्पत्ति पनि महिलाका नाममा सुरक्षित गर्न प्रोत्साहित गर्ने कानुन छ। सामाजिक मूल्यहरू बिस्तारै पश्चिमाकरण भइरहेका छन्। परिवार र समाजभन्दा पनि व्यक्तिवादमा पुगेका छौँ। म स्वतन्त्र हुँ, मैले आफ्ना लागि काम गर्नुपर्छ, आफ्नो निर्णयका आधारमा बच्चा जन्माउने हो, लोग्ने-स्वास्नीको सम्बन्ध पनि समझदारीमा आधारति हुन्छ भन्ने मान्यता भित्रिएको छ। 

अहिले परिवारको आकार सानो हुँदै जाँदा नन्द-भाउजू-आमाजूबीच अन्तरक्रिया हुन छाडेको छ। एउटै घरमा बस्ने चलन कम भइसक्यो। लोग्ने-स्वास्नीको सम्बन्धलाई मात्रै परिवारको मान्यता दिइन्छ। अहिले छोरीको निर्भरता न दाजुमा छ, न त बाबुआमामै। एकपटक बिहे गरेर गइसकेपछि निर्भरता लगभग सकिन्छ । सासूले बुहारीलाई हेला गर्ने, बुहारीलाई भन्दा छोरीलाई च्याप्ने चलन अब सिनेमामा सीमित भइसक्यो। अहिलेको सबभन्दा डरलाग्दो पक्ष बूढाबूढीले दुःख पाउँछन् कि भन्ने नै हो। 

वकिलको अक्किल


२० कात्तिकमा नेपाल बार एसोसिएसनका नाममा एउटा प्रेस विज्ञप्ति जारी गरियो। महासचिव विजयप्रसाद मिश्रद्वारा हस्ताक्षरति विज्ञप्ति सर्वोच्च अदालत र प्रधानन्यायाधीशमाथि आरोपहरूको पुलिन्दाजस्तो थियो। निरंकुश न्यायिक नेतृत्व, न्यायपालिकाको गरिमा कायम गर्न नसक्ने, हलुका टिप्पणी गर्नेलगायत आरोप विज्ञप्तिमा छन्। शाही शासनकाललाई अपवाद मान्ने हो भने बारको लेटरप्याडमा आएको यो विज्ञप्तिको भाषा अहिलेसम्मकै कडा रहेको कानुनकर्मीहरू बताउँछन्। तर, अहिले न्यायालयभित्र बेला न कुबेला अकस्मात् यस्तो तीखो भाषामा बारबाट विज्ञप्ति आउनुको कारण खोजी हुन थालेको छ। 

आफ्नै नाम वरिष्ठ उपाधिका लागि सिफारसि गर्नेबाहेक कुनै चर्चायोग्य काम नगरेको बार नेतृत्व यतिखेर किन यसरी तात्यो त ? यसको कारण खोज्दै जाँदा आसन्न बारको चुनावी राजनीति कारक रहेको निष्कर्षमा धेरैजसो वकिल, कर्मचारी र न्यायाधीशहरू पुगेका छन्। बारमा नयाँ नेतृत्व चयनका लागि २८ पुसमा चुनाव हुँदै छ। 

संवैधानिक जटिलता, न्यायपालिकाका गतिविधि, न्यायाधीश रत्तिmतालगायत विषयमा बारको भूमिका किन प्रभावहीन रह्यो भनेर देशभरका प्रतिनिधिले प्रश्न गर्न थालेपछि नयाँ अक्कल बार नेतृत्वले झिक्यो। उसले आफूले सोझै न्यायिक नेतृत्वमाथि दोष थोपर्न पनि सकेन। किनभने, न्यायाधीश नियुक्ति र कारबाही गर्ने ठाउँ अर्थात् न्यायपरिषद्मा बारको हालकै नेतृत्वले सिफारसि गरेका प्रतिनिधि सदस्य छन्, जो प्रधानन्यायाधीशलगायत परिषदका अन्य सदस्यको तुलनामा कम जिम्मेवार छैनन्, न्यायाधीश नियुक्ति ढिलाइ हुनुमा। अहिले बारका केन्द्रीय पदाधिकारी, उपत्यका र आसपासका प्रतिनिधि जम्मा गरेर बुँदागत रूपमा आरोपहरूको सूची प्रेस विज्ञप्तिका रूपमा सार्वजनिक गरियो। आखिर वकिल न परे ! http://www.ekantipur.com/nepal/article/?id=4477
- रामबहादुर रावल