Monday, January 7, 2013

डीआईजीभन्दा असई बलिया


सुडान घोटाला काण्डमा विशेष अदालतले तल्ला तहका प्रहरी अधिकृतको निर्णायक भूमिका नहुने भन्दै तीन प्रहरी प्रमुखबाहेक सबैलाई सफाइ दिएको धेरै समय बितेको छैन। नेतृत्व नै प्रमुख जिम्मेवार र निर्णायक हुने फौजी संगठनको विश्वव्यापी मान्यता पनि हो। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने प्रहरी नायब महानिरीक्षक (डीआईजी)भन्दा सहायक निरीक्षक (असई) शक्तिशाली र निर्णायक ठहरिएका छन्। 


कुरा के परेछ भने, १३ फागुन दिउँसो साढे २ बजे विमान बंगलादेशको उडान नम्बर बीजी-७०१ मा मोरङ केराबारीका देवीनारायण ठकुरीले २४ इन्चको एलसीडी टेलिभिजन ल्याए। मलेसियामा काम गरी फर्केका ठकुरीसँग सादा पोसाकमा खटिएका असई प्रह्लाद केसीले पाँच हजार रुपियाँ असुले। ठकुरीले भन्सार जाँचपास शुल्क ठानेर त्यो रकम सहजै तिरे। तर, भन्सार र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको संयुक्त टोलीले ठकुरीबाट रकम असुल्ने असई केसीलाई रंगेहात पक्रेर राजस्व अनुसन्धान विभागमा बुझाए। प्रहरी आचरणविपरीत काम गरेको भन्दै डीआईजी नारायण बस्ताकोटीले तत्कालै कारबाहीका लागि मुख्यालयमा पत्राचार गरे। तर, डीआईजी बस्ताकोटीभन्दा असई ठकुरी यति शक्तिशाली देखिए कि उनको पत्राचारको कुनै महत्त्व रहेन। उल्टै, बस्ताकोटीले अनुशासनविपरीत काम गर्ने आफूमातहतका कनिष्ठ अधिकारीलाई छुटाउन राजस्व अनुसन्धानका अधिकारीहरूकहाँ जानुपर्‍यो। बस्ताकोटीले 'आयन्दा यस्तो नगर्ने' भन्दै माफी मात्रै माग्न लगाएर दुई घन्टामै असई केसीलाई छुटाए।

केसी यसअघि पनि पटकपटक उनी यस्तै प्रकरणमा मुछिँदै आएका थिए। अति भएपछि भन्सार प्रमुख शिशिरकुमार ढुंगानाले समेत केसीलाई कारबाही गर्न पटकपटक डीआईजी बस्ताकोटीलाई आग्रह नगरेका होइनन्। रंगेहात पक्रेको अघिल्लो दिन मात्रै असई केसीले केही व्यापारीका ल्यापटप, मोबाइल र रक्सीलगायत सामान कम रकममै छुटाएको थाहा पाएर गुप्तचर टोलीले नियन्त्रणमा लिएको थियो। पछि मूल्यांकन गर्दा भन्सार शुल्क मात्रै करबि २ लाख ५० हजार रुपियाँ ती व्यापारीले तिरेका थिए। सादा पोसाकमा खटिने ती असईको दरबन्दी अन्यत्रै भए पनि घुमुवाका रूपमा विमानस्थल भन्सार क्षेत्रमा खटिँदै आएका छन्। बस्ताकोटीले कारबाही गर्न नसकेपछि यसबारे रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ। प्रहरी प्रधान कार्यालयका वरिष्ठ अधिकारीकै संरक्षणमा असई केसीले निर्धक्कताका साथ यसरी व्यापारीहरूको मिलेमतोमा भन्सार छली रकम असुल्ने गरेको त्यस रिपोर्टमा उल्लेख छ, 'भन्सारमा माफी मागे पनि असई केसी फेरि पनि दिनभर भन्सार काउन्टरमै रहेर व्यापारी र साधारण हवाई यात्रुसँग पैसा असुलिरहेका छन्।' मान्नैपर्छ, यी बलवान असईलाई ! 
http://www.ekantipur.com/nepal/article/?id=3459

No comments:

Post a Comment